`

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

धरान (सुनसरी) २३ फागुन : करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ ।

इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्कनुभएको हो । उहाँले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गर्नुभएको थियो । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उहाँ बताउनुहुन्छ ।

आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भन्नुभयो, “विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गराँै भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरेँ ।”

गाईबाख्राबाट व्यवसाय सुरू गर्नुभएका उहाँले पछिल्लो समय मौरीपालन सुरू गर्नुभएको छ । अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उहाँ भन्नुहुन्छ । “यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन”, उहाँले भन्नुभयो, “अहिले यही व्यवसायबाट वार्षिक रूपमा रू आठदेखि नौ लाखसम्म कमाइ हुने गरेको छ, घरव्यवहार सबै यही कमाइले पुगेको छ ।”

व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै । गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उहाँको बुझाइ छ । “अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु”, मनराज भन्नुहुन्छ ।

उहाँले अगाडि भन्नुभयो, “विदेशमा गएर अर्काको दुःख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने ।”

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदार राख्नुभएको थियो । गाउँमै रोजगार दिन पाउँदा आफूलाई गर्व महसुस भएको उहाँ बताउनुहुन्छ । “आठ वर्षदेखि उहाँहरूले काम गर्दै आउनुभएको छ, महिनामा रू २२ हजार काम गरेबापतको तलब दिने गरेको थिए”, पुरीले भन्नुभयो, “पछिल्लो केही महिनाअघि उहाँहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ ।”

“गाई र खसीबाख्रालाई दिने घासको खासै दुःख छैन, आफँैले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ”, उहाँले भन्नुभयो, “एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छाँै । त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दुःख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन ।” उहाँका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ ।

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गर्नुभएको छ । अहिले उहाँसँग ४० घार बढी मौरी रहेका छन् । उहाँले भन्नुभयो, “सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु ।”

“मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु”, उहाँले भन्नुभयो, “मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ ।” फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उहाँ अनुभव सुनाउनुहुन्छ ।

मनराजले मौरीको घार गोटाको रू १४ हजारमा खरिद गरेर पालिरहनुभएको छ । एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु ।”

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ । गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उहाँको अनुभव छ । अहिले उहाँले मह प्रतिकेजि रू सात सय ५० देखि रू एक हजारसम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताउनुभयो ।

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ । लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ । राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उहाँको भनाइ छ ।

बेइजिङ+३० समीक्षामा नेपालले १२ क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौँ, २३ फागुन : संयुक्त राष्ट्रसङ्घले अमेरिकाको न्युयोर्कमा आयोजना गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । आउँदो मार्च १० देखि २५ तारिखसम्म समीक्षा कार्यक्रम हुने जनाइएको छ ।

नेसनल नेटवर्क फर बेइजिङ समीक्षा नेपाल (एनएनबीएन) र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नागरिक समाजको तर्फबाट तयार पारेको प्रतिवेदन न्युयोर्कमा प्रस्तुत गरिने भएको हो ।

बेइजिङ+३० समीक्षामा प्रस्तुत गर्ने प्रतिवेदनबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा मञ्चकी अधिवक्ता बिनु लामाले प्रतिवेदनमा समावेश विषयवस्तुबारे जानकारी दिनुभयो । कार्यक्रममा प्रतिवेदन कसरी तयार पारिएको थियो भन्नेबारे भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनमा १२ वटा एजेन्डा पहिचान गरेर चार भागमा विभाजन गरिएको छ । बयासी पेजको उक्त प्रतिवेदनमा महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिका लागि संस्थागत संरचना, महिला र सशस्त्र द्वन्द्व, महिलाविरुद्धको हिंसा र बालिका सरोकारका क्षेत्र समेटिएको छ ।

सहभागीहरूले यौनकर्मी महिलाको मानवअधिकार र आप्रवासी महिलाको विषय प्रतिवेदनमा छुटेको उल्लेख गरेका थिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले समीक्षा प्रतिवेदनमा सबै कुरा समेटिएको बताउनुभयो । बेइजिङ+३० समीक्षामा सन् २०३० दिगो विकासका एजेन्डा र अन्य विश्वव्यापी लैङ्गिक समानताका प्रतिबद्धताको कार्यान्वयनलाई बलियो बनाउने अवसर हुने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री शशि श्रेष्ठले प्रतिवेदन तयार पार्दा राजनीतिक तहमा रहेका नीति निर्मातालाई राखेको भए अझ सशक्त हुने बताउनुभयो । जति छलफल र वादविवाद गर्ने हो, त्यो नेपालमै सीमित राख्न उहाँले अनुरोध गर्नुभयो । विदेशमा गएर नेपालको छारो नउडाउन उहाँले आग्रह गर्नुभयो । “हाम्रो समस्या हामीले नै हो समाधान गर्ने, अरुले गर्दिदैनन्, त्यसैले हाम्रो समस्या हामीबीच नै छलफल गर्नुपर्छ”, नेतृ श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा गैरसरकारी संस्था नेटवर्ककी अध्यक्ष प्रा डा शशि अधिकारीले नागरिक समाजको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनले धेरै कुरा समेटेको बताउनुभयो । संविधानले नै महिलालाई विभेद गरेको हुनाले ऐन संशोधनमै समस्या भएको उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले नेपालले महिला हिंसाविरुद्ध महत्त्वपूर्ण प्रगति गरेको बताउनुभयो । बेइजिङ+३० समीक्षामा बुझाइने प्रतिवेदनले महिला सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो । नेपालमा अझै पनि महिला अधिकारका क्षेत्रमा अवसर र चुनौती रहेको उल्लेख गर्दै फर्नान्डेजले भन्नुभयो, “महिलाको क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले मिलेर काम गर्ने छ ।”

महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)की सदस्य बन्दना राणाले यौन र हिंसाविरुद्धको लडाइँले धेरै चरण पार गरिसकेको बताउनुभयो । अहिलेको मूल समस्या भनेको निर्णायक तहमा महिलाको कम सहभागिता रहेको उहाँको भनाइ छ । मानवअधिकारमा आधारित आर्थिक सशक्तीकरण आजको आवश्यकता रहेकामा राणाले जोड दिनुभयो ।

प्रत्येक पाँच वर्षमा संयुक्त राष्ट्रसङ्घले समीक्षा कार्यक्रम आयोजना गर्छ । यो समीक्षा ६९औँ सत्र हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले लैङ्गिक समानतामा वकालत गर्नेहरूसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरूको समस्यालाई सरकार र समाजको ध्यानाकर्षण गराउने मौका बेइजिङ+३० समीक्षाले दिने बताउनुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ११ पैसा र बिक्रीदर २० रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रौतहटका १० वटा अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

बिहीबार रौतहटको गरुडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिएका हुन् । गरुडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले गरुडा–५ शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

अनुगमन गरेका सबै अस्पताल अवैध रहेको ठाकुरले जानकारी दिए । शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शय्याको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको उनले जानकारी दिए । नगरपालिकाबाट १५ शय्याको मात्रै अनुमति दिने व्यवस्था छ ।

गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।

‘हामी एक्लो छैनौँ’ : सङ्कट शिखर सम्मेलनमा युरोपलाई धन्यवाद दिँदै जेलेन्स्की

युरोपेली सङ्घ (इयु) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको किएभ र उहाँका ट्रान्सअटलान्टिक साझेदारहरूबाट टाढा हुने निर्णयको सामना गर्न सङ्कट वार्ता सुरु गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपेली सङ्घ (इयु) का नेताहरूलाई युक्रेनको साथमा उभिएकामा धन्यवाद दिनुभएको छ ।

बिहीबारको शिखर सम्मेलनमा इयुका सबै २७ सदस्य राष्ट्रका नेताहरू गत हप्ता ट्रम्प र जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि पहिलो पटक एकसाथ आएका छन् । त्यसयता वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझेदारी निलम्बन गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।

“हामी धेरै आभारी छौँ कि हामी एक्लै छैनौँ । र यी केवल शब्दहरू मात्र होइनन्”, इयुका प्रमुखहरू उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाको साथमा उभिँदै युक्रेनी राष्ट्रपतिले वार्ता सुरु हुँदा पत्रकारहरूलाई भन्नुभयो ।

युरोपको सुरक्षाका लागि अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले शङ्कामा परेको छ र इयु यस क्षणको सामना गर्न दबाबमा छ । यसै हप्ता जर्मनीका सम्भावित अर्का नेताले रक्षामा ऐतिहासिक यु–टर्नको प्रतिज्ञा गर्नुभएको छ ।

“यो युरोपका लागि एउटा निर्णायक क्षण हो”, भोन डेर लेयनले भन्नुभयो । उहाँले रुसको खतराको सामना गर्न ‘युरोपलाई पुनः हतियारबन्द गर्न’ आठ खर्ब युरो जुटाउने उद्देश्यले एक योजना प्रस्तुत गर्नुभएको छ ।

“युरोपले स्पष्ट र वर्तमान खतराको सामना गरिरहेको छ, त्यसैले युरोपले आफ्नो रक्षा गर्न सक्षम हुनुपर्दछ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “यो युक्रेनका लागि पनि निर्णायक क्षण हो, हामीले युक्रेनलाई आफ्नो रक्षा गर्ने र स्थायी र न्यायपूर्ण शान्तिका लागि दबाब दिने स्थितिमा राख्नुपर्छ ।”

नेताहरूले बिहीबार आयोगको रक्षा योजनाहरूलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । यो मुख्य रूपमा राज्यहरूलाई धेरै खर्च गर्न स्वतन्त्र बनाउनेमा आधारित छ जुन इयुका दुई आर्थिक शक्तिशाली देशले गर्ने सम्भावना रहेको छ ।

शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक गम्भीर राष्ट्रिय सम्बोधनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘नयाँ युग’ को सामना गर्न रक्षा खर्चमा वृद्धि गर्न आह्वान गर्नुभयो र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्नेबारे छलफल गर्ने बताउनुभयो ।

“आजको यो रुस युक्रेनमा रोकिनेछ भनेर कसले विश्वास गर्न सक्छ ?” म्याक्रोनले प्रश्न गर्नुभयो, “म विश्वास गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका हाम्रो पक्षमा रहनेछ, तर हामी त्यस्तो नहुनका लागि तयार हुनुपर्छ ।”

वार्ताअघि ब्रसेल्समा इयु प्रमुखहरूसँग छलफल गर्नुभएका जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मेर्जले आफूलाई ‘सबैभन्दा खराब परिस्थिति’ का लागि तयार रहेको घोषणा गर्नुभएको छ र जर्मन रक्षा खर्च बढाउन आमूल सुधारहरू अँगाल्नुभएको छ ।

– इच्छुकहरूको गठबन्धन –

जेलेन्स्कीको ब्रसेल्स भ्रमण ह्वाइट हाउसमा भएको विवादपछि वासिङ्टनसँग पुनः सम्बन्ध स्थापित गर्न हतारिएको बेला आएको छ –– उहाँले ट्रम्पको ‘बलियो नेतृत्व’ अन्तर्गत शान्ति सम्झौताको दिशामा काम गर्न र युक्रेनी खनिज स्रोतहरूमा अमेरिकी पहुँचको सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको घोषणा गर्नुभयो ।

तर जर्मनीका निवर्तमान नेता ओलाफ स्कोल्जले युक्रेनमा कुनै पनि ‘थोपरिएको शान्ति’ विरुद्ध युरोपेली चेतावनीहरू दोहोर्‍याउनुभयो । भविष्यको सम्झौताले किएभको ‘सार्वभौमिकता र स्वतन्त्रता’ को ग्यारेन्टी गर्नुपर्ने उहाँले बताउनुभयो ।

किएभ र यसका युरोपेली साझेदारहरू दुवैलाई किनारा लगाउँदै तीन वर्षे युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्पर्कले युरोपलाई सङ्कटको मोडमा धकेलेको छ किनकि यसले अमेरिकी सुरक्षा सहयोगको थप स्थायी फिर्ता लिने सम्भावनाबारे विचार गरिरहेको छ ।

यसले युरोपेली सङ्घबाट बाहिरिएको पाँच वर्षपछि बेलायतलाई युरोपेली सङ्घमा फिर्ता ल्याउन पनि मद्दत गरेको छ । अब प्रधानमन्त्री किर स्टार्मरले म्याक्रोनसँग मिलेर ट्रम्प र जेलेन्स्कीबीचको पुल पुनर्निर्माण गर्न काम गरिरहनुभएको छ ।

स्टार्मर र अन्य युरोपेली नेताहरूले लन्डनमा भएको सप्ताहन्त वार्तामा जेलेन्स्कीलाई अँगालो हाल्नुभयो । उक्त वार्ताले नाटोका महासचिव र टर्की जस्ता गैर–युरोपेली सङ्घका साझेदारहरूलाई पनि भित्र्यायो । युरोपेली सङ्घका प्रमुखहरूले शुक्रबार ब्रसेल्स वार्ताका बारेमा बेलायती प्रधानमन्त्रीलाई जानकारी दिनेछन् ।

फ्रान्स र बेलायतले ‘हवाई, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराम प्रस्ताव गरेका छन् र भविष्यको युद्धविराम सुरक्षित गर्न मद्दत गर्न ‘इच्छुकहरूको गठबन्धन’ का लागि आह्वान गरिरहेका छन् । टर्कीले बिहीबार शान्ति स्थापना प्रयासहरूमा भूमिका खेल्नसक्ने सङ्केत दिएको छ ।

ब्रसेल्सका नेताहरूले शान्ति सम्झौताका लागि ब्लकले के ‘सुरक्षा ग्यारेन्टी’ प्रदान गर्न सक्छ भनेर अझ व्यापक रूपमा विचार विमर्श गर्न सुरु गर्नेछन् । यसमा युरोपेली सैनिकहरूको तैनाथी समावेश हुनसक्छ, जुन केही राज्यहरूले समर्थन गर्छन् तर रुसले बिहीबार यसलाई स्वीकार नगर्ने कुरा दोहोर्‍याएको छ ।

जेलेन्स्कीले समर्थनको बलियो सङ्केतको अपेक्षा गर्न सक्नुहुन्छ । यद्यपि यो बैठकले किएभका लागि यस वर्ष ब्लकले पहिले नै प्रतिबद्ध गरेको ३० अर्ब युरो (३२ अर्ब डलर) भन्दा बढी सहायताको प्रमुख नयाँ घोषणाहरू प्राप्त गर्ने सम्भावना छैन । अमेरिकाले सहायता रोक्का गरेको भए पनि युरोपसँग हाल किएभको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध पर्याप्त पैसा छ भनी धेरै राज्यले तर्क गर्छन् ।

अस्ट्रेलियाली वैज्ञानिकहरूले पत्ता लगाए विश्वको सबैभन्दा पुरानो उल्का क्रेटर

बिहीबार प्रकाशित एक अध्ययन अनुसार अस्ट्रेलियाका वैज्ञानिकहरूले विश्वको सबैभन्दा पुरानो ज्ञात उल्कापिण्ड प्रभाव क्रेटर पत्ता लगाएका छन् । यसले जीवनको उत्पत्ति र पृथ्वीको बारेमा बुझाइलाई पुनः आकार दिनसक्छ ।

“उत्तरपश्चिमी अस्ट्रेलियाको दुर्गम भागमा फेला परेको क्रेटरले हाम्रो ग्रहको प्राचीन इतिहासका बारेमा अघिल्लो धारणाहरूलाई उल्लेखनीय रूपमा चुनौती दिएको छ”, कर्टिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एक रिपोर्टमा भनेका छन् ।

टोलीले उत्तरी ध्रुव गुम्बजमा चट्टानका तहहरूको अनुसन्धान गर्‍यो र साढे तीन अर्ब वर्ष पहिले एउटा ठूलो उल्कापिण्डको प्रभावको प्रमाण फेला पार्‍यो ।

“हाम्रो खोजभन्दा पहिले सबैभन्दा पुरानो प्रभाव क्रेटर दुई अर्ब २० करोड वर्ष पुरानो थियो, त्यसैले यो पृथ्वीमा अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो ज्ञात क्रेटर हो”, अध्ययनका सह–प्रमुख प्रोफेसर टिम जोनसनले भन्नुभयो ।

सह–प्रमुख लेखक प्रोफेसर क्रिस किर्कल्यान्डका अनुसार यस खोजले उल्काहरूले पृथ्वीको प्रारम्भिक वातावरणलाई कसरी आकार दिए भन्ने बारेमा नयाँ प्रकाश पारेको छ ।

“यो प्रभाव पत्ता लगाउनु र समान समयावधिबाट अझै धेरै फेला पार्नुले जीवनको सुरुआत कसरी भएको हुन सक्छ भन्ने बारेमा धेरै कुरा बताउन सक्छ, किनकि प्रभाव क्रेटरहरूले सूक्ष्म जीवनका लागि तातो पानीका पोखरीहरू जस्ता अनुकूल वातावरण सिर्जना गरे”, किर्कल्यान्डले भन्नुभयो, “यसले क्रष्ट निर्माणको हाम्रो बुझाइलाई पनि आमूल रूपमा परिष्कृत गर्छ –– यस प्रभावबाट आएको अत्यधिक ऊर्जाले प्रारम्भिक पृथ्वीको क्रष्ट आकार दिनमा भूमिका खेलेको हुन सक्छ ।”

यो उल्कापिण्ड ३६ हजार किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा यस क्षेत्रमा ठोक्किएको अनुमान गरिएको छ, जसको परिणामस्वरूप एक सय किलोमिटरभन्दा बढी चौडाइको खाडल बनेको छ र यसले विश्वभर उडिरहेको भग्नावशेष पठाएको हुनसक्छ ।

“अहिलेसम्म कुनै पनि साँच्चै प्राचीन क्रेटरहरूको अनुपस्थितिको कारण तिनीहरूलाई भूगर्भशास्त्रीहरूले मोटामोटी बेवास्ता गरेका छन्”, जोन्सनले भन्नुभयो, “यो अध्ययनले पृथ्वीको प्रभाव इतिहासको एक महत्त्वपूर्ण टुक्रा प्रदान गर्छ र समयसँगै पत्ता लगाउन सकिने धेरै अन्य प्राचीन क्रेटरहरू हुन सक्छन् भन्ने सुझाव दिन्छ ।”

बिहीबार प्रकाशित एक अध्ययन अनुसार अस्ट्रेलियाका वैज्ञानिकहरूले विश्वको सबैभन्दा पुरानो ज्ञात उल्कापिण्ड प्रभाव क्रेटर पत्ता लगाएका छन् । यसले जीवनको उत्पत्ति र पृथ्वीको बारेमा बुझाइलाई पुनः आकार दिनसक्छ ।

“उत्तरपश्चिमी अस्ट्रेलियाको दुर्गम भागमा फेला परेको क्रेटरले हाम्रो ग्रहको प्राचीन इतिहासका बारेमा अघिल्लो धारणाहरूलाई उल्लेखनीय रूपमा चुनौती दिएको छ”, कर्टिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एक रिपोर्टमा भनेका छन् ।

टोलीले उत्तरी ध्रुव गुम्बजमा चट्टानका तहहरूको अनुसन्धान गर्‍यो र साढे तीन अर्ब वर्ष पहिले एउटा ठूलो उल्कापिण्डको प्रभावको प्रमाण फेला पार्‍यो ।

“हाम्रो खोजभन्दा पहिले सबैभन्दा पुरानो प्रभाव क्रेटर दुई अर्ब २० करोड वर्ष पुरानो थियो, त्यसैले यो पृथ्वीमा अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो ज्ञात क्रेटर हो”, अध्ययनका सह–प्रमुख प्रोफेसर टिम जोनसनले भन्नुभयो ।

सह–प्रमुख लेखक प्रोफेसर क्रिस किर्कल्यान्डका अनुसार यस खोजले उल्काहरूले पृथ्वीको प्रारम्भिक वातावरणलाई कसरी आकार दिए भन्ने बारेमा नयाँ प्रकाश पारेको छ ।

“यो प्रभाव पत्ता लगाउनु र समान समयावधिबाट अझै धेरै फेला पार्नुले जीवनको सुरुआत कसरी भएको हुन सक्छ भन्ने बारेमा धेरै कुरा बताउन सक्छ, किनकि प्रभाव क्रेटरहरूले सूक्ष्म जीवनका लागि तातो पानीका पोखरीहरू जस्ता अनुकूल वातावरण सिर्जना गरे”, किर्कल्यान्डले भन्नुभयो, “यसले क्रष्ट निर्माणको हाम्रो बुझाइलाई पनि आमूल रूपमा परिष्कृत गर्छ –– यस प्रभावबाट आएको अत्यधिक ऊर्जाले प्रारम्भिक पृथ्वीको क्रष्ट आकार दिनमा भूमिका खेलेको हुन सक्छ ।”

यो उल्कापिण्ड ३६ हजार किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा यस क्षेत्रमा ठोक्किएको अनुमान गरिएको छ, जसको परिणामस्वरूप एक सय किलोमिटरभन्दा बढी चौडाइको खाडल बनेको छ र यसले विश्वभर उडिरहेको भग्नावशेष पठाएको हुनसक्छ ।

“अहिलेसम्म कुनै पनि साँच्चै प्राचीन क्रेटरहरूको अनुपस्थितिको कारण तिनीहरूलाई भूगर्भशास्त्रीहरूले मोटामोटी बेवास्ता गरेका छन्”, जोन्सनले भन्नुभयो, “यो अध्ययनले पृथ्वीको प्रभाव इतिहासको एक महत्त्वपूर्ण टुक्रा प्रदान गर्छ र समयसँगै पत्ता लगाउन सकिने धेरै अन्य प्राचीन क्रेटरहरू हुन सक्छन् भन्ने सुझाव दिन्छ ।”

बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी, २२ फागुनः बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो ।
धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताउनुभयो । उहाँले गत वर्ष पनि दीप प्रज्वलन गरिएको उल्लेख गर्दै आगामी वर्ष यसलाई अन्तरराष्ट्रियस्तरको बनाउने योजना रहेको बताउनुभयो । दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाको सहभागिता रहने जनाइएको छ ।

बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताउनुभयो । उहाँले बौद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सहआयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गर्ने हुनेभएको हो । धम्मयात्रामा लुम्बिनीमा भइरहेको पाँच सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन् । भैरहवाको रङ्गशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।

यस्तै सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।

लुम्बिनीमा अहिले पाँच सय जनाको प्रवज्या र चौथो अन्तरराष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते उनीहश्रलाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।

एपिएफ महिला गोल्डकपको फाइनलमा

मङ्गलबारे (इलाम), २२ फागुनः नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६आँै मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

प्लेयर अफ द म्याच एपीएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद रु पाँच हजार र ट्रफी प्राप्त गरिन् । यही फागुन २४ गते हुने फाइनलमा आर्मी र एपीएफबीच हुनेछ ।

अध्यक्ष बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ

काठमाडौँ, २२ फागुनः जिल्ला अदालत काठमाडौँले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल रहेको अदालतले व्याख्या गरेका छ । 

जनता टाइम्स अनलाइमा प्रकाशित समाचारका विषयलाई लिएर अध्यक्ष बस्नेतमाथि उक्त मुद्दा दायर गरिएको थियोे । अदालतले सोही मुद्दाका अर्का प्रतिवादी गणेश विकको हकमा भने पछि सजाय निर्धारण हुनेगरी कसुरदार ठह¥याएको छ ।

नेपालले जलवायुबाट प्रभावित देशहरूको आवाजको प्रतिनिधित्व गर्छ : मन्त्री ठकुरी

काठमाडौँ, २२ फागुन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘विश्व दिगो विकास सम्मेलन–२०२५’लाई आज सम्बोधन गर्दै मन्त्री ठकुरीले नेपालजस्ता जलवायुका हिसाबले अत्यन्त संवेदनशील पर्वतीय देश र अल्प विकसित देशलाई जलवायु सङ्कट न्यूनीकरणका लागि गरिने लगानीको आवश्यकता तथा अहिलेको वित्तिय अन्तर बारेमा ध्यानाकर्षण गराउनुभयो ।

नेपाल प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता, जलस्रोत र हिमालयन श्रङ्खलाका मनमोहक परिदृश्यको धनि देश भएको उल्लेख गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणाली, अर्थव्यवस्था र सामाजिक प्रणालीमा गम्भीर सङ्कटको सामना गर्नुपरिरहेको बताउनुभएको उहाँका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले राससलाई जानकारी दिनुभयो ।

“हाम्रा हिमाली भेगबाट उत्पत्ति हुने हिमनदी द्रुत गतिमा पग्लिरहेका छन् जसले दक्षिण एसियाको पानी र ऊर्जा सुरक्षालाई खतरामा पार्दै गएको छ । सन् २०२१ देखि सन् २०२४ सम्म जलवायुजन्य विपद्का कारण नेपालले अनुमानित एक अर्ब अमेरिकी डलरको प्रत्यक्ष आर्थिक नोक्सान व्यहोरेको छ,” मन्त्री ठकुरीले भन्नुभयो, “जैविक विविधता र प्रदूषणको सङ्कटसँगै जलवायु सङ्कटले हाम्रा जनताको जीविकोपार्जन, दिगो विकास लक्ष्य र भावी पुस्ताको अस्तित्वलाई नै सङ्कटमा पारेको छ ।”

सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण नेपालको कूल गार्हस्थ्य उत्पादनमा २.२ प्रतिशतको क्षति हुन् सक्ने कुरा एसियाली विकास बैंकको अध्ययनले जनाएको छ । नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी–३) बनाउने अन्तिम तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले सन् २०४५ सम्म काबर्नलगायत अन्य हरित ग्यासको उत्सर्जनलाई शून्यमा झार्ने गरी लक्ष निर्धारण गरेको बताउनुभयो । विश्व तापमान वृद्धि १.५ डिग्रीमा कायम हुन् सकोस् भन्नेमा आफूहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३०) को विषयवस्तु ‘जलवायु अनुकूलन अर्थव्यवस्थामा रुपान्तरण ल्याउनु’ महत्वपूर्ण रहेको उल्लेख गर्र्दै मन्त्री ठकुरीले भन्नुभयो, “हामी विश्वको सबैभन्दा घना र ठूलो जङ्गल यमाजेन रेनफोरेष्टलाई हाम्रो हिमश्रृङ्खलासँग जोड्न चाहन्छौँ । यी दुईको सम्बन्धले हरित र निलो अर्थतन्त्रलाई जोड्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।”

नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी–३) मा प्रकृतिमा आधारित जलवायु अनुकुलन र हरित आर्थिक विकासका आयामलाई प्राथमिकतामा राखी अगाडी बढाउने योजना बनाउन लागेको मन्त्री ठकुरीले जानकारी गराउनुभयो ।

“हाम्रो अपार जैविक विविधता, जलस्रोत, पर्यटन र विविध कृषि पारिस्थितिकीय प्रणालीलाई खाद्य, पानी, ऊर्जा र स्वास्थ्य सुरक्षा सुधारका लागि उपयोग गर्नेछाँै,” उहाँले भन्नुभयो, “विश्वव्यापी उत्सर्जनमा हाम्रो योगदान नगन्य भएकाले, हामी विशेष गरी कम विकसित र पर्वतीय देशलाई पहुँचयोग्य, न्यायसङ्गत जलवायु वित्त प्रदान गर्न जलवायु सम्मेलन प्रक्रियामा समानता र जलवायु न्यायका लागि आफ्नो आवाज विश्व मञ्चमा राख्न चाहन्छौँ ।”

कार्बन उत्सर्जन गर्ने प्रमुख उत्सर्जकलाई आफ्नो उत्सर्जन घटाउन, स्वछ उर्जामा आधारित अर्थ व्यवस्थामा जान र जलवायु लगानी बढाउन तथा हानि नोक्सानीको बढी जिम्मेवारी लिन समेत मन्त्री ठकुरीले आग्रह गर्नुभयो । “नेपाल जलवायु वित्तको सरलीकरण, जलवायु वित्तमा अनुदान र सहुलियत ऋणका लागि आवाज बुलन्द गर्न चाहन्छौँ, विकसित राष्ट्रहरूले सन् २०३५ सम्म वार्षिक ३०० अर्ब अमेरिकी डलरको प्रतिबद्धता पूरा गर्ने छन् भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा मन्त्री ठकुरीले भारत सरकारले जङ्गलको संरक्षण, जलवायु कार्य, फोहर व्यवस्थापन, नविकरणीय उर्जा र कृषिको दीगोपनाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै यसले नेपालका लागि पनि महत्वपूर्ण सिकाइ भएको बताउनुभयो । वर्तमान र भविष्यको अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रले जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको भन्दै उहाँले भन्नुभयो, “हामी कार्बन क्रेडिट र व्यापारिक गतिविधिमा संलग्न विकसित देश तथा संस्थाले उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न आवश्यक छ भन्ने ठान्दछौँ ।”

हिमालयमा परेको जलवायु असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद काठमाडौँमा आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री ठकुरीले सो सम्मेलनका लागि आमन्त्रण समेत गर्नुभयो । उहाँ ‘विश्व दिगो विकास सम्मेलन–२०२५’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म विस्तार गर्ने विषयमा गरेको सम्बोधनको रुसले बिहीबार आलोचना गरेको छ ।

बुधबार फ्रान्सेली राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोँले रुसलाई ‘फ्रान्स र युरोपका लागि खतरा’ को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युक्रेन द्वन्द्वमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरेकोमा फ्रान्सेलीहरू ‘वैधानिक रूपमा चिन्तित’ रहेको बताउनुभएको थियो ।

“हरेक दिन उहाँले केही न केही वास्तविकताभन्दा टाढा विरोधाभासपूर्ण बयानहरू बनाउनुहुन्छ,” रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले म्याक्रोँका बारेमा भन्नुभएको छ ।

जाखारोभाले उहाँलाई हान्स क्रिश्चियन एन्डरसन लोक कथाको सुतेका बच्चाहरूमाथि छाता ओढाउने भूमिकामा रहेका एक पौराणिक पात्र ओले लुकोजेसँग तुलना गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले यी सबै कुरा सुनेँ, उहाँलाई हेरेँ र उहाँले मलाई पौराणिक पात्र ओले लुकाजेको सम्झना गराउँनुभयो ।”

जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग फोनमा भएको कुराकानीपछि म्याक्रोँले फ्रान्सको आणविक निरोधलाई अन्य युरोपेली राष्ट्रमा विस्तार गर्ने विषयमा बहस सुरु गर्ने बताउनुभएको छ ।

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उहाँहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गर्नुभएको छ ।

युक्रेनले मार्शल लअन्तर्गत चुनावमा प्रतिबन्ध लगाएको छ तर रुस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले राष्ट्रपति भोलोदिमर जेलेन्स्की वैध नेता नभएको तर्क गर्दै चुनावको माग गरेका छन् ।

अमेरिकी समाचार आउटलेट पोलिटिकोले बिहीबार ट्रम्पका वरिष्ठ सहयोगीहरूले टिमोशेन्को र पोरोशेन्कोको पार्टीका वरिष्ठ सदस्यहरूसँग देशले छिटो राष्ट्रपति चुनाव गर्न सक्छ कि भन्ने बारे गोप्य छलफल गरेको जनाएको छ ।

विपक्षी युरोपेली सोलिडारिटी पार्टीका नेता तथा रोसेन कन्फेक्शनरी निर्माताका संस्थापक पोरोशेन्को सन् २०१४ मा राष्ट्रपति निर्वाचित हुनुभएको थियो र सन् २०१९ को चुनावमा जेलेन्स्कीसँग पराजित हुनुभएको थियो ।

बिहीबार एक बयानमा उहाँले आफ्नो टोली ‘सधैँ युद्धको समयमा चुनाव गराउने विरुद्धमा रहेको र स्पष्ट रूपमा रहेको’ बताउनुभयो ।

“हामीले युद्धविराम र युक्रेनका लागि सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मात्र चुनाव हुन सक्छ भनी भनेका छौँ र यसो भन्न जारी राख्छौँ”, उहाँले भन्नुभयो ।

पोरोशेन्कोले आफ्नो टोलीले ‘युक्रेनका लागि द्विदलीय समर्थन कायम राख्न सार्वजनिक र पारदर्शी रूपमा’ काम गरिरहेको बताउनुभयो ।

जेलेन्स्कीको प्रशासनको आलोचना गर्दै उहाँले युक्रेनी सरकार र अमेरिकी प्रशासनबीच ‘सञ्चारको अभाव’ भएको र ‘यसले राज्यलाई जोखिममा पारेको’ बताउनुभयो ।

गत महिना जेलेन्स्कीले बढ्दो आन्तरिक द्वन्द्वका बीच पोरोशेन्कोलाई देश छोड्न प्रतिबन्ध लगाउनुभएको थियो र उहाँको सम्पत्तिमा पहुँचमा रोक लगाउनुभएको थियो ।

“मेरो टोलीले हाम्रा सबै मित्रराष्ट्रहरूसँग वार्ता गरिरहेको छ जो सकेसम्म चाँडो न्यायपूर्ण शान्ति सुनिश्चित गर्न मद्दत गर्न सक्छन्”, युक्रेनको प्रधानमन्त्रीका रूपमा दुई कार्यकाल सेवा गरिसक्नुभएकी र फादरल्यान्ड पार्टीको नेतृत्व गर्नुहुने टिमोशेन्कोले भन्नुभयो, “त्यसबेलासम्म र मैले यो एकभन्दा बढी पटक भनेको छु, युक्रेनमा कुनै पनि चुनाव गराउने कुरा असम्भव छ ।”

स्थानीय सेवा गठन ऐन संशोधन गर्ने कर्णाली मन्त्रीपरिषद्को निर्णय

कर्णाली, २२ फागुन : कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ संशोधन गर्ने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन संशोधन गर्ने निर्णय गरेको हो । उक्त ऐन कर्णाली प्रदेशसभाबाट २०८१ असोज १५ गते पारित भएको थियो ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा थुप्रै त्रुटि भएको र त्यसमा सच्याउनुपर्ने मागसहित कर्मचारीले आन्दोलन गरेपछि प्रदेश सरकारले उक्त ऐन संशोधन गर्न परामर्शका लागि कर्णाली प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । त्यस्तै उक्त बैठकले वन विकास कोषको रकम व्यवस्थापनसम्बन्धी नीतिगत निर्णय गरेको छ ।

‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ – अनुराधा कोइराला

काठमाडौँ, २२ फागुनः माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताउनुभएको छ ।

आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौँ उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालबाट महिलाको बेचविखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोलटोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ ।”

उहाँले आफूले यसका लागि काठमाडौँ महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताउनुभयो । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताउनुभयो ।

“हाम्रो उद्देश्य नै महिलाका समस्यामा छलफल होस् र त्यो विषयलाई चलचित्रका माध्यमले आम मानिससम्म पु¥याउन सकौँ भन्ने हो, विगत तीन दिनदेखि चलेको महोत्सवमा महिलाका विषयमा बनेका चलचित्र, महिलाले बनाएका चलचित्र र महिला केन्द्रित विषयमा अन्तरक्रिया गरेका छौँ । यसको सकारात्मक प्रभाव आगामी दिनमा उहाँहरूमा देखिन्छ भन्ने लागेको छ”, अध्यक्ष डिसीले भन्नुभयो ।

त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रहेको छ ।

कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौलालगायत सहभागी हुनुहुन्थ्यो । अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २० गते मङ्गलबारदेखि सुरू भएको ‘महिला चलचित्र महोत्सव’ मा विभिन्न चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया गरिएको थियो ।

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट (बागलुङ), २२ फागुन : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताउनुभएको छ । अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताउनुभयो । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताउनुभयो । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उहाँको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रमपछि पार्टी गतिविधि र सङ्गठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुु¥याइने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।

सरकारले महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको छ – मन्त्री सुडी

काठमाडौँ, २२ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरुप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले यहाँ आज आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लगिएको बताउनुभयो ।

“संविधानमा मौलिक हकका रुपमा महिलाको हक, दलितको हक, बालबालिकाको हक, सामाजिक सुरक्षाको हक, छुवाछूत तथा भेदभाव विरूद्धको हक व्यवस्था गरिएको छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा ३३ प्रतिशत महिलाको सहभागिताको प्रबन्ध भएको छ, जसले राजनीति, निजामती सेवा र अन्य सार्वजनिक जीवनमा महिलाको प्रतिनिधित्वमा बढेको छ”, मन्त्री सुडीले भन्नुभयो ।

महिला अधिकारसँग जोडिएका निःशुल्क र अनिवार्य शिक्षा ऐन, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, सामाजिक सुरक्षा ऐन, २०७५, श्रम ऐन, २०७४, निजामती सेवा ऐन, २०४९ र प्रादेशिक निजामती सेवा ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्ने मन्त्री सुडीले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “महिला मन्त्रालयबाट राष्ट्रपति महिला सशक्तीकरण परियोजना सञ्चालनमा छ । यस परियोजनाले मुख्यतः जोखिममा परेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार तथा राहत, कुरितीविरूद्धको अभियान, आर्थिक सशक्तीकरणका क्षेत्रमा सघन कार्यक्रम प्रदेश र स्थानीय तहमा कार्यान्वयनमा छन् ।” नागरिकतासम्बन्धी अध्यादेशले केही हदसम्म नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गरेको उहाँको भनाइ छ । सोही अवसरमा संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड कमिटी) सदस्य बन्दना राणाले सिडमा समावेश महिलासम्बन्धी व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

एउटा पांग्राबिनै काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

काठमाडौं – काठमाडौं आएको बुद्ध एयरको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।

बिहीबार जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा बिना नै अवतरण गरेको हो . उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज काठमाडौंका लागि ४:४५ मा उडेको थियो।

लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक

डडेल्धुरा, २२ फाुगन : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताउनुभएको छ । डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।

“देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडी होइन् अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । 

गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो । “संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ”, उहाँले भन्नुभयो । समाज र विज्ञान कहिल्यै पछाडी नफर्किने उहाँको भनाइ थियो । 

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

मध्यविन्दु (नवलपरासी), २२ फागुन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाउनुभयो ।

“केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत  प्रचार गरेका छन्”, उहाँले भन्नुभयो । मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताउनुभयो । अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उहाँले बताउनुभयो । 

“हामी २०८४ सालसम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्पसहित सरकारमा आएका हौँ”, मन्त्री अधिकारीले भन्नुभयो, “गाउँगाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्नेबारे सरकार चिन्तनशील छ, पक्कै सबैले अनुभूति हुनेगरी प्रगति हुनेछ ।”

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताउनुभयो । कृषकले केही आम्दानी हुने आसमा गरेको खेती बाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उहाँको भनाइ थियो ।  

कार्यसम्पादनमा अब्बल बन्न मुख्यमन्त्री कँडेलको निर्देशन

काँक्रेविहार (सुर्खेत), २२ फागुनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिनुभएको हो ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीले समाजलाई सकारात्मक दृष्टिकोण बनाउनेगरी काम थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन्, तपाईंहरुको कामको मूल्याङ्कन नागरिकस्तरबाटै भइरहेको छ ।” आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “तपाईंहरु नै भोलिको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भन्दै भनेर प्रचलित कानुनविपरीत गएर काम गर्नुभयो भने तपाईंहरुकै करिअर समाप्त हुन्छ ।”

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले धारणा राख्नुभयो । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कँडेललको भनाइ थियो । 

सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकाले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो । विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामूहिक यात्रा भएकाले आ–आफ्नो ठाउँबाट सबैले योगदान दिनसके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता

पाटन (ललितपुर), २२ फागुनः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच आज यहाँ भेटवार्ता भएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । “असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

भेटवार्ताका क्रममा नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराउनुभएको थियोे ।

भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्थ्यो ।

राजदूत एलेक्स नोबीकोबले पानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रोसम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिनुभयो ।

उहाँले रसियाको सहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुसी लागेको बताउँदै दुई सहरबीचको एकता र सहकार्यका सन्दर्भ पनि छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २२ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहनुभएको छ ।

समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभाको आजको बैठकले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त विधेयकमाथि आज सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै उद्योगमन्त्री भण्डारीले नेपाली वस्तुलाई ‘ब्राण्डिङ’ गर्न र विश्वबजारसम्म पु¥याउनका लागि नयाँ कानूनी व्यवस्था आवश्यक पर्ने भएकाले यो विधेयक संसदमा ल्याइएको बताउनुभयो । संसदमा आएका सुझावलाई सम्बोधन गर्दै थप व्यवस्थित, परिस्कृत र समृद्ध बनाएर लगिने उद्योगमन्त्री भण्डारीको भनाइ छ ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो विधेयक ल्याइएको हो । यो कानून बनिसकेपछि निकासी पैठारी कार्यमा एकरुपता कायम हुने, विभिन्न निकायहरुको अधिकार स्पष्ट हुने, प्रक्रियाहरु थप व्यवस्थित र प्रभावकारी हुने र समग्र राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक यहि फागुन २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छः सांसद अधिकारी

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । राष्ट्रियसभाको महत्व, गरिमा र भूमिकाको बारेमा मानिसहरुले आलोचना गरेको देख्छु । मेरो यो एक वर्षको अनुभवमा राष्ट्रियसभा धेरै नै प्रभावकारी ढङ्गबाट अगाडि बढिरहेको छ । यो सभा विशेष गरी प्रदेश र स्थानीय तहप्रति उत्तरदायी हुने सभा पनि हो । यसले जनताका समस्यालाई केन्द्रित गर्नेदेखि कानुन निर्माणमा काम गर्दै आएको छ । यो सभा संविधानको मर्मअनुरुपका कानुन निर्माण गर्ने विषयमा संवेदनशील छ । मेरो आफ्नै अनुभवमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि यसको ओज र गरिमा उत्तिकै महत्वपूर्ण छ ।

राष्ट्रियसभाले नीतिनिर्माण गर्ने कार्य सचेततापूर्वक गरिरहेको छ । यसका आफ्ना विषयगत समितिहरु पनि सक्रिय रहेका छन् । म सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको सदस्य पनि हो । समितिले विशेष गरी सरकारी आश्वासनसँग सम्बन्धित विषयलाई हेर्दै आएको छ । मूल ऐनमा कति दुरुपयोग भएको छ भनेर समितिले हेर्ने गरेको छ । अर्को भनेको सार्वजनिक नीतिनिर्माणको सन्दर्भमा समस्याको पहिचान गरि समाधानको निम्ति पहल गर्ने काम पनि समितिले गर्दै आएको छ । नीति निर्माणमा भएका त्रुटिहरुलाई खोतल्ने काम हो । राष्ट्रिय पुरातात्विक सम्पदाको अध्ययन गर्ने र संरक्षण गर्ने कार्य पनि यस समितिको कार्यक्षेत्रभित्र रहेको छ । ऐतिहासिक दस्तावेजको खोजी कार्य पनि यस समितिको अर्को महत्वपूर्ण कार्य हो । राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिहरुले पनि त्यसरी नै काम गरिरहेका छन् । त्यसैले अनुशासन, जिम्मेवारी, व्यापकता र परिपक्वताको दृष्टिले यो सभाले आफूलाई अझ सुदृढ गर्दै लगिराखेको छ । तर जतिभित्र काम भइरहेको छ, बाहिर राष्ट्रिसभाको भूमिकालाई न्यूनीकरण गर्ने प्रयास गरिएको छ । राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँको रुपमा लिनुहुँदैन । राजनीतिक दलका कार्यकर्ता थन्क्याउने थलोका रुपमा हेरिनुहुँदैन ।

संविधान कार्यान्वयनको कुरा गर्दा, केही मानिसलाई यो खालको संविधानको चाहना थिएन । पुरानो संसदीय यथास्थितिबाट अघि बढेर जनतालाई पहिलोपटक सार्वभौमसत्ताको मालिक बनाएर जनताको अधिकार सुनिश्चित गरेको यो संविधानले हो । नेपालका सबै प्रकारका उत्पीडन र विभेदलाई न्यूनीकरण गर्ने ढङ्गले महिला, आदिवासी जनजाति, मधेसी, दलितलगायतका समुदायलाई विशेष अधिकार दिने ढङ्गले संविधान आएको छ । यद्यपी, एकथरि मानिस उही पुरातन सोचबाट ग्रसित छन् । उनीहरुमा यो संविधानको पूर्ण कार्यान्वयन होस् भन्ने चाहना छैन । यही कारण संविधान जति प्रभावकारी र सक्रियतापूर्वक कार्यान्वयन हुनुपर्ने हो त्यति हुन नसकेको हो ।

संविधान संशोधनको विषयमा कुरा गर्नुपर्दा, यथास्थितिमा पछाडि फर्किनका लागि संविधान संशोधन गर्नुहुँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षतालाई उल्ट्याउने ढङ्गले संशोधन हुनुहुँदैन । संविधानका अन्तर्वस्तुलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्नुको कुनै अर्थ छैन । संविधानले संस्थागत गरेका अधिकारलाई अझै पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने हो । त्यसो हुन सकेको छैन । तैपनि संविधान संशोधन अगाडि बढ्नका लागि आवश्यक छ । जस्तो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलित, महिला, मधेसी, मुस्लिमलगायत उत्पीडित समुदायको अधिकारलाई बढाउने गरी संविधान संशोधन आवश्यक छ । तर सरकारले अघि सार्न खोजेको भनी चर्चामा रहेका संविधान संशोधनका विषयहरु भने पश्चगामी छन् । त्यो खालको संशोधनको कुनै अर्थ छैन ।

मुलुकमा अहिले सुशासनको अत्यधिक खाँचो छ । सुशासनको निम्ति सबैभन्दा पहिला सङ्घीय सरकारदेखि स्थानीय तहसम्म फैलिएको भ्रष्टाचार अन्त्य गर्नुपर्छ । त्यसको नियन्त्रण नगरी सुशासन हुँदैन। भ्रष्टाचारीलाई कानुनको दायरामा नल्याएसम्म सुशासन हुँदैन । कुनै पनि भ्रष्टाचारीलाई सरकारले संरक्षण दिनुहुँदैन । सुशासन कायम गर्न पहिला तीनै तहका सरकारभित्रको विकृति हटाउनुपर्छ । सुशासन कायम नहुँदासम्म मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्ने विषय र जनताका आधारभूत आवश्यकता पूरा गर्दै जनताको जीवनस्तरलाई माथि उठाउन सकिँदैन ।

सङ्घीयता सुदृढीकरणका लागि संविधानको मर्मअुनसार काम गर्नुपर्छ । सङ्घीयता भनेको जनतालाई अधिकारसम्पन्न बनाउने हो । विकेन्द्रित रुपमा अधिकार जनताको घरदैलोमा पुर्याउने हो । सङ्घीयता कार्यान्वयन हुन नदिनका लागि सङ्घीयता विरोधीहरुले सङ्घीयताका सबल पक्षलाई विकृत पार्ने र सङ्घीयता नै काम छैन भन्ने भाष्य सिर्जना गर्न खोजिरहेका छन् । सङ्घीयता पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । सङ्घीयता कार्यान्वयनका लागि सरकारले कानुन निर्माणको क्रममा सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन र सङ्घीय शिक्षा ऐन जतिसक्दो चाँडो ल्याउनुपर्छ । सङ्घीयताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि आवश्यक कानुन निर्माणमा तीव्रता दिनुपर्छ ।

देशबाट बढ्दै गरेको युवा पलायनलाई रोक्न सरकारले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । अर्को, पर्यटन व्यवसायलाई सुदृढ गर्नुपर्ने हुन्छ । त्यसैगरी विद्युत् उत्पादनमा जोड दिनुपर्छ । बाध्यताले श्रमको लागि विदेश जाने युवालाई रोक्नका लागि मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक स्थायित्व जरुरत पनि पर्दछ । युवाको सवालमा सरकारले ठीक ढङ्गबाट योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । देशभित्रै आयआर्जन र रोजगारी सिर्जना गर्दा युवा पलायन रोक्न सकिन्छ ।

राष्ट्रियसभामा रहँदैगर्दा मुख्य त कानुन निर्माणमै मेरो महत्वपूर्ण भूमिका हुन्छ । सँगसँगै जनताका सवाललाई संसद्मा गम्भीरतापूर्वक उठाउनुमा मेरो भूमिका हुन्छ । जनहित र राष्ट्रहितको पक्षमा काम गर्नुपर्ने छ । बनिसकेका कानुन कार्यान्वयनमा मेरो जोड रहन्छ । सबै प्रकारका विभेद अन्त्य गर्नका लागि मेरो भूमिका हुन्छ । अहिले पनि देशका विभिन्न स्थानमा बालिकामाथि बलात्कारका घटना भइरहेका छन् । त्यसको अन्त्य गर्नेतर्फ संसद्मा आवाज उठाउनेतर्फ मेरो भूमिका हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष समेत रहेका श्रीकृष्णप्रसाद अधिकारी राष्ट्रियससभाको सदस्य हुन् । नुवाकोट सूर्यगढी गाउँपालिका–२ का स्थायी बासिन्दा उनी अल्पसङ्ख्यक तथा अपाङ्गता कोटाबाट बागमती प्रदेशबाट सदस्य बनेका हुन् । उनी २०३८ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध रही निरन्तर राजनीतिमा सक्रिय छन् ।
(कुराकानीको सम्पादित अंश)

डा विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा

काठमाडौँ, २२ फागुनः सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा देवकोटाले आजै कार्यभार सम्हाल्नुहुने राससलाई बताउनुभयो । डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

‘छड्के २’ पछि प्रशान्तले गरे नयाँ चलचित्र ‘जवाफ’को घोषणा

काठमाडौं । ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ चलचित्र निमार्णको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस् ले नयाँ फिल्म ‘जवाफ’ निर्माणको घोषणा गरेको हो ।

पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ ।

यो फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी गराएको छैन ।कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशक लामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने छन् ।

निर्माता प्रशान्त गिरी अभिनेता समेत हुन् । यो फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ ।

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले बिहीबार भिट्ठामोडमा आयोजना गरेको छलफलमा प्रचण्डले यस्तो सो प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने बताएको अध्यक्ष दाहालको निजी सचिवायलय जनाएको छ ।

अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान बताए ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ८०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, परबर (तराई) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु ९०, झिगुनी प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १२०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ५०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३००, कुरिलो प्रतिकेजी रु १,१०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकेजी रु ५०, जिरीको साग प्रतिकेजी रु ५०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ८०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु २००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २५०, स्याउ (फूजी) प्रतिकेजी रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु २६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १५०, तरबुजा (हरियो), प्रतिकेजी रु ६०, मौसम प्रतिकेजी रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ११०, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ३५०, किबी प्रतिकेजी रु ४००, अमला प्रतिकेजी रु १२०, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १००, खुर्सानी सुकेको प्रतिकेजी रु ३२५, खुर्सानी हरियो प्रतिकेजी रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु १००, लसुन हरियो प्रतिकेजी रु ५०, हरियो धनिया प्रतिकेजी रु ३५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २८०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २३०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

रामेछापको कोलन्जोर घाटमा पुल निर्माण सम्पन्न भएन

मन्थली (रामेछाप), २२ फागुनः जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो ।

रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै निर्माणसम्पन्न हुनुपर्ने थियो । त्ययता लगातार म्याद थपिए पनि निर्माण सम्पन्न हुनसकेको छैन । विसं २०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही २०८१ साल चैत २० गतेसम्म थपिएको छ । म्याद सकिन एक महिना बाँकी रहँदा बाँकी काम सुरु नै हुनसकेको छैन ।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुल चाँडो सम्पन्न गराउनका लागि धेरै पटक सरकारका विभिन्न निकायमा धाएँ तर हालसम्म काम सुरु भएन । अन्तिम पटक थपिएको म्याद सकिन पनि अब एक महिना मात्रै छ तर हालसम्म काम सुरु नै भएको छैन । यसले थप समस्या सिर्जजा गरेको छ ।”

सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ सालमा पुलको ठेक्का लगाएको थियो । शङ्करखोला दोभान पुल आयोजना नामको यस पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको थियो । अनक महावीर जेभीले पुल निर्माणको जिम्मेवारी पाएको थियो । कुल एक सय ९० मिटर लामो पक्की पुल निर्माणका लागि रु २३ करोड ६८ लाख ६७ हजार ३५० (भ्याटसहित) मा सम्झौता भएको थियो ।

यस पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिका जोड्ने गरेको छ । यस पुलको स्ल्याब ढलानको काम भइसकेको छ तर पुलमा आउने ‘एप्रोच’ सडक पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’को काम भने बाँकी छ । समयमै पुल नबन्दा आफूहरूलाई निकै समस्या भइरहेको स्थानीय कोमल श्रेष्ठले बताउनुभयो । “यो पुल चार वर्षअघि बनिसक्छ भनेको थियो तर हालसम्म पनि बनेन । सबैले ठेकेदारले लापरबाही ग¥यो भनिरहेका छैन । त्यो भनेर उन्मुक्ति पाइन्छ ? हामीले पाइरहेको दुःअ सम्झेर अब जरी पनि काम गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलाश पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटक पटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले लगातार काम गर्ने हो भने बढीमा दुई महिनाभित्र पुलको सम्पूर्ण काम सकिन्छ तर उहाँहरू हामी चाँडै सम्पन्न गर्छौं भन्नुहुन्छ तर साइडमा कामदार पठाउनुहुन्न ।”

सो पुलसँगै काम सुरु भएको ओखलढुङ्गा जोड्ने सुनकोशी नदीको पुल भने यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले लिखु करिडोर हुँदै रामेछापको गुम्देल पुग्ने सडकका लागि उच्च प्राथमिकता दिई निर्माण गरिरहेको भए पनि यो पुल हालसम्म पनि सञ्चालनमा नआउँदा लक्ष्यअनुसारको उपलब्धिसमेत हुन सकिरहेको छैन । हाल बिपी राजमार्गमार्फत सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हँुदै ओखलढुङ्गाको खिजी फलाटे, गाम्नाङ, घोराखोरीलगायत स्थानहरूमा यातायातका साधनहरू सञ्चालन भइरहेका छन् ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

दमौली (तनहुँ), २२ फागुनः जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो ।

बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।

“पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु”, ढकालले भन्नुभयो ।

उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।

तरकारीखेती गरिरहेको सबै जग्गा भने उहाँको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ । उहाँले भन्नुभयो, “उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।”

विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ । “तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए । अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै”, ढकालको भनाइ छ ।

हाल उहाँकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । रु ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो । “कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ”, उहाँले खुसी साट्नुभयो ।

व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो । “कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो”, उहाँको कथन छ, “यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।”

मधेसको कथामा निर्देशक रौनियारको चलचित्र ‘राजागञ्ज’

काठमाडौँ, २२ फागुनः नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई यसमा देखाइएको छ । यो एउटा महिला प्रहरी अधिकृतको कथा हो ।”

निर्देशक रौनियारले चलचित्रको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीका आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताउनुभयो । उहाँले नेपालबाहिर यस चलचित्रलाई ‘पूजा सर’ कै नाममा प्रदर्शन गर्दै हुनुहुन्छ । यस चलचित्रमा सात महिला पात्र केन्द्रीय भूमिकामा रहेकी छन् । “मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । विश्वका ठूलाठूला महोत्सवमा छानिएको चलचित्र बल्ल हामीले नेपाल ल्याएका छौँ । यो हाम्रो समाजकै एउटा कथा वा घटना हो”, उहाँले भन्नुभयो ।

चलचित्रको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले व्यावसायिक सफल चलचित्र ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छानिएका चलचित्र ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसक्नुभएको छ ।

कलात्मक र व्यावसायिक दुवै किसिमका चलचित्रमा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताउनुभयो । “एकै किसिमको चलचित्रमा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन । हामीले केही समययता अब्बल चलचित्र बनाइरहेका छौँ, जसले अन्तरराष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ । त्यस्ता चलचित्रमा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिन किनकि देशबाहिर चलचित्र होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ”, उहाँले भन्नुभयो ।

अभिनेत्री ऋचा शर्माले चलचित्रमा आउनैपर्ने मधेसको एउटा कथा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा चलचित्र बन्नु आवश्यक थियो । मधेसको कथामा केन्द्रित यस चलचित्रको कन्द्रीय भूमिकामा भने महिला छन्, सात महिलाले कथा भनेका छौँ । यसले मधेसको विविधतालाई चलचित्रमार्फत धेरै दर्शकसम्म पु¥याउँछ ।”

चलचित्रमा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि यसमा समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तराईको सौन्दर्य, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यसलाई घटेका घटनाहरूबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभर महोत्सवमा सहभागी भएर रुचाइएको चलचित्र नेपाली दर्शकको प्राथमिकतामा पर्नेमा विश्वस्त छौँ ।” यो चलचित्र निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गर्नुभएको उहाँले बताउनुभयो ।

रक्षा बजेट वृद्धि गर्न अमेरिकी आग्रहलाई जापानको अस्वीकृति

जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैं तय गर्नुपर्नेमा जोड दिनुभएको छ ।

माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उहाँले जापानले आफ्नो रक्षा बजेट आफै निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बताउनुभएको छ ।

ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पु¥याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो ।

जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार एक पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने दिशामा काम गरिरहेको बताउनुभयो ।

उहाँले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको थियो ।

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ – चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।

बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका छ थान मोबाइल बरादम गरेको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

सनातन धर्मलाई जगेर्ना गर्न लागेका छौँः मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सनातन धर्मलाई जगेर्ना गर्ने सन्दर्भमा सबै लागेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा आयोजना गरेको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ को उद्घाटन समारोहमा सुदूरपश्चिममा रहेका देव भूमिलाई सबैले चिन्नु र चिनाउनुपर्ने जरूरी रहेकोसमेत बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारका तर्फबाट पनि धर्म, संस्कृतिको जगेर्ना, राम्रा परम्पराको रक्षा र बन्धुत्वलाई जोगाउने सन्दर्भमा कुनै कसर बाँकी नरहेन प्रतिबद्धता व्यक्त गर्नुभयो । यसमा प्रदेशवासी सबैको सहयोग र साथको अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

“सुदूरपश्चिम प्रदेशमा भएका विभिन्न धार्मिक केन्द्र, धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धन, हाम्रा परम्परा र असल मूल्य मान्यताको संरक्षणका लागि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौँ । हाम्रा वैदिक सनातल धर्मलाई जगेर्ना गर्ने सन्दर्भमा सबैले एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेले भाषा, साहित्य, संस्कृति, पुरातत्व र वाङ्मयको क्षेत्रमा देशकै सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापना र सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

उहाँले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठहरूको पावन भूमी सुदूरपश्चिमेली समाजमा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख वाचिकाका रूपमा भागवत मञ्जरी पूज्या राधिका दासी रहनुभएको छ । उहाँबाट भावगत कथा वाचन हुने आयोजकले जनाएको छ । महायज्ञबाट साहित्य क्षेत्रमा अगाडि बढ्नु भएका व्यक्तित्वहरूलाई अझ बढी हौसला, प्रेरणा र आउने पिँढीले पनि यसबाट केही शिक्षा प्राप्त गर्ने दासीले बताउनुभयो ।

महायज्ञको उद्घाटन समारोहअघि आज बिहान मेची र महाकालीको जल मिसाएर गङ्गाजलसहित कलश यात्रा गरिएको थियो । महायज्ञमा दैनिक बिहान योग शिविर, विशिष्ट व्यक्तिहरूद्वारा विद्वत् प्रवचन, नित्यपूजा, दैनिक पाठपरायण, जपलगायत कार्यक्रम हुने छन् ।

यस्तै, प्रत्येक दिन दिउँसो दासीबाट कथा वाचन तथा प्रवचन हुनेछ । साँझ ७ देखि ९ बजेसम्म महात्म्य तथा सांस्कृतिक झाँकी, कविता, गजल, डेउडा र भजनकीर्तन हुनेछ । महायज्ञमा करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको छ । महायज्ञ यही फागुन २७ गतेसम्म सञ्चालन हुने छ ।

पर्यटनमन्त्री पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ ।

बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।

नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका बोडैले जनाएको छ ।

अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकार भएका निकायको सम्मान हो । नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा काम गर्न प्रेरित गरेको छ ।”

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताउनुभयो । उहाँले प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु सरकारको लक्ष्य हुने उल्लेख गर्नुभयो ।

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २२ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ

दुर्गम क्षेत्रका पालिका जोड्ने पुल निर्माणलाई तीव्रता दिने मुख्यमन्त्री लामाको प्रतिबद्धता

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दुर्गम क्षेत्रका पालिका जोड्ने बाग्मती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालय हेटौँडामा काभ्रेको महाभारत, खानी खोला गाउँपालिका र मकवानपुरको बाग्मती गाउँपालिकाको टोलीको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले पुल निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले तत्काल काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आठ वर्षअघि नै जिल्ला विकास समिति मकवानपुरबाट महावीर, शिखर र तामाकोशी जेभीले ठेक्का पाएको उक्त पुल हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै यहाँका जनप्रतिनिधिहरू ध्यानाकर्षण गराउन पुगेका थिए । मुख्यमन्त्री लामाले पुललाई चाँडो सम्पन्न हुने गरी प्रक्रिया अघि बढाउन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केलाई निर्देशन दिनुभयो । उहाँले विपद्का कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको निर्माणमा तदारुकता दिने बताउनुभयो ।

मन्त्री मास्कले आफूले प्रदेशका रुग्ण योजना पहिचान गरी निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बाग्मती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताउनुभयो । रुग्ण योजनामध्ये २९ वटालाई गति दिएको र तीनवटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बाग्मती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैँ फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानी खोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढीका कारण रोशी र महाभारत जोड्ने एक मात्र थान्सिङबेंसी पुल बगाई क्षति पुगेकाले निर्माणकार्य यथाशीघ्र सम्पन्न गर्न आर्ग गर्नुभयो । बाग्मती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन जनमुक्ति मार्गअन्तर्गत हात्तीसार सिक्रे दोभान खण्ड सात सय मिटर गत असोज ११ र १२ गतेको बाढीले क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि अनुरोध गर्दै तीनखुट्टे देवी टार आठ दशमलव सात किमी खण्ड विसं २०७७ मा ठेक्का सम्झौता भई पटक पटक समयावधि थप गर्दासमेत ६० प्रतिशत पनि काम हुनसकेको छैन ।

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज (पर्सा), २२ फागुनः वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उहाँले बताउनुभयो ।“कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उहाँले भन्नुभयो ।

कम्पनीमा हाल तीन सय ५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा रु एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा रु एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा

विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ ।

क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।

‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सीजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको शिमादजु कर्पोरेसन ले जनाएको छ ।

‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेशिनको आयतन २५० लिटर क्ष्मताको मात्र छ यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ।

शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ ।

टोकियोको प्रसिद्ध स्काइ ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २२ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ नौ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा, साउथकोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्विडिसक्रोनर एकको खरिददर १३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेतीदिनार एकको खरिददर ४४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९१ पैसा, बहराइनदिनार एकको खरिददर ३६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।