`

‘जनताको स्वास्थ्य प्रदेश सरकारको पहिलो प्राथमिकतामा छ’ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा (मोरङ), २२ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको स्वास्थ्य सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज यहाँ कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु गर्दै उहाँले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले खोप अभियानका क्रममा लक्षित वर्गका कोही पनि नछुट्ने गरी काम गर्न आग्रह गर्नुभयो । “प्रदेशवासीको स्वास्थ्य नै सरकारको पहिलो प्राथमिकता हो । सरकारले सबै खाले खोपहरूलाई नियमित बनाउने छ । सबैलाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा कुनै पनि लक्षित उमेर समूहका किशोरी छुट्न नहुनेमा सबै सचेत हुनुपर्ने बताउनुभयो । अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका ५० हजार पाँच सय ९७ छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइने उहाँले बताउनुभयो ।कोशी प्रदेशमा यो खोप अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

कास्की, २२ माघ : गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि राजधानी बाहिरको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रियअन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुग्न सफल भयो । पुलिसका उज्ज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । राईले कर्नरमा प्राप्त भएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल हुनुभएको थियो । पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा नै छाप छोड्न सफल रहेको बताउँदै पर्यटनको सहर राजधानीलाई खेलकुदको माध्यमबाट चिनाउन अहम् भूमिका खेलेको बताउनुभयो ।

प्रतियोगिता उद्घाटनका अवसरमा सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान नेपाली टोलीका रक्षक सनिष श्रेष्ठलाई प्रदान गरिएको थियो ।  महानगर प्रमुख आचार्यले नगद रु ५० हजार पाँच सय पाँच  र सम्मानपत्रबाट उहाँलाई सम्मान गर्नुभयो । तनहुँको पुर्कोटका सनिष  विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आउनुभएको छ ।  

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी छन् ।

यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

यसैगरी विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । 

यसैगरी सो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिनुभयो ।

क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरूको फुटबल प्रशिक्षणसँगै निःशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरू आश्रित रहेका छन् ।

अबको राजनीतिक मुद्दा भ्रष्ट्राचार अन्त्य : अध्यक्ष दाहाल

म्याग्दी, २२ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्ट्राचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उहाँले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्ट्राचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताउनुभयो ।

देशलाई आर्थिक सङ्कटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हिजो जनअधिकार र व्यवस्था परिवर्तनको नेतृत्व गर्‍यौँ , अब देश विकासको बाधक भ्रष्टाचार अन्त्यका लागि अगाडि बढ्छौँ । यसमा सबैको साथ आवश्यक छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राख्नुभयो । “विद्युत् वितरण प्रणालीको चुहावट नियन्त्रण गरेर लोडसेडिङको अन्त्य, संविधानको कार्यान्वयन, समावेशी, समानुपातिक व्यवस्थाको अगुवाइलगायत काम भएका छन् । तीस हजार गरिब किसानको कृषि ऋण मिनाह गर्ने काम भएको छ”, उहाँको भनाइ थियो ।

जलविद्युत्को अन्तरराष्ट्रिय व्यापारका लागि सम्झौता तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रशारण लाइन आयोजना अघि बढाएको बताउँदै अध्यक्ष दाहालले म्याग्दीको छिमेकी जिल्ला मुस्ताङको कोरलालगायत नेपाल चीनका परम्परागत व्यापारिक नाका पनि सञ्चालनमा ल्याउने काम आफ्नै नेतृत्वमा भएको दाबी गर्नुभयो ।

यसैगरी उहाँले विगतका कमजोरीलाई सच्चाएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान सुरु गरिएको र विभाजित माओवादीलाई एकैठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, नेताहरू हरिबहादुर भण्डारी, शेरबहादुर केसी र विनोद केसीले म्याग्दीको विकास निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

सहकारी ठगी प्रकरण : रविसहित १५ जनाविरूद्ध ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

चितवन, २२ माघ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिनुभयो ।  मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवि राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

यसअघि असोज ८ मा १७ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।  सरकारी वकिल कार्यालयले जीवि राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग आज दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । 

हाल जोहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रू  ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१  दशमलव ४७  जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।  

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार ठगीको हकमा मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ विरूद्धको कसुरमा सोही ऐनको दफा ३ (ग) बमोजिम सजायको मागदाबी र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३, १, २, ३ (क) र ५ को कसुरमा दफा ९ (क) र (ग) बमोजिम सजायको मागदाबी लिइएको छ । लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन ।

दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिवादी कायम गरी पाँच जनालाई अभियोगका साथ उपस्थित गराइएको छ । लामिछाने, रामबहादुर खनाल, छविलाल जोशी, कुमार रम्तेल र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङ  अभियोगसहित उपस्थित भएका हुन् । 

लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा रू एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा जीवि राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट रू एक करोड ग्लोबल आइएमईको खाताबाट रू तीन करोड ५० लाख जम्मा भएको उहाँले बताउनुभयो ।

तीमध्येबाट लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सोमार्फत रू ४८ करोड ५८ लाख २२ हजार २४६ र जीवि राई रविको संयुक्त दस्तखतबाट छ वटा चेकबाट रू ६० लाख १९ हजार भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि गरिएको छ । 

गोर्खा मिडिया कम्पनीको बैंक खाताबाट चार वटा चेकबाट प्रतिवादी कायम हुन आएको लामिछानेको श्रीमती निकिता पौडेलको नाममा रू ३९ लाख ३८ हजार २५१ र गोरखा मुभिजको नाममा दुईवटा चेकमार्फत रू ८१ लाख २५ हजार भुक्तानी भएको छ ।

पूरक अभियोगमा लामिछानेको हकमा ठगी र सङ्गठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय हुने मागदाबी भएको छ ।

केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार

पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।दुर्घटना हुँदा २० जनाभन्दा बढी खानीमा काम गरिरहेको भएपनि प्रहरी, जिल्ला विपद् व्यवस्थापन टोली र मानवीय संस्थाले मङ्गलबार बिहानै गरेको उद्धार कार्यमा सबैलाई निकाल्न सफल भएको शिन्यालु उपकाउन्सिलका प्रहरी प्रमुखले बताउनुभयो ।

“फसेका १२ खानी कामदारको उद्धार गरिएको छ,” केन्या रेड क्रस सोसाइटीले पुष्टि गरेको छ ।
परराष्ट्र मामिलाका लागि क्याबिनेट सचिव मुसलिया मुदावादीले खानी समुदायलाई उद्योगमा सुरक्षा उपायहरूमा बढी जोड दिन आग्रह गर्नुभयो ।
प्रत्यक्षदर्शीका अनुसार खानीमा काम गर्नेहरूले खन्ने क्रममा संरचना भत्किएपछि भित्र रहेका मानिसका लागि जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो ।

काकामेगा काउन्टी पश्चिमी केन्याको सबैभन्दा ठूलो खानी कार्यहरूको भण्डार हो ।केन्यामा खानीहरूलाई कमजोर सुरक्षा सावधानीका कारण खतरनाक मानिन्छ । हालका वर्षहरूमा बारम्बार खानी भत्किने घटनाले धेरै जनाको ज्यान लिएको छ ।

यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो

चितवन, २२ माघ : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।

एउटा भाले गैँडा सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौली क्षेत्रबाट पूर्वी क्षेत्र स्थानान्तरण गरिएको हो । तीन वटा पोथी गैँडामध्ये एउटा नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट र दुईवटा पोथी गैँडा अमलटारी क्षेत्रबाट ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ पोथी गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि आन्तरिक स्थानान्तरणको काम सकिएको छ ।

स्थानान्तरण गरिएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । आज छोडिएको पोथी गैँडा अन्दाजी १३ वर्षको रहेको उहाँले जानकारी दिनुभयो । शनिबारदेखि गैँडा आन्तरिक स्थानान्तरणको काम गरिएको हो । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई  एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको थियो ।

विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । सो समितिले पश्चिम सेक्टरमा ६० प्रतिशत र पूर्वी सेक्टरमा ४० प्रतिशत गैँडा रहेको अनुमान गरिएको छ । स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो ।

दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

सुदूरपश्चिम, २२ माघ : प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट आज भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको रू आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ ।    सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ ।

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौँ, २२ माघः दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई प्रस्थान गर्ने भएका छन् । बुधबारदेखि आगामी फागुन २ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रतियोगितामा नवराज कार्कीले पुरुष चार सय मिटर र एक हजार ५०० मिटर दौड, विलिशा अर्यालले महिला एक सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्बेले महिला दुई सय र चार सय मिटर दौड तथा लङजम्पमा सहभागी हुने छन् ।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन बिमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, सदस्य अञ्जना श्रेष्ठ र पारा एथ्लेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । नेपाली टोली भोलि दुबई प्रस्थान गर्नेछ ।

जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती

काठमाडौँ, २२ माघ – सरोकार भएकाहरूले जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती थपिएको बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँग आज यहाँ गरेको छलफलमा उहाँहरूले यस्तो बताउनुभएको हो । छलफलमा पानीको मुहान सुक्ने, वन डडेलो जस्ता जलवायुजन्य घटनाका कारण वासस्थानमा समस्या देखिएको बताइएको थियो ।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले वन र राष्ट्रिय निकुञ्जलाई नीतिगत रूपमा नियमन गर्न नसक्दा समस्या भइरहेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेशको नियम बाझिएकाले पनि समस्या समाधान, प्रदेशको राजश्व र रोजगारी वृद्धिमा चुनौति रहेको बताउनुभयो । “वन नियम कडाइ गर्दा नागरिकले अनावश्यक रूपमा वनका मुद्दा खेप्नुपर्ने समस्या छ । प्रदेशको कार्यक्षेत्रमा निकुञ्ज नभएको हुँदा वन्यजन्तु संरक्षणका काम गर्न पाएका छैनाँै तर मानव वन्यजन्तु द्वन्द्वको गुनासो बढिरहेको छ । निकुञ्ज क्षेत्रमा रहेका हिंस्रक वन्यजन्तु नियन्त्रण गर्नुपर्ने आवश्यकता छ”, मन्त्री चौधरीले भन्नुभयो ।

बागमती प्रदेश, वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बरालले पछिल्लो समय जलवायुजन्य समस्याबाट सिर्जित सङ्कटका कारण वन्यजन्तुको वासस्थान र आहारामा असर पुगेको बताउनुभयो । वन जङ्गलमा रहेको पानीका स्रोत सुक्दै जान थालेकाले वन्यजन्तुलाई खानेपानीको अभावमा बस्ती छिर्ने गरेको भन्दै उहाँले आहाराको कमीले २८ देखि ३० प्रतिशत वन्यजन्तु घरपालुवा वन्यजन्तुमा निर्भर हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

सचिव बरालले राज्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षमा रहेका वन्यजन्तुको मात्रै ख्याल गर्ने र अन्य वन क्षेत्रमा रहेका वन्यजन्तुलाई बेवास्था गर्ने अवस्था अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले छलफलमा उठेका विषयवस्तुलाई निकुञ्ज ऐनमा संशोधनको क्रममा समावेश गर्न सकिने बताउनुभयो ।

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक

लेखनाथ (कास्की), २२ माघः गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताउनुभएको छ । पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताउनुभएको हो ।

मन्त्री लेखकले लागुऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताउनुभयो । “खेलकुदले मानिसलाई स्वस्थ्य, उच्च विचार, बुद्धिमान र अनुशासनमा राख्ने हुँदा खेलकुदमा लाग्न सबैलाई मेरो आग्रह छ । राजनीति गर्ने व्यक्तिलाई पनि खेलकुदमा सहभागी हुन प्रेरित गर्न आवश्यक छ । यसले कुलतबाट जोगिन र असल कार्य गर्न ऊर्जा प्राप्त हुन्छ”, उहाँको भनाइ थियो ।

पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रव््द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताउनुभयो । क्लबले १८ वर्षदेखि निरन्तर यस्ता प्रतियोगिता गदै आएको छ ।

‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट

गण्डकी, २२ माघ : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, सङ्घीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताउनुभयो ।

“नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु”, उहाँले भन्नुभयो । प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने भन्दै उहाँले संवैधानिक अधिकारबमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा सङ्घीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा स्थापना दिवस र प्रदेश सरकार स्थापना दिवस फरक–फरक दिनमा मनाउने गरिएकोमा यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको रूपमा आजको दिनलाई प्रदेशसभा र प्रदेश सरकारले सामूहिक मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

संविधानले प्रदेश सरकारलाई सुव्यवस्था, विधि निर्माण र कार्यकारिणीसहित राजनीतिक, प्रशासनिक, वित्तीय हस्तान्तरण, सेवाप्रवाह, विकास एवं रोजगारीलगायत कार्यसूची नागरिकसामु वितरण गर्ने अभिभारा दिएको बताउँदै उहाँले लोकतन्त्र एवं सङ्घीय शासन प्रणालीअनुरूप व्यवस्थालाई सबलीकरणमार्फत सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्गमा गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

विकास, नीति र सुशासनसहित जनविश्वास र भरोसालाई बढोत्तरी गर्दै नागरिकसामु देखिने, सुनिने र महसुस गर्नेगरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्ने मार्गमा अघि बढिरहेको मुख्यमन्त्रीको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशको औचित्यलाई पुष्टि गर्नेगरी काम गर्नुु आवश्यक रहेको बताउनुुभयो । पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश स्थापनायता महत्त्वपूर्ण कामहरू भइरहेको बताउँदै यसलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले प्रदेशमा भइरहेका विकासका कार्यक्रमले जनतामा सकारात्मक सञ्चार प्रवाह भएको दावी गर्नुभयो । 

कार्यक्रममा प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिनुका साथै जातजातिका संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश सरकारका उपलब्धि समेटिएको पुस्तक लोकार्पण गरिएको थियो । 

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

ढोरपाटन (बागलुङ), २२ माघ : पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताउनुभएको छ । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताउनुभयो ।

विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उहाँले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गर्नुभयो । 

पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले  कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।

माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताउनुभयो ।

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २२ माघ : दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । 

जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

पाटन (ललितपुर), २२ माघ : नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन्” उहाँले भन्नुभयो ।

अध्यक्ष डिसीले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित होइन भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अरु क्षेत्रको बजेट काटौति गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली सिनेमा निर्माणको प्रक्रिया बदलिनुपर्नेमा जोड दिनुभयो । “नेपाली सिनेमा कताकता एकाङ्गी पो छ कि भन्ने मलाई लागेको छ, मैले फरक भूगोल, फरक विषयको चित्रण गर्ने परिपाटीको अभाव भएको महसुस गरेको छु । स्थानीय परिवेशका कुरालाई हामीले सिनेमामा बुझाउन सकिरहेका छैनौँं, आशा छ, जनकपुरमा हुने यो कार्यक्रमले नयाँपन खोज्ने छ”, उहाँले भन्नुभयो ।

कार्यकारी अध्यक्ष झाले महोत्सवले नेपाली चलचित्र निर्मातालाई स्थानीय कथा खोजीमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाली सिनेमालाई दिगो र अन्तरराष्ट्रियकरण गर्न पनि निकै ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो ।

अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताउनुभयो । “मधेशको कलासँग प्रगाढसम्बन्ध छ । पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ”, उहाँको भनाइ थियो ।

वरिष्ठ निर्माता माधव वाग्लेले मिथिला सभ्यताको चित्र कोर्न धेरै महङ्गो हुने भएकाले आफूहरूलाई मिथिला क्षेत्रको कथा समेटेर चलचित्र निर्माणमा समस्या भइरहेको सुनाउनुभयो । चलचित्र निर्देशक सुवर्ण थापाले महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्दै बालबालिका, युवा, महिलालगायतलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

जेआइएफएफ नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जानकारी दिनुभयो । उहाँले नेपालमा फिल्मको महत्व बुझाउने, नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्ने, नेपाली युवालाई प्रेरणा र अवसर दिनेलगायत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियानस्वरूप आफूहरू अगाडि बताउनुभयो ।

‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति

काठमाडौँ, २२ माघ : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
सरकारले ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार एक सय ६३ कित्ता संस्थापक शेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो । उहाँले  विभिन्न मन्त्रालयअन्तर्गतका निर्णय जानकारी दिँदै काठमाडौँ उपत्यका मुकाम रहनेगरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको बताउनुभयो । 

उक्त बैठकले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृहामन्त्रालयका सचिवबाट सम्पादन गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ । सरकारले सैनामैना नगरपालिका रूपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–१० मा रहेको राष्ट्रिय वनको ३ दशमलव ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दि एको छ ।

बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको तथा ज्येष्ठ नागरिक लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) बीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मको लागि थप गरिएको छ ।  

मन्त्रिपरिषद्को बैठकले भेरी पम्पिङ उपआयोजना निर्माणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ८, ११ र १२ तथा लेकबेँसी नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय वनको ३ दशमलव २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । 

विसं २०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने ‘विश्व सरकार शिखर सम्मेलन’ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । 

यस्तै सोही वर्षको फागुन ६ देखि ८ गतेसम्म मोरक्को माराकेश आयोजना हुने सडक सुरक्षासम्बन्धी चौथौ विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । 

यस्तै, आगामी २०८२ साल जेठ २, ३ र ४ गते जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य विषयमा काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद्को बैठकले वीरगञ्जको पोखरिया, कपिलवस्तुको बोडगाउँ र जुम्लाको नराकोट सिँजामा नयाँ मालपोत तथा नापी कार्यालयहरू स्थापना गर्न सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । 

उक्त बैठकले  सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमको लागि आर्थिक वर्ष २०८१/८२ मा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, नेपाल सरकार (कार्यसम्पादन) (आठौँ संशोधन) नियमावली र सुशासन (व्यवस्थापन तथा सञ्चालन) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरिएको छ । बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय समेत गरिएको छ ।

वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर थिए ।
सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ ।सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् ।

इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।प्यालेस्टाइनी तथ्याङ्कका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तिमा २७ जना मारेका छन् ।

टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरूङ

काठमाडौँ, २२ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आफ्ना कामको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।  टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले टेलिकमको आम्दानी बर्सेनि घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताउनुभयो । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले भन्नुभयो, “सरकारी कम्पनीमध्ये टेलिकमप्रति हामीले गर्व गरिरहेका छौँ, तर प्रतिस्पर्धी बजारमा यही पाराले टेलिकम चल्दैन, यही बेलामा हामीले समीक्षा गर्न सकिएन भने पछि पछुतो हुनसक्छ ।” 

मन्त्री गुरूङले बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अवलम्बन गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले जनताप्रति उत्तरदायी बनाउनका लागि टेलिकममा कम्तीमा २५ प्रतिशत शेयर जनताको हुनुपर्ने बताउनुभयो । 

“सुशासनसँग जोडिएको विषय इ–गभर्नेन्स हो, त्यसको लागि फोर–जी गाउँ–गाउँमा पुग्नु पर्‍यो, त्यसो गरेको खण्डमा यो क्षेत्रको विकास धेरै हुन्छ”, मन्त्री गुरूङले भन्नुभयो । उहाँले अहिले पनि ग्रामीण स्थानमा टेलिकमको टावरको समस्या भइरहेको बताउँदै गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभयो । 

बढी जनसङ्ख्या भएको मधेसका २२ वटा जिल्लामा अहिले पनि टेलिकमको उपस्थिति कमजोर रहेको जनाउँदै यो वर्ष मधेसमा पर्याप्त टेलिकमको पूर्वाधार विकास गरी अवरोधरहित सेवा–प्रवाह गर्न पनि मन्त्री गुरूङले निर्देशन दिनुभयो । उहाँले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नका लागि सरकारले ‘सामाजिक मिडिया प्रयोग र नियमन गर्ने विधेयक’ संसद्मा दर्ता गरेको बताउनुभयो । नेपाललाई ‘आइटी हब’ को रूपमा विकास गर्नका लागि सञ्चार, सूचना र प्रविधिसँग जोडिएका अन्य ऐन/कानुन निर्माण तथा संशोधन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । 

सरकारका प्रवक्ता गुरूङले मुलुकको आवश्यकताको आधारमा जनताको हितको निम्ति सरकारले अध्यादेशमार्फत विधेयक ल्याउनुपरेको प्रष्ट पार्नुभयो । सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष राधिका अर्यालले भौगोलिक रूपमा अत्यन्त विकट गाउँमा टेलिकमले सेवा विस्तार गरिरहेको सन्दर्भ उल्लेख गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा सहयोग पुर्‍याउन सबैलाई आग्रह गर्नुभयो । 

काठमाडौँ, २२ माघः नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिनुभयो ।

“विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो”, उहाँले भन्नुभयो, “विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी हो उहाँले  बताउनुभयो । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस  फ्लूइड  (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । 

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबंधक पनेरु बताउनुभयो । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उहाँको भनाइ थियो ।

दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । “कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भइ अनुसन्धानको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

बागमती, २२ माघः यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो ।

सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेमा माघ २३ गते बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ । संसदीय प्रक्रियालाई प्रभावकारी बनाउँदै प्रदेशसभालाई नियमित सञ्चालन गर्ने उद्देश्यले सभामुख पाठकले सबै दललाई संवादका लागि आह्वान गर्नुभएको हो ।

सर्वदलीय बैठकले प्रदेशसभाको आगामी कार्यसूचीलाई सहज बनाउनेमात्र होइन, दलहरूबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छः सांसद शर्मा

काठमाडौँ । राष्ट्रियसभामा प्रतिनिधित्व गरेको पाँच वर्ष भयो । हामीले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक/समावेशीलगायत प्राप्त अधिकारलाई जनतासम्म पुर्याउने काम गर्दै आएका छौँ । संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि कानुन बनाउने काम राष्ट्रियसभाले गरिरहेको छ । तर संविधान बनेको करिब १० वर्षको अवधिलाई समीक्षा गर्दा संविधानले परिलक्षित गरेका धेरै कानुन अझै बन्न सकेका छैनन् । त्यसमा विभिन्न कारणले काम गरेको हुन्छ ।

हामी संसदीय प्रणालीमा छौँ । संसद्मा अङ्कगणितको जोडघटाउ चल्छ । यद्यपि, कानुन बनाउने सवालमा सबैभन्दा बढी समय दिएका छौँ । विशेषगरी हाम्रो आवश्यकतालाई योग्यतामा जोड्ने, योग्यतालाई रोजगारीमा जोड्ने, रोजगारीलाई बजारसँग जोड्ने र बजारलाई प्रतिफलमा जोड्नेतर्फ हामी जानुपर्छ ।

राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा अलिक फरक छ । हामीले कुनै पनि विषयमा मसिनोसँग छलफल गर्छौँ । सहमति भएका विषयमा एकमतका साथ पारित गर्छौँ । हामीसँग समय पनि पर्याप्त हुन्छ । यहाँ दलको खिचातानी कम हुन्छ । तर दुःखको कुरा भन्नुपर्छ, हामीले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा गएर अड्किन्छन् । राष्ट्रियसभाले पारित गरेका सातवटा विधेयक प्रतिनिधिसभामा प्रवेशपछि शून्यमा परिणत भए ।

कतिपय विधेयक फेरि राष्ट्रियसभामै फर्किएका उदाहरण पनि छन् । छलफल, बहस र कारबाहीको हिसाबले राष्ट्रियसभा सफल छ । माथिल्लो सदन भए पनि सत्तापक्ष प्रतिपक्षको झल्को देखिन्छ । तर अलि बढी संयमित भएर, तार्किक छलफल गर्ने परिपाटी सभामा हुने गरेको छ । राष्ट्रियसभाअन्तर्गतका समितिहरू निरन्तर चलिरहेका छन् । सभाका मातहतका समिति कोरम नपुगेर स्थगित हुने गरेको छैन ।

राष्ट्रियसभाका क्रियाशील मुख्यतः चारवटा समितिमध्ये विधायन व्यवस्थापन समिति विधेयक निर्माणमा केन्द्रित छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिले आर्थिक विकास एवं सुशासनको क्षेत्रमा तथा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रियताको संवरद्धका विषयमा काम गर्दै आएको छ । पछिल्लो तीन वर्षयता म सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति रहेर काम गरिरहेको छु । मेरो समितिले मुख्यतः चारवटा विषयलाई हेर्छ ।

समितिले सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासनसम्बन्धी कार्य, राष्ट्रिय महत्वका दस्तावेज, अभिलेख व्यवस्थापन तथा ऐतिहासिक एवं पुरातात्विक सम्पदासम्बन्धी विषयलाई हेर्दै आएको छ । म सभापति भएदेखि पाँच वर्षको अवधिमा यो समितिमा कोरम नपुगेका कारण समितिको बैठक स्थगित गर्नुपरेको छैन । त्यसकारण फरकपनबाट संसदीय अभ्यास भइरहेको हुँदा राष्ट्रियसभाको गरिमा अझ बढेर गएको छ ।

संविधान लिखित दस्तावेज हो । संविधानलाई समय सान्दर्भिक पनि बनाउनुपर्छ । तर मुख्य कुरा सबैभन्दा पहिला संविधान निर्माण, कार्यान्वयन र संशोधनबारे गम्भीर समीक्षा हुनुपर्छ । संविधान बनेको करिब १० वर्ष भयो । पहिला यो १० वर्षको समीक्षा हुन जरुरी छ, संविधान कार्यान्वयन भएको छ/छैन रु कार्यान्वयन नहुनुका कारण पत्ता लगाउनुपर्छ । हामीले संविधानमा मुलुकलाई समाजवादतर्फ अग्रसर गराउने भनेका छौँ ।

राजनीतिक, सांस्कृतिक, सामाजिकसमेत रोजगारी सृजना, उद्योग कलकारखानाको स्थापना, विकास निर्माणजस्ता विषयमा संविधानमै कुनै बाधा व्यवधान भए त्यसलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्छ । तर कुनै सरकार, कुनै पार्टीको, पार्टीका दलका नेताका स्वार्थका लागि संविधान संशोधन गर्नु हुँदैन । संविधान संशोधनलाई सत्ताको भर्याङ बनाउनु हुँदैन ।

खासमा, संविधान संशोधन उत्पीडित समुदायको उत्थानतर्फ लक्षित हुनुपर्छ । तर, यस्ता विषय अहिले ओझेलमा परेका छन् । संविधान संशोधन केका लागि, किन गर्ने भन्ने विषयमा प्रष्ट हुनुपर्छ । म त भन्छु, शासकीय स्वरुपलाई फेरबदल गर्नका लागि संविधान संशोधन गर्नुपर्छ । देशमा राजनीतिक स्थायित्व र विकासका लागि राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित बनाउनका लागि संविधान संशोधन गर्नुपर्छ ।

अहिलेको निर्वाचन प्रणाली असाध्यै महँगो भयो । निर्वाचनमा उम्मेदवार हुन चाहनेहरूले दलको टिकट प्राप्त गर्न रकम बुझाउनुपर्ने खतरनाक परिस्थिति निर्माण हुँदैछ । जोसँग धन छ उसैले टिकट पाउने गरेको आमजनताले पनि महसुस गर्न थालेका छन् ।

धन हुनेले टिकट पाएपछि उसले चुनावमा पनि धेरै खर्च गर्ने नै भयो । यस्तो खर्चिलो, भड्किलो निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ । विडम्बना त के छभने, समानुपातिक निर्वाचनतर्फ पनि धनाढ्य र बाहुबलीहरू नै हाबी हुन थालेका छन् ।

हामीले रोजगारी सृजना गर्नका लागि शिक्षा, स्वास्थ्य, कृषिलगायत विषयमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । विकासको कुरा गर्दैगर्दा कतिलाई रोजगारी दिन सकियो भन्ने विषय मुख्य हो । अहिले पनि गाउँका धेरै युवा विदेश पलायन हुन थालेका छन् । गाउँ खाली भइरहेका छन् । गाउँमै रोजगारी सृजना गर्नेगरी विकासका अभियान सञ्चालन गर्नुपर्ने अवस्था छ । तर यहाँ त भएका उद्योग पनि बन्द भएका छन् ।

सांसद मायाप्रसाद शर्माको परिचय

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिका सभापति मायाप्रसाद शर्मा भेरी नगरपालिका–११ जाजरकोटमा जन्मिएका हुन् । शर्माको राजनीतिक यात्रा २०३८ सालतिर अनेरास्ववियुबाट सुरु भएको थियो । पछि शिक्षक सङ्गठन हुँदै २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धसँगै उनको भूमिगत राजनीतिक यात्रा सुरु भयो । संविधानसभाका सदस्य शर्मा अहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य पनि रहेका छन् ।

कुराकानीको सम्पादित अंश

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

काँक्रेविहार (सुर्खेत), २२ माघः कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो ।

कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् ।

यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन्भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उहाँले बताउनुभयो । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

अष्टेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

काठमाडौँ, २२ माघः अष्टेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाको सातै प्रदेश समेटिने गरी तस्बिर प्रदर्शनी गरेको हो ।

नेपालका लागि अष्टे«लिया राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ तस्बिर राखिएका थिए । प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने जनाहुँदै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न पनि जोड दिनुभयो ।

एनएसडब्लुका वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो ।सो अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गर्नुभएको थियो ।

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु

भोजपुर, २२ माघः जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।

दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।

शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताउनुभयो । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ ।

अध्यक्ष राईका अनुसार दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ ।
निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताउनुभयो ।सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

दूधकोशी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी–५ होम्ताङका स्थानीय एक्सन राईले बताउनुभयो । सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।

सनिशलाई यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

कास्की, २२ माघः सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद रू ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् । 

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ ।

सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताउनुभयो । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ । प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु

मुगु, २२ माघः राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताउनुभयो ।

गत वर्ष काठमाडौँमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धचा अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । 

कूल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टको पहिलो चरणमा रु एक अर्बको लागतमा निर्माण हुने चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधा सम्पन्न कोठाका ९८ श्यया निर्माण हुनेछन् । 

दैनिक एक सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिनेगरी यो रिसोर्टको भूमि पूजा गरी निर्माण सुरु गरिएको हो । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालीले जनाएको छ ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल  नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माणपश्चात् रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष एक सय २० जनाले रोजगारी पाउनुका साथै एक हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताउनुभयो । उहाँका अनुसार यो परियोजनाले विशेषगरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको छ ।

स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ श्यया निर्माण हुने यो रिसोर्टमा एक सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृयावलोकन गर्न सकिने र  रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि सात जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गर्नुभयो । यहाँ आउने पर्यटक सबैले रारामा गाँस र बासका लागि राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेकाले रिसोर्ट निर्माण थालिएको उहाँको भनाइ छ ।

केही वर्षयता रारा क्षेत्रकामाझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ । कर्णाली प्रदेशमा पहिलो पटक चारतारे रिसोर्ट मुर्माटपमा निर्माण हुने भएपछि रारामा आउने पर्यटकलाई बस्न र खान कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका–८ का होटल व्यवसायी बिर्ख रोकायाले बताउनुभयो ।

आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

काठमाडौँ, २२ माघः क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो ।    “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राख्नुभयो । उहाँले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिनुभयो । 

“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “तेस्रो र चाँैथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”

क्यान्सरका चार चरण

क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उहाँको भनाइ छ । उहाँले नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उल्लेख गर्नुभयो ।  

डा शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङ्ग कलेजो, पेटमा गयो भने त्यसलाई चरण चार भनिने जानकारी दिनुभयो । 

नेपालमा सस्तो उपचार 

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उहाँले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राख्नुभयो ।  

उहाँले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताउनुभयो । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि रु एक लाख उपलब्ध गराउने गर्दछ”, उहाँले भन्नुभयो । 

क्यान्सर हुनुका कारण

क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले बताउनुभयो ।  

“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दर्छौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”, उहाँले भन्नुभयो । उहाँले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने धारणा राख्नुभयो । उहाँका अनुसार शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो । 

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्यु गर्र्नेसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्दछ । 

उहाँले जिनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा वर्षमा एक लाख क्यान्सरका बिरामीको उपचार हुने गरेको छ । 

दैनिक पाँच सय बिरामी उपचारका लागि आउने गरेका छन् ।  हरेक दिनमा ४० देखि ५० जना बिरामीको किमोथेरापी र एक सय ५० जना रेडिएसन (सेकाइ)का लागि आउने गर्दछन् । उहाँले समयमा उपचार नगरे भने बिरामीको ज्यान पनि जानसक्ने जोखिम रहेको बताउनुभयो ।  

‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकीरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् । 

विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । 

पछिल्लो सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार छ सय २९ जनाको मृत्यु भएको थियो । उहाँले नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेका जानकारी दिनुभयो । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।  

क्यान्सर रोकथामसम्बन्धी सरकारका कार्यक्रम

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताउनुभयो । सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि रु एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप रु एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

आजदेखि देशभरका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क ‘एचपिभी खोप

काठमाडौँ, २२ माघः आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । 

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।  

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।”

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उहाँले भन्नुभयो, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन्  । ढुक्क भएर लगाउँदा हुन्छ ।” 

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।”

खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताउनुभयो । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए÷नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।”

राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२÷७३ र आव २०७३÷७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।

पाल्पामा यसवर्ष ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री

रामपुर (पाल्पा), २२ माघः यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

“सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ”, उहाँले भन्नुभयो ।

रैनादेवीछहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार छ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

पर्वत पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरे

पर्वत, २२ माघः जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।  

प्रतिकिलो रु १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष रु सात करोड आम्दानी भएको थियो । उहाँका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । 

समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिनुभयो । सुरुआतमा रु आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर रु १० हजारमा बिक्री गर्दै आएका उहाँले उल्लेख गर्नुभयो । 

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् । 

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम रु पाँच लाखदेखि रु १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिनुभयो । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको उहाँको भनाइ छ । 

पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी हुँदै भन्नुभयो, “काँक्राको बीउ नगदेँ बाली हो । गाउँबाटै बिक्री गर्न पाइएको छ । बीउ उत्पादनसँगै हिउँदे आलुखेती गर्न र पोखरेली जेठो बुढो धान पनि लगाउन पाइएको छ ।” उहाँका अनुसार पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका हुन् । 

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दैै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताउनुभयो । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् ।  

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

मनाङ, २२ माघः मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगो निभाउने प्रयास जारी छ । 

“आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्”, प्जिअ आचार्यले भन्नुभयो, “भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।” अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उहाँको भनाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।”

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।” सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ । 

“आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ”, कार्यालय प्रमुख भुजेलले भन्नुभयो । उहाँका अनुसार यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको छ ।    विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । 

अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित

कैलाली, २२ माघः धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ । गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।

अत्तरियालाई चार अङ्कसहित समूह ‘ए’ को शीर्षस्थानमा पु¥याउनका लागि विवेक यादवले अर्धशतकसहितको विवेकीय पारी खेले । दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा आठ विकेट क्षतिमा एक सय ४२ रन बनायो । 

सुरुआती ब्याट्सम्यानहरू सस्तोमा पेलिभियन फर्किंदा चौथो विकेटका रूपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । सोह्र रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रूपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । एघार दशमलव एक ओभरमा छ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए । 

अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शङ्कर रानाले १४ रन बनाए । क्रिकेट एक्सिलेन्स सेन्टरका लागि युनिष ठकुरी र दीपेन्द्र रावतले दुई÷दुई विकेट लिए । सूर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक÷एक विकेट लिए । 

एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्रिएको क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले १२ दशमलव दुई ओभरमा नौ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिइसीका विपिन आचार्य ११ दशमलव दुई ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सिवाइसी अत्तरिया विजयी भएको हो । 

सिइसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् । पाँच खेलाडी शून्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले पाँच विकेट लिए । उनी प्रतियोगितामा पाँच विकेट लिने पहिलो खेलाडी भएका छन् । तीन दशमलव दुई ओभर बलिङ गरेका उनले १० रन खर्चिए । 

दिपेश कँडेलले दुई विकेट हात पार्दा साहव आलम र सुशील साउँदले एक÷एक विकेट लिए । खेलमा पाँच विकेट लिएका सिवाइसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद रु १० हजारसहित ट्रफी पाए ।

स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिनेछ ।

गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना

गण्डकी, २२ माघः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताउनुभएको छ ।

प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उहाँले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ । सङ्घीयताको मर्मअनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूति दिलाउन सामूहिक प्रयास जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

अमेरिकी डलरको भाउ उकालो लाग्यो

काठमाडौँ, २२ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रूपैयाँ र बिक्रीदर नौ रूपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ । 

  केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ नौ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १२ रूपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रूपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रूपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रूपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने

सिरहा, २१ माघ : नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले यहाँ रहेको ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने भएकाले मङ्गलबारदेखि फागुन १ गतेसम्म विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको हो ।

यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपराह्न १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ ।

वितरण केन्द्रका अनुसार विष्णुपुर सवस्टेशनबाट सञ्चालित सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार सूचना जारी भई सेवाबारे जानकारी दिइने वितरण केन्द्रले जनाएको छ ।

नेपालमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

काठमाडौँ, २१ माघ : पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताउनुभयो । “स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

 प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको उल्लेख गर्दै उहाँले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो । पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उहाँले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पार्नुभयो ।

भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तरक्रिया गर्नुभएको थियो । विसं २०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिनुभयो ।

 अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई काउन्सिलले कक्षामा सहभागी गराउँदै आएको छ ।

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए,बचतकर्तामा उत्साह

गलकोट (बागलुङ), २१ माघ : बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहनुभएका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गर्नुभएको छ ।

बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताउनुभयो ।

रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिनुभयो ।

गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ ।

बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो । रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन् । रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ ।

बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताउनुभयो ।

पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गर्न जसपा नेपालको आग्रह

काठमाडौँ २१, माघ : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक आज साँझ सम्पन्न भएको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको पार्टी कार्यालयले जनाएको छ । साथै बैठकले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको छ ।

किराँत–लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न पनि जसपाले सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी अध्यादेशको विषयमा मङ्गलबार सिंहदरबारमा बस्ने जसपा नेपाल संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले तीन प्रदेशका इन्चार्जहरूको जिम्मेबारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।बैठकले आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई निर्देशनसमेत दिएको जसपाले जनाएको छ ।

आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान (सुनसरी), २१ माघः इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटिसी भुटान २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इटहरी राजा क्लब र आरटिसी भुटानबिच भएको खेलको नवौँँ मिनेटमा भुटानका सोनम एसहेले गोल गर्दै अग्रता दिलाएका थिए ।

 दोस्रो हाफको सातौँ मिनेटमा भुटानका सोनम जुद्रु जोइजाङले गोल गरेका थिए भने १४ औँ मिनेटमा कर्मा जोम्सोले र अन्तिम गोल नन्दय एसेनले गरे । दास्रो हाफकै ३१ औँ मिनेटमा इटहरी राजा क्लबका खेलाडी एलक्सले सान्त्वना गोल फर्काउन सफल भए । 

आजको खेलको म्यान अफ दी म्याच सोनम एसहे घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा आठ टिमको सहभागिता छ । सोमबारको अन्तिम क्वाटर फाइनल खेल एनआरटी क्लब काठमाडाँै र केएफटिसी झापाबिच हुने आयोजकले जनाएको छ ।

  यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । 

बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान

मकवानपुर, २१ माघ : बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मङ्लबार सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ ।

प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भइ प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा सरकारद्वारा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो ।

शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक : मन्त्री भट्टराई

त्रिशूली (नुवाकोट), २१ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, नुवाकोटले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले प्रक्रियामा अघि बढेर लामो समयदेखि छलफलमा रहेको विधेयकमा देखिएका समस्याअन्तर्गत शिक्षक परिचालन र व्यवस्थापन तीन तहकै सरकारको जिम्मेवारीमा पर्ने भएकाले देशभर खटाउन सकिने उल्लेख गर्नुभयो ।

“शिक्षक आफै कहाँ रहने भन्ने विषय अहिले अन्योल भएकाले सेवा प्रवाहका लागि देशभरका विद्यालयमा जान तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “पालिकाबाट अनुगमन तथा परिचालन हुन्छ । प्रदेश सरकारले भर्ना, पदपूर्ति, पदस्थापना, तालिम, बढुवा गर्छ । परिचालन तथा व्यवस्थापन, आवश्यक नीतिसहितको बाँकी जिम्मेवारी सङ्घीय सरकारबाट गराउन खोजिएको छ ।”

दफाबारे छलफल भइ गठन र राजनीतिक दलहरुबाट समान धारणा आएमा उत्पन्न समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो । विधेयकमा देखिएका समस्यामध्ये संस्थागत विद्यालयको व्यवस्थापन पक्ष अझै थप पेचिलो बन्दै गइरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

“शिक्षामा निजी क्षेत्रको लगानी व्यावसायिक नभई कल्याणकारी हुनुपर्छ । छात्रवृत्ति लगायतका सेवा अनिवार्य कार्यान्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पाच सयसम्म विद्यार्थी भएका विद्यालयमा दश प्रतिशत, आठ सयसम्म विद्यार्थी भएको विद्यालयमा १२ प्रतिशत र एक हजारभन्दा माथि विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । १० प्रतिशतलाई कार्यान्वयनमा ल्याए पनि बाँकीलाई समेट्न सकिएको छैन । विधेयक र त्यसपछि बन्ने ऐनमा यसलाई जोड दिइन्छ ।” सरकारले अनिवार्यसहित निःशुल्क शिक्षा कार्यान्वयन गर्न आवश्यक कोष निर्माण गर्नेसहितका नवीनतम विषय अब आउने विधेयक र ऐनमा समावेश गर्ने उहाँले जानकारी दिनुभयो ।

मन्त्री भट्टराइले त्यसलाई शिक्षा कोषको रुपमा विकास गर्ने, स्थानीय तहले सञ्चालन गर्ने, सङ्घ र प्रदेशले लगानी गरेर जाने अवस्था बनाउन सक्यो भने शिक्षामा तीन तहले साझा दायित्व र जिम्मेवारी बोध गर्ने बताउनुभयो । विद्यालय शिक्षा विधेयक संसद्मा पेस भएर त्यसमाथि दफाबार छलफल जारी छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमाथि सरोकारवालासँगको राय पश्चात उपसमिति बनाएर थप प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।