प्रचण्डको स्टाटसमा मेयर बालेनकाे टिप्पणी : एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक सञ्जालमै स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र टिप्पणी गरेका छन् ।
प्रचण्डले फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
उनको यही स्टाटसमाथि प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगतको प्रसंग उठाउँदै प्रचण्डलाई प्रत्यक्ष कटाक्ष गरेका छन् । बालेनले प्रचण्डको पोष्टको कमेण्टमा लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे।’
बालेनको उक्त टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ । केहीले बालेनको टिप्पणीलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागको रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक तहमा हुने खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन् । सरकारले हालैको केही दिनदेखि सामाजिक सञ्जालमा बन्देज लगाएको र त्यसको विरुद्धमा राजधानी काठमाडौं लगायतका स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । यो विषय राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोको विषय बनेको छ।