यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई


काठमाडौं । एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए भने मोहम्मद नवाजले २५ र कप्तान सलमान आगाले २४ रनको योगदान दिए ।
१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ पूर्णरूपमा धराशायी भयो । अफगानी टोली १५.५ ओभरमै जम्मा ६६ रनमा समेटिएको हो । कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानको जितमा अलराउन्डर मोहम्मद नवाज नायक बने । उनले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चेर पाँच विकेट लिए । अब्रार अहमद र सुफियान मुकिमले दुई–दुई विकेट हात पार्दै नवाजलाई बलिङमा साथ दिए ।
अफगानिस्तानका लागि बलिङतर्फ कप्तान राशिद खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुई–दुई विकेट लिए ।
सिरिजको समूह चरणमा पाकिस्तान र अफगानिस्तानले समान तीन–तीन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए ।