`

आज भीमा एकादशी व्रत, के छ यसको महत्त्व ?

काठमाडौँ, २६ माघः माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ–

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।
   अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन् गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरि दिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन । 

यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ । यस्ता पवित्रतम स्थानमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ ।  

एकादशीका विषयमा कूर्मपुराणमा भनिएको छ,– 
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः ।
अर्थात् व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ ।
श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ–
यज्ञदानतपः कर्म न त्याज्यं कार्यमेव तत् ।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न । शास्त्रमा तप अन्तर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ ।

एकादशी व्रतको प्रारम्भ कसरी भयो?भगवती एकादशी को हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान् श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजाराँै यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो । 

एकादशीको लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर “जया नाम्नीती विख्याता सर्व पापहरा परा “जसले जया एकादशीको पवित्र नाम जप्दछ भने उसका श्राप हटेर जाने गर्दछ । त्यसैले आफ्नो नित्य कर्म सकी स्नान गरेर प्राणायाम, पवित्र कुशको औँठी धारण, तिलक धारण, जपसकी लक्ष्मीनारायण ,माधवनारायण भगवान्को सेवा, पूजा गरी दिनभर कथा श्रवण, सत्सँग गर्दै उपवास बसेर बेलुका सन्ध्या जप सकेर भगवान्को बिग्रहमा रातभर दिपमालिका, भजन, कीर्तन जाग्राम बसी त्यसको भोलिपल्ट गोदान, पूर्णपात्र सकी ब्राह्मणको दम्पतिलाई इच्छा भोजन गराउनु पर्दछ । जसले यसरि गर्दछ भने उसलाई  “पवित्रा पापहन्त्री च पिशाचत्वविनाशिनी,नैव तस्या व्रते चिर्णे प्रेतत्वं जायते नृणाम् । अर्थात् जयाको व्रत गर्नेलाई पिशाच हुनुपर्ने भएपनि त्यस पिशाचत्वबाट छुटाउने छ अर्थात् त्यसको व्रतगर्ने मानिस प्रेत हुँदैन । जया एकादशीका विषयमा जुन कथा प्रचलित छ, त्यसबमोजिम धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णसित निवेदन गर्नुहुन्छ । 

माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ ? र यस एकादशीको के महत्व छ ? श्री कृष्ण आज्ञा गर्नुहुन्छ । माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भन्दछन् । यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

लेखनाथ (कास्की), २६ माघः कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ«े माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।

छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिड्नुभयो । माछापुच्छ«े माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउनु अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिनुभएकी स्वास्थ्यकर्मी एक माया आचार्यले  छात्रालाई सम्झाइ राख्नुभएको थियो खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।

यो खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशतले रोक्ने स्वास्थ्यकर्मी आचार्यले छात्रालाई भन्दै हुनुहुन्थ्यो । यो खोप १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई देशैभरी लगाउनेकार्य भइरहेको छ । 

माछापुच्छ«े माविकै कक्षा ८ मा अध्ययनरत छात्रा इन्द्रा न्यौपानेलाई पनि सजिनाजस्तै खोप लगाउनु अगाडि डर थियो तर लगाएपछि डर हट्यो, खोपको अनुगमन गर्न त्यहाँ पुग्नुभएका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले छात्रालाई भन्दै हुनुहुन्थ्यो खोप ढुक्क भएर लगाउनु यसले कुनै असर गर्दैन, खोप गुणस्तरीय पनि छ । नेपालमा धेरै महिला पठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ, विकसित राष्ट्रमा १०आँै वर्षदेखि यो खोप नियमित लगाउने गरेका छन् नेपालमा पनि यस वर्षदेखि सुरु भएको छ । 

पोखरा–२५ हेम्जाको धौलागिरि बोडिङ कक्षा ८ मा अध्ययनरत रोशनी क्षत्री दायाँ पाखुरामा लगाएको खोपले कुनै दुखाई नभएको बताउँदै आधा घण्टा आराम गरेपछि पुन पहिलेकै अवस्थामा फुर्तिलो बनाएको बताउनुहुन्छ । धौलागिरि वोडिङमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५१ जना छात्रालाई उक्त खोप लगाइएको थियो ।

धौलागिरि बोडिङकै कक्षा नौ मा अध्ययनरत छात्रा श्रेया विकलाई खोप लगाउने सूचना विद्यालयले अगिल्लो दिन नै दिएको थियो, विद्यालयबाट घरमा पुगरे खोप लगाउँदा के कसो हुने हो भन्ने डर भने पछिल्लो दिन खोप नलगाउँदासम्म उहाँका मनभित्र त्रास थियो, जब खोप लगाउनुभयो सबै त्रास हटेरगयो । 

कास्कीमा यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरि योखोप सञ्चालनमा आइरहेको छ । खोपको अनुगमन गर्न पोखरा–३ स्थित बाल मन्दिर विद्यालय पुग्नुभएका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मन्त्री पाठकले विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोपको पहुँमा ल्याउने जानकारीदिनुभयो ।   

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ

सिरहा, २५ माघ : नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो ।

सूचना अधिकारी पासवानका अनुसार ती कर्मचारीको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौँ साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।

‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’ – नारायणमान विजुक्छेँ

भक्तपुर, २५ माघ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले देशमा आउने जुनुसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामथ्र्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसियशन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै उहाँले देशका नयाँ पुस्तालाई देशभक्तिको भावनाबाट सधैँ प्रेरित गर्दै सङ्कटमा डटेर सामना गर्ने सामथ्र्यवान बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष विजुक्छेँले अवकाश प्राप्त कर्मचारी राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउँदै अवकाश प्राप्त कर्मचारीको ज्ञान, सीप र अनुभव उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्ने बताउनुभयो । भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो मूर्तरूप लिने विश्वास व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन नेपालको शैक्षिक क्षेत्रको विकासमा एउटा नवीनतम अभ्यासको रूपमा रहने बताउनुभयो ।

उहाँले त्यसअवसरमा भक्तपुर नगरपालिकामा ३० वर्षभन्दा बढी सेवा गरी विसं २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीलाई सम्मान गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई अहिले आफ्नो मातहतको एकाइ झै व्यवहार गर्न नछाडेको भन्दै स्वायत्तताको नाममा स्थानीय तहमाथि सङ्घ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउनुभयो ।

बाल यौन दुरूपयोगमा कृषिविज्ञ राई दुई वर्ष छ महिना कैद सजाय

खोटाङ, २५ माघ : बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आज सजाय निर्धारण गरेको हो ।

यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै रू एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयो । यस्तै, पीडित किशोरीलाई रू एक लाख ५० हजार क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो ।

फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए । आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते रू चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

आरोपित कृषिविज्ञ राईविरूद्ध विसं २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बाल यौन दुरूपयोगसम्बन्धी अभियोगपत्र दायर गरेको थियो । जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैद र रू ७५ हजार जरिवाना माग गरिएको थियो ।

कृषिविज्ञ राईको पहलमा वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब एक सय ५० विद्यार्थी अध्ययनरत छन् । वस्तुगत सीप र व्यावहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचानसमेत बनाएको छ ।

फाउण्डेशनका संस्थापक कृषिविज्ञ राईलाई अदालतले बाल यौन दुरूपयोग कसुरमा दोषी ठहर गरेर कैद सजायका साथै जरिवानासमेत तोकेपछि फाउण्डेशन परिवार चिन्तित बनेका छन् । प्रतिवादी कृषिविज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानुन व्यवसायी र वादी सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक बहस गरेका थिए ।

फाउण्डेशनका संस्थापक रहनुभएका ७५ वर्षीय कृषिविज्ञ राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आउनुभएको थियो । यौन शिक्षाका नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक कृषिविज्ञ राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

कर्णाली, २५ माघः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज सम्पन्न भर्चुअल बैठकका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री कँडेलले बजेट अभावका कारण कर्णालीमा सञ्चालित ठूला आयोजनाहरूको निर्माण सम्पन्न हुन नसकेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।

कर्णाली करिडोर, कर्णाली राजमार्ग र भेरी करिडोरको स्तरोन्नतिमा हाल देखिएको बजेट अभाव र काममा भएको ढिलाइका सम्बन्धमा मुख्यमन्त्री कँडेलले बैठकमा जानकारी दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा पर्ने मान्साभिरको सडक र भेरीमा पुल निर्माणमा जोड दिनुपर्ने, कोहलपुर–सुर्खेत एक सय ३२ केभिए प्रसारण लाइनको विस्तारमा हाल देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने, सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति, जाजरकोट भूकम्पपछिको पुनःनिमार्णमा भइरहेको ढिलाइबारे पनि मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र रुख कटानमा देखिएको ढिलाइका कारण बड्डीचौर–खम्बागाढे, तेलपानी–भुरीगाँउलगायत सडक आयोजनामा निर्माण र विस्तारमा देखिएका समस्या, अलपत्र रानीघाट पुल निर्माण अघि बढाउन, प्रदेश तथा स्थानीय तहले सडक तथा अन्य आयोजना बनाउँदा रुख कटानमा तिर्नुपर्ने शुल्क हटाउने व्यवस्था मिलाउन उहाँले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको गौतमले बताउनुभयो ।

सङ्घीय सरकारले ठेक्का लगाएको भेरी बबई डाइभर्सन आयोजनाको कामलाई समयमा सम्पन्न गर्नुपर्ने, आसन्न चैत २३–३० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा सङ्घीय सरकारबाट हुनुपर्ने मागसहित कर्णाली प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा भइरहेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्थाबारे पनि उहाँले बैठकमा प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभएको थियो ।

स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौँ, २५ माघ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा आजदेखि सुरू भएको डायलाइसिस सेवा शुभारम्भ गर्दै उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको सङ्ख्या बढिरहेको छ, मिर्गौला रोगीहरूको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

  उहाँले मिर्गौला रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरूवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेकोमा खुसी व्यक्त गर्नुभयो । सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उहाँको भनाइ थियो ।

  अस्पतालका निर्देशक डा प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको  बताउनुभयो । उहाँले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।  

मुलुकमा समाजवादी क्रान्तिको सुरुवात : अध्यक्ष दाहाल

धुलिखेल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा बोल्दै प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् ।

उनले भने, ‘आर्थिक सङ्कट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको छु ।’

उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले विस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डोर्याउने लक्ष्य रहेको उनले बताए ।

पार्टीले प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको थालनी गरिरहेको उनले उल्लेख गरे । जनताबाट ऊर्जा प्राप्त भएको बताउँदै उनले अब हुलाकी मार्ग र पूर्वपश्चिम मार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली अभियान आगामी फागुन १२ गतेबाट सुरु गरिने जानकारी दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्ग सङ्घर्षमा भन्दा अन्तरसंघर्षमा रम्न थालेर बिग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गरे ।

नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्ने : मन्त्री गुरुङ

काठमाडौँ, २५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताउनुभएको छ ।
भारतीय दूतावासले आज यहाँ आयोजना गरेको ‘सेकेण्ड इण्डिया–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देशबीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि रहेको बताउनुभयो ।

उहाँका अनुसार नेपाल र भारतबीचको सांस्कृतिक, भावनात्मक र खुला सिमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रुपान्तरण आवश्यक छ । आइटी क्षेत्रमार्फत दुई देशबीचका युवाबीच ‘इनोभेटिभ’ कार्यमा सहकार्यको आवश्यकता उहाँले औँल्याउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपालले आइटी क्षेत्रमा पूर्वाधार निर्माण, बजार विस्तार र ‘डिजिटल फ्रेमवर्क’मा कार्य सम्पादन गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको आफ्नै स्याटेलाइट निर्माण गर्ने, ‘डिजिटल लिटरेसी’ विस्तार गर्ने, एआइ नीति ल्याउने सरकारको योजना रहेको जानकारी दिनुभयो । “हामीले अब नेपाल र भारतबीच नवप्रवर्तन मार्फत सहकार्य गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यसले दुई देशको सम्बन्ध विस्तारसँगै अर्थतन्त्रमा टेवा पु-याउँछ ।”

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाली र भारतीय नवप्रवर्तनबीच सहकार्य गरेर उद्यमशीलतामा प्रोत्साहन गरिने बताउनुभयो । भारतीय सरकारले नवप्रवर्तनमा युवा विशेष लगानी गर्दै आएको र नेपालले पनि प्रयास गरेको देखिएकाले दुवै देशबीचको सहकार्यमा थप उपलब्धिपूर्ण बनाउन सकिने धारणा राख्नुभयो ।

राजदूत श्रीवास्तवले भारतमा आगामी अप्रिल ३ देखि ५ तारिखमा हुन लागेको नवप्रवर्तन महाकुम्भमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोध गर्नुभयो ।

श्रीलङ्काद्वारा डिजिटल क्रान्तिमा तीव्रता ल्याउन तीन योजनाको सुरूवात

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीनवटा प्रमुख पहलहरू औपचारिक रूपमा सुरु गर्नुभयो । उक्त पहलको उद्देश्य श्रीलङ्काको डिजिटल रूपान्तरणलाई गति दिने भएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।

यी पहलहरूमा ‘गोपे’ सरकारी डिजिटल भुक्तानी प्लेटफर्मको स्थापना, राष्ट्रपति कोष सेवाहरू विभागीय सचिवालय स्तरमा विस्तार र दूतावास मार्फत जन्म, विवाह तथा मृत्यु प्रमाणपत्र प्राप्त गर्न इलेक्ट्रोनिक प्रणालीको परिचय समावेश छन् ।

प्रारम्भिक चरणमा, १६ सरकारी संस्थाहरूसँग सम्बन्धित सबै सेवाहरूको लागि भुक्तानी ‘गोपे’ प्लेटफर्म मार्फत प्रक्रिया गर्न सकिन्छ । अप्रिलदेखि, प्लेटफर्ममा थप ३०० सरकारी संस्थाहरूलाई एकीकृत गर्ने योजना छ ।पीएमडीको अनुसार यस अन्तर्गत सबै सरकारी संस्थाहरूलाई एकीकरण गर्ने छ । बाह्र राज्य र निजी बैङ्कहरू पहिले नै प्लेटफर्ममा सामेल भइसकेका छन् ।

कार्यक्रममा बोल्दै दिसानायकेले प्रभावकारी, गुणस्तरीय र किफायती सेवा प्रदान गरी जनताको जीवनस्तरमा सुधार ल्याउन प्राविधिक विकासले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।राष्ट्रपति कोष परम्परागत रूपमा कोलम्बोबाट व्यवस्थित हुँदै आएकोले दुर्गम गाउँका नागरिकका लागि ठूलो चुनौती खडा भएको उहाँले बताउनुभयो ।यसलाई सम्बोधन गर्न कोषको कार्य अब अधिक पहुँच र सुविधा सुनिश्चित गर्दै डिभिजनल सचिवालय स्तरमा विकेन्द्रीकृत गरिनेछ ।

पाकिस्तानमा बाढी र खडेरीका कारण चार करोड भन्दा बढी प्रभावित

पाकिस्तानी योजना तथा विकास मन्त्री अहसान इकबालले आफ्नो देशले आर्थिक वृद्धि र विकासलाई बढावा दिन जलवायु परिवर्तनको प्रभावसँग लड्न प्रयासरत रहेको बताउनुभएको छ ।

“हिमताल प्रकोप, बाढी, धुवाँ र अन्य प्राकृतिक प्रकोपसँग जुध्न विशेष नीतिहरू कार्यान्वयन भइरहेका छन्,” मन्त्रीले सेमिनारलाई सम्बोधन गर्दै उल्लेख गर्नुभयो ।इकबालले हालैका वर्षहरूमा बाढी र खडेरीलगायत जलवायु–प्रेरित आपतकालले चार करोडभन्दा बढी मानिसहरूलाई असर गरेको बताउनुभयो ।

“सन् २०२२ मा आएको विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबानमा परेको, लाखौं मानिस विस्थापित भएको र ३० अर्ब अमेरिकी डलरको क्षति भएको छ ।”कुल गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत र रोजगारीको ३८ प्रतिशत योगदान गर्ने कृषिले अप्रत्याशित मौसम र पानीको उपलब्धतामा कमीले गम्भीर खतराको सामना गरिरहेको छ ।पाकिस्तानले अवैध वृक्षारोपण, शहरी विस्तार, जैविक विविधताको हानि र कार्बन उत्सर्जनको कारणले वार्षिक रूपमा २७ हजार हेक्टेयर जङ्गल गुमाउँदैछ ।

मन्त्रीले सक्रिय कदम चालेर जलवायु अनुकूलन र जल संरक्षणको वकालत गर्ने क्षेत्रीय नेतृत्वमा रहेको बताउनुभयो ।उहाँले थप्नुभयो,“पाकिस्तानले राष्ट्रिय जलवायु अनुकूलन योजनाहरूलाई बलियो बनाएको छ । कमजोर देशहरूलाई सहयोग गर्न वकालत गरेको छ । साथै, पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन रणनीतिहरू विकास गरेको छ ।”

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

काठमाडौँ, २५ माघः कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार शनिबार निर्वाचन हुन लागेको हो ।

बागमती प्रदेशको मतदान शनिबारबिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ । बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् । 

बागमतीमा मात्रै आठ हजार दुई सय मतदाता रहेका जनाउँदै उहाँले परिषद्बाट हालसम्म ३१आँै परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउने उल्लेख गर्नुभयो । 

बागमती प्रदेशका लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिनुभएको छ ।   
वरिष्ठ अधिवक्ता खनालले परिषद्लाई कानुनी बौद्धिक क्षेत्रका रूपमा विकास गर्ने, कानुनी शिक्षालाई वैज्ञानिक अभ्यासमूलक र गुणस्तरीय बनाउने, छुट्टै कानुन विश्वविद्यालयको स्थापना गर्न आवश्यक पहल गर्ने, अन्तरराष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यावहारिक शिक्षाको पाठ्यक्रम परिषद् आफँैले विकास गरी सो पाठ्यक्रम लागू गर्न÷गराउन पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता कोइरालले आफ्नो उम्मेदवारीको प्रतिबद्धतापत्रमा कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीको अनुगमन, क्षमता विकासलगायत क्षेत्रमा काम गर्ने जनाउनुभएको छ ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुनेछन् । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।

नायिका झरना थापा, संचारकर्मी सुवेदीसहितको कलाकारको टोली देवघाटमा

देवघाट- देवघाट महामहोत्सव २५औं दिनमा प्रवेश गर्दा, धार्मिक उल्लास झनै चुलिएको छ। अब केवल ५ दिन बाँकी रहेको यस महामहोत्सवमा दशौं हजार भक्तजनहरूको उपस्थितिमा देवघाट दिव्यधामको शिलान्यास पूजा सम्पन्न गरिएको छ।

आजको विशेष कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, चर्चित नायिका झरना थापा, तथा चलचित्र निर्माता सुनिल थापा लगायतको सहभागिता रह्यो। यी सबै विशिष्ट अतिथिहरूले महामहोत्सव, मातापिता सेवाश्रम र देवघाट दिव्यधाम निर्माण अभियानको खुलेर प्रशंसा गरे।

वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी तथा उनकी धर्मपत्नीले देवघाट दिव्यधाम संस्थाको आजीवन सदस्यता ग्रहण गरे। यसैगरी, नायिका झरना थापाले पनि आजीवन सदस्यता लिएर यस पवित्र कार्यमा आफ्नो प्रतिबद्धता जनाइन्।

सबै विशिष्ट अतिथिहरू तथा भक्तहरुले महामहोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजका श्रीमुख बाट करिब एक घण्टा लामो कथा प्रवचन श्रवण गरे । भक्तजनहरूले उहाँको प्रवचनबाट आध्यात्मिक ज्ञान प्राप्त गर्दै सनातन धर्मको महत्वलाई गहिरो रूपमा आत्मसात गरे।

साथै विशिष्ट अतिथिहरूले मातापिता सेवाश्रम तथा देवघाट दिव्यधाम निर्माण स्थलको अवलोकन गरे। – दैनिक दशौं हजार भक्तहरूलाई निःशुल्क भोजन र आवासको व्यवस्था रहेको देखेर उनीहरू निकै प्रभावित भए। – महामहोत्सवको व्यवस्थापन, सेवाश्रमको महत्त्व, तथा निर्माण कार्यको दूरगामी उद्देश्यबारे चासो राख्दै सफलताको शुभकामना दिए।

चलचित्र तथा संचार क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिताले महामहोत्सवको चर्चा अझ फैलाउन मद्दत गर्ने विश्वास गरिएको छ। नायिका झरना थापाले धार्मिक कार्यमा आफ्नो समर्थन रहिरहने बताइन् भने प्रकाश सुवेदीले पनि आफ्नो संचार माध्यममार्फत यस्तो पुण्य कार्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए।

अब महामहोत्सवको समापनका लागि मात्र पाँच दिन बाँकी छ। आयोजकका अनुसार अन्तिम पाँच दिनमा अझ विशेष धार्मिक कार्यक्रमहरू गरिने छन्, जसमा लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ। देवघाट महामहोत्सव सनातन धर्म, धार्मिक पर्यटन प्रवर्द्धन, तथा समाजसेवाको उत्कृष्ट उदाहरण बन्दै गएको छ ।

समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यस प्रकारको संवाद गरेका हुन् ।

करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुट्दा थप छलफल गर्दै जाने विश्वास व्यक्त गरे । उनले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’ मा जाने जानकारी गराए ।
यस्तै, उनले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरुको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरुमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थीको सहभागी रहेको जानकारी गराए ।

आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए ।उनले डिजिटल नेपालतर्फ आफूहरु अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए ।संवादमा मुख्यमन्त्रीहरुले यस प्रकारको छलफल राखिएकोमा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराए ।

उनीहरुले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरुमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिएका थिए ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरुले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र नेपाल सरकारका सचिवहरुको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताए । संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा र उच्चाधिकारीहरुको सहभागिता थियो ।

बुढासुब्बा गोल्डकप फुटबलमा उपाधिका लागि एनआरटी र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने

धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।

एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो ।
चर्च ब्वाइजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् ।

यस सिजनमा खेलेको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए । ‘यस सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भने । ’चर्च ब्वाइज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए ।
यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए ।

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाई उपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताए ।धरान रङ्गशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

मनाङ, २५ माघ : हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे ।

चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन् ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् । गत वर्षहरुमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो ।

अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनल पुग्ने टोलीको टुङ्गो

फाप्ला (कैलाली), २५ माघ : यहाँको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

समूह चरणको अन्तिम खेलमा सीवाइसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । आजको खेलमा पराजित भए पनि बुटवल समान दुई अङ्क रहेका बैतडी र काठमाडौँलाई रनरेटमा पछाडि पार्दै अन्तिम चारमा पुगेको छ ।

यसअघि नै अत्तरिया, फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगिसकेका थिए । अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसँग शनिबार खेल्ने छ । त्यसैगरी समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग आइतबार खेल्ने छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । एक सय ८९ रनको लक्ष्यसहित मैदान उत्रिएको बुटवलले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १० रन मात्रै बनाउन सक्यो । उसका लागि प्रतीक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र वीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई–दुई विकेट लिए । कमल गुप्ता र दिपेश कँडेलले एक–एक विकेट लिए ।

त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । अत्तरियाका भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ३९ बलमा ५८ तथा यादवले ३८ बलमा ५१ रन बनाए । यादव खेलका म्यान अफ द म्याच भए । त्यसैगरी शङ्कर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले दुई तथा वीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक–एक विकेट लिए ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन, २५ माघः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा लैजाने तयारी मन्त्रालयको छ ।”

उहाँले कृषकलाई ऐनमा समावेश गर्नुपर्ने सुझाव दिनसमेत आग्रह गर्नुभयो । कृषि ऐन बनेसँगै किसानका समस्या समाधानका लागि सहज हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ऐन बनिसकेपछि नेपाली किसान पनि निर्यात गर्ने क्षमतामा पुग्ने छन् ।”

पछिल्लो समय दुग्ध उत्पादनक किसानले भुक्तानी नपाएको विषयमा उहाँले भन्नुभयो, “हामीले ज–जसलाई विश्वास गरेर जिम्मेवारी सुम्पियौँ त्यही ठाउँबाट इमान्दारिताका साथ काम हुन नसक्दा समस्या भयो, दूधको पैसा भुक्तानी नभएकोमा लज्जित छु । किसानसँग रु ६५ मा उधारो किन्ने र रु एक सयमा बेचेर किसानलाई पैसा नदिने यो हुन सक्दैन ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति शारदा थपलियालगायतले कृषि क्षेत्रले भोग्नुपरेका समस्या र समाधनमा राज्यको भूमिकाबारे बोल्नुभएको थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घ चितवनको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम राष्ट्रिय डेरी एक्स्पो तीन दिनसम्म चल्नेछ । चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले पहिलो पटक राष्ट्रिय डेरी एक्स्पो गरिएकाले यसले दुग्ध उत्पादक किसानलाई फाइदा पुग्ने बताउनुभयो ।

७० वटा दूध र दुग्धजन्य उत्पादनको प्रदर्शनी कक्ष रहेको सो एक्स्पोको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा

सुदूरपश्चिम, २५ माघः परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उहाँले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गर्नुभयो । परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो । 

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राख्नुभयो । उहाँले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गर्नुभयो ।

उहाँले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्याकर्तालाई आग्रह गर्नुभयो । 

पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको समारोहमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, रामजनम चौधरी, डा जीवन रानालगायत व्यक्ताले पार्टी सङ्गठनका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । अधिवेशनमा पार्टीको कार्ययोजनासहित विविध विषयमा छलफल हुने जिल्ला सचिव नृप सुनारले जानकारी दिनुभयो । 

खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने

काठमाडौँ, २५ माघः राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको छ ।

खोकनाको समस्याका कारण दु्रतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।

उक्त समस्या समाधानका लागि रक्षामन्त्रीको संयोजकत्वमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान समिति तथा अन्य उपसमिति गठन गरी कार्य अघि बढाइएको रक्षा मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्चाधिकारीको सहभागितामा खोकनाको समस्या तथा आयोजनाको प्रगतिबारे छलफल गर्नुभएको थियो ।

रक्षामन्त्री राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज उहाँले सो निर्देशन दिनुभएको हो । 

मन्त्री राईले आफूसहितको टोलीले गत पुस २२ गते खोकना–बुङ्मती इलाकाको स्थलगत अनुगमन गरेको जानकारी गराउँदै खोकनाको समस्या समाधान गर्न विभिन्न विकल्प निकाल्ने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले यसबाहेक अन्य सडक आयोजना निर्माण, सैनिक सामग्री खरिद, चुरे संरक्षण, विपद् उद्दारलगायत कार्यमा लक्ष्यअनुसार प्रगति भएकामा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले भएका प्रगतिको मूल्याङ्कन गर्दै खोकनाको समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने सुझाव दिनुभयो । आयोजना निर्माणमा आयोगकातर्फबाट हुने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कुनै एक समस्यालाई देखाएर अन्य स्थानको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । 

मन्त्रालयका सचिव रामेश्वर दङ्गालले चालु आवको छ महिनामा टेण्डरसहितका कार्य गर्नुपरेकाले अपेक्षानुसार काम भएको नदेखिए पनि बाँकी अवधिमा लक्ष्यानुसार काम हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्य आयोजनाका जस्तै समस्याहरू द्रुतमार्गमा पनि देखिनु दुःखद् पक्ष भएको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति अशोकराज सिग्देलले गत असोज ११ र १२ गते भएको अत्यधिक वर्षाका कारण दु्रतमार्ग आयोजनाका पहँुचमार्गलगायत विभिन्न संरचनामा क्षति भई कार्य प्रभावित भएको अवगत गराउनुभयो । उहाँले वर्षाका कारण वाग्मती नदीको बहावसहित भौगालिक परिवर्तन भएकाले केही संरचनाको नयाँ भौगर्भिक अध्ययन तथा पुनःडिजाइन गर्नुपर्ने अवस्थाका बारेमा जानकारी गराउनुभयो । 

कूल ७० दशमलव ९७ किमी लम्बाइको दु्रतमार्ग २०८३ साल चैतसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ । आयोजनाको प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

कार्यक्रममा मन्त्रालयअन्तर्गतका दु्रतमार्गसहित करिडोर तथा अन्य सडक आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, बङ्करबाट ब्यारेकसम्म कार्यक्रम, राष्ट्रिय सेवा दल, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, विपद् व्यवस्थापनलगायत आयोजना र कार्यक्रमका लक्ष्य तथा प्रगतिबारेमा जानकारी गराइएको थियो ।

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार : मन्त्री भण्डारी

त्रिवेणी (नवलपरासी), २५ माघ : सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा आएको शिथिलतालाई सुधार गर्न सरकारले काम गरिरहेको बताउनुभएको हो ।

नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उहाँको भनाइ छ । 

मन्त्री भण्डारीले भन्नुभयो, “रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ ।” 

वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवर्द्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरू संशोधन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

भारतीय सीमाबाट अबैध रूपमा अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन, २५ माघ : भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।” रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।

पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताउनुभयो । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उहाँको भनाइ छ । 

सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्याल बताउनुहुन्छ । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताउनुभयो । 

अण्डा उत्पादन र बजारीकरण गर्दै आउनुभएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलव ५६ पर्न आउँछ । लामो समय अण्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ । जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ ।”

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार सीमा क्षेत्रबाट कुनै पनि अवैध वस्तु भित्र्याउन पाइन्छ । गुनासो आएको भन्दै कडाइका साथ रोक्न निर्देशन दिई सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अण्डाका विषयमा गुनासो आएको छ । यससम्बन्धी ध्यानाकर्षण भएर आवश्यक निर्देशन भइसकेको छ ।” खुल्ला सिमाना भएकाले काममा कठिनाइ भएको भन्दै उहाँले यद्यपी मिलेमतोमा अवैध रूपमा अण्डा भित्रन नदिइने बताउनुभयो । नेपालमा अहिले दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको अनुमान छ ।

अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ, २५ माघः पठन संस्कृतिको प्रवर्द्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवर्द्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवर्द्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनशील समाज नै समृद्ध समाज हो । पुस्तकालयले सबैलाई पढ्ने वातावरण दिन सक्छ ।”

महानगरका साथै प्रत्येक वडा र विद्यालय तहबाट अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक अध्ययन केन्द्रहरूको प्रवर्द्धनमा जोड दिइएको डङ्गोलले उल्लेख गर्नुभयो । उहाँका अनुसार महानगरले पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा विशेष ध्यान दिँदै चालु आर्थिक वर्षमा रु एक करोड बजेट व्यवस्था गरेको छ । साथै सार्वजनिक पुस्तकालयको संरक्षणका लागि महानगर अभिभावकत्व ग्रहण गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रूपमा विकास गर्न राज्यको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको अवस्था बदल्न पुस्तकको पाना बदल्ने बानीको विकास आवश्यक छ । पठन संस्कृतिको प्रवर्द्धनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास र संरक्षणमा राज्य गम्भीर हुनुपर्छ ।”

समाजका संस्थापक अध्यक्ष तथा संरक्षक डा नारायण खड्काले पुस्तकालय ज्ञान र सूचनाको केन्द्रमात्र नभई मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभवसमेत भएको बताउँदै यसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । 

समाजका अध्यक्ष डा गोविन्द पोखरेलले पुस्तकालयको संरक्षण तथा व्यवस्थापनमा सबै सरोकार भएकाको सहकार्य अपरिहार्य रहेको बताउँदै पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रूपमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ ।आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २५ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उहाँले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ ।

“ शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेख्नु भएको छ, “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।”

अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेका छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको बताएका छन् । बिहीबार बजेटको मध्यावधि मूल्यांकनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसि मेर्थटमा पनि हामी काम गरिरहेका छौं । अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने छ । अध्यादेशले मुख्यतया अर्थथन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ ।’ साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैं राम्रो काम गर्ने संकल्प सरकारले लिएको बताए ।

झापाबाट काठमाडौँ जाँदै गरेको निजी सवारी दुर्घटना:एकको मृत्यु, पाँच जना घाइते

सिन्धुली, २५ माघः झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।

मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उहाँले जानकारी दिनुभयो ।

झोलुंगे पुल जीर्ण भएपछि सोरु गाउँपालिकाका स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य

मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाँउका नागरीकलाई वारिपारि गर्न मुस्किल भएको छ ।

मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।
खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए । उनका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुडिएको छ ।

उनले भने, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जना भन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’
छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए । उनका अनुसार हिँउद लागे पनि कर्णाली नदीको बहाब नघटेकाले अहिले पनि नदी तर्न नसकिने बताए ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्ने गरिन्छ । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए ।

उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ । ‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’ उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पु¥याउन सकिएको छैन ।’

कुलाहा पुल धेरै पुरानो र जिर्ण भएको हुँदा बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भई रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । शाहीका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्ने बारे तथ्यांक संकलन गरी जिर्ण पुलहरुको मर्मत तथा निमार्ण गर्नको लागि संघीय सरकार,प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताए ।

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट इजरायल अलग

इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ ।
इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेख्नुभयो,“मानव अधिकार परिषदमा इजरायल विरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।

“सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।”इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभयो,“राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग नलिने उल्लेख गरेको छ ।”

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गर्नुभएको छ । फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ । फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ ।

“सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।”

सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र १०० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत ग्रिडमा थप्ने लक्ष्य लिएको बताउनुभयो ।

मुइज्जुले सन् २०२४ मा १५ मेगावाट नवीकरणीय ऊर्जा ग्रिडमा एकीकृत भएको र देशको ३३ प्रतिशत ऊर्जा आवश्यकता नवीकरणीय स्रोतबाट पूरा गर्ने योजना रहेको बताउनुभयो ।

सरकारले नवीकरणीय ऊर्जा क्षेत्रमा नागरिकको सहभागिता अभिवृद्धि गर्न सरकारले ‘म्यागी सोलार’ पहल सुरु गरेको उहाँले बताउनुभयो । म्यागी सोलार एक सौर्य ऊर्जा कम्पनी हो,जसले दिगो र स्वच्छ उर्जा समाधानहरू प्रदान गर्नमा केन्द्रित छ । म्यागी सोलारको मुख्य उद्देश्य स्वच्छ नवीकरणीय उर्जाको स्रोत प्रदान गर्नु हो ।

नेपाल–भारत रङ्ग महोत्सव : प्रदर्शन भयो ‘कथा कस्तुरी’

काठमाडौँ-काठमाडौँमा जारी नेपाल–भारत रङ्ग महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन गरिएको छ । उक्त नाटकमा नेपालको पश्चिम तराईमा भेटिने सपेरा जातिको जनजीवनलाई प्रस्तुत गरिएको छ । आख्यानकार नयनराज पाण्डेको ‘सर्पदंश’ को नाट्य रूपान्तरण गरिएको कथा कस्तुरी तराईमा रहने सपेरा जातिको जीवन सङ्घर्षमा आधारित रहेको छ ।

महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो ।

जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये ३ वटा नेपालका र ३ वटा भारतका प्रदर्शन हुने कुलपति शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २ वटा नाटक प्रदर्शन भएको र अब ४ वटा नाटक प्रदर्शन गर्न बाँकी छ ।

भारतको राजधानी नयाँ दिल्लीमा महोत्सव यही माघ १५ गते नै शुरू भइसकेको र भारतका ११ शहरमा महोत्सव अहिले जारी छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सुरू भएको महोत्सव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो । भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो भएको बताइएको छ ।

महोत्सवअन्तर्गत यही माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ । माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।

कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरूको साझा सम्वाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । यहाँ प्रदर्शन भएको नाटकहरूमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ नयाँ दिल्लीमा प्रदर्शन हुने छ भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु७०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७५, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ७०, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १६०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १६०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ९०, हरियो धनिया प्रतिकेजी रु ४५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २५ माघः कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो । मौसुफले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

‘एसियन हाइवे’ निर्माणले गति लिँदै,सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम

बेलबारी(मोरङ), २५ माघ : सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।

पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ ।

यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।

नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ ।

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताउनुभयो ।

पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताउनुभयो । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ ।

हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

सन्तोषजनक छैन राष्ट्रिय गौरवका आयोजनाको प्रगति

काठमाडौँ, २५ माघ : सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ ।

कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि जम्मा रू ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएको थियो । गत पुस मसान्तसम्मको अवधिमा जम्मा रू १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जस अनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५ दशमलव ७० प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०६८/६९ को सुरूमा १७ वटा राष्ट्रिय गौरवका आयोजना पहिचान गरिएकामा नेपाल सरकारले आवश्यकता र औचित्यताको आधारमा क्रमागत तथा नयाँ आयोजनालाई समेत समावेश गरेको थियो । त्यस्ता आयोजनाको सङ्ख्या विस्तार गरी २७ वटा पुगेकामा सम्पन्न भइसकेका र कार्य प्रारम्भ नभएका बाहेक आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा १९ आयोजना कार्यान्वयनमा छन् ।

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय गौरवका आयोजनाको लागि रू ६० अर्ब ३८ करोड ७१ लाख खुद बजेट विनियोजन गरिएकामा रू ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ८९ दशमलव ८२ प्रतिशत र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ ।काठमाडौँ, २५ माघ : सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ ।

कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि जम्मा रू ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएको थियो । गत पुस मसान्तसम्मको अवधिमा जम्मा रू १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जस अनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५ दशमलव ७० प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०६८/६९ को सुरूमा १७ वटा राष्ट्रिय गौरवका आयोजना पहिचान गरिएकामा नेपाल सरकारले आवश्यकता र औचित्यताको आधारमा क्रमागत तथा नयाँ आयोजनालाई समेत समावेश गरेको थियो । त्यस्ता आयोजनाको सङ्ख्या विस्तार गरी २७ वटा पुगेकामा सम्पन्न भइसकेका र कार्य प्रारम्भ नभएका बाहेक आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा १९ आयोजना कार्यान्वयनमा छन् ।

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय गौरवका आयोजनाको लागि रू ६० अर्ब ३८ करोड ७१ लाख खुद बजेट विनियोजन गरिएकामा रू ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ८९ दशमलव ८२ प्रतिशत र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ ।

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ २५ माघ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई रू आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ११ दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ३९ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको छ महिनाको तुलनामा १५ दशमलव पाँच प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको रू २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रू २३ खर्ब १६ अर्ब ८४ करोड कायम भएको छ ।

उक्त सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकोमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा १६ अर्ब ८४ करोड अमेरिकी डलर कायम भएको छ । यो सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।

यस्तै, कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रू ९८ अर्ब ७९ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो । यो अवधिमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रू आठ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात तीन दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा चार दशमलव चार प्रतिशतले वृद्धि भई रू सात खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव छ प्रतिशतले घटेको थियो ।

कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब

लमजुङ, २५ माघ : बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।

कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनुभएको थियो । उहाँ गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उहाँ हालसम्म हाजिरी हुन आउनुभएको छैन ।

कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ । सेवाग्राहीले समस्या भोग्नु परेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्र्पक बिहिन जस्तै हुनुभएको छ, यहाँ नआउने भए सरूवा फिर्ता लिए हुन्थ्यो, कि आउने भए बेलैमा आए कर्मचारीले तलब पाउने थिए, सेवाग्राहीले सेवाहरू प्राप्त गर्ने थिए ।”

गुरूङलाई निमित्त कार्यालय प्रमुख तोकिए पनि उहाँलाई आर्थिक एवं महत्त्वपूर्ण कार्याहरू गर्ने अधिकार दिएको छैन । सेवाग्राहीका महत्त्वपूर्ण काम गर्न आफूलाई अधिकार नभएकाले समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार २६ जना दरबन्दी रहेको यस कार्यालयमा जम्मा ८ जना मात्रै दरबन्दीका कर्मचारी रहेका छन् ।

गुरूङले भन्नुभयो, “यसअघि पनि कार्यालय प्रमुख नहुँदा आफू असारदेखि मङ्सिरसम्म निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको र त्यो बेलामा अरू कोही कार्यालय प्रमुख नआएको तथा न तोकेकाले अधिकार मैले पाएको थिए । तर अहिले उपसचिव अधिकारीलाई नै प्रमुख तोकेर पोखराबाट सरूवा गरेर यहाँ खटाएकाले आफूलाई अहिले सबै अधिकार नहुँदा विभिन्न समस्या उत्पन्न भइरहेकाले सम्बन्धित निकायमा पटकपटक खबर गर्दै आए पनि सुनुवाई हुन सकेको छैन ।”

यस मालपोत कार्यालयमा एक वर्षदेखि पटक पटक कार्यालय प्रमुख फेरिदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्र जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमुखको आगमन तथा सरूवा भएको छ । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेको उनीहरूको दुःखेसो छ ।

यस वर्ष चिरिञ्जीवी पौडेल कार्यालय प्रमुख भएर आउनुभयो तर एक महिनामै सरूवा हुनुभयो । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भयो । जेठ महिनामा हरेन्द्रकुमार श्रेष्ठ आउनुभयो, तर असार महिनामै सरूवा हुनुभयो । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदैआएको थियो । पछिल्लो पटक गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनु भए पनि उहाँ पनि पुस महिनामै सरूवा हुनुभयो । त्यसयता कार्यालय प्रमुखमा कोही आउनुभएको छैन । प्रमुखका रूपमा कास्कीबाट अधिकारीलाई सरूवा गरिए पनि उहाँ लमजुङमा हाजिर नहाउँदा समस्या भएको हो ।

यहाँ कार्यालय प्रमुखसँगै खरिदार ५ जना, कम्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु (टाइसिन) एक जना, कार्यालय सहयोगी एक जना खाली रहँदै आएको निमित्त कार्यालय प्रमुख गुरूङको भनाइ छ । उहाँले भन्नुभयो, “दरबन्दीअनुसार कर्मचारी कम हुँदा सेवाप्रवाहमा समेत समस्या तथा कर्मचारीलाई बढी भार हुने गरेको छ ।”

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी

म्याग्दी, २५ माघ : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।

“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्नुहुन्छ, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।”

खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् ।

सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उहाँ बताउनुहुन्छ । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।

बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोप्नुभएको थियो । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे ।

बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थप्नुभयो । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।

विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै जानुभएको छ । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।

पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गर्नुभएको थियो । निवृत्त जीवन पनि उहाँले सुन्तला खेतीमै लगाउनुभएको छ । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् ।

खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताउनुभयो ।

समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् ।

बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ ।

देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

काठमाडौँ, २५ माघः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

शनिबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसकारण बढ्न सकेन अपेक्षित सार्वजनिक खर्च

काठमाडौँ, २५ माघ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा गर्दा पूर्वतयारी पूरा भएका आयोजनामा मात्र विनियोजन हुन नसक्नुलगायतका कारण उल्लेख गरेको हो ।

यस्तै, वन क्षेत्रको उपयोग, आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, क्षतिपूर्तिलगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत बजेट विनियोजन गर्ने प्रवृत्ति विद्यमान रहेकाले सार्वजनिक खर्चमा अपेक्षित सुधार नभएको स्पष्ट पारिएको छ ।

आयोजनाको निर्माण गर्ने मोडालिटी, कूल लागत, विस्तृत आयोजना प्रतिवेदन र आयोजनाको आर्थिक, सामाजिक, वित्तीय, प्राविधिक तथा भौगर्भिक पक्षको वस्तुगत विश्लेषण एवम् मूल्याङ्कन गरी बजेट प्रस्ताव गर्न नसकेका कारण बजेट कार्यान्वयन कार्ययोजनाको परिपालना हुन नसक्नुलाई पनि मन्त्रालयले कारणको रूपमा पहिचान गरेको छ ।

“स्रोत सुनिश्चित भएका आयोजनाहरूमा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको सङ्ख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आउनुका साथै अधुरा आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ,” अर्थ मन्त्रालयले भनेको छ ।

संविधानको परिकल्पनाअनुसार तीनै तहका सरकारका बीचमा पर्याप्त समन्वय र सहकार्य हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रम, कतिपय अनुदानका कार्यक्रम र विकास आयोजनाहरू समेत दोहोरो पर्न गई खर्चको प्रभावकारिता एवम् स्रोतको समन्यायिक वितरणमा समेत नकारात्मक असर पर्न गएको स्पष्ट पारिएको छ ।

विकास आयोजनामा आयोजना प्रमुखलगायत कर्मचारीको समयमा पदपूर्ति नहुने, छिटो छिटो सरूवा हुने, निर्माण सामग्रीको निर्वाध उपलब्धता नहुने र श्रमिक व्यवस्थापनसम्बन्धी कार्य समयमै हुन नसक्ने प्रवृत्ति कायमै रहनु पनि कम खर्चको कारक बनेको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

कतिपय निकायको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्डलगायतका कानूनमा संशोधन वा नयाँ कानून तर्जुमा समयमै हुन नसकेका कारण अर्धवार्षिक अवधिसम्म पनि खर्चको आधार नै तय नहुने अवस्था रहेको मन्त्रालयको ठहर छ ।

वैदेशिक स्रोतमा सञ्चालित आयोजनामा सरकारको तर्फबाट व्यहोरिने समपूरक कोषको रकम न्यून प्रस्ताव हुने गरेको र वैदेशिक सहायताबाट सञ्चालित कतिपय आयोजनामा विकास साझेदारले निर्धारण गरेको खरिद प्रक्रिया र लेखाङ्कनसम्बन्धी व्यवस्था पालना नहुँदा तोकिएको शर्त पूरा नभई समयमै शोधभर्ना प्राप्त हुन नसकेको मन्त्रालयले जनाएको छ ।

कतिपय नयाँ आयोजना तथा कार्यक्रमका लागि अवण्डामा राखेको रकम समयमा बाँडफाँट हुन नसक्दा आयोजना कार्यान्वयनमा ढिलाई हुने गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समिति र मन्त्रालयगत विकास समस्या समाधान समितिबाट पहिचान भएका समस्या समाधानका लागि प्रस्तावित सुझाव कार्यान्वयन हुन नसक्दा सोही समस्या दोहोरिएको समीक्षामा स्पष्ट पारिएको छ ।