`

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन् ।

यसरी प्रवेश गर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य एव पूर्व काठमाडौ जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास के. सी.,इन्द्र राई, आशा रानालगायत रहेका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरु ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताए । उनले अहिले देशव्यापी रुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण हुँदै जाने बताए । क्रान्तिका उपलब्धि संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी एक ठाउँमा आउनुपर्ने उनको भनाई छ ।

माओवादी फुटाउने कुरा क्रान्ति नभएको अब अनुभवबाट पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै सपना पूरा गर्न सकिने बताए । क्रान्तिकारी आन्दोलनमा जुन तहमा नेतृत्व गर्नुभएको थियो, त्यही अनुसारको जिम्मेवारी दिइने स्पष्ट गर्दै उहाँले पार्टी बनाउन आ–आफ्नो ठाउँबाट अभियानमा लाग्न निर्देशन दिए ।

प्रवेश गर्नेहरूले विभाजनबट पाठ सिकेर त्यताबाट क्रान्ति हुन्न भन्ने निस्कर्षसहित माओवादी केन्द्रमा समायोजन हुन आएको बताए ।

अब्बल निर्देशक मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ बन्ने

काठमाडौँ । चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल ‘सुम्निमा’ राखिएको छ । नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान (सुनसरी), २३ माघ : आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज धरान रङ्गशालामा भएको खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले अब्योमी फकुन्लेको पासमा गोल गरेका थिए ।

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा समीर तामाङले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसैगरी चर्च ब्वाइजकै अर्माण्ड भिदोमले खेलको २७औँ, ४९औँ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । चर्च ब्वाइजकै पदम भट्टराईले २९औँ मिनेटमा गोल गरे । 

आजको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए । उनले ट्रफी र नगद रु १० हजार प्राप्त गरे । बिहीबार हुने सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबीच हुनेछ । 

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

कास्की, २३ माघ : मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलले मच्छिन्द्रले निराश बनाएको हो । पहिलो हाफको खेल गोलरहित टुङ्गिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे ।

मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो । विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन् । खेलमा एपिएफ क्लबले पनि गोलका केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । खेलपछि एपिएफका प्रशिक्षक जिवेश पाण्डेले खेलाडीले मौकाको सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । 

यसैगरी विजेता टोली मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेलेको बताउँदै प्रदर्शनप्रति खुसी व्यक्त गरे । 

चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । 

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेका रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए ।

बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

काठमाडौँ, २३ माघः बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि चौतर्फी दबाब सिर्जना भइरहेको छ । संसदहरूबीच आज पनि अब बाँदर नियन्त्रणका विषयमा गम्भीर हुनुपर्ने भन्दै बहस चलेको छ ।

प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बाँदरले पछिल्लो समय आतङ्क मच्चाउँदा कृषक चिन्तित बनेको भन्दै बाँदरको व्यवस्थापन हुनुपर्ने सांसदहरूको जोड छ । ऐन नै संशोधन गरेर भए पनि अब राज्यले बाँदरको व्यवस्थापनमा लगानी बढाउनुपर्ने उहाँहरूको माग छ । 

पूर्ववन तथा वातावरणमन्त्रीसमेत रहनुभएका सांसद डा वीरेन्द्र महतोले अब प्रदेशैपिच्छे प्रजनन केन्द्र स्थापना हुनुपर्ने प्रस्तावअघि सार्नुभएको छ । “बाँदर नियन्त्रणको कुरा १० वर्ष पहिल्यै नै आउनुपथ्र्यो । अहिले बाँँदरको सङ्ख्या बढ्दा गाउँमा कृषक नै बसाइँसराइको अवस्थामा पुग्न लाग्नुभयो”, उहाँ भन्नुहुन्छ, “तसर्थ अब बाँदरको सङ्ख्या बढ्न नदिन बन्ध्याकरण गर्नुपर्छ र यसका लागि सात प्रदेशमा नै प्रजनन केन्द्र स्थापना गर्न ढिलाइ गर्न हुँदैन ।”

महतोले सबै प्रदेशमा प्रजजन केन्द्र स्थापना गर्न करिब ३५ करोड हराहारीमा लागत लाग्ने भन्दै सोको व्यवस्थापनमा सरकारको ध्यान जान जरूरी रहेको बताउनुभयो । बाँदर आतङ्कका कारण ग्रामीण भेगका कृषकले खेती नै गर्न छाडेको भन्दै उहाँले यसले मुलुकको अर्थतन्त्रमा ठूलो ह्रास आउनसक्ने बताउनुभयो । 

बाँदरको साझा समस्या निराकरणमा राज्य गम्भीर हुनुपर्ने सांसद महतोको जोड रहेको छ । “नियन्त्रणका लागि ऐन संशोधन गर्न आवश्यक छ । यस समितले वन तथा वातावरण मन्त्रालयलाई कहाँ कहाँ ऐन संशोधन गर्न आवश्यक छ, यसबारे ऐन संशोधनका लागि प्रस्ताव ल्याउन निर्देशन दिनुपर्छ”, उहाँले भन्नुभयो, “मन्त्रालयले आगामी १५ दिनभित्र प्रस्ताव गर्नुपर्नेगरी निर्देशन दिइयोस् अनि बाँदरको कहर नियन्त्रणमा तत्काल कदम चालियोस् ।”

बाँदर आतङ्कले गाउँ नै खाली हुने डर

“पछिल्लो समय बाँदरको आतङ्कका कारण गाउँ नै खाली गरी बसाइँसराइ गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ, सांसद सूर्यकुमारी श्रेष्ठ । “किसानले बाली लगाउँछन्, बाली भित्र्याउन नपाउँदै बाँदर आएर सखापै पार्छ”, उहाँ भन्नुहुन्छ, “अनि त्यहाँ के गरेर बस्नु ? त्यो किसान बसाइँ सरेर हिँड्छ । गाउँ त अब खोली पो होला भन्ने डर भयो ।”

अर्की सांसद विनिता कठायतले पनि अब बाँदर व्यवस्थापनमा राज्य गम्भीर हुन नसकेमा सर्वसाधारण ग्रामीण भेगमा बस्नै नसक्ने वातावरण आउने र अधिकांश ग्रामीण क्षेत्र रित्तै हुने बताउनुभयो । अर्का सांसद अशोकुमार चौधरीले पनि बाँदर आतङ्क रोकेर पीडित किसानको गम्भीर समस्या समाधानमा जोड दिन आग्रह गर्नुभयो । 

सांसद सरस्वती सुब्बाले भने बाँदरकै कारण नेपालको कृषि पेशा धरापमा परेको बताउनुभयो । सांसद बिजुला रायमाझीले पनि मुलुकको खाद्य उत्पादन बढाउनका लागि बाँदर नियन्त्रणमा जोड दिनुभयो । 

सांसद मिना तामाङले बाँदर व्यवस्थापनका लागि आवश्यकपर्ने लागत व्यवस्थापनका लागि राज्यको अन्य शीर्षकका खर्च भए पनि कटौती गर्नुपर्ने सुझाव दिनुभयो । 

बन्ध्याकरणका नगरेसम्म बाँदरको सङ्ख्या कम हुँदैन : पशु चिकित्सक

नेपाल भेटनरी एशोसिएसनका महासचिवसमेत रहनुभएका पशु चिकित्सक डा केदार सुवेदीले बाँदरको बन्ध्याकरण सम्भव रहेको भन्दै यसका लागि राम्रो तालिकाको व्यवस्था हुनुपर्ने बताउनुभयो । “यहाँ ८० प्रतिशत बाँदर त समूहमा बस्छन् १० वटामा आठ वटाको बध्याकरण गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “ती बाँदरलाई समाएर ल्याउन तथा बन्ध्याकरण गर्नका लागि उचित तालिमको आवश्यकता छ किन कि यसअघि नेपालामा खासै बन्ध्याकरणको अभ्यास भएको छैन ।” सुवेदीले बन्ध्याकरण गर्ने मिसिन ५० देखि ६० लाख लाग्ने भन्दै यदी बाँदरको बन्ध्याकरण गर्ने हो भने लागतको सुनिश्चिता राज्यले गर्नुपर्ने बताउनुभयो । “बाँदरको बन्ध्याकरण नगर्दासम्म बाँदर कम हुँदैन”, उहाँले भन्नुभयो । 

सुवेदीले बाँदर वन्यजन्तु भएकाले सबैभन्दा पहिला वनका ऐनमा बन्ध्याकरण गर्न पाउने व्यवस्था लागू गरेर अन्य प्रक्रिया थालनी गर्नसमेत सुझाव दिनुभयो । “कानुन नै बनाएर दीर्घकालीन समाधान खोज्न आवश्यक छ । नत्र बाँदरको आतङ्कले कृषिकलाई हतोत्साहित बनाउँछ”, उहाँले भन्नुभयो । 

आहाराको समस्याले बस्तीमा बाँदर

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पछिल्लो समय वनमा आहाराको कमी भएपछि मानवबस्तीमा आहारा खोज्दै बाँदर छिर्न थालेको बताउनुभयो । “वनमा आहारा भए पनि वनमा बाँदर बस्छन्”, उहाँ भन्नुहुन्छ, “अनि भोका बाँदरहरू आहाराको खोजीमा बस्तीमा छिर्न थाल्छन् र कृषि बालीमा निर्भर रहन थालेका छन् ।”

सचिव शर्माले जङ्गलमा फलफूलका बिरूवा लगाउनसकेमा बाँदरको आहारा जुट्ने र बाँदरले आहारा खेज्दै बस्ती छिर्न नसक्ने बताउनुभयो । शर्माका अनुसार बाँदरको पनि खानेकुरा खाने अभ्यासमा आएको परिवर्तनले पनि बस्तीमा बाँदर आतङ्क हुन थालेको छ । 

“अब अहिले बाँदरले फलफूल अन्य कृषिबाली, तथा अन्य खानेकुरा रूचाउन थालेका छन् । पहिलापहिलाका जङ्गलका खानेकुरा खान बाँदरको पनि कम रूचि हुन थाल्यो । हामी फेरि बाँदरलाई खानेकुरा खुवाएर पल्काएका पनि छौँ”, शर्मा भन्नुहुन्छ, “अर्का मुख्य समस्या भनेको जङ्गलमा खानेपानीको समस्याले पनि बाँदर बस्ती छिर्न थालेका छन् ।”

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण जङ्गलका पोखरी, खोल्साखोल्सी सुक्दै जान थालेको र यसले वन्यजन्तुलाई ठूलो असर गर्नसक्ने खतरा रहेको बताउनुभयो । “जङ्गलमा पानी सुक्यो भने त्यहाँका वन्यजन्तुले के खाएर बाँच्छ ? अनि कति वन्यजन्तु बस्तीतिर आउँछन् कति अत्यत्र जान्छन्”, उहाँले भन्नुभयो । 

विज्ञसँग थप छलफल गर्नुपर्छ : निकुञ्ज विभाग

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले बाँदर नियन्त्रणका उचित उपायका लागि अझै बाँदर विज्ञहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “बाँदरको सङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण एक उपाय त हो । तर यस विषयमा अझै बाँदर विज्ञसँग पनि छलफल गरेर व्यवस्थापनका उपायहरूको खोजी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेकै नीतिगत व्यवस्थापनमा बाँदरको बन्ध्याकरण गर्नुपर्ने व्यवस्था छैन । यसलाई संशोधन गरेरमात्रै व्यवस्थापनका अन्य प्रक्रिया थाल्नुपर्छ ।” 

कँडेलले प्राकृतिक रूपमा बाँदरको सङ्ख्या व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले चितवनमा वन्यजन्तुको अस्पताल बनेको र अन्य उद्यान पनि निर्माण भए पनि जनशक्तिको अभाव रहेको बताउनुभयो । “कर्मचारीको दरबन्दी बढाएर अहिलेको समस्या समाधान गर्नुपर्छ”, कँडेलले भन्नुभयो । 

बाँदर नियन्त्रणमा नतिजा देखिनेगरी काम गर्छौं : वन मन्त्रालय

वन तथा वातावरण राज्यमन्त्री रूपा विकले बाँदर नियन्त्रणमा नतिजा देखिनेगरी परिमाणमुखी काम गर्न मन्त्रालय तयार भएको जानकारी दिनुभयो । “बाँदरको आतङ्क नियन्त्रणका लागि विभिन्न विकल्पसहितका सुझाव आएका छन्, यसलाई मन्त्रालयले ग्रहण गरेको छ”, उहाँले भन्नुभयो, “अब कानुनी जटिलता फुकाउनका लागि सरोकारवालासँग छलफल गरेर अगाडि बढ्नेछौँ ।”

कानुन जटिलता र आवश्यकताअनुसारको बजेट व्यवस्थापन नै अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ छ । “बाँदरले दिएको हैरानी देशभरका जनताले भोगेको समस्या बनेको छ, अब यी जनताका समस्या निराकरण गर्न पनि बाँदर व्यवस्थापनका लागि राज्य लाग्नैपर्छ”, राज्यमन्त्री विकले भन्नुभयो । 

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २३ माघ : सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिसभाअन्तर्गतको यस संसदीय समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आजको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । बैठकले निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्नसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 

नेपालको निर्वाचन प्रणालीका सम्बन्धमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन जवरालगायतको  उपस्थितिमा छलफल भएको थियो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन व्यवस्थापन ऐन र निर्वाचन आयोग ऐनमा सुधार गरेर विद्यमान प्रणालीको सुदृढीकरण र निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार गर्ने धारणा राख्नुभयो ।  “परिस्कृत र गतिलो कानुन बनाएर २०८४ को निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । उहाँले निर्वाचनमा प्रविधिको प्रयोग महँगो पर्ने भन्दै संवेदनशीलताका आधारमा पनि कागजी मतपत्र प्रयोग गर्न सहज हुने राय व्यक्त गर्नुभयो । 

निर्वाचन प्रणाली सुधारका लागि आयोगको धारणा प्रस्तुत गर्दै उहाँले संविधानको मर्मअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला उम्मेदवारी दिनेगरी कानुनी व्यवस्था गरिएमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व हुन नसकेको वर्ग समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने बताउनुभयो । 

आरक्षित निर्वाचन क्षेत्रबारे भने आयोग सकारात्मक नरहेको उहाँको भनाइ थियो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन क्षेत्र, वडा तोक्न सहमत छैनौँ । प्रतिस्पर्धात्मक प्रणालीमा उम्मेदवारी अनिवार्य गरौँ, त्यसले स्वतः प्रतिनिधित्व गराउँछ ।”

निर्वाचन प्रणाली कस्तो हुने भन्ने राजनीतिक विषय भएको बताउँदै उहाँले संविधान संशोधनको माध्यमद्वारा मात्र परिमार्जन गर्न सकिने हुँदा बृहत् र तुलनात्मक अध्ययन गरेर आमसहमतियुक्त धारणासहित निर्वाचन प्रणालीमा संशोधन उपयुक्त हुने धारणा राख्नुभयो । 

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गराउँदा पहिलो हुने निर्वाचित हुने पद्धतिबाट प्रतिनिधित्व हुन नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी निर्वाचित गर्नुपर्ने धारणा उहाँको थियो । 

समितिका सदस्यहरुले निर्वाचन भड्किलो र खर्चिलो बन्दै गएकोतर्फ आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले महिला उम्मेदवारलाई महिला उम्मेदवारसँगमात्र प्रतिस्पर्धा हुनेगरी छुट्टै निर्वाचन क्षेत्र कायम गर्नेबारे जिज्ञासा राख्नुभएको थियो । 
समिति सदस्यहरुले गठबन्धनको असर महिला प्रतिनिधित्वमा परेको बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको ‘थ्रेसहोल्ड’ समान हुनुपर्ने विषयमा छलफल भएको थियो । 

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे आज जानकारी लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्य छिटो अघि बढाउन निर्देशन दिनुुभएको हो । उहाँले पदबहालीका क्रममा तीन सय दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने बताउनुभएको थियो ।

रङ्गशालामा प्याराफिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । 

प्रधानमन्त्री ओलीले बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरू भएदेखि नै तदारूकताका साथ बजेट र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो । उहाँले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालय मातहत रहेका सङ्घीय संसद् भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्रबैंकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावि योजनाबारे अवगत गराइएको थियो ।

दिल्लीमा विधानसभा निर्वाचन : साँझ सम्म ५७.७० प्रतिशत मतदान

भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।

दिल्ली विधानसभा चुनावमा बुधबार साँझ ५ बजे सम्म ५७.७० प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोग (इसीआई) ले जनाएको छ ।

राष्ट्रिय राजधानीको उत्तर–पूर्वी जिल्लाहरूमा सबैभन्दा बढी ६३.८३ प्रतिशत मतदानका साथ अग्रस्थानमा छ ।

सबैभन्दा कम ५३.७७ प्रतिशत मतदान दक्षिण पूर्व जिल्लामा भएको थियो, त्यसपछि नयाँ दिल्लीमा साँझ ५ बजे ५४.३७ प्रतिशत मतदान भएको थियो ।

निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म दक्षिण पश्चिम जिल्लामा ५८.८६ प्रतिशत, पूर्वमा ५८.९८ प्रतिशत, उत्तरमा ५७.२४ प्रतिशत, उत्तर पश्चिममा ५८.०५ प्रतिशत, शाहदरामा ६१.३५ प्रतिशत, दक्षिणमा ५५.७२ प्रतिशत, मध्यमा ५५.२४ प्रतिशत र पश्चिममा ५७.२४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

आज दिउँसो ३ बजेसम्म दिल्ली विधानसभा चुनावमा ४६.५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

मिल्कीपुर विधानसभा क्षेत्रको उप–विधानसभा निर्वाचनमा ६५.२५ प्रतिशत मतदान भएको छ । तमिलनाडुको इरोड (पूर्वी) निर्वाचन क्षेत्रको उपचुनावमा साँझ ५ बजेसम्म ६४.०२ प्रतिशत मतदान भएको थियो ।

दिल्ली विधानसभाका ७० सिट र दुई सिट, तमिलनाडु र उत्तर प्रदेशका एक–एक सिटका लागि बुधबार बिहान ७ बजेबाट मतदान सुरु भयो ।

सबै मतदान केन्द्रमा कडा सुरक्षामा मतदान भएको थियो । यसैबीच, दिल्ली पुलिसले जङ्गपुरा विधानसभा क्षेत्र अन्तर्गत सराय काले खान क्षेत्रमा मतदाता घुसखोरीको कुनै पनि दावीलाई अस्वीकार गर्यो ।

यसअघि, आम आदमी पार्टीले सामाजिक सञ्जाल एक्स पोस्टमा भारतीय जनता पार्टी (बीजेपी) जङ्गपुरा विधानसभा क्षेत्रमा खुल्ला रूपमा पैसा वितरण गरिरहेको आरोप लगाएको थियो ।

मतगणना फेब्रुअरी ८ गते हुने भएको छ ।

रुकुम पश्चिममा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

त्रिवेणी (रुकुम पश्चिम), २३ माघ : यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । उहाँलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकैबेला सघन उपचार कक्षको आवश्यकता पर्नसक्ने भएकाले हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो । उहाँलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिकाले सामूहिक ल्होछार/ल्होसार पर्व मनाउने

काठमाडौँ, २३ माघ : बुढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरी सामूहिक रुपमा ल्होछार÷ल्होसार पर्व मनाउने भएको छ ।

सो नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गरी तमु, सोनाम र ग्याल्पो ल्होछार/ल्होसार सबैलाई समेटेर यही माघ २६ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सो कार्यक्रमका लागि ल्होछार/ल्होसार मान्ने समुदायलाई समेटी सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने विविध जाति, जनजाति (विशेषगरी तामाङ, गुरुङ, शेर्पा, भोटे) तथा विभिन्न समुदायको भेषभूषा, एवं सांस्कृतिक झाँकी, नृत्य तथा साङ्गितिक प्रदर्शनी गरिने जनाइएको छ ।

ज्येष्ठ नागरिक पार्क, गोल्फुटार, बुढानीलकण्ठ–८ को कार्यालय नजिकै हुने उक्त कार्यक्रमस्थलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परम्परागत खानाका परिकार, मौलिक वस्तु, पहिरन आदिको स्टल राखिने आयोजकले जानकारी दिएको छ ।

सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो : मन्त्री गुरूङ

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जालले अराजकता फैलाएको छ नियमन गर्नुपर्‍यो भन्दै गुनासो लिएर मन्त्रालय आउने गरेको बताउनुभएको छ ।

सरकारले अराजकता रोकथाम गर्न र सभ्य समाज निर्माणको लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल, काठमाडौँ जिल्ला समितिको अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले आफूले नेतृत्व गरेको मन्त्रालयमा मुख्य दुई प्रकारका गुनासो लिएर आउने जनता रहेको खुलाउनुभयो ।

“म कहाँ एउटा टेलिफोनको नेर्टवकको समस्या समाधान गर्न गुनासो लिएर आउनुहुन्छ । अर्को सामाजिक सञ्जाल र अनलाइनले ल्याएको बेथितिलाई व्यवस्थापन गर्नुपर्‍यो भन्दै आउनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सभ्य समाज निर्माण गर्न सामाजिक सञ्जाल विधेयक ल्याउन जरूरी रहेको हो । यसले प्रेस स्वतन्त्रता र अभिव्यक्तिलाई कतै दखल गर्दैन ।”

मन्त्री गुरूङका अनुसार अभिव्यक्तिको नाममा समाज, समुदाय देशको अखण्डता र जातियतामाथि अराजकता फैल्याउनु भनेको लोकतन्त्र खतरामा पार्नु हो । लोकतन्त्र खतरामा पर्नु भनेको जनताको मर्यादा विपरीत कार्य हो ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का उपमहासचिव रहनुभएका मन्त्री गुरूङले प्रेस चौतारी नेपाल एमाले पार्टीको अक्सिजन जस्तै महत्त्वपूर्ण जनसङ्गठन रहेको बताउँदै अबका जनसङ्गठन जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको नेतृत्वले भाषण गरेर मात्रै होइन, जनतामा सही शासन गर्न सक्ने क्षमता विस्तार गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले सञ्चार मन्त्रालयअन्तर्गत मिडियालाई स्वनियमन, व्यवस्थित, मर्यादित बताउने मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा रहेको र यो वर्ष उक्त विधेयक पास गर्ने जानकारी दिनुभयो ।

हालै रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत भई सार्वजनिक सेवा प्रसारण संस्थाको रूपमा कार्यान्वयनमा आएको, सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा रहेकोलगायत पुराना ऐन संशोधन गर्नेदेखि लिएरू नयाँ ऐन निर्माणका गतिविधि तिव्र रूपमा भइरहेको जानकारी गराउनुभयो । उहाँले गोरखापत्र दैनिक र द राइजिङ नेपाललाई सार्वजनिक सेवा प्रकाशन संस्थाको रूपमा रूपान्तरण गरिने योजना रहेको जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आउने सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकमा प्रेस स्वतन्त्रता कतै कुन्ठित नभएको जीकिर गर्नुभयो

पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित : मन्त्री गुरुङ

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी सङ्गठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित नहुने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत नेतृत्व क्षमताको उदाहरण दिनुभयो ।

“पद पाउनु नेतृत्व सावित हुनु होइन,” उहाँले भन्नुभयो, “पदीय जिम्मेवारीमार्फत के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नेतृत्व क्षमता हो ।” रुपान्तरण ल्याउन सक्ने नेताले जनताको मनमा स्थान पाउने धारणा उहाँको थियो ।

उहाँले निजामती कर्मचारी सङ्गठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो सङ्गठन बन्न विचार, भावना, सङ्गठन र शैलीमा एकरुपता आवश्यक रहको उल्लेख गर्नुभयो ।

नेपालको सुन्दरपक्ष विविधतामा एकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दरपक्ष विविधतामा एकता रहेको बताउनुभएको छ ।

आज स्वयम्भूस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १००औँ जन्मोत्सव तथा ट्रितेन नोर्बुचे युङ्डुङ बोन उच्च शिक्षालयको भवन शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले बौद्ध धर्मावलम्बीको महत्वबारे धारणा राख्नुभयो । उहाँले विभिन्न जातजाति, भाषाभाषी, धर्म समुदाय मिलेर नेपालले पूर्णता पाएको बताउँदै हिमाली भेगका समस्या राज्यले अझै पहिचान गर्न जरुरी रहेको बताउनभुयो ।

मन्त्री गुरुङले हिमाली भेगको समस्या आफू र सरकारसमक्ष राख्न आग्रह गर्नुभयो । नेपालमा लामो सङ्घर्ष पछि प्राप्त सङ्घीय राज्यव्यवस्थाले धर्मनिरपेक्षताको सम्मान गरेको बताउँदै हरेक सम्प्रदायले यसको भरपुर लाभ उठाउन आग्रह गर्नुभयो ।

“सङ्घीयता प्राप्त नभएको भए हामी खुलेर आफ्नो धर्म र समुदायको प्रचार गर्न सक्दैन थियौँ”, मन्त्री गुरुङले भन्नुभयो, “सबैले ल्याएको सङ्घीयताका राम्रा पक्षलाई सदुपयोग गर्नुपर्छ ।”

दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने बैठकबाट पारित गर्ने विश्वास लिएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपस्थितिमा प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेत र प्रमुख सचेतकको बुधबारको बैठकले संसद्मा प्रवेश पाएका अध्यादेशमाथि दुवै सदनमा छलफल गरी पारित गर्ने सहमति गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदन दुवै सदनको बिहीबार बस्ने बैठकमा अध्यादेश प्रस्तुत गर्ने, विरोधको सूचना दर्ता गराउनेले मन्तव्य राख्ने, त्यसमा सम्बन्धित मन्त्रीले जवाफ दिने र समूहगत रूपमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीबारे तय भएको जानकारी दिए।

अधिवेशनको पहिलो दिन यही माघ १८ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेस गरेको थियो।

नेकपा(एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले अध्यादेश पारित हुनेगरी बिहीबारको सदनको कार्यसूची र प्रक्रिया अघि बढ्ने बताए।

उनले भने, ‘सत्तापक्षमा रहेका सबै राजनीतिक दल सरकारले लिने निर्णय, कार्यक्रम र जारी भएका अध्यादेशकाबारे पक्षमा उभिने कुरामा सरकार पक्षमा रहेका राजनीतिक दलबीच कुनै बेमेल छैन, सबै दलहरू एक ठाउँमा छौँ, हामी प्रतिनिधिसभामा पनि बलियो बहुमत छ । राष्ट्रियसभामा पनि कुनै समस्या छैन अध्यादेश पारित गर्छौं।’

यसपटक मात्र नभई नेपालको लोकतान्त्रिक अभ्यासमा यसअघि धेरै अध्यादेश जारी भएका घटना सुनाउँदै प्रमुख सचेतक बर्तौलाले अहिलेको अध्यादेश देश र जनताकाहितलाई ध्यान दिँदै निजी क्षेत्रलाई आशा जगाउने र अर्थतन्त्रलाई चलायमान बनाउन ल्याइएकाले स्वागत गरेर जान आग्रह गरिएको बताए।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्नेछन्। सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले केही धारणा राख्नेछन्। भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशकाबारेमा ५१ वटा विरोधका सूचना प्राप्त भएकाले नियमावलीअनुसार छलफल गरी समूहगत रूपमा निर्णयार्थ प्रस्तुत गरिने सहमति भएको बताए। उनले भने, ‘एउटा प्रस्तावमा एउटा प्रस्तावक हुने, छलफलमा अस्वीकारको सूचना दिने सबैले बोल्ने, मन्त्रीले जवाफ दिने र एउटा अध्यादेशलाई एक पटकमात्र समूहगत रूपमा निर्णयार्थ प्रस्तुत हुनेछ।’ हिउँदे अधिवशेनको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट भएका गतिविधि आगामी बैठकमा हुन नदिनेतर्फ ध्यान पुर्याउन पार्टी सचेतकलाई आग्रह गरिएको थियो।

रास्वपाका सचेतक सन्तोष परियारले सरकारले सदनमा टेबुल गरेको छवटा अध्यादेश धेरै नै अस्वीकारको प्रस्ताव परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा नियमावलीको व्यवस्थाअनुरूप राजनीतिक पार्टीबीच सहमति कायम गरी टुङ्ग्याउने सहमति भएको जानकारी दिए।

उनले भने, ‘भोलिको कार्यसूची धेरै र लामो भएकाले कसरी समय व्यवस्थापन गर्ने भनी विभिन्न कोणबाट छलफल भएको छ। शून्य समय र विशेष समय रहने, प्रमुख प्रतिपक्ष दलका नेताको मन्तव्यपछि मुख्यगरी अध्यादेशमा केन्द्रित हुने र निर्णयार्थ प्रस्तुत हुनेछ।’

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री पौडेल

कास्की, २३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँँ ।”

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलव्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरू गरिएको जानकारी दिनुभयो । उहाँले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ ।

पोखरा महानरपालिका क्षेत्रमा एचपिभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ । आगामी फागुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । वडाध्यक्ष सन्तोष बाँस्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको पारिवारिक बिमा गर्ने गरिएको जानकारी दिनुभयो ।

वेस्ट बैङ्कमा पाँच हजार प्यालेस्टिनी विस्थापित

विगत दुई हप्तामा उत्तरी वेस्ट बैङ्कको जेनिन र तुलकर्म शरणार्थी शिविरबाट कम्तीमा पाँच हजार प्यालेस्टाइनी परिवार विस्थापित भएका छन् ।

प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा मध्य वेस्ट बैङ्कको रमल्लाहमा भएको बैठकमा विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले उत्तरी वेस्ट बैङ्कमा राहत हस्तक्षेप बढाउन संयुक्त प्रयासलाई तीब्र पार्ने उपायहरूबारे छलफल गरेको छ ।

बैठकले घरेलु पूर्वाधार र प्यालेस्टिनी सम्पत्तिको व्यापक विनाशमा वृद्धि भएको पनि उल्लेख गरेको छ ।

जनवरी २१ मा इजरायली सेनाले जेनिन सहर र उत्तरी वेस्ट बैङ्कका अन्य क्षेत्रहरूमा सुरक्षा अपरेशन सुरु गर्यो । उक्त अपरेशनको उद्देश्य आतङ्कवादी पूर्वाधार नष्ट गर्नु रहेको सेनाले जनाएको छ ।

स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ ।

स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ ।

स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट पूर्वी समय बिहान ५ः१५ मा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले पछि २१ स्टारलिङ्क उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट–टू–कल क्षमताहरू भएका उपग्रह रहेका छन् ।

स्टारलिङ्क निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा दुर्गम स्थानहरूमा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो । एउटा स्टारलिङ्क उपग्रहको आयु लगभग पाँच वर्षको हुन्छ ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पूर्ण रूपमा अनुपलब्ध भएका स्थानहरूमा पु¥याउनेछ ।

अर्थसमिति अनुगमन : भन्सार कार्यालय अस्तव्यस्त हुँदा चोरीपैठारी वृद्धि

काठमाडौँ, २३ माघः प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार कार्यालयको अस्तव्यस्तता, खुला सिमाना, अन्तरनिकाय समन्वय अभावलगायतले चोरीपैठारी वृद्धि भएको निष्कर्ष निकालेको छ ।

समितिका सभापति सन्तोष चालिसेको संयोजकत्वमा यही माघ ११ देखि १६ गतेसम्म विभिन्न भन्सार कार्यालयको अनुगमन गरिएको थियो । उक्त अनुगमनका क्रममा फेला परेका समस्याबारे समितिमा आज छलफल भएको छ । 

छलफलका क्रममा सांसद पदम गिरीले भन्सार नाकाहरु अस्तव्यस्त हुँदा मुलुकले ठूलो राजस्व गुमाएको बताउनुभयो । “धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन । जाँचपास मेसिन नियोजित ढङ्गले बिगारिएका छन् । कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ”, गिरीले भन्नुभयो ।

सांसद गङ्गा कार्कीले भन्सार जाँचपास प्रक्रियामा प्रविधिको प्रयोग कमजोर रहेको बताउनुभयो । “भन्सारमा भएका प्रविधि प्रयोग गरिएको छैन । भन्सारलाई प्रविधिमैत्री बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले भन्सार ‘यार्ड’हरुमा हजारौँको सङ्ख्यामा गाडी र मोटरसाइकल थन्किएर बसेको बताउनुभयो । 

सांसद जुलीकुमारी महतो (महासेठ)ले भन्सार कार्यालय प्रविधिको प्रयोगबिनै तजबिजीमा चल्ने गरेको बताउनुभयो । एकीकृत जाँचचौकी निर्माण तथा व्यवस्थापनको जिम्मा अरु देशलाई दिइँदा त्यसले सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न देखिएको धारणा सांसद नारायणी शर्माले राख्नुभयो । भैरहवाको एकीकृत जाँचचौकीमा स्थानीय र केन्द्र सरकारबीच विवाद देखिएको उहाँको भनाइ छ । दशजगा क्षेत्रमा भारतीय पक्षबाट सीमा मिचिएको विषय उहाँले समितिमा उठाउनुभयो ।
सांसद अञ्जली श्रेष्ठले भन्सार कार्यालयका कर्मचारीहरुले जानाजान मेसिन बिगार्ने गरेको अनुगमनका क्रममा भेटिएको बताउनुभयो । अर्का सांसद सूर्यबहादुर थापा क्षेत्रीले भन्सार प्रशासनमा पहिलेको तुलनामा केही सुधार देखिए पनि अझै समस्या रहेको बताउनुभयो । “क्वारेन्टाइनको अवस्था हेर्दा खसीबोका, राँगा, भैँसी, कुखुरा केही पनि आयात भएको देखिँदैन । क्वारेन्टाइन अफिसहरु चलेकै छैनन्”, उहाँले भन्नुभयो । 

सांसद अम्मरबहादुर रायमाझीले सीमानाकामा खटिने सुरक्षाकर्मीको सङ्ख्या कम रहेको बताउनुभयो । अर्का सांसद छिरिङ डम्डुल लामा भोटेले भन्सार प्रणालीभन्दा बाहिरबाट बढी सामान नेपाल भित्रिरहेको बताउनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले भन्सारमा ठूलो समस्या रहे पनि त्यसलाई समाधान गर्न माथिल्लोदेखि तल्लो तहसम्मले हेलचेक्र्याइँ गर्ने गरेको बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारका कर्मचारीले असल नियतले काम गर्दैनन् भन्ने भाष्य बनाइनु गलत रहेको बताउँदै यसलाई थप सुधार गर्नुपर्नेतर्फ ध्यान जान आवश्यक रहेको बताउनुभयो । सीमा क्षेत्रका नागरिकले भोगिरहेको समस्या समाधान गर्नुपर्ने, नेपालमा भारतीय नागरिकले बोक्न मिल्ने नगद रकम रू २५ हजारबाट बढाइनुपर्नेलगायत सुझाव उहाँले दिनुभयो ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले मिलेमतोमा तस्करी नरहेको जिकिर गर्नुभयो । चालु आर्थिक वर्षमा प्रहरीले करिब तीन अर्ब बराबरको सामान नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय सीमानासँग जोडिएका क्षेत्रमा देशभर १२ सयको हाराहारीमा कर छलीका सामान ओसारपसार गर्ने व्यक्तिहरु रहेको बताउनुभयो ।

महान्यायधिवक्ता कार्यालयद्वारा छानबिन समिति गठन

काठमाडौँ, २३ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई सङ्गठित अपराध र सम्पति शुद्धीकरणको विषयमा मुद्दा नचलाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमाथि अध्ययन गर्न छानबिन समिति गठन भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपाका अध्यक्ष लामिछानेसहित ३२ जना विरुद्ध अभियोगपत्र दायर गरिएको थियो । त्यसमध्ये अध्यक्ष लामिछानेसहित २० जना विरुद्ध ठगीको मुद्दा र १२ जना विरुद्ध सङ्गठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा दायर गरिएको थियो । चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

 महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता गोपालप्रसाद रिजाल संयोजक रहनुभएको सो समितिका सदस्यहरुमा सहन्यायधिवक्ता तथा महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च वकिल सरकारी कार्यालय हेटौँडाका सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्य सचिवमा महान्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद आचार्य रहनुभएको छ ।

  महान्यायधिवक्ता कार्यालयका प्रवक्ता दाहालकाअनुसार चितवन सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्र त्रुटिपूर्ण देखिएकाले छानबिन समिति गठन गरिएको हो । महान्यायाधिवक्ता कार्यालयले रास्वपाका अध्यक्ष लामिछानेसँग साठगाँठ गरे वा दबाबमा परेर यस्तो अभियोगपत्र दायर भयो भन्ने गम्भीर आशंकामा छानबिन समिति गठन गरेको जनाएको छ । सरकारले दबाब दिएर सरकारी वकिल कार्यालयले यस्तो अभियोगपत्र दर्ता गरेको भन्ने भाष्य निर्माण गरिए पनि सो निर्णय यथार्थ नभएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ । 

रास्वपाका सभापति लामिछाने विरुद्ध अन्य तीन अदालतमा सङ्गठित अपराध र सम्पति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो । तर चितवन जिल्ला अदालतमा ठगीको मात्र अभियोग लगाइएको छ । महान्यायधिवक्ता कार्यालयले आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरिसकेको छ । 

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा छ महिनामा चार अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा),२३ माघ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिनुभयो ।‘‘चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व सङ्कलनमा वृद्धि भएको छ,’’ उहाँले भन्नुभयो ।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको थियो । चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व सङ्कलन ग¥यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै

महोत्तरी, २३ माघः महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप लगाइने तयारी छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियानअन्तर्गत ४५ हजार चार सय ६४ जना किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । पहिलो चरणको खोप बिहीबार सुरु हुँदैछ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप दिइँदैछ । खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी आठ हजार चार सय ६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।

जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ । जलेश्वर, लोहारपट्टी, मनराशिशवा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपिभी खोप दिइने कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन् । यस चरणमा २६ हजार तीन सय ९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार सात सय १७ किशोरी छन् ।

जिल्लाका छ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्तीबस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । जम्मा चार सय दुई खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ । यो अभियानमा लक्षित समूहभित्रका कोही किशोरी नछुटुन् भनी प्रचारप्रसार गरिएको जानकारी दिँदै कार्यालय प्रमुख साहले यस अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभयो ।

सुशासन र विकासका लागि अध्यादेश : सञ्चारमन्त्री गुरुङ

भक्तपुर, २३ माघ : सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ ।रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सव कार्यक्रममा आज यहाँ बोल्दै उहाँले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानुन निर्माणका लागि भएको स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “अध्यादेश जनताको अधिकार खोस्न ल्याइएको होइन, देशको सङ्कट चाँडो समाधान गर्न ल्याइएको हो । विद्यमान कानुनमा सुधार गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न ल्याइएको हो ।”

अध्यादेश संसद्बाट पारित गर्ने भएकाले संसद्लाई छल्ने कुरै नहुने उहाँको भनाइ थियो । उहाँले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानुनले चलिरहेकाले छिटो कानुन ल्याउन अध्यादेश ल्याएको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “विधेयक बनाउने समितिमा माननीय नै हुँदैनन्, कहिले कोरम पुग्दैन, संसद्मा एउटा विधेयक पास गर्न पाँच/छ वर्ष लाग्छ ।”

उहाँले प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र रोक्न कानुन ल्याउनुपरेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सांसद दुर्लभ थापाले देशलाई आवश्यकता परेकाबेला सरकारले संवैधानिक व्यवस्थाअनुरुप  अध्यादेश जारी गर्ने गरेको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनाले संसद्को अधिकार सङ्कुचन हुनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।      कार्यक्रममा मन्त्री गुरुङले स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मध्यपुर अस्पतालका अध्यक्ष डा रविना प्रधानाङ्गलाई कल्पना स्मृति पुरस्कार, पत्रकार एवं दबाब साप्ताहिकका सम्पादक अमर भुजुलाई समाजसेवी स्व तुलबहादुर थापा एवंं रुपा थापा स्मृति कदरपत्र र पत्रकार टीकाराम यात्रीलाई रक्तसञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो  

राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे जानकारी लिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री तथा यातायात देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।

छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।

प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे । सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उनले आग्रह गरे ।

द्रुतमार्ग कूल ७० दशमलव ९७ किलोमिटर रहेको छ । दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो ।

आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ ।


सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा

गण्डकी, २३ माघः गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ । विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष वितिसकेको छ । यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो ।

प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भएभने दोस्रो कार्याकाल सुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुईवटा अध्यादेश स्वीकृत भएका छन् ।

‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ’ ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन् ।

यसैगरी, ‘औद्योगिक व्यवसायय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेस भएको छ । गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदैछन् ।

विसं २०७९ मङ्सिर ४ गते प्रदेशसभाको निर्वाचन भई प्रदेशसभाको दोस्रो कार्यकाल विसं २०७९ पुस १८ गते सुरु भएको थियो । उक्त अवधिमा केही सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए ।
प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभालाई जिम्मेवार बनाइ सङ्घीयता अनुभूत हुनेगरी काम गर्न प्रदेशसभा प्रयत्नशील रहेको बताउनुहुन्छ । उहाँले सङ्घीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुहुन्छ । नागरिकका भावनाअनुसार प्रदेशसभाले कानुन निर्माणलगायत संविधानले निर्देश गरेका काम गरिरहेको उहाँ बताउनुहुन्छ ।

प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ । अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव सङ्कलन हुने गरेको छ । प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरुले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन ।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्यको हुनुहुन्छ ।

यस्तो छ बागमती प्रदेशसभामा आजको कार्यसूची

बागमती, २३ माघः बागमती प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ ।

बिहान ११ बजे हुने बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

यही माघ १८ गतेदेखि प्रारम्भ भएको प्रदेशसभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेस गर्ने योजना रहेकामा विपक्षी दलको सहमति नहुँदा तिनलाई प्रदेशसभा कार्यसूचीबाट हटाइएको थियो ।

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौँ, २२ माघ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताउनुभएको छ ।

अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित छलफल उहाँले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य छ भन्नुभयो ।

सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक क्षमता विकास गर्न उहाँले सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुनसक्ने अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा सहभागी निकायका अधिकारीहरूले आ–आफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको आवधिकरुपमा ‘सेक्युरिटी अडिट’ गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ‘ब्याकअप’ क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । साथै सूचना प्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चूनौतीपूर्ण रहेको जानकारी दिएका थिए । यस्ता समस्यालाई सम्बोधन गर्नका लागि सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत निकायका अधिकारीहरूको सहभागिता थियो ।

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २३ माघः अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेहपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो ।

साथै गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो । पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा ३० लाख बढीले भ्रमण गरे

चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण गरेका छन् । यसमध्ये ९० प्रतिशत भन्दा बढी राजधानी बाहिरबाट आएका थिए ।देशभरका विज्ञान–प्रविधि सङ्ग्रहालयले चिनियाँ संस्कृति, सांस्कृतिक सम्पदा प्रविधि र अत्याधुनिक प्रविधिहरूलाई एकीकृत गर्दै विभिन्न वसन्त महोत्सव–विज्ञान प्रदर्शनीहरू सुरु गरेका छन् ।

पूर्वी चीनको फुजियान विज्ञान र प्रविधि सङ्ग्रहालयले ‘स्नेक इन्टेलिजेन्स’ मा प्रदर्शनी आयोजना गर्दैछ, जसले आगन्तुकहरूलाई सर्प जीवविज्ञानको बारेमा सिक्ने मौका दिन्छ ।

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको अर्को विज्ञान–प्रविधि सङ्ग्रहालयमा एक मानवीय रोबोटले आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै चीनको रोबोटिक्स प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्दछ ।सीएसटीएमले सन् २०२५ मा विज्ञानको नवीन रूपहरु जारी राख्नको लागी देश को विज्ञान प्रविधि सङ्ग्रहालयहरुलाई नेतृत्व गर्नेछ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २३ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ४५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री पौडेल

भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताउनुभएको छ । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ,” मन्त्री पौडेलले भन्नुभयो, “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हन्छ । कारबाहीको भागिदार हुन्छ ।”

सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै उहाँले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले भन्नुभयो, “सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा झुटो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए रू ५० रूपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रूपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तर बिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रवृत्ति अब रोकिनुपर्छ ।”

मन्त्री पौडेलले नागरिक योदानमा आधारित बिमा प्रणाली लागू गरी स्वास्थ्य बिमालाई रू एक लाखबाट बढाएर रू पाँच लाख बनाउने तयारी गरेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बताउँदै उहाँले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताउनुभयो ।

मन्त्री पौडेलले क्यान्सर सरभाइभर बिरामीलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकका रूपमा सेवा गर्नुभएका शङ्कर प्रधानाङग र दीपक ओलीलाई सम्मान गर्नुभयो । देशका १७ लाख किशोरीलाई एचपिभी खोप लगाउने अभियान आजदेखि सुरू भएको बताउँदै उहाँले आठ हजार २०० खोप केन्द्रमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले एचपिभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताउनुभयो ।

नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उहाँले यस्तो अवस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरी जनचेताना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहलगायतले बिरामीलाई कुनै पनि प्रकारको कष्ट नहुने गरि सेवा दिनुपर्ने आँैल्याउनुभयो ।

सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौंः उपाध्यक्ष यादव(अन्तरवार्ता)

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बताए । उनले उक्त प्रस्तावसहित संशोधनसम्बन्धी प्रक्रिया अघि बढाइएमा आफ्नो दलको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। “विविधतालाई सम्बोधन गर्ने शासन प्रणाली र सङ्घीयतालाई अधिकार सम्पन्न गरौँ हाम्रो चाहना हो, सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वयको स्पष्ट खाका हुनुपर्छ”, उपाध्यक्ष यादवले भने, “राज्यप्रति अपनत्व बढाउन समावेशिताको दायरा फराकिलो बनाएर लैजानुपर्छ ।” विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनमा सक्रिय रहनुभएका नेता यादवले विसं २०६२-६३ र मधेस आन्दोलनमा योगदान गरे । विसं २०६४ मा संविधान सदस्य, विसं २०६८ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री भइसकेका उनी हाल प्रतिनिधिसभा, अन्तर्राष्ट्रियसम्बन्ध तथा पर्यटन समिति सभापति हुन् । नेता यादवसँग ‘सांसदसँग रासस संवाद’का लागि राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

माननीय ज्यू, पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

पार्टीको कार्यकारिणी परिषद् बैठक भर्खर सम्पन्न भएको छ । बैठकमा पार्टीको आन्तरिक जीवन, सङ्गठन सुदृढीकरण, राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति र चुनौतिका बारेमा गहिरोसँग छलफल भएको छ । अर्कातर्फ यही माघ १८ गतेदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन पनि सुरु भएको छ । एउटा सांसदका हैसियतमा त्यसमा पनि व्यस्त रहने कुरा भयो । तेस्रो, संसदीय समितिको बैठक पनि नियमितरुपमा भइरहेकै छ । समग्रमा भन्नुपर्दा अहिले संसद्का गतिविधि र पार्टी सङ्गठनका काममा व्यस्त छु ।

भर्खरै सम्पन्न भएको पार्टीको बैठक के विषयमा केन्द्रित रह्यो ?

यस पटकको बैठक मुलतः सङ्गठनमै केन्द्रित भयो । छ महिनादेखि ‘जनतासँग जसपा आधारभूत सङ्गठन निर्माण अभियान’ सञ्चालन भइरहेको छ । त्यस अभियानको विहङ्गम छलफल गरी त्यसको प्रभाव र जनताको प्रतिक्रिया कस्तो रह्यो भन्नेबारे समीक्षा गरियो । सङ्गठनलाई अझै चुस्तदुरुस्त बनाइ सुदृढीकरण र जनतामा जाँदा आएका समस्या व्यवस्थापनबारे गहन छलफल भयो । वैकल्पिक शक्तिका रुपमा रहेको जसपाले देशको राष्ट्रिय राजनीति जुन दिशामा गइरहेको छ त्यसलाई कसरी लिने र अघि बढ्ने भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।

देशका पछिल्लो राजनीतिक अभ्यासलाई यहाँले कसरी हेर्नुभएको छ ?

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा विचार र सिद्धान्तबाट दलहरुमा विचलन आएको देखिन्छ । जनसरोकारका विषयभन्दा दल र त्यसका नेता आफ्नो गुटलाई कसरी लाभ पु¥याउने र रक्षा गर्ने भन्ने पक्षमै केन्द्रित रहेको पाइन्छ । समग्रतामा मुलुक बनाउने, जनताको रक्षा गर्ने, जायज विषय सम्बोधन गर्ने तथा आर्थिक वृद्धि हासिल गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, कमजोर अवस्थामा रहेको सुशासनमा सुधार ल्याउने विषय प्राथमिकतामा हुनुपर्ने हो, तर त्यो ओझेलमा परेको छ । कृषिजन्य उपजसमेत विदेशबाट महँगोमा किनेर भान्सा चलाउनुपर्ने अवस्था छ । युवा बेरोजगारी समस्या त्यस्तै छ । शिक्षाकोस्तर खस्केको छ भने त्यो केका लागि भन्ने प्रश्न उब्जिएको छ । यस्ता विषयलाई सम्बोधन गरेर जानु पथ्र्याे त्यो भइरहेको छैन ।

गाउँघर र जनतामा जाँदा तपाईंले कस्तो प्रतिक्रिया र टिप्पणी पाउनु भएको छ ?

एकअर्का बीच सहयोग, भाइचारा, प्रेम र सद्भावमा रहने नेपाली समाजको विशेषता हो । तर अहिले विधि र प्रक्रियाभन्दा बाहिर गएर पछिल्लो समय जो जहाँ छ, पेलेर जाने व्यक्ति र आत्मकेन्द्रित अवस्था छ । पछिल्लो समय देशको राष्ट्रिय राजनीति गलत बाटोमा अघि बढिरहेको छ । र त्यसको प्रभावस्वरुप आमजनतामा निराशा छ । अर्काेतिर जबरर्जस्ती नेपालमा भविष्य छैन, हामी उँभो लाग्दैनौँ भन्ने कोणबाट नकारात्मक भाव फैल्याउने कोसिस भइरहेको छ । अहिले सार्वजनिकस्थलका कुरा सुन्दा नकारात्मकतातिर उन्मुख छ । राजनीतिक दल, नेता र नेतृत्वप्रति गालीगलौज तथा तुच्छ शब्दवाण प्रयोग भइरहेको छ । सरकारमा पनि प्रभावकारी काम गर्ने ल्याकत र इच्छाशक्ति देखिएन । अर्काेतर्फ समाज पनि गलत बाटोतर्फ गयो कि भन्ने चिन्ता लागेको छ ।

अहिले संविधान संशोधनको विषय चर्चामा छ, यसमा तपाईको पार्टीको धारणा के हो ?

वर्तमान सरकार बन्नेक्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएको थियो । देशका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गर्ने विषय लोकतन्त्र, संसदीय अभ्यास र परम्पराका दृष्टिबाट सामान्य होइन । राष्ट्रिय सङ्कटको अवस्थामा हुनसक्ने घटनाको अपवादका रुपमा दुई ठूला दलको सरकार बनेको छ । राजनीतिक स्थिरता कायम गर्न, आर्थिक क्षेत्रलाई चलायमान बनाउन, सुशासन कायम गर्न र हालको निराशालाई चिर्न वर्तमान सरकार गठन गरिएको भनियो । गणितीय हिसाबले सरकार मजबुद देखिए पनि संविधान सशोधनलगायत कतिपय विषयमा गम्भीरता पाइन्न । अर्काे, संविधान जारी गर्ने बेलामै हामी केही प्रावधानका विषयलाई लिएर विरोधमा थियौँ । संविधानले अधिकार, पहिचान, आर्थिक समृद्धिलगायतलाई सम्बोधन गर्न सक्दैन भन्ने हाम्रो तत्कालीन निचोड थियो ।

तपाईहरुले चाहेको संविधान संशोधन कस्तो हो ?

पृथ्वीनारायण शाहको दिव्योपदेशमा त्यतिबेलै ‘नेपाल चार वर्ण, छत्तीस जातको साझा फूलबारी हो, यो सबैलाई चेतना भया’ भन्ने उल्लेख छ । नेपालमा सांस्कृतिक, धार्मिक, भौगोलिकरुपमा विविधतायुक्त समाज छ । यी हाम्रा सम्पत्ति हुन् । त्यसलाई संरक्षण गर्नुपर्नेमा नेताहरुले त्यसको महत्वलाई बुझ्न सकिरहेको देखिन्न । प्राकृतिक स्रोतसाधनको सम्पन्नताको हिसाबले नेपालले आर्थिक रुपमा फड्को मार्नुपर्ने हो, तर त्यसो भइरहेको छैन । हामीले आन्दोलनको उपलब्धिको अपनत्व हुने खालको साझा संविधान खोजेका हौँ । विविधतालाई सम्बोधन गर्ने शासन प्रणाली र सङ्घीयतालाई अधिकारसम्पन्न गरौँ भन्ने हो । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वयको स्पष्ट खाका हुनुपर्छ । राज्य सबैको बनाउन समावेशिताको दायरालाई फराकिलो बनाउन तथा आर्थिकरुपमा सम्भावना देखिएका क्षेत्रको पहिचान गरी अघि बढाउँ भनेका हौँ । मुलतः सङ्घीयतालाई अधिकारसम्पन्न र राज्यलाई अझै समावेशी बनाउने तथा आर्थिक समृद्धिका लागि चाल्नुपर्ने कदमका कोणबाट हामीले संविधान संशोधन खोजका हौँ । संविधान संशोधन अहिले गफमा सीमित छ । एजेण्डाकै रुपमा ल्याइसकेको अवस्था छैन । त्यो पाटोबाट संशोधन ल्याइएमा हामी अघि बढाउन सहयोग पु¥याउछौँ ।

मधेस केन्द्रित दलबीच सहकार्य र एकतासम्मका विषय उठेका छन्, अहिले यो कुन अवस्थामा छ, कसरी अघि बढ्न खोजिरहनुभएको छ ?

लोकतान्त्रिक र पहिचानवादी मोर्चा बनाउन आठ दलबीच विश्वासको वातावरण बनाउँदै धु्रवीकरण गर्दै बृहद मोर्चाबन्दीका साथ एकतासम्म पुग्ने अभ्यास सुरु भएको छ । त्यसका लागि तीन वटा औपचारिक बैठक भइसकेका छन् । मोर्चाका सम्बन्धमा गठित कार्यदलले लक्ष्य र सञ्चालन अवधारणापत्र तयार गर्दैछ । साझा मुद्दा पहिचान गर्ने कार्यदेश छ । विचार र सिद्धान्तमा आधारित देशकै वैकल्पिक लोकतान्त्रिक शक्ति बनाई नेपाललाई आर्थिक समुन्नत तुल्याउने मुख्य धेय छ । हिजोको जस्तो तराई-मधेस मात्र नभइ सम्पूर्ण नेपालीको कल्याणका लागि काम गर्ने अठोट गरेका छौँ । देशमा रहेका साधन स्रोतको प्रचूर उपयोग गर्दै युवा पुस्तालाई स्वदेशमै रहने वातारण सिर्जना गर्न मोर्चा लागि पर्नेछ ।

तराई/मधेसको खास मुद्दा के हो ?

नेपाल सबै जातजातिको साझा फूलबारी हो । हामी नेपाली कम देशभक्त होइनौँ । तराईंकै भएका कारण विभेद गरिनु भएन । राज्यले जात, धर्म र समुदायका आधारमा विभेद गरिनु हुन्न भन्ने मुख्य मुद्दा हो । त्यो व्यवहारमा उतार्न अरु सरह राज्य संयन्त्रमा सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने हो ।

सरकार गठनसँगै कूटनीति अभ्यासको फेरबदल भइरह्यो भन्ने आरोप छ, अनि छिमेकीलाई हेर्नपर्ने दृष्टिकोण कस्तो हुनुपर्छ ?

हो, विगतमा नेपालले कूटनीति क्षेत्रमा विश्वमै हासिल गरेको छवी घटेको छ । हिजो हाम्रो गौरवशाली इतिहास थियो । विश्वमै गोर्खाली साहसिक, वीर र इमान्दार भनेर चिनिन्छन् । पछिल्ला समय नेतृत्वले देशको भन्दा दलको परराष्ट्र नीति बनाउन खोज्दा छिमेकीसँगसमेत विश्वास घट्न पुगेको अवस्था छ । दल विशेषका आधारमा छिमेकीलाई हेर्ने प्रवृत्तिले देशको हित हुन सक्दैन । परराष्ट्र नीति भनेको देशको बनाउनुपर्छ । राष्ट्रहितमा साझा नीति र दलभन्दा माथि उठ्नुपर्छ । गुमेको साख फर्काउन नेता जिम्मेवार हुनुपर्छ । सरकार अब विदेश नीतिमा मात्र होइन, लिइने आर्थिक नीतिकाबारे पनि ‘बोल्ड’ भएर आउनपर्छ ।

विगतमा सरकारमा पनि रहेर काम गर्नुभयो, अनुभवका हिसाबले सरकार भनेको के रहेछ ?

शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संविधान र कानुनले व्यवस्था गरेअनुरुप योजना बनाउने र कार्यान्वयन गर्ने संयन्त्र हो । समाजका सबै समस्या विधिभित्र रहेर सम्बोधन गर्ने निकायकारुपमा सरकारलाई बुझेको छु ।

राज्यप्रति युवापुस्तालाई विश्वास दिलाउने मामिलामा कहाँ के–कस्तो कमजोरी भइरहेको छ, जस्तो लाग्छ ?

राज्यसत्ता सञ्चालनको गलत अभ्यासको परिणामकारुपमा यो समस्या देखिएको छ । रोजगार, उद्योगधन्दा, कृषि, शिक्षा, स्वास्थ्यक्षेत्रमा प्रगति भएको देखिएमा जनतामा आशा पलाउँछ, त्यो अहिले कमजोर बन्न पुगेको छ । जनतादेखि प्रधानमन्त्रीसम्म कोही पनि सन्तुष्ट छैनन् । राज्यका निर्णय ठिक भएन भने समाजमा त्यसका असर परिरहन्छ । दूष्पप्रभाव देखिरहन्छ । त्यो भएर युवामा नकारात्मक भाव उत्पन्न गरेको र सपना मरेको अवस्था छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा देखिएका समस्यालाई यहाँले कसरी लिनुभएको छ ?

जनताले घरबाट निस्कना साथ समस्या झेल्नुपर्छ । राज्य व्यवस्थाको कार्यप्रकृति नै दुःख दिने खालको छ । भ्रष्टाचारीपनि कुन दलको हो त्यो आधारमा कारबाही हुने जस्तो भएमा कसरी निर्मूल हुन्छ रु सरकारले सबै चर्चामा आएको काण्डमाथि छानबिन गर्नुपर्छ । निक्र्योल गरेर जानुपर्छ । सरकारले जनविश्वास आर्जन गर्ने हो भने सर्वोच्च अदालतको न्यायाधीशको नेतृत्वमा आयोग गठन गरेर छानबिन गर्नुपर्छ ।

निर्वाचन प्रणाली खर्चिलो भयो, यसले पनि भ्रष्टाचार बढायो भन्ने सुनिन्छ, यस्तो हो र ?

निर्वाचन प्रणाली खर्चिलो भएको यथार्थ हो, तर भ्रष्टाचारको जननी यो हो जस्तो लाग्दैन । हाम्रो चिन्तन नै गलत छ । विधि, प्रक्रिया पारदर्शी र सबैलाई जिम्मेवार बनाएरमा अनावश्यक लाल्छना हट्छ । अहिले सबै राजनीतिमा आउन खोज्छन्, पहिले राजनीतिलाई सेवाका रुपमा लिइन्थ्यो, अहिले राजनीति आयस्रोत र पेसा व्यवसाय बन्न पुगको छ । व्यापारी पनि राजनीतिमा आउन थाले । सबै स्रोतको केन्द्र राजनीति बन्न पुग्यो । आर्थिकरुपमा अवसर दिनुपर्छ । विदेश जान रोक्ने हो भने यहाँ विकल्प तयार गरिदिनुपर्छ । नेपालको कुल गार्हस्थ्य उत्पादन बढाउनुपर्छ । विकल्प तयार नभइ युवा पलायन रोक्न सकिन्न ।

जनतालाई आशा दिलाउने यहाँका केही सन्देश छन् त ?

फराकिलो चिन्तनका साथ देश र समाज बदल्ने दिशातर्फ हामी सबै उन्मुख हुनुपर्छ । पार्टी समुदायभन्दा माथि उठेर जो कोहीबाट पनि गलत काम भएमा प्रश्न गर्नुपर्छ । त्यो कोणबाट जनता जाग्नुपर्छ । जनप्रतिनिधिका नाताले म आफ्ना जीवनकालमै छाती फुलाएर, शीर उठाएर नेपालभन्दा गौरव गर्ने परिस्थिति सिर्जना गर्न लाग्छु । नेपाललाई समृद्ध र सबैको बनाउने अभियानमा जुट्नेछु । जनताका मुद्दा सदनदेखि सडकसम्म बुलन्द गर्न इमान्दार प्रयास गर्नेछु । त्यसमा सबैका साथ र सहयोग अपेक्षा छ । दिन टाढा छैन, छोटो समयमै समृद्ध गर्न सकिन्छ ।

कर्णालीमा एक लाख २० हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कर्णाली- राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णालीमा मंगलबारदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ ।प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबँेसी नगरपलिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा आज खोप अभियान शुभारम्भ गर्नुभयो । उहाँले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य समस्याका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको हकमा बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको सुनाउनुभयो । दीर्घरोग उपचारका लागि समेत सरकारले योजना निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । खोप अभियानका क्रममा कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर (नवलपरासी), २३ माघ : यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उहाँको भनाइ छ । 

गत वर्ष कूल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो । “अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको  छ ।” जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ । 

“जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।” जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको  छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताउनुभयो । 

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ, २३ माघः विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाईराजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयोभने
महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

काठमाडौँ, २३ माघः जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ ।
आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने उहाँले बताउनुभयो ।

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

वीरगञ्ज (पर्सा), २३ माघ : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । गत आवको ६ महिनाको अवधिमा भने रु तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उहाँले जानकारी दिनुभयो ।

‘‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’’, सूचना अधिकारी तिवारीले भन्नुभयो । 

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि  बढेको छ । चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ । 

देवघाट महा–महोत्सवमा गर्जिदै अध्यक्ष लिङदेनले भने अब हिन्दु राष्ट्रको विकल्प छैन

देवघाट : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका छन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा मंगलबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशका ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको हुँदा नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने बताए ।

राजनीति र र धर्म अगल अगल विषय होइन् । राजनीति र धर्मलाई अलग अलग बनाएकै कारण देशमाथी बाह्य हस्तक्षेप बढ्दै गएको उनले बताए । आफु राजनीति र धर्मलाई सँगै लिएर जानु पर्ने मान्यतामा रहेको अध्यक्ष लिङदेलने बताए । धर्म सहितको राजनीतिले मात्र देशको भलो हुने उनले बताए । नेपालको बिग्रिएको राजनीतिलाई धर्म सहितको राजनीतिले मात्र सुधार्ने उनले दाबी गरे ।

धर्म निरेपक्षताको आडमा सनातन धर्ममाथिको अतिक्रमण सुरु भएको उनले बताए । अहिले पाथिभरामा देखिएको व्यापारिक हस्तक्षेप त्यसैको रुपमा भएको उनले बताए । यस्ता तत्वले भविष्यमा देवघाटमा पनि अतिक्रमण गर्ने उनले दाबी गरे ।

अध्यक्ष लिङदेनले अव नेपाललाई हिन्दु राष्ट्र बनाउने दुई वटा मात्र विकल्प रहेको बताए । पहिलो विकल्प आन्दोलन र दोश्रो विकल्प भनेको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर संसदबाट संविधान संशोधन मार्फत धर्म निरपेक्षतालाई परिवर्तन गर्ने विकल्प रहेको उनले बताए । हिन्दु राष्ट्र चहाने हो भने हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीलाई भोट दिनु पर्ने अध्यक्ष लिङदेलने बताए । धर्म निरपेक्ष पार्टीहरुलाई भोट हाल्नु भनेको हिन्दु राष्ट्रको विरोध गर्नु भएको उनले बताए ।

जनताको भोटको कारण देश धर्म निरपेक्षा भएको हुँदा भोट हाल्ने सबै जनता हिन्दु धर्म विरोधी भएको उनले बताए । उनले आफ्नै जिवनकालमा देशलाई हिन्दु राज्य बनाउन सकिने दाबी गरे । आफु हिन्दु राज्यको पक्षमा उभिएकै कारण आफुमाथि पनि विभिन्न पटक आक्रमणको प्रयास भएको उनले बताए । हिन्दु राज्यको पक्षमा उभिएकै कारण विभिन्न अनिष्ट र संकटको सामना गरेर यहाँसम्म आईपुगेको उनले बताए ।

अध्यक्ष लिङदेनले इश्वरकृष्ण महाराजको संकल्पमा भएको देवघाट महा–महोत्सवले सनातनी धर्मको रक्षा र सम्बद्र्धनकोलागि ठुलो भुमिका खेल्ने बताए । उनले राज्यले गर्नु पर्ने जेष्ठ नागरिक आश्रम स्थापनाको कार्य इश्वरकृष्ण महाराजको संकल्पमा भईरहेको हुँदा सबैले उहाँको सत्संकल्पमा सहयोग गर्नुपर्ने बताए ।

सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन

काठमाडौँ, २३ माघ : निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को आजदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ । उहाँले भन्नुभयो, “अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।”

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गर्नुभएको छ । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताउनुभयो ।

“आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ ”, निर्देशक घिमिरेले भन्नुभयो ।

यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनुभएको छ । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दै छन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको छ ।

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ, २३ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ६५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताउनुभयो । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।