`

मुख्यमन्त्री कँडेल र सुरक्षा निकायका प्रमुखबीच छलफल

Nepal One HD ३१ भदौ २०८२ २२:०६
राजनीति

कर्णाली, ३१ भदौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेनजी’ आन्दोलनपछि उत्पन्न अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।
मुख्यमन्त्री तथा परिषद्को कार्यालय, सुर्खेतमा आज भएको छलफलमा उहाँले आन्दोलनका नाममा भएको हिंसा एवं तोडफोडपछिको अवस्था र त्यसले पार्ने दूरगामी प्रभावबारे चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको हो । आन्दोलनमा भएको हिंसा, लुटपाट र चोरीका कारण नागरिक त्रसित रहेकाले सुरक्षा निकायसहित सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको छ । नागरिक अझै पनि भयवित अवस्थामा छन् । त्यसैले जनजीवन सामान्य हुने गरी सुरक्षा निकायले काम गर्नुस् । आन्दोलनको नाममा हिंसा भड्काउनेको अनुसन्धान र कारबाहीका काम हुन्छन् नै, तर नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि सबै लागौँ ।”

उहाँले तालुकदार निकाय सङ्घीय सरकार भए पनि प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्न र शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन सुरक्षा प्रमुखहरूलाई आग्रह गर्नुभयो । यसम आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान तथा कानुनबमोजिम कारबाही गर्न माथिको आदेश नपर्खन र पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उहाँले निर्देशन दिनुभयो ।

छलफलमा प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायसहित प्रदेशस्थित चारवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *