अमेरिकाले खाद्य सुरक्षासम्बन्धी सर्वेक्षण नगर्ने


‘अत्यधिक राजनीतिकरण’ को कारण देखाउँदै अमेरिकाले वार्षिकरूपमा गर्दै आएको अमेरिकी खाद्यसुरक्षा सर्वेक्षण रद्द भएको छ । “अमेरिकी कृषि मन्त्रालयले कार्यक्रम र आर्थिक रिपोर्टिङको निरन्तर समीक्षापछि भावी घरेलु खाद्य सुरक्षा रिपोर्टहरू बन्द गर्नेछ,” मन्त्रालयले एएफपीलाई उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ।
रिपोर्टमा ‘अत्यधिक राजनीतिकरण’ भएकोले बार्षिक समीक्षा अनावश्यक ठहर गरिएको मन्त्रालयले जनाएको हो । तीन दशक पुरानो सर्वेक्षण रद्द गर्ने कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र कंग्रेसमा रिपब्लिकनहरूले यस वर्ष एसएनएपी भनेर चिनिने अमेरिकी खाद्य सहायता कार्यक्रममा प्रमुख सुधारहरू पारित गरेपछि आएको हो। स्वतन्त्र विश्लेषकहरूले यो निर्णयका कारण लाखौँ अमेरिकीले कार्यक्रममा पहुँच गुमाउनेछन्।
सन् २०२३ को प्रतिवेदनले १३.५ प्रतिशत अमेरिकी घरपरिवारले खाद्य असुरक्षाको सामना गरेको देखाएको छ । यो सन् २०१४ पछिकै सबैभन्दा उच्च स्तर हो ।
अमेरिकी कृषि मन्त्रालयको वक्तव्यमा सर्वेक्षण सङ्कलन प्रक्रियाको आलोचना गर्दै भनिएको छ, “तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नहरू पूर्ण रूपमा व्यक्तिपरक छन् र यसले वास्तविक खाद्य सुरक्षाको सही तस्वीर प्रस्तुत गर्दैन।”
विज्ञप्तिमा भनिएको छ, “यो तथ्याङ्क गलत तथ्यले भरिएको छ जुन ग्रामीण इलाकामा वास्तवमा के भइरहेको छ भन्ने कुराको प्रतिनिधित्व गर्दैन किनकि हामी हाल ट्रम्प प्रशासनमा कम गरिबी दर, बढ्दो ज्याला र रोजगारी वृद्धिको अनुभव गरिरहेका छौँ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “यस वर्ष एकत्रित खाद्य असुरक्षातथ्याङ्कलाई सङ्केत गरिएको छ तर तथ्याङ्कमा राजनीतिकरण भएको आशङ्काबीच यसलाई सन् २०२६ सम्म सार्वजनिक गरिने छैन।
अमेरिकी आर्थिक तथ्याङ्कले यस वर्ष सुस्त आर्थिक वृद्धि र कडा श्रम बजारलाई समस्याका रूपमा देखाएको छ।
ट्रम्पले यी तथ्याङ्कलाई गलत भन्दै खारेज गर्दै श्रम मन्त्रालयको तथ्याङ्क विभागका प्रमुखलाई बर्खास्त गर्नुभएको छ । उहाँले अर्थशास्त्री इजे एन्टोनीलाई विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।