`

जेनजी प्रदर्शन : अवरुद्ध भएका सरकारी कार्यालयको सेवा सञ्चालन गर्न सहयोगी हात जुट्दै

Nepal One HD ३० भदौ २०८२ २२:०१
समाज

सुदूरपश्चिम, ३० भदौः जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भई सेवा अवरुद्ध भएका कैलालीका सरकारी कार्यालयको सेवा सञ्चालनमा ल्याउन सहयोगी हात जुट्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउन विभिन्न विद्यालय, व्यवसायी, सङ्घसंस्थाबाट कम्प्युटर, फर्निचर, टेबललगायतका सामग्री सहयोग स्वरुप प्राप्त भइरहेको जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा जिन्सी सामग्री र महत्त्वपूर्ण कागजात नष्ट भएपछि सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्न सकेका छैनन् । जिल्ला प्रशासनलाई एरिष्टो इङ्लिस स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले कम्प्युटर, प्रिन्टर, कुर्सीलगायतका सामग्री सहयोग गरेको छ ।

त्यसैगरी गोदावरी नगरपालिकाको कार्यालयलाई आज स्थानीय व्यवसायीले जिन्सी सामान सहयोग गरेका छन् । सहरी आवास तथा भवन कार्यालयमार्फत सरकारी भवनमा पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।

जिल्ला प्रशासनको अगुवाइमा आज धनगढीमा उद्योग वाणिज्य सङ्घ, बैंक एसोसिएसन, वस्तुगत सङ्घसंस्थाका प्रतिनिधि र मानवअधिकारकर्मीबीच छलफल भएको थियो । सो छलफलमा सहभागीले विभिन्न कार्यालयमा अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कैलाली भन्सार कार्यालयले तोडफोड र आगजनीका क्रममा चोरी भएका सरसामान फिर्ता गरिदिन आज सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्ला प्रशासनलगायतका कार्यालयबाट चोरी भएकामध्ये कतिपय सामान फिर्ता हुन थालेका छन् । भन्सार कार्यालयले आइतबारदेखि कार्यालय परिसरमै रहेको गाडी पार्किङ भवनबाट सेवा सुरु गरेको छ । घटनापछि युवा समूहले विभिन्न सरकारी कार्यालयको सफाइ गर्न थालेका छन् ।

प्रदर्शनका क्रममा कैलाली जिल्लाका सरकारी र निजी गरी १३७ कार्यालय तथा निजी घरमा आगजनी तथा तोडफोड भएको छ । ६६४ सवारीसाधन जलेर नष्ट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *