`

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी, २१ माघः गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जार्री गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो ।

“प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु

काठमाडौँ, २१ माघः ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ ।

यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ ।  “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”, सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।
आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।

‘समस्या सङ्घीयतामा हैन, सङ्घीयता कार्यान्वयन गर्ने भूमिकामा रहेकाहरूमा छ’ – राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ, २१ माघः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको सेवा प्रवाह प्रभावकारी नहुँदा सङ्घीयतामा असन्तुष्टि बढेको बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘सरोकार दर्पण’ पुस्तक विमोचन कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका लागि हरेक गतिविधिमा भइरहेको ढिलाइले जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले कानुन निर्माणको सवालमा सांसद स्वयं पनि असन्तुष्ट रहेको बताउनुभयो । राजनीतिक नेतृत्व आफनो भूमिकामा चुकेकै कारण नागरिकमा असन्तुष्टि उत्पन्न भइरहेको उहाँको भनाइ थियो । “अहिले जनस्तरमा सङ्घीयताप्रति नकारात्मकता सोचाइ बन्दै गएको हो कि भन्ने छ । सङ्घीयता आफैँमा गलत होइन, सङ्घीयताका सिद्धान्त आफँैमा गलत छैनन्”, अध्यक्ष दाहालले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनको भूमिकामा रहेका हामीहरूले नै समयमा त्यो भूमिका निर्वाह गर्न नसक्दा यस्तो सोच बन्दै गएको हो कि भनेर समीक्षा आवश्यक छ । राजनीतिकर्मीले आफूले गरिरहेको भूमिकाको समीक्षा गर्न लागेमा ठिक दिशाबाट पुग्न सक्छौँ भन्ने मलाइ लाग्छ ।” उहाँले संसदीय समितिले पनि जनउत्तरदायी बन्ने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले सरोकार दपर्ण पुस्तकले संसदीय समितिको कार्यकालमा सम्पन्न गतिविधि, प्राप्त उपलब्धि, देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यमा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विभिन्न संवैधानिक निकायबाट प्राप्त प्रतिवेदनमाथि समितिमा गम्भीर छलफल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीयतामाथि उठेका प्रश्नको उत्तर दिनका लागिसमेत यस्ता प्रतिविदेनमाथि छलफल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणका क्रममा आइपरेका चुनौति र समस्या समाधानका लागि संसदीय समितिले मार्गनिर्देश गर्ने अपेक्षा व्यक्त गर्नुभयो । संसद् र संसदीय समितिप्रति आफू र मन्त्रालय जवाफदेही रहेको भन्दै उहाँले प्राप्त निर्देशन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“पुरातत्व, वन र नदीलगायत प्राकृतिक सम्पदा जोगाउने कि विकास गर्ने ? भन्ने विषयमा धेरै ठुलो मतभेद देखिन्छ । यसलाई सन्तुलनको खाँचो छ”, मन्त्री पाण्डेले भन्नुभयो, “त्यो सन्तुलन पनि लहडका भरमा हुँदैन । अध्ययन र अनुसन्धान, तथ्य र तथ्याङ्कका आधारमा संसद् र समितिले सरकारलाई मार्गनिर्देश गर्नुपर्छ भन्ने लाग्दछ ।”

संविधानसभा सदस्य राधेश्याम अधिकारीले संसदीय समितिलाई पुस्तकालय र अध्ययन एवं अनुसन्धानको आवश्यकता औँल्याउदै त्यसका लागि बजेट व्यवस्थापनमा सुझाव प्रस्तुत गर्नुभयो । राष्ट्रिय सरोकार तथा समन्वय समितिका पूर्वसभापति दिलकुमारी रावल थापा (पार्वती)ले यस समितिको दस्ताबेजका रूपमा पुस्तक प्रकाशन गरिएकोे बताउनुभयो । उहाँले यस अभ्यासले संसदीय कामलाई संस्थागत अभिलेखिकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त पुस्तकमा पहिलो छ वर्षको अवधिमा समितिबाट सरकारको निगरानी, सङ्घीयता सवलीकरणलगायत कामकारबाही एवं समितिका सदस्यका अनुभव र सान्दर्भिक लेख समावेश गरिएका छन् ।

श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १० जना भारतीय मछुवालाई पक्राउ गरेको छ । उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।

उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ । नौसेनाले डुङ्गा र माछा मार्नेहरूलाई कानुनी कारबाहीका लागि स्थानीय अधिकारीहरूलाई बुझाएको जनाएको छ । श्रीलङ्काको नौसेनाले सन् २०२५ मा हालसम्म ७० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाको तथ्याङ्कले देखाएको छ । नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी

त्रिशूली (नुवाकोट), २१ माघ : यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन) युद्धको क्रममा निर्माण गरिएको ‘सूर्यगढी’ मा सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय सरकारले निर्वाह गर्न सक्ने भूमिकाको जिम्मेवारी बहन गर्ने उद्देश्यले आइतबार देखि सुरु भएको अधिवेशन आज सम्पन्न गरेको हो । अधिवेशनले चारबुदेँ ‘सूर्यगढी घोषणापत्र÷प्रतिबद्धतापत्र’ जारी गरेको छ ।

सूर्यगढीको संरक्षण, प्रवर्द्धन एवं प्रचारमा सहयोग पुग्ने सन्देश प्रवाहका लागि गढीमा सभा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो । उहाँकाअनुसार जारी घोषणापत्रमा गढी संरक्षण र प्रवर्द्धनसँगै जलवायु परिवर्तनको प्रभावलाई पालिकाबाट गर्नसक्ने न्यूनीकरणका सम्बन्धमा छलफल गरी गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

चार बुँदे प्रतिबद्धता एवं घोषणापत्रमा सूर्यगढीमा पर्यटन प्रवर्द्धन गर्नका लागि नियमित सरसफाइ गरेर फोहरमैलाको उचित व्यवस्थापन गर्ने र आगामी आर्थिक वर्षमा गढीसहित यस आसपासमा रहेको खाली भूमिमा गुराँसको विरुवा वृक्षारोेपण गर्ने, सूर्यगढीको पहरामा नेपालको नक्सा अङ्कित सौन्दर्य झल्काउने आकर्षक कलाकृति बनाउने उल्लेख छ ।

हरित विकासलाई आत्मसात गर्ने, सूर्यगढीसहित आसपासमा रहेका चन्द्रगढीलगायत गढीमा हरेक वर्ष लाग्दै आएको डढेलो नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षा र स्वास्थ्यको विकास एवं गुणस्तरीय सेवाको लागि विशेष क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको सभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राईले जानकारी दिनुभयो ।

सूर्यगढीसहित यसका करिब आधा दर्जन गढी जीर्ण भएकाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्दै यसको प्रचारमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले एक हजार छ सय ७३ मिटर उचाइमा रहेको गढीमा गाउँसभा गरेर सरोकारवालाहरुको ध्यान केन्द्रित गराएको छ । इतिहासमा प्राप्त तथ्यअनुसार नेपाल–भोट (चीन) युद्धको क्रममा सूर्यगढीको महत्व उल्लेख छ । मूलडाँडो नुवाकोटलाई सुरक्षित आधार तयार गर्न वेत्रावती नदीलाई वरिपरिको किल्ला मजबुद बनाउन नेपाली सेनाले बनाएको यही गढीबाट नेपाली पक्ष विजय भएसँगै विसं १९४९ मा ऐतिहासिक वेत्रावती सन्धि भएको थियो ।

यस गढीबाट नुवाकोट, रसुवाको अधिकांश भूगोल प्रष्टसँग देख्न सकिन्छ भने लाङटाङ, गणेशसहितका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।

सोमबार आफूसँग भेट गर्न आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग दाहालले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

भेटमा उनीहरूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताए ।

भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै सोमबार बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको सुनाए ।

हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताएका थिए ।

प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा उहाँले युग सुहाउँदो शिक्षाका लागि अब पुरानो र परम्परागत शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“सही शिक्षा नीति नहुँदा शिक्षामा गरिएको लगानीबाट सोचेअनुसार लाभ लिन सकिएको छैन । यसकारण परिवर्तित समयअनुसारको गुणस्तरीय शिक्षा र शिक्षा प्रणालीका लागि शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो”, मन्त्री गुरुङले भन्नुभयो,“सरकारले सोही सोचका साथ शिक्षा नीति ल्याउने तयारी गरेको छ । पुरानो शिक्षा नीति संशोधन गरेर अहिले संसद्मा नयाँ शिक्षा विधेयक छलफलको क्रममा छ । अबको नीतिमा प्राविधिक, सीपमुलक शिक्षा अनिवार्य हुनुपर्छ ।”

नेपाल सरकारका प्रवक्ता मन्त्री गुरुङले पढेर विदेश पलायन हुनेभन्दा पनि स्वदेशमै बसेर आत्मनिर्भर हुने खालको शिक्षा दिन आवश्यक रहेको भन्दै त्यसका लागि सूचना प्रविधिमैत्री शिक्षा अवलम्बन गर्न आग्रह गर्न आग्रह गर्नुभयो । “अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन् भने अशिक्षितजस्तै हुन्छन् । सूचना प्रविधिबारे बुझ्न र बुझाउन जरूरी छ । सरकारले पनि शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले शिक्षामा सरकारले गरेको लगानीको प्रतिफलका लागि शिक्षक, अभिभावक र स्थानीय तहले गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सरकारले आवश्यक कानुन निर्माण र सुधारमा जोड दिएको भन्दै उहाँले सरकारले हालै ल्याएको अध्यादेश त्यसैको सुरुआत भएको र यसले जनताको हित हुने जिकिर गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “जनताको सेवा नै अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको हो । जनताको तत्कालको समस्या समाधान गर्न अध्यादेश ल्याइएको हो । यो संसद् चालु अवस्थामा नरहेका बेला सरकारले ल्याउनसक्छ भन्ने थाहा हुँदाहुँदै विपक्षले गरेको विरोधको कुनै अर्थ छैन ।”कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान गुरुङले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्न अपरिहार्य भइसकेको बताउनुभयो ।

सरस्वतीको पूजा आराधना विधिपूर्वक सम्पन्न

काठमाडौँ, २१ माघ : विद्या प्राप्तिको कामना गर्दै आज विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरिएको छ ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिन्छ । पूजा, आराधनाका लागि बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनले विधिपूर्वक पूजा, आराधना गरेका छन् । मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको काठमाडौँ महानगरपालिका–३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२९ स्थित डिल्लीबजारमा रहेको सरस्वती मन्दिरमा भक्तजनले विधिपूर्वक पूजा आराधना गरे । यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न समेत शुभ मानिन्छ । देशभर रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

यसै विश्वासका आधारमा आज सामुदायिक एवं संस्थागत विद्यालयले पनि विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरेका छन् । विद्यार्थी, शिक्षकलगायत विद्यालयमा जम्मा भई विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना एवं प्रार्थना गरी सरस्वती पूजा एवं वसन्त पञ्चमी पर्वका रुपमा मनाएका छन् । यस अवसरमा आज बिहान ०७ ः ५५ बजेको साइतमा हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण पनि गरिएको थियो ।

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ ।

रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ ।“नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कारहरू बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,” ओएफभीले जानकारी दिएको छ ।

ओएफभीका निर्देशक ओयविन्ड सोलबर्ग थोरसेनले भन्नुभयो, “हामीले योभन्दा पहिले कहिल्यै विद्युतीय कारले यति धेरै हिस्सा ओगटेको जानेनौँ । यदि बाँकी वर्ष यस्तै रह्यो भने हामी चाँडै नै २०२५ को लक्ष्यको नजिक पुग्नेछौं ।”“हामी विद्युतीय कारहरूलाई नै शत प्रतिशत हिस्सा ओगटेको देख्न चाहन्छौँ । लक्ष्यमा पुग्नका लागि अन्य मोडेलहरू भन्दा विद्युतीय कार छनौट गर्न लाभदायक बनाउने प्रोत्साहनहरू ल्याउन आवश्यक हुनेछ,” उहाँले थप्नुभयो ।

सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर–विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो ।नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरूलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरूविरुद्ध प्रतिस्पर्धी बनाउँछ।उनीहरूले सडक कर छुट, सार्वजनिक कार पार्कहरूमा निः शुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन्।

विद्युतीय कारको विक्री उच्च भएसँगै सामान्य कारहरूमा दिइएका केही कर छुट र प्रोत्साहनहरू वर्षौँदेखि फिर्ता लिइएको छ ।ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो ।फोक्सवागन आईडी.४ र निसान अरियालाई पछि पार्दै टोयोटा बिजेड फोर एक्स सबैभन्दा बढी बिक्री भएको थियो।

तुलनात्मक रुपमा हेर्दा सन् २०२० पछि पहिलो पटक घटेको युरोपमा विद्युतीय कारको हिस्सा सन् २०२४ मा १३.६ प्रतिशत मात्र थियो भने गत बर्षको डिसेम्बर महिनामा यसको हिस्सा १५.९ प्रतिशत रहेको थियो ।

छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

पाटन (ललितपुर), २१ माघः प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताउनुभएको छ । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उहाँले बताउनुभयो ।

माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो ।

“पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रुपमा बजारीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले अर्को बर्षसम्म कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने बताउँदै यहाँका सात वटा पहिरोको जोखिम न्यूनिकरण गर्न जाइकालगायतको सक्रियतामा सर्भे भइरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको उक्त योजनाको पूर्ण सफलताको कामना गर्नुभयो ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुख र अल्झनहरु आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँको मुहार फेर्नमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो ।

डेस्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताउनुभयो । बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केवलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केवलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी एक बर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको  छ ।

वसन्त पञ्चमीको अवसर पारेर गरियो रियालिटी शो ‘कमेडी किड्स’ को घोषणा

काठमाडौँ। पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ। आज ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड वारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो। घोषणा कार्यक्रममा रियालिटी शो ‘कमेडी किड्स’ को लोगो सार्वजनिक गरिएको छ ।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्टसंग सम्झौता भएको छ। शो प्रशारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

जब ललितपुरका मेयर चिरिबाबु महर्जनले स्काउटकै पोषाकमा देखा परे (फोटोफिचर)

ललितपुर । नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट, स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्दार्थ कटेजमा आयोजित बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू , प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो साथै उक्त परिषद बैठकमा पदेन सदस्यका रुपमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरि, ट्राफिक प्रहरी, नगर प्रहरी आदिको पनि उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एब्म ललितपुर महानगर उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यज्युले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका सम्रक्षक एब्म नगर प्रमुख चिरिबाबु महर्जन ज्यु, विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरे सहभागी भएका थिए। बैठकमा शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गान तथा स्काउट गीतबाट गरिएको थियो। सोही अवसरमा स्थानीय स्काउट परिषद्को वार्षिक प्रतिवेदन ललितपुर महानगर स्काउटका प्रमुख आयुक्त श्री पवन कोइरालाले प्रस्तुत गर्दै विभिन्न विकास योजनाहरू, सदस्यता वृद्धिका उपायहरू तथा शैक्षिक पहँच विस्तारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। प्रमुख अतिथि चिरिबाबु महर्जनले स्काउटको भूमिका र यसको प्रभावकारिता बारे चर्चा गर्दै आगामी वर्षहरूमा स्काउट अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक कदमहरूबारे प्रकाश पार्दै ललितपुर महानगर स्काउट कार्यालय तथा ललितपुर महानगर बिच सहकार्य गर्ने धराण ब्यक्त गर्नु भयो। उक्त कार्यक्रममा ललितपुर महानगरका शिक्षा निर्देशक तथा महानगर स्काउटका सदस्य सचिब श्री देवि प्रसाद उपाध्याय तथा निबर्तमान शिक्षा प्रमुख तथा सदस्य सचिब श्री महेन्द्र बहादुर क्षेत्रीको पनि उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन श्री श्याम कुमार महर्जनले गर्नुभयको थियो।

कार्यक्रमका अन्त्यमा धन्यवाद ज्ञापन गर्दै परिषद्का अध्यक्ष मञ्जली शाक्य बज्राचार्यले बैठकमा प्रस्तुत भएका प्रस्तावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बैठक औपचारिक रूपमा समापन भएपश्चात् सहभागीहरूले सामूहिक फोटो खिचाएका थिए

माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए,कुन प्रदेशमा को?

काठमाडौँ, २१ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा आज बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो ।

बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क)मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ । महाचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, माओवादी केन्द्रले आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी फागुन ९ गते आफ्ना पार्टीका तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । माओवादीका तर्फबाट एक सय २३ पालिकामा प्रमुख उपप्रमुख विजयी भएका छन् ।

नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह

ढोरपाटन (बागलुङ), २१ माघ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताउनुभयो । “सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन् । मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ । यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडिठ बढ्छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले जनताको नजिक रहेको स्थानीय सरकारका समस्या समाधान गर्न माथिल्लो तहका सरकारबीच सहकार्य जरूरी रहेको धारण राख्नुभयो । “तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेका हुन् । अब एकताबद्ध र सहकार्यको भावनाका साथ जनताको पक्षमा काम गर्न जुटौँ । त्यसका लागि केन्द्रीय सरकार प्रतिबद्ध छ”, उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गरेका छन् । सोमबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् । समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए । वसन्त श्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

तस्बिर : किरणराज बिष्ट / रासस

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर, २१ माघ : भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।

पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका चार सय ४४ विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उहाँको भनाइ छ । वडाले रु चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

“पठनपाठनमा सहजतासँगै वडाभित्रका विद्यालयबीच एक रुपता ल्याउनको लागि पोसाक वितरण गरिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हालसम्म दुईवटा विद्यालयमा वितरण गरिसकेका छौँ । माघ २३ गतेभित्र सबै विद्यालयमा वितरण गरिसक्छौँ । यसले विद्यार्थीको सरसफाइ तथा खेलकुद प्रतियोगितामा सहभागिताका लागिसमेत सहजता थप्ने हामीले अपेक्षा लिएका छौँ ।”

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उहाँको भनाइ छ ।

गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । समाज सुधारको मुख्य सूचक शिक्षा रहेकाले यहाँका सामुदायिक विद्यालय भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनाबद्ध रुपमा गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

“समाज सुधारको मेरुदण्ड नै शिक्षा हो” अध्यक्ष राईले भन्नुभयो,“हामीले नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ । यहाँको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले योजनबद्ध रुपमा काम गरिरहेको छ । विद्यालयको भौतिक निर्माणसँगै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।”

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।

‘यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ,’ उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।’ पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उनको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो,’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ ।

सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेका उनको भनाइ छ । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए ।

‘जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किमी कालोपत्रको तयारी भएको छ,’ उनले भने, ‘गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी ) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो ।

विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।

निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।

तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७/७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।

बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।

प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य

लुम्बिनी, २१ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गर्नुभयो । “विगत सात वर्षमा सङ्घीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको आफ्नै प्रशंसनिक संरचना, विकास मोडेल, जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु ।” स्थापनाको आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकको भरोसाको रुपमा स्थापितहुन सफल भएको र यसले प्रदेशवासीमा उत्साह थपेको बताउनुभयो ।

प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्यगरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्यहासिल गर्न सरकार प्रतिबद्ध रहेको भनाइ उहाँको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ ।

मलेसियामा बाढीका कारण १३ हजारभन्दा बढी विस्थापित

मलेसियाको उत्तरी बोर्नियो राज्य सारावाक र सबाहमा आएको बाढीका कारण १३ हजार भन्दा बढी मानिस विस्थापित भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।सारवाकमा ११ हजार ८४० मानिसहरूलाई ६३ बाढी राहत केन्द्रहरूमा राखिएको समाज कल्याण विभागले जनाएको छ ।

यसैबीच, उपप्रधानमन्त्री फडिल्लाह युसुफले यस पटक विपद्को सामना गर्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । विशेषगरी विन्तुलु जिल्लामा आएको बाढीका कारण लजिस्टिक कठिनाइ रहेको उहाँले बताउनुभयो ।मौसम विभागले कम्तीमा ४ फेब्रुअरीसम्म विशेषगरी सारावाकका धेरै जिल्लामा लगातार भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।

पुरैनी तालमा चराको सङ्ख्या घट्यो

कञ्चनपुर, २१ माघ : बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताउनुभयो ।

“पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो” उहाँले भन्नुभयो, “हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।”

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन् ।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताउनुभयो ।

रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

 तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ । “ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्”चरा विज्ञ डगौराले भन्नुभयो, “विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ ।”

 स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन् । नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउनुहुन्छ । “ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ” उहाँले भन्नुभयो, “नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ ।” 

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी, २१ माघः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उहाँले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । “सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोडनका निम्ति गरेको एउटा सशक्त पहल हो”, उहाँले भन्नुभयो,“यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।” अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन, छलफल गरेर आम नागरिककाबीच वास्तविकता सूचना पु¥याउने हिसाबले लाग्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,“अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो । ”उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको बताउनुभयो ।

“सरकार अब सकारात्मक दिशातर्फ अगाडि बढेको छ, यो गतिलाई तीव्रता दिँदै मुलुकलाई ओरालो लाग्ने अवस्थालाई रोकेर, क्रमशः गति बढाउने अवस्थामा पुगेका छाँै”, उहाँले भन्नुभयो, आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौँ, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौँ र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छाँै भन्ने विश्वास छ ।”

उहाँले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रुपमा भ्रम फैल्याउने काम भएको बताउनुभयो । उहाँले वर्तमान नेतृत्व वाक तथा प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका र नागरिकका अधिकारका निम्ति जीवनभर लडेका राजनीतिक पार्टीक नेता कार्यकर्ता रहेकाले त्यस्तो स्वतन्त्रताकाविरुद्ध कदापि लाग्न नसक्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको स्पष्ट पार्नुभयो । उहाँले नियमन गर्नु र स्वतन्त्रताकाविरुद्ध उभिनु एउटै विषय नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“कसैले पनि आफूले गरेको कामका निमित्त आफै उत्तरदायी हुनुपर्छ । राम्रो काम गर्ने पुरस्कृत हुने र कमजोरी गर्ने आलोचना हुन्छ, अपराध गर्ने दण्डित हुनुपर्छ ।”

उहाँले सरकारले प्रस्ताव गरेको विधेयकमा संविधान र कानुनले नागरिकलाई प्रदान गरेका अधिकारलाई बन्देज लगाउने कही नभनेको नियमन गर्ने, व्यवस्थित गर्ने र अनाधिकृत, अनुत्तदायी, समाजको एकता, सद्भाव खलबल्याउने विभिन्न खालका विकारयुक्त अभिव्यक्तिको पाणी चलाएर दिग्भ्रमित गर्ने कार्यलाई नियमन गर्न खोजिएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले रुपन्देहीमा भएका विकासका अभ्यास, कमजोरी तथा खोज अनुसन्धानका क्षेत्रमा जोड दिन आग्रह गर्दै उहाँले महासङ्घले अगाडि सारेका योजना पूरा गर्नका लागि आफ्नो तर्फबाट सधैँ सहयोग रहने आश्वासन दिनुभयो । यहाँका सञ्चारकर्मीले रुपन्देहीमा विकासका लागि गरिएका कामलाई छलफल र बहसको विषय बनाउन आग्रह गर्दै उहाँले कमजोरीलाईसमेत औँल्याएर सुधार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले महासङ्घको वर्तमान अवस्था र भावि योजनाबारे अर्थमन्त्रीलाई जानकारी गराउनुभयो । महासङ्घले अघि सारेका योजनालाई सफल पार्न सके यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि सफलता र अवसर सिर्जना हुनसक्ने जनाउँदै उहाँले सरकारकोतर्फबाट सहयोगका लागि आग्रह गर्नुभयो ।

आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तियो

काठमाडौँ, २१ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३५, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

आज मौसम मुख्यतया सफा रहने

काठमाडौँ, २१ माघः हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

तराईका धेरै स्थानमा हुस्सु/ कुहिरो लाग्ने छ, भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु÷कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु÷कुहिरो मध्याह्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

तुलसीपुर, २१ माघः लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।

मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब

काठमाडौँ, २१ माघ : मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत थियो ।

चालु आवको छ महिनामा कूल वस्तु निर्यात ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६ दशमलव एक प्रतिशत, १९ दशमलव सात प्रतिशत र एक प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैँचीलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटीलगायत वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी कूल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रु आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव नौ प्रतिशत, आठ दशमलव नौ प्रतिशत र नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल÷धान, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगञ्ज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ७६ अर्ब २५ करोड बराबरको भएको थियो ।

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति

काठमाडौँ, २१ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरुमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।” पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उहाँले  यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दू विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत–सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा–अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरुलाई सबैले सम्मान गर्न सक्नुपर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् ।  

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति

काठमाडौँ, २१ माघः राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।

नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

छ महिनामा सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौँ, २१ माघ : चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भइ रु पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो ।

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ, २१ माघ : वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

तनहुँमा छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए

दमौली (तनहुँ), २० माघ : पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।

पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आव २०७९/८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो । त्यस्तै आव २०७८/७९ मा दुर्घटनामा परी ४९ जना, २०७७/७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । त्यसैगरी आव ०७६/७७ मा ४४ र ०७५/७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

काठमाडौँ, २१ माघ : देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत पुस मसान्तमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई रु २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । 

आव २०८१÷८२ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । 
त्यसैगरी शोधनान्तर स्थिति रु दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु  चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु चार अर्ब ५४ करोड रहेको थियो । 

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न गृहका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौँ, २१ माघ : सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गर्नुभएको स्पष्ट पारेको छ । 

सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ । 

समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ । 

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीदर ८६ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ १९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९१ पैसा र बिक्रीदर आठ रूपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

  केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १२ रूपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

ठमाडौँ, २१ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

ललितपुर (गोदावरी), २० माघः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि छलफल सम्पन्न नभएकाले बैठक सोमबार पुनः बस्ने भएको हो ।

शनिबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठकमा सङ्गठन सुदृढीकरणका लागि चार महिनायता सञ्चालन भइरहेको अभियानको समीक्षा गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला र पालिकास्तरका अधिवेशन आगामी वैशाखसम्म सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष यादवका  स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।

बैठकमा सङ्गठनको जिम्मेवारी हेरफेर, विभागीय नेतृत्व बाँडफाँट तथा केन्द्रीय सल्लाहकार समिति गठनबारे छलफल भएको छ । कार्यकारिणी समितिमा नयाँ सदस्य समावेश गर्न गठित कार्यदलको प्रतिवेदनमाथि सोमबार थप बहस हुने जनाइएको छ । सोमबारको बैठकले मधेश केन्द्रित दलहरूसँग संयुक्त मोर्चा निर्माण, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने बताइएको छ । 

‘स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने’ : मुख्यमन्त्री कार्की

मोरङ, २० माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा आयोजित, ‘विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनाका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो । उहाँले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनातर्फ आकर्षण बढेको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्न लागेको र यसको सफलताका लागि उद्योग सङ्घसङ्गठनहरुलाई आग्रह गर्नुभयो ।  

सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोबाट मद्दत पुगेको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रमा बजार चलायमान गर्न एक्स्पोबाट सहयोग पुगेको बताउनुभयो । एक्स्पोमा २६८ कक्षमा स्वदेशी तथा भारत, बङ्लादेश र पाकिस्तानका उत्पादन राखिएका थिए । 

सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

सुदूरपश्चिम, २० माघः सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ । खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

निर्देशनालयका निमित्त निर्देशक डा खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताउनुभयो । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययनरत एक लाख ४५ हजार ८९४ किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको छ ।” 

खोप लगाउनुपर्ने किशोरीमध्ये सबैभन्दा बढी कैलालीमा ५० हजार ६१३ र कञ्चनपुरमा २७ हजार ५०० किशोरी छन् । सबैभन्दा कम दार्चुलामा सात हजार २९१ किशोरी छन् । खोप अभियानका लागि प्रदेशभरि दुई हजार ८०० भन्दा बढी स्वास्थ्यकर्मी र करिब पाँच हजार स्वयंसेवी परिचालन गर्न लागिएको छ । 

अभियान सञ्चालनका लागि हरेक विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको र त्यहाँ छुटेकालाई स्वास्थ्य केन्द्रमार्फत पनि यो खोप दिन व्यवस्थापन गरिएको निमित्त निर्देशक बमले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।”

पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् ।

कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गरेका हुन् ।

सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरूरी रहेको र अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राखे ।

“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवयक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भने ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहनेगरी विधानमा व्यवस्था गर्नुुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको सङ्गठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पुर्याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने बताए ।

तनहुँमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

तनहुँ, २० माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ ।

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ । उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गर्नुभयो । “साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले बताउनुभयो ।

एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लु प्रति एकाइ हुन्छ । यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एक तिहाइ हो । “कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ ।” मन्त्रीले सन् २०४७ सम्ममा कम्तिमा १०० गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा सङ्क्रमण प्रयासहरूको लागि आवश्यक रहेको प्रकाश पार्नुभयो ।

“उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,” उहाँले थप्नुभयो । गत वर्ष, भारत सरकारले देशमा कूल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो ।