`

चीनमा छेपारोको नयाँ प्रजाति फेला

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको छेङ्दु नेचर रिजर्भ तथा वन्यजन्तु संरक्षण केन्द्रले जनाएको छ ।

यसलाई ‘सिन्सेल्ला चेङ्गडुएनसिस एसपी’ नाम दिइएको छ । यो प्रजाति सिन्सेल्ला जीनससँग सम्बन्धित छ । विश्वव्यापी रूपमा यस जीनसका ४३ प्रजातिहरू पहिचान गरिएको छ । मुख्य रूपमा एशिया, उत्तरी अमेरिका र मध्य अमेरिकामा र चीनमा यो प्रजाति देखिने गरिन्छ ।

नयाँ पहिचान गरिएका प्रजातिको पातलो, मध्यम आकारको शरीर हुन्छ, जसको लम्बाइ २८.४ देखि ४३.२ मिमी सम्म हुन्छ ।

यो खोज यसै वर्ष अन्तर्राष्ट्रिय जर्नल एनिमल्समा प्रकाशित भएको थियो ।

उक्त प्रजाति पाँच हजार मिटरभन्दा बढीको उचाइको दायरा भएको भूभागमा पाइन्छ । यसलाई जैवविविधताको सन्दर्भमा चीनको शीर्ष मेगासिटी मध्येको सूचीमा राखिएको छ ।

खलङ्गामा जिप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

खलङ्गा (दार्चुला), २१ फागुन : यहाँको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने

काठमाडौँ, २१ फागुनः विपद् विज्ञहरुले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् ।

विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो । सो अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो ।

अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने बताउनुभयो । डा दाहालले यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उक्त निष्कर्षसहतिको प्रतिवेदन हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमासमेत बुझाइएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणले विभिन्न विपद्हरुको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकाले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले महत्त्वपूर्ण आधारका रुपमा काम गर्ने बताउनुभयो ।

अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा सोही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान सुरु हुने देखिएको छ । मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो । नेपालका लागि हालसम्म गरिएका अध्ययनका अनुसार प्रति दिन एक सय १५ मिलिमिटरदेखि एक सय ६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ ।

उक्त अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने औँल्याएको छ ।

अध्ययनमा वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापनको रणनीति विकास गर्न सजिलो हुने सुझाव दिइएको छ ।

कामपाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको सङ्ख्या उल्लेख्य

काठमाडौँ, २१ फागुन : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षकोे बितेका सात महिनामा ९३ हजार चार सय २३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको छ । यसमध्ये ४४ हजार नौ सय ६८ जनाले बहिरङ सेवा लिनुभएको हो । गएको आर्थिक वर्षभरिमा एक लाख १७ हजार तीन सय ६२ जनालाई स्वास्थ्य सेवा दिइएकामा ४१ हजार सात सय पाँच जनाले बहिरङ सेवा लिनुभएको कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा ९४ हजार दुई सय ७१ जनाले स्वास्थ्य सेवा लिनुभएकामा ३० हजार दुई सय २५ जनाले बहिरङ सेवा लिनुभएको थियो । यसरी बितेका तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा कामपाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा देखिन्छ । स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट उपचारात्मक, प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवा हुने गरेको केसीको भनाइ छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रण, सुलभ फार्मेसी सेवा, महानगर एकीकृत एम्बुलेन्स सेवा सञ्चालित छन् ।

विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, स्वास्थ्य नीति निर्माण तथा पैरवी, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क सङ्कलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।

निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र ¥यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् । यस्तै पुनःस्थापनात्मक सेवामा फिजियोथेरापी सेवा सुरू हुने चरणमा छ । विभागले चैत मसान्तभित्र २९ वटा प्रवद्र्धन केन्द्रमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ । वडा नं ४, १५ र २४ मा पूर्वाधार तयारी भइरहेको छ । यी केन्द्रमा आउँदो असार मसान्तभित्र सञ्चालन गर्ने तयारी छ ।

३९ हजार दुई सय १३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप प्रदान गरिएको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार नौ सय ६२ जना बालबालिकालाई खोप दिइएको छ । छ स्थानबाट निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको छ ।

पत्रकारको पास निलम्वन गरेकाप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, २१ फागुन : प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्समक्ष आग्रहसमेत गरेको छ ।

यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको महासङ्घले जनाएको छ । साथै, महासङ्घले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ ।

कुमारी सहकारी हिनामिना : जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

म्याग्दी, २१ फागुन : बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज भएको थुनछेक बहसपछि जिसस प्रमुखसमेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश)लाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी अस्पतालमा अपचाररत उक्त सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका स्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

फरार १९ जना जनालाई पक्राउ पुुर्जी जारी गर्ने आदेश भएको छ । मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको मागदाबीबमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरूद्ध सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।

सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । विसं २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा थिए भने र १९ जना फरार छन् । छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको सहकारीको पैसाबाट सञ्चालकहरूले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा

काठमाडौँ, २१ फागुनः नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।

आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।

अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।

‘वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्छ’

गोदावरी(कैलाली), २१ फागुन : राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने बताउनुभएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै उहाँले दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउँदै नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेको दाबी गर्नुभयो ।

नेता सिटौलाले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र भट्टलगायतले पार्टीलाई मजबुत बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : अध्यक्ष दाहाल

मटिहानी (महोत्ततरी), २१ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताउनुभएको छ ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा आज महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झापाबाट सुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौँ जनतामा उत्साह सिर्जना गरेको दाबी गर्नुभयो । उहाँले कञ्चनपुरसम्म पुग्दा दशौँ लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारू गरेपछि योजना अघि बढेको दाबी गर्नुभयो । उहाँले नेपालमा तीन सय वर्षअघि संस्थागतरूपमा शिक्षाको सुरू भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताउनुभयो ।

बाढी रोक्न इन्डोनेसियाको वैज्ञानिक उपाय

इन्डोनेसियाले जकार्ता र यसको वरपरका क्षेत्रहरूमा आएको भीषण बाढीलाई कम गर्न अर्को हप्ता मौसम परिमार्जन कार्यको दोस्रो चरण सञ्चालन गर्ने राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी (बीएनपीबी) ले बुधबार घोषणा गरेको छ ।

मौसम विज्ञान तथा भूगर्भ एजेन्सीले मार्च ११ देखि मार्च २० सम्म चरम मौसमको भविष्यवाणी गरेको छ, जसले जकार्ता र वरपरका शहरहरूमा भारी वर्षा र बाढी ल्याउन सक्छ भनेर चेतावनी दिएपछि यो निर्णय आएको हो ।

बीएनपीबी प्रवक्ता अब्दुल मुहारीले भन्नुभयो,“मार्च ११ देखि मार्च १८ सम्म चल्ने यो अपरेसनको उद्देश्य सिलिवुङ र सिसाडेन नदीको माथिल्लो भागमा भारी वर्षा रोक्नको लागि हो, जसको डाउनस्ट्रीम क्षेत्रहरूमा जकार्ता र अन्य शहरहरू समावेश छन् ।”

मुहारीले पश्चिम जाभाको पुन्काक सिसारुआ, बोगोर रिजेन्सीबाट निस्कने सिलिवुङ र सिसाडेन नदीको ओभरफ्लोका कारण यस क्षेत्रमा बाढी आउने बताउनुभयो ।

“हामी हाल मौसम परिमार्जनको पहिलो चरणमा काम गरिरहेका छौँ, जुन मङ्गलबार सुरु भयो र शनिबार समाप्त हुनेछ । यसले सफलतापूर्वक अपस्ट्रीम क्षेत्रहरूमा वर्षाको तीव्रता कम गरेको छ । जकार्ता र यसको वरपरका क्षेत्रहरूमा बाढीलाई उल्लेखनीय रूपमा कम गरेको छ,” उहाँले बताउनुभयो ।

सोमबार साँझदेखि भारी वर्षा भएपछि जकार्ता सहित अन्य सहरका अधिकांश क्षेत्रमा ठूलो बाढी आएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : सचिन चम्किदा बैतडी फाइनलमा प्रवेश

बैतडी, २१ फागुन : सचिन भट्ट चम्किदा बैतडी प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कञ्चनपुरलाई ४९ रनले हराउँदै बैतडी फाइनलमा सुरक्षित भयो ।

बैतडीले दिएको १६० रनको लक्ष्य पछ्याएको कञ्चनपुर २४.१ ओभरमा ११० रनमा अलआउट भयो । जसमा सुशील खड्काले ३७, राहुल चन्दले २२ र किरन ठगुन्नाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका बलर सचिन भट्टले ह्याट्रिकसहित ७ विकेट हात पारे ।

करिअरकै उत्कृष्ट बलिङ गरेका सचिनले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ७ विकेट लिएका हुन् । सचिन म्यान अफ द म्याच पनि चुनिए । यस्तै हिक्मत महराले २ र भूपेन्द्र चन्दले १ विकेट झारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ४१ ओभरमा १५९ रनमै समेटियो । उसका खडक बोहराले ४४, कप्तान वसन्त खत्रीले अविजित ३५, प्रदीप चन्द १९, सुनिल चन्द १२, हिक्मत महरा ११ र दीपक बोहराले १० रन हिर्काए ।

बलिङतर्फ कञ्चनपुरका मिलन बोहराले ४, विकास आग्रीले ३, कप्तान हेमन्त धामीले २ र अरून ऐरीले १ विकेट पाए । बैतडीले उपाधिका लागि भोलि कैलालीसँग खेल्नेछ । गत वर्षको फाइनलमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए । जसमा कैलाली च्याम्पियन भएको थियो ।

गत संस्करणको हारको बदला लिने लक्ष्य बैतडीको हुनेछ भने निरन्तरताको पक्षमा कैलाली हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो ।

रिङ्कु सदायको बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित पक्राउ

सिरहा, २१ फागुनः यहाँको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उहाँले बताउनुभयो । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कुको स्थानीय रूपेशसहित तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । सो घटनालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउन माघ २९ र ३० गते दुई पटक छलफल गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो ।

पहिलो दिनको छलफलले रूपेशलाई रु एक लाख ५० हजार जरिवाना गर्ने निर्णय सुनाएको थियो । भोलिपल्ट अर्को छलफलका क्रममा उपस्थितबीच नै कुटाकुट भएको थियो । सोही साँझ रिङ्कु आफ्नो घरको कोठामा शङ्कास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् । पहुँचका आधारमा घटना दबाउन खोजिएको भन्दै पीडकलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखी प्रतिनिधिसभा तथा राष्ट्रियसभामा समेत आवाज उठेको थियो । इलाका प्रहरी कार्यालय लहानले सुरूमा आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दर्ता गरेको थियो । घटनाको एक सातापछि फागुन ८ गते मृतक रिङ्कुकी आमा सीतादेवी सदायले रूपेशसहित मुख्य आरोपी तीनजना र छलफलमा सहभागी पाँचजना गरी आठजनाविरूद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र कसुरमा पुरक जाहेरी दिनुभएको थियो ।

पूरक जाहेरीको आधारमा प्रहरीले फागुन ११ गते सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये नवराजपुर—१ भगवतीपुरका ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।

‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’ – मुख्यमन्त्री कार्की

विराटनगर, २१ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकले प्रदेश सरकारलाई बजेट निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगद्वारा आयोजित ‘कोशी प्रदेश स्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तक्र्रिया’को आज यहाँ उद्घाटन गर्दै उहाँले योजना बैंकको अवधारणले योजना समावेश व्यवस्थित भइ योजनाहरुको असन्तुलन घट्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, “प्रदेश सरकारको स्रोतसँगै बैंकको योजना पनि घटबढ भइरहन्छ ।” उहाँले रु ५० लाख भन्दा कमको योजना बैंकमा समावेश नगर्न कोशी प्रदेश सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो । कोशी प्रदेश सरकार र स्वीस सरकारको संयुक्त लगानीमा प्रदेशमा चार वटा पदमार्ग निर्माण हुने जानकारी उहाँले दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने अनुदान कटौती हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै सरकार आन्तरिक आय बढाउन सम्भावित क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पर्यटनको नाममा जथाभावी खर्च गर्ने बानी हटाउनुपर्ने बताउँदै चोर बाटोबाट योजना समावेश नहोस् भनी योजना बैंकको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आय आर्जन गर्न सकिने क्षेत्रमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

सो कार्यक्रममा आयोगका सचिव मिमाँस अधिकारीले प्रदेश आयोजना बैंक व्यवस्थापन २०८१ को कार्यविधि सम्बन्धी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपालले प्रदेश स्तरीय आयोजनाको पहिचान तथा आयोजना तर्जुमा गोष्ठीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमा कोशी प्रदेश सभाका सदस्यहरु होमबहादुर थापा, रामप्रसाद महतो, प्रदीपकुमार सुनुवार, मैया श्रेष्ठ, गोम्बु शेर्पा, तिलकुमार मेन्याङ्बो, गीतादेवी रेग्मी, सपना दर्जी, राजन किराती, नारायणबहादुर मगर, रामदेव यादव, शोभा चेम्जोङ्ग, सम्झना तामाङ्ग, गोपालबहादुर विश्वकर्मा, निरन राई, खिनु लङ्वा लिम्बू, विदुर लिङ्थेप, निर्मला तावा लिम्बू र कमल जवेगुले आआफ्नो धारणा सहित सुझाव दिनुभएको थियो ।

दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने

काठमाडौँ, २१ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले दलित समुदायको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा दलित महिला सङ्घ (फेडो) ले आज यहाँ आयोजना गरेको ‘दलित महिला र बालिकामाथि हुने हिंसा र यसले पारेको असर’ विषयक अन्तक्र्रियामा उहाँले संविधानको धारा २४ र ४० मा उल्लेखित दलित समुदायको अधिकारलाई जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दलित समुदायको बारेमा केही नि भएको छैन भन्ने होइन, २०७२ साल अघि थिएन होला, तर नयाँ संविधानले दलित समुदायको लागि धैरै दिएको छ, त्यसलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने छ ।”

लामो सङ्घर्षबाट प्राप्त समानुपातिक व्यवस्थालाई दलितलगायत सीमान्तकृत समुदायले जोगाउनेतर्फ पहल गर्नुपर्ने मन्त्री सुडीको भनाइ छ । प्रतिनिधिसभाका सांसद अनिसा नेपालीले दलित समुदायबारे एकीकृत कानुन निर्माणको निम्ति सक्दो पहल गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा बढी विभेदमा परेकाले उनीहरूका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्या सम्बोधन नभएसम्म सामाजिक न्यायमा आधारित समाज निर्माण सम्भव नहुने बताउनुभयो ।

फेडोका संस्थापक अध्यक्ष तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष दुर्गा सोवले राज्यका नीति निर्माण तहमा दलित महिलाको समान सहभागिताका निम्ति कानुनी व्यवस्था गर्न माग गर्नुभयो ।

चलचित्र ‘श्री बुकुरो’को दोस्रो टिजर रिलिज

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो ः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए ।

पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले ’श्री बुकुरो’ निर्माण गरेका हुन् । विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो सिनेमाको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

बुधबार सार्वजनिक सिनेमाको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ । टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने सिनेमाको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

महिला चलचित्र महोत्सव’मा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया

काठमाडौँ, २१ फागुनः अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलबारदेखि तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र विकास बोर्डमा आयोेजित महोत्सवको दोस्रो दिन आज विभिन्न चलचित्र प्रदर्शन गरिए ।

प्रदर्शनसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको आयोजक समितिका अध्यक्ष केकी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सवले महिलाका विषयमा निर्माण भएका चलचित्रलाई प्रवर्द्धन गरिरहेको छ । चलचित्र हेर्दै त्यसमा गरिने अन्तरक्रियाले आगामी दिनमा काम गर्न सहज बनाउने गर्छ ।”

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सुविधासम्पन्न स्टुडियो निर्माण गरेर चलचित्रकर्मीलाई सुविधा दिने प्रयासमा छौँ । यसले महिला चलचित्रकर्मीलाई अभिनय बाहेकका अन्य प्राविधिक विधामा काम गर्न प्रेरणा दिनेछ । किनकि बाहिर चलचित्र छायाङ्कन गर्दा स्टुडियो जस्तो सेवा सुविधा उपलब्ध हुँदैन ।”

महोत्सवको पहिलो दिन नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनुका साथै उक्त चलचित्रका अभिनेता विश्व बस्नेत र अभिनेत्री बसुन्धरा भुसालसँग चलचित्रको विषयमा अन्तरक्रिया गरिएको थियो ।

नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज (पर्सा), २१ फागुनः नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो ।

खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धेकेलिएको थियो । ट्राइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो । नेपाल पुलिस क्लब आगामी फागुन २४ गते फाइनल खेल खेल्दैछ । नेपाल पुलिस क्लब गत वर्षको वीरगञ्ज गोल्डकपको विजेता टोली पनि हो ।

यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत

लुम्बिनी, २१ फागुनः लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरुमा प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । 

बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

बैठकले प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने, तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।

श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक

काठमाडौँ, २१ फागुनः वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा आज परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र ती मन्त्रालयका सचिव सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।

रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा नेपाली कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरुको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने भएकाले यस विषयमा छलफल गर्न मन्त्री डा राणाले सो संयुक्त बैठक आह्वान गर्नुभएको थियो ।

बैठकमा मन्त्री डा राणाले भन्नुभयो, “नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन् । कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ । भोलि कोही समस्यमा परे उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ । त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा सोच्नुपर्छ ।”

मन्त्री डा राणाले वैदेशिक रोजगारीमा रहेका अव्यवहारिक नीति तथा कानुन हटाएर सहज बनाउनुपर्ने बताउँदै भन्नुभयो, “सरकारले कानुनी रुपमा रोकेपनि अवैध बाटोबाट नेपालीहरु आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधान अब किन राख्ने ?” उहाँले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यवहारिक रुपमा अनुगमन गर्न, श्रम स्वीकृतिसम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि सुझाव दिनुभयो ।

सो बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष बनाइ संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गर्नुभयो । श्रम तथा रोजगारमन्त्री भण्डारीले श्रम कूटनीति अहिले नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृतिसम्बन्धी नवीकरण गरेर व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हाल नेपालीहरु विश्वका एक सय १० देशमा रोजगारीका लागि पुगेका जानकारी दिँदै घरेलु कामदारलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सो सम्बन्धी प्रावधानमा अब पुनःविचार गर्नुपर्ने बताउनुभयो । सो बैठकमा विविध कारणले संसारमा रहेका नेपालीलाई कुनै अप्ठेरो प¥यो र उद्धार गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा परराष्ट्रमा रहेको सीमित स्रोत, साधन र जनशक्तिका कारण उद्धारको काम निकै कठिन हुँदै गएको विषयमा छलफल भएको थियो ।

सहकारीका समस्या सम्बोधन गर्न अध्यादेश : मन्त्री अधिकारी

काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्नेक्रममा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति निराकरण गर्न र प्रचलित कानुनमा आवश्यक संशोधन गरी आम बचतकर्ताको बचत फिर्ता एवं बचत सुरक्षण गर्न अध्यादेश ल्याएको बताउनुभयो । उहाँले विरोधको सूचना दिने सदस्यलाई अध्यादेशको आवश्यकता र औचित्य स्पष्ट पार्दै विभिन्न समयमा सहकारी पीडित बचतकर्तासँग गरेको सम्झौताको मर्मअनुरूप अध्यादेश आएको भनाइ राख्नुभयो ।

उहाँले अध्यादेशमा सहकारी पीडित, विज्ञ र राजनीतिक नेतृत्वको भावनाअनुसार नै अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले सहकारी पीडितको भावना, विज्ञको सुझावसमेत आएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताउनुभयो । “हामीले यो अध्यादेश ल्याइरहँदा हिजो सहकारी पीडितहरूले आन्दोलन गर्दा के समर्थन जनाएका थियौँ, त्यसलाई पनि ख्याल गरौँ । त्यसबेला तत्काल यो गर्नपर्‍यो भन्ने अहिले त्यही कुरा ल्याउँदा गलत बाटो हिँड्यो भनेर अपब्याख्या गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा वर्तमान अवस्थामा देखिएका कमीकमजोरी तत्कालै नियन्त्रण गर्न आवश्यक भएकाले यो अध्यादेशमार्फत यो समस्या समाधानको बाटोमाबिना विलम्ब सरकार अग्रसर हुने मान्यताका आधारमा अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । “देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउन स्वतन्त्र, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैलाई आधार मानेर यो अध्यादेश आएको छ ।”

यसअघि अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद कार्कीले सहकारी नियमन प्राधिकरणको व्यवस्था अध्यादेशबाट गरिए पनि काम गर्न नसक्ने निकाय बनाइएको बताउनुभयो । कानुनको कार्यान्वयन नभएर सहकारी पीडितले पैसा पाउन नसकेको उहाँको भनाइ थियो ।

सांसद विनिता कठायतले रू ५० लाख सहकारीमा बचत गर्ने व्यवस्था गर्ने तर नेपाल राष्ट बैंकलाई नियमन गर्न नदिने किन व्यवस्था गरेको भनी प्रश्न गर्नुभयो । व्यवस्थापन समितिले सम्पत्तिको मूल्याङ्कन गर्न विज्ञ टोली गठन गर्ने विषयमा समस्या हुनसक्ने उहाँले सुनाउनुभयो । अध्यादेशले सहकारी पीडितलाई न्याय नदिने सांसद कठायतको भनाइ थियो ।

सांसद अशोककुमार चौधरीले ५०० सहकारी समस्याग्रस्त रहेको उल्लेख गर्नुहुँदै लाखौँ जनता पीडित भएको, करिब रू छ खर्ब फसेका बेला आएको अध्यादेशले पीडितलाई राहत दिन नसक्ने बताउनुभयो ।

संसदीय छानबिन समितिले रू ८८ अर्ब अनियमितता भएको प्रतिवेदन दिए पनि समाधानमा केही हुन नसकेको उहाँले बताउनुभयो । सहकारीका ठूला सञ्चालकलाई अध्यादेशले उम्काउन खोजेको पनि सांसद चौधरीले आरोप लगाउनुभयो । सांसद पूर्णबहादुर घर्तीमगरले सर्वोच्च अदालतको आदेशविपरीत अध्यादेश आएको दाबी गर्नुहुँदै फिर्ता लिनुपर्ने बताउनुभयो ।

अध्यादेशले संसदीय मर्यादाको उल्लङ्घन गरेको उहाँले सुनाउनुभयो । सहकारी विभाग, सहकारी प्रशिक्षण केन्द्र खारेज नगरी मन्त्रालयका सहसचिवलाई अध्यक्ष बनाएर गलत गरिएको उहाँले बताउनुभयो । सांसद रामकुमार राई र सांसद मीना तामाङले संविधान, कानुनको मर्म विपरीत अध्यादेश आएकाले यसलाई खारेज गरिनुपर्ने बताउनुभयो ।

सांसद लेखनाथ दाहालले सहकारीसम्बन्धी समस्या राष्ट्रिय भएकाले यस विषयमा राष्ट्रियस्तरमै बहस गरिनुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको विषयलाई सङ्घले कानुन बनाउनु गलत भएको उहाँको भनाइ थियो । सांसद शिशिर खनालले सहकारी पीडितलाई अध्यादेशले न्यायको आँखाले नहेरेको बताउनुभयो । सहकारी सञ्चालकको सम्पत्ति, राहदानी रोकेर भए पनि पीडितलाई न्याय दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद प्रेम सुवालले २००८ सालदेखि २०१५ सम्मकोबीचमा मल लिन, कृषिलाई सहयोग गर्न सहकारी सुरू भएकाले त्यसको सिद्धान्तअनुसार नै काम गरिनुपर्नेमा जोड दिनुभयो । सांसद सुमना श्रेष्ठले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति नभएकैले काम हुन नसकेको बताउनुभयो । बचतकर्तालाई सङ्गठित हुन नदिने व्यवस्था गलत रहेको उहाँको विचार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन

काठमाडौँ, २१ फागुन : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभएको छ ।

प्रधानन्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै सत्मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । “धर्मले सदा न्याय र सत्यका पक्षमा उभिन सहयोग पु¥याउँछ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “नैतिक आचरणलाई सवल बनाउँदै सत्यमार्गमा व्यक्तिलाई हिँडाउने नै धर्म हो ।”

बागमती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले नेपालको धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउन सो मन्दिर निर्माण गर्नका लागि घरघरमा चन्दा सङ्कलन गरेर आज सफल भएको बताउनुभयो ।

  उक्त मन्दिरमा यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । अनुष्ठान  तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । 

  विसं २०२२ मा वैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब रू १६ करोडको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो ।

 मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराउनुभयो ।

चारदेशीय टी–२० शृङ्खला खेल्न युगान्डा जाने नेपाली महिला टोलीको बिदाइ

काठमाडौँ, २१ फागुनः नेपाल क्रिकेट सङ्घ (क्यान)ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो । यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङ्कङ र नामिबिया सहभागी छन् । 

क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताउनुभयो । नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताउनुभयो ।

त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताउनुभयो । नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ । 

त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङ्कङसँग खेल्नेछ । त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते  युगाण्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ । यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् । 

पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर, २१ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

उहाँले विभिन्न नाकाबाट अवैध रुपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिनुभएको हो ।

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने माग राख्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले आज मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएको थियो । 

कुखुरापालक व्यावसायीले देशको कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग राखेका थिए । 

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्रीवितरणमा साना पुँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैध आयात नियन्त्रण गर्न त्यसरी आयातीत वस्तुको बिक्रीवितरण निषेधमा जोड दिनुपर्छ । यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर बारे चेतना जागृत गर्नुपर्छ ।”

उहाँले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता वस्तुको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो ।   नेपालको पोल्ट्री व्यवसायमा रु एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ । 

‘जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ ।निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

‘जनै हराएको बाहुन’ मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।

चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ । निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ ।

लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

लुम्बिनी, २१ फागुन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको  उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा शान्तिको सन्देश फैलाउन त्रिपिटक पाठ वाचनबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पूर्वाधार विकाससँगै त्रिपिटकजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम विस्तार गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गर्दै नेपाल सरकारकोतर्फबाट त्यसमा सक्दो सहयोग हुने बताउनुभयो ।  

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आजदेखि त्रिपिटक वाचन सुरू भएको छ ।  

कार्यक्रममा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशलाई विश्वभर फैलाउन त्रिपिटक पाठ वाचन फलदायी हुने बताउनुभयो । उहाँले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ बृहत् रुपमा विस्तार गर्नुपर्ने महशुस गरी अघि बढ्न लागेको जानकारी दिनुभयो ।

उपाध्यक्ष लामाले थेराबाद, महायान र ब्रजयाना सबै एकजुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने धारणा व्यक्त गर्दैै बुद्ध दर्शनलाई विश्वले आत्मसात गरेकाले एक अर्ब बढी बुद्धमार्गीलाई पवित्रस्थल लुम्बिनीमा आकर्षित गरी विश्व शान्ति स्थापनाका  पक्षमा जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

सो अवसरमा आठौँ सङ्घनायक नेपालका भिक्षु बोधिसेन महास्थवीरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामलाई बुद्धभूमि राख्दा त्यसले विश्वभर राम्रो सन्देश जाने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अध्याँरो देखिएको बताउँदै मायादेवी परिसरसहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाइटिङ’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्रिपिटक उद्घाटन समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासङ्घका सभापति भिक्षु धम्मसोभन महास्थवीर, महासचिव भिक्षु धर्मगुप्त महास्थवीर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलङ्काका राजदूत चमेरा रुवाङ्गी मुनासिङ्गे, थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्युम्युन्ट माउङ, भिक्षु बजिरा, उपासक वाङमो डिक्सिले मन्तव्य राख्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्रस्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्ग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिइन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । यही फागुन २५ गतेसम्म मायादेवी मन्दिर परिसरमा विहान ७ः३० देखि अपराह्न ५ बजेसम्म त्रिपिटक पाठ वाचन हुने प्रचारप्रसार संयोजक भिक्षु विमलो स्थवीरले जानकारी दिनुभयो ।

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा यही फागुन १८ गते जर्मनी प्रस्तान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाउनुभएको थियो ।

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छः यातायातमन्त्री दाहाल (अन्तर्वार्ता)

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुन् । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन् । नेपाल कम्युनष्टि पार्टी (एमाले)बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्यूरो सदस्य हुन् । उनले पञ्चायती व्यवस्थाविरुद्ध विसं २०३६ मा सुरु भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । लामो समय झापा जिल्लाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झापा जिल्ला कमिटीमा आबद्ध भएका थिए । विसं २०७६ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका थिए । मन्त्री दाहालसँग सांसद हुँदाको अनुभव, सङ्घीय संसद्का गतिविधि, सरकारले गरेका गतिविधि, संविधान संशोधन, संविधान कार्यान्वयन र मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।


राष्ट्रियसभामा पाँच वर्ष रहँदै गर्दाको अनुभव कस्तो रह्यो ?

राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो अवधिमा खासगरी संविधानको मर्मअनुरुप कानुन निर्माण प्रक्रियामा बढी सक्रिय भएर काम गरियो । विकासको विषयमा पनि संसद्मा विषयहरू उठाएको छु । त्यसैगरी जनताका समसामयिक विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने काम गरियो । जनताका आवाजलाई संसद्मा उठाउने काम गरियो । विधायन व्यवस्थापन समितिमा बसेर काम गर्ने मौका पनि मिल्यो ।

संविधान जारी भएको करिब दश वर्ष भएको छ, संविधान कार्यान्वयनको अवस्थालाई तपाईँले कसरी हेर्नुभएको छ ?

संविधान कार्यान्वयनलाई हेर्दा संविधानअनुसारका धेरै कानुन बन्न बाँकी नै छन् । अहिले पनि २०१२ साल, २०१८ सालका कानुन छन् । पञ्चायतभन्दा पनि पहिलेका कानुन पनि छन् । त्यसको सट्टामा नयाँ कानुन निर्माण गर्नुपर्ने खाँचो छ, तर हुनसकेको छैन । संविधान कार्यान्वयन नै भएन भन्ने होइन, कार्यान्वयन भएको छ । तर यो दश वर्षको अवधिमा संविधानले परिलक्षित गरेअनुरुप जुन गतिमा कानुन बन्नुपर्ने हो त्यो हुनसकेको छैन । त्यसकारण संविधान कार्यान्वयनको सन्दर्भमा हामी पछाडि नै परेका छौँ । कानुन निर्माणमा तीव्रता दिनुपर्ने जरुरी छ ।

पछिल्लो समयमा संविधान संशोधनको विषय उठिरहेको छ नि ?

संविधान भनेको संशोधन गर्न नमिल्ने विषय होइन । समयअनुसार संशोधन गर्दै लैजानुपर्छ । संविधान संशोधन नहुँदा कतिपय अवस्थामा काम गर्न पनि समस्या भइरहेको अवस्थामा संशोधन गर्नुपर्छ । संशोधनको बारेमा चर्चा चलेको भनेको निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भन्ने हो । यो निर्वाचन प्रणाली अलि खर्चालु पनि भयो भनेर संशोधनको विषय उठिरहेको छ । अर्को कुरा यो संवैधानिक व्यवस्थाले गर्दा कुनै पनि राजनीतिक पार्टीको बहुमत आउने देखिँदैन । बरु प्रत्यक्ष निर्वाचित प्रणालीलाई बढाएर समानुपातिकको बारेमा विचार गर्नुपर्छ । समानुपातिक प्रणालीबाट विभिन्न जातजाति वा उत्पीडित समुदायको प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचित प्रणालीबाट पनि समेट्न सकिन्छ ।

सङ्घीयताबारे पनि विभिन्न कोणबाट बहसहरू भइरहेको छ । सङ्घीयता सुदृढीकरणको लागि तपाईँको सुझाव के छ ?

सङ्घीयता अतिकति महँगो भयो । मेरो विचारमा स्थानीय तहलाई अलि बढी अधिकार दिनुपर्छ । त्यसको मतलव स्थानीय सरकारलाई अधिकार दिइएको छैन भन्ने होइन । तर दिइरहेको अधिकारलाई अलि बढाउनुपर्छ भन्ने हो । बजेट पनि स्थानीय सरकारमा बढी केन्द्रित गर्नुपर्छ । प्रदेशले गर्ने काममा त्यति धेरै फरक परेको छैन । प्रदेशले के नयाँ काम गरेको छ त ? भन्ने कुराहरू पनि उठिरहेको छ । प्रदेश सरकार हुनुपर्छ । तीन तहको संरचना आवश्यक पनि छ । तर त्यसका बारेमा केही विषय सच्याएर, परिमार्जन गरेर जानुपर्छ ।

सुशासनको लागि के गर्न सकिन्छ होला ? सरकारले सुशासनको लागि के गरिरहेको छ ?

सुशासनका लागि सबैले कानुनअनुसारको काम गर्नुपर्छ । मुख्य कुरा जनतालाई समयमै सेवा दिनुपर्छ । जनतालाई दुःख दिने वा आलटाल गर्ने गरी काम गर्नु भएन । जनतालाई छिटोछरितो तरिकाले सेवा दिनुपर्छ । सरकारी काममा विभिन्न ठाउँमा फाइल अड्काउने काम गर्नु भएन । जनताको पक्षमा काम हुनुपर्छ । जुन काम अहिलेको सरकारले गरिरहेको छ । सरकारले पारदर्शी ढङ्गबाट काम गरिरहेको छ । सुशासन कायम गर्न सरकारले काम गर्न सकेन भन्ने विपक्षी दलहरूको भनाइमा कुनै सत्यता छैन । त्यही भएर सरकारले सुशासनलाई अझ प्रवर्द्धन गर्नेगरी अध्यादेश पनि जारी गरेर संसद्मा ल्याएको छ । अध्यादेश स्वीकृत भएपछि सुशासन र विकासका सन्दर्भमा थप कार्य गर्न सकिने विश्वास छ ।

अहिले धेरै युवा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई देशभित्रै रोक्नका लागि सरकारले के गर्नुपर्छ ?

नेपाली युवाको विदेश पलायन रोक्नका लागि देशभित्रै रोजगारी सृजना गर्नुपर्छ र यस काममा सरकारले ध्यान दिइरहेको छ । शिक्षा प्रणालीमा पनि सुधार जरुरी छ । खासगरी रोजगारमूलक शिक्षाका लागि हामीले काम गरिरहेका छौँ । सरकारले उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको छ । अहिलेको कृषि प्रणाली साँझबिहान हातमुख जोर्नेतर्फ मात्र केन्द्रित छ । सरकारले कृषिलाई उद्योगसँग जोड्दै लैजाने नीति लिएको छ । कृषिलाई उत्पादनसँग जोड्ने काम पनि भइरहेको छ । सरकारले सानासाना उद्योगलाई प्राथमिकता दिएको छ । युवा पलायन एकैचोटि रोकिन्छ भन्ने होइन, सरकारले रोजगारी सृजना गरेर युवा पलायन रोक्ने गरी काम गरेको छ । युवा पलायन विस्तारै रोकिन्छ ।

देशको परिवर्तनका लागि सङ्घर्ष गरेर आएका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत मधेसवादी दलहरू विकासका लागि एकीकृत हुँदै एकै ठाउँमा उभिनुपर्ने हो । तर दलहरु सरकार बनाउने र ढाल्ने खेलमा मात्र लागेजस्तो देखिन्छ । एकले अर्कालाई आरोप–प्रत्यारोप मात्रै गरेको देखिन्छ, यो बारेमा तपाईँको धारणा के छ ?

नेपालको सन्दर्भमा निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन भने दलहरू मिलेर सरकार बनाउने बाध्यात्मक अवस्था छ । अहिले देशका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । त्यो भनेको बाध्यात्मक अवस्था हो । यस्तो अवस्थामा बनेको सरकारलाई सफल बनाउन लाग्नुपर्ने हो । तर त्यस्तो गरेको देखिँदैन । सरकारले गरेका राम्रा कामको समर्थन गर्नुपर्ने हो । प्रतिपक्ष दलको आफ्नो भूमिका होला । तर सरकारले गरेका राम्रा कामको पनि विरोध नै गर्नुपर्छ भन्ने हुँदैन । आरोप–प्रत्यारोप गर्नुपर्ने, सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर गलत प्रचार गर्नुपर्ने कुनै कारण छैन । प्रतिपक्ष दलले धैर्यपूर्वक साथमा बस्न सक्नुपर्छ । जे कुरा राख्नुपर्ने हो, त्यो कुरा संसद्मै राखे भइहाल्यो नि । बाहिर किन तथानाम सरकारलाई गाली गर्दै हिड्नुपर्यो ? प्रतिपक्षले निर्वाह गर्नुपर्ने जुन धर्म हो, त्यो नै ननिभाएको पाइन्छ । हामीले सरकार निर्माण गरियो । प्रतिपक्षलाई कुनै आरोप लगाएका पनि छैनौँ र आरोप लगाउनुपर्ने कुनै कारण पनि छैन । सरकारले कसैलाई आरोप लगाउनेभन्दा पनि काममा ध्यान दिइरहेको छ ।

तपाईँ मन्त्री हुँदै गर्दा अब तपाईँको योजना के छ ?

अबका दिनमा पनि मेरो भूमिका भनेको जनतालाई सुशासन दिलाउन प्रयास गर्ने नै हो । जुन अहिले पनि सरकारले दिइरहेको छ । अर्को, विकास निर्माणका कामलाई सरकारले तीव्रता दिएको छ । कानुन निर्माण प्रक्रियामा सक्रियता बढाउने मेरो भूमिका हुन्छ । खासगरी यातायात र पूर्वाधार विकासको क्षेत्रमा सरकारले तीव्रताका साथ काम गरिरहेको छ । राष्ट्रिय महत्वका मुङलिन–पोखरा, नारायणगढ–बुटबल समेतका राष्ट्रिय राजमार्गहरूको निर्माणमा भइरहेको ढिलासुस्ती वा अवरोधलाई हटाएर अहिले धमाधम काम भइरहेको छ र यसका नतिजा चाँडै देखिने अवस्था सृजना भएको छ । बिपी राजमार्ग अस्थायी रूपमा खुलेको छ, तर स्रोतको सुनिश्चितता गरी पुनर्निर्माणको काम सरकारले जतिसक्दो चाँडो सुरु गर्दैछ ।

फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

गोदावरी (कैलाली), २१ फागुनः धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो ।

उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०÷०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६÷८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको छ ।

उपमहानगरपालिकाका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहर सङ्कलन गरेर केन्द्रले फोहर वर्गीकरण गरी बिक्री गर्ने गरिएको छ । बाँकी १० वटा वडामा सरसफाइ अभियानमार्फत व्यापारिक केन्द्रमा डस्बिन राखेर फोहर सङ्कलन गरिरहेको छ ।

प्लास्टिक, फलाम, टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलगअलग वर्गीकरण गरेर बिक्री गर्ने गरिएको उपमहानगरपालिकाले जनाएको छ । कुरकुरे र चाउचाउका प्लास्टिकजन्य नकुहिने फोहर व्यवस्थापनमा समस्या भएको छ । यस्तो फोहरलाई वडाको सिफारिसमा खाली जमिनमा व्यवस्थापन गरिँदै आएको बताउँदै अवस्थीले भन्नुभयो, “सङ्कलित फोहरमध्ये ७० प्रतिशत प्रयोगमा ल्याउने गरिएको छ, सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट बायोग्यास निकालिने गरिएको छ ।”

धनगढी बजार र अन्य वडाका बस्तीबाट २१ वटा ट्रयाक्टरमार्फत कुहिने ठोस र नहुकिने फोहर सङ्कलन गरी केन्द्रमा लगेर कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, दाउरा, विभिन्न किसिमका तार, रेडियो, टिभी, मोबाइललगायत विद्युतीय सामग्री र रबरलाई छुट्याएर राख्ने गरिएको छ । वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन् । उपमहानगरपालिकाले १५ वर्षका लागि वार्षिक रु एक लाख २५ हजारका दरले भाडा तिर्नेगरी दुई बिघा जमिन भाडामा लिई रु ३० लाख लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

बजारबाट सङ्कलित फोहरलाई धनगढी, विराटनगर, भैरहवा र दाङलगायत बजार र केही स्थानीय बजारमा बिक्री गर्दै आइरहेको केन्द्र सञ्चालक हस्तबहादुर शाहले बताउनुभयो । सूक्ष्म वर्गीकरणमा अहिले एक सय ४० जनाले रोजगारी पाएका छन् । केन्द्रको अवलोकनका लागि देशभरका स्थानीय तहका जनप्रतिनिधि आउने गरेका छन् ।

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ, २१ फागुनः थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिनुभयो ।

मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा विशेष धार्मिक अनुष्ठान

काठमाडौँ, २१ फागुनः काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । फागुन २१ गते साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव–हवन, २५ गते तत्वन्यास हवनादिलगायत कार्यक्रम आयोजना गरिनेछ । साथै फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिनुभयो ।

 अनुष्ठान  तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ । रू एक हजार १०० मा साधारण अर्चनादेखि रू सात लाखमा अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ । 

विसं २०२२ मा बैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब रू १६ करोडको लागतमा मन्दिर पुनःनिर्माण गरिएको थियो । मन्दिर पुनःनिर्माणका लागि यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सहयोग गर्नुभएको थियो ।

मन्दिरमा विसं २०२२ देखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचारप्रसार हुँदै आएको छ । वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेको छ । मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराउनुभयो ।

दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१औँ पीठाधिपति जगद्गुरू श्री १००८ मधुरकवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महासंप्रोक्षण कार्यक्रम हुनेछ ।

फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ । २२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुनेछ ।

फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुवेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुनेछ । फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुनेछ । अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य सम्भावना र तदीयाराधना रहेको जनाइएको छ ।

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम, २१ फागुनः रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।

सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन् ।

बाँदरले दुःख दिएर खेती गर्न मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उहाँले बारीभरि बेसार लगाउनुभएको छ । “एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी फल्यो । बाँदरले दुःख नदिने रहेछ । बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ”, गुरुङले भन्नुभयो, “४० केजी एक हजार छ सयका दरले बिक्री भयो ।” पहिले–पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोप्नुभएको थियो । मनग्य उत्पादन भएपछि उत्साहित उहाँहरुले खेती विस्तार गर्ने योजना सुनाउनुभयो ।
सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर सङ्कलन केन्द्र तोकेको छ । त्यहाँबाट रु ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार गरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताउनुभयो । ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारी नै गर्दै आएको छ । “धेरैले सहकारी संस्थाको कार्यालयमा आएर समेत लैजान्छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ ।”

वन्यजन्तुको आक्रमणमा परी चितवनमा १० जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

निकुञ्जले मृतकका परिवारलाई रु १० लाख र घाइतेको उपचारका लागि रु दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म रु ९४ लाख ६१ हजार नौ सय ३१ राहतस्वरुप प्रदान गरिएको उनले बताए । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नुपरेको उनले बताए । उनले भने, “निकुञ्जभित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूकीकरण गर्न सकिन्छ ।” अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको उनले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परबर (तराई) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु ९०, झिगुनी प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १६०, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु १२०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ५०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५०, कुरिलो प्रतिकेजी रु १,२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, कोइरालो प्रतिकेजी रु ५५०, रातो बन्दा प्रतिकेजी रु ५०, जिरीको साग प्रतिकेजी रु ५०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ८०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु १५०, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २५०, स्याउ (फूजी) प्रतिकेजी रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु २३०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १५०, तरबुजा (हरियो), प्रतिकेजी रु ६०, मौसम प्रतिकेजी रु २००, जुनार प्रतिकेजी रु १५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ११०, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ३५०, किबी प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १००, खुर्सानी सुकेको प्रतिकेजी रु ३३०, खुर्सानी हरियो प्रतिकेजी रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ५०, हरियो धनिया प्रतिकेजी रु ३५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २८०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २३०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुने छ ।

मातृभूमि पार्टीले सडक तताउँदै, कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध झाडुकुचो

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसरमा कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा मातृभूमि जन–जागारण तथा झाडुकुचो प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार राजधानीको माइतिघर मण्डलामा सो पार्टीले नारबाजीसहित झण्डा,प्लेकार्ड र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको हो ।

पार्टीका अध्यक्ष रामशरण पाण्डेले सडकमा बनाएको नेपालको नक्सामा भएको फोहोर(कुशासन र भ्रष्टाचारको प्रतिक)लाई झाडुकुचो लगाएर सफा गरेका थिए । सो प्रदर्शनलाई अध्यक्ष पाण्डेले सम्बोधन गर्दै वर्तमान संसदिय व्यवस्था कुशासन, भ्रष्टाचार तथा बेथितिको फोहररुपी डंगुरको संज्ञा दिएका थिए । सोही व्यवस्थाको जगमा विदेशीको आडमा बनेको वर्तमान ओली सरकार त्यसैको मतियार भएको बताउँदै पाण्डेले भने,“देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नुको विकल्प छैन ।”

सो पार्टीका वरिष्ठ नेता केवी लिम्बुले आफूहरुले सुरु गरेको मातृ भूमि जन– जागरण अभियानलाई निकट भविष्यमा निर्णायक संघर्षमा परिणत गर्ने ठोकुवा गरे ।

पार्टीका उपाध्यक्ष तथा अर्थविद टुलराज वस्यालले पछिल्लो सरकारले वैदेशीक ऋण थुपारेर आफू वरिपरिका मान्छेहरुलाई पोषेर भ्रष्टाचारलाई बढावा दिइरहेकोले यसको विकल्प खोज्नु पर्ने धारणा राखे ।

सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले देशको गौरवशाली इतिहासलाई पछिल्ला शासकहरुले धुमिल गर्दै लगेको र त्यसको मुख्य कारण नै संसदिय व्यवस्था र कुशासन भएको बताए । वीर गोरखाली, सगरमाथा र गौतम बुद्धको देश भनेर विश्वमा प्रख्र्यात मुलुक आज भ्रष्ट नेताहरुको कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपाल भ्रष्ट र ठगहरुको मुलुककोरुपमा चित्रित हुनु चिन्ताको विषय भएको बताउँदै गिरीले भने,“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सहयोगमा ठगि भएको’ भन्नुले देशको अन्तराष्ट्रिय बेइजत भएको छ ।” “संघीयताका नाममा, धर्मका नाममा देश र जनतालाई विभाजित गर्न कुनै पनि देशको सहयोग लिन हुन्न, हाम्रो देश आफ्नै स्रोत र साधनले बनाउन सकिन्छ ।” गिरीले थपे । उनले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने र सम्पत्ति सुद्धिकरण कानुन लागु गरे देश ग्रे लिस्टमा पनि नपर्ने तथा १०औँ वर्षलाई देश सञ्चालन गर्न पुग्ने बजेट सहजै उपलब्ध हुने बताए ।

सो कार्यक्रममा केन्द्रीय नेता भगवाती पौडेल, जनकवी भोला बरालले कविता वाचन, भिमशेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठको नाटक साथै कृष्ण भक्त महर्जनले व्यङ्ज्ञात्मक नृत्य प्रश्तुत गरेका थिए । सो कार्यक्रममा युवा मातृभूमी शक्ति(युमाश)का संयोजक सविन,पार्टीका युवा नेता आर.के ढकाल, पार्टीका सचिव यज्ञप्रसाद वस्याल, पार्टीका कोषाध्यक्ष केशवराज भट्टराई, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापा, लक्ष्मण फुयाल र अन्जना शाहीलगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई उप–महासचिव लक्ष्मिदत्त भट्टले सञ्चालन गरेका थिए ।

इयु शिखर सम्मेलनअघि हङ्गेरीका ओर्बनले म्याक्रोनलाई भेट्ने

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले युक्रेनलाई समर्थन गर्ने संयुक्त कार्यलाई सुदृढ पार्ने उद्देश्यले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलनको एक दिनअघि बुधबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भेट्ने बताउनुभएको छ ।

ओर्बानको यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता आपूर्ति निलम्बन गर्ने आदेश दिएपछि आएको हो । उक्त आदेशले अमेरिका आफ्ना सहयोगीहरूबाट हट्दै र मस्कोतर्फ बढ्दै छ भन्ने डर युक्रेन र धेरै युरोपेली राजधानीहरूमा बढाएको छ ।

इयुमा ट्रम्प र मस्कोका नजिकका सहयोगीहरू मध्ये एक ओर्बनले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर हालैका दिनहरूमा ‘ट्रान्सअटलान्टिक फाटो’ स्पष्ट भएको बताउनुभयो ।   “म भोलि पेरिसमा फ्रान्सका राष्ट्रपतिसँग भेट गर्दैछु”, राष्ट्रवादी नेताले मङ्गलबार मिडिया ब्रिफिङमा युक्रेनको युद्ध छलफलको विषय हुने सङ्केत गर्दै भन्नुभयो, “अमेरिकी राष्ट्रपति चुनावले अटुट बनाएको एक स्पष्ट रणनीतिक भिन्नता छ... केहीले युद्ध चाहन्छन् र केहीले शान्ति । यो चुनौती हामीले बिहीबार सामना गर्नुपर्नेछ । मेरा लागि बुधबार नै ।”

उहाँले सप्ताहन्तमा लन्डनमा युक्रेनको पक्षमा एकजुट हुन भेला भएका युरोपेली नेताहरूमाथि ‘युक्रेनमा युद्ध जारी राख्नुपर्छ’ भन्ने निर्णय गरेको आरोप लगाउनुभयो ।  आइतबारको सङ्कट शिखर सम्मेलनपछि, म्याक्रोनले फ्रान्स र बेलायतले ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराम प्रस्ताव गरेको बताउनुभयो । हालको चरणमा भूमि युद्धलाई यसले समेटेको छैन ।     उक्त शिखर सम्मेलनमा हङ्गेरीलाई आमन्त्रित गरिएको थिएन ।

अमेरिकाले हतियार आपूर्ति रोकेपछि प्रतिरोध जारी राख्ने युक्रेनको प्रतिज्ञा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले मङ्गलबार रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिले ओभल कार्यालयमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग एक अविस्मरणीय सार्वजनिक झगडा भएको केही दिनपछि किएभलाई सैन्य सहायता स्थगित गर्नुभएको छ ।

“हामी प्रतिरोध जारी राख्न सबै कुरा गर्नेछौँ”, प्रधानमन्त्री डेनिस स्मिगालले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो । सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता वासिङ्टन युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक रहँदै आएको छ । प्रधानमन्त्री स्मिगालले अमेरिकी सहायता वायु रक्षा र खुफिया आदान–प्रदानका रूपमा ‘हजारौँ, सम्भवतः दशौँ हजार युक्रेनीको जीवन बचाउने’ भएको बताउनुभयो ।

युक्रेनले युरोपसँग खाली ठाउँ भर्न वार्ता गरिरहेको र हतियार रोक्ने विषयमा ट्रम्पसँग वार्ता गर्न चाहेको बताएको छ ।    “हामीले हाम्रा युरोपेली साझेदारहरूसँग विकल्पहरूमा छलफल गरिरहेका छौँ र निस्सन्देह हामी हाम्रा अमेरिकी समकक्षहरूसँग वार्ताको सम्भावनालाई बेवास्ता गरिरहेका छैनौँ”, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले एक्समा भन्नुभयो ।

स्मिगालले भन्नुभयो, “युक्रेन अमेरिकासँग सहयोग जारी राख्न पूर्ण रूपमा कटिबद्ध छ ।”   यसमा संयुक्त राज्य अमेरिकालाई युक्रेनको खनिज र प्राकृतिक स्रोतहरूमा प्राथमिक पहुँच दिन रद्द गरिएको सम्झौतामा हस्ताक्षर गर्नु समावेश रहेको उहाँले बताउनुभयो ।

सहायता रोकावटमा अहिलेसम्म सार्वजनिक टिप्पणी नगर्नुभएका जेलेन्स्की उक्त सम्झौतामा हस्ताक्षर गर्न वासिङ्टन जानुभएको थियो तर त्यो ट्रम्प र उपराष्ट्रपति जेडी भान्सँगको द्वन्द्वपछि रद्द गरियो ।

अमेरिकी समर्थनको महत्त्वलाई जोड दिँदै स्मिगालले मङ्गलबार वासिङ्टनबाट सुरक्षा ग्यारेन्टी युक्रेन र युरोप दुवैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।  “हामीलाई संयुक्त राज्य अमेरिका, युरोप र जी–७ देशहरूबाट ठोस सुरक्षा ग्यारेन्टीहरू चाहिन्छ र माग्छौँ । यो युक्रेनका लागि मात्र नभई युरोपेली सङ्घ, युरोपेली महादेशका लागि पनि अस्तित्वगत रूपमा महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

स्मिगालले सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एउटा प्याट्रियट एयर डिफेन्स सिस्टम र गोलाबारुदको आपूर्ति हुनसक्ने बताउनुभयो । “प्याट्रियट प्रणालीहरू अहिलेसम्मको एक मात्र प्रणाली हो जुन रूसी ब्यालेस्टिक मिसाइलहरूसँग लड्न सक्षम छ”, उहाँले भन्नुभयो ।   युक्रेनले युद्धको सुरुआती चरणमा महिनौँसम्म वासिङ्टन र आफ्ना सहयोगीहरूलाई आफ्नो आकाश र सहरहरूलाई रुसी हवाई आक्रमणबाट बचाउन प्याट्रियट ब्याटरीहरू पठाउन अनुरोध गरेको थियो ।

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा, २१ फागुनः धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए ।

काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा मुटु फाउन्डेसनले आयोजना गरेको शिविरमा एक सय १७ जनाको पाठेघरको मुखको क्यान्सरको ‘भिआइए’ जाँच गरिएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । शिविरमा पाठेघर खस्ने समस्या भएका १० जनामा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको थियो ।

आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौँ, २१ फागुनः अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तरराष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।

यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसङ्घको विश्वास छ । निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसङ्घीय कार्यालय (युएनओडिए)को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटेरेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताउनुभएको छ ।

विश्व शान्ति र निःशस्त्रीकरणका लक्ष्य हासिल गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको युएनओडिएको एसिया प्रशान्त कार्यालय काठमाडौँमा रहेको छ । यो कार्यालयको तत्वावधानमा आज यहाँ निःशस्त्रीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना हुने जनाइएको छ ।

भारतीय सहयोगमा निर्माणहुने राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको शिलान्यास

काठमाडौँ-भारत सरकारको सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ । उक्त भवनको लसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । कार्यक्रममा उपमहानगरका प्रमुख तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गर्नुभएको थियो ।

उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु चार करोड ३३ लाख परियोजना लागतमा भवन निर्माण सुरु गरिएको हो । भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधा निर्माण हुने दूतावासले जनाएको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन भइरहेको छ । 

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइएका छन् । जम्मा ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका र यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् ।