`

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत, १२ फागुन : यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ । पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताउनुभयो ।

उहाँकाअनुसार गत कात्तिकमा रु ३६ लाख १९ हजार, मङ्सिरमा रु १३ लाख ७८ हजार ८३५, पुसमा रु २९ लाख ९७ हजार ८८० र माघमा रु १८ लाख १२ हजार १८५ बाराबरको तरकारी बिक्री भएको हो । 

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी  उत्पादन हुने गरेको छ । यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन् । हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताउनुभयो । 

पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई  व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु पाँच उपलब्ध गराउँदै आएको छ । पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ । 

स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताउनुभयो । यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

बयलपाटा अस्पताल निरन्तर सञ्चालनका लागि प्रदेश र स्थानीयतहसँग सहकार्य गछौँ: स्थ्यमन्त्री पौडेल

काठमाडौँ, १२ फागुनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अछाम जिल्लास्थित बयलपाटा अस्पतालको सेवालाई निरन्तरता दिन प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले रु ११ करोड बजेटको अभावमा उक्त अस्पताल बन्द हुने अवस्था सृजना भइरहेकातर्फ सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कुँवरले आवश्यक रकम तत्काल उपलब्ध गराएर निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्र्न ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री पौडेलले उक्त विषयमा आफनो ध्यानार्कषण भएको भन्दै अस्पतालको सेवा प्रभावित हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “बयलपाटा अस्पताल सञ्चालन भइरहेको छ । यसबारे सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्नेछौँ”, उहाँले भन्नुभयोे, “यस अस्पताललाई निरन्तर चलाउन आवश्यक छ । पूर्णरूपमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ, यसलाई निरन्तरता दिन प्रदेश र स्थानीय तहसँग सहकार्य गरी अघि बढ्ने छौँ ।”

सांसद कुँवरले बयलपाटा अस्पतालले सुदुरपश्चिम र कर्णालीका गरी करिब आठ जिल्लाका जनताले यहाँबाट उपचार सेवा लिइरहेको उल्लेख गर्दै अस्पतालले नमूनायोग्य उपचार सेवा दिइरहेको सदनलाई जानकारी गराउनुभयो । “यो अस्पताल दश, एघार करोड बजेट अभावका कारण बन्द हुने अवस्थामा छ । सुदूरपश्चिम र कर्णालीका झण्डै आठ जिल्लाका जनता यहाँबाट उपचार सेवा लिइरहेका छन् । तत्काल अस्पतालको समस्या समाधान गर्न सरकारसँग आग्रह छ”, उहाँले भन्नुभयो ।

सांसद कुँवरले ५० शय्याको उक्त अस्पताल प्रदेशमा पूर्ण रूपमा हस्तान्तरण भइनसकेको भन्दै प्रदेश सरकारले दिँदै आएको रु आठ करोड बराबरको विशेष अनुदानसमेत दुई वर्षयता रोकिएको जानकारी गराउनुभयो । “यस अस्पतालको वार्षिक खर्च रु २२ करोड ४६ लाख छ । त्यसमध्ये रु ११ करोड दातृ निकाय, रु ८० लाख स्थानीय तहले बेर्होदै आएको छ । बाँकी रु ११ करोड छ लाख अभाव छ, यसको व्यवस्था हुनुपर्यो”, सांसद कुँवरले भन्नुभयो ।

उक्त प्रस्तावमाथी सांसद दयालबहादुर शाहीले स्पष्टीकरण माग गर्नुभएको थियो ।

बयलपाटा अस्पताल न्याय हेल्थ नामक गैरसरकारी संस्था र सरकारसँगको साझेदारीमा सुरु भएको थियो । हाल स्थानीय सरकारको सहकार्यमा प्रदेशअन्र्तगतको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालनमा रहेको मन्त्री पौडेलले सदनलाई जानकारी गराउनुभएको थियो ।

म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्दै युरोपमा ‘रुसी खतरा’ को सामना गर्न र युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘कार्यका लागि प्रस्तावहरू’ प्रस्तुत गर्ने बताउनुभएको छ ।

युक्रेन युद्धको तेस्रो वार्षिकोत्सवमा दुई नेताले भेट गर्दा म्याक्रोनले ट्रम्पलाई रुस र संयुक्त राज्य अमेरिकाबीचको वार्तामा युरोपेली नेताहरूलाई समावेश गर्न मनाउने आशा गर्नुभएको छ ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीति पुनः सुरु गर्न र युरोपेली राष्ट्रहरू वा किएभको संलग्नता बिना वार्ता गर्न तयार रहेको घोषणा गरेर युरोपभर तरङ्ग ल्याउनुभएको थियो ।

उहाँले युद्ध सुरु गर्नमा युक्रेनको कथित जिम्मेवारीको बारेमा रुसी कुराहरू दोहोर्‍याउनुभएको छ । यसले उहाँ मस्कोको सर्तहरूमा सहमत हुन सक्नुहुन्छ भन्ने युरोपमा चिन्ता जगाएको छ ।

म्याक्रोनले गत हप्ता प्रमुख नेताहरूसँग दुई बैठक आयोजना गर्दै वासिङ्टनको अचानक नीति परिवर्तनप्रति युरोपेली प्रतिक्रियालाई समन्वय गर्ने प्रयास गर्नुभएको छ । “रुस युरोपेलीहरूका लागि अस्तित्वको खतरा हो”, उहाँले त्यस समयमा भन्नुभएको थियो ।

“तपाईंसँग यस्तो शक्ति छ जसले आफूलाई अत्यधिक हतियार जम्मा गरेको छ… र हतियार जम्मा गर्न जारी राखेको छ”, म्याक्रोनले वासिङ्टन प्रस्थान गर्नुअघि भन्नुभयो, “आज यो कहाँ रोकिनेछ हामीलाई थाहा छैन । त्यसैले हामी सबैले यसलाई नियन्त्रण गर्न कार्य गर्नुपर्छ ।”

युरोपेली सङ्घ (इयु) ले सोमबार रुसको युद्ध प्रयासलाई रोक्ने उद्देश्यले नयाँ चरणको प्रतिबन्ध लगाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले संयुक्त राज्य अमेरिकाको विपरीत युरोपले लडाइँ लम्ब्याउन चाहेको आरोप लगाउँदै प्रतिक्रिया दिनुभयो । “युरोपेलीहरूको यो विश्वास युक्रेनमा सम्झौता खोज्ने मानसिकतासँग पूर्ण रूपमा विपरीत छ, जुन हामीले अहिले अमेरिकीहरूसँग गरिरहेका छौँ”, पेसकोभले प्रतिबन्धहरू घोषणा भएपछि पत्रकारहरूलाई भन्नुभयो ।

– म्याक्रोनका लक्ष्यहरू –

मस्को–मैत्री हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बन लगायत महादेशभरका नेताहरूसँगको बैठकपछि म्याक्रोनले आफ्नो भ्रमणका क्रममा समग्र युरोपको प्रतिनिधित्व गर्नुहुने राष्ट्रपतिका सल्लाहकारले बताएका छन् ।

“उहाँ वार्ताहरूबाट देखा परेका एकरूपताहरूलाई प्रतिबिम्बित गर्ने कार्यका लागि प्रस्तावहरू लिएर वासिङ्टन जाँदैहुनुहुन्छ”, सल्लाहकारले भन्नुभयो ।

युक्रेनको सार्वभौमसत्तालाई सम्मान गर्दै र युरोपेली हितलाई पूर्ण रूपमा विचार गरिएको सुनिश्चित गर्दै युक्रेनका लागि अमेरिकी समर्थन जारी राख्न ट्रम्पलाई राजी गराउने म्याक्रोनको लक्ष्य रहेको सल्लाहकारले उल्लेख गरे ।

म्याक्रोनले ट्रम्पलाई रुसले युरोपका लागि ‘अस्तित्वको खतरा’ को प्रतिनिधित्व गर्दछ र पुटिनले युद्धविरामलाई ‘सम्मान गर्नुहुन्न’ भनेर विश्वास दिलाउन खोज्ने पनि सल्लाहकारले बताए ।

म्याक्रोन र बिहीबार ह्वाइट हाउसको भ्रमण गर्नुहुने बेलायती प्रधानमन्त्री किर स्टार्मरले यस सप्ताहन्तमा फ्रान्सेली राष्ट्रपति संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि सन्देशमा समन्वय गर्नुभयो ।

– सैन्य बलको तैनाथी –

बेलायत र फ्रान्सले शान्ति सम्झौता भएपछि रुसको भविष्यको आक्रमणबाट बच्न युक्रेनमा युरोपेली सेनाको तैनाथीका बारेमा पनि छलफल गरिरहनुभएको छ ।

“विचार भनेको सैनिकहरूलाई दोस्रो पङ्क्तिमा तैनाथ गर्ने हो, अग्रपङ्क्तिमा होइन । यसलाई गैर–युरोपेली दलहरूसँग बहुराष्ट्रिय सञ्चालनसँग जोड्न सकिन्छ”, छलफलहरूसँग नजिकको एक फ्रान्सेली स्रोतले भन्यो ।

म्याक्रोन र स्टार्मरले ट्रम्पलाई तैनाथ फौजका लागि ‘ठोस सुरक्षा ग्यारेन्टी’ उपलब्ध गराउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि ट्रम्प प्रशासनले युद्ध प्रयासमा अमेरिकी सैनिकहरू पठाउने कुरालाई अस्वीकार गरेको छ । युरोपले यसले लजिस्टिक्स वा खुफिया जस्ता अन्य समर्थन प्रदान गर्न सक्ने आशा गरेको छ ।

ट्रम्पले अमेरिकी प्रतिबद्धता घटाउन खोज्दै क्षेत्रको सुरक्षाको भार बोक्न नचाहेको अवस्थामा युरोपेली नेताहरूले आफ्नो रक्षा खर्च बढाउने प्रतिबद्धता पनि जनाउनेछन् ।

“युरोपेलीहरूसँग काम गर्नु उहाँको हितमा छ किनभने युरोपसँग अमेरिकीहरूसँग सहकार्य गर्ने आर्थिक सम्भावनासहित वृद्धिको क्षमता छ”, म्याक्रोनले भन्नुभयो ।

कटारी गोल्डकप : काठमाडौँद्वारा भुटान पराजित

कटारी (उदयपुर), १२ फागुन : ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

आज भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौँका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौँका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद रु तीन हजार पुरस्कार प्राप्त गरे ।

मङ्गलबारको खेल बागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच हुनेछ । कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्ने छ भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने छ । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।

निःशुल्क डायलासिस सेवाले बिरामीलाई राहत

गण्डकी, १२ फागुन : गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय १५ जना मिर्गाैलाका बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । चालु आर्थिक वर्षको गत पुससम्ममा २० हजार पाँच सय पटक डायलासिस सेवा प्रवाह गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशभर एक सय ४० वटा डायलासिस मेसिन सञ्चालनमा छन् ।

सरकारले निःशुल्क डायलासिस सेवा सुरु गरेपछि गण्डकी प्रदेशभित्रका बिरामीको रु १६ करोड ५० लाख व्यक्तिगत खर्च घटेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार अझै एक सय एक जना बिरामी उक्त सेवा लिन प्रतिक्षारत छन् । डायलासिसका लागि पर्खाइमा रहेका बिरामीको सङ्ख्यालाई शून्यमा झार्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।

यसअघि अस्पतालमा लामो समयसम्म पालो नपाउँदा डायलासिस सेवाका लागि बाहिर जानुपर्ने अवस्था थियो । प्रदेश सरकारले कास्कीको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा २५ शय्याको सुविधासम्पन्न डायलासिस केन्द्र सञ्चालनमा ल्याएपछि उक्त सेवा सहज बनेको हो ।

प्रदेशभित्रका बिरामीलाई प्रदेशभित्रैका अस्पतालमा डायलासिस सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरुको क्षमता विस्तार भइरहेको महानिर्देशक खड्काले जानकारी दिनुभयो । “पहिलेजस्तो डायलासिस सेवाका लागि शय्या नपाएर बाहिरका अस्पतालमा जानुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “विस्तारै यो सेवा सहज बन्दै गएको छ ।”

मनाङ र मुस्ताङबाहेकका जिल्लामा डायलासिस सेवा विस्तार भइसकेको उहाँले बताउनुभयो । मिर्गौलाका बिरामीको बढ्दो सङ्ख्याअनुसार अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्दै लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल सरकारले सात वर्षअघि डायलासिस सेवालाई निःशुल्क बनाउने घोषणा गरेको थियो ।

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा : मन्त्री दाहाल

काठमाडौँ, १२ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउनुभएको छ । दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सिटिइभिटीको ३७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सीपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरणमार्फत दक्ष प्राविधिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उच्च शिक्षा हासिल गरेका युवा समेत रोजगारीका लागि विदेश गई रहनुभएको उल्लेख गर्दै उहाँले सैद्धान्तिक शिक्षासँगै व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्नसके यो क्रममा न्यूनीकरण आउने समेत उल्लेख गर्नुभयो ।

सिटिइभिटीले देशका विभिन्न ग्रामीण क्षेत्रसम्म पुगेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्नु सरहानीय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमा नै आत्मनिर्भर र व्यावसायिक बनाउनतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले परिषद्का विभिन्न शिक्षालयका विद्यार्थीले प्रयोगात्मक सीपमार्फत निर्माण गरेका विभिन्न सामग्री, उपकरणका स्टलको अवलोकन समेत गर्नुभयो । सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अवकाशप्राप्त कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद्मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गर्नुभयो ।

परिषद्का सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले परिषद्का लागि समयानुकूल कानुन निर्माण गर्न मन्त्री एवं सरकारको ध्यानाकर्षण गराएका थिए ।

दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौँ, १२ फागुन: दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।

दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालिएको थियो ।

दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातिय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिनुभयो ।

दलित अधिकारकर्मीहरूले अन्तरजातीय विवाहपछि प्रहरीले पटक–पटक पक्राउ गरी दुःख दिएको भनिएका सिरहाका सत्येन्द्र राम र नेहा रौनियारको जोडीका बारेमा आवाज उठाउँदै आएका छन् । दलितका लागि दलित अभियानले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व, देशका विभिन्न भूभागमा जातीय विभेद, हत्या, छुवाछूतलगायतका विषय सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार, आठ सय ९० जना ट्राफिक प्रहरी परिचालन

काठमाडौँ, १२ फागुनः महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त पार्न सुरक्षा योजना तयार पारेको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुने छन् ।

त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने जनाइएको छ । त्यसका लागि करिडोर सडक र भित्री सडकसमेतमा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताउनुभयो ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गौशाला चोकमा भीडभाड भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकसमेतमा ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमाण्ड सेन्टर राखी आठ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

वीरगञ्ज (पर्सा) १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो ।

“केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताउनुभयो । “यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नोे स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गर्नुभयो ।

“अस्पतालले ५० वर्षे योगदानलाई स्मरण गर्दै विगतका कमीकमजोरीलाई सुधार्दै बढ्नका लागि पनि जरूरी छ”, उहाँले भन्नुभयो, “अस्पतालले उच्चस्तरीय उपचार सेवालाई अझै सशक्तीकरण गरेर दृष्टिमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ अग्र्रसर हुन अनुरोध गर्दछु ।” उपराष्ट्र यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गर्नुभयो ।

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताउनुभयो ।

“५० वर्षको अवधिमा अस्पतालले २७ लाखभन्दा धेरै बिरामीको आँखाको उपचार गरेका छौँ । सो अवधिमा आँखाको शल्यक्रिया पनि झण्डै चार लाखको हाराहारीमा गरेका छौँ । जसमध्ये एक लाख ८२ हजार जनाको आँखाको शल्यक्रिया निःशुल्क गरेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा अस्पतालको सेवालाई अझै उच्चस्तरीय बनाउँदै आँखाको बैंक पनि स्थापना गर्ने घोषणा गर्दछौँ ।”

सोही अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा डा सुनु दुलाल सम्मानित हुनुभएको छ । रू दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो । नेत्रज्योत्ति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, प्रा डा देवनारायण साहले नेपालको आँखाको उपचारमा पछिल्लो समय निकै राम्रो सुधार भएको बताउनुभयो ।

कोशी प्रदेशसभा : ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर, १२ फागुन : कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो । विधेयकको दफावार छलफलमा कुनै पनि सांसदले सहभागिता नजनाएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सो विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफमा विधेयकलाई समयसापेक्ष बनाउन संशोधन गर्नु परेको जानकारी दिनुभयो । उहाँले सो विधेकयले वातावरणलाई सन्तुलन बनाउन र जलवायु परिवर्तनले हुने असरलाई कम गर्न मद्दत गर्ने भन्दै विधेयकले वातावरण अध्ययन प्रतिवेदनलाई जिम्मेवार बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

विशेष समय

विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका तर्फबाट प्रेमराज थाम्साङले जैविक विविधता र वित्तीय सङ्घीयताका निम्ति अमेरिकी सरकारबाट आउने अनुदान रोकिनुमा सरकारको प्रतिक्रिया आउनुपर्ने धारणा राख्नुभयो ।

विशेष समयमै नेपाली कांग्रेस संसदीय दलका तर्फबाट गोपाल तामाङले केबुलकार घटनामा ताप्लेजुङको स्थिति र परिस्थितिलाई साम्प्रदायिक बत्र नदिन सरकार गम्भीर हुनुपर्छ भत्रुभयो ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य विनोद राई, गोम्बु शेर्पा, शोभा चेम्जोङ, रामप्रसाद महतो, निरन राई र भक्तिप्रसाद सिटौलाले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ः३० बजे बस्नेछ ।

लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने

लुम्बिनी, १२ फागुन : लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त प्रदेश बनाउनेगरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो । मानवता प्रवद्र्धन अभियानअन्तर्गत मानवसेवा आश्रमसँग लुम्बिनी प्रदेश सरकारले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मानवतायुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

“कसैले पनि सडकमा बास बस्न नपरोस्, भोकभोकै बस्न नपरोस्”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “संविधानले सुनिश्चित गरेका हक अधिकारको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो, त्यो जिम्मेवारी निभाउन हामी तयार छौँ ।”

प्रदेशभित्र सञ्चालित मानवसेवा आश्रममा स्वास्थ्यकर्मी उपलब्ध गराउने र उपचार सेवालाई सहज बनाउने तयारी छ । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मुख्यमन्त्री आचार्यलाई सडक आश्रित मानवमुक्त बनाउने अभियानको प्रस्तावना पत्र हस्तान्तरण गर्नुभयो ।

“नितान्त दाताको सहयोगबाट यो आश्रम सञ्चालन भइरहेको छ । यसलाई अघि बढाउन सरकारको साथ र सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “सरकारले अब सामाजिक सुरक्षाका लागि पनि सहयोग गर्न जरुरी छ । सडकबाट उद्धार गरी आश्रम र अस्पतालसम्म पु¥याउन साधन स्रोतको अभाव छ ।”

मानवसेवा आश्रमले लुम्बिनी प्रदेशमा हालसम्म एक हजार ३४४ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामा ८२९ पुरुष, ४१८ महिला र ९७ बालबालिका छन् । तीमध्ये ५५७ जनालाई परिवारसँग पुनर्मिलन गराइसकिएको छ । बाँके र बर्दियाबाट मानवसेवा आश्रम नेपालगञ्ज, दाङ, रोल्पा, प्यूठान, रुकुम पूर्वबाट मानवसेवा आश्रम तुलसीपुर, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची र गुल्मीबाट उद्धार गरिएका व्यक्तिलाई रुपन्देहीका दुईवटा मानवसेवा आश्रममा राख्ने गरिएको छ ।

‘मिसन २०८२’ तय गर्दै सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण, घोषणा र कार्यान्वयन गर्न राष्ट्रिय अभियान थालिएको छ । छलफलमा मन्त्रीहरू, प्रमुख सचिव तथा सचिवहरूले आफ्नो धारणा राखेका थिए ।

वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

बरहथवा (सर्लाही), १२ फागुन : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताउनुभएको छ ।

आज सर्लाहीको हरिपुरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम सङ्घ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब कांग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताउनुभयो ।

मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल मुस्लिम सङ्घले समयमै अधिवेशन गरेर कांग्रेस सम्वद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाल मुस्लिम सङ्घको मधेस प्रदेशस्तरीय प्रथम अधिवेशनको उद्घाटन समारोहलाई कांग्रेसका केन्द्रीय सदस्यहरू अब्दुल सतार, जाबेदा खातुन, नैनसिंह महर, नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति महम्मद अताउल, लगायतले सम्बोधन गर्नुभएको थियो ।

इयूका उच्च कूटनीतिज्ञ युक्रेनबारे वार्ताका लागि अमेरिका जाँदै

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मङ्गलबार अमेरिका जाने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ ।

“तपाईं (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ, तर यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,” सोमबार इयूका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशङ्कालाई बढावा दिनुभएको छ । उहाँले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दवाव सिर्जना गर्नुभएको छ । यसले रूसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा उनलाई ‘तानाशाह’ पनि भनिएको छ।

“संयुक्त राज्य अमेरिकाबाट आएका सन्देशहरू हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रूसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ,” कल्लासले भन्नुभयो ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबीच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो ।

इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने तर आपूर्तिका लागि समग्र यूरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताउनुभएको छ ।

समूहले मस्कोमाथि औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने छ जसमा रूसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ।

जापानमा हिम पहिरोको चेतावनी जारी

जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ ।

धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् ।

जापानीे रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ।

जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।

एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान १० ः०० बजेसम्म उत्तरी आओमोरी शहरमा पाँच मिटर ( १६ फिट), निगाटाको उओनुमामा ३.८१ मिटर र फुकुशिमा प्रान्तको तादामीमा ३.१३ मिटर हिउँ जमेको जेएमएले जनाएको छ ।

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताउनुभएको छ । उहाँले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गर्नुभएको छ ।

सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो ।

पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताउनुभयो ।

“हाम्रा आमाबाबुले सधैं तालिबानसँग मिलेर कार्यक्रम सञ्चालन गर्न चाहेकोले हामी उनीहरूलाई यो हिरासतको कारण बताउने मौका दिन चाहन्थ्यौं,” उहाँले भन्नुभयो ।

“तर, तीन हप्ताभन्दा बढीको मौनता पछि, हामी अब प्रतीक्षा गर्न सक्दैनौं। अब हामी बेलायती वाणिज्य दूतावासलाई तत्काल हामीलाई जवाफ दिलाउन र उनीहरूको रिहाईका लागि तालिबानमाथि सक्दो दबाब दिन आग्रह गरिरहेका छौँ ।

तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् १९७० मा काबुलमा विवाह गरेका रेनोल्ड्स सन् २०२१ मा तालिवानले कब्जा गरेपछि बेलायती दूतावासले आफ्ना कर्मचारी फिर्ता बोलाएपछि अफगानिस्तान मै रहेका थिए ।

‘द सन्डे टाइम्स’ पत्रिकाका अनुसार फेब्रुअरी १ मा पक्राउ गरिएको घटना ३० वर्षभन्दा माथिका अफगान आमाहरूलाई अभिभावकत्वसम्बन्धी सीप सिकाउनेसँग सम्बन्धित थियो।

“मेरी आमा ७५ वर्षकी हुनुहुन्छ र मेरो बुबा लगभग ८० वर्षका हुनुहुन्छ । बुवालाई हल्का मुटुको समस्या देखिएपछि औषधि लिने गर्नुभएको छ,” एन्ट्विस्टलले पत्रिकासँग भन्नुभयो ।

“उनीहरू आफूले मन पराएको देशलाई सहयोग गर्ने कोसिस गरिरहेका थिए। उनीहरूले आमालाई बच्चाका साथ सिकाउँदै थिए भनेर उनीहरूमाथि लगाइएको आरोप अपमानजनक छ,” उहाँले थप्नुभयो ।

मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा ती दम्पतीलाई पक्राउ गरिएको बताइएको छ ।

सन्डे टाइम्सले तालिबान अधिकारीहरूलाई लेखेको खुला पत्रमा एन्ट्विस्टल र उनका भाइहरूले आफ्ना आमाबाबुलाई रिहा गर्न आग्रह गरेका छन्।
उनीहरुले लेखेका छन्, “हामीले उनीहरुलाई पक्राउ गर्नुको कारण बुझ्न सकेका छैनौं ।”

पत्रमा भनिएको छ, “हाम्रा अभिभावकले अफगानिस्तानप्रति निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।”

सन् १९९० को दशकमा तालिबानले शासन गर्दा देखाएको क्रूरतामा नफर्कने वाचा गरेपछि सन् २०२१ मा अमेरिसँगको सम्झौतापछि अमेरिका समर्थित सरकारलाई अपदस्थ गर्दै इस्लामिक कानुनको कडा व्याख्या लागू गर्दै पुनः सत्तामा फर्किएको थियो ।

त्यसपछि उनीहरूले महिला र बालिकाहरूमाथि व्यापक प्रतिबन्धहरू लगाएका छन्। उनीहरूलाई १२ वर्ष भन्दा बढी उमेरको शिक्षामा रोक लगाएका छन् र संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको नियमहरूको कार्यान्वयनको लागि उनीहरूलाई जागिर र सार्वजनिक जीवनबाट बाहिर निकालेका छन्।

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ

युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र रेडक्रससँग सम्झौता गरेको रुसी अधिकार आयुक्तले सोमबार बताएका छन् ।

युक्रेनले छ महिनाअघि रुसी क्षेत्रमा आकस्मिक सीमापार आक्रमण गरेको थियो, जसमा दर्जनौँ गाउँ कब्जा गरी धेरै रुसी नागरिकलाई युद्धको रेखाको विपरीतपट्टि समातेको थियो ।

रुसी अधिकार आयुक्त तत्याना मोस्काल्कोभाका अनुसार ती बासिन्दामध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारुस हुँदै उद्धारको प्रतीक्षामा छन् ।

“आज सुमीमा पहिले नै रहेका मानिसहरू छन् र त्यहाँ रेडक्रस र युक्रेनी पक्षसँग उनीहरूलाई बेलारुस हुँदै रुस लगिने बारे एउटा सम्झौता भएको छ”, रुसको आरआइए समाचार एजेन्सीका अनुसार मोस्काल्कोभाले भन्नुभयो ।

मोस्काल्कोभाले सम्झौताअन्तर्गत कति कुर्स्क बासिन्दाहरूलाई खाली गरिनेछ भनेर केही बताउनुभएन ।

रुसी अधिकारीहरूले सङ्कलन गरेको बेपत्ता व्यक्तिहरूको आधिकारिक सूचीमा सुरुमा युक्रेनी–अधिकृत क्षेत्रमा करिब पाँच सय जना मात्र बेपत्ता भएको रेकर्ड गरिएको थियो तर स्थानीय बासिन्दाहरूले यो सङ्ख्या तीन हजार नजिक रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोले आक्रमण गरी कब्जा गरेको क्षेत्रमा आफ्ना हजारौँ नागरिक राखिएको र उसले कुर्स्क क्षेत्रमा रुसीहरूलाई सुरक्षित मार्ग प्रदान गरिरहेको युक्रेनले बताएको छ ।

‘नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम’ – एमाले उपाध्यक्ष पाण्डे

मध्यविन्दु (नवलपरासी), १२ फागुन : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तरराष्ट्रिय दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढेको बताउनुभएको छ ।

नेकपा एमाले प्रचार विभागले आज यहाँको कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्य मित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताउनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो । “युएसएआइडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योलता सृजना भएको छ”, उहाँले भन्नुभयो, “यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुप-यो, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुप¥यो ।”

उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने बताउँदै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताउनुभयो ।

‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १२ फागुन : प्रतिनिधिसभाबाट ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल भई सर्वसम्मतिले स्वीकृत भएको हो । छलफलका क्रममा सांसदहरुले उठाउनुभएका विषयमा बोल्नुहुँदै उहाँले कमी कमजोरीलाई सच्याएर विधेयकलाई पूर्णरुपमा सुदृढ गर्न तयार रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल ऐन, २०५८ का धेरै विषय समेटेर विधेयक ल्याइएको गुहमन्त्री लेखकले सुनाउनुभयो । विधेयकमा सशस्त्र प्रहरी बललाई हात हतियार खरखजाना सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

विधेयकमा सशस्त्र प्रहरी बल र कर्मचारी हक हितको विषय समेटिएको छ । रिक्त पदमा खुला पदपूर्ति गरिने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार सरुवा वा काजमा खटाइने व्यवस्थासमेत रहेको उहाँले जानकारी गराउनुभयो । बढुवा समिति बनाएर बढुवा गर्ने व्यवस्था मिलाइएको छ । अनिवार्य अवकाशको उमेर न्यूनतम ५१ र अधिकतम ६० वर्ष रहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

सरुवा, बढुवामा मर्का परेकाले पुनरावेदन गरी उपचार खोज्न सकिने व्यवस्था विधेयकमा समावेश गरिएको छ । सशस्त्र प्रहरी कर्मचारी कुनै अपराधमा संलग्न भए सशस्त्र प्रहरीले नै हेर्ने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बल विशेष अदालतको व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बल स्टाफ कलेजको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । अन्तरराष्ट्रिय शान्ति स्थापनामा सशस्त्र प्रहरी बललाई सहभागी हुने व्यवस्था विधेयकमा गरिएको छ ।

आतङ्ककारी गतिविधि र दङ्गा नियन्त्रण गर्ने गरी विशिष्ट सुरक्षा निकायका रुपमा सशस्त्र प्रहरी बललाई स्थापित गरिने भएको छ । सशस्त्र प्रहरी बललाई कुनै अपराधमा अनुसन्धान गर्ने, मानिसलाई थुन्ने अधिकार भने छैन । सशस्त्र प्रहरी बल सीमामा बस्ने र नेपाल प्रहरी सीमाबाट टाढा बस्ने व्यवस्था गरिएको गृह मन्त्री लेखकले जानकारी गराउनुभयो ।

सशस्त्र प्रहरी बलमा तल्लो दर्जा नभनी आधारभूत दर्जा भनिने व्यवस्था गरिएको छ । आधारभूत दर्जामा १६ वर्ष सेवा गरेपछि स्वेच्छिक अवकाशमा जान सकिने व्यवस्था गरिएको छ । सशस्त्र द्वन्द्वका बेला २०५७ सालमा अध्यादेशबाट सशस्त्र प्रहरी बलको स्थापना भएको हो । अध्यादेशबाट ऐन बनाउँदा पनि २०५८ सालमा वाद, विवाद र संवाद भएको त्यसबेला सांसदसमेत रहनुभएका गृहमन्त्री लेखकले सुनाउनुभयो ।

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै संशोधन पेस गर्न चाहने सांसदले सचिवालयको विधेयक शाखामा संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।

कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप

काठमाडौँ, १२ फागुन : नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य मनोनयन गरिएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहनुभएको विभागमा आज दश सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १२ फागुनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“यहाँ उत्पादित सामग्री एवं खाद्यपदार्थदेखि सबै स्थानीय उत्पादनलाई मार्केटिङ गर्नका लागि एउटा स्थानका रुपमा यो भवन रहनेछ,” भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर त्यसलाई युवाले उपयोग गरे संसारभर प्रचारप्रसार गर्नसक्छन् ।”

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटनलगत्तै नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम सहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । “अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरी यहाँहरूले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । भवन रु पाँच करोड ४१ लाख ५२ हजार ९७५ लागतमा सम्पन्न भएको हो ।

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ, १२ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद् सदस्य, सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गर्नुभयो । साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य विषय बनाएर सगरमाथा संवाद कार्यक्रम आयोजना गरेकाले सहभागिताका लागि स्वीस् सरकारलाई पनि आमन्त्रण गर्नुभयो ।

मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि आग्रह गर्नुभयो । उहाँले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि नेपालले वकालत गरिरहेकाले त्यसमा स्वीस् सरकारबाट सहयोग अपिल गर्नुभएको मन्त्री डा देउवाको सचिवालयले जनाएको छ ।

भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्ने

काठमाडौं, १२ फागुन : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

“सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङकनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशङ्का हुन्छ”, सांसद पाण्डेले भन्नुभयो ।

सांसद पाण्डेले ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गर्नुभयो । सो विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अलग अलग जिम्मेवारी भएकाले त्यसलाई अझ स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।

“सशस्त्र प्रहरीले अनुसन्धान गर्ने हैन । नेपाल प्रहरीले अनुसन्धान गर्ने हो । आआफनो क्षेत्राधिकार स्पष्ट गर्नुपर्छ”, सांसद परियारले भन्नुभयो, “सशस्त्रलाई सीमा सुरक्षाको छुट्टै मापदण्ड बनाएर अधिकार दिन सक्यौँ भने ऐन समृद्ध हुन सक्छ ।”

कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने अध्यक्ष दाहालको प्रतिवद्धता

झापा, १२ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताउनुभएको छ ।

पार्टीले आज यहाँको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो ।
“सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उहाँले भन्नुभयो, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।”

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उहाँले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताउनुभयो ।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उहाँले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयोे, “जुनबेला हामीले उनीहरुसँग सहकार्य ग-यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिनुभयो ।

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण

सुन्दरहरैँचा, १२ फागुनः वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुनसक्नुभएका थिएन । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गर्नुभएको थियो ।

साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताउँनुभयो । मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिनु भएको उहाँको बाल्यकाल कष्टकर बितेको थियो । उहाँलाई साहित्यले नै सफलताको बाटो कोर्यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उहाँले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गर्नुभयो । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उहाँका एउटा क्वाँटी (विभिन्न विधा) सङ्गह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथा सङ्गह (पर्दा, समय र मान्छे–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन् ।

नक्कली परीक्षार्थी पक्राउ

गड्डाचौकी(कञ्चनपुर), १२ फागुनः महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताउनुभयो । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताउनुभयो ।

पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताउनुभयो । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,” निरीक्षक जोशीले भन्नुभयो “अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।”

लमजुङमा भूकम्पको महसुस

लमजुङ, १२ फागुनः लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

इयु प्रमुखद्वारा म्याक्रोन र स्टार्मरसँगको वार्तामा युक्रेनलाई ‘अविचल’ समर्थनको प्रतिबद्धता

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सप्ताहन्तमा बेलायती र फ्रान्सेली नेताहरूसँग वार्ता गरेको र सबैले रुससँगको युद्धको तेस्रो वार्षिकोत्सव अघि युक्रेनलाई ‘अविचल’
समर्थन गर्ने वाचा गरेको बताउनुभएको छ ।

“हामीले युक्रेनलाई आर्थिक र सैन्य रूपमा हाम्रो अविचल समर्थनबारे छलफल गर्‍यौँ”, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टारमरसँगको टेलिफोन छलफलबारे भोन डेर लेयनले भन्नुभयो ।

इयु प्रमुखले एक्स प्लेटफर्ममा पोस्ट गर्दै दुई प्रमुख युरोपेली नेताहरूसँग ‘राम्रो विचार–विमर्श’ भएको बताउनुभयो ।

“हामीले अमेरिकी साझेदारहरूसँग हाम्रो सम्पर्कको बारेमा अद्यावधिकहरू साझा गर्‍यौँ र हाम्रो महाद्वीपको रक्षा र सुरक्षाका लागि योजनाहरू छलफल गर्‍यौँ”, उहाँले युक्रेन द्वन्द्व र नाटोको लागि कोषमा बढ्दो अमेरिका–युरोप तनावका बीच भन्नुभयो ।

म्याक्रोन र स्टार्मर दुवै यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि वासिङ्टन जाँदै हुनुहुन्छ ।

डाउनिङ स्ट्रिटका अनुसार, स्टार्मर र भोन डेर लेयनले शनिबार कुरा गर्दा युक्रेनमा न्यायोचित र दीर्घकालीन शान्तिका लागि ग्यारेन्टी प्रदान गर्ने महत्त्वमा सहमति जनाउनुभयो ।

द्वन्द्व अन्त्य गर्ने आफ्नो चाहनामा ट्रम्पले मस्कोलाई अनुकूल शर्तहरू प्रस्ताव गर्नुहुनेछ र किएभलाई सुरक्षा ग्यारेन्टी प्रदान नगरी युरोपेली शक्तिहरूलाई वार्ताबाट टाढा राख्नुहुनेछ भन्ने युरोपेली मुलुकहरूलाई चिन्ता छ ।

आक्रमणको तेस्रो वार्षिकोत्सवका अवसरमा स्टार्मरले आइतबारको अखबार द सनका लागि एउटा विचार लेखमा ‘सुरक्षा ग्यारेन्टीका साथ युक्रेनको साथमा खडा हुनु बेलायत र अमेरिकी हितमा छ’ लेख्नुभएको छ ।

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताउनुभएको छ ।

“युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको अर्थ ट्रम्पले पुटिनलाई भेट्नुअघि”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो ।

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर, १२ फागुनः भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुशील श्रेष्ठले बताउनुभयो ।

अर्गानिक(जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उहाँको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष यहाँबाट करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको उहाँले बताउनुभयो । धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उहाँको भनाइ छ ।

ल्याब परीक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुद्री सहतबाट एक हजार एक सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताउनुभयो । “पछिल्लो समय भोजपुरका किसान व्यावसायिक रुपमा कफीखेती विस्तारमा जुटेका छन्”व्यवसायी श्रेष्ठले भन्नुभयो,“यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला सहरसँगै विदेशमासमेत जान थालेको छ । उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यावसायिक कफीखेतीमा लाग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अवस्था छ ।”

स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायी श्रेष्ठले बताउनुभयो । प्रशोधन गरेको कफीको दाना सहरका बजारमा प्रतिकेजी रु पाँच सयमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँका करिब दुई सयजना किसानले कफीखेती गरिरहेको श्रेष्ठले बताउनुभयो ।

हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ । कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो ।

“हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ”अध्यक्ष राईले भन्नुभयो,“किसानले अहिले पनि यसको खेती गरिरहेका छन् । कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।” विगतमा राम्रो बजार नभए पनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताउनुभयो ।

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी, १२ फागुन ः म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो ।

“किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्य समेत रहेका उहाँले भन्नुभयो “खच्चड, भरिया मार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शूल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ ।”

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोशका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरवाङ, मुदी र मुना पुग्न थालेका छन् । धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव वस्ती बगरमा गत हप्ता सडक पुगेको हो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत निर्माण भएको सडकबाट स्थानीयबासीहरुलाई सुविधा पुगेको बताउनुभयो ।

धवलागिरि गाउँपालिका–४ मा निर्माणाधिन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रीखोला देखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् ।

“जलविद्युत आयोजनासँगै विकट गाउँबस्तिमा यातायात सुविधा भित्रिएको छ,” उहाँले भन्नुभयो “सिमित सरकारी बजेटबाट अक्करे भिर, पहरा छिचोलेर सडक बनाउन बर्षौ लाग्ने थियो । जलविद्युत आयोजनाहरु भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ ।”

हाइड्रो इम्पायर प्रा.लि. प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो । चेचुवामा १९ घरधुरी रहेको छ ।

उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । हाइड्रो भिलेज प्रर्वद्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा सिम्कोस दोभान स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ ।

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । खिवाङमा एक सय ८० घरपरिवारको बसोबास छ ।

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण स्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युम पाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँदयाममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो ।

सडकमा जिप, ट्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत आयोजना निर्माण शुरु भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण स्थल वडा नं.–४ को भूगोलमा पर्छ ।

आइतबार धवलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउन जलविद्युत आयोजनाहरुसँग समन्वय गर्ने बताउनुभयो ।

उहाँले सडकको धुलोको समस्या समाधानका लागि जलविद्युत आयोजनाका प्रर्वद्धकहरुलाई निर्देशन दिनुभयो । दरवाङ–बिम–ताकम–मुना–ढोरपाटन र धवलागिरी गाउँपालिका–४ जोड्ने सडक अन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्री खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा २५ मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको उहाँले बताउनुभयो ।

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

बागमती, १२ फागुनः सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधिा भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र क्लब फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो ।

मच्छिन्द्र क्लब अघिल्लो छैठैँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको थियो । मच्छिन्द्रले दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका मैदानमा उचिनेछ भने चर्च ब्वाईज साविक विजेता टिमलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पार्ने रणनीतिका साथ मैदान छिर्नेछ ।

प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद रु १० लाख हात पार्नेछ भने उपविजेतालाई नगद रु पाँच लाख प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिनुभयो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ फागुनः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७३, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० तोकेको छ ।

मौसम पूर्वानुमान : केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् ।

सांसद राजेन्द्र बजगाईँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र बँदेलको आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

वालिङ (स्याङ्जा), १२ फागुनःस्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।

आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।

फाइबरका लागि कच्चापदार्थको रुपमा केराको थाम आवश्यकपर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उहाँले बताउनुभयो ।“फाइबरका लागि केराको थाम आवश्यकपर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ” उहाँले भन्नुभयो, “४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमितरुपमा हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ ।

किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बीस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो । पालिकाले किसानबाट प्रति थाम रु २५ देखि रु४५ सम्ममा खरिद गर्दै आएको छ ।

त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताउनुभयो ।

“गाउँपालिकामार्फत अहिले खादा, गलैँचा, झोला बनाउँदै आएका छौँ” अध्यक्ष थापाले भन्नुभयो, “अब गुणस्तरीय र बजारमा माग हुने किसिमका हस्तकलाका सामग्री उत्पादनमा जोड दिन्छौँ ।”पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले उत्पादन गरेको खाँदा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ । यहाँ उत्पादन भएका सामग्री गाउँपालिका आँफैले प्रयोग गर्ने र अन्यत्र पनि पठाउँदै आएको छ । गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारीसमेत दिएको छ । केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन् ।

जब ९६ वर्षमा नागरिकता लिएर घरमै आए कर्मचारी …

चैनपुर (बझाङ), १२ फागुनः वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।

“घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”

थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।

तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।

थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।”

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ, १२ फागुन : सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ ।

सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ,  एनसीसी युएईलगायतका सङ्घ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । 

अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा  बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो । 

कार्यक्रममा  औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो । उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहनुभएका दुई सय १६ जना नेपालीको राहदानी नवीकरण गरिएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

युएईमा कार्यरत नेपालीहरुको सङ्ख्या करिब छ लाख रहेको र युएई आउने क्रम निरन्तर बढिरहेको अवस्थामा दूतावासले नेपालीको सेवा र सुविधालाई मध्यनजर गरी उपलब्ध स्रोतसाधनले भ्याएसम्म सेवा प्रदान गर्दै आएको जनाएको छ । गत आर्थिक वर्षमा यस नियोगबाट ४६ हजार चार सय राहदानी जारी भएकामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० हजार नेपालीको राहदानी जारी भइसकेको छ । राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरुको दूतावासले प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने गरेको जनाएको छ । 

रामेछापमा फस्टाउँदै व्यावसायिक माहुरीपालन

मन्थली (रामेछाप), १२ फागुनः जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । 

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछनन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गर्नुभएको छ । 

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । 

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाउनुभएको छ । उहाँले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नु भएको छ । सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभएपनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्ननुभयो, “विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो ।”

 माहुरीपालन गर्ने कृषकले मह मात्र नभइ माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । 

मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाँउघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताउनुभयो । 

उहाँले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक माहुरीपालन गर्नुभएको छ । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गर्नुभएको छ  । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ । 

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकिककरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिनुभयो । 

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौँ, १२ फागुनः निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन पुनःसुरू भएको छ । गत माघ २२ मा मुहुर्त गरेर एक दिन छायाङ्कन गरेपछि निर्देशक घिमिरेलाई ‘निमोनिया’ भएको थियो । स्वास्थ्य अनुकुल भएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा चलचित्रको छायाङ्कन सुरु गरेको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्षपछि चलचित्रको काममा फर्किएको छु, नयाँ पुस्ताका कलाकारसँग काम गर्दा छुटै ऊर्जा प्राप्त भइरहेको छ । यस चलचित्रमा मानव बस्ती शून्य बनेको उच्च पहाडको कथा समेटिएको छ ।”

उहाँले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु चलचित्रमा रहेको बताउनुभयो । ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनु भएको छ । भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसक्नुभएका छायाँकार प्रधानले ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ मा निर्देशक घिमिरेसँग सहकार्य गरिसक्नुभएको छ । 

यसको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिनुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय रहने छ । 

यसै चलचित्रमार्फत निर्देशक घिमिरेको कान्छी छोरी पञ्चमी घिमिरेले चलचित्रमा अभिनयको सुरुआत गर्दै हुनुहुन्छ । उहाँको जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रुपमा काम गरिरहनुभएको छ । दुई छोरीले चलचित्रलाई पेसा बनाउदा आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पनि आफ्नो सन्तानले आफूले गरिरहेको काम वा पेसालाई रोज्दा खुसी लाग्छ । एक छोरी अभिनेत्री बनेकी छिन् भने अर्को निर्देशनसहित प्राविधिक विधामा इच्छुक छिन् । यसकारण पनि म यो चलचित्रलाई लिएर उत्साहित छु ।”    चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । 

जयपृथ्वीबहादुर सिंह फुटबल प्रतियोगिता : सुदूरपश्चिम फाइनलमा प्रवेश

कैलाली-सुदूरपश्चिम प्रदेश जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को संयोजनमा जारीे प्रतियोगिताको पाचौँ दिनको पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमको जितका लागि खेलाडी श्याम विनाडीले निर्णायक गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका गोलरक्षक कुम्भ देउवा ‘म्यान अफ द म्याच’ भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, रु उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्टरक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ । प्रत्येक खेलको “म्यान अफ द म्याच” ले नगद रु पाँच हजारसहित ट्रफी दिइने छ । प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको छ ।