`

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौँ, २४ फागुनः ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको  छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।

समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी,  नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर

म्याग्दी, २४ फागुनः उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ति गोठ लिएर लेक बेशी गरेरै बितेको थियो ।

“बुवा आमाले भनेअनुसार मेरो जन्मपनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,” उहाँले भन्नुभयो “बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेशालाई मैलेसम्म धानेको छु ।” गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यही बिताउनुभयो । 

दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पाल्नुभएको छ । आठ दश वर्षअघिसम्म ४०÷५०  बाख्रा नहुने घर थिएन् । चार÷पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।  

पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसक्नुभयो । स्थानीय खरि जातका एक सय बाख्रालाई दुई वर्षअघि रु छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजेपनि पाउनुभएको छैन् । 

“गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छुु,” लिलबहादुरले भन्नुुभयो “छोरानातीले यो पेशा अगालेनन् । विदेशतिर लागे । बाख्रा बेच्न ग्राहक खोजेको छु । पाएको छैन् ।” भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घरब्यवहार चलाएको बताउनुभयो । 

उहाँले कान्छा छोरा रासबहादुर पुनलाई अस्ट्रेलीया पठाउनुभएको छ । तीन जना घरमै छन् । घरमा भएकामध्य साहिला छोरा पक्षघातका बिरामी छन् । छ जना छोरीको बिहेबारी भइसकेको छ । जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ति गराउने चलन रहेपनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुुरे सपना देख्नुभएन् ।

उहाँले वार्षिक १५÷२० वटा खसीबोका र १०÷१५ वटा माउ बाख्रा बेच्नुहुन्छ । चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई रु ३० हजारसम्ममा बिक्री गर्नुहुन्छ । खसी मासु र बोका बली चढाउन बिक्री हुुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन् । 

हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाई कष्टप्रद हुने उहाँले सुनाउनुभयो । हप्तौसम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जङ्गली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उहाँको अनुभव छ । लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ । 

रेडियोमा गित, समाचार सुुनेर मनोरञ्जन लिने उहाँलाई पछिल्लो समय मोवाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ । गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उहाँले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पु¥याउने क्रम बढेको बताउनुभयो । बाख्रालाई जङ्गली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुुकुर पनि पाल्नुभएको छ । (तस्विर उपलब्ध छ ।)

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रूपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रूपैयाँ १७ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रूपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १८ पैसा र बिक्रीदर २० रूपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

काठमाडौँ, २४ फागुन : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम म्ुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत

वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (इयु) का नेताहरूले बिहीबार एक सङ्कट शिखर सम्मेलनमा ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको ह्वाइट हाउसमा भएको मतभेदपछि युक्रेनको पक्षमा एकजुट हुँदै युरोपेली देशहरूले रूसबाट आशङ्कित खतरा विरुद्ध ‘युरोपलाई पुनः हतियारबन्द गर्ने’ योजनालाई स्वीकृति दिए ।

“हामी निर्णायक रूपमा बलियो र अधिक सार्वभौम रक्षा युरोपतर्फ अघि बढिरहेका छौँ”, इयुका २७ राष्ट्रको परिषद्का प्रमुख एन्टोनियो कोस्टाले वार्तापछि पत्रकारहरूलाई भन्नुभयो, “हामीले जे भन्छौँ त्यही गरिरहेका छौँ ।”

नेताहरूले युरोपेली आयोगको रक्षा खर्चका लागि लगभग आठ खर्ब युरो (आठ खर्ब ६० अर्ब डलर) जुटाउने लक्ष्यलाई समर्थन गरे र सदस्यहरूलाई एक खर्ब ५० अर्ब युरोसम्मको इयु–समर्थित ऋण उपलब्ध गराउने प्रस्तावलाई ‘अत्यावश्यक मामिलाका रूपमा’ परीक्षण गर्न प्रतिबद्धता व्यक्त गरे।

जर्मनीका भावी चान्सलर फ्रेडरिक मेर्जले देशको पुनः शस्त्रीकरण कोषका लागि आमूल सुधारहरू अँगाल्दै गर्दा रक्षा योजनाले राज्यहरूलाई धेरै बढी खर्च गर्न अनुमति दिन वित्तीय नियमहरू सजिलो बनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि रक्षा खर्च बढाउन आह्वान गर्नुभएको छ र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्न सुझाव दिनुभएको छ ।

दोस्रो विश्वयुद्धदेखि युरोपको सुरक्षाको जमानीकर्ता (ग्यारेन्टर) रहेको संयुक्त राज्य अमेरिकाले नाटोमा आफ्नो केन्द्रीय भूमिका जारी राख्नुपर्छ कि पर्दैन भनेर ट्रम्पले प्रश्न गर्दा युरोपेली सरकारहरू रक्षा बढाउन दबाबमा छन् ।

ट्रम्पले बिहीबार फेरि एकपटक त्यो प्रतिबद्धतालाई प्रश्नमा राखेर आफ्ना सहयोगीहरूले ‘अधिक भुक्तानी गर्नुपर्ने’ भनेर गुनासो गर्नुभयो ।

– एक्लो छैन –

ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग सम्बन्ध सुधार गर्दै संयुक्त राज्य अमेरिकाका ट्रान्सअटलान्टिक साझेदारहरूबाट दूरी बढाउनुभएको छ । यसले किएभलाई अनुकूल नहुने सम्झौतामा बाध्य पारिने आशङ्का बढाएको छ ।

ट्रम्पसँगको विवादपछि संयुक्त राज्य अमेरिकाले किएभलाई सैन्य सहायता र खुफिया जानकारी हस्तान्तरण रोकेको एक हप्तापछि इयु नेताहरूले समर्थनको प्रदर्शनमा ब्रसेल्समा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गरे ।

युक्रेन ‘सम्भव भएसम्म बलियो स्थिति’ मा हुनुपर्ने र ‘न्यायपूर्ण र दीर्घकालीन शान्ति’ सुनिश्चित गर्नुपर्ने घोषणा गर्दै नेताहरूको वक्तव्यले भविष्यमा रुसी आक्रमणलाई रोक्न ‘मजबुत र विश्वसनीय सुरक्षा ग्यारेन्टी’ को माग दोहोर्‍याएको छ ।

ट्रम्पका कट्टर समर्थक हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनको अपेक्षित विरोधलाई ध्यानमा राख्दै २७ मध्ये २६ मुलुकले समर्थन गरेको पाठले ‘युक्रेनबिना युक्रेनबारे कुनै वार्ता हुन सक्दैन’ भन्ने कुरामा जोड दिएको छ ।

“हामी एक्लै नभएकोमा हामी धेरै आभारी छौँ”, जेलेन्स्कीले भन्नुभयो ।यस बैठकमा कुनै प्रमुख नयाँ सहायता घोषणाहरू भएनन् । अमेरिकाले सहायता रोक्का गरेको भए पनि युरोपसँग हाल किएभको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध पर्याप्त पैसा छ भनी धेरै राज्यले तर्क गर्छन् ।

तर इयुको सदस्य नभएको नर्वेले सन् २०२५ का लागि आफ्नो सहायता दोब्बर बढाएर कुल सात अर्ब ८० करोड डलर पुर्‍याउने घोषणा गरेको छ ।

– साउदी वार्ता –

गत हप्ताको कूटनीतिक घटनापछि, जेलेन्स्कीले ट्रम्पसँग सम्बन्ध सुधार्न प्रयास गर्नुभएको छ र रुस–युक्रेन द्वन्द्वमा अमेरिकी प्रतिनिधिले बिहीबार नयाँ वार्ताको योजना बनाएको घोषणा गरेका छन् ।

जेलेन्स्कीको ‘माफी’ बाट खुसी भएको घोषणा गर्दै अमेरिकी प्रतिनिधि स्टिभ विटकफले रुससँग ‘प्रारम्भिक युद्धविराम’ र लामो समयको सम्झौताका लागि ‘ढाँचा’ बारे युक्रेनी वार्ताकारहरूसँग कुरा गर्न साउदी अरबमा जाने इच्छा रहेको बताउनुभयो ।

किएभमा एक वरिष्ठ अधिकारीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले मङ्गलबार साउदीको राजधानी रियादमा भेट्ने अपेक्षा गरिएको बताए । बैठक रियाद वा जेद्दामा हुने विटकफले बताउनुभयो ।

युक्रेनी र अमेरिकी वार्ताकारहरूले ‘काम पुनः सुरु’ गरेको जेलेन्स्कीले बताउनुभयो । “अर्को हप्ता हामीले एउटा अर्थपूर्ण बैठक गर्ने आशा गर्दछौँ”, उहाँले भन्नुभयो ।

वासिङ्टनसँगको सहयोग बचाउने आफ्नो प्रयासमा जेलेन्स्कीले ट्रम्पको ‘बलियो नेतृत्व’ अन्तर्गत शान्ति सम्झौताको दिशामा काम गर्न र युक्रेनी खनिज स्रोतहरूमा अमेरिकी पहुँचका बारेमा सम्झौतालाई अन्तिम रूप दिन तयार भएको घोषणा गर्नुभयो ।

किएभ र यसका युरोपेली साझेदारहरू दुवैलाई किनारा लगाउँदै तीन वर्षे युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्पर्कले युरोपलाई सङ्कटको मोडमा धकेलेको छ ।

यसले युरोपेली सङ्घबाट बाहिरिएको पाँच वर्षपछि बेलायतलाई युरोपेली सङ्घमा फिर्ता ल्याउन पनि मद्दत गरेको छ ।

प्रधानमन्त्री किर स्टार्मरले म्याक्रोनसँग मिलेर ट्रम्प र जेलेन्स्कीबीचको पुल पुनर्निर्माण गर्न काम गरिरहनुभएको छ र उहाँहरूले मिलेर ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिने युद्धविरामको प्रस्ताव राख्नुभएको छ ।

फ्रान्स र बेलायतले भविष्यको युद्धविराम सुरक्षित गर्न मद्दत गर्न ‘इच्छुकहरूको गठबन्धन’ का लागि आह्वान गरिरहेका छन् । एक बेलायती अधिकारीले बिहीबार करिब २० देशसँग वार्ता भइरहेको बताएका छन् ।

केही युरोपेली मुलुकले ‘सुरक्षा ग्यारेन्टी’ का रूपमा युक्रेनमा सैनिकहरू तैनाथ गर्न इच्छुक हुने बताएका छन् ।

तथापि रुसले ‘अन्तिम समाधान’ आवश्यक रहेको भन्दै अस्थायी युद्धविराम र युक्रेनमा युरोपेली फौज अस्वीकार्य रहेको बताएको छ ।

अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

गाईघाट (उदयपुर), २३ फागुन : यहाँको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा आज साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बूको मृत्यु भएको हो । प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल   ठोक्किएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते हुनुभएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटना लगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो ।     बिहीबार साँझ मात्रै गाईघाटमा एक गाडीको ठक्करले एकै घरका दिदी बहिनीको मृत्यु भएको थियो ।

थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौँ, २३ फागुनः थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो ।

गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पु¥याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ । 

बैंककस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”

‘संविधानले आमाका नाममा नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोक्यो’

काठमाडौँ, २३ फागुन : राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले संविधान र कानुनले आमाका नाममा छोराछोरीलाई नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोकेको बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज आयोजना गरेको ‘महिला अधिकार : मानव अधिकार, सन्दर्भ : नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक २०८१’ विषयक नागरिक संवादमा उहाँले विसं २०४६ र २०६२/२०६३ को परिवर्तनपछि महिला र पुरूषमा भेद नगर्ने जनादेश दिएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का सचेतक रूपा शोशी चौधरीले नागरिकता ऐन संशोधन विधेयकमा संशोधन राख्न खोज्दा संविधानको व्यवस्थाका कारण विषयवस्तु राख्न नसकिएको बताउनुभयो । नागरिकता ऐनमा संशोधन गर्नुअघि नागरिकतासम्बन्धी संविधानकै व्यवस्थामा संशोधन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

समाजशास्त्री निर्मला ढकालले नागरिकता कानुनमा संशोधनको बहस गर्दा समाजको धरातललाई पनि विचार गरेर गर्नुपर्नेमा जोड दिनुभयो । समाजका पूर्व सभापति होमकान्त चौँलागाइँले संविधानको धारा ११ (ख) ले भने अनुसार आमाको नामबाट नागरिकता दिने व्यवस्था भएको बताउनुभयो ।

अधिवक्ता शशी बस्नेतले आमाको नामबाट नागरिकता लिन संविधान संशोधन नै गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका सभापति रेनुका पौडेलले यस्ता नागरिक संवादलाई निरन्तरता दिएर निष्कर्षमा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभापति रामकृष्ण बराल, स्रष्टा रामेश्वरी पन्त, पत्रकारद्वय विनु सुवेदी र दीपा दाहाल, समाजका बागमती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्यद्वय रूपा पुडासैनी र नम्रता खरेललगायतले नागरिकता ऐन दोस्रो संशोधन विधेयक पारित गर्दा सहज रूपमा आमाको नामबाट छोराछोरीलाई नागरिकता दिने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

काठमाडौँ, २३ फागुन : भारत भ्रमणमा रहनुभएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएकोे मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा मन्त्री शाहीले दुई देश बिच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । उहाँहरुबीच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो । मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेकोे सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गर्नुभयो ।

भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो । ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गर्नुभएका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ ।

गौतमबुद्ध विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान

काठमाडौँ २३ फागुनः भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन ।

अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तरराष्ट्रिय उडान गरिरहेका हुन् ।

भैरहवामा चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौँ भएर उडान गर्दै आएको छ । जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ । फ्लाई दुबईले एकमहिना अघिदेखि पुनः उडान सुरु गरेको थियो । जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन् ।

गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल एक सय १५ उडानमार्फत छ हजार आठ सय ७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

सिरहा, २३ फागुन: यहाँको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।

त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो । त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रनाउ पासवानका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ ।

सभामुख घिमिरेद्वारा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता

काठमाडौँ, २३ फागुनः सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा आज यहाँ ओयाजित कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै प्रकारको बन्देज नलगाइने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो, कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्ने छैन, प्रेस स्वतन्त्रताप्रति मेरो प्रतिबद्धता छ ।” उहाँले आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याउँदै संसदमा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोबारे आफू जानकार रहेको बताउनुभयो ।

साधारण सभाले रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । उपाध्यक्षमा डिल्लीप्रसाद सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंक कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा र सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल, डिआर आचार्य, मनोज थापा र गीता भुसाललाई चयन गरेको छ ।

इमानले ‘इमान विशेष सम्मान’ बाट न्यू बिजनेश एजका अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधानसम्पादक मदन लम्साललाई सम्मान गरेको छ ।

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएको थियो ।

टेलिभिजन तस्बिरहरूमा आगो लागेको जेटको भग्नावशेष र यसको केही भागहरू जमिनमा छरिएका देखाइएका छन् ।

भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

गत महिना, भारतीय वायुसेनाको दुई सिट भएको लडाकु विमान पनि नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकी भन्सार कर देशलाई ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका विदेशमन्त्रीको आरोप

चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ ।

उहाँले देशको वार्षिक संसदीय सत्रको ‘साइडलाइन’ मा शुक्रबार पत्रकार सम्मेलनमा वासिङ्टनमाथि ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ आरोप लगाउनुभयो ।

अमेरिकाको फेन्टानिल सङ्कट नियन्त्रण गर्न मद्दत गर्ने चीनको प्रयासलाई दण्डात्मक भन्सार शुल्कले जवाफ दिइएको भन्दै उहाँले यसबाट दुई मुलुकबीचको सम्बन्धलाई तनावपूर्ण बनाइरहेको बताउनुभयो ।

“कुनै पनि देशले चीनलाई दबाउन सक्छ र एकै समयमा चीनसँग राम्रो सम्बन्ध कायम राख्न सक्छ भन्ने कल्पना गर्नु हुँदैन”, वाङले भन्नुभयो, “यस्ता दोहोरो कार्यहरू द्विपक्षीय सम्बन्धको स्थिरता वा आपसी विश्वास निर्माणका लागि राम्रा होइनन् ।”

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फिर्ता आएदेखि दुवै मुलुकले प्रतिशोधपूर्ण जित्नेजति भन्सार शुल्कहरू पुनः लागू गर्न थालेका छन् ।

अमेरिकाले सबै चिनियाँ आयातमा २० प्रतिशतको समान भन्सार शुल्क लगाएको छ भने बेइजिङले कुखुरा, सुँगुरको मासु, सोया र गाईको मासुसहितका अमेरिकी आयातमा थप १५ प्रतिशत भन्सार शुल्क लगाएर तथा प्रमुख अमेरिकी कम्पनीहरूसँग व्यापार गर्न नियन्त्रण विस्तार गरेर प्रतिकार छ ।

अन्तर्राष्ट्रिय सहकार्यभन्दा माथि अमेरिकी हितको सुरक्षा गर्ने ट्रम्प प्रशासनको नीतिका बारेमा वाङले यस्तो दृष्टिकोण, यदि विश्वका हरेक देशले अपनाए भने ‘जङ्गली कानून’ को परिणत हुने बताउनुभयो ।

“साना र कमजोर देशहरू पहिले जल्नेछन् र अन्तर्राष्ट्रिय व्यवस्था तथा नियमहरू गम्भीर आघातमा पर्नेछन्”, वाङले भन्नुभयो, “प्रमुख देशहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्नुपर्छ … र कमजोरहरूबाट फाइदा लिन र धम्की दिन खोज्नुहुन्न ।”

युक्रेन युद्धमा वाङले राजनीतिक वार्ताको माध्यमबाट द्वन्द्व समाधानलाई समर्थन गर्ने चीनको स्थितिलाई दोहो¥याउनुभयो । उहाँले पछि फर्केर हेर्दा युक्रेन द्वन्द्व ‘रोक्न सकिने थियो’ भन्नुभयो ।

“सबै पक्षले सङ्कटबाट केही सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “अन्य धेरै कुरामध्ये, सुरक्षा पारस्परिक र समान हुनुपर्छ, र कुनै पनि देशले अर्कोको असुरक्षामा आफ्नो सुरक्षा निर्माण गर्नु हुँदैन ।”

वाङले युक्रेन युद्धको अन्त्यमा अमेरिका र रुसबीच हालैको परामर्शहरू भए पनि चीन–रूस सम्बन्ध पहिले जस्तै बलियो रहेको कुरामा जोड दिनुभयो । बेइजिङ र मस्कोले यस वर्ष दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव मनाउन संयुक्त उत्सव मनाउने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो ।

चीनले आफ्नै भएको दाबी गर्ने ताइवानका बारेमा वाङले ‘ताइवान कहिल्यै देश भएको छैन र भविष्यमा पनि कहिल्यै देश हुनेछैन’ भन्नुभयो ।

“ताइवान स्वतन्त्रताको पक्षमा वकालत गर्नु देशलाई विभाजित गर्नु हो, ताइवान स्वतन्त्रताको समर्थन गर्नु चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो र ताइवान स्वतन्त्रतालाई मिलेमतो गर्नु ताइवान जलडमरुमध्यको स्थिरता कमजोर बनाउनु हो”, उहाँले भन्नुभयो, “ताइवानको स्वतन्त्रताको समर्थन गर्नेहरू केवल आगोसँग खेलिरहेका छन् र आफैँलाई जलाउनेछन् ।”

गाजाको नियन्त्रण लिने र प्यालेस्टिनीहरूलाई छिमेकी देशहरूमा पुनर्वास गर्ने ट्रम्पको योजनाबारे सोधिएको प्रश्नमा वाङले ‘गाजा प्यालेस्टिनीहरूको हो र यस क्षेत्रको स्थितिमा कुनै पनि जबरजस्ती परिवर्तनले नयाँ अशान्ति निम्त्याउनेछ’ भन्नुभयो ।

चीनले इजिप्ट र अन्य अरब देशहरूले अघि सारेको शान्ति योजनाको समर्थन गरेको भन्दै उहाँले प्यालेस्टिन र इजरायलका लागि दुई–राज्य समाधानका लागि बेइजिङको समर्थन पुनः दोहोर्‍याउनुभयो ।

“इजरायल–प्यालेस्टिन द्वन्द्व बारम्बार हुने गर्छ किनभने दुई–राज्य समाधान केवल आधा मात्र प्राप्त भएको छ”, वाङले भन्नुभयो, “इजरायल राज्य लामो समयदेखि एक वास्तविकता बनेको छ तर प्यालेस्टिन राज्य अझै पहुँचभन्दा धेरै टाढा छ ।”

ठूलो व्यापारिक सम्झौताका लागि साउदी अरब जाने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठूलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताउनुभएको छ ।

साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कि नभेट्ने भन्ने प्रश्नमा ट्रम्पले तेलको धनी खाडी मुलुकमा भ्रमण गर्ने आफ्नो इच्छा रहेको तर भ्रमणको मुख्य उद्देश्य व्यापार नै हुने उहाँले बताउनुभयो ।

“म साउदी अरब जाँदैछु,” ट्रम्पले पत्रकारसँग भन्नुभयो ।

“मैले साउदी राजासँग भनेको थिएँ, यदि तपाईंले अमेरिकी कम्पनीहरूलाई एक ट्रिलियन डलर दिने प्रतिवद्धता (चार वर्षको अवधिमा एक ट्रिलियन डलरको खरिद गर्ने रकम छुट्टाउनुभयो) भने म त्यहाँ जान्छु,” उहाँले आफ्नो कार्यकालको अवधिलाई सङ्केत गर्दै भन्नुभयो ।

उहाँले आफ्नो भनाइलाई थप व्याख्या गर्दै भन्नुभयो, “उनीहरू त्यसो गर्न सहमत भएका छन्, त्यसैले म त्यहाँ जाँदैछु।”

ह्वाइट हाउस फर्केपछि अहिलेसम्म विदेश भ्रमण नगर्नुभएका ट्रम्पले सन् २०१७ मा कार्यभार सम्हालेपछि साउदी अरबलाई आफ्नो पहिलो विदेशी गन्तव्य बनाउनुभएको थियो ।

उहाँले सन् २०१७ मा आफ्नो पहिलो यात्रामा बेलायतको सट्टा साउदी अरब जाने निर्णय गरेको बताउनुभएको थियो । उक्त समय साउदी अरबले ४५० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन किन्ने वाचा गर्नुभएको थियो ।

ट्रम्पले साउदी अरबसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँसेसँगै ट्रम्प अर्गनाइजेसनले गत डिसेम्बरमा जेद्दाहमा ट्रम्प टावर बनाउने घोषणा गरेको थियो ।

आफ्नो पछिल्लो कार्यकालमा ट्रम्पले साउदी अरबले अमेरिकासँग हतियार खरिद गरेको कारण विद्रोही पत्रकार जमाल खशोग्गीको हत्या आरोप लागेका युवराज मोहम्मद बिन सलमानलाई सहयोग गर्ने बताउनुभएको थियो ।

पूर्व राष्ट्रपति जो बाइडेनले सुरुमा युवराजलाई मानव अधिकारका कारण ‘पराया’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर पछि उहाँको प्रशासनले साउदी अरबलाई रक्षा सम्झौताको मस्यौदासहित इजरायललाई मान्यता दिन प्रोत्साहित गर्ने प्रयास गरेको थियो।

ट्रम्प प्रशासनले साउदी अरबलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न राजी गराउने प्रयासमा पूर्ण गतिले अघि बढ्ने प्रतिज्ञा गरेको छ । यो राज्य इस्लामका दुई पवित्र स्थल भएको ठाउँ भएकोले यो एक ऐतिहासिक कदम हुनेछ ।

श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ

श्रीलङ्काको जलसेनाले बिहीबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा बिहीबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।

नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।

पक्राउ परेका डुङ्गा र मछुवालाई मन्नारमा ल्याएर थप कानुनी कारबाहीका लागि मन्नारको मत्स्य निरीक्षण कार्यालयमा बुझाइएको जलसेनाले जनाएको छ ।

यी पछिल्ला पक्राउहरूसँगै नौसेनाले सन् २०२५ सम्म श्रीलङ्काको जलक्षेत्रमा अवैध माछा मार्ने १४५ भारतीय मछुवा कुल १९ भारतीय माछा मार्ने डुङ्गाहरू नियन्त्रणमा लिएको छ ।

नौसेनाले स्थानीय माझीहरूको जीविकोपार्जनमा पर्ने असरको चिन्ता व्यक्त गर्दै विदेशी जहाजहरूद्वारा अवैध माछा मार्ने कार्य रोक्न श्रीलङ्काको पानीमा नियमित गस्ती र अपरेसनहरू जारी राख्ने कुरा दोहो¥याएको छ ।

श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटक–पटक पत्र लेखेका छन् ।

सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताउनुभयो ।

“हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहो¥याएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नु पर्छ,” उहाँले बताउनुभयो ।

उहाँको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा सक्रिय कारबाही गर्ने आश्वासन दिनुभएको छ । कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा भीषण आक्रमण

रुसले यक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ । युक्रेनका उर्जा मन्त्री जर्मन गालुस्चेन्कोले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको बताउनुभएको छ ।

“युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठूलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,“उहाँले उल्लेख गर्नुभयो । गालुसेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई सामना गर्न आक्रमण भएको ठाउँमा काम गरिरहेको बताउनुभयो ।

उहाँले ऊर्जा र ग्यास आपूर्तिलाई स्थिर बनाउन आवश्यक सबै उपाय अपनाइने बताउनुभयो । क्षेत्रीय सैन्य प्रशासनका अनुसार, पश्चिमी टेर्नोपिल क्षेत्रको एक महत्वपूर्ण औद्योगिक सुविधा प्रभावित भएको छ, जसले यस क्षेत्रमा ग्यास आपूर्तिमा प्रतिबन्ध लगाउने सम्भावना छ ।

रूसी सेनाले युक्रेनमा लडाई ड्रोनका साथै क्रुज र ब्यालिस्टिक मिसाइलहरूको धेरै समूहहरू प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ ।

प्रदेश प्रमुख खापुङ समक्ष दलित आयोग प्रतिवेदन बुझाइयो

मोरङ, २३ फागुन : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय दलित आयोगले आज यहाँ चौथो बार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ्गलाई बुझाउनुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै मुलुकलाई एकतावद्ध राख्न समाजमा कुनै पनि नागरिक माथि भेदभाव गर्न नहुने बताउनुभयो । उहाँले दलित माथि भएको भेदभाव राष्ट्रिय समस्या भएको चर्चा गर्दै मुलुकका सबै जातजाति, समुदाय, भाषाभाषी र सबै खालका पहिचानलाईसँगै लगेर देश बलियो बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङ्गले आयोगले पेश गरेको प्रतिवेदन प्रदेश सभामा व्यापक छलफल गरी कार्यान्वयन गर्न आफु सजग भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोगका सदस्य बराइलीले सिङ्गो सरकार दलितमैत्री भएमा समाजबाट छुवाछुत र भेदभाव अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा

काठमाडौँ, २३ फागुनः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको उहाँले बताउनुभयो ।

दुई दिनदेखि बिग्रिएको मौसम शनिबारदेखि सुधार हुँदै जानेछ । “आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “शनिबारदेखि मौसम विस्तारै सुधार हुँदै जानेछ ।”

प्रि–मनसुनी गतिविधि सक्रिय भएको जनाउँदै उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको समान्य प्रभावका साथै स्थानीय वायुको सामान्य प्रभावले बदली र केही स्थानमा वर्षा गराएको उल्लेख गर्नुभयो । महाशाखाका अनुसार बिहिबार र आज काठमाडौँको आकाश सामान्यतया बदली रहेको छ ।

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

काठमाडौँ, २३ फागुन : सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ ।उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकभित्र के–कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।”

शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको विकल्प आन्तरिक रोेजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।” उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।

वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ ।

वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता/विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ ।

वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ ।

विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ ।

सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ ।

मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०/०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो ।

वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गर्ने

काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो ।

नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।  

औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामपाले विसं २०८१ मा फार्मेसी सञ्चालन नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरुको नियमन गर्ने भएको हो ।

कामपाका फार्मेसीहरु सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य हुनुहुन्छ भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव हुनुहुन्छ ।    कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

वीरगञ्ज (पर्सा), २३ फागुन : दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।

मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लवले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पुलिस क्लबले वीरगञ्ज गोल्डकपमा पहिलो संस्करणमा जस्तै उत्कृष्ट खेल खेल्दै उपाधि उचाल्ने दावी गर्नुभयो । “हामीले पहिलो संस्करणको वीरगञ्ज गोल्डकपको उपाधि हात पारेका थियौं । यो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ”, उहाँले भन्नुभयो, “भोलिको खेलमा जित्ने रणनीतिसहित मैदानमा खरो उत्रिनेछौँ ।”

मच्छिन्द्र क्लवका कप्तान विशाल श्रेष्ठले पनि पछिल्ला दुई प्रतियोगिताको लगातार उपाधि मच्छिन्द्र क्लबले जितेकाले पनि वीरगञ्ज गोल्डकप पनि आफ्नो टिमले जित्ने गरी खेल पस्किने जानकारी दिनुभयो । “हामीले भोलिको फाइनल खेल सम्मानजनक खेल खेल्दै उपाधि रक्षा गर्ने रणनीति बनाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रोतर्फबाट भोलिको खेल उत्कृष्ट खेल्नेछौँ ।”

शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको बिजेताले रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ, २३ फागुन : ‘राष्ट्रिय सुरक्षा परिषद्’ को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन सभासमक्ष पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विशेयक २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्”, भन्ने प्रस्वाव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सम्मसम्मतिले स्वीकृत भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २५ गते आइतबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।

नागरिकलाई ‘गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध’: मन्त्री यादव

मोरङ (विराटनगर), २३ फागुन : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर मोरङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

“आधुनिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त सेवामार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । विराटनगर तथा आसपासका नगरवासीलाई सुरक्षित, दिगो तथा आधुनिक खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य हामीले राखेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मन्त्रालयबाट अनुमोदित योजनाहरूलाई तीव्र रूपमा कार्यान्वयन गरी प्रशासनिक तथा प्राविधिक पक्षको समीक्षा गर्दै प्रक्रिया सहज बनाइने उल्लेख गर्नुभयो । साथै, सम्बन्धित निकायहरूसँग समन्वय गर्दै स्रोत स्वीकृत भएका आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गरिने उहाँको भनाइ छ ।

तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको छः अध्यक्ष दाहाल

मलङ्गवा (सर्लाही), २३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभएको छ ।

सर्लाहीको मलङ्गवामा आज ‘हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिले आयोजना गरिएको कार्यक्रममा उहाँले झापाबाट सर्लाहीसम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले विद्यमान रहेका भ्रष्टाचारलगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर सरोकार भएका निकाय र प्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समाजिक, आर्थिक, राजनीतिक रुपान्तरण शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षासम्बन्धी विधेयकबारे सम्बन्धित समितिमा छफलफल भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले उक्त विधेयकमा एक हजार सात सय संशोधन परेको बताउँदै जटिलताका बाबजुद पनि निरन्तर छलफल भइरहेकाले सबैको हितलाई मध्यनजर गर्दै सहमतिका आधारमा विधेयक आउने धारणा राख्नुभयो । माओवादी केन्द्रले अभियान सुरु गरेपछि राज्यको सम्पूर्ण ध्यान अहिले मधेसतिर केन्द्रित भएको उहाँको दाबी छ । 

मधेसको दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानका हकअधिकार प्रदान गर्न पहल गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर निर्माण अघि बढाएको दाबी गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आज जिल्लाका एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । उक्त अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रम सकेर आजै अध्यक्ष दाहालसहित पार्टीका शीर्षनेता रौतहट प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिनुभयो ।

‘आर्थिक उपार्जनका लागि स्वदेशमा प्रशस्त अवसर छन्’ : प्रवक्ता डा महत

त्रिशूली (नुवाकोट), २३ फागुनः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आर्थिक उपार्जन र सुनिश्चित भविष्यका लागि नेपालमा प्रशस्त अवसर रहेका बताउनुभएको छ ।
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको ३९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले श्रम गर्ने उमेरका युवालाई रोजगारको खोजीमा विदेश जानुको विकल्पमा स्वदेशमा स्वरोजगार र आर्थिक उपार्जनका अवसर खोज्न आग्रह गर्नुभयो । उहाँले नेपालमा आर्थिक उपार्जनका प्रशस्त सम्भावना रहेकाले विदेश जान लाग्ने खर्चको लगानी र त्यहाँ गर्ने श्रम यहीँ (स्वदेशमा) गर्न आग्रह गर्नुभयो ।

“नेपालका विश्वविद्यालयमा शिक्षाको गुणस्तर प्रभावकारी र अब्बल छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्छ भन्ने मानसिकता त्यागेर त्यो लगानी यहीँ गरेर उद्यमी बन्नुपर्छ”, पूर्वअर्थमन्त्रीसमेत रहनुभएका महतले भन्नुभयो, “विदेशमा गर्ने श्रम र दिने समय नेपालमा दिन सकेमा त्यहाँ हुनेभन्दा कम आम्दानी यहाँ हुँदैन । मेहेनत र श्रम गर्नेको भविष्य स्वदेशमा नै सुनिश्चित छ ।”

देशको राजनीतिक अस्थिरता अन्त्य गर्दै स्वदेशमा लगानीमैत्री वातावरण तयार हुँदै आएको प्रवक्ता महतको भनाइ छ । सामाजिक सञ्जालमा आउने सन्देश समाजमा भ्रम फैलाउने र भड्काउने शैलीमा केन्द्रित हुँदै आएकाले यथार्थ सूचना प्राप्तिका लागि मूलधारका सञ्चारमाध्यमको प्रयोग गर्न उहाँले सबेलाई आग्रह गर्नुभयो ।

“देशमा केही हुन्न, केही भएको छैन भन्नेहरूले समाज भड्काइरहेका छन्”, उहाँले भन्नुभयो, “यहीँ केही गर्छु भन्ने जोशसहित योजना भएकालाई सम्भावनाको प्रशस्त अवसर छन् । देशको विकास र आर्थिक समृद्धिका लागि अहिलेका युवाले जिम्मेवारी लिनुपर्छ ।”

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार : सभापति देउवा

महोत्तरी, २३ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताउनुभएको छ । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गर्नुभयो ।

“स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ”, सभापति देउवाले भन्नुभयो । स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्री रहिसक्नुभएका देउवाको सुझाव छ ।

कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उहाँको ठम्याइ छ । सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्ने उहाँको भनाइ छ । “स्थानीय सीपको प्रवर्द्धन, यसका लागि समुचित तालिमको व्यवस्था र रोजगारीका सम्भावना स्थानीय तहले पहिल्याउन पर्छ”, उहाँले भन्नुभयो, “खासमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सडक, बजार र सिँचाइको प्रबन्धमा ध्यान दिन जरूरी छ ।” यस्ता काममा सरकारसँगको समन्वयमा आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको चर्चा गर्नुभयो । “यो (मनराशिशवा) नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा अमर सहिद मिथिलेश दुबेको जन्मभूमि हो”, निधिले भन्नुभयो, “यहाँ स्थानीय तहले गर्ने काम उहाँको सहादतलाई सम्झेर गर्नपर्छ । दुबेले २०३६ सालको ऐतिहासिक जनआन्दोलनमा मनराशिशवाकै कटैया थाना नजिक सहादत प्राप्त गर्नुभएको थियो ।

नेपाल सरकार र मनराशिशवा नगरपालिकाको रू सात करोड २८ लाख ५० हजार लागतमा निर्मित नयाँ तीनतले प्रशासकीय भवन भूकम्प प्रतिरोधी र वातानुकूलित रहेको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । जम्मा २६ कोठे भवनमा तीन सय जना अट्ने क्षमताको सभाहल र दुई वटा बैठककक्ष छन् । भवन अपाङ्गता भएकाहरूका लागि सुविधायुक्त, महिलाका लागि नानीहरूलाई स्तनपानकक्ष र अग्नि नियन्त्रक र जल आपूर्तिको सहज व्यवस्था रहेको पाण्डेले बताउनुभयो । भवन निर्माणमा ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त भएको र बाँकी नगरले व्यवस्थापन गरेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो ।

नगरप्रमुख पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय, मधेस प्रदेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले नयाँ भवन भव्य बनेझैँ सेवा प्रवाह उत्कृष्ट हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

उदयपुरमा गाडीको ठक्करबाट सडक छेउमा उभिएका दिदीबहिनीको मृत्यु

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा जिपको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।

दिउँसो ३ बजे वीरेन्द्रनगर–१० सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनको उद्घाटन गर्ने कार्यक्रम छ, भने आजै प्रधानमन्त्रीले कर्णाली रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट आज ३ हजार ८४१ विद्यार्थीहरु दीक्षित हुँदै छन् । विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिको उपाधि हाँसिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको जनाएको हो ।

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह हुने विद्यालयले जनाएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २३ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु)प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ ।

यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १२०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु ४५० रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा (हरियो), प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १४०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु ३५०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १४०, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

भोजपुरको पाँचधारेमा स्तुपा निर्माण

भोजपुर, २३ फागुन : भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा स्तुपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तुपा निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तुपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । काठमाडौँमा रहेको बौद्धस्तुपाको जस्तै आकारमा निर्माण हुने यो स्तुपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तुपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।

“धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तुपा निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको स्थान हो । यसले यहाँको पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” यहाँ स्तुपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेरबारासँगै वृक्षरोपण गरिने उहाँले जानकारी दिनुभयो ।

पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब रु ८० लाख लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ ।

अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो । “यहाँ बसोबास गर्ने सवै समुदायलाई समेटेर संरचना निर्माण गरिहेका छौँ”, उहाँले भन्नुभयो, “किरात, बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर संरचना निर्माण भइरहेका छन् । धार्मिक पर्यटनको विकासको लागि पाँचधारेमा पाँच धाम निर्माण गर्ने योजना छ ।”

स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवगमन बढेको बताउनुभयो । टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

काठमाडौँको चन्द्रागिरिस्थित कवाड कारखानामा आगलागी, आगो निभाउन सातवटा दमकल प्रयोग

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको  कारखानामा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।  आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए ।

आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची?

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । आज अपराह्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

विराट गोल्डकप फुटबल : नेपाल पुलिस क्लब विजयी

मोरङ, २३ फागुन : विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई २–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नं ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले रू ११ हजार नगद प्राप्त गरेका छन् ।

आजको खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र पूर्वविजेता थ्रीस्टार क्लबबीच साँझ ६ः३० बजे हुने ट्रष्टले जनाइएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन् ।

प्रतियोगितको विजेतालाई नगद रू ११ लाख, उपविजेतालाई रू पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रू १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रू ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रू ५१ हजार नगद पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह

महोत्तरी, २३ फागुन : आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बिहीबार एकै दिन जिल्लामा भएका कार्यक्रममा सहभागिताले यहाँ उत्साह देखिएको हो ।

“मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुन्छ, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ”, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री भन्नुहुन्छ, “मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।” तत्कालै कुनै परिणाम देखिनहाले पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी रूपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ ।

प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक हुनुहुन्थ्यो । “तीनै ठाउँमा मधेसको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आपूm प्रतिबद्ध रहेको बताउनुभयो”, गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्नुहुन्छ, “नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेका छन् ।” बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै रहनुभएका हुँदा आशलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ ।

बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सरिक हुनुभएका माओवादी अध्यक्ष दाहालले बिहानबेलुका सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गर्नुभएको छ । यसैगरी शुक्रबारको मनराशिशवा नगरपालिकाको कार्यक्रममा सरिक हुन बिहीबार नै बर्दिबास आइपुग्नुभएका सभापति देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्वका साथ हेरिने बताउनुभएको छ । अध्यक्ष दाहालले त सुक्खा बन्दरगाहबारे आपूm निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाउनुभएबाट अब केही हुन्छ भन्ने विश्वास पलाउँदै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको प्रतिक्रिया छ ।

प्रधानमन्त्री ओली सरिक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री तथा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सरिकताले यहाँका कुरा केन्द्र र प्रदेश सरकारसम्म जिम्मेवार तहमा पुगेका गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतो बताउनुहुन्छ । यसबाहेक प्रदेश सरकारका मन्त्रीहरू सरोजकुमार यादव र राजकुमार लेखीसहितको नेताहरूको सामूहिक सहभागिताले यहाँका प्रस्ताव अब सबैजसो दलका मुख्य नेतासम्म पुगेका डा महतोको भनाइ छ ।

कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने आज मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ ।

नेताहरूको यो जमघट जति बढ्यो, यहाँका आवश्यकताका कुराले जिम्मेवार ठाउँमा उति चर्चा पाएका शिक्षाविद् बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ । यस भेगमा नेताहरूको जमघटबीच यहीँकै विकास निर्माण र त्यससम्बन्धी बहसका मुद्दा जोडतोडका बढ्दा अब नयाँ कामका विषयबारे सघन चासो र चर्चा बढेको घिमिरेको ठम्याइ छ ।

युक्रेनले भन्यो- अमेरिकाले विश्व व्यवस्था नष्ट गरिरहेको छ

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रुसले गरेको आक्रमणमाथि आफ्नो धारणा बदल्दै स्थापित विश्व व्यवस्थालाई ‘नष्ट’ गरिरहेको बेलायतका लागि युक्रेनका राजदूतले बिहीबार बताउनुभएको छ । युक्रेनको सेना प्रमुख भएको तीन वर्षपछि सन् २०२४ मा राजदूत बन्नुभएका भ्यालेरी जलुज्नीले अमेरिकाले अब रुसलाई ‘बीच बाटो’ भेट्ने प्रयास गरिरहेको र मस्कोको अर्को लक्ष्य ‘युरोप’ हुनसक्ने बताउनुभयो ।

यो बेला युरोपेली सङ्घ (इयु) का नेताहरूले ब्रसेल्समा किएभ र यसका सहयोगीहरूबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फड्को सामना गर्ने विषयमा सङ्कट वार्ता सुरु गरेका थिए ।

गत हप्ता ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझा गर्न स्थगित गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।

मस्कोसँग ट्रम्पको पुनर्मिलनले सहयोगीहरूलाई स्तब्ध पारेको छ र उहाँले मस्कोलाई धेरै अनुकूल हुने शान्ति सम्झौता स्वीकार गर्न किएभलाई बाध्य पार्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने चिन्ता युक्रेन र युरोपमा बढ्दै गएको छ ।

“हामी देख्छौँ कि यो केवल दुष्ट र रूसको धुरी मात्र होइन जसले विश्व व्यवस्थालाई पुनरावलोकन गर्ने प्रयास गर्दैछ तर अमेरिकाले अन्ततः यो व्यवस्थालाई नष्ट गर्दैछ”, जलुज्नीले च्याथम हाउस थिङ्क ट्याङ्कमा एक सम्मेलनमा भन्नुभयो, “अमेरिका र रुसबीचको वार्ताले ह्वाइट हाउस ‘क्रेमलिनतर्फ कदम चाल्दैछ, उनीहरूलाई बीचमा भेट्ने प्रयास गर्दैछ’ भन्ने देखाउँछ ।”

उहाँले खुफिया साझेदारी स्थगित गर्ने र युक्रेनमा रूसी आक्रमणको निन्दा गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावको विरोध गर्ने अमेरिकाको अघिल्लो निर्णय ‘सम्पूर्ण विश्वका लागि एक ठूलो चुनौती’ हो भन्नुभयो ।

पनौतीमा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी-क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो । नगरले आज बिहान ती उद्योग अनुगमन गरी बन्द गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख भण्डारी, नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी तीन उद्योग बन्द गराएको हो । गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठूलो धनजनको क्षति भएको जनगुनासो आएकाले नियमविपरीत सञ्चालित उद्योग बन्द गराउने निर्णय गरेको थियो । पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये विपद्पछि आठ खानी र पाँच क्रसर उद्योग खुलेका छन् । त्यसमध्ये तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।

समितिले गत माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी र क्रसर बन्द गर्न पत्राचार गरिए पनि कार्यान्वयन नभएपछि ९ गते नियमविपरीतका उद्योग बन्द गराउने निर्णय गरेको हो । सोहीअनुसार पनौतीले अनुगमन गरेर आज तीन उद्योग बन्द गराएको जनाइएको छ ।

यसैबीच समितिको निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको थियो ।

विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक खानी तथा क्रसर सञ्चालनमा थिए ।

गृहमन्त्रीद्वारा भूकम्पपीडितलाई लाभग्राही अनुदान हस्तान्तरण,असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह

डडेल्धुरा- गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ ।गृहमन्त्री लेखकले डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदानवापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो ।

गृहमन्त्री लेखकले प्रभावितलाई आगामी असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह गर्नुभयो । उहाँले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रवलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेका सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर अनुदान दिने अवस्थासम्म ल्याइपुर्याएको बताउनुभयो ।

“निजी आवास निर्माणका लागि डेढ वर्र्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकिएको थिएन”, गृहमन्त्री लेखकले भन्नुभयो, “अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुतगतिमा गर्न इकाई कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौँ ।”

मन्त्री लेखकले शुक्रबार बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिने जानकारी दिनुभयो । उहाँले बझाङ, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको भए पनि जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिनुभयो ।

“जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाई खुलेपछि खटिनेछ”, मन्त्री लेखकले भन्नुभयो, “लाभग्राही छनोटलगायतका विषयमा स्थानीय सरकारको अहम् भूमिका रहन्छ ।” उहाँले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माणले गति पाउने विश्वास दिलाउनुभयो । “स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौँ”, कार्यकारी प्रमुख डा भुसालले भन्नुभयो, “प्रारम्भ बिन्दु डडेल्धुराबाट भएको छ ।”

त्यसैगरी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुनर्निर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही घरपरिवारलाई सम्बोधन गरिएको जानकारी दिनुभयो ।

पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

म्याग्दी, २३ फागुन : धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभयो ।

“लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।”

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन् । हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ ।

लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताउनुभयो । “गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन डोकामा बोकेर ल्याउँथे”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाएका छन् ।”

गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताउनुभयो । गुर्जासम्म सडक पुर्‍याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ । गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रू दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रू तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम हालै सकिएको हो ।”

योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ ।

लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको रू ७० लाख बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो । प्रदेश सरकारले विनियोजन गरेको रू ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको रू एक करोड बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरू भएको छ ।

अर्को शीर्षकमा विनियोजन भएको रू एक करोड बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट ठेक्का आह्वान भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

मुस्ताङ, २३ फागुनः मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन् ।

मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ । बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ । बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र कुनै पनि सवारीसाधन लैजान पाइँदैन । यो त्यहाँको गाउँसमाजले बनाएको नियम हो । गाउँभित्रको पर्यटनमा असर नपुगोस् भन्ने हेतुले बसपार्कबाट माथि कुनै पनि सवारीसाधन लैजान निषेध नै गरिएको छ । यसैका कारण मुक्तिनाथका दर्शन गर्ने धोको बोकेर आइपुगेका दर्शनार्थी पैदल हिँड्न नसक्ने अवस्था भएमा घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्नुपर्ने बाध्यता हुन्छ ।

वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, मुुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाले घोडामा चढाएर लैजान वैकल्पिक व्यवसाय चलाएका छन् । त्यहाँको चारवटा गाउँका युवाले मात्रै सशुल्क घोडा चढाएर दर्शनार्थीलाई मुक्तिनाथ पुर्‍याउने सेवा दिएका छन् । वारागुङ मुक्तिक्षेत्रका यी चारवटा गाउँबाहेक अन्यत्रका युवाले त्यहाँ गएर दर्शनार्थीलाई घोडामा चढाएर मुक्तिनाथ लैजाने काम गर्न पाउँदैनन् । यात्रीलाई घोडामा चढाएर मुक्तिनाथ ओसारपोसार गर्न समितिसमेत गठन गरिएको छ । घोडा समितिमार्फत घोडामा दर्शनार्थी लानेलैजाने सेवालाई व्यवस्थित गरिएको छ । यसरी रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्धारसम्म दर्शनार्थी ओसारपोसार गरेबापत नेपाली आन्तरिक दर्शनार्थीलाई रू चार सय र भारतीय दर्शनार्थीलाई भारू चार सय शुल्क निर्धारण गरिएको छ ।

मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरूङले घोडा चढाउने व्यवसायले स्थानीय युवालाई वैकल्पिक आयआर्जनको माध्यम बनेको बताउनुभयो । देशमा युवा जनशक्ति पलायन भइरहेको अवस्थामा यहाँका युवाालाई गाउँमा रोक्न घोडा चढाएर मुक्तिनाथ लाने लैजान व्यवसायले निकै ठूलो योगदान दिएको बताउनुभयो । गाउँमा विकाससँगै पर्यटनको सम्भावना बढिरहेको अवस्थामा पनि युवहरू वैदेशिक रोजागारमा जाने अवस्था रहेकाले यस प्रकारको घोडा चढाउने व्यवसायले यहाँका युवापङ्क्तिलाई यहीँ आर्यआर्जन गर्न सक्ने गतिलो माध्यम बनेको उहाँले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र–१ को चारवटा गाउँमा एक २० घरपरिवारले मुक्तिनाथमा दर्शनार्थीलाई घोेडा चढाएर जीविकोपार्जन गर्दै आइरहेका छन् । समितिअन्तर्गत सञ्चालन भएको दर्शनार्थीलाई घोडा चढाउने व्यवसायमा सबै गाउँका एकसाथ आएर पनि आलोपालो गरी दर्शनार्थी ओसारपोसार गर्न पाउँछन् । घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न बिहानै ७ बजेभित्र घोडावाला धनीले नाम टिपाउनुपर्छ । नाम टिपाएपछि रोलक्रमअनुसार आलोपालो घोडा चढाएर मुक्तिनाथ लैजान पाउँछन् । यसरी दिनभरि घोडा चढाएरको पैसा हिसाब गरेर बाँड्छन् ।

मुक्तिनाथमा घोडाधनीले आफैँले र घोडा भएर पनि कर्मचारी राख्न चाहनेले त्यहाँ अस्थायी बसोबास गरेका व्यक्तिलाई घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न खटाउन पाइन्छ । यसरी गैरव्यक्तिले घोडाधनीको घोडा प्रयोग गरेबापत आधा उठेको आधा ज्याला पाउँछन् ।

मुस्ताङमा सडक यातायातको सुविधा नहुँदा बेँसीबाट मालसामान ढुवानी गर्न र व्यक्तिगत प्रयोजनका लागि अधिकांशले घोडा पाल्ने गर्थे । पछिल्लो समय मुस्ताङमा यातायातको पहुँच जोडिएपछि पालन गरिएका घोडा विस्थापित हुन थाले । सडकमार्फत सहजै मालसामान ढुवानी गर्न सकिने अवस्था आएपछि मुस्ताङका घोडा लोप हुँदै गए । तर, मुस्ताङमा पालिएका घोडा संस्कृतिसँग पनि जोडिएका छन् ।

उपल्लो मुस्ताङ र बाह्रगाउँ क्षेत्रका गुरूङ र विष्ट समुदायले महत्त्वपूर्ण चाडपर्वमा घोडाको संस्कृतिसँग जोडेर पर्व मनाउँछन् । तल्लो मुस्ताङका आंशिक थकाली समुदायले पनि विशेष पर्वमा घोडालाई संस्कृतिको रूपमा प्रयोग गर्ने गरेका छन् । वारागुङ–१ खिङ्गाका स्थानीय युवा सञ्जय गुरूङले मुस्ताङका लागि घोडा सांस्कृतिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले यार्तुङ, धज्याङ, ल्होसार, तिजीलगायत पर्वमा सांस्कृतिक वेशभुषा पहिरिएर घोडामा चढेर पर्व मनाउने प्रचलन छ । मुक्तिनाथ क्षेत्रमा दर्शनार्थीलाई घोडा चढाएर लैजाने व्यवसाय गर्न नपाउने होभने बाह्र गाउँका घोडासमेत विस्थापित हुने स्थानीय युवा गुरूङको भनाइ छ ।

यसैगरी मुक्तिनाथमा युवाहरूले घोडा चढ्न नसक्ने अवस्थाका दर्शनार्थीलाई स्टेचरमा बोकेर मुक्तिनाथ लाने लैजाने गर्छन् । मुुक्तिनाथ बसपार्कबाट मुक्तिनाथ मन्दिर लाने लैजाने गरेबापत उनीहरूले नेपाली दर्शनार्थीलाई रू चार हजार र भारतीय दर्शनार्थीलाई भारू चार हजार लिने गर्छन् । यसरी मुक्तिनाथमा स्टेचर बोकर लैजान चार जना युवाको आवश्यकता पर्छ । मुक्तिनाथमा स्थानीय युवाहरूले सञ्चालन गरेको स्टेचरमा राखेर मुक्तिनाथ लानेलैजाने व्यवसायले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीलाई निकै ठूलो सहयोग मिलेको छ । सशुल्क सेवा भए पनि मुक्तिनाथ दर्शन गर्न जाने यस प्रकारको व्यवसायले मुक्तिनाथ दर्शन गर्न लाखौँ खर्चिएर आउने दर्शनार्थी भक्तजनका लागि निकै ठूलो सेवा सहयोगको माध्यम बनेको छ ।