मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल


विराटनगर, ८ असोज : अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सङ्घका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योगी र व्यापारीले मन्त्री खनाललाई लिखित सुझाव प्रदान गरिएको थियो ।