`

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ-नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना गरिएको छ । मंगलबारदेखि सुरु भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला आइटिबी बर्लिन–२०२५ मा पभेलियनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

नेपाल पर्यटन बोर्डले आइटिबी बर्लिनमा स्थापना गरेकोे नेपाल पभेलियनको उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्दै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गरिने बताउनुभयो ।

नेपालको पर्यटन प्रबर्द्धनका लागि आइटिबी बर्लिन–२०२५ एक बृहत् अन्तरराष्ट्रिय मञ्च भएको उल्लेख गर्दै उहाँले नेपालको दिगो पर्यटन प्रतिबद्धतालाई विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

 जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीको त्यहाँ सहभागिता रहेको छ । पर्यटन बोर्डले नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन आइटिबी बर्लिन–२०२५ मा २८ प्रतिष्ठित एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिङ र प्रिमियम आतिथ्य सेवाजस्ता पर्यटन व्यवसायीको सहभागिता गराएको जनाएको छ ।

बोर्डले नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यले देशका अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटकीय क्षेत्र, समृद्ध सांस्कृतिक धरोहरलगायत क्षेत्रलाई नेपाल पभेलियनमा प्रस्तुत गरिने जनाएको छ ।

आइटिबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रवर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सिइओ जोशीले बताउनुभयो । कार्यक्रमले नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । 

सन् १९९६ बाट सुरु भएको आइटिबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो । आइटी बर्लिन–२०२५ मा विश्वभरका एक सय८० देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहनेछ । नेपालले यस मेलामा निरन्तर सहभागिता जनाउँदै आएको छ । यस मञ्चलाई नेपालका हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनजस्ता विशिष्ट अनुभवलाई विश्वभर चिनाउनको लागि सदुपयोग गर्दै आएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

पानी जहाज कार्यालयका कर्मचारीको गुनासो- नयाँ ऐन नबन्दा काम गर्न समस्या भयो

काठमाडौँ- नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा दबाब महसुस गर्नुपरेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको यस कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका अधिकारीहरुले गुनासो गरेका हुन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ उपरको छलफलमा कार्यालयका कायममुकायम रजिष्ट्रार मणीराम भुषालले आन्तरिक जलमार्ग नियमन अनिर्वाय भइसकेको बताउनुभयो ।     “आन्तरिक पानीजहाज दर्ता र वैदेशिक रोजगारमा जाने श्रमिकलाई परिचयपत्र उपलब्ध गराउने काम असाध्यै छिटो गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले गुनासो गरिरहनुभएको छ, यदि यी दुई काम छिटै नगरे हामीलाई काम गर्न गाह्रो हुने अवस्था छ ।”

उहाँका अनुसार देशभित्र झण्डै एक सय ५० मोटरबोट सञ्चालनमा छन । सञ्चालन भएका अधिकांश मोटरबोट नेपालमै उत्पादन भएका हुन् । तर कानुनको अभावमा अहिलेसम्म पानीजहाज निर्माण, सेवा सञ्चालन, दर्ता र बिमालगायतका सञ्चालन र नियमनका लागि कार्यालय असमर्थक रहेको उहाँको भनाइ थियो ।  

यस्तै, हजारौँ सङ्ख्यामा नेपाली नागरिक समुन्द्रमा नाविक तथा कर्मचारीका रुपमा काम गर्ने वैदेशिक रोजगारमा जाने गरेको उहाँले बताउनुभयो । ऐन नबन्दा तर त्यसका लागि नाविक किताब (सिमेन बुक) उनीहरुलाई उपलब्ध गराउन सकिएको छैन । 

नेपाल पानी जहाज कार्यालयका पूर्वप्रमुख विपिन भण्डारीले नयाँ पानीजहाज ऐनको पृष्ठभूमिबारे समितिलाई जानकारी दिँदै कार्यालय स्थापनाका सुरुका दिनको अनुभव सुनाउनुभयो । 

“सुरुका दिनदेखि नै पानी जहाज कार्यालयको परिचय दिँदा जहाँ गए पनि हास्ने अवस्था थियो । अन्य मन्त्रालयका कर्मचारी र पत्रकारहरुले नै धेरै पटक व्यङ्गात्मक टिप्पणी गर्नुभयो”, उहाँले भन्नुभयो, “नेपालमा यसको सम्भावना बुझाउन असाध्य कठिन भयो, भइरहेको छ ।” 

 बैठकमा समिति सदस्य एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले पानीजहाज सञ्चालनबारे जिज्ञासा राख्नुभयो, “संविधान जारी भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट काटने भन्नुभएको थियो । काटिएको त्यो टिकटको भ्यालिडिट बाँकी छ कि छैन ?”  

संशोधनकर्ता सांसद डा बेदुराम भुषालले विधेयकले आन्तरिक जलमार्ग र पानी जहाजको सञ्चालन तथा व्यवस्थापनमा पर्याप्त र स्पष्ट व्यवस्था नगरेको टिप्पणी गर्नुभयो । 

बैठकमा कार्यालयका पदाधिकारीहरुले नयाँ ऐन बनेपछि आन्तरिक र बाह्यका लागि दुई वटा फरक–फरक नियमावली बनाउने तयारी रहेको जानकारी दिनुभयो ।  अन्तरराष्ट्रिय अभ्यास, जल यातायात र पारवहनसम्बन्धी महासन्धिहरुको अनुमोदनपश्चात मात्र समुन्द्रमा पानी जहाज सञ्चालन गर्न सकिने बताउनुभयो । यस्ता ५६ मध्ये आठ वटा अनुमोदन गर्नुपर्ने बताइएको छ । 

 राज्यको क्षमता बढदै गएपछि उच्च समुन्द्रको व्यवस्थापन हँुदै जाने तर आन्तरिक व्यवस्थापन अनिर्वाय भइसकेको वरिष्ठ डिभिजन इन्जिनियर कामु रजिष्ट्रार भुषालले जोड दिनुभयो । उहाँले नयाँ ऐन निर्माण भएलगतै काम थाल्ने कार्यालयले तयारीमा जुटिसकेको समितिलाई जानकारी दिनुभयो ।  उहाँले आन्तरिक जलमार्गमा सबैभन्दा धेरै अवरोध वनसम्बन्धितरहेको  बताउनुभयो । 

नेपाल पानी जहाज कार्यालय आन्तरिक जलमार्ग र समुन्द्रसम्म पहुँच हुने जल यातायातको विकास एवं नेपाली झण्डा भएको पानी जहाजको सञ्चालनमार्फत देशको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, अन्तरराष्ट्रिय तथा क्षेत्रीय व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धनलगायतबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यसहित स्थापना भएको हो । 

प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहले बुझायो मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्मा लैजाने प्रतिबद्धता जनाउनुभएको छ । प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लुजी)को ध्यानाकर्षण पत्र बुझ्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री पौडेलले यो संशोधन विधेयक संसद्मा लैजानका लागि आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभयो । विभिन्न अन्तरराष्ट्रिय महासन्धि समितिले दिएका निष्कर्ष र सुझाव, सर्वोच्च अदालतमा भएको आदेश तथा व्याख्याको पालना र सङ्घीय संसद्, प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको निर्देशनको कार्यान्वयनका लागि र ऐनमा भएको बाधा अड्चन फुकाउन ऐन संशोधन अनिवार्य भएको सो अवसरमा जानकारी दिइयो । 

यसका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि पहल गर्न मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । अछाममा १३ वर्षकी बालिकामाथि जबरजस्तीकरणीबाट २९ हप्ताको गर्भलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ मा भएको २८ हप्तासम्म गर्भ अवधिसम्बन्धी व्यवस्थाको कारण ती बालिकाले गर्भपतन गर्न नपाएको बारेमा उपस्थित प्रतिनिधिले जानकारी दिनुका साथै गर्भपतन सेवालाई निरअपराधीकरण गर्न विशेष पहलको अनुरोध गरेका थिए ।

नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

त्रिशूली (नुवाकोट), २१ फागुनः नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो ।

“विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल हुँदै माझीको ढुङ्गा खियाउने पेसा हरायो”, उहाँले भन्नुभयो गर्नुभयो, “माछा मारेर जीविका चलाउँदै आएको पेसा पनि अहिले लोभ भएको अवस्था छ ।” 

माझी समुदायको सबैभन्दा ठूलो पर्व लदी हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिएको छ । पर्व मनाउन बागमती प्रदेश नुवाकोटका विदुर नगरपालिकाले बजेट विनियोजन गरेसँगै जिल्लाभरका माझीहरु एकीकृत भएर सामूहिक रुपमा पर्व मनाएका हुन् । 

विगतका वर्षमा आ–आफ्नो घरबाट निस्केर खोला नदीको किनारमा पूजा गरेर फर्कने गरिएको संस्कृतिलाई सामूहिक रुपमा मनाउन बजेट उपलब्ध गराइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । 

नेपाल माझी महिला उत्थान सङ्घका केन्द्रीय अध्यक्ष तथा निवर्तमान बागमती प्रदेससभा सदस्य रीता माझीले खोला नदीको उत्खननले माझीको पेसा सङ्कटमा परेको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतबाट सङ्कलित राजस्वको केही हिस्सा माझी समुदायको हितमा खर्चनुपर्ने माग गर्नुभयो । प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा माझी समुदायलाई मात्र भनेकामा आपत्ति जनाउँदै पर्वको महत्व बुझाउन सबै जातजातिलाई नै सार्वजनिक बिदा दिनुपर्ने उहाँको भनाइ थियो । 

त्यसअवसरमा नदी किनारको आवास, फुर्लुङ, जाल, ढडिया, बल्छी, घौका, हुक्का, हतियार, भाडावर्तन, पोषाक, भेषभूषाको प्रदर्शनी गरिएको थियो । नुवाकोट माझी महिला उत्थान सङ्घका अध्यक्ष राधिका माझीले स्थानीयस्तरमा तीन तहको सरकारबाट सहयोग अपेक्षा गरिएको बताउनुभयो । नेपाल माझी सङ्घ नुवाकोटका अनुसार हाल नुवाकोटमा एक सय ११ घरपरिवारमा तीन सय आठ महिला र तीन सय २६ पुरुष छन् । उनीहरुको मुख्य बसोबास त्रिशूली र तादी नदी आसपासको क्षेत्रमा पर्दछ । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ फागुनः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४७ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, २१ फागुनः ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएको भनी पुनरावेदन गरेको हो ।

आयोगले २०७६ माघ २२ गते विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८० फागुन ३ गते केहीलाई सफाई र केहीलाई आशिंक सफाइ  दिएको थियो । आयोगले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार  डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पुनः प्रतिवादी बनाएको छ ।

आयोगले तथ्य पुष्टि गर्ने सबुत प्रमाणको न्यायोचित विश्लेषण नगरी फैसला गरिएको, कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानुनी लाभ हासिल गर्नेलाई प्रमाण बमोजिम कारवाही गर्नुपर्ने र प्रतिवादीविरुद्ध सबुत प्रमाणका आधारमा कसुर ठहर गरी दण्ड तथा जरिवाना समेत हुनुपर्नेमा त्यसो नभएको उल्लेख गरेको छ ।

आयोगले केही छिमेकी देशको समेत उदाहरण पेस गर्दै विशेषको फैसला त्रुटीपूर्ण र बदरभागी रहेको जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले ललिता निवासका सन्दर्भमा विशेष अदालतको फैसला विरुद्ध पुनरावेदन गरिएको जानकारी दिनुभयो ।

आयोगले एक सय ३६ रोपनी जग्गामा अनियमितता भएको निष्कर्ष पेस गरेको थियो । सो अनियमिततामा ६० जना सरकारी कर्मचारी, जग्गाधनी वा मोही भनिएका ३२ जना, कमिसनमा सरकारी जग्गा लिने १८ जना र जफत प्रयोजनका लागि ६५ जनालाई अभियुक्त दाबी गरेको थियो । केही कर्मचारी र अन्य केहीलाई मात्रै दोषी ठहर गर्दै विशेषले राजनीतिक व्यक्ति र पूर्व उच्च कर्मचारीलाई सफाइ दिएको थियो ।

आयोगले केही तथ्य र कानुनी प्रावधान एवम् छिमेकी देशका अदालतले गरेका फैसला समेत उल्लेख गर्दै पुनरावेदन गरेको हो । “प्रतिवादीका हकमा विशेष अदालतबाट फैसला गर्दा मन्त्रिपरिषद्को सामूहिक निर्णयका मूल निर्णयकर्ता रहेको, सोही सामूहिक निर्णयको अक्षुण्णताको संरक्षण यी प्रतिवादीलाई समेत जाने, यी प्रतिवादीको कुनै हदसम्म संलग्नता देखिए पनि बदनियत पुष्टि हुन नसकेको भन्ने आधार लिई सफाइ दिएको देखिन्छ”, आयोगले गरेको पुनरावेदनमा भनेको छ । 

यस्तै, आयोगले गरेको पुनरावेदनमा भनिएको छ “फौजदारी कसुरमा संलग्न कुनै पनि कसुरदारका हकमा कुनै पद वा हैसियत वा निजको प्रभाव वा औकातलाई मापन गरी फौजदारी दायित्वबाट उन्मुक्तिको वा सफाइको आधार कदापि बन्न सक्तैन व्यक्तिगत रुपमा फौजदारी कसुर गरेको अवस्थामा न त कुनै पनि व्यक्तिलाई नीतिगत निर्णयको घुम्टोमा बेरी सफाइ दिन सकियोस् ।”

विशेषको फैसलामा नीतिगत निर्णय गर्ने प्रतिवादीलाई नीतिगत निर्णय गर्ने सदस्यको हैसियत देखाई सफाइ दिएको देखिएको र सो सफाइ गलत भएको आयोगले उल्लेख गरेको छ । फैसलामा प्रतिवादीको जुन निर्णयमा संलग्नता थियो, त्यो निर्णय गर्दा निजको बदनियत देखिएन भनी सफाइ दिने दोस्रो आधार उल्लेख गरिएको छ । यो आधार नै कानुन सम्मत् नभएको आयोगको दाबी छ ।

मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णय र विभागीय मन्त्रीले गरेको व्यक्तिगत निर्णयलाई फरक दृष्टिकोणले हेरिनुपर्ने प्रस्तुत मुद्दाका कसुर तथ्यलाई त्यसरी नहेरी यी प्रतिवादी विरुद्धका कसुर पुष्टि हुने सबुद प्रमाणलाई गोलमटोल तवरले नीतिगत निर्णय भनी व्याख्या विश्लेषण गरिएकामा आयोगले आपत्ति जनाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, २१ फागुनःहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

कर्णाली प्रदेश अस्पतालमा छ जनाको मिर्गौला प्रत्यारोपण

कर्णाली, २० फागुनः कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा केशर ढकालले सम्झौता भएदेयही फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताउनुभयो । “प्रत्यारोपण केन्द्रले यसको नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ । मुटुरोग निदान तथा उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको हुँदा नियमित सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट खटाइएको छ । अब यहाँ रहेका जनशक्तिको दक्षता अभिवृद्धिका लागि केन्द्रमा तालिम गर्न पठाउने योजना बनाइरहेका छौँै”, उहाँले भन्नुभयो ।

निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अङ्कोलोजी, जलन (पोलिएको) रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनाका साथै अब चाँडै न्यूरोलोजी सेवा पनि सञ्चालन हुनेछ ।

नेपालले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं । घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।

कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र

म्याग्दी, २० फागुन : भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म कालोपत्र भएको हो । योजनाका सव–इञ्जीनीयर सोहनजङ कार्कीले मालढुङ्गा–फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको जानकारी दिनुभयो । “१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उहाँले भन्नुभयो “केराबारी–मिलनचोक खण्डमा थप दुई किलोमिटर सडक दुई हप्तापछि कालोपत्र गर्ने लक्ष्यसहित संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।”

मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यस खण्डको हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर क्षेत्रमा विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।

पर्वतबेनी, मिलनचोक र लस्ति बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घर, टहरा भत्काउन ढिलाइ हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन् । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाले दबाब दिँदै आएका छन् ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

कांग्रेसका दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

भैरहवा (रूपन्देही), २० फागुन : नेपाली कांग्रसले देशभरिरहेका प्रतिनिधिसभाअन्तर्गतका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरेको छ ।

केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गरेको प्रशिक्षणमा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना क्षेत्रीय सभापति सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमितिको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचननबारे सहजीकरण गर्नुभएको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्गठन र समुन्नतिका लागि समय, संयम्, सम्प्रेषण र सहकार्य तथा डा जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद ः नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

दुई दिने प्रशिक्षण कार्यक्रमले भने क्षेत्रीय प्रतिनिधिमा नयाँ ऊर्जाको सञ्चार गरेको सहभागीहरूले प्रतिक्रिया दिनुभएको छ । उदयपुरका केशबहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफूहरूलाई नेता बनाएको प्रतिक्रिया दिनुभयो । “देशको नेता बन्न पहिला आफूबाट सुध्रिनुपर्छ, आफू जुन पार्टीमा उभिएको छ सबैभन्दा पहिला त्यसको नीति र विधि मानेर आफू अनुशासित भएर हिँडियो भने मात्र अनुकरणीय हुन्छ ।” मगरले भन्नुभयो “कार्यक्रमले हाम्रो इच्छाशक्ति बढाएको छ, यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका नीति र विधानअनुसार आफू संयमित भएर फेरि उठ्न सक्छौँ भन्ने विश्वास जागेको छ ।”

यस्तै नुवाकोट क्षेत्र नं १ का रामजी पौडेलले दुई दिने कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभयो । “पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक कामदेखि लिएर नयाँ आएको परिस्थिति, प्रविधिको प्रयोगदेखि लिएर राष्ट्रिय राजनीतिक मुद्दालाई जनस्तरमा कसरी लैजान सक्छौँ भन्ने सिकाइ भएको छ ।” उहाँले भन्नुभयो “पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यस्थित रूपमा परिचालित गर्न सक्छौँ भन्ने कुराहरू गहन रूपमा छलफल भएको छ ।”

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्त्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तसम्बन्धका विषयकोबारे प्रस्तुति रहेको थियो ।

समसामायिक विषय वस्तुसँग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुतिकरणसहित छलफल गरिएको र यसलाई सातवटा समूह विभाजन गरेर सहभागीहरूले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतबारे गहन सुझाव प्रदान गरेका छन् । सहभागीहरूले सरकार सञ्चालनमा विषयमा पनि कुरा उठाउनु भएको थियो । जसलाई कांग्रेसका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिनुभएको थियो ।

सहभागीहरूले उठाएको सवालमा जवाफ दिनुहुँदै परराष्ट्रमन्त्री आरजु राण देउवाले पार्टीलाई ‘आउट अफ फैशन’ नसोच्न आग्रह गर्नुभयो । उहाँले रामायण र महाभारतको उदाहरण दिँदै यी कथा पुरानो नभए जस्तै नेपाली कांग्रेसले लिएको सोच पनि पुरानो नभएको उहाँले स्पष्ट पार्नुभयो । “हामी भनेको हामी नै हौँ, हामीले नेतृत्व गर्छौँ र अगाडि बढाउँछौँ, हाम्रो पार्टीभित्रको कुरा हामीले नै सुधार गर्नुपर्छ”, राणाले भन्नुभयो ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगोस शान्तिको स्थापना, विकासको गति अगाडि बढाउँदै सुशासन कायम गर्ने र आर्थिक समृद्धिका साथ अगाडि बढाउने उद्देश्यका साथ एमाले र कांग्रेसलगायत अन्य दलको गठबन्धन बनेको उहाँले बताउनुभयो ।

“यो एक विशिष्ट अवस्था भएकाले यो सरकारलाई नेपाली कांग्रेसका तर्फबाट समस्या उत्पन्न भयो र हामी ठीक ठाउँमा पुग्न सकेनौँ भने यसको दोष नेपाली कांग्रेसले लिनुपर्छ”, लेखकले भन्नुभयो “मुलुकमा अस्थिरता हुने दोष नेपाली कांग्रेसले बोक्नुपर्ने हुनाले ईमान्दारीपूर्वक गठबन्धनलाई साथ लिन जरूरी छ ।” उहाँले व्यावसायिक वातावरण निर्वाह गर्न र दैनिक नागरिकका सेवालाई सरल ढङ्गले सुचारू गर्नको लागि केही अध्यादेश ल्याएको सहभागीलाई जानकारी गराउनुभयो ।

“मेरो प्राथमिकता भनेको अहिलेलाई सबैभन्दा पहिला कानुनी जटिलताको सुधार, मुलुकको आन्तरिक सुरक्षा र शान्तिको स्थितिलाई सुनिश्चित गर्नु हो”, गृहमन्त्रीले भन्नुभयो, “त्यस अर्थमा यता केही महिनामा नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, नागरिकतासम्बन्धी विधेयक पेस भएको छ । यी विधेयकलाई तत्काल संसद्मा लैजाने हाम्रो प्रयास छ ।”

नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्नुभएको उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस मात्रको सरकार नभएको कारण सबै हुनैपर्छ भन्ने मासिकता नराख्न सहभागीलाई आग्रह गर्नुभयो । “कहीँ कांग्रेसले मान्नुपर्छ कहीँ एमालले मान्नुपर्छ, मिलाएर लैजानुपर्छ,” सिंहले भन्नुभयो, “फोनमा काम भनेर हँुदैन भन्ने कुरामा म स्पष्ट छु, केही विकास निर्माणको काम भए सिधा मलाई या मेरो सचिवालयमा भेटेर राख्न सकिन्छ ।”

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको थियो ।

दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनमा मछिन्द्र क्लब

वीरगञ्ज (पर्सा), २० फागुन : मछिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ५५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै खेलमा अग्रता गराएका थिए । रेजिनले कर्नरबाट आएको बललाई सही सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । खेलको ७६औँ मिनेटमा चर्च ब्बाइज युनाइटेडका कप्तान डिका सर्जले हेडमार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

खेलको ९५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्र क्लबलाई विजयी बनाएका हुन् । उनै सुब्बा आजको खेलमा ‘म्याद अफ दि म्याच’ समेत घोषित भए । मछिन्द्रले अब सेमिफाइनमा सहलेश फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।

यही फागुन १७ गतेदेखि सुरू भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रू पाँच लाख ५५ हजार पाँच सय ५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी, २० फागुन : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि चार रनको जित निकालेर कैलाली फाइनलमा पुग्यो ।

जितका लागि पाएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा ३८ दशमलव ५ ओभरमा १४१ रनमा अलआउट भयो । जसमा राहुल भण्डारीले अविजित ४४, कप्तान अर्जुन विकले ३६, निरज ऐरले २३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो । बलिङतर्फ कैलालीका कप्तान नारायण जोशी र दीपक रोकायाले ३/३ र शेर मल्लले दुई विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको कैलाली ३३ दशमलव २ ओभरमा १४५ रनमै समेटियो । उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१, निश्चल क्षेत्री ३५, सन्दीप साउदले २४ रन हिर्काए । डडेल्धुराका लागि राहुल भण्डारीले ६, कप्तान अर्जुन विक र निरज ऐरले २/२ विकेट झारे ।

कैलालीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टोलीसँग खेल्नेछ । उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो ।

कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न

काठमाडौँ, २० फागुनः कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय यही फागुन २५ सुर्खेतमा स्थापना गर्ने, दशौँ राष्ट्रिय खेलकुदको सहआयोजकका रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकाले सोका लागि अनुरोध गर्ने, दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नित कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दशौँ राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धी (पूर्वतयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायत विषयमा जानकारी गराउनुभएको थियो ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न प्रदेश सरकारले सरोकार भएकाहरूसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, विभिन्न राष्ट्रिय खेल सङ्घ पदाधिकारी, होटल एसोसिएसन नेपाल, उद्योग वाणिज्य महासङ्घ, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यही फागुन १५ गते बसेको राखेपको १२१ औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ, २० फागुनः जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म यहाँ बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

जसपाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,  र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेशमा सर्मथन गर्ने भए पनि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ को भने विरोध गर्दै आएको छ । 

यसैगरी जसपा नेपालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि समर्थन गरेको छ । 

पार्टी प्रवक्ता मनिष सुमनले बैठकले भ्रष्टाचार अन्त्य, सुशासन, विकास र संविधान संशोधनका लागि वर्तमान सरकारले काम गर्न नसकेको निष्कर्ष निकाले पनि समर्थन भने कायमै राख्ने निर्णय गरेको बताउनुभयो । बैठकले पाथिभरामा बन्न लागको केबलकारविरुद्धको ‘नो केबलकार अभियान’ प्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्याको समधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।  

मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता

जनकपुरधाम, २० फागुन : मधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

मैथिली विकास कोष परिषद् जनकपुरधामको नवनिर्मित भवनमा आजदेखि सुरू भएको मधेश–प्रदेश प्रादेशिक लालितकला प्रदर्शनी कार्यक्रममा उहाँले नेपालीपछि मैथिली भाषा नेपालको सबैभन्दा बढी बोलिने भाषा भएकाले त्यसको संरक्षण तथा विकासलाई मधेश–प्रदेश सरकारले प्रथम प्राथमिकतामा राखेको र विकासका लागि गृहकार्य गरिरहेको बताउनुभयो ।

मुलुकमा भौतिक विकासका साथै सभ्यता, संस्कृति तथा कलाको विकास नभए देशको विकास नहुने उल्लेख गर्दै उहाँले मैथली विकास कोषलाई मिथिलाको संस्कृति तथा संस्कारलाई दिगो बनाउन तथा जर्गेना गर्नका लागि के–कस्ता योजना बनाउने हो, त्यसको खाकासहित मधेश प्रदेश सरकार समक्ष पेस गर्न अनुरोध गर्नुभयो ।

सोही समारोहमा पूर्वमन्त्री तथा मधेश–प्रदेश सासंद रामसरोज यादवले मैथली विकास कोष परिषद्ले मैथली भाषा तथा संस्कृतिको विकासका लागि सरकारसँग हातोमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले मैथली विकास कोषको पूर्वाधार निर्माणमा रू दुई करोडको थप कोष खडा गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जुन समाजमा कला, संस्कृति तथा सभ्यताको संरक्षण हुँदैन त्यो समाज जीवित नहुने उल्लेख गर्दै मिथिला संस्कृतिको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले लोप भएको युरोपको सभ्यता तथा संस्कृतिको उदाहरण दिँदै मिथिला कला, संस्कार तथा संस्कृतिको विकासका लागि ठोस योजना आवश्यक रहेकाले त्यसका लागि मिथिला सङ्ग्राहलय बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा राससका अध्यक्ष झालाई दोसल्ला ओढार सम्मानित गरिएको थियो । कार्यक्रममा कोषका अध्यक्ष जिवनाथ चौधरीको सभापतित्वमा भएको थियो । प्रदर्शनी पाँच दिन चल्ने छ ।

इयु प्रमुखद्वारा युरोपलाई ‘पुनः सशस्त्र’ बनाउन आठ खर्ब अर्ब युरोको योजना सार्वजनिक

युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो परिचालन गर्ने र वासिङ्टनले सहायता निलम्बन गरेपछि युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको शान्ति सम्झौताका लागि वासिङ्टनको दबाबलाई तीव्र पार्दै र किएभको युद्ध प्रयासलाई समर्थन गर्न आफ्ना युरोपेली सहयोगी र साझेदारहरूबाट टाढा रहेको पुष्टि गर्दै सहायता रोक्ने घोषणा गरेको केही घण्टापछि यो कदम चालिएको हो ।

“हामी एक नयाँ युगमा प्रवेश गरिरहेका छौँ”, युरोपेली आयोग प्रमुखले युक्रेनलाई समर्थन र युरोपको रक्षा बढाउने लक्ष्यका साथ हुने शिखर सम्मेलनको दुई दिनअघि युरोपेली नेताहरूलाई पत्रमा लेख्नुभयो ।

“‘युरोपलाई पुनः सशस्त्र गर्ने’ योजनाले एक सुरक्षित र लचिलो युरोपका लागि करिब आठ खर्ब युरोको रक्षा खर्च जुटाउन सक्छ”, भन्दै भन डेर लेयेनले पत्रकारहरूलाई योजनाको रूपरेखा प्रस्तुत गर्नुभयो । उक्त योजनाको रूपरेखामा एक खर्ब ५० अर्ब युरोको ऋण सुविधा र ठूलो मात्रामा रक्षा लगानी गर्न मुक्त गर्ने कदमहरू समावेश छन् ।

सदस्य राज्यहरूको स्वीकृति आवश्यक पर्ने प्रस्तावहरू अन्तर्गत कोष कति चाँडो उपलब्ध हुन सक्छ र यसले किएभलाई मोर्चामा कति चाँडो समर्थन दिन सक्छ भन्ने तुरुन्तै स्पष्ट थिएन ।

“यसले केही खरिदहरूलाई वित्त पोषण वा तीव्र बनाउन सक्छ”, युरोपेली विदेश सम्बन्ध परिषद्का कामिल ग्राण्डले भन्नुभयो, “परिणामहरू ‘तत्काल’ भन्दा पनि सम्भवतः हप्ता वा महिनाहरूमा देखा पर्नेछन्, तर यसले अन्तर पार्छ, किनकि त्यही बेला अमेरिकी प्रतिबन्धहरू लागू हुन थाल्नेछन्”, उहाँले भन्नुभयो ।

– पाँच बुँदे योजना –

योजनामा पाँच बुँदा समावेश छन् :

– यसले इयुलाई कडा बजेट नियमहरू सजिलो बनाउन प्रस्ताव गर्छ । यसबाट राज्यहरूलाई कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन प्रतिशतभन्दा कम सार्वजनिक घाटा कायम राख्न बाध्य पार्ने हुनाले उनीहरूलाई रक्षामा खर्च बढाउन अनुमति दिन्छ ।

भोन डेर लेयेनले यो उपायले चार वर्षमा छ खर्ब ५० अर्ब युरो मुक्त गर्न सकिने सुझाव दिनुभयो ।

– दोस्रो योजनाले सदस्य राज्यहरूलाई रक्षा लगानीका लागि एक खर्ब ५० अर्ब युरोको ऋण उपलब्ध गराउन नयाँ ‘साधन’ को आह्वान गरेको छ ।

“हामी प्यान–युरोपेली क्षमता क्षेत्रहरूका बारेमा कुरा गर्दैछौँ – उदाहरणका लागि, हवाई र मिसाइल रक्षा, तोपखाना प्रणालीहरू, मिसाइल र गोला–बारूद ड्रोन र एन्टी–ड्रोन प्रणालीहरू”, भोन डेर लेयेनले भन्नुभयो, “यस उपकरणका साथ, सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउन सक्छन् । त्यसैले युक्रेनका लागि तत्काल सैन्य उपकरणहरू ।”

– तेस्रो घटकले मौजुदा इयुको बजेट ‘रक्षा–सम्बन्धी लगानीतर्फ अझ बढी कोष निर्देशित गर्न’ संलग्न गर्नेछ ।

त्यसमा सदस्य राज्यहरूलाई कमजोर युरोपेली मुलुकहरूको विकासका लागि लक्षित ‘सामञ्जस्य’ कोषलाई रक्षाका लागि पुनः प्रयोग गर्न अनुमति दिने कुरा समावेश हुनेछ ।

– कार्यका अन्तिम दुई क्षेत्रले इयुको ऋण शाखा युरोपेली लगानी बैंकसँग सम्बन्धित हुनेछ । इयुका राज्यहरू रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा हटाउन र कम्पनीहरूलाई पूँजी पहुँच गर्न सहायता गर्न बचत र लगानी सङ्घ बनाउन चाहन्छन् ।

मङ्गलबार युरोपेली सङ्घका नेताहरूलाई पठाएको छुट्टै पत्रमा युरोपेली बैंककी अध्यक्ष नादिया क्याल्भिनोले इयुको ‘नयाँ नीतिगत प्राथमिकताहरू’ सँग मेलमिलाप गर्न योग्य लगानीको दायरा ‘थप फराकिलो’ बनाउन आह्वान गर्ने बताउनुभयो ।

एक युरोपेली अधिकारीका अनुसार यसले हाल दोहोरो प्रयोग नागरिक र सैन्य वस्तुहरूको सट्टा शुद्ध रक्षा परियोजनाहरूलाई योग्य बनाउनेछ र सुरक्षा र रक्षा लगानीमा आठ अर्ब युरोको सीमा हटाउनेछ ।

यसले बैंकलाई हेलिकप्टर जस्ता वास्तविक नागरिक प्रयोगविहीन ठूला स्तरका रणनीतिक परियोजनाहरू र वस्तुहरूलाई समर्थन गर्न अनुमति दिनेछ ।

– स्पष्ट र वर्तमान खतरा –

ब्रसेल्समा बिहीबारको शिखर सम्मेलनमा युरोपले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई र व्यापक रूपमा आफ्ना युरोपेली सहयोगीहरूलाई दीर्घकालीन समर्थन फिर्ता लिने स्पष्ट सम्भावनाको विचार गर्दैछ । शिखर सम्मेलनमा सप्ताहन्त सङ्कट वार्तामा बेलायत र नाटो पनि संलग्न थिए ।

ब्रसेल्सले सदस्य राज्यहरूलाई तत्काल एक नयाँ महत्त्वपूर्ण हतियारको प्याकेज सुपुर्द गर्न सहमत हुन दबाव दिँदैछ तर बिहीबार सम्झौता हुने स्पष्ट थिएन ।

तथापि युरोपेली नेताहरूबीच रुसविरुद्ध आफ्नो रक्षा मजबुत गर्न सैन्य खर्च उल्लेखनीय रूपमा बढाउने आवश्यकतामा व्यापक सहमति देखा परेको छ । यो ट्रम्प प्रशासनको नाटो सहयोगीहरूप्रतिको एक प्रमुख माग हो ।

“युरोपले एक स्पष्ट र वर्तमान खतरा सामना गर्दैछ जो हाम्रो वयस्क जीवनमा कहिल्यै देखिएको थिएन”, भोन डेर लेयेनले रक्षा विकल्पहरूको व्याख्या गर्दै लेख्नुभयो, “हामी सबैभन्दा महत्त्वपूर्ण र खतरनाक समयमा बाँच्दै छौँ, यो युरोपको लागि एक क्षण हो र हामी उठ्न तयार छौँ ।”

कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ, २० फागुनः वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुईहप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ ।

भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गर्नुभयो । उहाँले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाउनुभयो । “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भन्नुभयो ।

उहाँहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाति तथा दम रोग विशेषज्ञ डा नवीनकुमार मिश्राले पनि फ्लू लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लू देखापरिरहेको बताउनुभयो । सामान्यतयाः नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लू बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उहाँले सुनाउनुभयो ।

डा मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तन भएसँगै फ्लूका बिरामी देखिन थालेका छन् । धेरैमा कडा लक्षण देखिएको छ । विशेषगरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ्य महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् । फ्लूमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी पनि रहनसक्छ ।

यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण)सँगै अन्य सङ्क्रमणको खतरासमेत हुने सम्भावना सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उहाँले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताउनुभयो । पुनले भन्नुभयो,“फ्लूले धेरै लामो समयसम्म दुःख दिने गर्छ । सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लू हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।”

उहाँले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लूमा पनि देखिएको भन्दै कोभिडका ‘सव–भेरियन्ट’ पनि हुनसक्ने आँकलन गर्न सकिने बताउनुभयो । सङ्क्रामक रोग विशेषज्ञ डा पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको बताउनुभयो ।

“हाल हङकङ फ्लू देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपाउन आवश्यक छ”, उहाँ भन्नुहुन्छ,“मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्दछ । फ्लूविरुद्ध खोप लगाउनु राम्रो हुन्छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) काअनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् । डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्याङ्कले देखाउँछन् ।

खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ । चिकित्सकहरूका अनुसार इन्फ्लुएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट सङ्क्रमित भएको दुई दिनपछि सुरु हुन्छ । उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र मृत्युसमेत हुनसक्छ ।

काठमाडौँ मेडिकल कलेज श्वासप्रश्वास रोग विभागीय प्रमुखसमेत रहेका डा मिश्राले दम भएका बिरामी, पाँच वर्षमुनिका बालबच्चा र ६० वर्ष माथिका व्यक्ति, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा फ्लूको जोखिम रहने बताउनुभयो । उहाँ भन्नुहुन्छ,“लक्षण बिग्रिँदै गइरहेको छ, अक्सिजनमा कमी आएको छ भने तत्काल चिकित्सकलाई भेट्नुपर्छ । लक्षण सामान्य देखिएका छन् भने आराम गरेर निको हुन्छ । आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त खाने गर्नुपर्छ । धेरैजसो आफैँ हराएर जान्छ ।”

जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा सङ्क्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन्: अध्यक्ष दाहाल

भजनी, २० फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उहाँले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताउनुभयो । “यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष दाहालले भन्नुभयो । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उहाँको जिकिर थियो ।

विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकार्नुभयोे । “जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो । अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ”, उहाँको भनाइ थियो ।

अब विसं २०८४ को निर्वाचन अगाडि पार्टी सरकारमा सहभागी नहुने भन्दै अध्यक्ष दाहालले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर हाल २०६४ सालमा मतदान गर्ने जनताको घरदैलोमा पुग्ने काम भइरहेको बताउनुभयो । जनताको भावना बुझ्नकै लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले परिवर्तित व्यवस्थालाई समाजवादी लोकतान्त्रिक गणतन्त्रसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले केही शक्तिले उत्पीडित जनतालाई उकास्दै प्राप्त उपलब्धि समाप्त पार्ने प्रयत्न गरिरहेको भन्दै त्यसको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । “थारु जाती नेपालको पुरानोमध्ये एक हो । हाल कतिपयले त्यही समुदायलाई उकास्ने र थचार्ने प्रयत्न गरिरहेका छन् । त्यसमा अलमल पर्नुहुँदैन । जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसको संरक्षण गर्ने दायित्व हामी सबैको काँधमा छ”, उपमहासचिव पुनले भन्नुभयो ।

उपमहासचिव गिरिराजमणि पोखरेलले वर्तमान व्यवस्थालाई चौतर्फी आक्रमण हुँदै आएको भन्दै जनताको माझबाट त्यसको प्रतिकार हुनुपर्ने बताउनुभयो । उहाँले देशका हरेक परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण रहेकाले यो समुदायको सम्मानका लागि पनि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताउनुभयो ।

सम्मेलनमा विभिन्न २४ जिल्लाका करिब सात सय पचास प्रतिनिधिको सहभागिता रहेको छ । यही फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

भोलिको संसद् बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ ।

त्यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको छ ।

सरकारले छ वटा अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच वटा अध्यादेश संसद्मा लैजाने भएको हो । यसअघि गत माघ २४ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा चढाएर पनि स्थगित गरिएको थियो ।

त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (बुधबार) बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको छ ।

श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २० फागुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राख्नुभएको थियो । यसै गरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको  थियो । 

भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो । 

शान्ति सम्झौता भएन भने युक्रेनी नेता सङ्कटमा : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ ।ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिनुभयो ।

“यो सम्झौता पूरा गर्न त्यति गाह्रो हुनु हुँदैन । यो धेरै चाँडै गर्न सकिन्छ,” ट्रम्पले युद्धविरामको सन्दर्भमा पत्रकारहरूलाई बताउनुभयो ।

सोमबार ह्वाइट हाउसमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) का प्रमुख कार्यकारी सीसी वेईसँगको कार्यक्रममा ट्रम्पले युद्ध लामो समयसम्म चल्न सक्ने भन्दै जेलेन्स्कीको आलोचना गर्नुभयो ।

वार्ता पुनः सुरु गर्न जेलेन्स्कीबाट के हेर्न आवश्यक छ भनेर सोध्दा ट्रम्पले भन्नुभयो,“ठीक छ, मलाई लाग्छ हामीले युक्रेनलाई युरोप भन्दा धेरै दिएका छौं र युरोपले हामी भन्दा धेरै दिनुपथ्र्यो । किनकि तपाईलाई थाहा छ, त्यो त्यहाँ अवस्थित छ । त्यो युरोपको सीमाना हो । यो युरोपको लागि धेरै महत्त्वपूर्ण थियो ।”

“ठीक छ, हामीले ३५० बिलियन अमेरिकी डलर दियौं । तिनीहरूले १०० डलर दिए । तिनीहरूले यो ऋणको रूपमा सहयोग गरिरहेका छन् । यो एक सुरक्षित ऋण हो ।”

ट्रम्पले गत हप्ता युक्रेन रुसविरुद्धको लडाइमा २७०० युवाहरू मारिएका बताउनुभयो । उहाँले भन्नुभयो,“म ती सबै युवाहरूलाई मारिनबाट रोक्न चाहन्छु । लडाइमा हरेक हप्ता हजारौं मारिरहेका छन् । तिनीहरूले हप्तामा हजारौं सिपाहीहरू गुमाइरहेका छन् । म यसलाई रोकिएको हेर्न चाहन्छु ।”

यसअघि फेब्रुअरीमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको लागि शान्ति र उत्तर एट्लान्टिक सन्धि गठबन्धन (नाटो) को सदस्यताको बदलामा राष्ट्रपति पदबाट राजीनामा दिन आफ्नो इच्छा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले आफ्नो आजको ध्यान युक्रेनको सुरक्षामा रहेको बताउनुभयो । माइलोभानोभले एक्समा साझा गरेको पोस्ट अनुसार, जेलेन्स्कीलाई सोधिएको थियो कि उनी शान्तिका लागि पद त्याग्न तयार छन् कि छैनन् । जवाफमा जेलेन्स्कीले भन्नुभयो,“म शान्तिका लागि पद छाड्न तयार छु । यदि शान्ति भएन भने युक्रेनको लागि नाटोको बदलामा म पद छाड्न पाउँदा खुसी हुनेछु । म आज युक्रेनको सुरक्षामा केन्द्रित छु र दशकौंसम्म सत्तामा रहने छैन ।”

जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सहायता रोक्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गर्नुभएको छ । उहाँले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिनुभएको छ र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गर्नुभएको छ ।

यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहनुभएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताउनुभएको छ ।

अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।

यसअघि सोमबार पत्रकारहरूले सोधपुछ गर्दा ट्रम्पले रोक लगाउन अस्वीकार गर्नुभएको थियो तर ह्वाइट हाउसका एक अधिकारीले नाम नछाप्ने सर्तमा सहायता रोकिने बताए ।

“राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । हामीलाई हाम्रा साझेदारहरू पनि त्यो लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ”, ह्वाइट हाउसका अधिकारीले सोमबार बेलुका भने, “यसले समाधानमा योगदान गरिरहेको छ भनेर सुनिश्चित गर्न हामी हाम्रो सहायता रोकिरहेका छौँ र समीक्षा गर्दैछौँ ।”

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो जुटाउने र युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गर्नुभयो ।

“यो युरोपका लागि एक महत्त्वपूर्ण समय हो र हामी तयार छौँ”, लेयेनले ब्रसेल्समा मङ्गलबार बिहान घोषणा गर्दै भन्नुभयो ।

निलम्बनपछि बेलायतले पनि युक्रेनलाई आफ्नो समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘लेजर–केन्द्रित’ भएको उहाँका सहायक एन्जेला रेनरले बताउनुभयो ।

– विनाशकारी –

वासिङ्टनमा कांग्रेसका डेमोक्रेटहरूले तुरुन्तै यो निलम्बनलाई खतरनाक र गैरकानूनी भएको आरोप लगाए ।

“मेरा रिपब्लिकन सहकर्मीहरूले पुटिनलाई युद्ध अपराधी भनेका छन् र युक्रेनलाई निरन्तर समर्थन गर्ने वचन दिएका छन्, उनीहरूले राष्ट्रपति ट्रम्पलाई यो विनाशकारी र गैरकानूनी रोकावटलाई तुरुन्त हटाउन माग गर्नुपर्छ”, सदनको विदेश मामिला समितिका शीर्ष डेमोक्रेट ग्रेगरी मिक्सले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता स्थगित गर्ने निर्णय गरेपछि मङ्गलबार युक्रेनीहरूले आश्चर्य व्यक्त गर्दै यो कदम क्रेमलिनको हातमा गएको बताएका छन् ।

वासिङ्टनले किएभलाई सैन्य सहायता रोकेको बेला उत्तर कोरिया र इरानले रुसलाई सैन्य सहायता नरोकेको युक्रेनी मिडिया टिप्पणीकार डेनिस काजान्स्कीले बताउनुभयो ।

ट्रम्पले जेलेन्स्कीको अवज्ञालाई अब ‘धेरै सहन’ नसक्ने चेतावनी दिनुभएको छ र युक्रेनी नेताले अमेरिकी समर्थनका लागि ‘बढी आभारी’ हुनुपर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मस्कोसँग युद्धविराम सम्झौताबिना जेलेन्स्की ‘धेरै लामो समयसम्म रहनु हुनेछैन’ भन्नुभयो ।

न्युयोर्क टाइम्सका अनुसार यो रोक तुरुन्तै लागू भएको छ र युक्रेनलाई पठाइने सयौँ करोड डलरका हतियारहरूलाई असर गरेको छ ।

जेलेन्स्कीले आफ्नो तर्फबाट सोमबार युद्ध ‘एकदमै चाँडो’ अन्त्य गर्न खोजिरहेको बताउनुभयो ।

जेलेन्स्कीले सन् २०१४ मा युक्रेनमा आक्रमण गरी सन् २०२२ मा द्वन्द्व विस्तार गरेको रुसलाई शान्तिका लागि गम्भीर नभएको आरोप लगाउनुभएपछि उक्त टिप्पणी आएको हो । उहाँले कडा सुरक्षा ग्यारेन्टी युद्ध अन्त्य गर्ने एक मात्र उपाय हो भनी जोड दिनुभयो ।

तर ट्रम्पको स्थितिले अमेरिकाको युक्रेन समर्थनलाई उल्टो पारेको छ र वासिङ्टनका सहयोगीहरू व्यापक रूपमा चिन्तित छन् । साथै उनीहरू रुसतर्फ अमेरिका घुमिरहेको सम्भावनाप्रति सतर्क छन् ।

लन्डनमा सप्ताहन्तको सङ्कट वार्तापछि बेलायत र फ्रान्सले ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युक्रेन–रुस युद्धविराम कसरी प्रस्ताव गर्ने भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

“छलफलहरू अझै पनि ‘पहिलो चरण’ मा केन्द्रित छन्”, जेलेन्स्कीले भन्नुभयो, “युद्ध समाप्त गर्ने सम्झौता धेरै, धेरै टाढा छ ।” उहाँको यस्तो टिप्पणीले ट्रम्पलाई क्रुद्ध बनाएको थियो ।

जमिनमा युक्रेनी अधिकारीहरूले मोर्चाबाट करिब १३० किलोमिटरको दूरीमा एक सैन्य तालिम सुविधामाथि रुसी मिसाइल आक्रमणबाट मृत्यु भएको रिपोर्ट गरेका छन् ।

युद्धका कारण मार्सल लले कुनै पनि मतदानलाई निषेध गरे तापनि ट्रम्पले यसअघि सन् २०१९ देखि राष्ट्रपति रहेका जेलेन्स्कीलाई चुनाव नगर्ने ‘तानाशाह’ भन्नुभएको थियो ।

जेलेन्स्कीले राजीनामा गर्न आउने दबावलाई खारेज गर्नुभयो र युक्रेनलाई नाटो सदस्यता दिएमा मात्र त्यसो गर्ने आफ्नो वाचा दोहोर्‍याउनुभयो । युक्रेनको नाटो प्रवेशलाई रुस र अब ट्रम्प नेतृत्वको संयुक्त राज्य अमेरिकाले विरोध गरेका छन् ।

अमेरिका र रुसी अधिकारीहरूले युद्धको अन्त्यका लागि वार्ता गरेका छन् । किएभ र युरोप आफूहरूलाई छेउमा पारिएको भन्दै आक्रोशित भएका छन् र कुनै पनि सम्झौताले युक्रेनको भविष्यलाई खतरामा पार्न सक्ने डर उत्पन्न गरेको छ ।

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

काठमाडौँ, २० फागुनः नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ ।

सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उहाँहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताउनुभयो । उहाँले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाउनुभयो ।

राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरर्नुभयो । “देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् तर तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन् । त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन हुनुभएको थियो ।

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन

काठमाडौँ, २० फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको हो । सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, भोलि १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।” 

एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गर्न थालिएको अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो । 

धनगढीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने

धनगढी । कैलालीको धनगढीमा फागुन २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो।

महायज्ञमा राधिका दासीबाट भावगत कथा बाचन हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेको पाण्डेयको भनाइ छ।

‘ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठसहित पवित्र तथा पावन भूमीका रुपमा रहेको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन संदेश दिन महायज्ञको आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘भाषा, साहित्य, कला, संस्कृति, पुरातत्व जस्ता बाङमयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्रहालय निर्माणको पवित्र उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागेका छौं।’

उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक जागरण ल्याएको बताए।

महायज्ञकी प्रमुख बाचिकासमेत रहेकी राधिका दासीले पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन्। महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको महोत्सव लाग्ने स्थानमा हुने बताइएको छ।

टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित

ललितपुर (गोदावरी), २० फागुनः टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । सो घटनापछि ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् ।

महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो । स्थानीय बासिन्दा महेश महर्जन खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्रलाई सामान्य रुपमा लिन नहुने बताउनुहन्छ ।  

टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजेशकुमार राणाका अनुसार यसअघि पनि बोरिङ गर्नेक्रममा करिब १०० मिटर खन्दा ग्यास निस्केको घटनासमेतलाई दृष्टिगत गरी खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्ने काम थप जटिल बनेकाले यसतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।    

सदस्य राणाले भन्नुभयो, “करिब ७०÷८० वर्षअघि नेपाल र भारतबीच ग्यास प्लान्ट स्थापना गर्ने सन्दर्भमा सम्झौता भई ललितपुरको इमाडोल, टीकाथली र खरिबोट क्षेत्रमा भण्डारणका लागि जग्गा छुट्याइएको तर कार्यान्वयन नभएको भन्ने कुरा अग्रजहरूबाट सुनेका हौँ, तर अहिले अचम्मित हुनेगरी पानीका लागि जमिन खन्दा ग्यास पो निस्कन थाल्यो । पानीको समस्या झेलिरहेका यस क्षेत्रका जनता झन् त्रसित र अप्ठ्यारोमा परेका छन्, यसतर्फ सम्बन्धित पक्षले समयमै सोच्न जरुरी छ ।”

महालक्ष्मी नपा–५ को वडाअध्यक्ष कपिल केसीले भन्नुभयो, “मेरो स्थायी बसोबास रहेको टीकाथली क्षेत्रमा बोरिङ गरी खानेपानी निकाल्ने क्रममा करिब २७५ मिटर गहिरो खनेपछि अपेक्षा गरिएअनुसार नै पानी आउन थाल्यो । यसैबीच फलामको पाइप जडान गर्ने क्रममा ‘वाइरिङ’ गर्दा निस्केको आगोको सामान्य लप्कालाई अहिले बढाई चढाई समाजलाई त्रसित बनाउने काम भइरहेको छ । बाहिर आएको जस्तो नभई यो सामान्य घटना हो, कोही पनि त्रसित हुन आवश्यक छैन ।” महालक्ष्मी नगरपालिकाले स्थानीयवासीको मागलाई ध्यानमा राखी सो घटनाका सन्दर्भमा आवश्यक अध्ययन, अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागलाई पत्रचार गरेको जनाएको छ ।  

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।

त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उनले भने, “विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।”

निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो सङ्गठनको मनोनयन गरिएको जानकारी दिए । यस्तै, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा सङ्गठनको नाम दर्ता गराइएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा सङ्गठन दर्ता गरिएको जानकारी दिए । यसअघि त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वल्र्ड काङ्ग्रेस (एमडब्लुसी) सोमबार देखि स्पेनमा सुरु भएको छ ।

ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेशंस एसोसिएशन (जीएसएमए) द्वारा फÞिरा ग्रैन वाया प्रदर्शनी केन्द्रमा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, कनेक्ट, क्रिएट’ रहेको छ, जसले मोबाइल र एआई–संचालित प्रविधिहरूको फ्युजनलाई जोड दिन्छ ।

जीएसएमएका महानिर्देशक म्याट ग्रानरीडले ५जी विश्वव्यापी रूपमा द्रुत रूपमा अगाडि बढिरहेको छ । हालसम्म ५ जी जडानहरू दुई अर्ब पुगेको उहाँ बताउनुभयो, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो बढिरहेको मोबाइल जेनेरेशन बनाएको छ । अहिले अवरोध हटाउने र विकासको गति बढाउने बेला आएको छ ।

जीएसएमएले आफ्नो मोबाइल इकोनोमी रिपोर्ट सन् २०२५ पनि जारी ग¥यो, जसले मोबाइल प्रविधि र सेवाहरूले सन् २०२४ मा विश्वव्यापी जीडीपी मा ५.८ प्रतिशत योगदान गर्ने देखाएको थियो ।

त्यो सङ्ख्या सन् २०३० सम्ममा ८.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

एमडब्लुसी सन् २०२५ ले दुई हजार ८०० भन्दा बढी प्रदर्शक र एक हजार २०० वक्ताहरूलाई आकर्षित गरेको छ, जसमा आयोजकहरूले एक लाख भन्दा बढी उपस्थित हुने अपेक्षा गरेका छन् । चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, हुवावे, जेडटीई, लेनोभो र शाओमीलगायत ३०० भन्दा बढी चिनियाँ कम्पनीहरूले आफ्ना नयाँ आविष्कारहरू प्रदर्शन गरिरहेका छन् ।

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

काठमाडौं । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ ।
साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।यो कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।

यसैबीच, काठमाडौं महानगरका मेयर बालेनलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागि हुने आशा राखेको सुशान्तले जानकारी गराएका छन् ।गायक केसीले बालेनसँगको भेटबारे सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब

म्याग्दी, २० फागुनः मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ ।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हँुदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“बेनीबाट मङ्गला हँुदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “यो योजनामार्फत अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडकलाई पक्की बनाउने लक्ष्य छ ।”

म्याग्दीको मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० मा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुना हँुदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको रु छ करोड ५० लाख बजेटको योजनामार्फत सडकको मार्ग खोल्ने काम भइरहेको छ ।

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर, २० फागुनः किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।

किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो । बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो । भोजपुरमा अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाका लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरेर पठाएको कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएर आएपछि यहाँ केन्द्र स्थापनाका काम अघि बढ्ने प्रमुख यादवले बताउनुभयो ।

“पछिल्लो समय भोजपुरका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेको छ”, उहाँले भन्नुभयो, “खुर्सानीको राम्रो उत्पादन भए पनि यहाँ प्रशोधन केन्द्र नहुँदा किसानलाई समस्या छ । किसानले उत्पादन गरेको खुर्सानीको सहज बजारीकरणसँगै उत्पादित वस्तुलाई गुणस्तरीय ढङ्गले बाह्य बजार पठाउन केन्द्र स्थापनाको तयारी गरेका हौँ ।”

जिल्लामा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख यादवको भनाइ छ । यहाँ छ सय हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खुर्सानीखेती भइरहेको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिनुभयो । आगमी दिनमा क्षेत्र अझ विस्तार हुने उहाँको भनाइ छ ।

ज्ञान केन्द्रले बढी मात्रामा अकबरे खुर्सानीखेती हुने पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाका अगुवा खुर्सानी किसान, कृषि शाखा प्रमुख तथा सरोकारवाला पक्षसँग खुर्सानीखेतीमा देखिएका समस्या, यसको सम्भवना र बजारीकरणलगायत विषयमा छलफल गरेको छ । सरोकारवाला पक्षले किसानको राम्रो आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेकाले यहाँ प्रशोधन केन्द्र आवश्यक रहेको बताएका छन् ।

प्रशोधन केन्द्र स्थापनाका लागि कार्यालयले कार्यक्रम माग गरेकाले थप समन्वय तथा सहकार्य गर्नका लागि छ सदस्य समिति पनि गठन गरिएको छ । अरुण गाउँपालिकाका अगुवा किसान तोरण कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

कृषि ज्ञान केन्द्रले यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अकबरे खुर्सानीको प्रवर्द्धन तथा विकासका लागि थालेको काम राम्रो रहेको पौवादुङमा गाउँपालिका किसान ध्रुव राईले बताउनुभयो । प्रशोधन केन्द्र स्थापनापछि यहाँका किसानलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । विगतबाट नै यहाँ खुर्सानी प्रशोधन केन्द्र माग भइरहेको किसान राईले बताउनुभयो ।

“हामी धेरै किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन भएको खुर्सानीको राम्रो बजारीकरण हुन सकिरहेको छैन । यहाँ नै प्रशोधन केन्द्र स्थापना भएमा खुर्सानीलाई प्रशोधन गरेर बाह्य बजारमा पठाउन सकिन्छ । यसले किसानलाई राहत पुग्छ ।”

खुर्सानी किसानको ठूलो आवश्यकताका रूपमा रहेको प्रशोधन केन्द्र स्थापनाका लागि ज्ञान केन्द्रले थालेको काममा स्थानीय तहको तर्फबाट पहलकदमी गर्ने पौवादुङमा–१ श्यामशिला वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । अहिले यहाँ उत्पादन भएको खुर्सानी धरान विराटनगर काठमाडौँलगायत सहरमा मात्र जाने गरेको भए पनि प्रशोधन गरेर पठाएको खण्डमा विदेशमा सहज रूपमा पुग्ने वातावरण बन्ने उहाँले भन्नुभयो ।

“हामीले पनि किसानलाई खुर्सानी खेतीका लागि प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “धेरै मात्रामा खुर्सानी उत्पादन भएमा बजारीकरणमा समस्या हुन्छ । यहाँ नै प्रशोधन गरेर बाहिर पठाउन सकियो भने किसानले राम्रो मूल्य पाउने अवस्था बन्छ । किसानको हितमा हुन गइरहेको यो काम सफल बनाउन सबैले आफ्नो तहबाट भूमिका खेल्न आवश्यक छ ।”

चितवन कारागारका कैदीबन्दी गलैँचा र मुढा बनाउने काममा

चितवन, २० फागुनः जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् ।
उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहनुभएका सानु चेपाङले भन्नुभयो, “मैले गलैँचा बनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक रु सतदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु ।” विगत सात वर्षदेखि गैँडा मारेको मुद्दामा कैद सजाय भोग्दै आउनुभएका चेपाङ आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सुरुमा हामी दुई जना कैदी मिलेर यो व्यवसाय सुरु गरेका हौँ । अहिले यस पेसामा यहाँभित्रका एक सयभन्दा बढी आवद्ध छन् ।” उनीहरूले मासिक रु सातदेखि १० हजारसम्म बचाएर घर पठाउने गरेको उहाँले बताउनुभयो । यहीको कमाइले उहाँले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको सुनाउनुभयो । अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको जनाउँदै उहाँले आफूले कारागारभित्रका झण्डै एक सय जनालाई काम दिन पाएकामा सन्तुष्ट रहेको बताउनुभयो ।

आफूले सबैलाई तालिम दिएर काममा लगाएको उहाँको भनाइ छ । कैद सजाय तोकेकाले समय बिताउन र आफ्नो खर्च जुटाउन सीपमूलक काममा लाग्ने गरेको उहाँले बताउनुभयो । गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आउनुभएका पदमबहादुर प्रजा अहिले मुढा बन्न तल्लिन हुनुहन्छ । उहाँले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताउनुभयो । विसं २०६९ मा गैँडा मारेको मुद्दामा उहाँ पक्राउ परी कारागार चलान हुनुभएको थियो । कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले मीठोमसिनो खान, आफ्नो इच्छाअनुसारको लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको सुनाउनुभयो ।

लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यहाँ भएका यस्ता उद्योगले राहत दिने गरेको उहाँले बताउनुभयो । कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार अहिलेभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ । कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौँ, मकवानपुर, धादिङलगायतका ठाउँमा जाने गर्दछ । कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुने गर्छन् ।

सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै

कञ्चनपुर, २० फागुनः सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको हो ।

जिल्लाको बेलौरी र पुर्नवास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन् । अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् । 

पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ ।

संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर बेलौरी नगरपालिका–१, २, ३, ५ र ७ मा अधिक देखापरेका छन् भने पुर्नवास नगरपालिका–१, ४, ६ र ११ मा बढी देखिएका यालवले बताउनुभयो । 

“पुनर्वास र बेलौरी क्षेत्रमा अधिक रूपमा सिमसार क्षेत्र रहेका छन्”, प्रमुख यादवले भन्नुभयो, “अजिङ्गरलाई पर्याप्त आहारा पाइने, तालतलैया, नदी, खोला रहेका छन्, उपयुक्त हावापानी छ, उखुखेती पर्याप्तमात्रामा भएकाले उपयुक्त बासस्थान छन् ।”

उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उहाँले बताउनुभयो । 

“विगतमा अजिङ्गर देखापर्नेबित्तिकै मार्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘इकोसिस्टम’ बचाउनका जिवजन्तुको महत्वपूर्ण योगदान रहन्छ भन्ने कुरा सर्वसाधारणले बुझ्न थालेका छन्, अजिङ्गर देखापर्नेबित्तिकै स्थानीयले खबर गर्छन्, आफैँ पनि सुरक्षित रुपले उद्धार गरी बुझाउने गर्दछन् ।” उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित बासस्थानमा लगेर छाडिने गरेको उहाँले बताउनुभयो । 

“अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्छ भनेर प्रचारप्रसार गर्दै आएका छौँ, यसबाट सर्वसाधारण जानकार भएका छन्”, प्रमुख यादवले भन्नुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाको कुखुरा फार्म, खेतबारी, आँगन, घरभित्र अजिङ्गर आहाराको खोजीमा आउने गर्दछ । 

खेतका डिलमा पनि अजिङ्गर देखापर्न थालेका भन्दै वन कार्यालयलाई खबर गर्ने गरिएको स्थानीयको भनाइ छ । उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म रहने वन कार्यालयले जनएको छ । तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ । 

सर्पको प्रजातिमध्ये सबैभन्दा ठूलो प्रजातिका रूपमा अजिङ्गर रहेको भन्दै घाइते वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरी केन्द्रमार्फ उद्धार गरिँदै आइएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“यो विषालु भने हुँदैन”, उहाँले भन्नुभयो, “यसले मृगका पाठा, बाख्राका पाठा सजिलै निल्न सक्छ, जङ्गली जनावरसँगै, चरा, मुसा, घरपालुवा बाख्रालगायत साना जनावर र कुखुरा खाएको देखेका छौँ, मानिसलाई नोक्सानी पुर्‍याइएको भने पाइएको छैन ।” अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले चोरी सिकारी गर्न भने नपाइने उहाँले बताउनुभयो । अहिलेसम्म जिल्लामा अजिङ्गरको चोरी सिकारी, तस्करी भएको तथ्याङ्क नभएको उहाँको भनाइ छ । 

विशेषगरी अजिङ्गर घना वनजङ्गल, रुखको ठूलाठूला मुडामा र सुकेको पातमा लुकेर बस्ने गर्दछन् । कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपासका घाँसे मैदानमा बस्दछन् । अजिङ्गरलाई घर, खेतबारीलगायत क्षेत्रमा भेटाएमा स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन कार्यालयको जिम्मा लगाउने गरिएको छ । 

अजिङ्गरको टाउको फराकिलो हुन्छ । आँखाहरू साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरविरे रङको हुने गर्दछ । सर्पको प्रजाति भए पनि अजिङ्गगर विषालु भने हुँदैनन् । 

गोरखाको बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा, २० फागुनः गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिनुभयो । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“भिआइए परीक्षणबाट १० वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, प्रमुख भट्टले भन्नुभयो, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ, पाठेघरको अवस्था पत्ता लागेपछि सोहीअनुसार उपचार गर्न सुरु गरिन्छ ।”

गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको उहाँले बताउनुभयो ।

आजको मौसम : सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा

काठमाडौँ, २० फागुन : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ-मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । यसैगरी मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यस्तै मछिन्द्रकै स्टेफन जमाहा जाली सर्वाधिक गोलकर्ता बनेका छन् ।

यस्तै त्रिभुवन आर्मी क्लबका नीराजन धामी प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन् । उनीहरुले जनही रु ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । 

त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको थियो । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ । 

विजेता टोली तथा खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली, इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । 

फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने

काठमाडौँ, २० फागुनः व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किबी, ड्र्यागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूलखेतीका लागि लिइने कर्जामा उक्त प्रबन्ध गरिएको हो । 

त्यस्तो कर्जाको ग्रेस अवधि चार रहेको अवस्थामा पहिलो वर्ष शून्य दशमलव २५ प्रतिशत, दोस्रो वर्ष शून्य दशमलव ५० प्रतिशत र तेस्रो वर्ष शून्य दशमलव ७५ प्रतिशत र चौथो वर्ष एक प्रतिशत मात्रै साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा उल्लेख छ । 

एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जालगायत पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित भएको असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुतपातिक रुपमा कर्जा नोक्सानीको व्यवस्था गरी अन्तिम वर्ष एक प्रतिशत मात्रै सामान्य कर्जा नोक्सानीको प्रबन्ध गरिएको छ । यसअघि त्यस्तो कर्जाको व्यवस्था एक दशमलव १० प्रतिशत थियो । 

बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता विस्तार हुने सुनिश्चित भएकालाई पनि एक प्रतिशत मात्रै कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । राष्ट्रिय प्राथमिकतामा रहेका जलविद्युत्, केबलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माणसम्बन्धी परियोजनाको पुनःतालिका वा पुनःसंरचना गरेको अवस्थामा एक प्रतिशतमात्रै कर्जा नोक्सानीको व्यवस्था गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख छ । 

सवारीसाधनको हकमा ऋण मूल्यको अनुपात ६० प्रतिशत मात्र कायम गर्नुपर्नेछ । त्यसमा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधन रहनेछ । यसअघि इजाजत प्राप्त संस्थाले व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्दै आएका थिए । 

‘नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्ने’ : मन्त्री शाही

काठमाडौँ, २० फागुनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल वातावरण पत्रकार समूह (नेफेज)सँग सञ्चारगत विषयमा आवश्यक सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनुभएको छ ।

नेफेजको नवनिर्वाचित कार्यसमितिसँग मन्त्रालयमा सोमबार भएको भेटमा उहाँले वातावरण पत्रकारसँग आफू सुमधुर सम्बन्ध कायम गरी अघि बढ्ने बताउनुभयो । मन्त्री शाहीले नेफेजलाई मन्त्रालयले गरेको कामलाई जनतासमक्ष पु¥याउन तथा नीति निर्माणमा सिर्जनात्मक र विज्ञतासहित सुझाव प्रदान गर्न आग्रह गर्नुभयो । 

सो अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालले सञ्चार क्षेत्रले वातावरण संरक्षणसँगै मुलुक समृद्धिका क्षेत्रमा सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाका गतिविधि र कार्यक्रमबारेमा जानकारी गराउनुभएको थियो । पूर्वध्यक्ष कसमस विश्वकर्माले मन्त्रालयले नेफेजसँग गर्न सकिने सहकार्यका विषयमा प्रकाश पार्नुभएको थियो । भेटमा नेफेजका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

अन्तरपालिका भलिबलः अनुशासनको उपाधि दोगडाकेदारलाई

बैतडी, २० फागुनः बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ ।

जिल्लाका नौ पालिका सहभागी रहेको उक्त प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको हो । 

पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल प्रतिभा देखाएकाले अनुशासित टिम घोषणा भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो । अनुशासित घोषणाको प्रमाणपत्र दोगडाकेदारका तर्फबाट टिम प्रशिक्षकसमेत रहनुभएका पालिकाका खेल प्रशिक्षक नरेन्द्रसिंह कार्कीले ग्रहण गर्नुभयो ।

क्वाटरफाइनलबाट बाहिरिएको दोगडाकेदारको टिमले अनुशासितको उपाधि हात पारेकामा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेको बताउनुभयो । फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई हराउँदै घरेलु टोली दशरथचन्द नगरपालिकाले जितेको छ । 

गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेल मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै दशरथचन्दले रु एक लाख २५ हजार पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।  

पराजित मेलौलीले रु ७५ हजारमा चित्त बुझायो । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता थियोे । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । 

दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।