`

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भारी वर्षा

Nepal One HD ८ असोज २०८२ १९:३७
समाज

काठमाडौँ, ८ असोजः मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठूलो प्रणाली नभई स्थानीयस्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताउनुभयो । उहाँका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज वर्षा भएको हो ।

देशको मधेश र बागमती प्रदेशलगायत कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकीदेखि पूर्वका अधिकांश स्थानमा आज मध्यम वर्षा भएको छ ।

मौसमविद् दाहालले पछिल्लो तीन घण्टामा काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको जानकारी दिनुभयो । उहाँले तीन घण्टामा भक्तपुरको ताथलीमा २४ दशमलव छ मिलिमिटर वर्षा भएको जनाउँदै रानीपोखरीमा १४ दशमलव छ मिलिमिटर र नैकापमा १४ मिलिमिटर वर्षा भएको बताउनुभयो ।

यो प्रणालीका कारण भोलिसम्म मध्यम वर्षा जारी रहने जनाउँदै भोलिदेखि उक्त प्रणाली कमजोर हुँदै जाने मौसमविद् दाहालले बताउनुभयो । विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी गोरखामा ८७ दशमलव छ, गुल्मीमा ६२, लमजुङमा ६१ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । अन्य सिन्धुपाल्चोक, पर्सा, सुर्खेत, चितवनलगायत जिल्लामा पनि वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *