`

कास्की कांग्रेसद्वारा पार्टीको विशेष महाधिवेशन माग

Nepal One HD ५ असोज २०८२ २१:३९
नेपाली कांग्रेस

गण्डकी, ५ असोज: नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । पार्टी जिल्ला कार्यसमितिको आजको बैठकले देशको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुुभयो ।

बैठकले यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मङ्सिरभित्र नै विशेष महाधिवेशन गर्ने, त्यसो हुन नसकेमा १४औँ महाधिवेशनका प्रतिनिधिहरूबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णय गरिएको उहाँले बताउनुुभयो ।

बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणामाथिको आक्रमण, तोडफोड र आगजानीको घटनाप्रति घोर निन्दा तथा भत्र्सना गरेको छ ।

कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबुु भण्डारीको अध्यक्षतामा बसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पत्तिमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने लोकतान्त्रिक संस्कारको मर्म र मान्यता बाहिर गएको उल्लेख गर्दै त्यसको भत्र्सना गरेको हो ।

यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढुङ्गामा रहेको बिपी कोइराला र हरिचोकमा रहेको सहिद हरिप्रसाद गुरुङको सालिकसँगै अन्य सहिदहरूको सालिक तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।पार्टी कार्यालय पुनर्निर्माण, कोइराला र सहिद गुरुङको सालिक पुनःस्थापनाका लागि सहयोगको आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयको क्षति मूल्याङ्कन र पुनर्निर्माणको लागत पेस गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य इ सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै, कास्की जिल्ला मातहतमा रहेका क्षेत्र, प्रदेशसभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक बसी पार्टीका साथीहरूलाई क्रियाशील बनाउन बैकठले आह्वान गरेको छ ।बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्र, प्रदेशसभा र पालिकाका सभापतिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *