`

खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु

सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।

ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

“तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छ,” प्रत्यक्षदर्शी एक घाइते व्यक्तिले एएफपीलाई बताए।

स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।

ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।

युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

अल–नाओ अस्पतालका एक स्वयंसेवकले एएफपीसँग भन्नुभयो, “घाइतेहरूलाई लैजान कफन, रक्तदाता र स्ट्रेचरको चरम अभाव छ।”

अफगानिस्तानको सेरेना होटलको व्यवस्थापन सरकारलाई हस्तान्तरण

अफगानिस्तानको काबुलस्थित सेरेना होटलले शनिबारदेखि आफ्नो सेवा बन्द गर्दै यसको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारलाई हस्तान्तरण गरेको छ ।

सुन्दर बगैंचाको बीचमा काबुलको मध्यक्षेत्रमा निर्मित सेरेना होटल लामो समयदेखि अन्तर्राष्ट्रिय अतिथिहरूको लागि एक प्रतिष्ठित र विश्वसनीय गन्तव्यको रूपमा मानिन्छ।

सेरेना होटेलले अफगानिस्तान र त्यहाँका नागरिकका लागि करिब दुई दशकदेखि समर्पित सेवा प्रदान गरेपछि शनिबारदेखि सेवा बन्द गर्ने घोषणा गरेको हो ।

होटलको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारले सञ्चालन गर्ने ‘होटल स्टेट ओन्ड कर्पोरेसन’लाई हस्तान्तरण गरिनेछ ।

अन्तर्राष्ट्रिय पाहुना र देशका प्रतिनिधिमण्डलको उल्लेखनीय सङ्ख्याको आयोजना गर्न, आतिथ्य मापदण्डमा उच्च अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्न र हजारौँ स्थानीय नागरिकलाई आफ्नो सेवा अवधिभर प्रशिक्षण प्रदानलगायतका होटलले निर्वाह गरेको भूमिकालाई विज्ञप्तिमा जोड दिइएको छ ।

अहिलेसम्म न होटल व्यवस्थापनले न त सरकारले नै होटलको स्वामित्व हस्तान्तरणसम्बन्धी शर्त स्पष्ट पारेको छ ।

युक्रेनको ओडेसामा भएको रूसी क्षेप्यास्त्र आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

शनिबार दक्षिणी युक्रेनको ओडेसा शहरमा भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । युक्रेनको १९ औँ शताब्दिमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको र कम्तीमा सात जना घाइते भएको घटनाको राष्ट्रसङ्घ निन्दा गरेको हो ।

१९ औं शताब्दीका भवनहरूको सुरम्य सडकहरूको लागि परिचित ‘ब्ल्याक सी’ बन्दरगाहमा पटकपटक रूसी आक्रमणहरू लक्षित हुनेगरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय (युनेस्कोले) भनेको छ, “युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा गएराति भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा दुई सांस्कृतिक भवनमा गम्भीर क्षति पुगेको छ ।”

“हाम्रो टोली क्षतिको तत्काल कागजातमा सहयोग गर्न र युक्रेनी अधिकारीहरूसँग आवश्यक आपतकालीन हस्तक्षेपहरूको पहिचान गर्न प्रतिवद्ध छ। छिट्टै ओडेसामा युनेस्कोको एक मिशन तैनाथ गरिनेछ।

युक्रेनका क्षेत्रीय गभर्नर ओलेग किपरले घटनाको पुष्टि र विरोध गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ , “ओडेसाको ऐतिहासिक केन्द्रमा रुसी आतङ्ककारीले गरेको आक्रमण भएको छ । आक्रमणका क्रममा सात सवसाधारण घाइते भएका छन् । युक्रेन यसको कडा शब्दमा निन्दा गर्छ।”

किपरले यसअघिका पोस्टमा दुई महिला र एक बच्चा घाइते भएको बताउनुभएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले जानाजानी गरेको आक्रमणको निन्दा गर्दै कुनै पनि व्यक्तिको मृत्यु नहुनु भाग्यको कुरा भएको बताउनुभएको छ ।

किपरले शहरको ऐतिहासिक होटल ब्रिस्टलबाहिर एक महिलालाई स्ट्रेचरमा राखेर उद्धारकर्मीले चलाएको तस्बिर सार्वजनिक गर्नुभएको छ । तस्बिरमा १९ औं शताब्दीको होटलको अलंकृत अग्रभाग र भित्री भागमा क्षति पुगेको देखिन्छ।

युक्रेनको आपतकालिन सेवाले ब्रिस्टल बाहिर सडकमा भग्नावशेषको थुप्रो र लुगामा धुलो लागेकी एक महिलालाई उद्धारकर्ताले सहयोग गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।

अग्निनियन्त्रकहरूले एउटा कोठामा फसेकी एक महिलालाई उद्धार गरी छतमा लागेको आगो निभाएको बताइएको छ।

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “आक्रमणको केन्द्रबिन्दुमा रहेका व्यक्तिहरूमा नर्वेका कूटनीतिक प्रतिनिधिहरू पनि थिए।”

“युनेस्कोद्वारा संरक्षित क्षेत्रमा धेरै क्षति र विनाश भएको छ,” ओडेसाका नगरप्र्रमुख गेन्नाडी ट्रुखानोभले भन्नुभयो । ओडेसाको ऐतिहासिक केन्द्र युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छ ।

तत्कालीन सोभियत सङ्घद्वारा ध्वस्त पारिएको संरचनालाई सन् २००० को दशकमा पुनर्निर्माण गरिएको थियो भने यसमा सन् २०२३ जुलाईमा रूसी आक्रमणबाट नराम्ररी क्षति भएको थियो।

किपरले भन्नुभयो, “विस्फोटका कारण साहित्यिक, ऐतिहासिक र स्थानीय विद्या, पुरातात्विक सङ्ग्रहालय, पश्चिमी र पूर्वी कला सङ्ग्रहालय र फिलहारमोनिक सहित धेरै ऐतिहासिक स्मारकहरूको झ्यालहरू भत्किएका छन् र उनीहरूको अगाडीपट्टिको भागमा क्षति पुगेको छ।”

युक्रेनी सञ्चार माध्यमले होटल नजिकै ठूलो खाल्डो परेको, भवन चिरिएको, र झ्याल फुटेको र भित्रको भुइँमा फोहर थुप्रिएको तस्बिर सार्वजनिक गरेका छन् ।

रूसी सैन्य ब्लगरहरूले उक्त होटलमा विदेशी सैन्य विशेषज्ञहरू बसेको दावी गरेका छन्।

माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् ।

राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताए । उनले भने, “ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।”

मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उनले बताए ।

उनले भने, “अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक पाँच हजार एक सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु ।”

पाँच हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ ।

टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (चार हजार दुई सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताए ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताए ।

टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौँ, २० माघः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छभने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

तुलसीपुर (दाङ), २० माघः लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । “राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

प्रल्सअनुगमन प्रणालीका १४, एमसीआइसम्बन्धी तीनवटा र सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ गरी ५२ वटा सूचकका आधारमा वर्गीकरण गरिनेछ । सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखापरीक्षण, आन्तरिक लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पुँजीको अनुपातलगायत विषयलाई वर्गीकरणको आधार मानिने छ ।

वर्गीकरणका लागि सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रदेश मातहतका ५० जना कर्मचारीलाई तालिम दिई परिचालनसमेत गरिएको छ । प्रदेशमा आठ सय ४८ वटा सहकारी संस्था छन् ।

पहिलो चरणमा प्रदेशस्तरीय सहकारीलाई वर्गीकरण गरिने छभने त्यसपछि प्रदेशभित्रका स्थानीयस्तरका सहकारीको वर्गीकरण गरिने उपाध्यक्ष पोख्रेलको भनाइ छ । हाल लुम्बिनीमा चार हजारभन्दा बढी सहकारी संस्था छन् ।

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ), २० माघः तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ । म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी रु ७० लाख आम्दानी गर्नुभयो । देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्मको सुन्तला बिक्री भएको छ ।

किसान भीमबहादुर रानाले यस वर्ष यस वडाबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भइसकेको जानकारी दिनुभयो । विगतमा अन्नबाली राम्रो नहुँदा चिन्तामा परेका यहाँका किसान पछिल्ला वर्षमा सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि खुसी भएको किसान प्रेम थापाले बताउनुभयो । जिल्लाका कुल आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

परियारका अनुसार, देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तलाखेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा पनि यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

काठमाडौँ, २० माघः विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।

यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् ।

जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले राससलाई जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

“जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् । नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ”, उपमहानिर्देशक ढकालले भन्नुभयो, “कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।” सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।

रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ । विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ । “सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ”, उहाँले भन्नुभयो ।

विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गाैला पनि भन्ने गरिन्छ ।

“सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ”, महानिर्देशक ढुङ्गानाले भन्नुभयो ।

सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ ।

कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं ।  करिब १ अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मुलुकभित्र निजी क्षेत्रको ऊर्जा उत्पादनको हिस्सा क्रमशः बढिरहेको सन्दर्भमा यो सम्झौतालाई महत्त्वका साथ हेरिएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कविनकुमार कंडासामीले यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको इप्पानले जनाएको छ ।

इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युतमध्ये पहिलो चरणमा दुई हजार मेगावाट विद्युत् कार्बन व्यापारका लागि योग्य हुनेछ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले बर्सेनि करिब १ अर्ब बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको बताए ।

अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसन (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू दिगो विकासका मापदण्ड पूरा गरेको उल्लेख गर्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन व्यापारबाट पैसा पाउने बताए ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गरे । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउनेछ । नेपाली निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्लाई कार्बन व्यापारसँग जोड्दा यसले वार्षिक करिब रु एक अर्ब बराबरको लाभ पाउनुपर्छ ।

विश्वबजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा. धितालले जलविद्युत्को प्रचुर सम्भावना रहेको र तीन हजार मेगावाटभन्दा बढी जलविद्युत् मात्र उत्पादन भइरहेको नेपालले अब कार्बन व्यापाराट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले नेपालले वनजङ्गलबाट सानो ‘स्केल’मा कार्बन विसर्जनवापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताए ।

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले क्षेत्रीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे । ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्वेल अलाइन्सका इरिक सोल्हिमले पनि कार्यक्रमलाई सम्बोधन गर्दै चीन र भारतजस्ता शक्ति राष्ट्रको बीचमा रहेको नेपालले कार्बन व्यापारबाट लाभ लिनुपर्ने बताए ।

आज विश्व सिमसार दिवस

काठमाडौँ, २० माघः ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन्् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।

हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

सिमसार क्षेत्र भन्नाले प्र्राकृृतिक अथवा कृृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।

नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९४ पैसा र बिक्रीदर आठ रूपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५३ पैसा र बिक्रीदर नौ रूपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५० पैसा र बिक्रीदर १२ रूपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्री दर १९ रूपैयाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५० रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रूपैयाँ ७३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु

मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ ।

सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो युद्ध लडिरहेका नक्सलवादी आन्दोलनका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिबार बिहानैदेखि सशस्त्र झडप भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

उच्च प्रहरी अधिकारी सुन्दरराज पी.ले एएफपीसँग भन्नुभयो, “भीषण गोली हानाहानपछि आज बीजापुर जिल्लाको जङ्गलबाट आठ जना माओवादीको शव फेला परेको छ ।”

विद्रोहीको साथबाट एउटा ग्रेनेड लन्चर र राइफलसमेत अन्य हतियार बरामद गरिएको र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२४ को सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका छन्।

भारतका गृहमन्त्री अमित शाहले गत वर्ष सरकारले सन् २०२६ सम्ममा नक्सलवादी विद्रोहलाई पूर्णरूपमा निस्तेज पार्ने बताउनुभएको थियो ।

माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।

उनीहरूले भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रभाव जमाएको छ । सन् २००० को दशकको सुरुसम्म आन्दोलनका शक्ति र सङ्ख्या दुवैमा वृद्धि भएको थियो । त्यसपछि नयाँ दिल्लीले ‘रेड करिडोर’ भनिने उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ ग¥यो र यसले आन्दोलनलाई निरन्तर क्षति पुगेको छ ।

यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन्। गत महिना सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो ।

अरब विदेशमन्त्रीद्वारा प्यालेस्टिनी वस्तीलाई हटाउने प्रस्ताव अस्वीकार

इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स( युएई), साउदी अरब र कतारका उच्च कूटनीतिज्ञले शनिबार कायरोमा भएको एक बैठकमा प्यालेस्टिनी नागरिकलाई जबर्जस्ती विस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजा पट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने विचार अघि सारेपछि यो बैठक भएको हो।

विदेशमन्त्रीहरूले ‘नयाँ बस्ती बसाल्ने, प्यालेष्टिनी समुदायलाई निष्कासन गर्ने, घर भत्काउने, कब्जा गर्ने, विस्थापन गर्ने, प्रोत्साहित स्थानान्तरण वा प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती हटाउनजस्तो प्यालेस्टिनी नागरिकको ‘अविभाज्य अधिकारको उल्लङ्घन’ अस्वीकार गरेका छन् ।

इजिप्ट र जोर्डन दुवैले गाजा पट्टीलाई ‘सफा’ गर्ने ट्रम्पको प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै आएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापन गर्नु अन्याय भएको र यसमा आफूहरू सहभागी हुन नसक्ने बताउनुभएको छ ।

अरब विदेशमन्त्रीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग मिलेर मध्यपूर्वमा न्यायपूर्ण र बृहत् शान्ति स्थापनाका लागि काम गर्न आफूहरु आतुर रहेको बताएका छन् ।

बैठकमा अरब लिगका महासचिव अहमद अबुल घेइत र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव हुसेन अल शेखसमेत सहभागी थिए ।

इजरायलले प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घको मुख्य सहायता निकाय युएनआरडब्लुएसँग सबै सम्बन्ध तोडेको घोषणाको दुई दिनपछि मन्त्रीहरूले पनि एजेन्सीको ‘निर्णायक, अपरिहार्य र अपूरणीय भूमिका’ को पुष्टि गर्दै ‘यसलाई नजरअन्दाज गर्ने वा यसको भूमिकालाई सीमित गर्ने कुनै पनि प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गरे’।

स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने

काठमाडौँ, १९ माघः स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले छरिएर रहेका स्वास्थ्य बिमासम्बन्धी कार्यक्रमलाई एकीकृत गर्नुपर्ने सुझव दिएको छ । कार्यदलको प्रतिवेदनमा छरिएर रहेका स्वास्थ्य उपचार सहायता तथा अनुदानसम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डबाट एकीकृत गर्न सकिने उल्लेख गरिएको हो ।

प्रतिवेदनमा आठ किसिमका कडा रोगका लागि दिइँदै आएको रु एक लाखको स्वास्थ्य सुविधा, आमा सुरक्षा कार्यक्रम, मिर्गाैला तथा कलेजो प्रत्यारोपण, क्यान्सर उपचार सहयोग कार्यक्रम, अस्पतालका सामाजिक सेवा एकाइमार्फत दिइने उपचार सेवा, वृद्ध र बालबालिकाको निःशुल्क उपचार, १५ वर्षमुनिका र ७० वर्षमाथिको मुटुको निःशुल्क उपचार, विपन्न नागरिकका लागि कडा रोगको निःशुल्क उपचारलगायत कार्यक्रमलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको वरिष्ठ जनस्वास्थ्यविद् एवं स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलका संयोजक डा शम्भु आचार्यले जानकारी दिनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजामती कर्मचारी अस्पताल उपचार सेवा, प्रदेश सरकारले प्रदान गर्दै आएका स्वास्थ्य सहयोग तथा अनुदान र स्थानीय तहबाट भएका स्वास्थ्य सहायता तथा अनुदान कार्यक्रमलाई पनि स्वास्थ्य बिमा बोर्डमार्फत दिन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा छरिएर रहेका स्वास्थ्य उपचार सहायता तथा अनुदानसम्बन्धी कार्यक्रमलाई एकीकृत गर्दा प्राप्त हुने स्रोत करिब रु १५ अर्ब हुने जनाउँदै उहाँले छरिएर रहेका सामान प्रकृतिका कार्यक्रमले खर्च र सरकारको बजेट बढाउने देखिएकाले एकिकृत गर्नुपर्ने सुझाव दिइएको बताउनुभयो ।

प्रतिवेदनले स्वास्थ्य बिमाको सुविधाको दायरा र पुँजी बढाउनुपर्ने सुझाव दिएको छ । घातक रोग लाग्दा अहिलेको सुविधा क्षेत्रले धान्ने अवस्था नरहेको, दीर्घ रोग लागेका सदस्य भएका परिवारलाई र परिवारका धेरै सदस्य बिरामी पर्दा अहिलेको सुविधा कम पर्ने भएकाले दायरा र पुँजी बढाउन सुझाव दिइएको संयोजक आचार्यले उल्लेख गर्नुभयो ।

प्रतिवेदनमा व्यक्तिको पकेट खर्च ५४ प्रतिशतबाट घटाई २० प्रतिशतमा झार्नुपर्ने उल्लेख छ । प्रतिघरले स्वास्थ्य बिमाका लागि तिरेको औसत प्रिमियम रु तीन हजार आठ सय र दाबी रु आठ हजार तीन सय ५० रहेको उल्लेख गर्दै आचार्यले बोर्डले बिमा गराएबापत सङ्कलन गरेको रकमले २४ प्रतिशत मात्र खर्च धान्न सक्ने अवस्था रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यही अवस्थामा बिमा बोर्ड सञ्चालन भएमा सन् २०३० मा सरकारले रु ६२ दशमलव आठ अर्ब भुक्तान दिनुपर्ने हुन्छ ।

स्वास्थ्य बोर्डका अनुसार हालसम्म ८७ लाख ३२ हजार नौ सय १२ नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । बिमामा आबद्धमध्ये करिब ४८ प्रतिशतले सेवा लिइरहेका छन् । सरकारले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्नका लागि वरिष्ठ जनस्वास्थ्यविद् डा आचार्यको संयोजकत्वमा आठ सदस्यीय स्वास्थ्य बिमा सुधार सुझाव कार्यदल गठन गरेको थियो ।

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’: महासचिव ज्ञवाली

काठमाडौँ, १९ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताउनुुभएको छ ।

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘काव्यगोष्ठी’मा उहाँले निरङ्कुुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुुपर्नेमा जोड दिनुुभयो । 

सहित्यकारसमेत रहनुभएका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैङ्गिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुुपर्ने धारणा राख्नुभयो । उहाँले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विनाअनुहारको रात’ शीर्षकको कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्यगोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो । 

उहाँले ‘म आएको छुु’, ‘हीरा थारू’, ‘जराको स्वर’, ‘झुुर्मे दर्जी’, ‘हाम्रो यात्रा’, ‘जुम्ला’ कवितावाचन गर्नुभयो । वाचित कवितामा समीक्षा गर्दै डा हरिप्रसाद सिलवालले बुढ्यौली उमेरमा पनि सृजना र कर्ममा कवि विनयसँग क्रान्तिकारीपन पाइने बताउनुुभयो ।

कार्यक्रममा साहित्यकार नमूना शर्मा, गोपालकुमार मैनाली, नन्दु उप्रेती, भारद्वाज मित्र, अनिता लामा, दिल पौडेल, युवराज नास्तिक, अनुराधा थापा, लक्ष्मणदेव पाण्डे, लोकेन्द्र रावल, तारानिधि पोखरेल, देवी पराजुली, गङ्गा खतिवडा, शिवहरि पाण्डे, बलराम विष्ट, माधव घिमिरे ‘अटल’, कुञ्जराज थापा, जगत वाशिष्ट, गङ्गा भेटवाल, इन्दिरा निरौला, जयराम बिँडारी, रुवी सत्याल, नवीन पल्लभ, चन्द्रकला चौलागाईं,  भावकेशर बराल, सुदीप पाण्डे, यशोदा गिरी, विमला ढकाल ‘समीक्षा’, दीनविनोद खड्का, मिसन अधिकारीलगायतले कवितावाचन गर्नुभयो । उहाँहरूका कवितामाथि समीक्षक डा विनोद मञ्जनले समीक्षा गर्नुभएको थियो ।

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु, १९ माघः हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पु¥याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । हावाहुरीका कारण सात वटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीन वटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ ।

त्यसैगरी आगलागीका कारण चार वटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चार वटा सामुदायिक वन र तीन वटा निजी वनमा डढेलो फैलिएको छ । प्रहरीको तथ्याङ्कअनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदूधकुण्ड नगरपालिकामा तीन वटा भएका छन् । त्यस्तै आगलागीका घटना सोलुदूधकुण्डमा पाँच, सोताङमा तीन वटा, महाकुलुङमा एउटा, माप्यदूधकोसीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन् ।

सबैभन्दा गम्भीर घटना सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा पुस २४ गते राति भएको थियो । उक्त आगलागीमा परी टाक्सिन्दु निवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठूलो क्षति गराइरहेको छ । माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरुमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

“माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्‍याइरहेको छ । सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ”, उहाँले भन्नुभयो ।

हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ । जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ । यसैबीच प्राकृतिक विपद्बाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन् ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा अध्यक्ष नेपालको जोड

चन्द्रपुर (रौतहट), १९ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले निजगढ–काठमाडाैँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उहाँले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुनेगरी सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा मधेस प्रदेशसभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादवको अध्यक्षतामा भएको संवाद कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सीमा क्षेत्रका जिल्लाहरूमा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गर्नुभएको थियो ।     उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।

गाजा युद्धविरामः शनिवार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।
युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।

इजरायलले शनिवार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन्।इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो।

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरषा बल (आईडीएफ)ले जनाएको छ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिवार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उहाकोँ इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ ।

उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।
यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन।

‘सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने’ : मन्त्री यादव

काठमाडौँ, १९ माघः खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारणसभामा उहाँले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेकाले नीतिनिर्माण तहमा विशेष पहल गरी उक्त कर खारेजी गरिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “देशभरिका ४२ हजार उपभोक्ता समितिहरूलाई कसरी उचित व्यवस्थापन गर्ने भनेर मन्त्रालयले गृहकार्य गरिरहेको छ । मन्त्रालयले यही माघ १० गते सोसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेको छ । उक्त नियमावलीले उपभोक्ता समितिलाई फाइदा पुग्ने विश्वास लिएका छौँ ।”

मन्त्री यादवले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । खानेपानी र सरसफाइ देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि भएको भन्दै उहाँले स्थानीयस्तरमा उपभोक्ता समितिले गरेको कार्यले मुलुकलाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

विसं २०७२ को भूकम्पले चन्द्रागिरि–२ को खानेपानी आपूर्ति प्रणालीका पाइपलाइन तथा मुहानमा क्षति हुँदा स्थानीय जनतालाई समस्या भए पनि उपभोक्ता समितिहरूको कार्यले समस्या समाधान भएकाले उक्त कार्य अत्यन्त सराहनीय रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताहरूको सहभागिता, प्रतिबद्धता र परिश्रम एकसाथ भएमा जस्तोसुकै चुनौती पनि समाधान गर्न सकिन्छ । यस समितिले खानेपानी व्यवस्थापन, सरसफाइ सुधार र दिगो विकासका लागि देखाएको दृढता प्रशंसनीय छ ।”

मन्त्री यादवले खानेपानी मन्त्रालय शुद्ध एवम् सुरक्षित खानेपानीका लागि थप लगानी, प्राविधिक सहायता र आवश्यक नीति सुधारमार्फत उपभोक्ता समितिलाई निरन्तर सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चन्द्रागिरि नगरपालिकालाई मेलम्ची आयोजनाको सेवामा समेट्न विशेष पहल भइरहेको छ ।

चन्द्रागिरि नगरपालिका–२ मा निर्माण भइरहेको सुरुङ मार्गले स्थानीय पानीका मुहानहरूमा असर पुर्‍याएको भन्दै मन्त्री यादवले वैकल्पिक पानी आपूर्ति व्यवस्थापन खर्चिलो भए पनि यसअघि गरिएको निःशुल्क पानी वितरणको प्रतिबद्धता कार्यान्वयन गरिनेमा जोड दिनुभयो । 

खानेपानी उपभोक्ताहरूका लागि महसुल निर्धारण जनताको आर्थिक पहुँचभित्र हुनुपर्नेमा बताउँदै उहाँले यस विषयमा सरोकार भएकासँग छलफल र समन्वय गरी न्यायसङ्गत महसुल निर्धारणका लागि नीतिनिर्माणमा सरकारको सक्रिय भूमिका रहने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रमका सभापति एवम् नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामेश्वरप्रसाद भुर्तेलले चन्द्रागिरि नगरपालिकामा खानेपानीको समस्या अत्यधिक भएकाले यहाँका नागरिकलाई स्वच्छ पानी आपूर्तिका लागि पहल गरी दिन मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

नारायणगढ (चितवन), १९ माघः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उहाँले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताउनुभयो ।

“अहिले आममानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ । कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो”, महामन्त्री शर्माले भन्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्मको विकास, समृद्घि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो । 

केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले सङ्गठन निर्माणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । 

पार्टीका चितवन सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वव उमा रेग्मी, टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, कांगे्रस काठमाडौँका सभापति सुबजकृष्ण बानियाँ, कांग्रेस चितवनका पूर्वसभापतिहरू जितनारायण श्रेष्ठ, विकास कोइरालालगायतले सम्बोधन गर्नुभएको थियो । 

बाढीपहिरोले क्षतिग्रस्त तीन नगरपालिकाका खानेपानी आयोजना मर्मतका लागि २८ करोड बढी लाग्ने

काभ्रेपलाञ्चोक, १९ माघः जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग रु २८ करोड ६५ लाख ३१ हजार छ सय ४८ सहयोग माग गर्ने निर्णय गरेको हो ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्याङ्कनअनुसार सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहनुभएको नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्‍याएको थियो । 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले क्षतिग्रस्त भएपछि पुनःनिर्माणका लागि एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । तीन नगरका उपभोक्तालाई खानेपानी पु¥याउने उद्देश्यले निर्माण थालिएको उक्त आयोजनाको यसअघि करिब ९८ प्रतिशत काम सकिएको थियो । करिब रु एक अर्बको लगानी रहेको उक्त आयोजनामा बाढीले क्षति पु¥याएपछि निर्माण ढिलाइ भएको हो ।

सङ्घीय सरकार र एसियाली विकास बैङ्क (एडिबी)बीच सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा निर्माण सक्नेगरी ऋण सम्झौता गरिएको  उक्त आयोजना समय सकिएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारले खानेपानी सुविधा पाउनेछन् । 

यसैबीच, धुलिखेल नगरमा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगरप्रमुख ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले गत पुस अन्तिम साता सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

ब्याञ्जूका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालय तीन महिनादेखि खानेपानीविहीन अवस्थामा छन् । 

डोल्पामा सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

ठूलीभेरी (डोल्पा), १९ माघः सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।

यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुग्नुभएकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पुर्‍याइएको थियो । 

गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिनुभयो । 

ठूलीभेरी–१० रहगाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उहाँले बताउनुभयो । 

गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा उपाध्यायले उल्लेख गर्नुभयो । बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उहाँको भनाइ छ ।

‘लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ’ : महासचिव गुरुङ

हेटौँडा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै यस्तो जिकिर गर्नुभएको हो ।

महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्रनीति अङ्गीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, उहाँले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठीक नभएको बताउनुभयो ।

एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल

चितवन, १९ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उहाँले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताउनुभयो । 

अध्यक्ष दाहालले सङ्घले राखेका माग कार्यान्वनका लागि सडक र सदन दवैै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो । “एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले पार्टी मातहतका जनवर्गीय सङ्गठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताउनुभयो ।   

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, सङ्घका कानुनी सल्लाहाकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा दयाराम लम्साल, प्रताप देवकोटा, नेसनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राख्नुभएको थियो । सङ्घका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी दिनुभएको थियो ।   

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, १९ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहनुभएको विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहनुभएको छ ।

पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य

गुल्मी, १९ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । जिल्लाको मदाने गाउँपालिका–६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो । 

“लुम्बिनी प्रदेश ‘मिनी’ नेपालका रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । यहाँ रहेका पुरातात्विक सम्पदाहरूको संरक्षण गरेर बाह्य पर्यटकलाई भित्र्याउने मुख्य सङ्कल्प प्रदेश सरकारको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारीका अवसर, जीवनस्तर सुधार गर्ने मेरुदण्डका रूपमा विकास गर्दै लैजाने उहाँको भनाइ छ ।

“पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र समग्र पर्यटकीय गतिविधि प्रवर्द्धनमा जोड दिएका छौँ”, मुख्यमन्त्रीले भन्नुभयो, “पर्यटनको क्षेत्रबाट स्थानीयस्तरमा प्रशस्त रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।” प्रदेश सरकारले दिगो पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्दै आएको बताउँदै नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य थापा, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायत व्यक्तिको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रमले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउँदै आपसी समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

सिन्धुपाल्चोक, १९ माघः जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ । त्यस्तै जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थानसहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिनुभयो । बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडकालगायतले पुरस्कार प्रदान गर्नुभयो । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।

मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से माविमा सुरु

मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले योजनावद्धरुपमा काम गरिरहेको उल्लेख गर्दै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयमा नृत्य प्रशिक्षक तथा खेल शिक्षकको व्यवस्थापन गर्ने कामको सुरुवात गरिएकोमा आगामी दिनमा त्यसलाई सबै विद्यालयसम्म प्रभावकारी रुपमा पु¥याउने गरी काम भइरहेको बताउनुभयो ।

विद्यालय प्राङ्गणमा सञ्चालित प्रतियोगितामा पहिलो दिन लिग चरणमा खेल सञ्चालन भएका छन् । पहिलो चरणको सुरुको खेलमा आयोजक तेर्से माविले थाङ्पाल भ्यालीलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ भने हेलम्बु मोडेल स्कूलले इन्द्रेश्वरी माविलाई, ज्योतिभञ्ज्याङ् आविले बतासे माविलाई, जाल्पादेवी मावि जैसिगाउँले सिन्धुपुरानागाउँ माविलाई, बालसुधार माविले धौलेश्वरी आविलाई र चण्डिका माविले सर्वोदय माविलाई पराजित गर्दै बिजेता बन्न सफल भएका छन् । लिग चरणका बाँकी खेलसहित शनिबार क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ । 

सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री छिन् । रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन् ।

विक्रम संवत् २०५९ मा काठमाडौँमा जन्मिएकी सांसद श्रेष्ठले अमेरिकाबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छन्। विसं २०७२ को भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न नेपाल फर्किएकी उनी राजनीतिक यात्रा रास्वपाको स्थापनासँगै सुरु गरिन् । उनीसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा चार महिनाको जिम्मेवारीको अनुभव छ । पेसाले व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ उद्यमी र अभियन्ता पनि छिन् । सांसद श्रेष्ठसँग राससका समाचारदाता सिर्जना राईले गरेको कुराकानीको सम्पादित अंश :

देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन ? जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले कार्यान्वयनमा सधैँ अड्चन ल्याइरहेको देख्छु । कानुनी संरचना निर्माण गरेर मात्र पुग्दो रहेनछ, त्यसलाई चलाउन पात्रहरू पनि चाहिन्छ । ती पात्रहरू दलबाहेक अन्यत्रका छैनन् ।

मेरो राजनीतिक यात्राको दुई वर्षको अनुभवले के देखाएको छ भने पेसाप्रतिको मर्यादालाई जोगाएर स्वतन्त्र रूपमा काम गर्ने परिस्थिति छैन । देशको कानुनभन्दा पनि दलको कानुनअनुसार चल्ने स्वार्थ प्रेरित अवस्था छ । हामी बहुदलीय राजनीतिक प्रणालीमा छौँ । यो प्रणालीमा त जनताको स्वार्थ सर्वोपरि हुनुपर्ने हो । तर दलीय स्वार्थभन्दा माथि उठ्न नसकेका दलहरूका कारण आमनागरिकका कैयौँ मुद्दा, गुनासा र स्वर मधुरा र दबिएका छन् । जनप्रतिनिधि पनि जनताका बन्न सकेनन्, उनीहरू जनताका साझा बन्न सकेनन् ।

संघीयता कार्यान्वयनमा पनि त्यही समस्या छ । कार्यान्वयनका लागि काम गर्ने वातावरण छैन, किनकि त्यहाँ राजनीतिक दलहरू हाबी छन् । म भन्छु, जबसम्म अति राजनीतिकरण हट्दैन तबसम्म संघीयताको कार्यान्वयन पनि सम्भव छैन ।

शिक्षामन्त्रीका रूपमा चार महिने कार्यकाल

शिक्षामन्त्रीका रूपमा मैले इमानदारीसँग आफ्नो जिम्मेवारी निर्वाह गरेकी थिएँ । मन्त्रालय र मातहतमा कामको संस्कार परिवर्तन गर्न प्रयास गरेँ । मन्त्रालयमा मेरो दल र समर्थकको लावालस्कर थिएन । मन्त्रालयका सबै कर्मचारीसँग खुलेर छलफल गरी कुनै पनि समस्याको समाधान गर्ने वातावरण बनाएँ ।

हामी समस्या कर्मचारीतन्त्रमा छ भन्छौँ । तर कर्मचारीतन्त्र पनि दलसँग डराउने गरेको देखियो । कानुन कार्यान्वयनको समस्या पनि हाम्रो दलीय रूपमा विभक्त कर्मचारीतन्त्र हो । हामीले उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएका छैनौँ । पार्टीसँग डराउने कर्मचारीहरू धेरै हुनुहुन्छ । शिक्षा ऐनको दफा १६ मा राजनीतिक दलको कार्यकारिणी पदमा शिक्षक हुनुहुँदैन भनेर कार्यान्वयन गराउन पनि मलाई बहुतै गाह्रो भयो ।

गलत भाष्य निर्माण अति नै धेरै भइरहेको छ देशमा । शिक्षा क्षेत्रमा भएका समस्यामा अहिलेसम्म सबैले देखाउने औँला शिक्षा ऐनतर्फ नै हो । त्यो हुँदै होइन । शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने धेरै विषय नियमावलीबाट पनि गर्न सकिन्छ । शिक्षा ऐनमा मात्र समस्या देखाउनु भनेको आफ्नो जिम्मेवारीबाट हट्न खोज्नु हो ।

काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन

जनप्रतिनिधिले निर्माण गरेको अर्को गलत भाष्य हो, सरकारमा गएपछि मात्र काम गर्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रतिपक्षमा छ । हाम्रो काम भनेको अहिले सदनले पारित गरेका ऐनले काम गरिरहेको छ वा छैन हेर्ने हो । यदि ऐनमा समस्या भए, मैले गैरसरकारी विधेयक लैजान सक्छु । कानुनमा समस्या भए त्यसमा छलफल गर्ने हो ।

जनप्रतिनिधिका रूपमा जनताको आवाज सुन्नु मेरो नियमित कर्तव्य हो । भर्खरै वीरगञ्जदेखि काठमाडौँ यात्रामा नागरिकका कुरा सुन्न उहाँहरूको घरदैलोसम्म पुगेँ । सांसदले जनताको मुद्दा सदनमा उठाउने र सरकारलाई जबाफदेही बनाउने हो । पार्टीका कार्यकर्ताको माझमा मात्र हैन जनप्रतिनिधि जहिल्यै साझा हुनुपर्छ भन्ने उद्देश्यले यात्रा गरेकी थिएँ ।

जनताले स–साना कामका लागि पनि भनसुन गर्नुपर्ने गुनासो गरेका छन् । विशेषतः वीरगञ्जका बासिन्दा भन्सारबाट त्रसित छन् । भन्सारमा केही बोल्यो कि पोल्यो हुने समस्या भोग्दै आएको स्थानीयको गुनासो छ ।

सदनमा विकास निर्माणलाई भौतिक पूर्वाधारसँग मात्र जोडेर चर्चा गरिन्छ । जनतासँग साक्षात्कार हुँदा समस्याको चुरो कुरा बुझ्ने मौका पाएँ । भौतिक पूर्वाधारका समस्या केही ठाउँमा सुनियो । तर त्यहाँ भएका अधिकांश समस्याको जड राजनीतिक दलसँग सम्बन्धित भएको पायौँ ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाकै उदाहरण हेर्दा सात महिनादेखि शिक्षकहरूले तलब पाएका रहेनछन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारीले कर्मचारीले तलब नपाएको अवस्था छ भने विद्यार्थीहरूले पढ्न नपाइरहेको अवस्था देखेँ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघले नै खटाउँछ । स्थानीय तहका जनप्रतिनिधिले बारम्बार अनुरोध गर्दा पनि संघले कर्मचारी हेरफेर नगरिदिएको गुनासो सुनियो । कतिपय समस्या पालिकाहरूले गर्ने स्रोत विनियोजन, बाँडफाँटसँग सम्बन्धित देखेँ ।

फेरि भन्छु, दलीय स्वार्थ हाबी भइरहने हो भने जनताको हितमा काम हुन सजिलो छैन । दलीय राजनीति हाबी हुँदा जनताका खास समस्या र गुनासा सतहमा आउन पाएका छैनन् । अर्कातर्फ तिनै दलहरूले उहिल्यैदेखि जनताको अपेक्षा चन्द्रमामा पुर्‍याइदिएका छन् । स्रोतको टुङ्गो छैन तर सबै कुरा निःशुल्क उपलब्ध गराउने वाचा गरिरहेका छन् । वास्तविकताभन्दा टाढा गएर जनतासँग वाचा गर्ने प्रवृत्ति छ, त्यो हट्नुपर्छ ।

पर्यटकीयस्थलमा उत्साहजनक सङ्ख्यामा पर्यटकको उपस्थिति छैन । सौराहामा मन्दीजस्तै छ । निर्माण व्यवसायीहरूले भुक्तानी पाएका छैनन् । बजेट आवश्यक नभएका तर नीतिगत समाधान आवश्यक भएका समस्याहरू पनि प्रशस्तै रहेका छन् ।

जनप्रतिनिधिका रूपमा सरकारले गरेका राम्रा काममा सहयोग गर्न म आतुर छु । संसदीय समिति, सदनमार्फत स्थानीय तहमा देखिएका जनताका अप्ठ्यारा र समस्यामा सरकारको ध्यानाकर्षण गराइरहन्छु । एकै पटक समाधान भइहाल्छ भन्ने हैन । तर त्यसका लागि निरन्तर खबरदारी गर्नेछु ।

सांसद अध्ययनशील हुनुपर्छ

सांसद अध्ययनशील हुनैपर्छ । अध्ययन भनेको किताबी अध्ययन मात्र होइन । आफूसँगै अरू विभिन्न व्यक्तिका अनुभव र अवलोकन पनि अध्ययन हो । समस्याको समाधान खोज्ने हो भने अध्ययन नगरी सुख छैन । उदाहरण, भ्रष्टाचार रोक्नुपर्छ सबैले भन्छौँ । भ्रष्टाचार रोक्नुपर्छ भनेर कसले भन्दैन र । तर विधायिकाको जिम्मेवारी भनेको भ्रष्टाचारको व्याख्या मात्र गरेर बस्ने हैन । तथ्य र तथ्याङ्कका आधारमा समस्या राख्ने र समाधानको उपाय पनि खोज्नुपर्छ ।

भ्रष्टाचार नियन्त्रण कानुनको डण्डा मात्र देखाएर हुँदैन, यो त संस्कार पनि हो । सुशासन भनेको संस्कार पनि हो । कसैले तपाईँलाई नहेरिरहँदा तपाईँ कस्तो व्यवहार गर्नुहुन्छ भन्ने पनि हो । यो संस्कार प्रवर्द्धन गर्न हामीले के गरिरहेका छौँ ?  हामी आफूले चिनेको आफ्नो पार्टीको घेराबन्दीमा मात्र बस्न रूचाउँछौँ ।

संविधान संशोधनमा समस्या कहाँ छ ?

संविधान संशोधनको विषय कुरा ठूलो तर काम हुँदै नहुनेजस्तो लागिरहेको छ । संशोधनका लागि दुवै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ । तर वर्तमान सरकारसँग प्रतिनिधिसभामा मात्र दुई तिहाइ छ । राष्ट्रियसभामा छैन । देशका जल्दाबल्दा समस्या समाधान गर्न अहिले संविधान कहाँ बाधक बनेको छ ? संविधान निर्माण भएयता संविधान बाधक भएको बारेमा अध्ययन भएको मलाई थाहा छैन ।

संघीयताको मर्म पनि सेवा प्रवाहसँग जोडिन्छ । प्रदेश र स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार स्रोत उपलब्ध हुन सकेको छैन । स्थानीय तहलाई क्षमता विकास बिना धेरै जिम्मेवारी दिइएको छ । जिम्मेवारी छ तर स्रोत खोइ ? अनि कसरी हुन्छ काम ? जनताका भावनालाई नेतृत्वले महसुस गर्न सकेका छैनन् । संघीयताविरूद्ध यदाकदा सुनिने असन्तुष्टि वास्तवमा राजनीतिक नेतृत्वप्रतिको जनताको क्रोध हो ।

गलत भाष्य निर्माणमा ठूला दलका नेताहरू नै उत्रिएका छन् । केही भन्यो कि विदेशी दलाल भन्छन् अथवा यो विदेशबाट परिचालित भनिदिन्छन् । उनीहरूकै चर्को स्वर हुन्छ । खासमा उनीहरूले नै संघीयताको कार्यान्वयन कसरी हुन्छ भनेर बुझाएनन् ।

म मेरो विधायिकाको भूमिकामा इमानदार छु । इमानदारीका साथ प्रस्तुत हुने मेरो प्रतिबद्धता हो । प्रतिपक्षको भूमिकामा भएपछि विरोध गर्नुपर्छ भन्ने भाष्यलाई म मान्दिनँ । हामी नागरिकका लागि काम गर्छु भनेर आएका हौँ । म यो त्यो पार्टीको विरोध हैन, प्रवृत्तिको विरोध गर्छु । त्यसमा म स्पष्ट छु ।

सरकारले ल्याएको अध्यादेशमा गुण र दोषका आधारमा बहस गर्छु । जनतासँगको वाचा पनि त्यही हो । मेरो विवेकले भ्याएसम्म कानुन निर्माणमा सहयोग गर्छु । म सम्पूर्ण नागरिकको साझा जनप्रतिनिधिका रूपमा सबै समुदायको हितमा काम गर्छु ।

पार्टी सभापति लामिछानेमाथि राज्यको प्रतिशोध

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा अहिले अदालती प्रक्रियामा छ । भ्रष्टाचारविरूद्ध मात्र हैन नातावाद, कृपावाद, पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको पनि छ । केही काम गर्छु भन्नेहरूलाई सरकारले हदसम्मको शक्ति प्रयोग गरेर थकाउने, गलाउने, प्रयास नै नगर भन्ने प्रवृत्ति छ । नागरिकहरूले अनुभूति गरेका छन् । राज्य भनेको अभिभावक हुनुपर्ने तर प्रतिशोध साँधेको भन्दै आमजनतामा निराशा देखेँ ।

उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता

इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि)क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ ।मन्त्रालयको एक विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू समावेश छन् ।यस पहलले उदीयमान कम्पनीहरूको बृद्धिलाई समर्थन गर्न, उच्च गुणस्तरको रोजगारी सिर्जना गर्न, इजरायली निर्यातलाई बढावा दिन र उद्यमशीलता र नवाचारमा इजरायलको स्थितिलाई बलियो बनाउन सहयोग गर्छ ।

यसमा जैविक प्रयोगशाला, नयाँ खाद्य प्रविधि पूर्वाधार, रोबोटिक र मोड्युलर उत्पादन प्रणाली, ड्रोन सुविधा, एआई सामग्री प्रयोगशाला र अस्पताल सम्बन्धित परियोजनाहरू समावेश रहेका विज्ञप्तिमा भनिएको छ ।

टर्कीएको पर्यटन राजस्वमा नयाँ कीर्तिमान

टर्कीएको पर्यटन राजस्व सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ८.३ प्रतिशतले बढी रहेको टर्कीएको तथ्याङ्क संस्थानले शुक्रबार जनाएको छ ।

“हाम्रो पर्यटन राजस्वले सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर नाघेको थियो,” टर्कीएका उपाध्यक्ष सेभडेट यिलमाजले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो ।

गत वर्ष कुल छ करोड २२ लाख पर्यटकले टर्किए भ्रमण गरेका थिए, जुन सरकारी प्रक्षेपण भन्दा बढी रहेको यिलमाजले बताउनुभयो । उपराष्ट्रपतिले टर्कीए सरकारले सन् २०२५ मा पनि पर्यटन राजस्वमा ६३.६ अर्ब अमेरिकी डलरको लक्ष्य राख्दै सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरेको बताउनुभयो । टर्कीएमा करिब १७ प्रतिशत राजस्व गैरआवासीय नागरिकबाट आयो । यस मध्ये लगभग ४१७.४ अर्ब प्याकेज टुरद्वारा योगदान गरिएको थियो ।

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी, १९ माघ : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले मल्कवाङमा ९ र मराङमा १५ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएको बताउनुभयो । बुधबार वडा नं २ लुलाङमा सात वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीहरूलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । “मराङ, मल्कवाङका बासिन्दालाई मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्ने गर्छ”, उहाँले भन्नुभयो, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको हो ।”

मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । उपाध्यक्ष रेशम पुनमगरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल, योजना अधिकृत हरिहर पनेरू, पूर्वाधार शाखाका लोकेन्द्र रावल, प्रशासनका रमेश पौडेलको टोलीले माघ २३ गते ताकम र २४ गते मुदीमा पुगेर योजना सम्झौता गर्ने समय तालिका बनाएको छ ।

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको छ । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । यस वर्ष धौलागिरि गाउँपालिकाले एक सय २३ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ ।

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौँ, १९ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रू ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३८, आलु रातो (भारतीय) प्रतिकेजी रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ६५, गाजर (लोकल) प्रतिकेजी रू ५०, गाजर (तराई) प्रतिकेजी रू ३०, बन्दा (लोकल) प्रतिकेजी रू २०, बन्दा (तराई) प्रतिकेजी रू १५, बन्दा (नरिवल) प्रतिकेजी रू १५, काउली स्थानीय प्रतिकेजी रू १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रू २०, काउली (तराई) प्रतिकेजी रू १५, मूला रातो प्रतिकेजी रू २५, मूला सेतो (लोकल) प्रतिकेजी रू २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रू २५, भन्टा लाम्चो प्रतिकेजी रू ३०, भन्टा डल्लो प्रतिकेजी रू ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रू ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रू ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रू ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रू ७०, टाटे सिमी प्रतिकेजी रू ४०, तितेकरेला प्रतिकेजी रू १२०, लौका प्रतिकेजी रू ६०, फर्सी पाकेको प्रतिकेजी रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रू २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रू २०, सलगम प्रतिकेजी रू १००, भिण्डी प्रतिकेजी रू १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रू ४०, पिँडालु प्रतिकेजी रू ९०, स्कूस प्रतिकेजी रू ४०, रायो साग प्रतिकेजी रू १२, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रू ४०, तोरीको साग प्रतिकेजी रू २५, मेथीको साग प्रतिकेजी रू ४०, हरियो प्याज प्रतिकेजी रू ४०, बकुला प्रतिकेजी रू ७०, तरूल प्रतिकेजी रू ९०, च्याउ (कन्य) प्रतिकेजी रू ९०, च्याउ (डल्ले) प्रतिकेजी रू ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रू ३०, चुकुन्दर प्रतिकेजी रू ८०, सजिवन प्रतिकेजी रू २५०, रातो बन्दा प्रतिकेजी रू ६०, जिरीको साग प्रतिकेजी रू ७०, ग्याठ कोबी प्रतिकेजी रू ९०, सेलरी प्रतिकेजी रू ४००, पार्सले प्रतिकेजी रू ८००, सौफको साग प्रतिकेजी रू ८०, पुदिना प्रतिकेजी रू ४००, गान्टे मूला प्रतिकेजी रू ८०, इमली प्रतिकेजी रू १६०, तामा प्रतिकेजी रू १००, तोफु प्रतिकेजी रू १२०, गुन्द्रुक प्रतिकेजी रू ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रू २६०, स्याउ (फूजी) प्रतिकेजी रू ३००, केरा (दर्जन) रू १७०, कागती प्रतिकेजी रू १६०, अनार प्रतिकेजी रू ४००, अङ्गुर (हरियो) प्रतिकेजी रू २४०, अङ्गुुर (कालो) प्रतिकेजी रू ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रू १३५, सुन्तला (भारतीय) प्रतिकेजी रू १००, जुनार प्रतिकेजी ११०, काँक्रो (लोकल) प्रतिकेजी रू १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रू ५०, निबुवा प्रतिकेजी रू ५०, नासपाती (चाइनिज) प्रतिकेजी रू २४०, मेवा (नेपाली) प्रतिकेजी रू ५०, मेवा (भारतीय) प्रतिकेजी रू १००, अम्बा प्रतिकेजी रू १२०, लप्सी प्रतिकेजी रू ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रू ५००, किबी प्रतिकेजी रू २५०, आभोकाडो प्रतिकेजी रू २५०, अमला प्रतिकेजी रू ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रू १२०, खुर्सानी सुकेको प्रतिकेजी रू ४००, खुर्सानी हरियो प्रतिकेजी रू ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रू ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रू ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रू ३००, भेडे खुर्सानी प्रतिकेजी रू ७०, लसुन हरियो प्रतिकेजी रू ७०, हरियो धनिया प्रतिकेजी रू ४०, लसुन सुकेको (चाइनिज) प्रतिकेजी रू ३००, लसुन सुकेको (नेपाली) प्रतिकेजी रू ३००, छ्यापी सुकेको प्रतिकेजी रू १६०, छ्यापी हरियो प्रतिकेजी रू २५०, ताजा माछा (रहु) प्रतिकेजी रू ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रू २६०, ताजा माछा (छडी) प्रतिकेजी रू २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रू ४५०, रूख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रू ३००, सिताके च्याउ प्रतिकेजी रू ८०० तोकेको छ ।

अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु

किमाथाङ्का (सङ्खुवासभा)-यहाँ निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु भएको छ । यही माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयअनुसार प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो । सर्वोच्च अदालतले गत पुस १७ गते अरुण तेस्रो प्रवेश मार्गको मुआब्जा एक महिनाभित्र वितरण गर्न आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार सरोकारवाला र सर्वदलीय बैठकबाट कार्यविधि मापदण्ड निर्माण गरेर छुट मुआब्जा वितरणका लागि निवेदन सङ्कलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । सहायक प्रजिअ घिमिरेका अनुसार छुट मुआब्जा वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विवरण सङ्कलन भइरहेको छ । छुट मुआब्जाका लागि हालसम्म ५० वटा निवेदन प्राप्त भइसकेका छन् । उक्त निवेदन रूजु गरेर लाभ कर लाग्ने वा नलाग्ने छुट्याएपछि सम्बन्धित व्यक्तिको खातामा केही दिनभित्र मुआब्जा रकम जम्मा गरिने जिल्ला प्रशासनले जनाएको छ । 

अदालतले छयाङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जा वितरण गर्न आदेश दिएको थियो । अरूण तेस्रो प्रवेश मार्ग सङ्घर्ष समितिले मुआब्जा दिन छुट बाँकी चार सय ५४ रोपनी जग्गाको मुआब्जा माग गर्दै आएका थिए । 

विसं २०८० वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको छ । छुट मुआब्जावापतको रु ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसि) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा भइसकेको जनाइएको छ । 

आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

सुदूरपश्चिम-क्रिकेटको सहर धनगढीमा आज शनिबारदेखि सुरु हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को तयारी पूरा भएको छ । आयोजक गो ड्रिमर्सले आज धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको तयारी पूरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको जानकारी दिनुभयो । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेट खेलको विकासमा योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने प्रतियोगिताका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् । मैदानमा दर्शक बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेन्डस् क्लब डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका खेलाडीहरु समावेश छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडी छन् ।

समूह ए मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका आठ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी समावेश छन् ।
अर्जुन ट्रफीमा झण्डै रु २० लाख पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ ।

अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका विभिन्न उमेर समुहका खेलाडीहरु खेल्दैछन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन् । सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडी समावेश छन् ।
न्यु होराईजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडी समावेश छन् । क्रिकेट एक्सीलेन्स सेन्टरबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारी समावेश छन् ।

दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहोरा, दिपक बोहोरा, बसन्त खत्री लगायतका खेलाडी समावेश हुँदा घोडाघोडी— ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडी छन् । बोष्टन क्रिकेट झापाबाट पवन कार्की, रमेश भट्ट लगायतका खेलाडीको सहभागिता छ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले रु एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा रु एक लाख पुरस्कार दिने भएको हो ।

सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु

घोडाघोडी (कैलाली)-सुदूरपश्चिम प्रदेशमा गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम आजदेखि सुरु भएको हो ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नेगरी रु छ करोड १५ लाख लागतमा निर्माण सुरु भएको हो । एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवैपट्टि दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किमी सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ ।

  यहाँ सडक निर्माणको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “सेती राजमार्ग निर्माण लामो समयदेखि ढिला भइरहेको छ, यसलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनी लाग्नुपर्छ, स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ”, उहाँले भन्नुभयो ।

अध्यक्षले राजमार्गअन्तर्गत पर्ने बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको भन्दै अर्को पुल केही महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । “सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नु हो । त्यसैले पनि हामीले सबै समयमा काम सम्पन्न गर्न/गराउन समन्वय गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किमी सडक कालोपत्रको काम पनि भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किमी सडक मात्र ट्रयाक खोल्न बाँकी रहेको भन्दै उक्त ट्रयाक खुलेमा टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सम्पर्कमा जोडिने उहाँले उल्लेख गर्नुभयो ।  

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि गैँडा स्थानान्तरण गर्ने

चितवन, १९ माघ : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।

केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उहाँले बताउनुभयो । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ ।

उहाँले भन्नुभयो, “अहिले हामीले दुईवटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो । स्थानान्तरण गर्दा वयस्क गैँडा गरिने उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।” गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उहाँले बताउनुभयो । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उहाँले जानकारी दिनुभयो ।

तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।

यस वर्ष बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

ढोरपाटन (बागलुङ), १९ माघः यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उहाँको भनाइ छ ।

अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोगसहित अनुदान दिने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मकरूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनुभएको छ, यस वर्ष रु ५ ले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानले सुन्तला बजार पठाइ राख्नुभएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

काठेखोला किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजारको सुन्तला उत्पादन गरेको बताउनुभयो । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि आम्दानी भने बढी भएको बताउनुभयो । पोहोर साल रु ११ लाखको सुन्ताल बिक्री गरेको उहाँले जानकारीदिनुभयो । आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटल फल दिएको उहाँको भनाइ छ । 

शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा

काठमाडौँ, १९ माघः साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् । माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ । शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारी गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिनुभयो ।

आज बेलुका पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि त्यहाँ माधवनारायणलाई विशेष पूजा आराधना गर्छन् । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर व्रतालुले आइतबार सांस्कृतिक शहर पनौती परिक्रमा गर्छन् । माघ शुक्ल चौथीका दिन आइतबार पनौतीको परिक्रमा सकी व्रतालुले दिउँसोको भोजन बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा गर्छन् । आइतबार दिउँसो भोखुसीको भोजनपछि व्रतालु साँखु फर्कन्छन् । माधवनारायणका व्रतालुले साँखुमा श्रीपञ्चमी  र लगला सप्तमी पर्व मनाउँछन् । 

माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको तेस्रो परदेश यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । चाँगुको यात्रा गरेका बेला भने व्रतालुले दिउँसोको भोजन साँखु फर्किएर नै गर्ने व्रत विधि छ । माधवनारायण व्रतालुले गर्ने यो यात्रालाई प्राचीनकालदेखि नै परदेश यात्राको सङ्ज्ञा दिने गरिएको साँखुको धार्मिक, सांस्कृतिक विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका स्थानीयवासी प्रकाशमान श्रेष्ठ सक्व बताउनुहुन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट बज्रयोगिनी, पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने गर्छ । तेस्रो यात्रा पनि दुई दिन र एक रातको हुने प्राचीनकालदेखिको परम्परा छ । 

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्ने व्रत विधि छ । नजिकका आफन्तले निराहार बसी दुध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ । स्वयंसेवकले व्रतालुलाई सहयोग गर्छन् ।

गायक रायमाझीको नयाँ गीत “लाहुरे टाँसेको” सार्वजनिक

अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले “लाहुरे टाँसेको” म्युजिक भिडियो गीत सार्वजनिक गरेका छन् ।काठमाडौं बसेर गीत संगीतमा रमाइरहेका रायमाझीले लाहुरे टाँसेको भिडियो आफ्नै युट्युब च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपामाइ लाइ सिरमा राखेर सुपामाइकै काखमा आएर गीत को सुटिङ सम्पन्न गरेका रायमाझीले सुटिङकै दौरान जिल्ला बासीलाइ सम्म निम्तो गरेका थिए ।

सार्वजनिक गीतमा रायमाझीको शब्द संगीत रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी हुन् ।गीतमा प्रदेश देखि आएको लाउरे सुपादेउरालीको कथा माया प्रेमलाई पन्जे बाजाको रुपमा चित्रर्ण गर्न खोजिएको छ । रायमाझी परिवारको सांगीतिक कार्यक्रमका लागि देश प्रदेशमा पनि उनको उत्तिकै चर्चा रहेको पाइन्छ ।

रायमाझीले थुप्रै गित सार्वजनिक गरेका छन् । साइनो हरायो , गाउँका लाउरे, पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।
पन्जे बाजा “लाहुरे टाँसेको” गीत बिश्वास नेपालले एरेन्ज गरेका हुनभने रेकडिङ राजु सुनामले गरेका हुन् । स्टुडियो ओजन मार्फत रेकर्डिङ गीतको अडियो मिक्सिङ बिनोद परियारले गरेका हुन् ।

कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकप कबिन भाइको रहेको थियो ।

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

काठमाडौँ, १९ माघ : चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो ।

नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्राबास, ब्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनि गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट ब्यवस्था गरेको छ ।

उपरोक्त कानूनी व्यवस्था हुँदा हुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र मदिरा, सूर्तिजन्य पदार्थहरु बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभाबकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ । ”

विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,“कसैले यो सूचनालाई अबज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्रि बितरण गर्ने ब्यबसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”