`

चक्रवात ‘अर्णव’को प्रभाव : बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

Nepal One HD १५ कार्तिक २०८३ १२:०९
समाचार

काठमाडाैं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले लगातार वर्षा भएपछि बेनी-जोमसोम-कोरला सडक अवरुद्ध भएको छ। शनिबार बिहानदेखि सडकका विभिन्न स्थानमा ढुङ्गा खस्दा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकमा यातायात ठप्प भएको हो।

वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि मुस्ताङ प्रशासनले जोमसोमदेखि म्याग्दीको बेनीसम्मको ७६ किलोमिटर सडकमा यात्रा नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार सडकमा तत्कालका लागि सिधा सवारी आवागमन रोकिएको छ। पानी पर्न रोकिएपछि अवरोध हटाएर यातायात सञ्चालन गरिने उनले बताए।

त्यस्तै, थासाङ गाउँपालिका-४ को घोप्टेभीर र म्याग्दीको काभ्रेभीर क्षेत्रमा वर्षा हुँदा सडकमाथिबाट ढुङ्गा खस्ने तथा पहिरो जाने जोखिम छ। यी क्षेत्रमा सामान्य वर्षामै सडक अवरुद्ध हुने गरेको छ।

बेनी-जोमसोम सडकखण्डमा यसअघि पनि बाढीपहिरोका कारण पटकपटक यातायात अवरुद्ध हुँदै आएको छ। गत असोज ९ देखि १२ गतेसम्मको वर्षाले कालीगण्डकी नदीको कटान र पहिरोका कारण सडकमा क्षति पुगेको थियो।

बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा दर्जनौँ साना-ठूला पहिरा छन्। म्याग्दी खण्डको करिब २५ किलोमिटर सडक बाढीपहिरोको जोखिममा रहेको छ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडक अवरुद्ध हुँदा मुस्ताङको आवागमन प्रभावित भएको छ।

यसैबीच, मुस्ताङ जिल्लाभित्र भने सवारीसाधन नियमित सञ्चालन भइरहेका छन्। प्रशासनले मौसम र सडकको अवस्था सामान्य नभएसम्म बेनी-जोमसोम खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *