`

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

काठमाडौँ, १३ फागुन : महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।

सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताउनुभयो ।   

पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं  कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ । 

मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उहाँले सुनाउनुभयो । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।

नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भएको सदस्य सचिव थापाले जानकारी दिनुभयो । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम गरिएको उहाँले बताउनुभयो । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ ।

सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी पर्वलाई सहज रूपमा व्यवस्थापन गर्न लागिएको छ ।  यसमा कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक सङ्घ सङ्गठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ । 

भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स तयारी अवस्थामा राखिएको कोषले जनाएको छ ।

मन्दिर परिसरमा रहेको धर्मशालामा साधुसन्तका लागि बस्ने व्यवस्था गरिएको छ । तिलगङ्गासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ ।     भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको र मन्दिर परिसरलाई सिँगारिएको छ ।   सदस्य सचिव थापाले पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि यहाँ फर्किने वातावरण बनाउने सम्पूर्ण बन्दोबस्त गरिएको बताउनुभयो । मन्दिर दर्शनमा आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् सोमबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्थासमेत गरेको छ ।

एनसिसी टोलीद्वारा नेपाल सम्बन्धकोे चर्चा

काठमाडौँ, १३ फागुनः युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) टोलीद्वारा नेपालसँग देशको सम्बन्ध, पर्यटन प्रवर्द्धन र आर्थिक सम्भावनाबारे जानकारी प्रस्तुत गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा टोलीले आ–आफ्नो देशका सांस्कृतिक, रहनसहन र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा देशका राष्ट्र प्रमुख र प्रधानमन्त्रीको परिचयसँगै भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षबारे पनि जानकारी दिइयो । ती देशका मुख्य–मुख्य सहर, पर्यटनसहित मुख्य पहिचान र आर्थिक सम्भावनाका क्षेत्र, जनसङ्ख्या, राष्ट्रिय सम्पदाबारे समेत प्रस्तुति गरियो ।

नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिका अवसरमा युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन एनसिसी टोली यहाँ आएको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्दै आएको छ ।

युवा आदानप्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ । यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय सेवा दल (एनसिसी)बाट प्रदान गरिने तालिम तथा प्रशिक्षणले युवालाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा रूपान्तरण गरिँदै आएको नेपाली सेनाले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रिय सेवा दल (एनसिसी)बाट पनि सगरमाथा, बुद्धभूमि लुम्बिनी, राजधानी काठमाडौँ, मुख्य सम्पदाको परिचयसहित भौगोलिक, भाषिक, सांस्कृतिक, विविधताको जानकारी प्रस्तुत गरियो । एनसिसीले असल अभ्यासको आदान–प्रदानमार्फत युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङग केसी, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी हुनुुहुन्थ्यो ।

म्याक्रोन ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका बारेमा बुधबार इयुका अन्य नेताहरूलाई जानकारी दिनुहुनेछ ।

ब्लकका २७ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले एक्समा उहाँले मार्च ६ मा हुने नेताहरूको वार्ताको तयारीका लागि म्याक्रोनसँग भिडियो सम्मेलन आयोजना गर्नुभएको घोषणा गर्नुभयो ।

दुई हप्ता अघिदेखि ट्रम्पले युरोपेली संलग्नता बिना रुससँग वार्ता गर्न र तीन वर्ष पुरानो युक्रेन युद्ध अन्त्य गर्ने तत्परता जाहेर गरेपछि युरोपले एकीकृत प्रतिक्रियाका लागि हतारो गरेको छ ।

सौहार्दताको बाहिरी आवरण भए पनि रुसी आक्रमणको तेस्रो वार्षिकीका दिन युक्रेनबारे ट्रान्सअटलान्टिक विभाजन सोमबार म्याक्रोनको ट्रम्पसँगको वार्तामा देखिएको थियो ।

फ्रान्सेली नेताले त्यसपछि ह्वाइट हाउसमा शान्ति भनेको युक्रेनको ‘आत्मसमर्पण’ हुन सक्दैन भनी चेतावनी दिनुभयो ।

“हामी द्रुत सम्झौता चाहन्छौँ तर कमजोर होइन”, म्याक्रोनले भन्नुभयो, “जसले भविष्यमा कुनै पनि रुसी आक्रमण रोक्न कुनै पनि सम्झौतामा किएभका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीहरू समावेश गर्नुपर्दछ ।”

साथसाथै संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई मतदानमा रुसको पक्षमा मतदान गरेर युक्रेन विरुद्ध मस्कोको अभियानको निन्दा गर्नबाट बच्यो । यो अघिल्लो अमेरिकी प्रशासनको अवस्थाबाट एउटा भूकम्पीय परिवर्तन थियो ।

ट्रम्पको रुसप्रतिको अँगालोले त्यसले किएभका लागि अमेरिकी समर्थनको अन्त्य र बाँकी युरोपप्रति धारणामा प्रमुख परिवर्तनको सङ्केत दिनसक्ने त्रास उत्पन्न गरेको छ ।

अर्को हप्ता ब्रसेल्समा हुने वार्तामा ट्रम्पको मस्को भ्रमणपछि किएभलाई समर्थन गर्ने र युरोपको सुरक्षालाई बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनेछ । यसलाई कोस्टाले ‘युक्रेन र युरोपेली सुरक्षाका लागि निर्णायक क्षण’ भन्नुभएको छ ।

भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा

भद्रपुर (झापा) १३, फागुन : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा आज भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुददिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो ।

काउर्न बजारका साइद, एस सिल्ला र साइडोस्टोनले गोल गरे । युसोफ एमबी र इब्राहिमले प्रहार बाहिरियो । यसअघि निर्धारित ९० मिनटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सत्यम शर्माले खेलको २५औँ मिनटमा गोल गर्दा ब्लेजर्सले अग्रता बनाएको थियो तर काउर्न बाजारका साकिलले खेलको ६२ औँ मिनटमा गोल फर्काए ।

आयोजक ब्लेजर्सले झापा –११ र भुटानको डागा युनाइटेड एफसीबीच बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन ।

प्रधान सेनापति सिग्देलद्वारा सकलदर्जालाई सम्बोधन

काठमाडौँ, १३ फागुन : प्रधान सेनापति अशोकराज सिग्देलले महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नुभएको छ ।

उहाँले आज नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले नेपाली सेनाले निर्वाह गर्दै आईरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पूरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो । यस अघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धासुमन अर्पण गर्नुभएको थियो । त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गर्नुभएको थियो ।

ललितपुरको इमाडोलमा आगलागी

पाटन (ललितपुर), १३ फागुनः ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो ।

“प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ”, उहाँले भन्नुभयो ।

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन, १३ फागुन ः केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सङ्घको हिजो र आज यहाँ भएको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएएको छ । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सङ्घले अनुरोध गरेको छ ।

रकम नपाए सङ्घ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न सङ्घले आग्रहसमेत गरेको छ ।

कृषकलाई दुध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

अन्तरद्वन्द्वबाट देश ‘जोखिममा’ रहेको बङ्गलादेशका सेना प्रमुखको चेतावनी

बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको लाभ जोखिममा रहेको चेतावनी दिँदै कानून र व्यवस्थामा गिरावटका लागि मङ्गलबार अन्तरद्वन्द्वलाई दोष दिनुभएको छ ।

दक्षिण एसियाली यस राष्ट्रले हिंसात्मक अपराधमा भएको वृद्धिलाई रोक्न सङ्घर्ष गरिरहेको छ । सुरक्षा बलले यस महिना हजारौँलाई गिरफ्तार गरेको छ भने अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीसँग सम्बन्धित गिरोहहरूलाई लक्षित गरिएको छ।

“यदि तपाईं आफ्ना मतभेदहरू नाघेर आपसमा हस्तक्षेप र लडाइँ जारी राख्नुहुन्छ भने देशको स्वतन्त्रता र अखण्डता जोखिममा पर्नेछ–– म तपाईंहरूलाई चेतावनी दिन्छु”, जनरल वाकर–उज–जमानले सेनाको स्मारक कार्यक्रममा कुनै पनि समूहको नाम नलिई भन्नुभयो, “सरोकारवालाहरू एकअर्कालाई दोष दिन व्यस्त भएकाले उपद्रवीहरूले परिस्थितिलाई अनुकूल ठान्छन् । उनीहरू विश्वास गर्छन् कि उनीहरू जे पनि गरे पार पाउन सक्छन् ।”

यस महिना भीडले हसिनाको परिवारसँग जोडिएका भवनहरू ध्वस्त पारेको भन्दै भएको विरोध प्रदर्शनका साथै बढ्दो अपराधका कारण बङ्गलादेश प्रभावित भएको छ ।

गत हप्ता विश्वविद्यालय परिसरमा प्रतिद्वन्द्वी विद्यार्थी गुटहरू बीच झडप भएको थियो । यो हसिना विरुद्धको विद्रोहलाई उत्प्रेरित गर्ने समूहहरू बीचको गम्भीर कलहको सङ्केत हो ।

सुरक्षा बलले फेब्रुअरी ८ मा ‘अपरेसन डेभिल हन्ट’ सुरु गरेदेखि आठ हजार छ सयभन्दा बढी मानिसलाई पक्राउ गरेको छ । उनीहरूमाथि सरकारले हसिनाका वफादार भएको र देशलाई ‘अस्थिर’ बनाउन चाहेको आरोप लगाएको छ ।“हामीले देखेको अराजकता हामीले निर्माण गरेका हौँ”, वाकरले भन्नुभयो ।

– एउटै चक्रमा फसेको –

बङ्गलादेशमा सैन्य कूको लामो इतिहास छ ।

हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भारत भागेपछि वाकरले कार्यभार सम्हाल्नुभएको थियो तर उहाँले नोबेल पुरस्कार विजेता माइक्रोफाइनान्स अग्रणी मुहम्मद युनुसलाई समर्थन गर्न पनि जनतालाई आग्रह गर्नुभएको थियो ।

चौरासी वर्षीय युनुसले व्यापक लोकतान्त्रिक सुधारहरू गर्ने र सन् २०२५ को अन्त्य वा सन् २०२६ को सुरुआतमा आम निर्वाचन गर्ने वाचा गर्नुभएको छ र वाकरले अन्तरिम सरकारलाई शपथ खुवाउनुभएको थियो ।

“सुरुमा मैले चुनाव गर्न १८ महिना लाग्ने बताएको थिएँ”, सेनाप्रमुख वाकरले भन्नुभयो, “हामी त्यही मार्गमा छौँ । प्रोफेसर युनुसले हामीलाई एकताबद्ध राख्न सक्दो प्रयास गरिरहनुभएको छ । आउनुहोस् उहाँलाई सहयोग गरौँ ।”

शुक्रबार नयाँ राजनीतिक पार्टीको अपेक्षित प्रक्षेपणअघि प्रमुख विद्यार्थी आन्दोलन नेता नाहिद इस्लामले मङ्गलबार सरकारी मन्त्रिमण्डलबाट राजीनामा दिनुभयो । मन्त्रिमण्डलमा उहाँले दूरसञ्चार मन्त्रालयको नेतृत्व गर्नुभएको थियो ।

युनुसले आफूले सार्वजनिक प्रशासन र न्यायको ‘पूर्ण रूपमा बिग्रिएको’ प्रणाली विरासतमा पाएको र यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधार आवश्यक रहेको बताउनुभएको थियो ।

वाकरले सुरक्षा बलहरूमाथि लगाइएका ‘जबरजस्ती बेपत्ता, हत्या, र यातनाका’ विभिन्न आरोपहरूको अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “सजाय सुनिश्चित गरिनुपर्छ”, उहाँले भन्नुभयो, “अन्यथा, हामी उही चक्रमा फस्नेछौँ ।”

क्रान्तिपछि सशस्त्र बलहरूलाई प्रहरी जस्तै गिरफ्तार गर्ने लगायत न्यायिक अधिकारहरू प्रदान गरिएको थियो ।

तर लगभग चार दशकदेखि सेनामा रहनुभएका र संयुक्त राष्ट्र शान्ति सेनामा दुई पटक सेवा गर्नुभएका पेशागत पैदल सेनाका अधिकृत वाकरले केवल विश्राम चाहेको बताउनुभयो ।

“म केवल देश र राष्ट्रलाई स्थिर विन्दुमा ल्याएर बिदा लिन चाहन्छु”, उहाँले भन्नुभयो, “त्यसपछि हामी आफ्नो ब्यारेकमा फर्कनेछौँ ।”

युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्यो : अध्ययन

चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मङ्गलबार प्रकाशित संयुक्त मूल्याङ्कनमा उल्लेख छ ।

“अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कूल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ”, युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “यो सङ्ख्या सन् २०२४ का लागि युक्रेनको अनुमानित नाममात्रको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग दुई दशमलव आठ गुणा हो ।”

सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरुआतदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको थियो ।

सर्वेक्षणले देशको १३ प्रतिशत आवास क्षतिग्रस्त वा नष्ट भएको र यसले २५ लाखभन्दा बढी घरपरिवारलाई प्रभावित पारेको पाएको छ ।

सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।

“यो मूल्याङ्कनले रुसले युक्रेनमा पारेको असाधारण क्षतिलाई प्रकाश पार्छ”, विस्तारका लागि इयु आयुक्त मार्टा कोसलाई उद्धृत गरिएको छ ।

यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा चार खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो ।

पुनर्प्राप्ति कार्यक्रमले अहिलेसम्म ऊर्जा पूर्वाधार र घरहरू मर्मत गर्नेमा ध्यान केन्द्रित गरेको छ, किनकि रुसले युद्धग्रस्त देशको बिजुली ग्रिडमा आक्रमण जारी राखेको छ र यसले नियमित रूपमा लाखौँ मानिसलाई अस्थायी विद्युत कटौतीमा डुबाउँदै लगेको छ ।

पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा

रामपुर (पाल्पा), १३ फागुन: ४३औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते अर्थात् बिहीबार मगर एकता दिवसको अवसर पारेर रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । सो दिन पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

मगर समुदायको बसोबास बढी रहेकाले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन एक दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर सङ्घको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोधसमेत गरेको छ ।

दिवसका दिन मगर समुदायका व्यक्तिहरू आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर झाँकी, ¥यालीसहित कार्यक्रममा सहभागी हुने गर्दछन् । दिवसको अवसर पारेर खानाका परिकार प्रदर्शनी, सालैजो, झ्यारे, मारुनी जस्ता संस्कृति नाच प्रस्तुतिलगायत कार्यक्रम आयोजना गरिने छन् ।

नेपालगञ्जमा सिटी हलको शुभारम्भ, विकास निर्माणले आर्थिक गतिविधिलाई बढवा दिन्छ : उपप्रधानमन्त्री सिंह

नेपालगञ्ज, १३ फागुन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हलको आज शुभारम्भ भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गर्नुभयो । उहाँले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताउनुभयो ।

उप्रधानमन्त्री सिंहले भन्नुभयो, “सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।” उहाँले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताउनुभयो । उहाँले सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्नान्तरण गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

कूल रू २८ करोड बढी लागतमा निर्माण भएको सिटी हलको क्षमता सात सय ९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल

काठमाडौँ, १३ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताउनुभएको छ । आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दैै उहाँले अहिलेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताउनुभयो ।

विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो । 

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताउनुभयो । उहाँले आफूले स्वास्थ्य बिमा  चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताउनुभयो । 

“मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिक आधारित बिमा  बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ ।” उहाँले  स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताउनुभयो । 

मन्त्री पौडेलले बिमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बिमा  कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिनुभयो । 

मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताउनुभयो । 

कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गर्नुभयो । 

अस्पतालका निर्देशक डा.विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराउनुभयो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम थापाले आफ्नो वडामा २६ वटा सरकारी र नीजि अस्पताल सञ्चालन रहेको भन्दै पुनः सञ्चालनमा आएको यस अस्पतालले बिरामीलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो । 

सभासद् विना ज्ञवालीले अस्पतालले बिरामीको भावनालाई बुझेर उपचार गर्नुपर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष  कपिल ज्ञवालीले नयाँ व्यवस्थापनका साथ अस्पताल अहिले सय शैय्यामा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले अहिले नयाँ व्यवस्थापनका साथ अस्पताल सञ्चालनमा ल्याएको छौँ । अहिले ३० जना कर्मचारीबाट अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गरेका छाँै” उहाँले भन्नुभयो, “विस्तारै कर्मचारी थप्दै जाने र अस्पताललाई सय शैय्याको पूर्ण रूपमा सञ्चालन गर्ने छौँ ।” 

अस्पतालले आजदेखि निःशुल्क बहिरङ्ग सेवा सञ्चालन गरेकोछ । अस्पतालका प्रशासन प्रमुख शोभा श्रेष्ठले जनरल, मिर्गौलाको डायलासिस, सिटी स्क्यान, बच्चाको उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो । 

महेन्द्रनारायण निधि मेमोरियल सहकारी संस्थाबाट पुनःसञ्चालनमा ल्याइएको अस्पतालले अहिले नर्सिङ कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा अस्पतालको प्राङ्गणमा रहेको महेन्द्रनारायण निधिको शालिकमा स्वास्थ्य मन्त्री पौडेल र कांग्रेसका पूर्वउपसभापति निधिले माल्यार्पण गर्नुभयो । 

महाशिवरात्रिः रमाइलो र आर्जनको अवसर

महोत्तरी, १३ फागुनः महाशिवरात्रि मेला मधेशमा रमाइलो र विपन्न वर्गलाई सानोतिनो व्यापारबाट आर्जन गर्ने अवसर पनि हो । यहाँ आपसी भेटघाटका लागि केही दिन पहिले नै साथीभाइ इष्टमित्रबीच ‘महाशिवरात्रि मेलामा भेटौला’ भन्ने सूचना आदानप्रदान भइराखेका हुन्छन् । झन् किशोर, वयस्कका लागि त मेला रमाइलो गर्ने थलो नै बन्छ ।

यस पर्वमा विपन्न परिवारका बालबालिकाले पनि पूजा सामग्रीबाट नगद आर्जन गर्छन् । यसैले महाशिवरात्रि बालबालिकाका लागि पर्खाइको पर्व बन्ने गरेको छ । भङ्गाहा—४ पलारकी १३ वर्षीया कौशिला बाँतरले बुधबार महाशिवरात्रि पर्वको मेलामा आफ्नो बस्ती नजिकको श्री सिद्धनाथ महादेव मन्दिरअघि पूजा सामग्री बेच्न आवश्यक तयारी गरिसक्नुभएको छ । बेलपत्र, धतुराको पूmल र पात एवं भाङ्का पात खोजेर ढाकीभरेकी कौशिलाको भोलि आफ्नो मेलाखर्च र आउने होली पर्वको रङ् र मिठाइ खाने रकम यिनै पूजा सामग्री बेचेर जोहो गर्ने योजना छ ।

“अपने गाम नजदिकके वनझरमें बेलके गाछ, भाङ् आ धतुर भेटगेलै” कौशिलाले भनिन् , “पाइ दक थोरबे लेव परल, जे आम्दनी होयत सब चोखे ।” (आफ्नै बस्ती नजिकको झाडीमा बेलका रुख, भाङ् र धतुराका बोट भेटिए । पैसामा किनेर ल्याउनु परेको हैन, यसबाट जे आम्दानी हुन्छ, सबै आफ्नै)

कौशिलासँगै उहाँका पाँच जना साथीले पनि मेलामा बेच्न सामग्रीको जोहो गरिसकेका छन् । उर्मिला पजियारले भनिन्, “काइल त मुर्गेडाकमें मन्दिर चैलजेबै ।” (भोलि त बिहान कुखुरा बासेसँगै मन्दिर पुगिन्छ) । उर्मिलाले पछिल्ला तीन वर्षयता लगातार यसरी नै पूजा सामग्री बेचर आठ÷दश हजारको जोहो गरेको सुनाउनुभयो ।

भङ्गाहा–५ को श्री सिद्धनाथजस्तै बर्दिबास–५ स्थित श्री टुटेश्वरनाथ, सोनमा–७ को मगरथानास्थित मङ्गलनाथ, जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ मन्दिर अगाडि पूजा सामग्री बेच्न वरपरका किशोरकिशोरीले आज नै सरजाम तयार गरेका छन् । “हाम्रो त गाउँ छेउमै वन छ, बेलपत्र, भाङ् र धतुरो जति पनि पाइन्छ”, बर्दिबास–५ टुटेश्वरकी १५ वर्षीया रेविया सदाले भने, “भोलि त आजको मध्यरातपछि नै भक्तजनको लाम लाग्छ, हामी राति नै मन्दिर पुग्छौँ ।”

महाशिवरात्रि पर्वमा बेलपत्र, भाङ्का पात, धतुरोको पूmल र पातीजस्ता सामग्री भगवान शङ्करको पूजाआराधनाका लागि विशेष सामग्री मानिन्छन् । यी सामग्री यहाँका गाउँघर र बस्ती वरपर सहजै पाइने गरेका छन् । कुनै लगानीबिना यी सामानको जोहो गर्न सकिने र मेलामा प्रसस्त बिक्री हुने भएकाले यो पर्व आर्जनको अवसर बन्ने गरेको छ ।

महाशिवरात्रिमा शिवजीलाई भाण्टाको भार (बाँसको कप्टेरोमा दुईतिर एक÷एकवटा भाण्टा उनीएको) चढाउने मैथिल चलन छ । भाण्टा र कप्टेरामा केही मूल्य पर्ने भए पनि अहिले थोरै मूल्यमा किनेको भाण्टाबाट भार बनाइ बेचेर राम्रै नाफा हुने गरेको छ । यसबाहेक भाण्टा खेती गर्ने किसानले पनि आम्दानी गर्ने गरेका छन् । “भाण्टा बजारमा १० रुपैयाँ किलोमा पनि बिक्दैन, एक किलो भाण्टामा चार÷पाँचवटा भार बनिहाल्छन्, प्रति भार रु २०÷२५ मा बेचिन्छ”, बर्दिबास–९ का भोला महतो भन्नुहुन्छ, “यसले खेतीको लागतमा केही राहत मिल्ने आस छ ।”

मेलाका लागि बालबालिका र व्यवसायी मात्रै होइन अन्य युवा तथा वयस्क नागरिक पनि भक्ति र जमघटका लागि महाशिवरात्रि मेला सम्झिराखेका हुन्छन् । महाशिवरात्रिलगत्तै मिथिलाको महापर्व ‘होली’ को पक्ष सुरु हुनेहुँदा यहाँ यी पर्व रमाइलाका लागि सम्झनामा रहने बर्दिबास–२ का सीताराम तिमल्सिनाको भनाइ छ ।

महाशिवरात्रि पर्व एक दिनमात्र बाँकी छँदा यहाँका शिवालय रङ्रोगन गरेर चम्काइएका छन् । जताततै शिव भजन गुञ्जिरहेका छन् । महाशिरात्रिमा यहाँ मेला (जात्रा)लाग्ने परम्परा रहेकाले सबैजसो रमाइलो र पूजाअर्चनाका लागि तयारी अवस्थामा छन् ।

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ, १३ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विवरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सिट खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ ।आज सामाजिक सञ्जालमार्फत उहाँले शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि अझै केही सङ्ख्या बाँकी रहेकाले आवेदन दिन आह्वान गर्नुभएको हो ।

“शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस जना, पोस्ट ग्रयाजुएट इञ्जिनियरिङमा सात, एग्रिकल्चरमा तीन, पीएचडी इञ्जिनियरिङमा एक, भेटेरिनरीमा एक, आइटीमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसनमा एक सिट अझै खालिरहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिनुहोला”, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ । उहाँले निवेदन [email protected] मा इमेल गर्न आग्रह गर्नु भएको छ ।

‘फेरि रेशम फिलिली’ को टिकेट बुकिङ र बिक्री सुरू

काठमाडौँ । आउँदो शिवरात्रि अर्थात् फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’ को अनलाइन टिकेट बुकिङ र बिक्री सुरू भएको छ ।
‘रेशम फिलिली’ को सफलतापछि नौ वर्षपछि तयार भएको दोस्रो सिरिजमा उस्तै कमेडी र समसामयिकता रहेको लेखक तथा निर्देशक निरोज महर्जनले बताएका छन् ।

फिल्मले सुरुआती समयमा देशभर ८६ शो प्राप्त गरिसकेको छ । फिल्मको सार्वजनिक प्रचार सामग्री र गीतको प्रभावका कारण प्रतिक्षित बनेको फिल्मको लोकप्रियता ‘वर्ड अफ माउथ’ ले बढाउनेमा निर्माण टिम विश्वस्त छ । काठमाडौँ उपत्यकामा ४६ शो र मोफसलमा ४० शो पाएको फिल्मलाई पछिल्लो समय ‘फेरी जालमा’ गीतले चर्चामा ल्याएको छ ।

फिल्मको शो बुधवारसम्म अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ । विसं २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो । तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै फिल्मको प्रशंसा गरिएको थियो।

करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेल सम्पादन गरेका छन् ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन्।

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मन्त्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा उक्त विधेयक प्रस्तुत गर्ने छन् ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, १३ फागुनः म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।

पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरु भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

“गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको रु एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ”, उहाँले भन्नुभयो, “विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।”

पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ । खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ । निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि १८ महिनाको हो ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष रु दुई करोड विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताउनुभयो ।

“प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “रु पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो ।” बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत हप्ताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ माग्नुभएको थियो ।

धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

गोदावरी (कैलाली), १३ फागुनः धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ ।

बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रवीनकान्त पन्तले बताउनुभयो । उहाँले बाँकी फोहर गौशाला, कुखुरा फार्म आदिबाट सङ्कलन गरेर ल्याउने गरेको बताउनुभयो । घरबाट निस्कने तरकारी, खानाजन्य फोहर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको जनाइएको छ ।

बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी दैनिक तीन हजार पाँच सय किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको पन्तले जानकारी दिनुभयो । उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पु¥याउनका लागि प्रक्रिया सुरु गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत रु २० करोड ८४ लाख लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कूल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तको भनाइ छ । प्लान्ट स्थापनाका लागि जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो ।

बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई फोहरमैला व्यवस्थापनमा सहज भएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहरमैलाको प्रयोगबाट एक हजार किलो ग्यास उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

काठमाडौँ, १३ फागुनः विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ । विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत सो अभ्यासमा समावेश गरिएको थियो ।

प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गर्नु थियो ।उहाँले भन्नुभयो, “यस्ता अभ्यासले ठूलोस्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, ‘फिल्ड’ अस्पतालको एकीकरण र रोग प्रकोपको दौरानमा निरन्तर उपचार सुनिश्चित गर्ने विषयमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरू उजागर ग¥यो । ”यसैबीच प्रवक्ता डा बुढाथोकीसहित नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्वस्वास्थ्य सङ्गठनका डा एलिसन गोकोटोनो प्रतिनिधिको टोलीले सुदूरपश्चिम प्रदेश, धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा गतिविधिका बारेमा जानकारी लिएको छ ।
सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पु¥याएबापत सम्मान समेत गरिएको थियो ।

अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले परिवर्तन विरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताउनुभयो । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निरासा बढेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “परिवर्तनविरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरूरी छ ।”

राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै उहाँले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार सो विद्यालयमा हाल एक सय १२ छात्र र एक सय ३५ छात्रा अध्ययनरत छन् ।

गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तिर्ण भएका थिए । सो अवसरमा जग्गादाता र विद्यालयका संस्थापकहरुलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

बढ्यो अण्डाको मूल्य

चितवन – सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

एप्पलले चार वर्षमा अमेरिकामा पाँच खर्ब डलर लगानी गर्ने, २० हजार कर्मचारी भर्ती गर्ने

एप्पलले आगामी चार वर्षमा अमेरिकामा पाँच खर्ब डलरभन्दा बढी खर्च गर्ने र २० हजार कर्मचारी भर्ती गर्ने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घोषणाको श्रेय तुरुन्तै लिनुभएको छ ।

सिलिकन भ्यालीमा आधारित यस दिग्गजले यो “अहिलेसम्मकै सबैभन्दा ठूलो खर्च प्रतिबद्धता’ भएको बताएको छ । यो प्रतिबद्धता प्रविधि कम्पनीहरू कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गर्न प्रभुत्वका लागि लडिरहेका बेला आएको छ ।

अमेरिकी कम्पनीहरूलाई उत्पादन स्वदेश फर्काउन दबाब दिँदै आउनुभएका ट्रम्पले यस लगानीका लागि आफ्नो प्रशासनलाई धन्यवाद दिनुपर्ने दाबी गर्नुभयो ।

“यसको कारण, हामी जे गरिरहेका छौँ त्यसमा विश्वास छ, जुनबिना उनीहरूले दस सेन्ट पनि लगानी गर्दैनन् । धन्यवाद टिम कुक र एप्पल !!!”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ठूला अक्षरमा लेख्नुभएको थियो ।

एप्पलले आफ्नो २० हजार नयाँ भर्ती प्रायः अनुसन्धान र विकास, सिलिकन इन्जिनियरिङ, सफ्टवेयर विकास र एआई र मेसिन लर्निङमा केन्द्रित हुने बताएको छ ।

यसले सन् २०२६ मा टेक्सासको ह्युस्टनमा नयाँ उत्पादन सुविधा खोल्ने योजना घोषणा गरेको छ । यसले सर्भरहरू जोड्नेछ जसले ‘एप्पल इन्टेलिजेन्सलाई शक्ति प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ’–कम्पनीको एआई उत्पादनहरूको हिस्सा– र ‘हजारौँ रोजगारी’ सिर्जना गर्नेछ ।

डेट्रोइटमा रहेको एउटा एप्पल म्यानुफ्याक्चरिङ एकेडेमी पनि ‘कम्पनीहरूलाई उन्नत उत्पादनमा रूपान्तरण गर्न मद्दत गर्ने’ योजनामा छ ।

“हामी अमेरिकी नवप्रवर्तनको भविष्यप्रति आशावादी छौँ र हामी हाम्रो देशको भविष्यका लागि यो पाँच खर्ब डलरको प्रतिबद्धताका साथ हाम्रो दीर्घकालीन अमेरिकी लगानीहरूमा निर्माण गर्न गर्व गर्छौं”, एप्पलका सिइओ टिम कुकले एक विज्ञप्तिमा भन्नुभयो ।

एप्पलका आपूर्तिकर्ताहरूले पहिल्यै नै एरिजोना, कोलोराडो, ओरेगन र उटा सहित १२ राज्यका २४ कारखानामा सिलिकन उत्पादन गरिसकेका छन् ।

अमेरिकाले सुरक्षा परिषद्मा आफ्नो युक्रेन प्रस्तावमा कुनै पनि संशोधनलाई भिटो गर्ने

संयुक्त राज्य अमेरिकाले सोमबार क्षेत्रीय अखण्डताको उल्लेख नगरी युक्रेन युद्धको ‘द्रुत अन्त्य’ गर्न आग्रह गर्ने प्रस्तावित सुरक्षा परिषद्को प्रस्तावमा आफ्ना युरोपेली सहयोगीहरू लगायत कुनै पनि संशोधनलाई भिटो गर्ने धम्की दिएको छ ।

हामी रूसी संशोधनलाई भिटो गर्न जाँदैछौँ यदि यो सुरक्षा परिषद्मा हामीसम्म आयो भने, हामी युरोपेलीहरूको संशोधनलाई भिटो गर्नेछौँ यदि तिनीहरू सुरक्षा परिषद्मा हामीसम्म आए भने”, विदेश मन्त्रालयका एक अधिकारीले नाम नछाप्ने सर्तमा भने ।युक्रेन र रूसलाई शान्तिका लागि आफ्नो योजना समर्थन गर्न आह्वान

यसैबीच संयुक्त राष्ट्र महासभाले तीन वर्षको सङ्घर्षको स्मरण गर्न अमेरिकी प्रस्तावमा मतदान गर्न तयारी गर्दै गर्दा वासिङ्टनले सोमबार युक्रेन र रूसलाई युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना समर्थन गर्न आह्वान गरेको छ ।

“संयुक्त राज्य अमेरिकाद्वारा पेश गरिएको प्रस्ताव मस्यौदाले यही कुरा इङ्गित गर्दछ । हाम्रो मस्यौदाले द्वन्द्वको शीघ्र अन्त्य गर्न अनुरोध गर्दछ र थप युक्रेन र रूसबीच दीर्घकालीन शान्तिको आग्रह गर्दछ । अहिले यही आवश्यक छ र हामी युक्रेन र रूससहितसबै सदस्य राष्ट्रलाई यस प्रयासमा हामीसँग जोडिन आग्रह गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत डोरोथी सियाले भन्नुभयो ।

‘आक्रमण उचित ठहरिन्छ भने’ कुनै पनि देश सुरक्षित छैन– युक्रेन

त्यसैगरी महासभाले देशमा रूसको युद्धको तेस्रो वर्ष मनाउन एक प्रस्तावमा मतदान गर्न तयारी गर्दै गर्दा युक्रेनले सोमबार संयुक्त राष्ट्र सदस्यहरूलाई यदि ‘आक्रमण उचित ठहरिन्छ र पीडितलाई उसको लचिलोपन र बाँच्ने इच्छाका लागि दोष दिइन्छ भने कुनै पनि देश सुरक्षित छैन’ भनेको छ ।

“यदि आक्रमण उचित ठहरिन्छ र पीडितलाई उसको लचिलोपन र बाँच्ने इच्छाका लागि दोष दिइन्छ भने कुनै पनि देश सुरक्षित छैन”, युक्रेनकी उपविदेशमन्त्री मारियाना बेत्साले भन्नुभयो ।

भद्रपुर झापा गोल्डकपः पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रतिस्पर्धा

भद्रपुर (झापा), १३ फागुनः दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी)लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको होे । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।

भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

भद्रपुर (झापा), १३ फागुनः भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलकाे समीकरण पूरा भएको हो ।

मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ ।

डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २–० ले पछि परेको थियो ।

खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पु¥याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३–१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पु¥याएका थिए ।

दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख र उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

कैलाली, १३ फागुनः जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ ।

दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो । सुदूरपश्चिमले यसअघिको पहिलो सेमिफाइनलमा कर्णालीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । लुम्बिनीको जितमा विनोद केवतले निर्णायक गोल गरे । उनले खेलको ७५औँ मिनेटमा गोल गरेका हुन् । आफ्नो टोलीलाई फाइनल पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापामगर ‘म्यान अफ द म्याच’ भए । उनले नगद रु पाँच हजारसहित ट्रफी पाएका छन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीचको फाइनल खेल महाशिवरात्रिका दिन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउँनेछन् भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजारसहित ट्रफी दिइनेछ । प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको आयोजक गौरीगङ्गा–११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिएका हुन् ।

क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान

दोधारा चाँदनी (कञ्चनपुर), १३ फागुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ ।

सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गर्नुभयो ।

त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । उहाँलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्नरराष्ट्रियस्तरमा पु¥याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिनुभयो । “अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ”, ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले भन्नुभयो ।

नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुलर्भ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् ।

साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए । गृहनगरमा उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उहाँले बताउनुभयो ।

“यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ । साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।”

ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी–२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरियता शीर्ष–२० पार लगाउन सकेका छैनन् । नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ ।

पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १३ फागुनः यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।”

उहाँले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइन रहने जानकारी दिनुभयो । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गर्नुभयो ।

“हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ”, संयोजक खत्रीले भन्नुभयो ।

उहाँले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २५ पैसा र बिक्रीदर नौ रूपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३१ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ एक पैसा र बिक्रीदर १३ रूपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रूपैयाँ १० पैसा तय गरिएको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

ढोरपाटन (बागलुङ), १३ फागुनः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ ।

त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।

ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गँैडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्दछ ।

करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन् । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन् भने करिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारीसाधन सञ्चालन हुने थालेका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरवाहलगायत मुलुकका ठूला सहरसम्म पुग्न सहज भएको छ । करिडारमा यातायाता सञ्चालन हुन थालेपछि गाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताउनुभयो । करिडोरको ट्र्याक वर्षौं अगाडि खुलेपछि अहिले स्तरोन्नति भएको भन्दै यसले गाउँलाई सिधा सहरसँग जोडेको उहाँको भनाइ छ ।

श्रीसले भन्नुभयो, “कालीगण्डकी करिडोरले हाम्रो गाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोरदोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार÷पाँच घण्टामा पुग्न सकिन्छ, बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग छन्, करिडोरले यो क्षेत्रका नागरिकको जीवनशैली बदल्न थालेको छ ।”

जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले करिडोर सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेका बताउनुभयो । भारतबाट मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेको भन्दै यसले आर्थिक चलायमान हुने उहाँको भनाइ छ ।

स्थानीय सरकारले पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई तान्न सकिने थापाले धारणा राख्नुभयो । अहिले दैनिक बुटवलबाट जैमिनीसम्म सिधा यातायात सञ्चालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको उहाँले उल्लेख गर्नुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिए करिडोरबाट प्रशस्त लाभ लिनुका साथै आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ छ ।

किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य वस्तु सहजै विभिन्न सहरमा पु¥याउन सकिने हुँदा उचित मूल्यसमेत पाइने शर्माले बताउनुभयो । “करिडोर बागलुङवासीका लागि वरदान सावित हुँदै गएको छ, हिजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेका छन् । एक दिन यात्रा गर्नुपर्ने ठाउँमा अहिले दुई÷चार घण्टामा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना छन्, नगरपालिकाले पनि करिडोरबाट लाभ लिनेगरी योजना बनाइ रहेको छ ।”

करिडोरले जैमिनी नगरपालिकामा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किमी क्षेत्र जोडेको छ । नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किमी रहेको करिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किमी लामो छ ।

मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत यसले छोट्याइदिएको छ । करिब १४ वर्ष अगाडि निर्माण सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्न सरकारसँग एकीकृत समाजवादीको माग

काठमाडौँ, १३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढेकाले मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास गरी रोजगारीको उपयुक्त अवसर सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा गरिब जनताको जीवन कष्टकर हुँदै गएकाले जनजीविका सुधार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकले लाखौँ जनताको सहकारीमा राखिएको बचत फिर्ता गर्न सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीलगायत वित्तीय क्षेत्रका भ्रष्टलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाहीको माग गरेको छ । वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको महासचिव भुसालले जानकारी दिनुभयो ।

भारतको ओडिसा राज्यको कलिङ्गा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न बैठकले माग गर्दै जाजरकोटसहित पश्चिमका भूकम्पपीडित जनताको आवास पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन, गत असोज १०–१२ को भारी वर्षाका कारण भएका भौतिक क्षतिको पुनःनिर्माण गरी बिपी राजमार्गलगायत स्थानमा यातायात पुनःसञ्चालन गर्न आग्रह गरेको महासचिव भुसालले उल्लेख गर्नुभयो ।

बैठकले संसद्मा छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयककाबारेमा विज्ञसँग छलफल गरी ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षसँग आह्वान गरेको छ ।

यही फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका दुई सय ९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तत्कालिक कार्ययोजना र पार्टीका तत्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १३ फागुनः तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो । सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीयसहित आठ टोलीको सहभागिता रहने छ । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेश भने सहभागी नहुने आयोजकले जनाएको छ ।

कुल १८ टिमका एक सय ६२ खेलाडी सहभागी हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको पुरुष विजेता टोलीले नगद रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने सङ्घका अन्तरराष्ट्रिय प्रतिनिधि आनन्दकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलातर्फका विजेताले नगद रु ६० हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् । नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेकाले राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको यादवले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु ३१ लाख लाग्ने आयोजकले अनुमान गरेको छ ।

धवलागिरिमा १३ जलविद्युत आयोजना

म्याग्दी, १३ फागुनः जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिनुभयो । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६ दशमलव २३ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

“भिरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत यहाँ सडक सञ्जाल विस्ता हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिन्छ ।”

गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ को १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँधमार्फत पाँच दशमलव सात सय किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका–७ भारवाङमा बन्ने विद्युत्गृहमा एक सय ९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत रु ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ ।

हाइड्रोइम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि–४ सिम्कोश दोभानको बाँधबाट घिम्लेटी जोड्ने चार किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ । उक्त आयोजना प्रमुख रमेश सुवेदीले विसं २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिएको जानकारी दिनुभयो । यस आयोजनाको कुल लागत रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ ।

हाइड्रोभिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको धवलागिरि–४ जेल्तुङमा प्रस्ताव गरिएको विद्युत्गृह निर्माणस्थल हालै सडक सञ्जालमा जोडिएको छ । खाम्लास्थित अपर म्याग्दी–१ को बाँधबाट नाउँरा हुँदै बगर जोड्ने उक्त सडक छ किमी दूरीको छ ।

जेल्तुङबाट १२ किमी दूरीमा रहेको दोभानसम्म पहुँचमार्ग निर्माणलाई निरन्तरता दिने तयारी भइरहेको धवलागिरि–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

धवलागिरि–३ मा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको छ । विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय स्रोत, जग्गा व्यवस्थापनलगायत काम सकेर यही वर्षदेखि बाँध, पेनस्टक पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गर्ने तयारी भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताउनुभयो ।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको दरखोला जलविद्युत् आयोजनाको बाँध धवलागिरि–३ कुनौटो र सोही वडाको सोलवाङमा विद्युत्गृह प्रस्ताव गरिएको छ । तीन किमी एक सय मिटर पेनस्टक पाइपलाइन रहने उहाँले जानकारी दिनुभयो ।

धवलागिरि–४ मुदीमा १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला, २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला (ए), धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला र १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले सम्बन्धित प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको जनाएको छ ।

धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेका आयोजनाहरूले स्थलगत सर्वेक्षण, वित्तीय स्रोत व्यवस्थापन र विद्युत् खरिद–बिक्री प्रक्रियामा रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार चौध दशमलव ७० मेगावाटको मुदीखोला, २० मेगावाटको कुनबानखोला, तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश, १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला (बि) र चार दशमलव छ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना निर्माण र सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट विभिन्न प्रवर्द्धक कम्पनीले अनुमति लिएका छन् ।

म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा सबस्टेसन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको जानकारी दिनुभयो ।

डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।

गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सबस्टेसन निर्माण र १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन तथा प्रसारणलाइनको कामले गति लिन थालेपछि कालीगण्डकी, म्याग्दी, राहुघाट र सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताउनुभयो ।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौँ, १३ फागुनः सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ ।

कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो ।

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो ।

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।

जेलेन्स्कीद्वारा रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा ‘यस वर्ष’ शान्तिको आह्वान

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार रुसको आक्रमणको तेस्रो वार्षिकीमा किएभमा आयोजित शिखर सम्मेलनमा भेला भएका युरोपेली नेताहरूको बीचमा यस वर्ष ‘वास्तविक, दीर्घकालीन शान्ति’ को आह्वान गर्नुभएको छ । रुसले आफ्नो हितलाई ‘उपयुक्त’ बनाउने सम्झौतामा पुग्न सकेमा मात्र आक्रमण रोक्ने बताएको छ र युरोपमाथि लडाइँलाई लम्ब्याउन चाहेको आरोप लगाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन् २०२२ फेब्रुअरीमा ‘विशेष सैन्य अभियान’ सुरु गर्ने निर्णयले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्व सुरु गरेको थियो ।

दुवै पक्षका दशौँ हजार सैनिक र युक्रेनी नागरिक मारिएका छन् । देशको दक्षिण र पूर्वका सहरहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

“यो वर्ष वास्तविक, स्थायी शान्तिको सुरुआतको वर्ष हुनुपर्छ”, जेलेन्स्कीले किएभमा आफ्ना समर्थकहरूलाई भन्नुभयो, “पुटिनले हामीलाई शान्ति दिनुहुन्न वा केहीका बदलामा हामीलाई दिनुहुन्न । हामीले शक्ति, विवेक र एकताको माध्यमबाट शान्ति जित्नुपर्छ ।”

युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनले पनि अमेरिकासँग द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने विषयमा वार्ता सुरु भए पनि पुटिन पछि हट्ने सम्भावना नरहेको चेतावनी दिनुभयो । 

“पुटिनले भूमिमा यो युद्ध जित्नका लागि पहिलेभन्दा बढी कडा प्रयास गरिरहनुभएको छ, उहाँको लक्ष्य युक्रेनको आत्मसमर्पण हो”, उहाँले भन्नुभयो ।

उहाँले युक्रेनको युद्धलाई ‘युरोपको भविष्यका लागि सबैभन्दा केन्द्रीय र महत्त्वपूर्ण सङ्कट’ भन्नुभयो ।

मध्यस्थकर्तालाई सम्झौता गर्न सहयोग गर्ने प्रस्ताव गर्नुभएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले शिखर सम्मेलनमा ‘युक्रेनको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता’ लाई दृढतापूर्वक समर्थन गरेको र वार्तामा दुवै पक्षको ‘निष्पक्ष’ प्रतिनिधित्व गर्नुपर्ने बताउनुभयो ।

– रुसलाई ‘सुहाउने’ सम्झौता –

तर युक्रेनका समर्थकहरूका नेताहरूले समर्थन घोषणा गर्न र किएभको प्रतिरोधको प्रशंसा गर्न पङ्क्तिबद्ध हुँदा त्यहाँ एउटा उल्लेखनीय अनुपस्थिति थियो: संयुक्त राज्य अमेरिका ।

डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनले पश्चिमी गठबन्धनलाई उल्ट्याउने खतरा बनेको छ र महत्त्वपूर्ण मोडमा अत्यावश्यक सैन्य र आर्थिक सहयोगलाई प्रश्नमा ल्याएको छ ।

पुटिनसँग वार्ता खोल्ने ट्रम्पको कदम, युक्रेनले युद्ध ‘सुरु’ गरेको भन्ने झूटो दाबी र जेलेन्स्कीमाथि मौखिक आक्रमणले युरोपभरि चिन्ता पैदा गरेको छ ।


किएभले सोमबार वासिङ्टनसँग संयुक्त राज्य अमेरिकालाई दुर्लभ खनिजहरूमा प्राथमिकता पहुँच दिने सम्झौताको ‘अन्तिम चरण’ मा रहेको बताएको छ । यो गत हप्तामा विस्फोट भएको असहमतिको स्रोतहरू मध्ये एक हो ।

रुसी अधिकारीहरू ट्रम्पको पहुँचबाट उत्साहित भएका छन् । उनीहरूले आफ्नो मुख्य मागहरू: युरोपमा नाटोको सैन्य उपस्थितिको कटौती, युक्रेनबाट क्षेत्रीय छुटहरू र किएभलाई पश्चिमी सैन्य समर्थनको अन्त्य गर्ने अवसर देखेका छन् ।

“हामी यी वार्ताहरूले रुसी सङ्घलाई सुहाउने दृढ र दिगो परिणाम दिएपछि मात्र शत्रुता रोक्नेछौँ”, विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीको भ्रमणमा भन्नुभयो ।

यसैबीच पुटिनका प्रवक्ताले युरोपलाई लडाइँ लम्ब्याएको आरोप लगाउनुभएको छ ।

सोमबार ब्रसेल्सले लगाएको प्रतिबन्धको नयाँ प्याकेजको जवाफ दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई भन्नुभयो, “युरोपेलीहरू युद्ध जारी राख्नुपर्ने कुरामा विश्वास दिलाउने बाटोमा छन् ।”

– तपाईं कमजोर हुन सक्नुहुन्न –

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार पुटिनसँगको कुराकानीमा युक्रेन सङ्कटलाई कम गर्न सहयोगी रुसको ‘सकारात्मक प्रयास’ लाई समर्थन गरेको चिनियाँ सरकारी मिडियाले जनाएको छ ।

बेइजिङ रुसको महत्त्वपूर्ण राजनीतिक समर्थक हो र यसले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन । जेलेन्स्कीले पटक–पटक सीसमक्ष पुटिनलाई युद्ध रोक्न मनाउन मद्दत गर्न आग्रह गर्नुभएको छ ।

युक्रेनी नेताले सोमबार पनि किएभका समर्थकहरूबाट सुरक्षा ग्यारेन्टीका लागि आफ्नो आह्वानलाई ताजा गर्नुभयो ताकि रुसले कुनै पनि युद्धविराम प्रयोग गरेर पछिको मितिमा पुनः हतियार र आक्रमण नगर्न सुनिश्चित गर्न सकियोस् ।

ट्रम्प युक्रेनलाई निरन्तर समर्थन गर्ने बारेमा शङ्कालु भएकाले युरोप यो खाली स्थान भर्न सक्छ कि सक्दैन भन्ने बहसमा छोडिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन सोमबार पछि वासिङ्टनमा ट्रम्पसँगको भेटका लागि आउनुभएको थियो । त्यहाँ उहाँले रिपब्लिकन राष्ट्रपति ट्रम्पलाई ‘राष्ट्रपति पुटिनको अनुहारमा तपाईं कमजोर हुन सक्नुहुन्न’ भन्ने बताउनुभएको थियो ।

चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने

यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।

यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ व्याण्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ ।
यो व्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीतहरु चर्चित छन् । यस्तै, अन्य ३ व्याण्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।

यो कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले बताएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।यस्तै, कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधीबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिन सक्ने बताएको छ । यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ, १२ फागुन: नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको र विशेष गरी सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको स्मरण गर्नुभयो ।

सङ्घका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालका सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनःनिर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालको सम्पदा संरक्षणमा इटानीको योगदान महत्वपूर्ण रहदै आएको भन्दै उहाँले यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त ग्र्नुभयो । 

साधारणसभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । सङ्घका संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समसेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट मानार्थ सदस्य राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत पाण्डे, सङ्घका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रूपक राजवन्शी, उपाध्यक्ष मनोजकुमार ज्ञवालीलगायत  विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो छ: ऊर्जामन्त्री खड्का

काठमाडौँ, १२ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजमा शान्ति स्थापनामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

 सेवा केन्द्र काठमाडौँले महाशिवरात्री पर्वको अवसरमा आज पशुपति क्षेत्रमा आयोजना गरेको ‘धार्मिक सहिष्णुता एवं महिला सशक्तिकरण’ विषयक प्रवचन कार्यक्रममा उहाँले समाजलाई रूपान्तरण र शान्ति स्थापनाका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेका बताउनुभएको हो ।

  “समाजमा दाजुभाईबीच हुने कलह, झगडालाई शान्तिको माध्यमबाट एकताबद्ध बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ, केन्द्रले समाजमा नैतिक शिक्षासमेत प्रदान गरेको छ”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले ब्रह्मकुमारी केन्द्रले पु¥याएको सत्कर्मप्रति धन्यवाद दिँदै उक्त अभियानलाई अगाडि बढाउन आफू सरकारी क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो रहेको मन्त्री खड्काको भनाइ थियो । कार्यक्रममा ब्रह्मकुमारीको अभियानमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’

काठमाडौँ, १२ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खाद्यान्नमा रहेको परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्नेमा जोड दिएका छन् । आजको बै सांसद राजेन्द्र बजगाइँले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले यस्तोमा जोड दिएका हुन् । बजगाइँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुङ्गुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ भन्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सांसद बजगाइँले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम बाँदर नियन्त्रणका लागि वैकल्पिक उपाय र बँदेल व्यवस्थापनका लागि शिकारी नीति आवश्यक भएको भन्दै सांसद यस्तो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उक्त प्रस्तावको समर्थनमा सांसदद्वय उदयशम्शेर जबरा र सञ्जयकुमार गौतम रहनुभएको छ ।

सांसद बजगाइँले मानव वन्यजन्तु द्वन्द्वलाई न्यून गर्न यसको आवश्यकता रहेको बताउनुभयो । बाँदरले बस्ती विस्थापित गराएको, लेलेमा खोलिएको बाँदर केन्द्र हटाएपछि धेरैतिर बाँदरको समस्या बढेको उहाँले बताउनुभयो । धार्मिक रूपमा बाँदर मारिनुहुन्न भन्ने मान्यताले पनि धेरै समस्या भएको बजगाइँको भनाइ थियो । “भुटानमा कुकुरलाई मारिएको, त्यहाँ पनि कुकुरलाई भैरवका रूपमा मानिने रहेछ । बाँदरलाई नमारिकन पनि निकासी, पैठारी गर्न सकिन्छ ”, उहाँले भन्नुभयो ।

प्रस्तावमाथि समर्थन गर्नुहुँदै सांसद उदयशम्शेर जबराले तराई क्षेत्रमा बँदेलको आक्रमणले पहिलेदेखि नै समस्या हुने गरेको बताउनुभयो । तराईमा शिकार गर्न नसक्ने व्यक्तिको बाली बँदेलले नष्ट गर्ने गरेको उहाँले सुनाउनुभयो । केही देशमा कानुनसम्मत रूपमा बँदेल मार्ने गरिएको भन्दै जबराले बँदेललाई प्रयोगात्मक रूपमा कानुनसम्मत शिकार गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले गृहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।

ललितपुर जिल्लामा विसं २०७० भन्दा अहिले बाँदर बढेको उल्लेख गर्दै उहाँले छ महिना लगाएर गरेको खेती बाँदरले दुई घण्टामै सिध्याउने भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद डा अमरेशकुमार सिंहले तराई क्षेत्रमा नील गाईले पनि बाली नष्ट गर्नुका साथै मानवी क्षतिसमेत गरिरहेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।  

सांसद बिराजभक्त श्रेष्ठले बाँदर, बँदेलको आहारा नभएर बस्तीमा पस्ने र बाली क्षति गर्ने गरेको बताउँदै मान्छेलाई केन्द्रमा राखेर समस्या समाधान गरिनुपर्ने बताउनुभयो । उहाँले ११ जना पशुचिकित्सकले भारतमा बाँदर, बँदेल व्यवस्थापनसम्बन्धी तालिम लिएर आएको विषयमा पनि धारणा राख्नुभयो । 

सांसद गणेशप्रसाद पराजुलीले वन र कृषि दुवै मन्त्रालयसँग यो प्रस्ताव सम्बन्धित रहेकाले समस्या समाधान गर्न विज्ञसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

सांसद कुसुमदेवी थापाले वन्यजन्तुका कारण कृषिमा समस्या भइरहेकाले बाँदर, बँदेलजस्ता जन्तुलाई बन्ध्याकरण गर्न कृषि समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको सुनाउनुभयो ।

सांसद सीता मिजारले प्रस्तावमा समर्थन गर्दै बाँदर र बँदेलका कारण मानिसले कष्टपूर्ण जीवन बिताएको, धार्मिक स्थलमा क्षति गरेको, पर्यटकलाई दुःख दिएकाले कानुन बनाएर सङ्ख्या घटाउनुपर्ने बताउनुभयो । वन जङ्गलमै फलफूल रोपेर वन्यजन्तु बस्तीमा आउनै नपर्ने वातावरण बनाउन सकिने उहाँको भनाइ थियो । 

 सांसद राजेन्द्रकुमार केसीले ग्रामीण भेगमा बाँदर र बँदेलकै कारण मानिस थातथलो छोड्ने अवस्था आएको भन्दै यी जीवलाई उपयोग गर्ने नीति पनि आवश्यक रहेको बताउनुभयो । लेलेमा रहेको बाँदर अनुसन्धान केन्द्रले एउटा बाँदर रु २५ हजारमा किन्ने गरेको उहाँले सुनाउनुभयो । खाद्यान्नमा परनिर्भरता घटाउन पनि बाँदर र बँदेलको नियन्त्रण आवश्यक रहेको सांसद केसीको भनाइ थियो । 

सांसद रामहरि खतिवडाले विसं २०७० मा संसद्मा तत्कालीन सांसद कमल पँगेनीले कुरा उठाउँदा बाँदरका कुरा पनि गर्ने भनिएको स्मरण गर्दै हाल बाँदरकै कारण धेरैले बसाइँसराइ गर्नु परेको सुनाउनुभयो ।

सांसद मनिष झाले सर्प र कुकुरको टोकाइबाट विश्वमै धेरै मानिस पीडित हुने गरेको सुनाउँदै तेस्रोमा बाँदरको टोकाइबाट समस्या हुने गरेको बताउनुभयो । सहरी मन्दिर क्षेत्रमा मानिसले बाँदरलाई खाना खान दिँदा पछि घरतिर आउने गरेको उहाँको भनाइ थियो । सहर र गाउँमा बाँदर नियन्त्रणको रणनीति फरक रहेकाले त्यसैअनुसार समाधानका उपाय खोजिनुपर्ने झाले बताउनुभयो ।

सांसद रामकृष्ण यादवले वन, जङ्गल मासिन थालेकाले बाँदर र बँदेल बस्तीमा छिरेको बताउँदै नीलगाईको समस्या पनि यसै प्रस्तावसँग राखेर समाधान गरिनुपर्नेमा जोड दिनुभयो । धनुषा, सर्लाहीलगायतका जिल्लामा नीलगाईको समस्या धेरै रहेको उहाँले बताउनुभयो ।

‘सुख्खा बन्दरगाह र छेला औद्योगिक क्षेत्र निमार्णको काम छिट्टै अगाडि बढ्छ’ : मन्त्री भण्डारी

दोधारा चाँदनी(कञ्चनपुर), १२ फागनुः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुने बताउनुभएको छ ।

महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले बन्दरगाह निर्माण र औद्योगिक क्षेत्रको काम अगाडि बढाउन आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।  “सुख्खा बन्दरगाह निर्माणका लागि सबै प्रक्रिया पूरा गरेर रुख कटानको तयारी भइरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “भारतीय लगानीमा बन्ने  बन्दरगाह निमार्णका लागि एक महिनाअघि भारतीय पक्षले बोलपत्र आह्वान गरिसकेको छ ।” 

उहाँले एक महिनाभित्र बन्दरगाह निमार्ण सुरु हुने र त्यसले पूर्णता पाए तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने धारणा राख्नुभयो । “भारतीय पक्षले सुख्खा बन्दरगाहसम्म रेल सञ्चालन गर्ने गरी छलफल भएको छ । हामीले सबैभन्दा छोटो दुरीमा गुजरातको मुन्द्रापोर्टसम्म पहुँच पाएमा समयका हिसाबले १५ दिनको ट्रान्सपोर्ट समय घट्ने छ, यसले ढुवानी लागतमा समेत निकै फरक पर्नेछ”, मन्त्री भण्डारीले भन्नुभयो ।

यस्तै, वेदकोट नगरपालिकास्थित प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्र निर्माणका लागि वनको प्रक्रियागत काम भइरहेकाले छिट्टै काम सुरु हुने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले नौ अर्बको लागतमा बन्ने उक्त औद्योगिक क्षेत्र सुदूरपश्चिमका लागि महत्वपूर्ण रहेकाले सरकारले सोहीअनुसार निर्माण गरी स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउन आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिदेशीय नाकाको रूपमा विकास गर्ने गरी महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरी सम्पन्न गर्न सरकारले आवश्यक बन्दोबस्त गर्ने उहाँको भनाइ थियो ।