`

अमेरिकी डलर भाउ आज पुनः बढ्यो

काठमाडौँ, २५ माघः नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३  पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा

धरान (सुनसरी), २४ माघ – युकेएफसी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आज भएको खेलको २८औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले गिदोन नहाको पासमा गोल गरेका थिए । त्यस्तै खेलको ४५औँ मिनेटमा र ७६औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे । युकेएफसीका लागि हेमराज भुजेलले खेलको ३१औँ मिनेटमा सान्त्वना गोल गरे ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ एनआरटी फुटबल क्लबका शिशिर लेखी घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । अब शनिबार उपाधिका लागि एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले रु एक लाख, सर्वाधिक गोलकर्ताले रु ३५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने छन् । 

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ, २४ माघ : गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाउनुभएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गर्नुभएको छ । गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाउनुभएको अन्तिम व्यावसायिक गीत भनेर दाबी गर्नुभयो । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उहाँको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भन्नुभयो । उहाँले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

गायक ढकालले ‘बाचुन्जेलीलाई’ लाई प्रत्यक्ष रुपमा गाउँदै भारत पुगेर गायिका मङ्गेशकरसँग गीत ‘रेकर्ड’ गर्दाको समयलाई स्मरण गर्नुभयो । “गायिका मङ्गेशकरसम्म पुग्न सक्नुलाई भाग्यमानी ठान्छु । उहाँले मेरो गीत सुनेपछि गाउन तयार हुनुभयो । उहाँले भन्नुभयो । उहाँले गीतका रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नु संसारभर रहेका गायिका मङ्गेशकरका समर्थकका लागि विशेष उपहार रहेको बताउनुभयो । 

उक्त अवसरमा सात चित्रकारले गायिका मङ्गेशकरको विभिन्न समयको चित्र कोर्नु भएको थियो । कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजु सिंह, अभिनेता कृष्ण मल्ललगायत उपस्थित हुनुहुन्थ्यो । गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’लगायत गीत गाउनुभएको थियो । तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो । 

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौँ, २४ माघः सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

उक्त छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक/एकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताउनुभयो । “आज वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ”, महानिर्देशक कँडेलले भन्नुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ । 

निकुञ्जले आज सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ । 

‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान

महेन्द्रनगर (धनुषा), २४ माघः यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ । आज जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटनमा स्व सङ्गीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र स्व अमित झाका बुबा रामनारायण झाले संयुक्त रुपमा रु एक लाख पाँच हजार राशिको पुरस्कार प्रदान गर्नुभयो ।

अमित झा साहित्य सङ्गीत पुरस्कार नव मिथिला फाउन्डेसनको आयोजनामा हरेक वर्ष साहित्य र सङ्गीत क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । स्व कामतले नेपाली शास्त्रीय सङ्गीतमा महत्वपूर्ण योगदान पु-याउनु भएको थियो ।

उहाँ गत साउनमा दिवङ्गत हुनुभएको थियो । उहाँ ‘प्रबल जनसेवा श्री’ लगायतका सम्मानबाट सम्मानित हुनुभएको थियो । उहाँले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सक्नुभएन । पुरस्कार हस्तान्तरणसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित सङ्गीतकार अशोक दत्तलाई रु ५१ हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । सङ्गीत क्षेत्रमा दत्तको योगदानको कदर गर्दै सहयोग रकम उहाँको उपचारका लागि प्रदान गरिएको हो ।

तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रमहरू हुने जनाइएको छ । पहिलो दिन राजनीतिक विश्लेषक सिके लालले ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति गर्नुभयो ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिनिधिसभामा पेस

काठमाडौँ, २४ माघः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्ववर्ती सरकारले बनाएको चालु आर्थिक वर्षको बजेट सिद्धान्तमा उभिएर नबनेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आवको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्नुहुँदै उहाँले सिद्धान्तविपरीत आएको बजेट बोझ भएको बताउनुभयो । “त्यसबेलाको परिस्थितिले यो बजेट संसद्ले पारित पनि गर्नुपरेको थियो, पछि म अर्थमन्त्री भइसकेपछि पूरक बजेटमा जान सकिन्थ्यो, एउटै सदन हो भनेर पूरक बजेट ल्याइनँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो ।

रु तीन करोडभन्दा साना आयोजनामा बजेट विनियोजन नगर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई पनि पूर्ववर्ती सरकारले बेवास्ता गर्दै रु ७५ हजारका आयोजना पनि राखेको उहाँले बताउनुभयो । “त्यसबेला सरकारमा बस्नेले रु ७५ हजारको पनि बजेट बनाएर कुनै जवाफदेही हुनुपर्दैन ? सात हजार योजनामा ११ हजार योजना थपेर आयो, सङ्घीयताको मर्म यही हो ? सङ्घीय सरकारले रु ७५ हजारको बजेट कार्यान्वयन गर्छ भने प्रदेश, स्थानीय तहले के गर्ने ?”, उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रु ३० अर्ब ‘अन्डर फन्डेड’ रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । आफू पूरक बजेट ल्याउनेतर्फ नलागी कार्यान्वयनका क्रममा बिग्रिएको बजेटलाई सच्च्याउन लागिपरेको उहाँको भनाइ थियो । “अध्यादेश निरङ्कुश भन्ने आधारहीन आरोप हो, संविधान र कानुनमा टेकेर आएको छ, यसलाई सदनमा पेस गरिएको छ, पारित वा फेल गर्न सकिन्छ, संविधान, कानुन र संसदीय प्रक्रियामा हिँड्नु निरङ्कुश हुनु हो ?” उहाँले भन्नुभयो ।

संसद्मा आज प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका विषयप्रति सङ्केत गर्र्दै उहाँले सदन आक्रोश, कुण्ठा व्यक्त गर्ने स्थल नभएको स्पष्ट पार्नुभयो । आफूप्रति लक्षित गरी प्रमुख प्रतिपक्षी दलका नेताले लगाएको आरोपलाई पुष्टि गर्न अर्थमन्त्री पौडेलले चुनौती दिनुभयो । “यस्तो आरोप पुष्टि गर्न नसके उहाँले ‘रोष्टम’मा उभिएर क्षमायाचना गर्नुपर्छ, अर्थतन्त्रका बारेमा अभिलेख राख्ने राज्यका निकाय छन्, तत्कालीन प्रचण्ड सरकारले जोखिमको डिलमा लगेको अर्थतन्त्रलाई हामीले तानेर ल्याएका छौँ,” उहाँले भन्नुभयो ।

गत आर्थिक वर्षमा रु ४९ अर्ब ९१ करोड पहिलो छ महिनामा खर्च भएको उल्लेख गर्नुहुँदै उहाँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ५६ अर्ब बढी खर्च भएको मन्त्री पौडेलले जानकारी गराउनुभयो । उपभोक्ता मूल्य वृद्धि पनि गत आवको छ महिनामा भन्दा यस वर्ष घटेको उहाँको भनाइ थियो । गत आवको पहिलो छ महिनामा ६.४४ प्रतिशत उपभोक्ता मूल्यवृद्धि रहेकामा यस वर्ष घटेर चार प्रतिशतमा आइपुगेको उहाँले जानकारी गराउनुभयो ।

आफू अर्थमन्त्री भएपछि निर्माण व्यवसायीलाई अघिल्लो वर्षको पनि भुक्तानी गरेको उहाँको भनाइ थियो । विगत वर्षमा भन्दा यो वर्ष विप्रेषणको आप्रवाह नघटेको अर्थमन्त्री पौडेलले बताउनुभयो । हालै सरकारले जारी गरेको अध्यादेशले विशेषगरी अर्थतन्त्रका समस्या समाधान गरेको, निजी क्षेत्र उत्साहित भएको, निजी क्षेत्रले एक स्वरले मुक्तकण्ठले अध्यादेशको प्रशंसा गरेको जानकारी उहाँले प्रतिनिधिसभामा गराउनुभयो ।

“सरकारले गर्ने भो, जनताले साथ दिने भए भन्नेमा प्रमुख प्रतिपक्षी दलका नेतालाई चिन्ता छ, रङ्गुन खोलाको पुलले पूर्वअर्थमन्त्रीलाई चिन्तित बनाएछ, पुल बनाउन पुग्ने गरी तपाईंले बजेट विनियोजन गर्नुभएको थियो ?”, अर्थमन्त्री पौडेलको प्रश्न थियो ।

पूर्वसरकारले नेपाल धितोपत्र बोर्डका विषयमा आफैँले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको सुनाउनुहुँदै उहाँले हिजोको सरकारले जुन प्रक्रियाबाट सुरु गरेको थियो, त्यसै अनुसार काम भइरहेकाले भ्रम सृजना नगर्न अनुरोध गर्नुभयो । 

राजस्व लक्ष्यको नजिक पुग्ने अपेक्षा गरिएको उल्लेख गर्नुहुँदै उहाँले विश्व अर्थतन्त्रमै समस्या पर्दा पनि नेपालमा धेरै समस्या आउन नदिएको बताउनुभयो । ४.०४ प्रतिशतले धानको उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान रहेको उहाँले उल्लेख गर्नुभयो ।

पैँतीस प्रतिशत बजेट खर्च    

अर्थमन्त्री पौडेलले चालु आवका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा चालु आवको पुस मसान्तसम्म जम्मा खर्च विनियोजनको तुलनामा ३५ दशमलव ८९ प्रतिशत अर्थात् रु छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख रहेको छ । यो खर्च विगत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढी हो । समीक्षा अवधिमा नेपाल सरकारको स्रोततर्फ रु छ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ । जुन १५ दशमलव ४८ प्रतिशतले बढी हो । हालसम्म करिब रु ३० अर्ब स्रोत व्यवस्थापन गरी दायित्व भुक्तानी गर्न सहजीकरण गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

समीक्षा अवधिमा रु छ खर्ब ७२ अर्ब ८० करोड ९४ लाख राजस्व प्राप्तिको अनुमान रहेकामा यस अवधिमा विविध प्राप्तिसहित कुल रु पाँच खर्ब ६७ अर्ब ४९ करोड ७३ लाख सङ्कलन भएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २७ आयोजनामध्ये चालु आवमा १९ आयोजना कार्यान्वयनमा रहेका छन् । ती आयोजनामा रु ६० अर्ब ३८ करोड ७१ लाख बजेट विनियोजन गरिएकामा रु ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय ९९ दशमलव ८२ र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत रहेको छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आवमा १९ आयोजनाका लागि रु ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएकामा समीक्षा अवधिमा रु १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जसअनुसार २५ दशमलव पाँच प्रतिशत खर्च भएको छ ।

अर्थमन्त्री पौडेलले सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार गरिएको बताउनुभयो । कम्प्युटरमा आधारित लेखा प्रणाली लागू गरिएको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली कार्यान्वयन गरिएको बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही माघ २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो ।स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन् ।

दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ ।दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।

‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।

सिनेमाको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । सिनेमाको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो वर्षकै प्रतिक्षित मध्यको एक सिनेमा हो ।

स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु-याउन सम्झौता

काठमाडौँ, २४ माघ : राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो । सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन मद्दत पुग्ने बताउनुभयो । यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँहरुको भनाइ थियो ।

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएका हुन्।

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ। यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो।

चालुतर्फ १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख रुपैयाँ अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ।

चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख, वैदेशिक अनुदानतर्फ ३६ अर्ब ६२ करोड ८६ लाख र वैदेशिक ऋणतर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ।

अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख र स्थानीय तहलाई एक खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ।

चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६ दशमलव १७ प्रतिशत र स्थानीय तहमा ४८ दशमलव १० प्रतिशत हस्तान्तरण भएको छ। समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५ दशमलव २८ प्रतिशत हस्तान्तरण भएको छ।

अर्थ मन्त्रालयकाअनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई सूत्र अनुसार (१५ प्रतिशतले हुने) ३२ अर्ब २७ करोड ९० लाखका दरले जम्मा ६४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बाँडफाँट गरि पठाइएको छ। जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो।

अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा गर्नुपर्ने सुधार पनि सरकारले औँल्याएको छ। जसअन्तर्गत सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने, खर्चको मापदण्ड बनाई चालु खर्चमा मितव्ययिता कायम गर्नेलगायत विषय रहेका छन्।

स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।

जग्गा प्राप्ति र मुआब्जा वितरण, वन क्षेत्र उपयोगको स्वीकृति लगायतका तयारी पूरा गरेर मात्र पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयनका लागि खरिद प्रक्रियामा लैजाने, राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाउनेलगायत विषय रहेका छन्।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको प्रदर्शन, सर्वोच्चको आदेश कार्यान्वयनको माग

काठमाडौँ । सर्बोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् ।ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा हजारौंको संख्यामा उत्रेका भूपु सैनिकहरुले काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् ।

सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि संघर्षको मैदानमा छ ।

यस भर्तिको विरुद्धमा खोलिएका संगठनहरु अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पदम सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्समा पुगेको छ । उसले कुटनीतक, राजनीति पहल हुँदै, सडकदेखि सर्बोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।

बिगेसोले अदालतमा लडेको कानुनी लडाईले ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।

सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरुप निरन्तर संघर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग बार्ता पनि गर्न थालेको उनिहरु बताउँछन् । सरकारले बार्ता गरे पनि कर्मकाण्ड चलाएको भन्दै आन्दोलन चर्काउँदै लगेका छन्, त्यसैको द्योतककारुपमा आजको प्रदर्शन बनेको छ ।

प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

मकवानपुर, २४ माघः बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो ।

मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने छ ।

पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त

काठमाडौँ, २४ माघ : संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका उहाँहरुले आज सो उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोप्नु भएपछि केही समय अवलोकन गर्नुभयो । अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’को बिरुवा रोप्नुभयो । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोप्नुभएको थियो ।

सो अवसरमा अधिराजकुमार र अधिराजकुमारीले महारानी एलिजाबेथ र राजकुमार फिलिपले रोप्नुभएका पुँवालेका रुख राम्रोसँग हुर्केकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरुले उक्त कार्य लामो परम्परागत सम्बन्धको प्रतीक बनेको उल्लेख गर्नुभयो ।

उहाँहरुले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बाेरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गर्नुभयो । उहाँहरुलाई वन तथा वातावरण राज्यमन्त्री रुपा विकले स्वागत गर्नुभएको थियो । साथै वनस्पति विभागका महानिर्देशक सञ्जिव राई र वनस्पति उद्यानका प्रमुख मधुसुदन थापाले उद्यान र वनस्पतिका बारेमा जानकारी गराउनुभयो ।

नेपालमा पहिलो पटक भएको अधिराजकुमार र अधिराजकुमारीको यस भ्रमणले बेलायत–नेपाल सम्बन्धको गौरवशाली इतिहासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । मंगलबार नेपाल आइपुग्नुभएका उहाँहरुले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधारमा भइरहेको कामबारे उहाँहरुले अवलोकन गर्नुभएको थियो । अधिराजकुमार एड्वर्डले बुधबार यहाँस्थित बेलायती दुतावासमा आयोजित कार्यक्रममा ‘ड्यूक अफ एडिनब्रा’ अन्तरराष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै अन्तरक्रिया गर्नुभएको थियो । अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको थियो । त्यस्तै अधिराजकुमार एड्वर्डले बुधबार भक्तपुरको भ्रमण गरी त्यहाँको कला सांस्कृतिको अवलोकन गरी काठमा बुट्टासमेत खोप्नुभएको थियो ।

भ्रमणका क्रममा आजै उहाँहरूले गोदावरीको फुल्चोकीस्थित अन्तरराष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईसिमोड)को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गर्नुभयो । उहाँहरुले भ्रमणका क्रममा पोखरा पुगेर गोरवशाली गोर्खा सम्बन्धमार्फतको सेवा भावसहितको साझा इतिहासलाई सराहना गर्नुहुने जनाइएको छ ।

यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गर्नुभएको थियो । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।

गोदावरी उद्यानको बेलायतसँगको सम्बन्ध

नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर २०७३ साल असोज ६ गते गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान निर्माण गरिएको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भइ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यको शाही वनस्पति उद्यानसँगको सम्बन्ध छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको औपचारिक भ्रमणका बेला विसं २०७८ कात्तिक १७ गते स्कटल्याण्डको एडिनब्रास्थित शाही बनस्पति उद्यानमा रहेको नेपाली बगैँचामा ‘भोजपत्र’को विरुवा रोप्नुभएको थियो ।

सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपालको भ्रमण गरी वनस्पतिको अध्ययन गर्नुभएको थियो । पछि विभिन्न वैज्ञानिकहरुले नेपालको भ्रमण गरी आठभन्दा बढी नेपालका बनस्पति पत्ता लगाएका थिए । तत्कालीन राजा महेन्द्र विक्रम शाह विसं २०१७ मा बेलायत भ्रमणमा जानुभएको थियो । भ्रमणका क्रममा उहाँले बेलायतको शाही बनस्पति उद्यान अवलोकन गर्नुभएको थियो । नेपाल फर्केपछि उहाँले त्यस्तै उद्यान बनाउनुपर्छ भन्ने सोचले गोदावरीमा २०१९ सालमा उद्यान स्थापना गर्नुभएको थियो ।

दुई बेलायती डिजाइनरले सन् १९६१ देखि १९६५ सम्म नेपालमै बसेर सो उद्यानको डिजाईन गर्नुभएको बताइन्छ । बेलायतको सहकार्यमा बनेको यस उद्यानमा सन् १९८६ मा महारानी एलिजाबेथ द्वित्तियले नेपाल भ्रमणका बेला वृक्षरोपण गर्नुभएको थियो । पछि सो क्षेत्रमा विभिन्न समयमा १७ देशका राष्ट्रप्रमुखहरुले विभिन्न वनस्पति रोप्नुभएको छ ।

प्राकृतिक सौन्दर्यले सुसज्जित फूलचोकी पर्वतको काखमा अवस्थित गोदावरी क्षेत्रमा रहेको यस उद्यानको ठूलो महत्व छ । राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरुको नमूना (हर्वेरियम) सङ्कलन गरी बनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा योगदान पु-याएको जनाएको छ ।

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

गण्डकी, २४ माघ : बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आउनुुभएको छ । नेपाली सेनाको विमानमार्फत आउनुुभएका उहाँहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गर्नुुभएको थियो ।

अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुुभयो । 

पोखरा भ्रमणका क्रममा उहाँहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्नुुहुने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुनुुुहुने बताइएको छ । 

सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ माघ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै यही माघ २३ गते निधन हुनुभएका डा बुढाथोकीप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । 

उहाँको निधनबाट नेपाली कांग्रेसले एक बौद्धिक र शालीन व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।  सभापति देउवाले बुढाथोकीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । 

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको हो : सांसद पन्त

काठमाडौँ, २४ माघ : नेकपा (एमाले) का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताउनुभयो ।

  “मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ”, सांसद पन्तले भन्नुभयो, “अध्यादेश देश र जनताको हितमा छ ।” विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो । 

 सांसद पन्तले भन्नुभयो, “सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।” उहाँले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताउनुभयो ।

अध्यादेशबाट शासन गर्ने क्रम रोक्न उपमहासचिव पुनको माग

काठमाडौँ, २४ माघ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाउनुभयो ।

सांसद पुनले संसद्को अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उहाँले आपत्ति जनाउनुभयो । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।

सर्लाहीको बरहथवामा प्रेम विवाह गरेका जोडी सत्येन्द्र र नेहाको घटनाका बारेमा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । डढेल्धुराको रङ्गुन नदीमा समयमै पुल निर्माण गर्न तथा रोल्पालगायतका जिल्लामा पुराना आयोजना समयमै निर्माण सम्पन्न गर्न सांसद पुनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २४ माघः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा नरहने अवस्थामा पु¥याउने रणनीति लिएका छौँ । सन् २०३० सम्ममा १० देखि १४ वर्षसम्मका ९० प्रतिशतलाई खोप दिने, ३० वर्षमाथिका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य छ ।”

क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदर घटाउँदै क्यान्सरका बिरामीहरुको जीवनस्तरमा सुधार ल्याउने दुरदृष्टि सरकारको रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “नेपालको कुल मृत्युको ११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ’ महिनाको घोषणा गरी पाँच लाखको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।”

यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म खोपको कभरेज २७.६८ प्रतिशत रहेको बताउँदै हालसम्म चार लाख ६४ हजार ६२ जनाले खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो । 

सांसद सुमना श्रेष्ठले पछि पनि खोप लगाउनलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गर्नुभयो । सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै अस्पतालले उपचार नगर्दा समस्या भएको बताउनुभयो । सांसद लेखनाथ दाहालले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउनुहँुदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकामा जनताको बनाउन माग गर्नुभयो । 

सांसद तोसिमा कार्कीले आवासीय चिकित्सकका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद हितराज पाण्डे, विनीता कठायत, सीताकुमारी राना, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवडा, प्रेमबहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका विविध विषयमा प्रश्न राख्नुभयो । 

आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेशः प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा महतले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिए । मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने सांसद डा महतले खाँचो औँल्याए ।

सांसद  महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे ।

‘आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो । दुई महिनाभित्रै समस्या टुङ्गो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ’, उनले भने, ‘कहीँ कतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको बिरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन ।’

सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेतर्फ सङ्केत गर्दै उनले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रुपमा राजनीतिकरण गर्नु नहुने बताए ।

सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

महतले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरे ।

उनले भने, ‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ । आफूभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो । त्यो परिस्थिति समाप्त भएकाले धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ ।’

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने

कञ्चनपुर, २४ माघः वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

भवन बनाउन दूतावासले रु चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताउनुभयो ।

“दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ”, उहाँले भन्नुभयो, “उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।” विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उहाँले बताउनुभयो ।

संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन् ।पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।

संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा (अन्तवार्ता)

काठमाडौँ। पछिल्लो समय संसद्को प्रभावकारिता माथि प्रश्न उठ्न थालेका छन् । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ ।

प्रतिनिधिसभाको समग्र नेतृत्व सभामुखले गर्ने भएकाले उहाँले पनि आवश्यक छलफल, पूर्वतयारी र कार्यसूची बनाएर संसद्लाई गतिशील एवं प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्दछ । संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि हो । यसलाई मूल रुपमा सरकारले पर्याप्त बिजनेस दिने र संसद्ले तदारुकताका साथ अघि बढाउने कुरालाई प्राथमिकता दिनुपर्छ । संसद्को प्रभावकारिता संसदीय समितिमा विचाराधीन विधेयकहरुमाथि कति महत्वका साथ छलफल हुन्छ र नतिजा निकालिन्छ भन्ने कुरामा पनि भर पर्छ ।

सांसदहरुले आफ्नै प्रयासमा गैरसरकारी विधेयक संसद्मा ल्याउने चलन हामीकहाँ निकै कम छ । विधायकको भूमिकामा भन्दा पनि सांसदहरु विकास निर्माणका काममा बढी जोडिने गरेका भनेर आलोचना हुने गरेको छ । यसमा आंशिक सत्यता पनि छ । किनकि, सांसदहरुको मूल्याङ्कन नै उनीहरुले आफ्नो निर्वाचन क्षेत्रका लागि के–कति काम गरे भन्नेसँग जोडेर हेर्ने गरियो ।

सांसद निर्वाचित भएर आइसकेपछि विधायकको भूमिका मुख्य हुने र विकास निर्माणसँग जोडिएका काम सहायक हो भनेर हामी आफैँले बुझाउन सकेनौँ । एउटा निर्वाचित सांसदले आफ्नो क्षेत्रमा विकास निर्माणको काम गरेन, आयोजना पारेन भने उसको मूल्याङ्कन त्यसैअनुसार हुने परिपाटी सुरुदेखिनै चल्यो । यसकारण सांसदहरु आफ्नो क्षेत्रका योजना माग्ने र त्यसको रेखदेखका काममा केन्द्रित हुनुपर्ने बाध्यात्मक अवस्था पनि छ । यद्यपि, यो कसैको रुचिको विषय पनि हुनसक्छ ।

संसद्मा पेस भएका विधेयकलाई व्यवस्थित, बलियो र कार्यान्वयनयोग्य कानुनको रुप दिन सांसदहरुले पनि आफूलाई निखार्दै लग्नुपर्नेछ । विकास–निर्माणका काममा बढी लाग्ने तर कानुन निर्माणमा कम खटिने सांसदहरुले आफ्नो समीक्षा गर्न जरुरी छ । जनतालाई धारा, खानेपानी, बाटो, सिँचाइलगायत विकास पूर्वाधार बनाउने भनेर निर्वाचनका ‘एजेण्डा’ बनाइसकेपछि नागरिकले त्यसको अपेक्षा गर्नु स्वाभाविक नै हो । यो अप्ठ्यारो परिस्थितिबारे जनतालाई बुझाउँदै जानुपर्ने खाँचो छ । सँगसँगै हाम्रो निर्वाचन प्रणालीबारे हामीले समीक्षा गर्नुपर्ने बेला आएको छ ।

अहिले संविधान संशोधनको विषय पनि आएको छ । सबैभन्दा मुख्य कुरा विद्यमान संविधानका राम्रा पक्ष कार्यान्वयनमा जोड दिइनुपर्दछ । संविधान बनेको १० वर्ष पुग्नै लाग्दा एक दशकमा पुनरवलोकन गर्नु एक हिसाबले जायज पनि हो । तर वर्तमान सत्तारुढ गठबन्धनले संविधान संशोधनका विषयमा गरेको सहमति प्रायोजित देखिँदै छ । किन भने संविधान संशोधनका विषयमा इमानदारिता हुन्थ्यो भने आजका दिनसम्म छलफल सुरु भइसक्नुपथ्र्यो । संशोधनको प्रक्रिया, सरोकार भएकाहरुसँग छलफल केही पनि भएको देखिँदैन ।

संविधान संशोधनप्रति माओवादी केन्द्रको सहमति नै छ । संविधान निर्माणका क्रममा पनि हामीले दलगत र व्यक्तिगत रुपमै पनि फरक मत राखेका थियौँ । तर संविधान संशोधनमार्फत स्थायित्व खोज्नेभन्दा पनि उत्पीडित जाति, समुदायको अधिकार सङ्कुचित गरेर जाने शैलीप्रति हाम्रो विमति छ । सकारात्मक र प्रगतिशील विषयहरुलाई समेटेर संविधान संशोधन गर्ने विषयमा हाम्रो आपत्ति छैन । संविधान संशोधन भन्दै गर्दा त्यहाँ सांस्कृतिक स्वरुपका कुरा छन् ।

निर्वाचन प्रणालीका कुरा छन् । उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाउने कुराहरु छन् । तर सरकार नै यसका लागि इमानदार भएर देखा परेको छैन । संविधान संशोधन भनेको सरकार बनाउनका निमित्त राजनीतिक एजेण्डा देखाएको जस्तो मात्रै भएको छ । आजका दिनसम्म कुनै गम्भीर छलफल र प्रक्रिया नथालेको सरकारले कसरी संविधान संशोधन गर्छ भन्ने प्रश्न छ । अग्रगमनका लागि संविधान संशोधन गर्न हामी सधैँ तयार छौँ ।

आम नागरिकका समृद्धिका आकाङ्क्षा पूरा हुन नसक्दा विद्यमान व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने परिस्थिति निर्माण हुँदैछ । यसमा हाम्रो खराब कार्यशैली एउटा मुख्य कारण हो । हामीले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थपना गरेका हौँ तर यो व्यवस्था सञ्चालन गर्नेहरु सुध्रिन सकेनन् । सुशासन कायम गर्नेजस्ता पेचिला प्रश्नहरुमा पछिल्ला सरकारहरु चुक्दै गएका छन् ।

झण्डै दुई तिहाइ बहुमतको वर्तमान सरकारले महँगी नियन्त्रण, सुशासन कायम गर्नेजस्ता कुरामा प्रभावकारी ढङ्गबाट काम गर्न सकिरहको छैन रु हामी प्रतिपक्षीले हेर्दा सरकारले यी तमाम विषयमा आफूलाई कहीँकतै सुधार्न सकेको देखिन्न । जनताले विश्वास गर्नसक्ने गरी समयमै कार्यशैलीमा सुधार नल्याउने हो अझ निराशा बढ्छ ।

अन्ततः व्यवस्थाप्रति नै निराशा जाग्ने र त्यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्न सक्छ । जनतालाई आशावादी बनाउनका लागि शासक र शासन व्यवस्था सञ्चालन गर्नेहरुको प्रवृत्ति सुधार नै मुख्य कुरा हो । राजनीति गर्ने मानिसको संस्कार, आचरण सुधार गर्नुपर्ने खाँचो छ । हामी प्रतिपक्षमा रहेकाले खबरदारी गर्छौं । भ्रष्टाचार र अनियमितताका सबालमा सरकारलाई घचघच्याइरहन्छौँ । जनतासम्म पुग्ने, उनीहरुका कुरा सुन्ने र सदनमार्फत ती कुरा सरकारसमक्ष पुर्याउने काम हामीले गरिरहेका छौँ ।

अघिल्लो सरकारमा मैले करिब डेढ वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेँ । त्यस अवधिमा मैले के काम गरेँ र के गर्न सकिनँ भनेर लिपिबद्ध गरेकी छु । मैले जिम्मेवारीमा रहँदा गरेका केही कामहरुका परिणाम आइरहेका छन् । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक म मन्त्रालयको जिम्मेवारीमा हुँदा नै तयार पारिएको थियो । त्यो अहिले संसद्मा दर्ता भएको छ । विभिन्न सेवा प्रदायकहरुको कार्यक्षमता सुधार तथा विस्तार, सरकारी राजस्वमा दाखिला हुनुपर्ने रकमको असुलीलगायत कार्यलाई हामीले प्राथमिकतामा राखेका थियौँ । उक्त कदमले सञ्चार मन्त्रालयको बेरुजु घटेको छ भने राजस्व बढेको छ ।

सांसद रेखा शर्माको परिचय:

विसं २०४३ देखि राजनीतिमा संलग्न रेखा शर्मा प्रतिनिधिसभा निर्वाचन २०७९ मा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन् । उनले २०७० सालमा संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा पनि योगदान गरेकी थिइन्। २०७४ सालमा पनि उनी प्रतिनिधिसभा सदस्य हुन् ।

उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मसाल) को विद्यार्थी सङ्गठन र महिला सङ्गठनमा रहेरसमेत काम गरेकी थिइन् । सांसद शर्मा २०५३ देखि २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हुन्।

(सांसदसँग रासस संवादका लागि राससका समाचारदाता हेमन्त जोशीले गरेको कुराकानीमा आधारित)

आज १ बजे प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज(बिहीबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९÷८० पेश गर्नेछन् । यसका साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१÷०८२ कोबजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्ययोजना छ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवदेन पनि पेश गर्नेछन् ।
यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्नेछन् ।

आजको प्रतिनिधि सभा बैठकमा सुशासन प्रवर्धन तथा सावर्जनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गरिनेछ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरिनेछ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीयउत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै आज भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले“पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” राष्ट्रिय सभा समक्ष पेस गर्नेछन् ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नेछन् ।बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत हुनेछन् ।

आज बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को निर्णयार्थ प्रस्तुत हुनेछन् ।यसैगरी सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत हुनेछन् ।

फागुन ३ देखि कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा, २४ माघः विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ । चेसलाई प्रदेशस्तरमा प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार र रु १० हजारसँगै पदक प्रदान गरिने छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

ऋचा शर्मा अभिनित चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो ।

प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताईन् ।
दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा पन पराउँने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताईन् ।

उनले भनिन्,‘म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु । हरेक सिनेमा जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ । भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो ।’
त्यस्तै नायक उत्पल झाले बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे । । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन् ।

उनले भने,‘बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा मिठो बनेको छ ।सबै परिवार सहित आएर हेर्न सक्नुहुने छ । सबै वर्गसँग सम्बन्धित छ । अविभाबक,शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ । एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस् । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर एकदमै उत्साहित छु ।’

वैज्ञानिकको सफलता : उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप

चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप (हन्ट) को सफलतापूर्वक प्रक्षेपण गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत उच्च ऊर्जा भौतिकी संस्थान (आइएचइपी) ले हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ ।

यस टेलिस्कोपले कणहरू खोज्ने र अध्ययन गर्ने हो, जसले वैज्ञानिकहरूलाई ब्रह्माण्डको बारेमा थप जान्न मद्दत गर्नेछ ।वैज्ञानिक अनुसन्धान जहाज तानसुओ–३ र मानवयुक्त पनडुब्बी शेन्हाई योङ्शीले समुद्रको सतहभन्दा एक हजार ६०० मिटर तल पूर्वनिर्धारित स्थानमा डिटेक्टर तैनाथ गर्न मद्दत गरेको संस्थानले जनाएको छ ।

आईएचईपीका अनुसार, डिटेक्टर चीनको समुद्रमुनि वैज्ञानिक अवलोकन नेटवर्क र प्राविधिक पूर्वाधारमा पनि सफलतापूर्वक जडान गरिएको थियो ।

न्यूट्रिनो एक धेरै सानो कण हो, जुन हेर्न धेरै गाह्रो छ । यसले प्राथमिक जानकारी बोक्छ । न्युट्रिनोले कुनै पदार्थसँग विरलै अन्तरक्रिया गर्छ ।

चिनियाँ वैज्ञानिकहरूले हन्टलाई ठूलो मात्रामा वैज्ञानिक उपकरणको रूपमा प्रस्ताव गरेका छन्, जसले न्यूट्रिनो खगोल विज्ञानको विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण चीन सागर चीनमा टेलिस्कोपको लागि एक मात्र व्यवहार्य साइट हो, जसले लगभग ६०० वर्ग किलोमिटर समुद्री क्षेत्रलाई कभर गर्नेछ ।

आइएचइपी, चीनको महासागर विश्वविद्यालय सीएएसको ध्वनिकी संस्थान र अन्य संस्थाहरूका अनुसन्धानकर्ताहरूको टोलीले यो परियोजनालाई अगाडि बढाइरहेको छ ।

हिउँ हराएको हिउँद

काठमाडौँ, २४ माघः माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,
प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,
हा..हा..हा..मन रुन्छ धुरुरु…।
बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।

हिमाली भेगैमा हिउँ पर्‍यो  फुरुरु...राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे ।    

यस वर्ष पुस सकियो । माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन । यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे । हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे ! 

यसपटक हिउँदमा हिउँ हराएको छ । यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहनुभएकका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ । “मलाई हिउँ खुब मन पर्छ । हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर”, उहाँ भन्नुहुन्छ, “कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ । ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ ।”

यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि । “हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो । साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ । बर्सेनि हिउँ खेल्न गइन्थ्यो । यो वर्ष त पर्दै परेन !”

धादिङ घर भई कोटेश्वर बस्दै आनुभएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ । “हिउँ चाहिँ कसलाई मन नपर्ला र ? हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन !”, उहाँले दुःअ मनाउ गर्नुभयो । 

माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन् । उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला ? भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि हुनुहुन्छ ।

चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ । मन्दिरका मूल पुजारी हुनुहुन्छ, विदुर न्यौपाने । गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उहाँका टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन । “यसवर्ष हिउँ परे पो देखिनु । खै ! हालसम्म हिउँ पर्ने छनक नै छैन”, उहाँले भन्नुभयो । 

चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गर्नुभयो ।  “चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो । गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,” उहाँले थप्नुभयो, “हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन । प¥यो भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि !”

उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन । हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ । चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताउनुहुन्छ । “पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो । हिउँले डाँडा नै सेताम्मे हुन्थे । जतासुकै हिउँ हुन्थ्यो । आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन् । हिउँ नै देख्न नपाइने भइयो । चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । 

पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई । “पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि ! हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो । त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो”, उहाँ स्मरण गर्नुहुन्छ, “रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो । अहिले त यी सब कुरा सपना झैँ लाग्छन् ।”

चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई । उहाँ भन्नुहुन्छ, “अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो । अहिले त कालो देखिन थाल्यो । काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो । अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन । हुस्सु पनि त्यति देखिँदैन । पहिला धेरै चिसो हुन्थ्यो । अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो ।”

दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ । “पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो । कालीञ्चोक सेताम्मे हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हिउँ नै हराउँदै गयो । पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ !”

यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे । यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए”, अध्यक्ष सिवाकोटीले भन्नुभयो ।  जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उहाँ बताउनुहुन्छ । 

गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो । “फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो । त्यो हेर्न पनि धेरै मानिस आउँथे । आजभोलि त यहाँ हिउँ नै पर्दैन । हिउँ परे पो पर्यटक आउँथे होलान् । हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ ।” घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र  पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो ।  

अन्तरराष्ट्रिय सहयोगको अपेक्षा 

सरकारले आगामी जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणासहित यतिबेला तयारीमा जुटेको छ । पर्वतीय मुलुकहरुले सामना गरिरहेको जलवायु परिवर्तनका सङ्कट समाधानका लागि संवादमा पनि अन्तरराष्ट्रिय समुदायलाई घच्घचाउने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल । 

“जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भूमिका छ तर अन्तरराष्ट्रिय समुदायले गरेको औद्योगिक विकाससँगै कार्बन उत्सर्जन बढेको र यसले गराएको जलवायु परिवर्तनको असर हामीले भोगेका छौँ । नखाएको विष लाग्यो,” उहाँ भन्नुहुन्छ, “अहिले नै हिमालमा हिउँ छैन । हाम्रा हिमाली क्षेत्रमा हिउँ पर्न छाड्यो । यस्ता जलवायु सङ्कटका उदाहरण दिएर अन्तरराष्ट्रिय सहयोगका लागि आग्रह गर्छौं । पर्वतीय क्षेत्रमा जलवायुले पारेको प्रभाव न्यूनीकरणका लागि सहकार्य बढाउने छौँ ।”

ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अन्तरसरकारी समूह (आइपिसिसी) को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडी क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरुमा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । जलवायुले हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय जलवायु वित्त सहयोग आवश्यक पर्ने भन्दै जलवायु वित्त बढाउन नेपालले पैरवी गरिरहेको उहाँको भनाइ छ ।

न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक हिमाली क्षेत्रका केही भागमा मात्रै हिमपात भएको र हिउँद सुक्खा हुँदा अन्य क्षेत्रमा हिउँ पर्न सकेको छैन । वर्षा हुन नसक्दा हिउँदमा हिउँ नपरेको विभागले जनाएको छ । यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण भएको बताउनुहुन्छ, विभागका महानिर्देशक कमलराम जोशी । विभागले गत मङ्सिर १५ गतेदेखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।  

विभागको प्रक्षेपणले अधिकतमसँगै न्यूनतम् तापक्रम पनि औसतभन्दा धेरै हुने समेत देखाएको छ । प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र  प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल । हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्ने विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ ।

यसैगरी विभागलेगत गत मङ्सिरमा सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो । गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ । आगामी १६ फागुनसम्मको अवधिलाई हिउँद मान्दा यस पटकको हिउँद सुक्खा हुँदा हिउँदे खडेरी पर्ने सम्भवना देखिएको छ । 

तापमान बढ्दा हिउँ घट्ने खतरा 
जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दा हिमालका हिउँ पग्लने र विस्तारै हिउँ पर्न छाड्ने खतरा बढ्नसक्ने बताउनुहुन्छ जलवायुविद् मञ्जित ढकाल । “तापमान बढ्दा हिमालको हिउँ पग्लने खतरा बढ्छ । अन्तरराष्ट्रिय मञ्चहरुमा समेत हामीले पर्वत जोगाउने विषयमा केन्द्रित रही हिमालका मुद्दा उठाएका छौँ,” उहाँले भन्नुभयो, “जलवायुजन्य जोखिमबाट हिमाल र हिउँ जोगाउन यी मुद्दाहरुलाई निरन्तर रुपमा उठाउनुपर्छ ।”

विभिन्न अध्ययनहरूले विश्वव्यापी रुपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन् । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् २०२४ को गत जनवरीदेखि सेप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघिभन्दा १.५४ (+०.१३) सेल्सियसले बढी भएको देखाएको छ । 

सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रुपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता गरेको छ । 

एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४.७७ मिमी बढेको छ । यसैगरी, २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको प्रतिवेदनमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । 

अबको आवश्यकता : जलवायु अनुकूलन
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा त्यसका कारण कम वर्षा र कम हिमपात भएको भन्दै अब जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । “हिउँद सकिन लाग्दा पनि यस वर्ष यस अवधिमा नौ दशमलव दुई प्रतिशत मात्रै वर्षा भएको छ जबकि ६० प्रतिशत हारहारीमा वर्षा हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा तापक्रम वृद्धि भई कम वर्षा र कम हिमपात भएको हो । अब समस्याको समाधानका उपाय खोज्न र अनुकूलनलाई प्राथमिकता दिन आवश्यक छ ।”

हिमपात कम हुँदा पानीको स्रोत कम हुने भन्दै सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने, वन्यजन्तुलाई पानी उपलब्ध गराउनका लागि ठाउँठाउँमा पोखरी निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा उप्रेतीको जोड छ ।

काठमाडौँमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

काठमाडौँ, २४ माघः काठमाडौँमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताउनुभयो । 

प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कलासंस्कृति आदानप्रदान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारत रङ्ग महोत्सवलाई एक अर्कासँग सिक्ने अवसरका रूपमा हेरिएको छ, एकअर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ ।”

महोत्सवको उद्घाटनपछि सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो । उहाँले जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये तीनवटा नेपालका र तीनवटा भारतका प्रदर्शन हुने बताउनुभयो । कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा माघ १५ गते नै यस्तै महोत्सवसुरु भइसकेको र भारतका ११ सहरमा महोत्सव जारी छ ।

भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो पटक भएको बताउँदै उहाँले यसपालि महोत्सवमा भारतको संस्कृति मन्त्रालयका निमित्त सचिवसहितका उच्चअधिकारीहरू पनि सहभागी हुनुभएको बताउनुभयो ।

महोत्सवअन्तर्गत बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ । 

यही माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ । 

कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा संवाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यहाँ प्रदर्शन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन्भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ । 

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु, २४ माघः जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।

तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।

भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उहाँको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् ।

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २४ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ९०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

काठमाडौँ-बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्र्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र संस्कृतिविद्, विज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार आदिको संलग्नतामा छलफल एवं अन्तरक्रिया गर्दै यसलाई निरन्तरता दिने भएको छ ।

नगरपालिका कार्यालयले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कला सम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ । कार्यक्रममा प्रा दिनेशराज पन्त, धर्मसंस्कृतिविद् डा गोविन्द टण्डन, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, साहित्यकार– लेखक – पत्रकार स्नेह सायमी, श्याम रिमाल र श्रीश भण्डारी, विज्ञ हरिवंश किरात र प्रा विष्णु श्रेष्ठले युनेस्को सूचीमा सूचीकरण गर्न मन्दिरको वास्तुकला तथा मूर्तिको प्रस्तरकला उत्कृष्ट र विशिष्टीकृत हुनुपर्ने र त्यसको प्रमाण दिन सक्नुपर्ने बताउनुभयो । सोका लागि विशेषगरी शिव, नारायण र बुद्धको संयुक्त रूपयुक्त मूर्ति, वरिपरिका पाटीपौवा, मन्दिर, धारा, शिलालेख र आसपासका बस्ती, गुम्बा, आश्रमहरूको समग्र गहन अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले मूर्ति र मन्दिर क्षेत्रको सांस्कृतिक पक्ष तथा शिवपुरी–बूढानिलकण्ठ क्षेत्रको प्राकृतिक पक्षकै समग्र अध्ययन–अनुसन्धान गरी मिश्रित सम्पदाका दृष्टिले पनि सूचीमा पार्ने दृष्टिकोण हुनुपर्ने सुझाव पनि दिनुभयो । विज्ञ तथा जानकारहरूले मन्दिर क्षेत्रको इतिहास, आस्था र भावना एक ठाउँमा भए पनि यसको वस्तुगत अवस्था, संस्कृति आदिको अध्ययन–विश्लेषण गर्न विज्ञ टोली तयार गरी युनेस्को मापदण्ड भेट्ने गरी प्रतिवेदन तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो । मन्दिर क्षेत्रमा पहिचान मेटिने गरी जथाभाबी घर, भवन, पसल आदि संरचना बन्न दिन नहुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँहरूले कार्ययोजनासहित मन्दिर क्षेत्रको विकासका लागि गुरूयोजना बनाउन र सरोकार निकायका रूपमा आधिकारिक क्षेत्र विकास र सांस्कृतिक। प्राज्ञिक प्रतिष्ठान स्थापना गर्न आग्रह गर्नुभयो ।

पुरातत्त्व विभाग, विश्वसम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले विश्वसम्पदा क्षेत्रमा समावेश गर्नका लागि तिलौराकोट, पनौती र जनकपुरको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त भएको र सम्भाव्य सूचीमा संरक्षित स्मारक क्षेत्र भएका १५ सम्पदा रहेको जानकारीका साथ सांस्कृतिक सघनता भएको क्षेत्र बूढानिलकण्ठ नगरपालिकाका सांस्कृतिक सम्पदामा अतिक्रमण हुन दिन नहुने र सम्पदा एकाइ स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत केदारकुमार खड्का, पूर्वप्रमुख उद्धव खरेल र नगरपालिका उद्योगवाणिज्य बोर्डका महेश भण्डारीले मन्दिर क्षेत्रका परम्परागत हिती हटाइएको, रूख काटिएको, शिलालेखहरू हटाइएको र जथाभाबी ढङ्गले घरलगायत संरचना बनिरहेको, घण्ट, मूर्ति आदि धार्मिक वस्तुहरू पनि जसले पनि चढाउने र राख्ने काम भइरहेको गुनासो गर्दै यस क्षेत्रको समग्र अध्ययन र उत्खनन गरी सांस्कृतिक–प्राकृतिक क्षेत्र बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले स्थानीय तह र गुठी संस्थानबिच समन्वय हुन नसकेको पनि औँल्याउँदै अब व्यवस्थित र एकीकृत अध्ययन गर्नाका साथ यस क्षेत्रसम्बन्धी पुस्तक, लेखरचना, दस्तावेज आदि सङ्कलन गरिने र विश्वसम्पदा सूचीमा पार्न निरन्तर बहस तथा छलफल थालिने जानकारी दिनुभयो ।

घुमौँ बूढानिलकण्ठ

नगरपालिका पर्यटन बोर्डले तपोभूमि र प्रकृतिको सङ्गम सो क्षेत्रलाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा परिचित गराउँदै प्रचारप्रसार गर्न ‘घुमौँ बूढानिलकण्ठ’ नामक पुस्तिका प्रकाशन गरेको छ । अर्जुनप्रसाद पाण्डे अध्यक्ष रहेको बोर्डले ऐतिहासिक –धार्मिक–पुरातात्त्विक महत्त्वको बूढानिलकण्ठ मन्दिर, सांस्कृतिक बस्ती चुनिखेल, इस्कोन, कपन र नागी गुम्बा, विपश्यना ध्यान केन्द्र, जाम्चेन विजया स्तूप, कृषि र साहसिक पर्यटन, पदयात्रा, लामो पदयात्रा, शिवपुरी, वागद्वार, विष्णुद्वार, तारेभिर, होमस्टे र रिसोर्ट आदिको परिचय झल्कने पुस्तिका प्रकाशन गरेको हो । आगामी दिनमा सो क्षेत्रमा पर्यटन विकासका लागि बृहत्तर योजना बनाई अघि बढाउन बोर्ड गठन गरिएको अध्यक्ष पाण्डेले स्पष्ट गर्नुभयो ।

यस्तो बनेर आयो दीपक रौनियार निर्देशित ‘राजागंज’ को टिजर

काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति दर्शकमाझ प्रतिक्षा थियो ।

सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न्। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

चलचित्र ‘एक्टरः टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिइन रामकुमारी झाँक्रीले

काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई एकदमै रहस्यमय र रमाइलो भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।

उनले भनिन्, ‘सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन । म नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।’

साथै, उनले राजबल्लभ कोइरालालाई पुनः चलचित्रमा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र निर्माताहरूलाई पनि बधाई दिइन् ।झाँक्रीले यस चलचित्रले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘विवाद नहुनुपर्ने थियो, भयो तर केही छैन । यो चलचित्र उठिसकेको छ, अब झनै दौडिनेछ । दर्शकलाई मैले यो चलचित्र सफल बनाउन अनुरोध गर्छु । जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रो एक्टिभ छ ।’

झाम्क्रीले चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन् । उनले हुबहु नमिलेको नाममा यस्तो नहुनु पर्ने भन्दै मानिसहरूले अप्ठेरो पार्न पनि यस्ता गतिविधि गर्ने गरेको र यस्तो गर्नु राम्रो नभएको जिकिर गरिन् ।

अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व दर्साउँदै फिल्ममेकर जोगाउँदा नेपाली चलचित्रलाई फाइदा हुने बताए । ‘एक्टरः टेक वन’ प्रदर्शनमा आएको एक हप्तामा दर्शकबाट व्यापक रूपमा सकारात्मक प्रतिक्रिया पाएको छ । यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्तावासीलाई एक वर्षको बिजुली निःशुल्क उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
सुस्ता बचाउ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालयले लागिपरेको बताउनुभयो । “सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

सुस्ता बचाउ अभियानले सुस्ता क्षेत्रमा लामो समयदेखि बस्दै आएका एक सय ४० घरपरिवारलाई नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने, जग्गा धनी प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने, नागरिकताबाट वञ्चित भएका घरपरिवारलाई स्थानीय तहको सिफारिसका आधारमा विद्युत् मिटर जडान गर्न दिनुपर्नेलगायत माग मन्त्रीसमक्ष राखेका थिए ।

यसैगरी, सुस्ता क्षेत्रमा नारायणी नदीले प्रत्येक वर्ष डुबान र कटान गरी क्षति पुर्‍याएको भन्दै यसको तटबन्धका लागि आवश्यक वजेट निकासा गर्नसमेत सुस्तावासीले माग गरेका छन् । 

ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकार लागेको छः ऊर्जामन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी काम गरिरहेको बताउनुभएको हो । “सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यो लक्ष्य पूरा गर्न सरकारलाई तपाईहरू (सांसदहरू) को महत्वपूर्ण सहयोगको खाँचो छ”, मन्त्री खड्काले भन्नुभयो ।

उत्पादित विद्युत्को बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गर्दै उहाँले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरे पनि प्रतिफल शून्य रहेको अवस्था हुन नदिन चाँडो आयोजना अगाडि बढाइने बताउनुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले ऊर्जा र सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

पूर्वमन्त्री योगेश भट्टराईले ऊर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताउनुभयो । उहाँले विद्युत् आयोजनाको प्रतिफल स्थानीय जनताले पाउनेगरी योजना बनाउनुपर्ने भन्दै कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री सीता गुरुङले ऊर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आयोजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले बर्सातको समयमा बाढीका कारण तराई क्षेत्रमा हुने समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

    छलफलमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूति हुने खालका ऊर्जा र सिँचाइका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास मार्गचित्रलाई पूरा गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २४ माघः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले …

भक्तपुर, २४ माघः भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।

नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै दृश्यले उहाँको नजर तान्यो ।

उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।

नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुग्नुभएका उहाँले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गर्नुभयो ।

एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनुभयो । अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गर्नुभयो ।

अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराउनुभएको थियो । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुग्नुभएको थियो । उहाँले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण सर्नुभयो ।

आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गनुभयो । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आउनुभएको थियो । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गर्नुभएको थियो ।

मङ्गलबार नेपाल आउनुभएका उहाँहरू काठमाडौँस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।

यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

काठमाडौँ, २४ माघः सरकारले माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । ऐच्छिक भएसँगै यो विषय अधिकांश सामुदायिक विद्यालयको रोजाइमा पर्न सकेको छैन ।
यही बीचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन छलफल अगाडि बढाएका हुन् । पछिल्ला समय नयाँ नयाँ सङ्क्रामक रोग, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, नसर्ने रोगको जोखिम उच्च हुँदै गएको एवं दिगो विकास लक्ष्यहरूमध्ये ३, ४ र ५ हासिल गर्नसमेत यस विषयलाई अनिवार्य बनाउनुपर्नेमा दुवै मन्त्रालय एकमत देखिएका छन् ।

स्वास्थ्य विषय अनिवार्य पठनपाठन गरिँदा विशेषगरी यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, एचआइभी÷एड्स सङ्क्रमण नियन्त्रण, परिवार व्यवस्थापन, लैङ्गिक हिंसा न्यूनीकरण, आमा तथा नवजात शिशु मृत्युदरमा कमी, बालविवाह न्यूनीकरण, बृहत्तर यौनिकता शिक्षाका लागि कोसेढुङ्गाका रूपमा काम गरेको बुझाइ छ । स्वास्थ्यका प्रमुख सूचाङ्कमध्ये नेपालले आमा तथा नवजात शिशु मृत्युदरमा उल्लेख्य सुधार गरेको जनाउँदै अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको थियो तर स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीहरूको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ ।

यसैगरी, विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाहरूको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् । यसमा सानै उमेरमा विवाह, परिवार नियोजनका साधनमा पहुँच नहुनु, यौन तथा प्रजनन स्वास्थ्य तथा बृहत् यौनिकता शिक्षाको कमी देखिन्छ ।

शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच यही पृष्ठभूमीमा स्वास्थ्य विषयलाई फेरि अनिवार्य बनाउनुपर्ने विषयमा छलफल प्रारम्भ भएको छ । उहाँहरूबीच गत पुस २४ गते स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य विषयलाई अनिवार्य बनाउने र यसका लागि संयुक्त कार्यदल गठन गरेर काम अगाडि बढाउने कुराकानी भएको जनाइएको छ । शिक्षामन्त्री भट्टराईले भन्नुभयो, “पाठ्यक्रम विद्यालय शिक्षाको ‘मोडालिटी’ हो । यस्ता पाठ्यक्रमले ज्ञानको भोक त जगाउनु पर्छ नै समाजमा देखिएका समस्यालाई निराकरण गर्न सहयोगी बन्नुपर्छ । त्यसैले हामीले स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन छलफल चलाएका छौँ ।” उहाँले पाठ्यक्रम विकास मूल्याङ्कन परिषद्को गत पुस २४ मा सम्पन्न बैठकमा समेत यस विषयमा विभिन्न कोणबाट उठान भएको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री पौडेल नसर्ने रोग, यौन तथा प्रजनन स्वास्थ्यलाई सम्बोधन गर्न पनि स्वास्थ्य शिक्षालाई परिमार्जनसहित अनिवार्य गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्वास्थ्य क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै थप सुधार गर्न स्वास्थ्य शिक्षालाई अनिवार्य गर्ने विषयमा शिक्षामन्त्रीसँग कुराकानी भएको छ । कार्यदल बनाएर काम गर्ने कुरा भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमका साथमा स्वास्थ्य विषय अनिवार्य गरिँदा थप उपलब्धि हासिल हुने सम्भावना देखेका छौँ ।”

मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले स्वास्थ्य विषय अनिवार्य गरिँदा मातृ तथा शिशुमृत्युदर, एचआइभी÷एड्स सङ्क्रमण, सरुवा रोग नियन्त्रण, स्वास्थ्य सचेतनालगायत स्वास्थ्य सूचाङ्कमा सुधार हुँदै गएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षामा अझ धेरै काम गर्नुपर्छ । स्वास्थ्य विषय अनिवार्य गरेर विद्यालय तहदेखि नै बृहत्तर यौनिकता शिक्षा, नसर्ने रोग, विपद्बारे जानकारी, जोगिने तरिका, मानसिक स्वास्थ्यका विषयमा सचेतना गर्न आवह्यक देखिन्छ । यसका लागि मन्त्रालयले पहल गर्छ ।”

स्वास्थ्य शिक्षाभित्र बृहत् यौनिकता शिक्षा

युएनएड्सले सन् २००६ मा गरेको अध्ययनअनुसार बृहत् यौनिकता शिक्षाले ढिलो उमेरमा यौनसम्पर्क राख्ने र अन्य गर्भनिरोधकको प्रयोग बढाउने कुरालाई प्रमाणित गरेको पाइएको छ । यस्तै, लागुऔषध प्रयोगमा कमी र स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना र भेदभावसमेत न्यूनीकरण भएको पाइएको छ ।

युनेस्कोले सन् २००८÷०९ मा गरेको यौनिकता शिक्षाले यौनिक व्यवहारमा पारेको प्रभाव अध्ययनको पुनरावलोकनमा भनिएको छ, “यौनिकता शिक्षाको प्रभावले ढिलो उमेरमा यौनसम्पर्क सुरुआत गर्ने ३७ प्रतिशत, यौन सम्पर्क गर्ने सङ्ख्या घटाउँदै लग्ने ३१ प्रतिशत, यौन जोडीको सङ्ख्या घटाउनेमा ४४ प्रतिशत, कन्डम तथा गर्भनिरोधका साधन अपनाउने ४० प्रतिशत, यौनिकतासम्बन्धी कुनै पनि जोखिम लिन नचाहने ५३ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।”

युनेस्कोले सन् २०१६ मा बृहत् यौनिकता शिक्षाले बालबालिका, किशोरकिशोरीलाई सक्षम बनाउन निर्वाह गरेको भूमिकाको विषयमाथि गरेको विश्वव्यापी समीक्षामा अधिकांश देशले बृहत् यौनिकता शिक्षाको अवधारणालाई प्राथमिकता दिँदै यसको सक्रिय कार्यान्वयनमा जोड दिनुपर्ने औँल्याएको थियो । सही र उपयुक्त ज्ञान प्राप्त गर्न, सकारात्मक मनोवृत्ति र सीपहरू विकास गर्न, मानव अधिकार, लैङ्गिक समानता र विविधताको सम्मान गर्न, सुरक्षित, स्वस्थ र सकारात्मक सम्बन्धमा योगदान गर्ने मनोवृत्ति तथा सीपहरूसहित सकारात्मक मूल्यहरू विकास गर्न यौनिकता शिक्षाले सहयोग पुग्ने सो समीक्षाले सुझाव दिएको थियो ।

किन आवश्यक छ बृहत् यौनिकता शिक्षा ?

अध्ययनका अनुसार बृहत् यौनिकता शिक्षाको अभावमा किशोरकिशोरी तथा युवाको कम उमेरमै विवाह हुने, छिट्टै सन्तान जन्माउने, जन्मान्तरको समय न्यून हुने, दीर्घकालीन यौन तथा प्रजनन स्वास्थ्यका समस्या हुने गर्दछन् । यसैगरी सुर्ती तथा सुर्तीजन्य पदार्थ, लागुपदार्थको प्रयोग बढ्ने, असुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, एचआइभीलगायत अन्य यौनजन्य सङ्क्रमण र यौन अपराधजस्ता समस्या हुने गर्दछ ।

सरकारले त्यस्ता समस्या एवं किशोरकिशोरीको समग्र विकास गर्न राष्ट्रिय कार्ययोजना तथा राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य र विकास रणनीति २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

साथै, नेपालले सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा भएको ‘जनसङ्ख्या र विकास’ सम्बन्धी सम्मेलनको कार्यनीतिमा हस्ताक्षर गरेलगत्तै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सवालहरूमा प्रतिबद्धता जनाइसकेको छ । स्वास्थ्य मन्त्रालयले सन् १९९८ मा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच तथा प्रतिकारात्मक सूचना तथा शिक्षामा जोड दिन राष्ट्रिय प्रजनन स्वास्थ्य रणनीति अवलम्बन गरिसकेको छ । दिगो विकासका लक्ष्य पूरा गर्नमा बृहत् यौनिकता शिक्षासम्बन्धी यस्ता प्रयास र कार्यक्रमले सकारात्मक भूमिका निभाउने विज्ञहरूको ठम्याइ छ ।

विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८) मा बृहत् यौनिकता शिक्षासँग सम्बन्धित लक्ष्य कार्यान्वयन गर्ने केही उद्देश्य राखिएका छन् । यसअघि विद्यालय क्षेत्र विकास योजना विसं २०७३÷७४–२०७९÷८० ले विद्यार्थीहरूको गोपनीयता र महिनावारी स्वच्छ व्यवस्थापनसम्बन्धी आवश्यकताहरू पूरा गरेर सहभागितालाई सुदृढ गर्ने र किशोरकिशोरीहरूको विद्यालय छाड्ने दरलाई घटाउने लक्ष्य राखेको थियो ।

शिक्षा मन्त्रालयले पनि विद्यालयको पाठ्यक्रममा बृहत् यौनिकता शिक्षाका विषयवस्तुलाई समयानुसार परिमार्जन र समावेश गर्दै लगिरहेको छ । शिक्षा तथा मानवस्रोत केन्द्रका अधिकृत सविता दङ्गालका अनुसार कक्षा ४–८ का पाठ्यक्रममा बृहत् यौनिकता शिक्षाका विषयवस्तुहरू अनिवार्य स्वास्थ्य, शारीरिक र सृजनात्मक कला विषयमा समावेश गरिएका छन्भने कक्षा ९–१२ का पाठ्यक्रममा ऐच्छिक स्वास्थ्य र शारीरिक शिक्षामा समावेश गरिएका छन् ।

हाल कक्षा ९ र १० मा ऐच्छिक स्वास्थ्य र शारीरिक शिक्षा विषय राखिएको भए पनि विसं २०८० देखि अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषय भने हटेको छ, जसका कारण ठूलो सङ्ख्यामा किशोरकिशोरी तथा युवाहरू बृहत् यौनिकता शिक्षाको पहुँचबाट वञ्चित हुने चुनौती थपिएको छ । उहाँ भन्नुहुन्छ, “अनिवार्य विषयको भार विद्यार्थीलाई धेरै भएका कारण माध्यमिक तहमा स्वास्थ्य विषयलाई ऐच्छिक बनाइएको हो । अब पुनः अनिवार्य बनाउन शिक्षा र स्वास्थ्य मन्त्रालयबीच कुराकानी भइराखेको छ ।”

अर्काेतर्फ हालको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तु युवायुवतीको आवश्यकताअनुरूप अपुग भएको, प्रभावकारी नभएको र शिक्षकलाई सहजीकरण गर्न गाह्रो भएको जनाइएको छ । त्रिवि, शिक्षाशास्त्र सङ्काय, स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख प्राडा भगवान् अर्याल भन्नुहुन्छ, “कक्षाकोठमा सामान्यतया व्याख्यानमा आधारित र गैर–सहभागितापूर्ण शिक्षण सिकाइ हुने गर्दछ । जसले गर्दा धेरै विद्यार्थीहरूका लागि यौनिकताजस्ता विषयमा सिकाइको वातावरण असहज छ । यो संवेदनशील विषय भएकाले धेरै शिक्षक नकारात्मक सामाजिक मान्यताबाट प्रभावित हुने गर्दछन् । शिक्षक र विद्यार्थीमा रहेको सङ्कोचका कारण पाठ्यक्रममा भएका अधिकांश विषयवस्तुहरू पनि कक्षामा शिक्षण हुँदैनन् ।”

आधारभूत तथा माध्यमिक तहका पाठ्यक्रममा यौनिकता विषयलाई प्रभावकारी रूपमा समावेश गरिएको खण्डमा यौन सङक्रमण न्यूनीकरण हुने, यौनिक र लैङ्गिक हिंसाको रोकथाम हुने, र विवाह गर्ने औसत उमेर वृद्धि भई मातृ मृत्युदर र प्रजनन दरमा कमी आउने हुँदा यस शिक्षाले दिगो विकास लक्ष्यहरूमध्ये लक्ष्य नम्बर ३, ४ र ५ हासिल गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

अर्काेतर्फ मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशले बृहत् यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्न सुरुआत गरिसकेका बताइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेल भन्नुहुन्छ, “यौन र यौनिकतासित सम्बन्धित ज्ञान समयमै बालबालिकालाई बुझाउन आवश्यक छ । यो बुझाउने माध्यम भनेको पाठ्यक्रममा समावेश गरेर नै हो । शिक्षकलाई पनि सक्षम बनाउनुपर्छ । दिगो विकास लक्ष्यलाई हासिल गर्न शिक्षा र स्वास्थ्यका धेरै ‘इन्डिकेटर’ छन् । त्यसमा यसले योगदान गर्छ ।”

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्य विद्यालय तहमा बालबालिका, किशोरकिशोरीलाई दिइने स्वास्थ्य शिक्षाले समग्र परिवार, समाज र देशलाई सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै परिवार नियोजनको पहुँच, सुरक्षित गर्भपतन सेवा, एचआइभी सङ्क्रमण र कम उमेरमा विवाह हुने प्रतिशतमा नेपालले खासै सुधार गर्न सकेको छैन । यस्तो अवस्थामा विद्यालयको पाठ्यक्रमलाई समावेशी, मित्रवत् र लैङ्गिक रूपमा सबै समुदायलाई समेट्ने गरी बनाइनुपर्छ । यसका लागि सङ्घले राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहयोगमा यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न पैरवी एवं शिक्षकलाई तालिममा सहयोग गर्दै आएको छ । साथै शिक्षा र स्वास्थ्य मन्त्रालयका विभिन्न निकायका व्यक्तिसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समेटिने गरी मित्रवत् पाठ्यक्रम बनाउन निरन्तर पैरवी गर्दै आएको छ ।”

कार्यकारी निर्देशक डा शाक्यले किशोरकिशोरीहरूलाई उमेर अनुसारको सूचना, शिक्षा तथा सिकाइ प्रदान गर्न अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घको सहयोगमा बृहत् यौनिकता शिक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका बताउनुभयो ।

युएनएफपिएका कार्यक्रमविज्ञ अभिराम रायले बृहत्तर यौनिकता शिक्षा जीवनोपयोगी शिक्षा भएकाले यसलाई थप प्रवर्द्धन गनुपर्ने खाँचो औँलयाउनुभयो । “बालविवाह र महिला हिंसा अन्त्य गर्न, अनिच्छित गर्भधारण रोक्न, परिवार योजनालाई व्यवस्थित बनाउन बृहत्तर यौनिकता शिक्षाले कोसेढुङ्गाको काम गर्छ”, उहाँले भन्नुभयो ।

पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कमलप्रसाद मिश्रले विद्यालय तहका बृहत्तर यौनिकता शिक्षाले समग्र स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव देखिएको बतानुभयो । यसकारण सामाजिक मूल्य–मान्यता र संस्कृतिको अनुकूल हुनेगरी राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पूर्ण र सबल बनाउनुपर्ने उहाँको धारणा छ ।

अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौँ, २४ माघः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २५ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’: मन्त्री अधिकारी

पाटन (ललितपुर), २३ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्ने बताउनुभएको छ ।

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित टुङ्गुन खोलामा बनेको पक्की पुल आज उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले राज्यको निकायबाट ललितपुरको सहरी भेगलाई हेरेर दक्षिण ललितपुरको विकास हुन नसक्ने भन्दै दक्षिण ललितपुरको कृषि, पशुपन्छी व्यवसायका साथै पर्यटनको विकासका लागि सडकको स्तरोन्नति गरी वैकल्पिक राजमार्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

“हामीले यहाँ केराऊ, तोरी राम्रोसँग फैलिएको देख्यौँ, जसले कृषिकर्म गर्छ, उसलाई हामीले प्रोत्साहन गर्नुपर्छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले कृषि  व्यवसाय, चिया, कफी, जडीबुटी र पशुपन्छीपालनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैक्षेत्र ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले अलपत्र अवस्थामा रहेको पुलको निर्माणका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले लेले चन्दनपुर सडकलाई वैकल्पिक राजमार्गका रूपमा सडक निर्माणका लागि शीर्षक नै छुट्याएर बजेट विनियोजन गराउन पहल गर्ने बताउनुभयो ।

लेले चन्दनपुर सडकको चन्दनपुर बजारको टुङ्गुन खोलामा निर्माण भएको पुल आत्रेय निर्माण सेवा प्रालि सिन्धुलीले टेन्डर प्राप्तगरी कूल रू तीन करोड ३२ लाख ३५ हजार तीन सय १५ को लागतमा निर्माण सम्पन्न गरेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले जानकारी गराउनुभयो । विसं २०७७ भदौ १७ बाट काम सुरू भएको पुल निर्माण कार्य यही २०८१ भदौ २५ गते सम्पन्न भएको थियो ।