`

समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह

Nepal One HD ७ भदौ २०८२ २०:३२
प्रमुख खबर

खाँदबारी (सङ्खुवासभा), ७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।”

सङ्खुवासभाको सन्दर्भमा उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गर्नुभयो । सङ्खुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्त्व रहेको बताउँदै उहाँले यसले नेपालको समृद्धिमा मात्र नभइ त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।

प्राकृतिक स्रोत वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको समान अधिकार रहने जनाउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो रु पाँच लाखसम्मको साहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको उल्लेख गर्नुभयो । ती वर्गलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उहाँको भनाइ छ ।

मन्त्री खड्काले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धितर्फ अघि बढ्नेछ । विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान दिनुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *