`

नौ वर्षपछि ‘फेरि रेशम फिलिली’

काठमाडौँ-नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो । विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले पहिलो दिनमा एक करोडको हाराहारीमा ‘ग्रस’ व्यापार गर्न सफल भएको थियो । दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिए पनि सुरुआती समयमा भएको व्यापारको चर्चा पछिसम्म भयो ।

सोही कारण यसको ‘सिक्वेल’ नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको छ । यस शृङ्खलाका अभिनेता तथा निर्माता विनय श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको विषयवस्तु तयार गर्न समय लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दर्शकका कारण लोकप्रिय बनेको चलचित्रको अर्को भाग व्यापारिक मात्र नभई सृजनात्मक रुपमा पनि बलियो होस् भनेर पटकथामा मेहनत गरेका छौँ । यसले अहिलेको युवापुस्तामा बढ्दो विदेश मोह र त्यसले निम्त्याउने समस्यालाई देखाइएको छ । विषय गम्भीर भएपनि प्रस्तुतीकरण  मनोरञ्जनात्मक छ ।”

‘रेशम फिलिली’ कै पात्र र परिवेशलाई ‘फेरि रेशम फिलिली’ मा निरन्तरता दिएको अभिनेता श्रेष्ठले बताउनुभयो । निरोज महर्जनको पटकथा र निर्देशन रहेको चलचित्रमा अभिनेता श्रेष्ठसँगै, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीलगायतले अभिनय गर्नुभएको छ । निर्देशक महर्जनले नौ वर्ष अगाडी दर्शकले रुचाउनुभएको पात्रको निरन्तरता दिएर अहिलेको परिवेश चलचित्रमा देखाएको बताउनुभयो ।

“चलचित्रमा देखिएका दुई पात्र रेशम र हरिया हाम्रो युवाका प्रतिनिधि हुन् । त्यसैले हामीले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्गयात्मक शैलीमा प्रस्तुत गरेका छौँ”, निर्देशक महर्जनले भन्नुभयो ।   चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गर्नुभएको छ । यो चलचित्र शिवरात्रिको अवसर पारेर यही फागुन १४ देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बलेवा (बागलुङ), १० फागुन – पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गर्नुभयो ।

पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै धेरै लगानीको पहिलो होटल हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु ३० करोड लगानीमा सञ्चालनमा ल्याउनुभएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको छ । झण्डै ६ महिनाअघि बजारमै सञ्चालनमा रहेका दुई होटलले सेवा बिस्तार गर्नुभयोे । लगानी बढाउनुभयो । होटल रेड एप्पलले स्थानान्तरणपछि फराकिलो क्षेत्रमा आफ्ना सेवा सञ्चालनमा ल्याएको छभने होटल शितलले रु दुई करोड लगानी थप गरेर सेवा थालेको छ ।

सदरमुकाममा रहेका होटल दि राजन, पिस प्यालेस, समिट धौलागिरी, होटल पर्व लगायतका होटल पनि आफ्ना सेवा बिस्तारमै छन् । अन्य होटल तथा रेष्टुँराले पनि पर्यटक लक्षित सेवालाई केन्द्रमा राखेका छन् । सदरमुकाम बाहिर घोडाबाँधेमा माउन्टेन भ्यु, गलकोटमा गलकोट स्क्वायर, बडिगाडमा एग्रो रिसोट, कुश्मीशेरामा साकुरा, बुर्तिबाङमा होटल दरबार र निसीको झिँवाखोलामा होटल लोकमार्ग पर्यटक लक्षित होटल हुन् ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बागलुङमा होटल व्यावसायमा लगानी बढाउदै लगिएको हो । बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्राहलय, तथा ढोरपाटन शिकार आरक्ष लगायतका प्रमुख पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्न आउने पर्यटकको चहलपहल बढ्न थालेपछि सुविधा सम्पन्न होटल तथा लजहरूको विस्तार हुने क्रम बढेको होटल सगुनका सञ्चालक सञ्जय श्रेष्ठ बताउनुहुन्छ ।
यहाँ पर्यटक आउनका लागि कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्गले सघाईरहेका छन् । “भएका होटल मात्रै यहाँ पर्यटक आउने क्रम बढ्दा पर्याप्त हुँदैनन्’ होटल व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भन्नुभयो, ‘होटल व्यवसायमा लगानी बढ्नु जिल्लामात्रै होईन प्रदेशकै लागि सकरात्मक सन्देश हो ।’

होटल क्षेत्रमा व्यवसायीले एक करोडदेखि ३० करोडसम्म लगानी गरेका छन् भने एक हजार भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । पाहुनाको आगमनले रौनकता छाएको र होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको होटल शिलतका संचालक तालबहादुर कुँवर बताउनुहुन्छ । “यहाँ सम्भावना धेरै छन्, राज्यले लगानी सुरक्षा गरिदिने हो भने लगानीकर्ता तयार हुन्छन्’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेल भन्नुहुन्छ, “लगानी आकर्षण गर्ने काम राज्यको हो, नीजि क्षेत्रलाई हेर्ने नजर स्थानीयदेखि केन्द्र सरकारसम्म फेरिनुपर्छ ।’
व्यवसायीहरूले पाहुलनालाई आर्कषण गर्न बिभिन्न पर्यटकीय प्याकेज समेत ल्याउन थालेका छन् । बिभिन्न क्षेत्रको अवलोकनपछि एक दिन बसोबास गर्ने गरि सुविधा सम्पन्न होटल पाउन थालेपछि आन्तरिक पर्यटकलाई सहज बनेको छ । पर्यटकको आगमन बढेसँगै होटलको आम्दानी पनि बढेको छ । होटल भरिँदाका दिन एउटै होटलले ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको होटल पर्वका म्यानेजर राम पराजुली बताउनुहुन्छ ।

बागलुङका पर्यटकीय क्षेत्र घुम्नका लागि देशभरीबाट बिभिन्न विद्यालय, समुह र सहकारी तथा व्यक्ती र परिवार मिलेर आउनेहरूको लर्को छ । मुस्ताङ पुगेर फर्किने, म्याग्दीको तातोपानी कुण्ड पुग्ने पर्यटकको समेत बासस्थान भएकाले दैनिक ३००देखि ५०० सयपर्यटक जिल्ला भित्रिने गरेको होटल अन्नपूर्णका सञ्चालक ढोलराज पौडेल बताउनुहुन्छ ।

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी, १० फागुन ː पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ ।

रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताउनुभयो ।

उहाँभन्नुभयो,“सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ ।नगरपालिकाले भाडामा नदिएको भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरेपनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएँ । ”

चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिकपूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ ।भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोग बिहीन भएको उहाँको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यपारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।

विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव ईन्जिनियर वीरेन्द्र मण्डलले बताउनुभयो । उहाँका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग बिहीनमा छ ।

विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।

हुम्लाकाे विकट गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आयो

अदानचुली, (हुम्ला) १० फागुन : वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइएको छ ।

यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका नागरिक आजदेखि घरघरको कुनैमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताउनुभयो ।

दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजी’को टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुन कुन बस्तीमा यसले काम गरेको छ जानकारी दिन सबैलाई अनुरोध समेत गर्नु भएको छ । उहाँका अनुसार फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने बताउनुभयो ।

सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्तीहरु र हरम्लाको ताँजाकोट, सर्केगाड, र अददानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा आज दिउँसोबाट सञ्चालन सुरु गरेको छ भने अदानचुली च्याममा राखिएको टावर भोली(शनिवार) दिउसो १ बजेबाट सञ्चालनमा आउने टावर निर्माणको जिम्मा पाएका अदानचुली गाउँपालिका वडा नम्बर ५ का दृघ सिंहले जानकारी दिनु भयो ।

च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचनारु हुँने नेपाल टेलिकम हुम्ला रिन्जिन लामाले बताउनु भयो ।

जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । आजदेखि टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थालेको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । उहाँले भन्नुभयो “ दुई वर्ष देखिको निरन्तर प्रयासका बाबजुत आजबाट सञ्चालनमा ल्याउन सफल भएकोमा निकै खुसी ब्यक्त गर्दै अब कदमकदाचित ओर्डलिंक र एभरेष्टको टावर डाउन भएपनि आफुहरुको काम अबरोध नहुँनेमा ढुक्क छाँै ।” अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अम्मर रावल भन्नुहुन्छ, “यसअघि यहाँका बासिन्दा मोबाइलमा कुरा गर्न पनि कता अग्लो डाँडा छ भनेर खोज्दै हिँड्थे । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छौँ । यसले निकै सुबिस्ता भएको अनुभव भइरहेको छ । अहिले देश तथा विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्न पाएका छौँ । निकै खुसी लाग्यो । ”
गाउँमा फोरजीसम्मको सेवा पु¥याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । गाउँबस्तीमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महसुस भएको पनि रावलले बताउनुभयो ।

पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “मैले निरन्तर दवाब दिएकाले यसले छिटो निकास पाई सञ्चालनमा आएको हो ।”

यस्तै सोरु गाउँपालिकाको लामाकाँधमा राखिएको टावर सञ्चालनमा नआए हुम्लामा सञ्चालनमा नआउने भएपछि सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीलाई निकै छिटो सञ्चालनमा ल्याउनै पर्ने बाध्यता थियो सोही अनुसार आफिु पनि भागेका ठेकदाहरुलाई ल्याउन र छिटो काम सञ्चालनमा ल्याउने दुई वर्ष लागेको बताउनुभयो । उहाँलले भन्नुभयो “अब हरेक गाउँमा फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ ।”

अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, डलरको भाउ कति पुग्यो ?

काठमाडौँ, १० फागुन ः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५  पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रूपैयाँ २१ पैसा र बिक्रीदर ०९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ०४ रूपैयाँ १२ पैसा र बिक्रीदर ०४ रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्री दर ३१ रूपैयाँ ४७  पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६६ पैसा र बिक्रीदर ०९ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रूपैयाँ १७ पैसा तय गरिएको  छ ।

    यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ । 

साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौँ, १० फागुन : निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् ।

रणनीतिक महत्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयलाई सहयोग गर्न र लगानी विस्तारका लागि जलविद्युत आयोजनाको संस्थापक शेयरमा क्राउड फाईनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुको धारणा छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन संघीय संसद्को सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ ।

लेखा समितिको २०८० पुस १२ को बैठकले साधारण शेयर बिक्री गर्न ‘रियल नेटवर्थ’ ९० भन्दा बढी हुनुपर्ने भन्ने निर्देशनलाई देखाएर नेपाल धितोपत्र बोर्डले ४२ वटा जलविद्युत कम्पनीको आइपीओे अनुमति रोकेको इपानको भनाइ छ ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामा वित्तिय व्यवस्थापनमा समस्या भएको तथा स्थानीयले कहिले शेयर दिने हो भनेर गरेको प्रश्नको समेत उत्तर दिन नसकेको भन्दै इपानका अध्यक्ष गणेश कार्कीले सहीकरण गरिदिन लेखा समितिलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

समितिको पूर्ववत् निर्णयलाई सच्याइदिन इपानले आग्रह गरेको उल्लेख गर्दै अध्यक्ष कार्कीले  विद्यमान कानुनी व्यवस्थाका आधारमा साधारण शेयर बिक्रीका लागि सहजीकरण गरिदिन संसदीय समितिलाई अनुरोध गरिएको बताउनुभयो ।

इपानमा  छ सय ५० कम्पनी आवद्ध छन् । कूल उत्पादित तीन हजार चार सय ५० मेगावाट विद्युतमध्ये निजी क्षेत्रबाट मात्रै दुई हजार सात सय ४० मेगावाट बराबरका एक सय ९० आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।

यस्तै, चार हजार ६३ मेगावाट बराबरका एक सय ४१ आयोजना निर्माणाधीन र चार हजार तीन सय ६३ मेगावाट बराबरका एक सय ४१ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पखाइमा रहेका छन् ।

सर्वेक्षण कार्य सम्पन्न गरेर नेपाल विद्युत् प्राधिकरणमा पीपीएका लागि आवेदन दिएका आयोजना आठ हजार मेगावाट बढी छन् । निर्माण अनुमती पत्र प्राप्त गर्नको लागि विद्युत् विकास विभागमा आवेदन दिएका आयोजनाको क्षमता १० हजार सात सय मेगावाट बराबर छन् । ती आयोजनामा निजी क्षेत्रको तर्फबाट अहिलेसम्म १५ खर्ब रुपैयाँ लगानी भइसकेको छ । आगामी १० वर्षमा रु ३० खर्ब भन्दाबढी लगानी आवश्यक रहेको इपानको दावी छ ।

जलविद्युत् आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत शेयरधनीको आयोजना निर्माणमा लिएको ऋण चुक्ता नहुञ्जेलसम्म  आधारभूत शेयरधनीको एक तिहाई शेयर लकईन अवधि सकिएपछि पनि विक्री गर्न नपाउने व्यवस्थाले इक्विटी लगानीको वातावरणमा असर पर्ने इपानले जनाएको छ । 

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

कञ्चनपुर, फागुन १० : बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ ।

विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठा मध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रद्यानाअध्यापक शेरबहादुर सार्कीले बताउनुभयो । वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार हिउद र गर्मीका बेला पानी नपर्दा सम्म भवन प्रयोग गर्न सकिने भएपनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन । “विद्यार्थीका लागि बस्नका लागि प्रयाप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुटने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन” उहाँले भन्नुभयो, “पुराना विद्यालय भवनका झयाल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अबस्थामा छन, सौचालय पुराना र निकै जिर्ण हुदा प्रयोग गर्न लायक छैनन् ।”
खानेपानीको पाईप विद्यालय सम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ९० प्रतिशत जनजाती र दलित समुदायका रहेका छन । दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन ।
अभिभावकको आर्थिक अबस्था दयनिय हुदा विद्यालया भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाई रहेको छ । विद्यालयमा कुल विद्यार्थीको सङख्या पाँच सय ५५ रहेको छ । ती मध्ये ६० प्रतिशत छात्रा रहेका छन । नियमित विद्यालय आउने विद्यार्थीको सङख्या ७० प्रतिशत रहेको छ ।

बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउनुहुन्छ । आर्थिक विपन्नताका कारण धेरै जसो अभिभावकहरु घरायसी गर्जो टार्नका लागि भारत तर्फ जाने भएकाले केही बालबालिका बृद्ध बाजे बज्यै संग बस्ने गरेका छन ।

केही अभिभावकले विचमै पढाई छुटाएर बालबालिकालाई आफु सगै काम गर्नका लागि लैजाने गरेका छन । विचमै कक्षा छाडने विद्यार्थीको सङख्या २० प्रतिशतको हाराहारीमा रहेको छ । बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थीत नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाउनुभयो । विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोशाक वर्ष भरी लगाउनु पर्ने अबस्था रहेको छ ।
विद्यालयका शिक्षकहरु भन्नुहुन्छ, “विद्यालयको अबस्था बारे नगरपालिका कार्यालय र वडा कार्यालयमा अवगत गराए पनि समस्या अझै सम्म समाधान हुन सकेको छैन, अश्वासन पाईने गरेपनि विद्यालयका भौतिक पूर्वाधार सुधारमा ध्यान दिइएको छैन ।”
विद्यालय भवन निर्माणका लागि प्रदेश सरकाले दिने भनिएको रु २० लाख रकम विद्यालयको स्वामित्वको जग्गा नहुदा नगरपालिका मार्फत वित्तिय हस्तान्तरण गरी उपलव्ध गराउने भएको छ ।

भवन बन्ने नबन्ने के हुने हो भन्ने बारे निक्र्यौल हुन नसकेको शिक्षकहरुको भनाई रहेको छ । विद्यालयमा माध्यमिक तहका एक र आधारभूत तह( प्राथमिक तह)का छ जना गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन । राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक विद्यालयमा कार्यरत रहेका छन । विद्यालय विसं २०३९ सालमा स्थापना भएको हो ।

शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १० फागुन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देशभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउनु पर्र्नेे बताउनु भएको छ ।

 भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस मा.वि.को १७ औँ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उहाँले सत्य र सही कुरामा अडान लिने देशभक्त जनशक्ति विद्यालयले तयार पार्नुपर्ने बताउनु भएको हो । 

उहाँले सरकारले ख्वप विश्व विद्यालय सञ्चालनका लागि स्वीकृत दिन ढिलाई गर्न नहुने बताउदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताउनु भयो । 

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “ख्वप विश्वविद्यालय सञ्चालन हुनसके गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्राप्त गर्न पाउँछन् । ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले ढिलाई गर्नु हुदैन ।” उहाँले  कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ पुस्तक सार्वजनिकीकरण गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालत कलेजहरुका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु देशकै नमुना शैक्षिक संस्थाहरुको रुपमा विकास भइरहेको भन्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्न सरकार तयार हुनुपर्ने बतउनुभयो ।    नगरपालिकाका उपप्रमुख भक्तपुर नगरपालिबाट सञ्चालित कलेजहरुले यहाँका विद्यार्थीहरुलाई इमानदारिता, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्ने विषयबाट पनि प्रशिक्षित गर्दै आएको बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक धनकृष्ण प्रजापतिले आयोगले विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शोध सहयोग, शिक्षक तथा कर्मचारीहरुको सीप, दक्षता अभिवृद्धिका लागि तालिम समेत प्रदान गर्दै आएको बताउनुभयो ।     वार्षिकोत्सव कार्यक्रममा ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र,  २५ वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीहरुलाई दीर्घ सेवा पदक र विद्यावारिधी गरेका शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

काठमाडौँ, १० फागुन : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

काठमाडौँ, ९ फागुन : पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन् ।
आज बिहान ७ बजे काठमाडौँको कलङ्कीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गङ्गाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा नगरपालिका–५ का १८ वर्षीय उमेश स्याङताङलाई काठमाडौँ प्रहरीले नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो ।

गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी

काठमाडौँ, ९ फागुन : काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (वाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । विद्यालयमा सफाइ गर्दा सङ्कलन भएको कागज, कडा प्लाष्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुईवटा बाल्टिनमा राख्ने गरिएको उहाँले बताउनुभयो ।

यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई सङ्कलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।

उपप्रमुख डङ्गोलले विद्यार्थीहरूको फोहर बिक्री गर्ने अभ्यास अवलोकन गर्नुभयो । यसक्रममा उहाँले विद्यार्थीलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ ? प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के–के गर्नुहुन्छ ? जस्ता प्रश्न सोधेर व्यावहारिक ज्ञानका बारेमा जानकारी लिनुभएको थियो । उपप्रमुखले अबको योजना के छ ? भनेर सोध्नुभएको प्रश्नमा विद्यार्थीले फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना रहेको सुनाए ।

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गर्दै उपप्रमुख डङ्गोलले थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गर्नुभयो । “यो प्रयास सिकाइयोग्य छ”, उहाँले भन्नुभयो, “विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्नु, यो सिकाइ आमाबाबालाई सुनाउनु है ।” बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्वबोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताउनुभयो ।

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीनविकास महर्जनले फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।

कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा

मोरङ, ९ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकका सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज विराटनगरमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान र मानसम्मानलाई कायम राख्ने मुलुकको ठूलो तथा राष्ट्रिय पार्टी कांग्रेस रहेको प्रष्ट पार्नुभयो ।

महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्न कांग्रेसले विगतदेखि वर्तमानसम्म जिम्मेवारी वहन गरेको विचार राख्नुभयो । आगामी २०८४ सालको निर्वाचनमा जाँदा कार्यकर्ताले विगत तीन वर्षमा गरेको कामको उपलब्धि लिएर जनतासमक्ष जान उहाँले आग्रह गर्नुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विसं २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको निजीकरण गरी मुलुकमा आर्थिक चलायमानका गतिविधि हासिल गरेको दाबी गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “पार्टीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेमा त्यसको दण्ड, सजायको जिम्मेवारी स्वयं हुनेछन् ।”

सहमहामन्त्री भीष्मराज आङ्गदम्बेले पाथीभरामा देखिएको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आग्रह गर्दै वार्ता अवधिसम्म निर्माण स्थगित गर्नुपर्ने सुझाव दिनुभयो ।

पूर्वमुख्यमन्त्री उद्धव थापाले कांग्रेसले ल्याएको स्वास्थ्य बिमाजस्ता समाज केन्द्रित कार्यक्रमको प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो । विभागका अध्यक्ष मीन विश्वकर्माले कार्यकर्ता अध्ययनशील भई प्रविधिको प्रयोगमार्फत पार्टीप्रति हुने भ्रम सृजनाको अवस्था अत्य गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक तेजराज रेग्मी, केन्द्रीय सदस्य भीम पराजुली, राजीव ढुङ्गाना, तारामान गरुङ, लक्ष्मी परियार, अमृत अर्याल, नैनसिंह महरलगायतले युवा सीप र प्रविधिमा दक्ष भई मुलुकको समृद्धिमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बाह्रखरी अनलाइनका प्रधानसम्पादक हरिबहादुर थापा र रत्नराज्य क्याम्पस पत्रकारिता विभागका प्रमुख जगत नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका १४ जिल्लाका जिल्ला सभापति, नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूको आग्रह

काठमाडौँ, ९ फागुन : राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले आग्रह गर्नुभएको छ ।मानवअधिकार तथा शान्ति समाजद्वारा मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आयोेजित नागरिक संवाद कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले विधेयक तत्काल फिर्ता लिनुपर्नेमा जोड दिनुभएको हो ।

महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । विधेयक पारित गर्दा सांसद र समितिको भूमिका के–कस्तो हुन्छ भन्ने प्रष्ट नहुने गरेकाले पनि सही कानुन बन्न नसकेको उहाँको भनाइ थियो ।

महासङ्घका अर्का पूर्वअध्यक्ष किशोर नेपालले यस्तो विधेयकले कसैको हित नगर्ने भएकाले सामाजिक सञ्जाल विधेयक छिटो फिर्ता लिन माग गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नियन्त्रित लोकतन्त्रका लागि यो विधेयक आएकाले संविधानको भावनाअनुसार लोकतान्त्रिक मूल्य, मान्यताको सुदृढीकरणका लागि विधेयक फिर्ता लिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल विधेयक सरोकार भएका निकाय र नागरिकबीच बहस नगरी लुकाएर ल्याएकाले समस्या आएको उहाँको भनाइ थियो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले माघ अन्तिम साता बसेको पत्रकार महासङ्घको बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रने निर्णय गरेकाले छिटो फिर्ता लिन ध्यानाकर्षण गराउनुभयो । सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरू शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य हुने उहाँले सुनाउनुभयो ।

नेपाल चिकित्सक सङ्का पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले सामाजिक सञ्जालको नियमनका नाममा विधेयकले अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण गर्न लागिएकाले विधेयक फिर्ता लिनु नै लोकतन्त्रको हितमा हुने बताउनुभयो । विधेयक आफैँमा द्विविधामा रहेको उहाँले सुनाउनुभयो ।

डिजिटल राइटका सन्तोष सिग्देलले सामाजिक सञ्जाल विधेयकले प्रयोगकर्ताको अधिकारका बारेमा उल्लेख नगरी दोहोरो अर्थ लाग्ने किसिमका शब्दको प्रयोग भएको बताउनुभयो । विधेयकले सार्वजनिक पदमा बसेकाको आलोचना गर्न पाइन्छ वा पाइँदैन भन्ने प्रष्ट नगरेको उहाँले सुनाउनुभयो ।

समाजका पूर्वसभापति होमकान्त चौलागाईँले विधि निर्माणमा सरोकार भएका निकाय र नागरिकलाई सहभागी नगराउँदाको समस्याका रूपमा यो विधेयक रहेको बताउनुभयो । संविधानको प्राणका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी विधेयक आएको भनाइ उहाँले राख्नुभयो ।

कार्यक्रममा समाजका सभापति रेणुका पौडेल, पूर्वसभापतिद्वय रामकृष्ण बराल र डा गङ्गाधर अधिकारी, केन्द्रीय सदस्य उमा गौतम, काठमाडौँ कार्यसमितिका सदस्य रोजिना विष्टलगायतले सामाजिक सञ्जाल विधेयक नागरिक स्वतन्त्रताविरूद्ध रहेकाले छिटोभन्दा छिटो फिर्ता लिनुपर्नेमा जोड दिनुभएको थियो ।

तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप

दमौली (तनहुँ), ९ फागुनः जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । जिल्लामा रहेका दश स्थानीय तहका १४ हजार एक सय ३५ छात्रालाई उक्त खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाउने लक्ष्य रहेकामा करिब ९९ प्रतिशतले लगाएका कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जनाउँदै जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न भएको उल्लेख गर्नुभयो । 

पहिलो चरणमा व्यास र भानु नगरपालिका तथा देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका साथै दोस्रो चरणमा शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो ।  विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्यसहित प्रत्येक विद्यालयमा खोप केन्द्र कायम गरिएको थियो । 

पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन ‘जरा अभियान’ : महासचिव पोखरेल

गण्डकी, ९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताउनुभएको छ । एमाले कास्कीद्वारा आज पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जनताको बहुदलीय जनवाद विचार र नेतृत्वमा कुनै पनि विवाद नरहेको बताउँदै उहाँले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न कार्यकर्ता सङ्गठित भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।सङ्गठित शक्तिले मात्र समाज परिवर्तन गर्न सक्दछ भन्दै उहाँले पार्टीको सङ्गठानात्मक शक्तिलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । पार्टीले लिएका अभियान पूरा गर्न निर्वाचनमा पहिलो पार्टी बनाउनेतर्पm जुटन जनप्रतिनिधि र कार्यकर्तालाई उहाँको आग्रह थियो ।

मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण जनतामा बढेको नैरास्यता हटाउन एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको बताउँदै उहाँले सात बुँदे सहमतिका आधारमा बनेको यो गठबन्धन पुरै अवधि कायम रहने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुकको नेतृत्व गर्ने सशक्त पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

देशको आवश्यकतालाई दृष्टिगत गर्दै प्रमुख पार्टीहरू सम्मिलित वर्तमान सरकार बनेको बताउँदै उहाँले सरकार गठन भएपछि अस्थिरताको अन्त्यसँगै सुशासन र समृद्धिको जनतामा आशा जगाएको बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरूङले जनचाहनाअनुसार सरकार अघि बढिरहेको बताउँदै स्थिर सरकारको कारण छिमेकी मुलुक भारत र चीनको विकासमा तीव्रता आएको बताउनुभयो ।

पार्टी सचिव पद्मा अर्यालयले पार्टी भित्रको अवसरवाद र सङ्गठनात्मक अराजकताको अन्त्यका लागि कार्यकर्ता सङ्गठित हुनुपर्ने बताउनुभयो । नमिलेका मनलाई मिलाउन पार्टीभित्र छलफल गरी एकता कायम गर्नुपर्नेमा उहाँको जोड थियो ।

एमाले स्थायी कमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी र सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्‍याउन कार्यकर्तालाई आग्रह गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरणका लागि टोलटोलमा पुगेर विकास निर्माणसहित जनभावना बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले पार्टीको वर्तमान अवस्था र अभियान सञ्चालनका सम्बन्ध प्रकाश पार्नुभएको थियो । 

करिब १७ प्रतिशत जापानी नागरिकले राहदानी लिएका छन्

जापानका प्रत्येक छ जना नागरिकमध्ये एक जनासँग मात्र वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ ।पछिल्लो दर राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम छ तर सन् १९९० को करिब पाँच प्रतिशतबाट बढेको छ ।छिमेकी मुलुक दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको सियोलले जनाएको छ ।

सन् २०२४ को डिसेम्बरसम्ममा दुई करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको करिब १७.५ प्रतिशत रहेको परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको छ ।

कोभिड–१९ महामारीअघि करिब एक चौथाइ जापानीसँग वैध राहदानी थियो ।यस वर्षको हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिङ्गापुरपछि दक्षिण कोरियाको राहदानी विश्वकै दोस्रो बलियो राहदानीसँग जोडिएको छ । सिङ्गापुरले १९० भन्दा बढी गन्तव्य (देश)मा बिना भिसा प्रवेशका लागि अनुमति पाउँछ ।

कोभिड–१९ को महामारीकालको क्वारेन्टाइन र सीमा नाका बन्द भएपछि जापानबाट बाहिरिने यात्रा क्रमशः पुनः शुरु भएको मन्त्रालयले जनाएको छ ।तर विगत पाँच वर्षमा आफ्नो मूल्यको एक तिहाइ हिस्सा गुमाइसकेको येनको कमजोरीले जापानी यात्रुलाई मुद्रास्फीति र आन्तरिक यात्रामा नयाँ चासोका कारण रोकेको विश्लेषकहरू बताउँछन्।

जापानले अन्य देशहरूबाट पर्यटकहरूको उच्च आगमनलाई स्वागत गरेको छ । गत वर्ष ३६ करोडभन्दा बढी पर्यटक जापान पुगेका थिए भने सबैभन्दा बढी आकर्षण क्योटाजस्ता पर्यटकीय स्थलहरूमा देखिएको थियो ।

सन् १९८० को दशकको उत्तरार्धमा जापानी नागरिकहरूको अन्तर्राष्ट्रिय यात्रामा तीव्र वृद्धि हुन थालेको थियो ।
सन् १९९० मा जापानबाट एक करोडभन्दा बढी मानिस विदेश गएका थिए भने महामारीअघि यो सङ्ख्या बढेर दुई करोड पुगेको थियो ।

जापानको शीर्ष ट्राभल एजेन्सी जेटीबीका अनुसार यो वर्ष करिब एक करोड ४१ लाख जापानीले विदेश भ्रमण गर्ने अनुमान गरिएको छ ।“हालैका वर्षहरूमा, येनको तीव्र अवमूल्यनले केहीलाई विदेश यात्राबाट टाढा राखेको छ तर एक पटक मुद्रा बजार शान्त भएपछि विदेशी यात्राले गति लिने अपेक्षा गरिएको छ,” सरकारद्वारा जनवरीमा जारी गरिएको अध्ययनमा भनिएको छ।

बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ हमासद्वारा अस्वीकार

हमासले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ‘धम्की’ अस्वीकार गरेको छ । नेतन्याहुले हमासलाई बन्धक सिरी बिबासलाई फिर्ता नगरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि यसको मूल्य चुकाउनुपर्ने धम्की दिनुभएको थियो ।

“बेन्जामिन नेतन्याहुले आफ्नो छवि सुधार गर्ने प्रयासको हिस्साका रूपमा जारी गरेको धम्कीलाई हामी अस्वीकार गर्दछौँ”, हमासले एक वक्तव्यमा भनेको छ । साथै समूहले इजरायली अधिकारीहरूलाई एक गाजाबासी महिलाको शव फिर्ता गर्न आग्रह गरेको छ । समूहले बिहीबार हस्तान्तरण गरेको शवलाई बिबासको शव भनेर दाबी गरिएको थियो ।

हमासले युद्धविरामको अधीनमा आफ्नो जिम्मेवारीहरू प्रति ‘गम्भीरता र पूर्ण प्रतिबद्धता’ को पुष्टि गर्दै भनेको छ, “हमासको कुनै पनि पालना नगर्ने वा कुनै पनि शवहरू राख्ने कुनै चासो छैन ।”

तथापि समूहले ‘शवहरूको त्रुटि वा मिश्रण हुने सम्भावना’ स्वीकार गरेको छ । यसलाई हमासले अन्य प्यालेस्टिनीहरूसँगै बिबास परिवार रहेको क्षेत्रमा इजरायली बमबारीलाई जिम्मेवार ठहराएको छ ।

हमासले मध्यस्थहरूलाई शव फिर्ताको परिस्थितिबारे आफ्नो ‘अनुसन्धान र परीक्षण’ को नतिजा जानकारी गराउने बताएको छ ।

दक्षिण अफ्रिकाले युद्ध अन्त्य गर्नेबारे छलफलका लागि जेलेन्स्कीलाई ‘चाँडै’ निमन्त्रणा गर्ने

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई रुसको सन् २०२२ को आक्रमणबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न ‘समावेशी शान्ति प्रक्रिया’ बारे छलफल गर्न चाँडै आमन्त्रित गर्ने बताउनुभएको छ ।

युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई आमन्त्रित नगरिएको वार्ताको माध्यमबाट युद्धको अन्त्यका लागि वार्ता गर्न रुस र संयुक्त राज्य अमेरिकाले चालेका कदमहरूको कडा आलोचनाका बीच यो प्रस्ताव आएको हो ।

“म राष्ट्रपति जेलेन्स्कीसँग भएको रचनात्मक संवादलाई स्वागत गर्दछु र म उहाँलाई चाँडै राजकीय भ्रमणका लागि दक्षिण अफ्रिकामा आतिथ्य गर्न उत्सुक छु”, रामाफोसाले एक्समा भन्नुभयो ।

दुई नेताले ‘सबै पक्षहरू समावेश गर्ने समावेशी शान्ति प्रक्रियाको तत्काल आवश्यकता’ मा सहमति जनाएको उहाँले बताउनुभयो । “दक्षिण अफ्रिका रुस र युक्रेन बीचको संवाद प्रक्रियालाई समर्थन गर्न प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

यसैबीच जेलेन्स्कीले ‘युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’ लाई समर्थन गरेकोमा रामाफोसालाई धन्यवाद दिनुभयो र यस वर्ष शान्तिको आशा व्यक्त गर्नुभयो ।

“हाम्रा देशहरूले समान स्थिति साझा गर्छन् भन्ने महत्त्वपूर्ण छ : युक्रेन बिना युक्रेनको बारेमा केही पनि होइन । हामी सबैले यस वर्ष न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्ने आशा गर्दछौंँ । दक्षिण अफ्रिकाको आवाज महत्त्वपूर्ण छ र हामी यसको समर्थनमा भर पर्दछौँ”, उहाँले लेख्नुभएको छ ।

दक्षिण अफ्रिकाले रुस र युक्रेनबीचको युद्धमा तटस्थता देखाउन खोजेको भए पनि मस्कोतिर झुकेको आरोप लगाइएको छ ।

रामफोसाले अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको प्रमुख उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा रुसलाई ‘मूल्यवान मित्र र सहयोगी’ भनेर वर्णन गर्नुभएको थियो ।

रामाफोसाले बिहीबार जोहानसबर्गमा समूह २० (जी–२०) का शीर्ष कूटनीतिज्ञहरूको बैठकको छेउमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गर्नुभयो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रिटोरियालाई ‘अमेरिका विरोधी’ एजेन्डाको आरोप लगाएपछि दक्षिण अफ्रिकामा भएको दुई दिने बैठकमा भाग लिनुभएन ।

अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता जारी : किएभ स्रोत

भोलोदिमर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीचको नाटकीय विवादका बावजुद किएभ र वासिङ्टन युक्रेनका खनिज भण्डारहरूमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच हस्तान्तरण गर्ने सम्झौताको वार्तामा संलग्न रहेको किएभमा एक स्रोतले शुक्रबार बताएको छ ।

वासिङ्टनमा आक्रोश व्यक्त गर्दै किएभले युक्रेनको प्राकृतिक स्रोतका लागि सम्झौता गर्ने ट्रम्पको टोलीको पहिलो प्रयासलाई अस्वीकार गरेको थियो । किएभले उक्त प्रस्तावमा किएभका लागि सुरक्षा ग्यारेन्टी समावेश नभएको बताएको थियो ।

त्यसबेलादेखि ट्रम्प र जेलेन्स्कीबीच कटु सार्वजनिक झगडा सुरु भएको छ । ट्रम्पले युक्रेनलाई रुसले आक्रमण गरेकोमा दोषी भएको र जेलेन्स्की आफ्नै जनताबीच अत्यधिक अलोकप्रिय रहेको दाबी गर्नुभएको छ ।

क्रेमलिनको गलत कथाहरूको पुनरावृत्तिमा निराश हुँदै जेलेन्स्कीले ट्रम्प रूसी ‘गलत सूचना’ को अधीनमा पर्नुभएको बताउनुभयो ।तनावका बावजुद सम्भावित स्रोत सम्झौतामा वार्ता शुक्रबार ‘चलिरहेको’ यस विषयमा जानकारी भएका एक वरिष्ठ युक्रेनी अधिकारीले बताए ।

“मस्यौदाको निरन्तर आदानप्रदान भइरहेको छ, हामीले हिजो अर्को पठाएका थियौँ”, युक्रेन अब अमेरिकी प्रतिक्रियाको प्रतीक्षामा रहेको भन्दै स्रोतले भन्यो ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बिहीबार सार्वजनिक रूपमा किएभलाई ‘गम्भीरतापूर्वक हेर्न र त्यो सम्झौतामा हस्ताक्षर गर्न’ भन्नुभयो ।ट्रम्प युक्रेनलाई आफ्ना पूर्ववर्ती जो बाइडेनको नेतृत्वमा वितरण गरिएको दशौँ अर्ब डलर सहयोगको क्षतिपूर्तिका रूपमा अमेरिकी कम्पनीहरूलाई पहुँच दिन चाहनुहुन्छ ।

तर युक्रेनले आफ्नो प्राकृतिक स्रोत र महत्त्वपूर्ण खनिजहरूको विशाल मात्रामा बहुमूल्य अधिकारहरू हस्ताक्षर गर्ने बदलामा संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टीहरू खोजिरहेको छ ।

युक्रेनले नाटो सदस्यता वा रूससँगको कुनै पनि व्यापक युद्धविराम सम्झौताको हिस्साका रूपमा पश्चिमी सेना र उन्नत उपकरणहरूको तैनाथीका लागि दबाब दिइरहेको छ ।

जेलेन्स्कीले यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकासँगको कुनै पनि सम्झौतामा युक्रेनलाई ‘बेच्ने’ छैन भन्नुभएको थियो ।

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह

टीकापुर (कैलाली), ९ फागुनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताउनुभएको छ ।

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उहाँले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो । “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो । “हामीले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न खोजेका छौँ, अबको १० वर्षमा टीकापुर फेरिनेछ”, उहाँले भन्नुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी भए पनि नगरले हरेक कार्यमा सघाउँदै आएको बताउनुभयो । कार्यक्रममा उच्च ओहोदामा पुगेका तथा विद्यालयमा उत्कृष्ट भएका पूर्वविद्यार्थीलाई स्म्मान गरिएको थियो ।

स्वर्ण महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहित करिब दुई सयलाई सम्मान गरिएको थियो । आजै विद्यालयमका स्वर्ण स्तम्भ, ‘इ–पुस्तकालय’ उद्घाटन गरिएको छ ।

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक, फागुन २३ गते रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको हो ।सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।
चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरेको छ । शाहिल खानले सम्पादन गरेको चलचित्रको ट्रेलरमा जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ।

यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन् ।
‘होस्टेल’को अघिल्लो शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ ।

दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेका सशान कँडेलले यो चलचित्रको निर्देशन गरेका छन् । लेखन तथा एसोसियट निर्देशन माधव शर्माले गरेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।
ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उमङ्ग झल्काउने विभिन्न दृश्यले दर्शकमाझ प्रतीक्षा बढाएको छ । युवा पुस्ताको वर्तमान र अघिल्लो पुस्ताको विगतलाई स्मरण गराउन सफल ट्रेलरबाट ‘होस्टेल ३’ले अघिल्ला सिरिजको जस्तै युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।

हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ ।ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य नयाँ अवतारमा प्रस्तुत भएका छन् ।

अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।

एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ । सो दृश्यले चलचित्रमा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ । अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन् । खुला समाजले दिएको स्वतन्त्रता र त्यसले परिवारमा ल्याएको तनाव सो दृश्यले देखाउन खोजेको छ ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन् जसले सिनेमा अन्तराष्ट्रिय स्तरमै बनेको देखिन्छ ।
टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ जसले फिल्मको कथावस्तु अत्यन्त गम्भीर रहेको र हरिवंश आचार्यले अभूतपूर्व अभिनय र भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ ।

चलचित्र भित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन पुरै फिल्म नआई भन्न सकिन्न तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ । यति लामो उनको अभिनय यात्रामा यो खालको हाउभाउ र चरित्र अहिलेसम्म नेपाली सिनेमाका दर्शकले देख्नै पाएका थिएनन् ।चलचित्रको टिजरमा देखिएको अर्को अभूतपूर्व काम भनेको सुसन प्रजापतिको छाँयाकन हो । प्रस्तुत कुनै पनि दृश्य र दृश्यभाषा अहिलेसम्म बनेका नेपाली सिनेमाको जस्तो छैनन् र यो कुनै हलिउडकै सिनेमा हो कि भन्ने लाग्छ ।

सरसरती हेर्दा निर्देशक विनोद पौडेलले नेपालका कलाकार र हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नलाई लिएर विशेष काम गरेका छन् भन्ने छनक देखिएको छ ।अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
सन् २०१९ मा ९२ औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित चलचित्र “बुलबुल” निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो ।

यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी , कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, , प्रदीप शर्मा (बडाईं),राजु पौडेल,रविन पोखरेल र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेकी छन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,सम्बरन प्रेथु राईको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ ।

यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।चलचित्रले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नु पर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र वैशाख १२ ,२०८२ मा संसारभर प्रदर्शनमा आउनेछ ।

बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

मनहरी (मकवानपुर), ९ फागुनः जिल्लाको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड प्रवेश गरेको छ ।

आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा दुई गोल गरेका छन् भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट एक गोल थप्दै समूहलाई अग्रता दिएका हुन् । 

एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी आर्मण्ड घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका छन् । 

यो जितसँगै चर्च ब्वाइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगितामा एपिएफले सङ्कटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । 

गत संस्करणमा एपिएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १२ गते हुनेछ । 

प्रतियोगिताको उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

वीरगञ्ज (पर्सा), ९ फागुनः भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटाँै सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताउनुभयो ।

केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते ) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो । 

“प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ”, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भई त्यहाँ अध्ययरत विद्यार्थी झाले भन्नुभयो, “नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध ग¥यौँ । तर, कलेज प्रशासन सुनुवाइ नगरेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाब दिने योजनासहित शान्तपूर्वक रूपमा आन्दोलन पनि ग¥यौँ ।” 

विद्यार्थीको प्रदर्शन चर्केपछि फ्रेबुअरी १७ तारिखमा केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई अर्काे सूचना जारी नभएसम्मका लागि तत्काल छात्राबास छाड्नका लागि निर्देशन दिएका थिए । झाले कलेज प्रशासनले एकएर्फी ढङ्गले नेपाली विद्यार्थीले छात्राबास छाड्नुपर्ने सूचना जारी गरेपछि नेपाली विद्यार्थीको मनोबल खस्किएको स्मरण गर्नुभयो । 

“नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो । सो घटनाले हाम्रो मन साह्रै कुडिएको छ”, उहाँले भन्नुभयो, “हाम्रै कतिपय साथीभाइ कुटपिटको कारणले घाइतेसमेत बन्नुभयो ।” 

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गर्नुभयो । “अधिकांश नेपाली विद्यार्थीसँग नेपाल फर्किनका लागि आवश्यक पैसासमेत थिएन”, उहाँले भन्नुभयो, “म आफैँं पनि दाइको साथीसँग पैसा सापटी मागेर नेपाल फिर्ता आएको हुँ ।”

केआइआइटीमा छैटाँै सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गर्नुभयो । “प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो । घटना हुने दिन पनि प्रकृतिले मलाई जुत्ता दिनका लागि अनुरोध गरेकी थिइन । मैले सहजै भइहाल्छ नि भन्ने जवाफ फर्काएकी थिएँ”, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भन्नुभयो, “घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो । उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ लागेकी थिइन् । तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।” 

ती छात्राले प्रकृतिले कुन कारणले आत्महत्या गर्ने परिस्थितिमा पुगिन् भन्ने विषयमा स्वतन्त्र ढङ्गले खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “प्रकृतिको मृत्युपछिको असहज परिस्थितिले नेपाली विद्यार्थीलाई नेपाल फर्किन पनि निकै कष्टकर भएको थियो”, उहाँले भन्नुभयो, “कलेज प्रशासनले एक्कासी छात्राबास छाडेर जाउँ भन्दा राज्य नभएको महसुस ग¥यौँ ।”

केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्राबास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोख्नुभयो । “म त्यहाँ अध्ययन गर्न गएको सात महिना पनि भएको छैन । भर्खंरै दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ”, उहाँले भन्नुभयो, “एक्कासी होस्टेल छाड भनेपछि समस्या आइप¥यो । कहाँ जाउँ के खाउँ भन्ने चिन्ताले सतायो । साथीभाइसँग पैसा सरसापट गरेर कैयौँपटक रेल र बस परिवर्तन गरेर बल्लबल्ल फ्रेबुअरी १९ तारिखको बेलुकीपख वीरगञ्ज घरमा आइपुगेको हुँ ।” 

कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताउनुभयो । “यति धेरै दुःख झेलेर आइयो । त्यो कहालीलाग्दो क्षण भुल्न पनि सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीले यस्तो भोगे पनि हामीजस्तै अन्य कुनै पनि नेपाली विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस् ।” 

केआइआइटीबाट फ्रेबुअरी १८ मा घर फर्किनुभएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गर्नुभयो । “नेपाली विद्यार्थी निकै झन्झट व्यहोरेर स्वदेश फर्किएका छौँ”, उहाँले भन्नुभयो, “हामीले भुवानेश्वरबाट बस रिर्जभ गरेर वीरगञ्ज फर्किएका हौँ ।” 

केआइआइटीमा अध्ययरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघरचोकमा प्रदर्शनी गरेका छन् । मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन् । 

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले आज प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने माग राखेका छन् । स्वदेश फर्किएका नेपाली विद्यार्थीले केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

केआइआइटीमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थी कुशवाहले नेपाल सरकारले कलेज प्रशासनसँग समन्वय गरेर नेपाली विद्यार्थीलाई कुनै किसिमको दुव्र्यवहार नहुने सुनिश्चिता गरेको खण्डमा फेरि फर्कन सकिने बताउनुभयो । “सरकारले विद्यार्थीको सुरक्षा र भविष्यमा कुनै अप्ठेरो नपर्ने सुनिश्चित गरेको खण्डमा त्यहाँ फर्किएर आफ्नो अध्ययनलाई अघि बढाउन चाहन्छाँैं”, उहाँले भन्नुभयो । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुकासम्म एक सय ५९ विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएका जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालयले फर्किएका विद्यार्थीलाई आवश्यक सहजीकरण गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । 

सहायक प्रजिअ कार्कीका अनुसार फर्किएकामध्ये एक सय २७ छात्र र ३२ जना छात्रा रहेका छन् । केआइआइटीमा करिब एक हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गर्दै आएका जनाइएको छ । 

बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

काठमाडौँ, ९ फागुन : सूचना तथा प्रसारण विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।

विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ । विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याकलगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताउनुभयो ।

समृद्ध देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ : विप्लव

दैलेख, ९ फागुनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशलाई समृद्ध बनाउने हो भने उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । “डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानुपरेको छैन”, आज दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उहाँले पार्टीलाई आत्मनिर्भर बनाउन चालिएका कदमको चर्चा गर्दै भन्नुभयो, “यो देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ ।”

आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी गर्नुभएको छ । उहाँले चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले पार्टीलाई माग्न नपर्ने अवस्थामा पु¥याउने अठोट गरेका छौँ । अब भातका लागि कसैलाई गुहार्नुपर्ने स्थिति छैन ।”जुम्लामा सामुदायिक स्याउखेती गर्न जाने क्रममा यहाँ आइ पुग्नुभएका आफ्नो पार्टी सत्तामा नभएपनि उत्पादन गरेर आफूले खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ काम गरिरहेको बताउनुभयो ।पार्टीलाई तराई–मधेसमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडीबुटी रोपेर आत्मर्निभर भएर जनतामा जाने प्रतिबद्धता उहाँको थियो ।

ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौँ, ९ फागुन : अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा राष्ट्रिय कविता महोत्सव गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित महोत्सवमा ४८ भाषामा कविले आ–आफ्ना रचना वाचन गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवले लोपोन्मुख भाषाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मुलुकमा लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेकाले तीनको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

मातृभाषाले व्यक्त गर्ने भावना अन्य भाषाहरूले दुरूस्त अभिव्यक्त गर्न नसक्ने बताउँदै उहाँले ज्ञानको बहुआयामिक महत्त्व बचाउनका लागि भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले संसारभर सात हजार भाषा बोलिने र देशभर अहिले एक सय ३१ वटा भाषा प्रचलित रहेको उल्लेख गर्दै थप खोज अनुसन्धान हुँदै जाँदा भाषा बढ्दै जाने सम्भावना रहेको बताउनुभयो ।  

दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै छन् । लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरूरी छ ।” 

प्रत्येक भाषाको अर्थ, संवेदनशीलता, सन्देश, दर्शनले मानव सभ्यताको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने बताउँदै मन्त्री पाण्डेले भाषा, संस्कृतिको संरक्षणबाट पनि आयआर्जन गर्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका कूलपति भुपाल राईले बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैका भाषा संस्कृतिको संरक्षण गर्ने प्रतिष्ठानको नीति रहेको बताउनुभयो । सबै जाति समुदायका भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै तीनको संरक्षणमा जोड दिनुभयो ।   सो अवसरमा जनही एक लाख राशिको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गणेश वाम्बुले राई र कमलसिंह रानालाई प्रदान गरिएको थियो

स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति

काठमाडौँ, ९ फागुन : चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ । आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो ।

उक्त समहतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने र नियमित कार्यमा फर्किने सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । वार्ता पश्चात सहमति गर्दै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

वार्ताका क्रममा सरकारको प्रचलित नियमअनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोगलगायत निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।

सङ्घले राखेको स्नातकोत्तरको सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७औँ बैठकबाट निर्णय गरिसकेको छ । यसैगरी सङ्घले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउने विषयमा आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवाला समक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्वेक्षण पूरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उपसचिव (१ जना) र नेपाल चिकित्सक संघका प्रतिनिधि एक जना रहने गरी तीन सदस्यीय कार्यदलले एक हप्ताभित्र कार्यविधि तयार गरी पेस गर्ने निर्णय गरेको छ ।  सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि आज सहमति भएको हो ।

भद्रपुर झापा गोल्डकपः आयोजक ब्लेजर्स सेमिफाइनलमा

भद्रपुर (झापा), ९ फागुनः दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पु¥याए । पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।     ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।

माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

काठमाडौँ, ९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।

त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडाँैमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ । भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।

भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले आआफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि स्थानीय तहको निर्वाचनलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो । 

अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

काठमाडौँ, ९ फागुन : मन्त्रालय/निकायगत माइलस्टोनको अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो स्थान प्राप्त गरेको छ । विसं २०८१ पुस महिनासम्म सम्पन्न हुुनुपर्ने गरी लक्ष्य निर्धारण भएका ६५१ वटा माइलस्टोनको विश्लेषण गर्दा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल ट्रष्टको कार्यालयको शत्प्रतिशत माइलस्टोन सम्पन्न भएको देखिएको छभने राष्ट्रिय सतर्कता केन्द्रको सम्पन्न प्रतिशत भने शून्य रहेको छ ।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्यप्रगतिका आधारमा मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयहरूबीचको मूल्याङ्कनमा दोस्रो स्थानमा रहेको पाइएको छ । विवरणअनुसार पुस मसान्तसम्ममा स्वास्थ्य मन्त्रालयले कुल ५२ मध्ये सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको विवरणमा उल्लेख छ ।

यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य मन्त्रालयलाई ८१ दशमलव ८ अङ्क प्रदान गरेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीसँग तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

म्यानमारबाट उद्धार गरिएका पाँच नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौँ, ९ फागुन : अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी आज स्वेदश फर्काइएको छ ।बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याई चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री डा राणा जेनेभा प्रस्थान गर्नुहुँदै

काठमाडौँ, ९ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँ विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तरराष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्नुहुने जनाइएको छ ।

परराष्ट्र डा राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउनु हुनेछ ।

उहाँले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ । उहाँ यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । 

पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : अध्यक्ष दाहाल

कास्की, ९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताउनुभएको छ । पोखरामा आज तमु राष्ट्रिय मुुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गर्नुभयो ।

“उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ । समात्न छाडेका त थिएनौँ, दरिलो गरी समात्न सकेका थिएनौँ । अब सबैको एकताबद्ध प्रयासले पहिचान र अधिकारको मुद्दालाई अगाडि बढाउछौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी विसं २०८४ को आगामी निर्वाचनसम्म सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले एक्लै चुनाव लड्ने र जनतालाई बलियो बनाएर बहमुत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन् । हामी एक्लै जनतामा जान्छौँ, जनताको तागतमा विश्वास गर्छौँ । तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।”

अध्यक्ष दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि संशोधन हुनुपर्ने बताउनुभयो । “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।” 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताउनुभयो । उहाँले समाजवादमा मात्र वर्गीय र जातिय समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दाहालको नेतृत्वमा पार्टी अहिले एकताबद्ध रूपमा अघि बढाइने बताउनुभयो । “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धका कारणले मात्र नेपालमा उत्पीडित जाति र समुदायले हक अधिकार पाएको बताउनुभयो । कार्यक्रममा विसं २०७९ को स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिकामा विजयी भएका तमु जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । 

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को मुद्दा लिएर जनतामा जाँदै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार आगामी चैत ८ गतेसम्म हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।

कोशी प्रदेशको झापाबाट सुरू हुने अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ ।

अभियानका क्रममा संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्विको अधिकार थप बलियो बनाउन उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गरिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“अब संविधान संशोधन गरेर नेपाली विशेषतासहितको कार्यकारी राष्ट्रपति मोडेलमा जानुपर्छ”, उनले भने, “भ्रष्टाचारको मूल कारक निर्वाचन प्रणाली हो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद् र विज्ञमध्येबाट मन्त्रिपरिषद् गठन हुनुपर्छ ।”

सो क्रममा मिटरब्याजका साथै तराई–मधेसका किसानका समस्या समाधान, महँगी कालोबजारी, मूल्यवृद्धि नियन्त्रण, जनसरोकार, जनजीविका र स्थानीय विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारलाई दबाब दिइने माओवादीले जनाएको छ । करिब एकमहिना चल्ने सो अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता कार्यकर्ता सहभागी हुनेछन् । माओवादीले यसअघि गत भदौमा पनि तीनमहिने अभियान सञ्चालन गरेको थियो ।

फरक प्रसङ्गमा माओवादी प्रवक्ता सापकोटाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यले आ–आफ्नो सम्पत्ति विवरण पार्टी केन्द्रीय समितिमा बुझाउने निर्णय भएको जानकारी दिए । उनले विगतका गल्ती कमजोरी स्वीकार्दै, आत्मसमीक्षा गरेर रूपान्तरण र शुद्धीकरणतर्फ पार्टी अघि बढिरहेको स्पष्ट पारे ।

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर, ९ फागुनः सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।

चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) ९ फागुनः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो ।

उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो ।

गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

म्याग्दी, ९ फागुनः बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताउनुभयो ।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।

केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए

वीरगञ्ज (पर्सा), ९ फागुनः भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हँुदै स्वदेश आएका हुन् ।

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ, ९ फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ ।

बिहीबार समितिले बन्दा (लोकल) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मटरकोसा प्रतिकेजी रु ५०, घिउसिमी (लोकल) प्रतिकेजी रु ४०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, ब्रोकाउली प्रतिकेजी रु ३०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, र ताजा माछा (छडी) प्रतिकेजीको मूल्य रु २६० निर्धारण गरेको थियो ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५ र भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी मटरकोसा प्रतिकेजी रु ५५, घिउसिमी (लोकल) प्रतिकेजी रु ५५, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ५५, घिउसिमी (राजमा) प्रतिकेजी रु १००, टाटेसिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १४०, लौका प्रतिकेजी रु ५५, घिरौँला प्रतिकेजी रु १२०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भेण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १०० र च्याउ (डल्ले) प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रु १७०, अङ्गुर (कालो) प्रतिकेजी रु २७०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा हरियो प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु १२०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु ७०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ३७० र किबी प्रतिकेजी रु २५० निर्धारण गरिएको छ ।

यसैगरी अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेँडेखुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ६०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २९०, ताजा माछा (छडी) प्रतिकेजी रु २९०, राजा च्याउ प्रतिकेजी रु ३०० तोकेको छ ।