`

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौँ, १२ फागुनः सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार साँझ यहाँ आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै सामाजिक समावेशीकरणका लागि हुनुपर्नेमा जोड दिए ।

सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईले मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिनुभयो । “डिजिटल गभर्नेन्स मात्रै भनेर हुँदैन, यसले आर्थिक विकासमा सहयोग गर्नुपर्छ, यसमार्फत रोजगारी सृजना हुनुपर्छ, कृषि तथा पर्यटनलगायतका क्षेत्रको विकासमा नयाँपन दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो । साथै शिक्षा र स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सबैको पहुँच स्थापित गर्दै सामाजिक समावेशीकरणमा पनि यसले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

डिजिटल गभर्नेन्सको पूर्ण कार्यान्वयनका लागि बृहत नीति निर्माणदेखि त्यसको कार्यान्वयनमा राजनीतिक तहबाटै बलियो प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो । “डिजिटल गभर्नेन्सको आवश्यक महसुस भएर मात्रै हुँदैन, राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिन्छ र यो नीति निर्माणदेखि बजेटमा समेत देखिनुपर्छ, यसको कार्यान्वयनका लागि स्पष्ट खाका आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । 

ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएको बताउनुभयो । उहाँले डिजिटल गभर्नेन्स सुशासनका साथै आर्थिक विकाससँग सम्बन्धित भएकाले यसको कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता जरुरी भएको उल्लेख गर्नुभयो । 

“जब डाटा दौडन थाल्छ, सेवाग्राहीहरु कम दौडिए पनि पुग्छ, एउटै सेवा लिनका लागि पटक पटक डाटा बुझाउनुपर्ने बाध्यता हट्नुका साथै कम समयमा प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले यसका लागि डाटा एक्सचेञ्ज प्लेटफर्म जरुरी रहेको बताउनुभयो । उहाँले इस्टोनियालगायतका मुलुकहरुले डिजिटल रुपान्तरणमार्फत मुलुकको आर्थिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालमा पनि त्यो सम्भव भएको बताउनुभयो ।

सूचना प्रविधिसँग सम्बन्धित कानुनका जानकार प्रवीन सुवेदीले वैदेशिक रोजगारीमा जानेलाई ई गभर्नेन्सबारे जानकारी आवश्यक रहेको बताउनुभयो । “वैदेशिक रोजगार विभागले विद्युतीय शासनमार्फत वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी विभिन्न प्रकारका सेवा प्रवाह गरिरहेको छ, त्यसैले उनीहरुले यसबारे राम्रोसँग जानकारी राख्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

ई–गभर्नेन्स बोर्डका इन्जिनियर केदार भण्डारीले डिजिटल गभर्नेन्सबारे चर्चा गर्दै बोर्डका उपलब्धिबारे जानकारी गराउनुभएको थियो । उहाँले हाल विद्युतीय सुशासनको मार्गचित्रका रुपमा ब्लुप्रिन्ट तयार भइसकेको र हाल यो छलफलका चरणमा रहेको बताउनुभयो । 

सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
सोही अवसरमा आयोजित समूहगत छलफलका क्रममा वक्ताहरुले डिजिटल गभर्नेन्सको विकास र कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याले सरकारले सुरुआत गरेका डिजिटल गभर्नेन्सलगायतका सेवाबारे तल्लो तहसम्म जानकारी दिने माध्यम सञ्चारमाध्यम भएकाले उनीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “सरकारले आफ्ना सबै सेवाहरु सञ्चारमाध्यममार्फत नागरिकमाझ पुर्याउने हो, सञ्चारमाध्यमले सरल र सहज भाषामा सेवाबारे जानकारी दिनु कर्तव्य पनि हो”, उहाँले भन्नुभयो ।

उहाँले डिजिटल गभर्नेन्समा सरकार, व्यवसाय र नागरिक एकापसमा आबद्ध गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल गभर्नेन्सबारे जानकारी दिने काम सञ्चारमाध्यमको भएको उल्लेख गर्दै सञ्चारकर्मीहरुले यसबारेमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । “पत्रकार आफैँ पनि यसबारेमा जानकार हुनुपर्छ, कतिपय अवस्थामा सञ्चारकर्मीहरुलाई अभिमुखिकरण जरुरी हुन्छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले डिटिजल गभर्नेन्स कायम गर्नका लागि डिजिटल साक्षरता बलियो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रको सुदृढीकरण र शासकीय व्यवस्थालाई प्रभावकारी बनाउन पनि डिजिटल गभर्नेन्स आवश्यक छ भन्नुभयो ।

ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात

ढोरपाटन (बागलुङ), १२ फागुन : यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिनुभयो । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताउनुभयो ।

हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “लामो समय खडेरी प-यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी प-यो ।”

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ८९ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रूपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २७ पैसा र बिक्रीदर नौ रूपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ र बिक्रीदर १३ रूपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५० पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ६४ पैसा तय गरिएको छ ।

त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर

काठमाडौँ, ११ फागुनः नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म उक्त सङ्ख्यामा वृक्षरोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न प्रकृतिको संरक्षण र संवर्द्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ ।

सोही कार्यक्रमअन्तर्गत हालसम्म चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण र पुनः निर्माण गरिएको छ । मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा÷एउटा वन्यजन्तु आरक्ष र सिकार आरक्षसहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्ममा गरी नौ हजार ४६ जना जनशक्ति परिचालित रहेको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिनुभयो ।

नेपाली सेनाले चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षाको जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । यसै सन्दर्भमा सन् २००९ मा नेपालमा एक सय २१  बाघ रहेकामा हाल त्यो सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ ।, सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ भन्दा बढी रहेको जानकारी दिइयो ।

तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही

काठमाडौँ, ११ फागुनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उक्त प्रस्तावलाई यथाशक्य चाँडो अनुमोदन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ओजोन तहको रक्षा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अति आवश्यक रहेको ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन कार्यान्वयनका लागि तयार पारिएको उक्त प्रस्ताव प्रस्तुत गर्नुपरेको जानकारी गराउनुभयो ।  

“ओजन तहको संरक्षणका लागि व्यवस्था भएको भियाना महासन्धि र यसै महासन्धिको अधीनमा रही ओजोन तह नष्ट गर्ने रसायन÷पदार्थको उत्पादन एवं खपत कम गर्न र ओजोन तहको विनाश घटाउन तयार भएको हो”, मन्त्री ठकुरीले भन्नुभयो, “ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलमा नेपालले अनुमोदन गरी सन् १९९४ जुलाई ६ देखि पक्ष राष्ट्र भइसकेको छ ।”

यसैगरी, मोन्ट्रियल प्रोटोकलमा विभिन्न समयमा गरिएका चारवटा संशोधनहरू (लन्डन, कोपन्हेगन, मोन्ट्रियल र बेइजिङ संशोधन) लाई समेत नेपालले अनुमोदन गरिसकेको उहाँले जानकारी गराउनुभयो । यस्तै, सन् २०१६ मा रुवान्डाको किगालीमा सम्पन्न मोन्ट्रियल प्रोटोकलका पक्षराष्ट्रहरूको २८औँ बैठकले किगाली संशोधन पारित गरेको थियो । 

मोन्ट्रियल प्रोटोकलका २० भन्दा बढी राष्ट्रले अनुमोदन गरेपश्चात् विसं २०७५ पुस १७ गतेदेखि किगाली संशोधन कार्यान्वयनमा आइसकेको छ । हालसम्ममा एक सय ६३ राष्ट्रले किगाली संशोधन अनुमोदन गरिसकेका छन् । यस संशोधनले ओजोन तहलाई प्रत्यक्ष असर नगर्ने तर विश्व तापमान वृद्धिको प्रमुख कारणमध्ये एक रहेका हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको प्रयोगलाई नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री शाहीले बताउनुभयो । यसले तिनको उत्पादन र खपतलाई क्रमशः न्यूनीकरण गरी वातावरणीय सन्तुलन कायम गर्न नेपाल सरकारद्वारा लिइने नीति तथा रणनीति तय गर्नेछ ।

बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअघि उहाँले ‘मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, चन्दा कार्की भण्डारी, नागिना यादव, ध्रुवबहादुर प्रधान, विमला सुवेदी, माधव सापकोटा, विनिता कठायत, नारायणी शर्मा, हेमराज राई, सराजअहमद फारुकी, एकनाथ ढकाल र अब्दुल खाँनले भाग लिनुभएको थियो ।

यसैगरी, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७९÷०८० पेस गर्नुभएको थियो । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विसं २०७० मा काभ्रेबाट संविधानसभा सदस्यमा निर्वाचित हाल नेकपा (एकीकृत समाजवादी)मा आबद्ध विदुरप्रसाद सापकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १२ गते १ बजे बस्नेछ ।

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

तम्घास (गुल्मी), ११ फागुन : रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उहाँले भन्नुभयो, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो ।

रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडाँै उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत

घोराही (दाङ), ११ फागुनः किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुनुहुन्छ । उमेरले २६ वर्ष पुग्नुभएका उहाँले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आउनुभएको छ ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उहाँको भनाइ छ । सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आउनुभएका उहाँले वार्षिक रूपमा रु १४ लाख बराबरको कारोबार गर्न सफल हुनुभएको छ । दाङमै स्ट्रबेरी प्रतिकिलो रु आठ सयका दरले बिक्री हुने गरेको छ । उहाँले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आउनुभएको छभने आजभोलि फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको उहाँको भनाइ छ । यस वर्षको हालसम्म रु चार लाख बढीको बिक्री गरिसकेको उहाँ बताउनुहुन्छ ।

किसान खड्काले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।”

उहाँले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आउनुभएको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उहाँले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्नुहुन्छ भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिकखेती गर्दै आउनुभएको छ ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भन्नुभयोे, “बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।”

स्ट्रबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उहाँले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेको उहाँले बताउनुभयो । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नुपर्छ भनेर जिल्लामा स्ट्रबेरीखेती गर्दै आएको उहाँले बताउनुभयो । किसान खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जग्गामा स्ट्रबेरीको व्यावसायिक खेती थाल्नुभएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताउनुभयो । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताउनुभयो ।

जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउनुभयो । ‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो”, उहाँले भन्नुभयो, “आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ ।नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १÷१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ ।
ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन । तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ११ फागुनः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १५०, लौका प्रतिकेजी रु ६०, घिरौला प्रतिकेजी रु १३०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु १५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु १२०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० तोकेको छ ।

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

कञ्चनपुर, ११ फागुन : आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास गरिएको हो ।

“गर्मी बढदै जान थालेपछि आगलागीका घटनामा निकै वृद्धि भइरहेको छ”, नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्णप्रसाद भट्टले भन्नुभयो, “आगलागीका घटना भएमा कुन तरिकाबाट नियन्त्रण गर्ने, कुन निकायमा खबर गर्ने भन्नेबारे कृत्रिम नमूना अभ्यास गरेर देखाइएको छ ।” अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर गर्ने, दमकलका लागि नगरपालिकाको विपद् शाखामा खबर गर्ने, घटनास्थलमा पुगेर सुरक्षा निकाय, स्थानीय समुदायले मिलेर आगलागी नियन्त्रण गर्ने, घाइते भए घटनास्थलमै प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याउने, प्रहरीले क्षतिको मुचुल्का तयार गर्नेलगायत कार्य नमूना अभ्यास गरेर देखाइएको थियो ।

खाना पकाउने ग्यास चुहावट भएर आगलागी भए ग्यास सिलिण्डर बन्द कसरी गर्ने भन्नेबारे समुदायलाई नमूना अभ्यास गरेर देखाइएको विपद् शाखा प्रमुख भट्टले बताउनुभयो ।

उहाँका अनुसार आगलागी हुन नदिनका लागि कस्तो किसिमको सावधानी अपनाउने, आगलागी भइहालेमा आफैँ कसरी नियन्त्रणको प्रयास गर्ने र कुन–कुन निकायमा को–कोसँग सम्पर्क राख्ने, सम्पर्क राख्न कति नम्बरमा फोन गर्ने भन्ने कुरा पनि समुदायलाई जानकारी गराइएको छ ।

वन क्षेत्रमा प्राकृतिक र मानवीय रूपमा लाग्ने डढेलो लाग्नै नदिनका लागि अपनाउनुपर्ने सावधानीसँगै डढेलो लागिहाले कुन तरिकाले नियन्त्रण गर्ने भन्नेबारे कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सहभागी वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले आगलागी नियन्त्रणसम्बन्धी नमूना अभ्यासबाट आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानीबारे जानकारी पाएपछि सचेत बनेको बताउनुभयो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नगरपालिकाका विपद् शाखका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र स्थानीय समुदायको सहभागिता थियो ।

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

काभ्रेपलाञ्चोक, ११ फागुनः राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप कक्षा ६–१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनायो ।

“केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !”, कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । चार सय ५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा तीन सय ६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये एक हजार दुई सय चार बालिकाले मात्र खोप लगाएका छन् ।

यस्तै खानीखोला, नमोबद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौँ, ११ फागुन (रासस) : प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिनुहुने भएको छ । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनुहुने छ । उहाँलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।” अध्यक्ष मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।

सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “उहाँसँग मैले काम गर्ने अवसर पाएको छु । उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुन्छ । त्यसैले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । 

गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।

मण्डलामा ‘जुन त लग्यो ताराले’ मञ्चन

शनिबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा ‘जुन त लग्यो ताराले’ को मञ्चन सुरु भएको छ । विदेशिन बाध्य बनाउने बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई एक्लो बनाइरहेको यथार्थ र छुटिगएका एक्लो मनहरूको कथालाई नाटकमा प्रस्तुत गरिएको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै देखेका तर बेवास्ता गरिएका साधारण कथा भन्न रुचाउने भएकाले यो विषयलाई नाटकमा ल्याएको हुँ । यो कथालाई नाटकमा ल्याउँछु भन्ने पाँच, छ वर्षअघिदेखि नै सोच आएको थियो । तर यसपटक मण्डला थिएटरले ‘ल्याब १६ का प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’ भन्ने जिम्मेवारी सुम्पिनु भएपछि नाटक तयार भयो ।”

निर्देशक सुनुवारले नाटक ‘जुन त लग्यो ताराले’ मा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारले अभिनय गरिरहनुभएको जानकारी दिनुभयो ।

महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी

महोत्तरी, ११ फागुन : मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ ।

फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) छन् । यसपालि आउने बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ ।

“फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने याचना गर्नु छ”, महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय लाली महतो भन्नुहुन्छ । महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ । जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् ।

सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । यसैगरी बर्दिबास–१४ स्थित कामेश्वरनाथ र बर्दिबास–३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् । महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिनुभयो ।

मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ । पर्व नजिकिएसँगै पर्वविशेषमा हुने किनबेचका सामग्री अहिले मन्दिर परिसर नजिक सजाइन थालिएका छन् । पर्वविशेषमा भाकलको भाण्टाभार, बेलपत्र र फूलपाती बेचेर केही आर्जन गर्ने जोहोमा सर्वसाधारण लागेका छन् । यसपालि महाशिवरात्रि पर्वमा १० हजार भाण्टाका भार बेच्ने तयारी गरेको भङ्गाहा–४ रामनगरका बहुरा महतो बताउनुहुन्छ ।

मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै दुई दिनपछि सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन सुरु हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित एक सय ३३ किलोमिटरको वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । अहिले आफ्नो ठाउँमा महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको पाँचौँ दिनको रात्रि विश्रामको चाँजो मिलाउन अन्तिम तयारी भइरहेको जलेश्वर नगरप्रमुख सुरेश साह सोनारको भनाइ छ ।

अवधकिशोर (मिथिलामा श्रीरामलाई मिथिलाविहारी र अवधकिशोर पनि भनिन्छ) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलहरूको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होलीपर्व मनाउनेछन् । यो पर्व परम्परा मिथिलामा रामसीताको वनविहार र सत्ययुगमा राक्षसराज हिरण्यकशिपु र उनका विष्णुभक्त छोरा प्रह्लादसँग जोडिएका प्रसङ्ग पाइने गरेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णब बताउनुहुन्छ ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँचवटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रिविश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामको परम्परा छ । नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्रिविश्रामस्थल रहेका ठाउँमा स्थानीय तह, मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था र व्यक्तिहरूले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्)ले गर्दै आएको छ ।

यी बुँदे मिथिलाका महापर्व मानिन्छन् । महाशिवरात्रि मेला र मिथिला माध्यमिकी परिक्रमा मेला लाग्ने ठाउँ नजिकका बस्तीहरूमा घरघरैजसो मेलाउत्सव हेर्न आउने पाहुना भरिभराउ हुन्छन् । यी पर्व भन्नासाथ मेला हुँदै आएका ठाउँ नजिकका बस्तीका बासिन्दा आउने पाहुनाको स्वागत, खानपान र विश्रामको चाँजोमा केही दिन पहिलेदेखि नै लाग्ने गर्छन् । मिथिला क्षेत्र अहिले यी बुँदे महापर्वको तयारीमा जुटेको देखिँदो छ । यहाँ यो भेटघाट र कुशलक्षम बुझ्ने अवसर पनि रहँदै आएको मिथिला लोकपरम्पराका जानकार जलेश्वर–५ का ध्रुव राय बताउनुहुन्छ ।

आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ फागुन : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु ÷ कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो । पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू अनुमोदन गर्दै बैठक सम्पन्न गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

पार्टी परित्याग गरी अन्य दलमा गएका नेताहरूलाई फर्कन आह्वान गरेको बैठकले समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले भूमिका निर्वाह गर्नेलगायत निर्णय गरेको छ । जिल्ला, प्रदेश तथा जनसङ्गठनका अधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको बैठकले निजी स्वार्थ परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुन दृढताका साथ काम गर्नुपर्नेलगायत १३ बुँदे आचारसंहिता पारित गरेको छ ।

बैठकले महासचिव घनश्याम भुसालको मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियान केन्द्रीय सदस्यको सुझावसहित अनुमोदन गरेको छ । अभियानअन्तर्गत देशभर सभा, सम्मेलन साथै सङ्गठन सुदृढीकरण गरी साधरण तथा सङ्गठित सदस्य विस्तार गर्ने कार्यक्रम छन् । मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समेत बैठकले समीक्षा गरेको थियो ।

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा (कास्की), ११ फागुनः पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।

पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भुमिका खेल्ने विश्वास व्यवसायीको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गर्नुभयो । “यस महोत्सवले साहित्य, संस्कृति र पर्यटनको संयोजनबाट पोखराको पहिचान विश्वभर फैलाउने र स्थानीय अर्थतन्त्रलाई मजबुत पार्न महत्त्वपूर्ण भूमिका खेल्ने छ”, उहाँले भन्नुभयो, “पोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतलाई पनि विश्वमा चिनाउँदै पर्यटन क्षेत्रलाई ज्ञान र सृजनात्मक यात्रासँग जोडेर थप ऊर्जाशील हुने यो राम्रो अवसर हो ।” उहाँले फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको सहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा केही न केही गतिविधि भइराख्छ, यसले पोखराको सांस्कृतिक धरोहर र साहित्यिक परम्परालाई विश्वभर चिनाउने मौका दिन्छ, जसले पर्यटकलाई नेपाली साहित्य र संस्कृति बुझ्न आकर्षित गर्छ ।” उहाँले पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुङ्गा सावित हुने बताउनुभयो । “पोखरा आउने विदेशी प्रख्यात लेखक, साहित्यकारको पोखराका बारेमा एक–दुई शब्दले पनि पोखराको प्रचारलाई टेवा पुग्छ, सँगै विदेशी साहित्यिक अनुरागीलाई पनि नेपाल घुम्ने बहाना यो महोत्सवले दिलाउने छ”, उहाँले भन्नुभयो । योसँगै पोखरामा आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा खर्च गर्छन्, जसले स्थानीय व्यवसायलाई फाइदा पुग्ने र अर्थतन्त्र चलायमान हुने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरा आफैँमा ‘चलायमान’ हो, एकपछि अर्को खेलकुद कला, साहित्यका महोत्सवले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिएका छौँ ।” उहाँले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको केन्द्रमात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित गर्ने लक्ष्य महानगरको भएको र यस्ता महोत्सवलाई प्रवर्द्धन गरिरहेको जानकारी दिनुभयो । “साहित्य, कला, संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने लिटरेचर फेस्टिभल पनि पोखरा पर्यटन वर्षको अभिन्न अङ्गका रूपमा लिएका छाँै ।” उहाँका अनुसार यस्ता महोत्सवले पोखराको मौलिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न मद्दत गर्नेछन् । पोखरा भ्रमण वर्षलाई प्रभावकारी रूपमा अघि बढाउँदै अन्तरराष्ट्रिय तथा स्वदेशी पर्यटक आकर्षित गर्न महानगरपालिकाले विभिन्न रणनीतिक योजना अघि सारेको जानकारी दिनुभयो ।

महोत्सवका सदस्य एवम पत्रकार भरत कोइरालले साहित्यसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्दा पोखरा साहित्यिक पर्यटकको गन्तव्य बन्न थप मद्दत पुग्ने बताउनुभयो । “लेखक र पाठकको अन्तरक्रिया, पुस्तक विमोचन र साहित्यिक चर्चाहरूले पोखरालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने सम्भावना बढाउँछ”, उहाँले भन्नुभयो, “यसले पोखराको अन्तरराष्ट्रिय प्रतिष्ठा बढाउँछ र पर्यटन प्रवर्द्धनमा मद्दत पुर्याउँछ । साथै, लिटरेचर फेष्टिभलले साहित्य र कलाको माध्यमबाट सामाजिक, राजनीतिक, र सांस्कृतिक सन्देशहरू फैलाउने अवसर प्रदान गर्दछ ।” उहाँले यस्ता गतिविधिले पर्यटकलाई पोखरामा लामो समयसम्म बस्न प्रेरित गर्ने र पोखराको पर्यटनलाई समृद्ध बनाउन भूमिका खेल्ने बताउनुभयो ।

कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ । फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनी र भूषिता वशिष्ठबीच संवादसँगै प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाददेखि राजेश हमालको पुस्तक लोकार्पणसम्मका चर्चित सत्र समावेश हुनेछन् । छ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चाजस्ता साहित्य र समाजका विभिन्न पाटोहरूमा बहस विचारविमर्श हुनेछन् ।

निर्देशक अजित बरालले इभेन्टहरूको सहर पोखरामा लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ, यसको प्रभावले पोखरालगायत अन्य सहरहरूमा पनि साहित्यिक गतिविधिको महत्व बढ्दै गएको साथै, साहित्य र पर्यटनबीच सँगसँगैको विकासले पोखरालाई अन्तरराष्ट्रियस्तरमा नयाँ पहिचान दिँदै गएको छ ।” उहाँले महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारसँगै, निजी क्षेत्र एनसेल, पर्यटन व्यवसायी साहित्य अनुरागी, सङ्घसंस्था, सञ्चार जगत् सबैको साथ रहेको बताउनुभयो ।

उहाँका अनुसार साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजजस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्ने छन् । यसले पोखराको साङ्गीतिक परम्परामा पनि नयाँ रङ्ग थप्ने छ । साथै लोक चित्रकारको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीलाई आकर्षित गर्नेछ ।

बागलुङको बरेङमा बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै, बस्ती सुनसान

ढोरपाटन (बागलुङ), ११ फागुन : पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् ।

बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४० परिवारका एक सय ३१ जना बसाइँसरेर बरेङमा आएका छन् ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय सेवा प्रवाहमा लागेको बताउनुभयो । पालिकाका सबै वडा र बस्तीमा सडक पुर्याउनका साथै खानेपानी, विद्युत् र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

एकीकृत बस्ती बसालेर नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न थाले पनि सफल बन्न नसकेको उहाँले बताउनुभयो । युवालाई लघुउद्यम तथा घरेलु उद्योगमार्फत स्वरोजगार बनाउने गरी काम गरे पनि बसाइँसराइ नरोकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

“बसाइँसराइ रोक्नका लागि हामीहरूले धेरै प्रयास गर्यौँ, बस्ती–बस्तीसम्म सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याएका छौँ, युवालाई रोजगारसँग जोड्ने काम पनि भएको छ”, उहाँले भन्नुभयो, “एकीकृत बस्ती बसालौँ भनेको कसैले मानेनन्, तर गाउँ छाडेर गए, बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोल नै खाली छ, बसाइँसराइ रोक्नका लागि हामी लागिरहेका छौँ ।”बरेङबाट धेरैजसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेर जाने गरेको अध्यक्ष शर्माको भनाइ छ ।

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम, ११ फागुन : कैलालीको गौरीगङ्गामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब आन्तिम चारमा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ ।

मधेस प्रदेशको नवजागृति क्लबलाई पराजित गरी सुदूरपश्चिम प्रदेश यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु १५ हजार पुरस्कार दिइने आयोजक गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताउनुभयो ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको नाममा गौरीगङ्गा–११ स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालन गरेको हो । यही फागुन १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न प्रदेशका फुटबल टोलीको सहभागिता रहेको छ ।

बागमतीबाट दुई मेट्रिक टन फोहर व्यस्थापन

काठमाडौँ, ११ फागुन : केही वर्ष अघिसम्म सफा हुने वाग्मतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ । गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ ।

नदी बढी प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ । वाग्मती सफाइ महाअभियानको छ सय १५औँ हप्ताका अवसरमा आयोजना गरिएको सफाइ कार्यक्रमबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको वाग्मती सफाइ महाअभियानको छ सय १५औँ शृङ्खलामा नगरप्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामासहित कर्मचारी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, गोकर्ण नगरपालिका–४ का अध्यक्ष जयराम महत, वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठसहित जनप्रतिनिधि, मितेरी मार्ग संरक्षण समाजका अध्यक्ष पासाङ तामाङसहित पदाधिकारी, लायन्स क्लब अफ संसराका अध्यक्ष विकास थापासहित टोली, माथिल्लो वाग्मती सरसफाइ अभियान, अभियानका प्रमुख लीलामणि पौड्याललगायत सफाइ अभियानकर्मी सहभागी भएका थिए ।
आउँदो शनिबार पशुपति राममन्दिर अगाडि, वाग्मती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाइ गर्ने निर्णय गरिएको छ ।

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौँ, ११ फागुन : महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।

बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले  पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताउनुभयो । 

महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् ।  कोषका सदस्य सचिव थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उपसमिति, परिषद् सदस्य हरिप्रसाद ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उपसमिति तथा परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन गरिएको छ । 

यसैगरी परिषद् सदस्य डा भरतप्रसाद बडालको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति, परिषद् सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा आवास÷भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, परिषद् सदस्य रामेश्वर सँगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य रेणुका पराजुलीको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति तथा कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीको संयोकत्वमा महाशिवरात्रि पर्व–२०८१ को सचिवालय गठन गरिएको छ ।

महाशिवरात्रिको तयारीका लागि गठन भएको मूल समारोह समिति र नौ वटै उपसमितिले आफ्नो कार्य क्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पु¥याएको कोषका सदस्य सचिव थापाले बताउनुभयो ।

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली, १० फागुनः कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहकार्यमा भइरहेको उक्त फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोशी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधैँ अन्तिम चारमा पुगेको हो ।

कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएकाले कोशीको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बिनी सेमिफाइनल पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । 

लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छभने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदीयमान खेलाडी रु १५ हजार र फेयर प्ले टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ ।सात प्रदेशका टोलीको सहभागिता रहेको प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

क्यानभासमा स्वयम्भू !

काठमाडौँ, १० फागुनः विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रीत गरी यहाँ वरपरका दृश्यसमेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् । बीस जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे । यी कलाकर्मीकाले स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यान्भासमा अटाएका थिए ।

“आहा ! कति राम्रो स्वयम्भूनाथ”, सहभागीमध्येका ईश्वर शर्माले भन्नुभयो, “हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।”

यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताउनुभयो । कला सिर्जनाको आजै प्रदर्शनीसमेत गरिएको छ । 

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए । यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ । 

किंवदन्तीअनुसार वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ‘मन्त्र गरी दहमा रोपेका’ थिए । अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको भन्ने गरिन्छ । संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन् ।

भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यही भूमिमा बसेर तपस्या गरेको भन्ने गरिन्छ ।  नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनिआएको बताइन्छ । यसरी धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरू घुम्न औधी मन पराउँछन् । त्यही मेसोमा आज स्वदेशीसहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाएँ ।

आज यहाँ कलाकारका सिर्जना देखेर आगन्तुकहरू थप उत्साहित भएका थिए । अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैँमा महत्वको विषय भएको बताउनुभयो ।

परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालन भएन रातोढुङ्गा सबस्टेसन

म्याग्दी, १० फागुनः जिल्लाको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको रातोढुङ्गा प्रसारण लाइन र सबस्टेसन परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो । 

विसं २०८० माघमा गरिएको परीक्षण सफल भए पनि आयोजना, निर्माण कम्पनी र नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको समन्वय नहुँदा उक्त प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आउन नसकेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । 

छ वर्ष अघि सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको उहाँले बताउनुभयो । 

हाल मिलनचोक सबस्टेसनमार्फत चार वटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किमीसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन प्राविधिक समस्या भइरहेको उहाँको भनाइ छ । 

बेनीबाट ‘टिपिङ’ (लाइन जोडेर) प्रसारण लाइन र सबस्टेसनको परीक्षण गरिए पनि नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मिलनचोक सबस्टेसनबाट लाइन जोड्नुपर्ने अडान लिएको छ । 

केन्द्रका प्रमुख सत्यनारायण गामीले ठेक्का सम्झौता र प्राविधिक हिसाबले दीर्घकालीन रूपमा सञ्चालन गर्न मिलनचोकबाट लाइन आपूर्ति गराउन अडान लिएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधि पद्यमसागर लुइटेलले बेनीबाट मिलनचोकसम्म थप ५० वटा खम्बा गाड्नुपर्नेमा आनन्दबगर क्षेत्रमा पाँच वटा खम्बा पर्ने ठाउँमा जग्गाधनीले अवरोध गरेकाले काम रोकिएको बताउनुभयो । आयोजना प्रमुख बोधराज ढकालले स्थानीय जनप्रतिनिधि र प्रशासनसँग विवाद समाधानका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।  

रोकिएको खम्बा गाड्ने र तार तान्ने काम सकिएपछि प्रसारण लाइन र सबस्टेसन सञ्चालन गर्न सकिने ढकालले बताउनुभयो । सुरुमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम विसं २०८० जेठमा चार वर्षपछि पुनः सुरु भएको थियो ।

सरकारले गरेको कामलाई जनताबीच पुर्‍याउन नेता तथा कार्यकर्तालाई मन्त्री महासेठको आग्रह

जनकपुर, १० फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार देशको समृद्धि र विकासका लागि बनेकाले सोहीअनुसार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एमाले धनुषाले आज यहाँ आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा उहाँले वर्तमान सरकारले गरेको कामलाई जनताबीच पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एमालेका सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतामाझ निरन्तर सम्पर्क आवश्यक रहेको बताउनुभयो । एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीको ‘मिसन २०८४’ लाई केन्द्रमा राखेर इमान्दारितापूर्वक सङ्गठन निर्माणमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

लेखनाथ (कास्की), १० फागुनः नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभाग र नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’  विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनमा अप्ठ्यारो अवस्था आएमा सहमतिका आधारमा संशोधन गरेर बाधा फुकाउनुपर्ने बताउनुभयो ।  

नेता कोइरालाले संविधान जारी भएको नौ वर्ष बितिसकेको र समय अनुकूल संशोधन गर्दै जानुपर्ने धारणा राख्नुभयो । सङ्घीयता विकेन्द्रीकृत शासन व्यवस्था भएको भन्दै सङ्घीयता लागू भएको नौ वर्ष बितिसक्दा पनि केन्द्रीकृत शासन व्यवस्था हट्न नसकेको भनाइ उहाँको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसँग सम्बन्धित कानुन बन्न नसक्दा सरकार सञ्चालनमा कठिनाइ आएको बताउनुभयो । संविधान कार्यान्वयनमा चुनौतीहरू धेरै रहेका बताउँदै सङ्घीयता संविधानमा व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयनमा नआउँदा समस्या आएका उहाँको भनाइ छ । 

“संविधानद्वारा प्रदेशलाई दिइएका अधिकार छिटो कार्यान्वयनमा जानुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सबै पार्टीको सहयोग र सहमतिका आधारमा संविधान संशोधन गरी अगाडि बढ्न जरुरी छ ।” प्रदेशका कानुन लामो समयसम्म बन्न नसक्दा आम जनताले सङ्घीयतामाथि प्रश्न उठाउन थालेका बताउँदै नेपाली जनतालाई सिंहदरबारको अधिकार भन्ने तर कानुन बाधक बनिरहनु भएन उहाँले भन्नुभयो । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यही अवस्थामा वर्तमान संविधान चलायमान हुन नसक्ने बताउँदै संविधान संशोधन अत्यावश्यक भएको औँल्याउनुभयो । 

सो अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, संविधानविद् राधेश्याम अधिकारी कपिलमणि दाहाल, कृष्णप्रसाद तिमिल्सिना, बिनिता नेपाली, सीताराम केसीलगायतले संविधान संशोधनका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।  

संविधानविद् राधेश्याम अधिकारी र कपिलमणि दाहालले संविधान संशोधनः आवश्यकता र चुनौती तथा संविधानमा सुधार गर्नुपर्ने बुँदाका बारेमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागका प्रमुख डा डिला सङ्ग्रौलाले उक्त कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । 

तुम्लिङटार विमानस्थलमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा), १० फागुनः जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन् ।

सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्यान प्राधिकरण कार्यालय तुम्लिङ्टारका प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ ।

प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उहाँले बताउनुभयो । 

पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उहाँको भनाइ छ । विमानथलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो । 

भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिनुभयो । “माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो । उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् । उडान सुचारु भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ ।

तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर–७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो ।   विश्वको पाँचाैँ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ ।  

सङ्घीय कटौतीमा मस्क ‘थप आक्रामक’ हुन चाहेको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्ना अर्बपति सल्लाहकार एलन मस्कले सङ्घीय सरकारलाई कटौती गर्दै आफ्नो सुधार एजेन्डा कार्यान्वयन गर्न ‘थप आक्रामक’ हुन चाहेको बताउनुभएको छ ।

“एलनले राम्रो काम गरिरहनुभएको छ तर म उहाँलाई अझ आक्रामक भएको हेर्न चाहन्छु”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “याद गर्नुहोस्, हामीसँग बचत गर्न एउटा देश छ ।”

ट्रम्पले प्रविधि उद्यमी मस्कलाई सरकारी खर्च कटौती र फजुल खर्च तथा कथित भ्रष्टाचारको सामना गर्ने जिम्मेवारी दिँदै सरकारी दक्षता विभागको जिम्मेवारी दिनुभएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति र ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले सङ्घीय कर्मचारीहरूको ठूलो हिस्सालाई बर्खास्त गर्ने प्रयासको नेतृत्व गर्नुभएको छ ।

शुक्रबार घोषणा गरिएको पछिल्लो कटौतीमा अमेरिकी रक्षा मन्त्रालयले आगामी हप्तादेखि आफ्नो नागरिक कार्यबललाई कम्तीमा पाँच प्रतिशतले कटौती गर्नेछ ।

ट्रम्प प्रशासनले परीक्षणकालमा रहेका धेरै अन्य सङ्घीय कर्मचारीहरूलाई बर्खास्त गर्न थालिसकेको छ ।

बिहीबार एक न्यायाधीशले हजारौँ व्यक्तिको बर्खास्तीलाई अस्थायी रूपमा रोक्न श्रमिक सङ्घको प्रयासलाई अस्वीकार गरेका छन् ।

सरकारी दक्षता विभाग (डिओजिई) मस्कद्वारा सञ्चालित एक स्वतन्त्र संस्था हो । यद्यपि खर्च कटौतीको अभियानले विभिन्न मोर्चामा विरोध र अदालती फैसलाहरूको मिश्रित प्रतिक्रियाको सामना गरेको छ ।

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी

कैलाली, १० फागुनः धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुआत गरेको छ ।

भिमदत्तले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा परशुरामले पूरा ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । परशुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिलबहादुर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन विकले १६ रन बनाए । भिमदत्तका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका सन्तोषले एक मेडन राख्दै ११ रन खर्चेर चार विकेट लिए । भट्ट ‘म्यान अफ दी म्याच’ भए । समिर बिस्ट र अरुण ऐरीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए । यस्तै, अन्तिममा ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७, अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाए । भिमदत्तका प्रकाश पाण्डेय, साजन बिटालु र समिर बिष्ट रनआउट भए । परशुरामका लागि अर्जुन विकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले एक मेडन राख्दै २१ रन खर्चेर तीन विकेट चट्काए । त्यस्तै टेक थलालले दुई तथा कृष्ण बिष्टले एक विकेट लिए ।

समूह ‘ए’ बाट गोदावरी नगरपालिकाको टोली र समूह ‘बी’ बाट पुनर्वास नगरपालिका ‘बी’ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । प्रतियोगिताका विजेता टोलीले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही रु १५÷१५ हजार, उदीयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु दुई हजार ५०० प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ ।

दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

खलङ्गा (दार्चुला), १० फागुनः जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ ।

दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा आज आयोजनाको शिलन्यास गरिएको हो । 

जलविद्युत्् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत रु छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिनुभयो । 

शेरीबाट आठ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो ।

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’ : मन्त्री अधिकारी

पाटन (ललितपुर), १० फागुनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गत साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशन रहेका जनाउँदै व्यवस्थापन पक्ष सक्षम नहुँदा लामो समयदेखि सबै संस्थामा घाटामा रहेका बताउनुभयो । उहाँले आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँच वटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उल्लेख गर्नुभयो । 

“साहित्य र संस्कृतिको विकास तथा संरक्षणका क्षेत्रमा काम गर्न अग्रजहरूले सुरुआत गर्नुभएका सकारात्मक विषयलाई निरन्तरता दिनु पर्छ । सधैँ सरकारसँग आश्रित भइरहँदा संस्था सबल हुन सक्दैन”, मन्त्री अधिकारीले भन्नुभयो, “साझा प्रकाशन नेपाली जनताले विश्वास गरेको भरपर्दो संस्था थियो । यो विषय अहिले इतिहासमा मात्रै सीमित छ, यसलाई वर्तमान अवस्थाबाट उकास्न नयाँ नेतृत्वले विशेष योजनासहित समस्या समाधानमा ध्यान दिनुपर्छ ।”

उहाँले भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरुप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई विकास हुँदै २०२१ सालमा स्थापित साझा प्रकाशनलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई सबल बनाउन मन्त्रालयका तर्फबाट सकारात्मक भूमिका खेल्दै प्रभावकारिता वृद्धि गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हिजोको र आजको चिन्तन फरक छ, हामीले हिजो गरेको व्यवहार, इतिहास, दृष्टिलाई ध्यान दिँदै अहिलेको परिस्थितिमा कसरी जान सकिन्छ भनेर योजना बनाउनुपर्छ । संस्कृति संरक्षण र निरन्तरता दिन के गर्न सकिन्छ भनेर सहकार्य र समन्वय गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

साझा प्रकाशनका नाममा मुलुकका विभिन्न ठाउँमा रहेका जग्गालाई व्यवस्थापन गरेर भाडामा लगाउँदा पनि खर्च चलाउन सकिन्छ भन्दै साझा प्रकाशन जस्ता संस्था स्वयम् आत्मनिर्भर भई समृद्धितर्फ जाने संस्था हुन् उहाँले भन्नुभयो । उहाँले यो साधारणसभाले विगतमा भएका कमजोरी खोज्न सकोस् भन्दै अबको नेतृत्वले कमजोरी पहिचान गरेर समाधानका उपाय निकाल्न योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

साझा प्रकाशनका सल्लाहकार संयोजक डा तुलसीप्रसाद भट्टराईले एक सय १० वर्ष पुरानो इतिहास बोकेको संस्था विगतका नेतृत्वमा केही कमजोरी हुँदा अहिले धराशयी अवस्थामा पुगेका बताउनुभयो । उहाँले आफू विसं २०४९ मा महाप्रबन्धक बनेर आउँदा ज्यादै महत्वपूर्ण गरिमा बोकेको संस्थाका रूपमा चर्चा हुने गरेको स्मरण गर्दै नयाँ नेतृत्वले त्यो साख कायम राख्नेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

“सरकार र अर्थमन्त्रालयले साथ दिएको अवस्थामा पनि यसले गति पाउन सकेको छैन, अबको नेतृत्वले यसमा ध्यान दिएर गतिशील बनाउन लाग्नेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।  उहाँले कर्मचारीले २५ महिनादेखि तलब खान नपाएको अवस्थालाई ध्यान दिएर आगामी दिनमा सकारात्मक र प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नुभयो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष प्रा डा रमेशप्रसाद भट्टराईले साझा प्रकाशन परिसरमा पुस्तक राख्ने भवन निर्माण सम्पन्न भएको बताउँदै नौ वर्षदेखि बाँकी रहेको लेखापरीक्षणको कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले साझा प्रकाशन लेखक–साहित्यकारको साझा थलो भएको बताउँदै अधिकांश लेखक यो संस्थाका शेयर सदस्य रहेका जानकारी गराउनुभयो ।

सहकारी ऐन, २०७४ को दफा १३५ मा साझा प्रकाशनलाई विशेष संस्थाका रूपमा राखिएको छ । त्यस्तै, सहकारी नियमावली, २०७५ नियम ७७ मा संस्था सञ्चालनसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत सञ्चालक समिति गठनको प्रावधान राखिएको छ । हाल साझा प्रकाशनमा एक हजार चार सय ६९ सदस्य छन् ।

पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छः नेता सिंह

महेन्द्रनगर (धनुषा), १० फागुनः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पार्नुभयो । “विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ । सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ”, नेता सिंहले भन्नुभयो ।

उहाँले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको जिकिर गर्नुभयो । “कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ । पार्टीभित्रका समस्या हामीले नै समाधान गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी सङ्गठनलाई अघि बढाउन आवश्यक छ”, पूर्वमहामन्त्री सिंहले भन्नुभयो,“पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुन्छ । आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्य गर्छ । यसर्थ मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढौँ ।”

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुङ्गाना र गुरु बराललगायतको सहभागिता रहेको थियो ।

‘कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी छ’ :मुख्यमन्त्री आचार्य

लुम्बिनी, १० फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी रहेको बताउनुभएको छ । आजदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कलाकृति र सीपलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सकिने भएकाले यसतर्फ लाग्न कलाकारलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको भन्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्‍याउन सकिने उहाँको धारणा थियो ।

मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । “कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने छ”, उहाँले भन्नुभयो, “विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी साबित हुनेछन् ।”

मुख्यमन्त्री आचार्यले सरकारले भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण र विकासका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुभयो । उहाँले विधेयक तर्जुमा प्रक्रिया जारी रहेको र सबै पक्षलाई समेटेर ऐन तयार पारिने बताउनुभयो । 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनै तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवद्र्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू कोरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटालगायतले सम्बोधन गर्नुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा चित्र, मूर्ति, लोककलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको आयोजकले जनाएको छ । प्रदेशका १२ जिल्लाका एक सय २३ कलाकारका एक सय ८० कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् ।

पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो ।

“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म  ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”

देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।

“जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्”, उनले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।”

  बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको होः शाक्य

लेखक तथा प्रथम महिला शाक्यल देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताइन् ।

आफूूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् । “हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो”, प्रथम महिला शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।”

‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’

पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताए ।


नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रतिकूूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुुभव व्यक्त गरिन् । लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा शाक्यको योगदानलाई बुुझ्न सकिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।

बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा

मनहरी (मकवानपुर), १० फागुनः बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ ।
आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३७औँ मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियमले पहिलो गोल गरेका हुन् । त्यस्तै, ४२औँ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका शिशिर लेखीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

मच्छिन्द्रका समीरराज थोकरले दोस्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै अग्रता कायम राखेसँगै खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल थप्दै ३–१ अन्तरमा थ्री स्टार पराजित गरेका हुन् । 

आजको खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् । उनलाई गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले नगद रु १० हजार प्रदान गर्नुभएको थियो । 

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज युनाइटेड विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेल यही फागुन १२ गते दिउँसो २ बजे चर्च ब्वाइज र मच्छिन्द्र क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

काठमाडौँ, १० फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।

उहाँलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नुहुनेछ । 

भ्रमणका क्रममा उहाँले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नुहुनेछ ।

मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुन्छ । उहाँ यही फागुन १६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।”

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तिर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ ।

जेलेन्स्कीले ‘धेरै छोटो अवधिमा’ खनिज सम्झौतामा हस्ताक्षर गर्ने : ह्वाइट हाउस

ह्वाइट हाउसले शुक्रबार युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ । यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गर्नुभएको थियो ।

“हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) का सहभागीहरूलाई भन्नुभयो ।

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौँ, १० फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५ र भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी मटरकोसा प्रतिकेजी रु ६०, घिउसिमी (लोकल) प्रतिकेजी रु ६०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउसिमी (राजमा) प्रतिकेजी रु ९०, टाटेसिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १४०, लौका प्रतिकेजी रु ५०, घिरौँला प्रतिकेजी रु १२०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भेण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १०० र च्याउ (डल्ले) प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रु १७०, अङ्गुर (कालो) प्रतिकेजी रु २७०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा हरियो प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु १२०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु ७०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ३७० निर्धारण गरिएको छ ।

यसैगरी अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेँडेखुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ६०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २९०, ताजा माछा (छडी) प्रतिकेजी रु २९०, राजा च्याउ प्रतिकेजी रु ३०० तोकेको छ ।

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

दोधारा चाँदनी (कञ्चनपुर), १० फागुन : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताउनुभयो । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो, “पर्यटकलाई प्रोत्साहनस्वरूप पहिलो एक सय गाडी (निजी तथा सफारी) निःशुल्क गरिएको छ ।” नेचर गाइड र सफारीको शुल्क शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सहयोग गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

प्रकृतिसँग रमाउन पर्यटकका लागि शुक्लाफाँटा आकर्षण गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । “आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु आवश्यक छ,” होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भन्नुभयो, “स्थानीयस्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्छ ।”

विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । शुक्लफाँटा राष्ट्रिय निकुञ्ज महानन्द जोशीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार नहुँदा पर्यटकको सङ्ख्या न्यून रहेको बताउनुभयो । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान (फाँट) छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ,” उहाँले भन्नुभयो, “वन्यजन्तु मात्रै नभई यहाँ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो ।” उहाँले निकुञ्जमा ५६ प्रजातिका स्तनधारी जीव, ५६ प्रजातिका घस्रने वन्यजन्तु १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली निकुञ्जभित्र रहेका छन् ।

उहाँका अनुसार शुक्लाफाँटामा विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सय बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेका छन् ।

“निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान पनि यसको विशेषता हो निकुञ्जको १९ प्रतिशत क्षेत्र घाँसेमैदान छ,” जोशीले भन्नुभयो, “जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् भने रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।” उहाँका अनुसार रैथाने र बसाइँ सरी आउने गरी ४६१ भन्दा बढी चराचुरूङ्गी पाइन्छन् । शुक्लाफाँटाका क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । एकसाता सञ्चालन हुने महोत्सवमा निकुञ्ज क्षेत्रमा सरसफाइ, निबन्ध प्रतियोगिता र नेपाल–भारतका पर्यटन व्यवसायी र ट्राभल व्यवसायीसँग अन्तक्र्रिया समेत आयोजना गरिएको बताउनुभयो ।

यही फागुन ११ गतेदेखि २७ सम्म बैतडीमा निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुँदै

पाटन( बैतडी)-परिवार व्यवस्थापन अन्तर्गत सन्तानको रहर पुगिसकेका दम्पतीहरूका लागि निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । एमएसआई /सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले यही फागुन ११ गतेदेखि २७ गते शिविर सञ्चालन हुने बताउनुभयो । महिलाहरूको स्थायी बन्ध्याकरण ‘मिनिल्याप’ र पुरूषहरूको स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गरिने उहाँले जानकारी दिनुभयो ।

परिवार नियोजनको अस्थायी साधान पाँच बर्षका लागि ‘इम्पलान्ट’ र १० बर्षका लागि ‘आइयुसिडी’ समेत राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गर्ने र सन्तानको रहर पुगिसकेका दम्पत्तीहरूले शिविरबाट सेवा लिनसक्ने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन ११ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने फागुन १३ गते पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा, फागुन १५ गते पुर्चौंडीकै कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

साथै फागुन १७ गते शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्र, फागुन १८ गते पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकी, फागुन २० गते मेलौली नगरपालिकाको सलेना स्वास्थ्यचौकी र फागुन २१ गते पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिने बताइएको छ ।

यस्तै फागुन २२ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागनु २३ गते सुर्नयाकै वासुलिङ्ग स्वास्थ्यचौकी, फागुन २४ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २५ गते दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी र फागुन २७ गते डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो जनसङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत मात्र छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८ रहेको छ भने अझै प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् ।