`

छ महिनामा सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौँ, २१ माघ : चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भइ रु पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो ।

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ, २१ माघ : वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

तनहुँमा छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए

दमौली (तनहुँ), २० माघ : पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।

पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आव २०७९/८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो । त्यस्तै आव २०७८/७९ मा दुर्घटनामा परी ४९ जना, २०७७/७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । त्यसैगरी आव ०७६/७७ मा ४४ र ०७५/७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

काठमाडौँ, २१ माघ : देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत पुस मसान्तमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई रु २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । 

आव २०८१÷८२ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । 
त्यसैगरी शोधनान्तर स्थिति रु दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु  चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु चार अर्ब ५४ करोड रहेको थियो । 

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न गृहका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौँ, २१ माघ : सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गर्नुभएको स्पष्ट पारेको छ । 

सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ । 

समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ । 

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीदर ८६ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ १९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९१ पैसा र बिक्रीदर आठ रूपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

  केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १२ रूपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

ठमाडौँ, २१ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

ललितपुर (गोदावरी), २० माघः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि छलफल सम्पन्न नभएकाले बैठक सोमबार पुनः बस्ने भएको हो ।

शनिबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठकमा सङ्गठन सुदृढीकरणका लागि चार महिनायता सञ्चालन भइरहेको अभियानको समीक्षा गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला र पालिकास्तरका अधिवेशन आगामी वैशाखसम्म सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष यादवका  स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।

बैठकमा सङ्गठनको जिम्मेवारी हेरफेर, विभागीय नेतृत्व बाँडफाँट तथा केन्द्रीय सल्लाहकार समिति गठनबारे छलफल भएको छ । कार्यकारिणी समितिमा नयाँ सदस्य समावेश गर्न गठित कार्यदलको प्रतिवेदनमाथि सोमबार थप बहस हुने जनाइएको छ । सोमबारको बैठकले मधेश केन्द्रित दलहरूसँग संयुक्त मोर्चा निर्माण, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने बताइएको छ । 

‘स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने’ : मुख्यमन्त्री कार्की

मोरङ, २० माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा आयोजित, ‘विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनाका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो । उहाँले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनातर्फ आकर्षण बढेको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्न लागेको र यसको सफलताका लागि उद्योग सङ्घसङ्गठनहरुलाई आग्रह गर्नुभयो ।  

सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोबाट मद्दत पुगेको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रमा बजार चलायमान गर्न एक्स्पोबाट सहयोग पुगेको बताउनुभयो । एक्स्पोमा २६८ कक्षमा स्वदेशी तथा भारत, बङ्लादेश र पाकिस्तानका उत्पादन राखिएका थिए । 

सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

सुदूरपश्चिम, २० माघः सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ । खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

निर्देशनालयका निमित्त निर्देशक डा खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताउनुभयो । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययनरत एक लाख ४५ हजार ८९४ किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको छ ।” 

खोप लगाउनुपर्ने किशोरीमध्ये सबैभन्दा बढी कैलालीमा ५० हजार ६१३ र कञ्चनपुरमा २७ हजार ५०० किशोरी छन् । सबैभन्दा कम दार्चुलामा सात हजार २९१ किशोरी छन् । खोप अभियानका लागि प्रदेशभरि दुई हजार ८०० भन्दा बढी स्वास्थ्यकर्मी र करिब पाँच हजार स्वयंसेवी परिचालन गर्न लागिएको छ । 

अभियान सञ्चालनका लागि हरेक विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको र त्यहाँ छुटेकालाई स्वास्थ्य केन्द्रमार्फत पनि यो खोप दिन व्यवस्थापन गरिएको निमित्त निर्देशक बमले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।”

पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् ।

कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गरेका हुन् ।

सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरूरी रहेको र अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राखे ।

“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवयक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भने ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहनेगरी विधानमा व्यवस्था गर्नुुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको सङ्गठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पुर्याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने बताए ।

तनहुँमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

तनहुँ, २० माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ ।

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ । उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गर्नुभयो । “साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले बताउनुभयो ।

एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लु प्रति एकाइ हुन्छ । यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एक तिहाइ हो । “कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ ।” मन्त्रीले सन् २०४७ सम्ममा कम्तिमा १०० गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा सङ्क्रमण प्रयासहरूको लागि आवश्यक रहेको प्रकाश पार्नुभयो ।

“उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,” उहाँले थप्नुभयो । गत वर्ष, भारत सरकारले देशमा कूल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो ।

इरानद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन

इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो नयाँ स्वरूपको क्षेप्यास्त्रसहित इरानका क्षेप्यास्त्रहरू आफ्नो कट्टर शत्रु इजरायलसम्म पुग्न सक्षम छन् । इरानले यि क्षेप्यास्त्रलाई गत वर्ष गाजा युद्ध सुरूभएपछि दुई पटक प्रयोगमा ल्याएको छ ।

“रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,” पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भन्नुभयो । सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्रको स्थापनाको ४६ औं वर्षगाँठको केही दिन अघि र इरानको राष्ट्रिय अन्तरिक्ष दिवस को अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

आफ्नो पहिलो कार्यकालमा इरानमाथि ’अधिकतम दबाब’ को नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि तेहरानले ठूलो सैन्य अभ्यास र भूमिगत सैन्य अखडाको प्रस्तुतिसहित थुप्रै शक्ति प्रदर्शन गरेको छ ।

साथै, तेहरानले दशकौंदेखि पश्चिमा मुलुकहरूसँगको तनावको विषय बनेको आफ्नो आणविक कार्यक्रमलाई लिएर वार्ता पुनः सुरु गर्न इच्छुक रहेको सङ्केत दिएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आफ्नो अधिकांश सैन्य उपकरण तत्कालीन सहयोगी अमेरिकाबाट खरिद गरेको इरानले पछि वासिङ्टनले सम्बन्ध तोडेर प्रतिबन्ध लगाएपछि इरानले आपूलाई हतियारमा आत्मनिर्भर बनाउने कदम चालेको देखिन्छ ।

सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार छ ।

जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण

जापानले आइतवार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ ।‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो ।

हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपतकालीन भूकम्पको चेतावनी पनि दिन्छ ।

जापान सरकारले विदेशी जीपीएस नेटवर्कमा निर्भरता कम गर्दै प्रणालीलाई चारबाट सात स्याटेलाइटमा विस्तार गर्ने लक्ष्य राखेको छ । भर्खरै प्रक्षेपण गरिएको मिचिबिकी ६ लाई पृथ्वीबाट करिब ३६ हजार किलोमिटर माथि जियोस्टेशनरी अर्बिटमा राखिनेछ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) र मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा विकसित एच३ रकेटले एच२ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ ।
आइतवारको प्रक्षेपण देशमा एच३ को पाँचौं प्रक्षेपण थियो ।

फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

पाटन (ललितपुर), २० माघः ललितपुर महानगरपालिकाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ । महानगरले आफ्नो वार्षिक कार्ययोजनाअनुसार आज यहाँ एक कार्यक्रम आयोजना गरी डिभिजनका फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई क्षमता अभिवृद्धिका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले क्लबहरूलाई सम्मानपत्रसहित चेक हस्तान्तरण गर्नुभयो । महानगरले गोल्डकप विजेता क्लब चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई रु २० लाख प्रदान गरेको छ  । यस क्लबले अर्ना छैटौँ झापा गोल्डकप २०८०, १४औँ इटहरी गोल्डकप २०८०, सातौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप २०८१, प्रथम झापा क्लब २०८१ र एघारौँ फाल्नुनन्द गोल्डकपमा जित हासिल गरेको थियो । 

यसैगरी, बिग्रेड ब्वाइज क्लबलाई रु आठ लाख हस्तान्तरण गरियो । यस क्लबले छैटौँ बेलबारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप र अन्तरराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप खुल्ला ‘नकआउट’ फुटबल प्रतियोगितामा गोल्डकप हासिल गरेको थियो ।

सम्मानित हुनेमा ‘ए’ डिभिजन क्लबअन्तर्गत थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, सातदोबाटो युवा क्लब र चर्च ब्वाइज युनाइटेड रहेका छन् । ‘बी’ डिभिजन क्लबअन्तर्गत च्यासल युवा क्लब, ब्रिगेड ब्वाइज क्लब र खुमलटार युवा क्लब रहेका छन् । ‘डी’ डिभिजन क्लबअन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्टस क्लब र सानेपा क्लब रहेका छन् ।  

महानगरले ‘ए’ डिभिजन क्लबअन्तर्गत रहेका पाँचवटा क्लबहरूलाई रु पाँच÷पाँच लाख, ‘बी’ डिभिजन क्लबअन्तर्गत रहेका तीनवटा क्लबलाई जनही रु तीन लाख र ‘सी’ डिभिजन क्लबअन्तर्गत रहेका चारवटा क्लबलाई रु दुई÷दुई लाखका दरले सहयोग गरेको छ ।

महानगरप्रमुख महर्जनले खेलाडी र क्लबलाई प्रोत्साहन गर्न सहयोग गरेको  बताउनुभयो । “राष्ट्रका लागि खेल्ने व्यक्तिलाई सम्मान र प्रोत्साहनका गरेका हौँ,” उहाँले भन्नुभयो ।

उपप्रमुख बज्राचार्यले आर्थिक अभावका कारण क्लबहरूलाई खेलक्षेत्रमा उल्लेख्य प्रगति गर्न समस्या भएको बताउनुभयो । त्यसैले खेल र खेलाडीको सम्मान गर्दै खेलाडीलाई महानगरले यो सम्मान गरेको उहाँको भनाइ थियो ।

काभ्रेमा एमालेको तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान

काभ्रेपलाञ्चोक, २० माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा आज बनेपामा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको छ ।

पार्टीको चौथो पूर्ण बैठकले आजदेखि जरा अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार जिल्लास्थित पार्टीका नेता–कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई तथा पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले अभियान केन्द्रित प्रशिक्षण दिनुभएको थियो । 

त्यस अवसरमा इन्चार्ज भट्टराईले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिनुभयो ।

जिल्ला इन्चार्ज बाँस्कोटाले एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको र सोही खाकाअनुसार बजेट विनियोजन तथा नागरिकको पक्षमा थप केन्द्रित रहन आग्रह गर्नुभयो । 

पार्टीका जिल्लाध्यक्ष राजन भुर्तेलले अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र सङ्गठित सदस्य नवीकरण, जनसङ्गठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने बताउनुभयो । अभियान आगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने छ ।

किसान मध्यवर्ती सामुदायिक वनमा पाटेबाघ मृत फेला

कञ्चनपुर, २० माघ : बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब  १३ वर्ष उमेरको रहेको छ । “अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,” उहाँले भन्नुभयो । 

खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उहाँले बताउनुभयो । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । 

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

कास्की, २० माघ : विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो ।

‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब  च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो । 

पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो । तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो । चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।  

यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो । उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२  सेटमा पराजित गरेको हो । टाइगर गु्रपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो । पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो । आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो । अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर  उपाधि चुमेको हो । 

फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।

आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ । ‘फिल्मका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौं । तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौं’, निर्देशक बस्नेतले भने ।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ । फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् ।
मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ ।

‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), २० माघः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा आयोजना गरेको ‘सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा उहाँले सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभयो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव जयकुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारिताको भावनाअनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गम्भीर रूपमा अगाडि बढेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले संरक्षण तथा सहयोग गर्न आवश्यक भएको धारणा राख्नुभयो । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्ष उर्मिला पन्त, महाप्रबन्धक सुरेश थापा, सञ्चालक समिति सदस्यहरू टेकप्रसाद चौलागाईं र नथुनी यादवले सहकारी संस्थाहरूले गरेका राम्रो कामको प्रचारप्रसार आवश्यक रहेकामा जोड दिनुभयो ।  

अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित

फाप्ला, २० माघः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ । पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ ‘रन’ले पराजित गर्‍यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ‘ओभर’मा ८० रनमा समेटियो । टेक रावतले १८ र दीपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ‘बलिङ’मा धनगढीका ललित राजवंशीले तीन, मिलन बोहरा र राहुल भण्डारीले दुई÷दुई ‘विकेट’ लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ ‘विकेट’को क्षतिमा १४९ रन बनायो । जसमा राजु रिजालले ३७, लोकेश बमले ३१ र अभिषेक पालले २८ रनको योगदान गरे । सुखडका लागि लकी स्मिथले तीन र नरेन साउदले दुई विकेट झारे । 

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ‘ट्रफी’ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजार प्रदान गरिनेछ ।

यही माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक ‘क्यालेन्डर’मा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पु¥याएका स्व अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।

काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा

काठमाडौँ, २० माघः प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ । यस्तै छवटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको र तीमध्ये तीन वटालाई सूचीकरणबाट हटाइएको छ ।

साथै चारवटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारबाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ । आचारहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० वटा ‘अनलाइन’ सञ्चारमाध्यमलाई कालोसूची÷अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छभने तीनवटालाई सूचीकरणबाट समेत हटाई थप कारबाही गरिएको छ । 

“अवज्ञाकारी कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरी निवेदन दिने चारवटा सञ्चारमाध्यमहरू टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी÷कालोसूचीको कारबाही फुकुवा गरिएको छ”, काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “छवटा सञ्चारमाध्यम एबिपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेदै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ । यीमध्ये एबिपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाट समेत हटाइएको छ ।”

यसैगरी, काउन्सिलले चालु आर्थिक वर्षको साउनदेखि यही माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) चार, फेसबुक पेज एक तथा अनलाइन पाँचवटालाई निर्देशन र चारवटालाई सचेत गराइएको छ । यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।

पत्रकार आचारसंहिताको पटक पटक र शृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरुप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ । 

काउन्सिलले पछिल्लो समय उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आवको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ गालीबेइज्जती÷चरित्रहत्या÷मानहानि, ८७ गलत÷भ्रामक÷असन्तुलित÷दुष्प्रचार, चारवटा बार्गेनिङ र नौवटा हुबहु रहेका छन् ।

बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

गण्डकी, २० माघः पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।
किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आउनुुभएकी देवी पराजुलीले जानकारी दिनुुभयो । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उहाँले बताउनुभयो । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।

यहाँस्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताउनुभयो । “म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु”, उहाँले बाल्यकालको अनुभव सुनाउँदै भन्नुुभयो, “पाँच÷छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुुभव छ ।”

अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उहाँले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताउनुुभयो ।

बडहरेबाट बढ्दो बसाइँसराइका कारण रहस्यात्मक यस तीर्थस्थलको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै पण्डितले यो तीर्थस्थल प्रवर्द्धनको पर्खाइमा रहेको बताउनुुभयो । यस मन्दिर परिसरमा २०१८ सालमा धनधान्याञ्चल पर्व गरिएको उहाँले उल्लेख गर्नुभयो । 

पछिल्लो पुस्ताका मानिसले पनि उक्त शिला बढिइरहेको अनुभव गरिरहेको बताउँछन् । शिलाको आकार बढ्दै गएको प्रत्यक्ष अनुभव गरेको विनिता पण्डित घिमिरेले बताउनुभयो । आँफूले बाल्यकालमा सानो आकारमा देखेको शिला मूर्ति अहिले धेरै ठूलो भइसकेको उहाँको अनुभव छ । उहाँले भन्नुुभयो, “हामीले यस शिलालाई प्रत्यक्ष भगवानका स्वरुपमा पूजाआजा गर्दै आएका छौंँ ।”

पहिला वरिपरि सामान्य ढुङ्गा लगाएर घेरिनुका साथै माथि ढुङ्गाले छाइएको यस मन्दिरलाई पछिल्ला १० वर्षयता व्यवस्थित गरिएको घिमिरेले जानकारी दिनुभयो । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ बडहरे र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गरेका उहाँले सुनाउनुभयो । 

घिमिरेका अनुसार विशेष गरी हरितालीका तीज पछिको चौँथीका दिनमा गणेश भगवान्को जन्मदिनका रूपमा मानिएको गणेश चतुर्थीमा यहाँ धुमधामसँग पूजाआजा हुने गरेको छ । उहाँले राजमार्गबाट नजिकै रहेर पनि यो तीर्थस्थल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा परिरहेको बताउनुुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५  मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ । गगनगौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट तालखोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिनुुभयो । करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उहाँले बताउनुुभयो । 

उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उहाँले बताउनुुभयो । बाटो, यातायातलगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

काठमाडौँ, २० माघः आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ । विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ । आजको कारोबारपछि बजारपुँजीकरण रु ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ ।

आजको कारोबारमा सबै उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको तीन दशमलव ७१ प्रतिशत र विकास बैंक उपसमूह तीन दशमलव १५ प्रतिशतले बढेको छ । 

साथै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक  सर्किट लागेको छ । 

नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण

नवलपुर (नवलपरासी), २० माघः एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुबार शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करिब १५ वर्षीय वयस्क पोथी गैँडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो ।

सन् २०२२ मा गैँडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरणको काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिनुभयो । निकुञ्जले दुई भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण गर्ने तयारी गरेकामा अब एउटा पोथी र दुई भाले गैँडा स्थानान्तरण गरिने उहाँले बताउनुभयो । निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने संरक्षण अधिकृत डा पन्तले बताउनुभयो ।

उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

कञ्चनपुर, २० माघः शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हँुदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ”, उहाँले भन्नुभयो, “झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्”, पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताउनुभयो ।

“उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हँुदा नोक्सानी व्यहोर्नुपरेको छ ।” उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी, २० माघः कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ : सांसद विष्ट (अन्तरवार्ता)

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न । पुँजीगत खर्च न्यून, राजस्व सङ्कलनमा गिरावट, बढ्दो युवा पलायन र वैदेशिक ऋणभार बढ्दै गइरहेको अवस्था छ । मुलुकको समृद्धिमा दीर्घकालीन प्रभाव पार्ने यस्ता सूचकलाई समयमै सम्बोधन गरी सकारात्मक दिशातर्फ उन्मुख गराउने ठोस पलहको कमी भइरहेको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुनैलाग्दा सार्वभौम संसद्को अधिकारलाई कटौती गर्दै सरकारले विभिन्न अध्यादेश जारी गरेको थियो । यस्तो अभ्यासले लोकतन्त्रलाई सुदृढ गर्दैन । नेपाली जनताको प्रमुख शत्रु भ्रष्टाचार हो । जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्दै एउटा सीमाभित्र ल्याउँदैनौँ तबसम्म देशको विकास र समृद्धिको नारा खोक्रो नै रहन्छ । यो मामिलामा दलहरूबीच समान धारणा हुनुपर्नेमा गम्भीर मतभेद देखिन्छ । उदाहरणका रूपमा सहकारीमा जनताले गरेको पैसाको अपचलनलाई लिन सकिन्छ ।

विगतमा कुनै तानाशाहविरुद्ध लडेर राजनीतिक परिवर्तन ल्याउँदा जुन प्रतिबद्धता जाहेर भएको थियो, राजनीतिक दलहरुले उक्त प्रतिबद्धतालाई एकताबद्ध भएर कार्यान्वयन गर्न सकेनन् । पहिलो र दोस्रो ठूला राजनीतिक दल सत्ताको समीकरण गर्दै तेस्रो दललाई प्रमुख प्रतिपक्ष बनाएको घटनाले पनि लोकतन्त्रको मर्म र भावनालाई आत्मसात् गर्न सक्छ ? भनी प्रश्न गर्न सकिन्छ ।

विगतमा ठूला दलबीच सङ्घर्ष भएकै कारणले मात्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गर्ने अवसर पाएको पाटोलाई कसैले बिर्सनु हुन्न । विसं २०७४ पछि गठन भएका सरकारले आवश्यक कानुन निर्माण गर्नुपर्नेमा त्यो नगरी अध्यादेश ल्याउने र संसद् विघटन गर्ने काम गरे । कानुन बनाउन संसद् र सांसदको भूमिका निर्णायक भएन । अहिले पनि संविधान कार्यान्वयनका लागि आवश्यक महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन् । यसमा हामी अहिले पनि पछाडि नै छौँ ।

बजेट परिचालित होइन, स्वचालित हुनुपर्छ

मुलुकमा संसदीय व्यवस्था भए पनि अझै पनि कानुन बनाउन छाडेर ‘माननीय’ स–साना योजना बजेटमा समावेश गर्न दौडनुपर्ने परम्परा छ । ‘माननीय’ विकास निर्माणमा होइन, कानुन निर्माणमा लाग्नुपर्ने हो । बजेट विनियोजन र विकासमा समानता हुन नसकेका उदाहरणका रूपमा आफ्नो क्षेत्रमा योजना पार्न सांसद मन्त्रालय र विभागका कोठाचोटामा भौतारिनुपरेको छ । देशको विकास र बजेट विनियोजन परिचालित होइन, स्वचालित हुनुपर्छ । अझै पनि ठूला भनिएका नेताका निर्वाचन क्षेत्रमै बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको विडम्बनापूर्ण अवस्था छ ।

निर्वाचन क्षेत्रमा बजेट पार्न मन्त्रालयमा पुगेर हारगुहार गर्नुपर्ने सांसदलाई बाध्यता छ । यद्यपि, सांसदहरू कानुन, नीति र विधि निर्माणमै केन्द्रित हुनुपर्ने हो । जनप्रतिनिधिलाई कानुन तर्जुमा भन्दा अन्य विषयको ‘तनाव’ खेप्न परिरहेको छ । राष्ट्रसेवक कर्मचारीलाई पनि सेवासुविधा न्यून भएर आर्थिक अनुशासनमा रहन चुनौती भइरहेको छ । उनीहरुलाई सेवासुविधा दिई काममा बेसरी खटाउने नीति र विधि बनाउनुपर्छ । अन्यथा हालको देशको विधि र प्रणालीले नै व्यक्तिलाई भ्रष्टाचार गर्न प्रेरित गरेको छ । आमनागरिकलाई निःशुल्क शिक्षा र औषधोउपचार राज्यले सुनिश्चिता गरिदिनु पर्छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन

अबको संविधान संशोधन भनेको शासकीय स्वरुप परिवर्तनका लागि हुनुपर्छ । तर अहिले तत्कालै संविधान सशोधन भइहाल्छजस्तो देखिँदैन । राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ । हालको चुनाव निष्ठावान् र इमान्दार उम्मेदवारका लागि खर्चका कारणले उपयुक्त भएन । चुनाव पैसा खर्च गर्न सक्ने ठेकेदार, दलाल र बिचौलियाका लागि मात्र हुन पुग्यो । उनीहरु संसद्मा आएपछि आफ्नै हितमा कानुन बनाउँछन् । विधायकले विधि बनाउने, विज्ञले शासन चलाउने व्यवस्था गरिनुपर्छ ।

भ्रष्टाचार स्थायित्वसँग जोडियो

प्रमुख राजनीतिक दलका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेता, वरिष्ठ मन्त्री, माथिल्लो ओहोदाका कर्मचारी, नेता तथा कार्यकर्ता पनि भ्रष्टाचारका मुद्दामा दोषी ठहरिएका छन् । ठुल्ठूला काण्ड बाहिरिएकै छन् । राजनीतिक स्थायित्व र स्थिर सरकार भएमा भ्रष्टाचार न्यून हुँदै जान्छ । अन्यथा नयाँ सरकार आउनसाथ सचिव, महानिर्देशक, प्रदेश र जिल्लाका प्रहरी प्रशासन बदल्ने परम्पराको अन्त्य हुन कठिन छ । राजनीतिक नेतृत्वले आफूले बनाएको कार्ययोजना लागू गर्ने समय नै नपाइरहेको अवस्था छ । मन्त्रीले आफूअनुकूलको निर्णय गराउन खोज्ने र त्यो नभए कर्मचारी सरुवा गर्ने काम हुँदै आएको छ ।

राज्यप्रति युवापुस्ताको विश्वास धर्मरायो

पछिल्लो समय युवापुस्ता पढेलेखेका भए । संसारभर नयाँ–नयाँ प्रविधिको विकास भयो । उनीहरुले विश्व बुझेँ । कोही अध्ययनका लागि त कोही जीविकोपार्जनका लागि विदेशिए । जग्गाजमिन बाँझो छाडी ऋण काढेर विदेश जाने परम्परा गलत छ । यसलाई तत्कालै सच्चाएर लैजान सक्नुपर्छ । युरोपमा गएर जङ्गल फाँड्ने, मकै गोड्ने, खाल्टो खन्ने, घर बनाउने व्यक्तिले आफ्नो खेतबारी किन बाँझो राख्ने ? पछिल्लो समय नागरिकमा देशप्रतिको माया र श्रमको सम्मान गर्ने संस्कार घटेको छ ।

प्रजातन्त्रको पुनःबहालीपछि मुलुकमा पूर्वाधार विकास, स्वास्थ्य शिक्षा, सूचना प्रविधिको विकासमा तीव्रता देखिए पनि राष्ट्र र समाजप्रति नागरिकको कर्तव्यको चेतनास्तर भने खस्केको छ । बढी कमाइन्छ र ल्याइन्छ भन्ने लोभले मानिसलाई विदेश यात्रामा प्रेरित गरेको छ । राम्रै कमाइ भएका व्यक्ति पनि लाखौँ खर्च गरेर विदेशिएका छन् ।

मुलुक र जनताको हितका लागि भनेर क्रान्ति र युद्ध गरेका नेताका सन्तानलाई सम्पन्न मुलुक पठाउने प्रवृत्ति गलत छ । त्यसप्रति मेरो असहमति छ । वैज्ञानिक शिक्षा ल्याउनुपर्छ भनेर युद्ध लडाउने, अनि अहिले छोराछोरीलाई अमेरिका पठाउने ? यो चेतना बेठिक छ । पुर्खाले जोडेका र संरक्षण गरेका प्रशस्त जमिन बाँझो अवस्थामा छन् । ती जमिनमा खेती गरौँ, आफ्नै पौरखमा देशको अर्थतन्त्रको विकास गरौँ । विडम्बना नै भन्नुपर्छ देश हाक्नेकै छोराछोरीलाई स्वदेशमा राख्न सकिएको देखिन्न । समाजको यथार्थ त्यही हो । जनतालाई मात्र दोष दिएर हुन्न । स्वदेशमै बसौँ, यही रमाऔँ र सीप सिकौँ भन्ने वातावरण राज्यले बनाउनुपर्छ ।

कोही रहर त कोही बाध्यताले विदेश गएका हुन्, उनीहरुको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्छ । विद्यालय तहको अध्ययन निजी विद्यालयमा तथा उच्च शिक्षा विदेशमा लिनाले देश र बाआमाप्रति नभई विदेशमै रमाउँछ । नेपालीपन, यहाँको इतिहास, संस्कार र संस्कृति बालबच्चाले सिक्नै पाएनन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले त्यो स्पष्ट देखाउँछ । भ्रष्टाचारमा जेल सजाय भोगेको र अनुसन्धानमा रहेको मानिसलाई २० किलोका माला पहिर्याउने कस्तो संस्कार र संस्कृति हो ? आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि हामी आफैँ आफ्नो खुट्टामा उभिन सिक्नुपर्छ, विदेश पलायन हुने होइन ।

सांसद नरबहादुर विष्टको परिचय

सुर्खेत चौकुने गाउँपालिका–१० स्थायी ठेगाना रहेका राष्ट्रियसभा सदस्य विष्ट सुरुमा नेपाल कम्युनिष्ट पार्टी मशालको भ्रातृ सङ्गठनमा आबद्ध भए भने त्यसपछि माओवादीमा संलग्न भई प्रारम्भदेखि नै सशस्त्र जनयुद्धमा बिग्रेड कमिसार भई सैनिक फाँटमा रही भूमिगत जीवन बिताए । पार्टीको सुर्खेत जिल्ला अध्यक्ष र इन्चार्ज तथा विसं २०६४ मा संविधानसभा सदस्यको जिम्मेवारी सम्हालेका उनी राष्ट्रियसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य हुन् ।

(सांसद विष्टसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीमा आधारित)

बाह्र किलोको काउली फलाएका खत्री भन्दछन् ‘विदेश जाने सोच कहिले पनि आएन’

गलकोट (बागलुङ), २० माघः बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष उहाँ आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत हुनुभएको थियो । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थाल्नुभएका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिनुहुन्छ । उहाँले भन्नुभयो, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।”

उहाँले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आउनुभएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उहाँले गाउँमै उद्यमी बनेको जनाउनुभयो । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी गर्दै आउनुभएको छ । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताउनभुयो ।

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उहाँले व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताउनुभयो ।

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा, २० माघः क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिनुभयो ।

यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो,“निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिनुभयो । “देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।” बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उहाँले बताउनुभयो ।
जनसम्पर्क अधिकृत गिरीले बिगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएकोे जानकारी दिनुभयो । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उहाँले बताउनुभयो । विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा यादवले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताउनुभयो । उहाँले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहनुभएको छ । बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उहाँले बताउनुभयो । “हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ”, उहाँ भन्नुहुन्छ, “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।

डोटीमा आठ करोडको सुन्तला उत्पादन

दिपायल (डोटी) – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला निर्यात गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त सुन्तला बिक्री गरेर कृषकले रु आठ करोड आम्दानी गरेका केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभयो । यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । आव २०७८/७९ मा सुन्तला उत्पादन दुई हजार नौ सय ३२ मेट्रिक टन रहेको थियो भने आव २०७९/८० मा उत्पादन बढेर तीन हजार दुई सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताउनुभयो ।

जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ र बडीकेदार गाउँपालिका–१ पातल मुडा रजेडा, वडा नं २ को छेडा, कोटक्यान्या, वडा नं ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नंको ५ को लानाका बस्तीमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।

जिल्लामा सुन्तला उत्पादनलाई बढाउन र किसानलाई प्रोत्साहन गर्न केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा कृषि उपजलाई ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले उल्लेख गर्नुभयो ।

सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले रु ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।

केन्द्रका प्रमुख अवस्थीका अनुसार पछिल्लो समयमा कृषि उपज सङ्कलनका लागि व्यापारीहरू किसानको घरदैलोमा आउने गरेकाले उत्पादित सुन्तलासहित अन्य कृषि उपजका लागि बजारीकरणको समस्या छैन । सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो रु एक सय मा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा प्रतिकिलो रु ५० देखि ६१ का दरले बारीमा बिक्री गर्दै आएका छन् ।

कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर,तोरी र मेथीको साग सस्तियो

काठमाडौँ, २० माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

प्रवासीलाई प्रविधि र पुँजी भित्र्याउन महासचिव पोखरेलको आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जापानमा रहेका नेपाली प्रवासीलाई मुलुकमा प्रविधि र पुँजी भित्र्याउन आग्रह गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले जापानको नागोयामा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू’ विषयक कार्यक्रम उहाँले नेपालमा गएर कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले राजनीतिलाई जीवन्त रूपमा अगाडि बढाउनका लागि पुरानो अनुभवी पुस्ता, बीचको पुस्ता र नयाँ पुस्ताको समीकरण हुन आवश्यक रहेको बताउनुभएको उहाँका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

पार्टीमा कार्यकर्ताको प्रवृत्ति पहिलोभन्दा धेरै सुधार आएको भन्दै पार्टीको काममा कार्यकर्ता नियमित र सहभागिता उल्लेखनीय रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले पार्टीका कार्यकर्ताको सम्बन्ध जनतासँग जीवन्त हुन नसक्नु कमजोर पक्ष रहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले अभियानकै क्रममा मुलुकको भविष्यको बाटो के हो भनेर जनतासँग संवाद गरेर अगाडि बढ्ने बताउनुभएको स्वकीय सचिव रेग्मीको भनाइ छ । अभियानकै क्रममा आफ्नो दलमा भएका कमी जनताबाट बुझेर त्यसलाई पूरा गर्ने र मुलुकलाई विकास र समृद्धिमा आत्मविश्वासका साथ अगाडि बढाउने उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले हिजो जापानको हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन गर्नुभएको उहाँका स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनका लागि महासचिव पोखरेलसहित एमालेका केन्द्रीय सदस्य सूर्य पाठक यही माघ १५ गते जापान जानुभएको थियो । उहाँ यही माघ २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश सरकारले माग गरेका कानुनहरू छिटै निर्माण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । त्यसका लागि आफूले सरकारसँग् नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।

उहाँले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । “अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ । यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्”, उहाँले भन्नुभयो, “अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।”

सभामुख घिमिरेले विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताउनुभयो ।

आजै प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौँद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।

स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उहाँले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य राजनीतिक शक्तिको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले समाजमा रहेका कुरीति र जातीय विभेद अन्त्य गरी समाज परिवर्तन गर्ने भूमिकामा प्रगतिशील लेखक सङ्घ लाग्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैको भूमिका जरूरी रहेको बताउनुभयो । पुस्तकका लेखक एवं एमाले मोरङ इन्चार्ज घिमिरेले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा झापा, मोरङ र सुनसरीमा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई र विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौँ – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गर्नुभएको छ ।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उहाँको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

“हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उहाँले भन्नुभयो । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।

‘नेपाली चलचित्र उद्योग बलियो रुपमा स्थापित हुने सम्भावना छ’ – सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्र उद्योग बलियो रूपमा स्थापित हुने सम्भावना देखिएको बताउनुभएको छ । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित छैटौँ संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को समापन समारोहमा मन्त्री गुरुङले नीतिगत पक्षमा सुधार गर्दै आवश्यक बजेट र कार्यक्रमलाई व्यवस्थित गर्न सके साउथ एसियामा भारतपछि नेपाली चलचित्रको अझै राम्रो विकास हुनसक्ने बताउनुभयो ।

“चलचित्र क्षेत्रमा देखिएका समस्यालाई समधान गर्न ऐन आउँदैछ”, उहाँले भन्नुभयो, “हामी प्राकृतिकसँगै सांस्कृतिक रूपमा पनि धनी भएकाले यसले हामीलाई अन्य चलचित्र क्षेत्रको तुलनामा अब्बल हुन सहयोग गर्छ ।” उहाँले यसै वर्ष ‘इन्डोर स्टुडियो’का लागि भवन निर्माण सुरु हुनेसमेत बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदमा आएपछि सुरु गरेको कामको नतिजा विस्तारै देखिरहेको बताउनुभयो । “चलचित्रसम्बन्धी महोत्सवले विभिन्न देशका चलचित्रकर्मीलाई जोड्न र सांस्कृतिक आदानप्रदानका लागि पनि भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो, “महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउन मद्दत गर्छ ।”

मोहन अभिलासी निर्देशित लघुचलचित्र ‘पालो’को प्रदर्शनसँगै यही माघ १७ गतेदेखि सुरु भएको तीनदिने महोत्सवमा १५ अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विधामा पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रिय पुरस्कार समूहअन्तर्गत निर्देशकतर्फ दिनेश राउत (पुजार सार्की), चलचित्रतर्फ ‘बुलाकी’, छोटो चलचित्रतर्फ ‘रित्तो गाउँ’, महिला केन्द्रित चलचित्रतर्फ ‘पेरिओड’, बाल चलचित्रतर्फ ‘द स्कुलज वाल’, वृत्तचित्रतर्फ ‘नो मोनेस्टरी नो भिजेल’, सांस्कृतिक चलचित्रतर्फ ‘छिपागु नीला’, अभिनेतातर्फ आर्यन सिग्देल (पुजार सार्की), अभिनेत्रीतर्फ अञ्जना बराइली (पुजार सार्की), छायाकार शिव ढकाल (बुलाकी), लेखकतर्फ सानोल दास (पखेटा)लगायत पुरस्कृत हुनुभयो ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारतीयबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनीबाट चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाडस्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी निर्णायक रहनुभएको थियो ।

यस्तै, राष्ट्रिय प्रतिस्पर्धातर्फ सङ्गीतकार शम्भुजीत बाँस्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, निर्देशक दीपेन्द्र खनाल, निर्माता रौनकविक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टेलिभिजनकर्मी टीकाराम यात्री निर्णायक रहनुभएको थियो ।

खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु

सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।

ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

“तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छ,” प्रत्यक्षदर्शी एक घाइते व्यक्तिले एएफपीलाई बताए।

स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।

ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।

युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

अल–नाओ अस्पतालका एक स्वयंसेवकले एएफपीसँग भन्नुभयो, “घाइतेहरूलाई लैजान कफन, रक्तदाता र स्ट्रेचरको चरम अभाव छ।”

अफगानिस्तानको सेरेना होटलको व्यवस्थापन सरकारलाई हस्तान्तरण

अफगानिस्तानको काबुलस्थित सेरेना होटलले शनिबारदेखि आफ्नो सेवा बन्द गर्दै यसको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारलाई हस्तान्तरण गरेको छ ।

सुन्दर बगैंचाको बीचमा काबुलको मध्यक्षेत्रमा निर्मित सेरेना होटल लामो समयदेखि अन्तर्राष्ट्रिय अतिथिहरूको लागि एक प्रतिष्ठित र विश्वसनीय गन्तव्यको रूपमा मानिन्छ।

सेरेना होटेलले अफगानिस्तान र त्यहाँका नागरिकका लागि करिब दुई दशकदेखि समर्पित सेवा प्रदान गरेपछि शनिबारदेखि सेवा बन्द गर्ने घोषणा गरेको हो ।

होटलको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारले सञ्चालन गर्ने ‘होटल स्टेट ओन्ड कर्पोरेसन’लाई हस्तान्तरण गरिनेछ ।

अन्तर्राष्ट्रिय पाहुना र देशका प्रतिनिधिमण्डलको उल्लेखनीय सङ्ख्याको आयोजना गर्न, आतिथ्य मापदण्डमा उच्च अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्न र हजारौँ स्थानीय नागरिकलाई आफ्नो सेवा अवधिभर प्रशिक्षण प्रदानलगायतका होटलले निर्वाह गरेको भूमिकालाई विज्ञप्तिमा जोड दिइएको छ ।

अहिलेसम्म न होटल व्यवस्थापनले न त सरकारले नै होटलको स्वामित्व हस्तान्तरणसम्बन्धी शर्त स्पष्ट पारेको छ ।

युक्रेनको ओडेसामा भएको रूसी क्षेप्यास्त्र आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

शनिबार दक्षिणी युक्रेनको ओडेसा शहरमा भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । युक्रेनको १९ औँ शताब्दिमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको र कम्तीमा सात जना घाइते भएको घटनाको राष्ट्रसङ्घ निन्दा गरेको हो ।

१९ औं शताब्दीका भवनहरूको सुरम्य सडकहरूको लागि परिचित ‘ब्ल्याक सी’ बन्दरगाहमा पटकपटक रूसी आक्रमणहरू लक्षित हुनेगरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय (युनेस्कोले) भनेको छ, “युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा गएराति भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा दुई सांस्कृतिक भवनमा गम्भीर क्षति पुगेको छ ।”

“हाम्रो टोली क्षतिको तत्काल कागजातमा सहयोग गर्न र युक्रेनी अधिकारीहरूसँग आवश्यक आपतकालीन हस्तक्षेपहरूको पहिचान गर्न प्रतिवद्ध छ। छिट्टै ओडेसामा युनेस्कोको एक मिशन तैनाथ गरिनेछ।

युक्रेनका क्षेत्रीय गभर्नर ओलेग किपरले घटनाको पुष्टि र विरोध गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ , “ओडेसाको ऐतिहासिक केन्द्रमा रुसी आतङ्ककारीले गरेको आक्रमण भएको छ । आक्रमणका क्रममा सात सवसाधारण घाइते भएका छन् । युक्रेन यसको कडा शब्दमा निन्दा गर्छ।”

किपरले यसअघिका पोस्टमा दुई महिला र एक बच्चा घाइते भएको बताउनुभएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले जानाजानी गरेको आक्रमणको निन्दा गर्दै कुनै पनि व्यक्तिको मृत्यु नहुनु भाग्यको कुरा भएको बताउनुभएको छ ।

किपरले शहरको ऐतिहासिक होटल ब्रिस्टलबाहिर एक महिलालाई स्ट्रेचरमा राखेर उद्धारकर्मीले चलाएको तस्बिर सार्वजनिक गर्नुभएको छ । तस्बिरमा १९ औं शताब्दीको होटलको अलंकृत अग्रभाग र भित्री भागमा क्षति पुगेको देखिन्छ।

युक्रेनको आपतकालिन सेवाले ब्रिस्टल बाहिर सडकमा भग्नावशेषको थुप्रो र लुगामा धुलो लागेकी एक महिलालाई उद्धारकर्ताले सहयोग गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।

अग्निनियन्त्रकहरूले एउटा कोठामा फसेकी एक महिलालाई उद्धार गरी छतमा लागेको आगो निभाएको बताइएको छ।

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “आक्रमणको केन्द्रबिन्दुमा रहेका व्यक्तिहरूमा नर्वेका कूटनीतिक प्रतिनिधिहरू पनि थिए।”

“युनेस्कोद्वारा संरक्षित क्षेत्रमा धेरै क्षति र विनाश भएको छ,” ओडेसाका नगरप्र्रमुख गेन्नाडी ट्रुखानोभले भन्नुभयो । ओडेसाको ऐतिहासिक केन्द्र युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छ ।

तत्कालीन सोभियत सङ्घद्वारा ध्वस्त पारिएको संरचनालाई सन् २००० को दशकमा पुनर्निर्माण गरिएको थियो भने यसमा सन् २०२३ जुलाईमा रूसी आक्रमणबाट नराम्ररी क्षति भएको थियो।

किपरले भन्नुभयो, “विस्फोटका कारण साहित्यिक, ऐतिहासिक र स्थानीय विद्या, पुरातात्विक सङ्ग्रहालय, पश्चिमी र पूर्वी कला सङ्ग्रहालय र फिलहारमोनिक सहित धेरै ऐतिहासिक स्मारकहरूको झ्यालहरू भत्किएका छन् र उनीहरूको अगाडीपट्टिको भागमा क्षति पुगेको छ।”

युक्रेनी सञ्चार माध्यमले होटल नजिकै ठूलो खाल्डो परेको, भवन चिरिएको, र झ्याल फुटेको र भित्रको भुइँमा फोहर थुप्रिएको तस्बिर सार्वजनिक गरेका छन् ।

रूसी सैन्य ब्लगरहरूले उक्त होटलमा विदेशी सैन्य विशेषज्ञहरू बसेको दावी गरेका छन्।