`

यस वर्ष बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

ढोरपाटन (बागलुङ), १९ माघः यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उहाँको भनाइ छ ।

अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोगसहित अनुदान दिने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मकरूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनुभएको छ, यस वर्ष रु ५ ले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानले सुन्तला बजार पठाइ राख्नुभएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

काठेखोला किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजारको सुन्तला उत्पादन गरेको बताउनुभयो । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि आम्दानी भने बढी भएको बताउनुभयो । पोहोर साल रु ११ लाखको सुन्ताल बिक्री गरेको उहाँले जानकारीदिनुभयो । आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटल फल दिएको उहाँको भनाइ छ । 

शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा

काठमाडौँ, १९ माघः साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् । माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ । शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारी गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिनुभयो ।

आज बेलुका पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि त्यहाँ माधवनारायणलाई विशेष पूजा आराधना गर्छन् । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर व्रतालुले आइतबार सांस्कृतिक शहर पनौती परिक्रमा गर्छन् । माघ शुक्ल चौथीका दिन आइतबार पनौतीको परिक्रमा सकी व्रतालुले दिउँसोको भोजन बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा गर्छन् । आइतबार दिउँसो भोखुसीको भोजनपछि व्रतालु साँखु फर्कन्छन् । माधवनारायणका व्रतालुले साँखुमा श्रीपञ्चमी  र लगला सप्तमी पर्व मनाउँछन् । 

माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको तेस्रो परदेश यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । चाँगुको यात्रा गरेका बेला भने व्रतालुले दिउँसोको भोजन साँखु फर्किएर नै गर्ने व्रत विधि छ । माधवनारायण व्रतालुले गर्ने यो यात्रालाई प्राचीनकालदेखि नै परदेश यात्राको सङ्ज्ञा दिने गरिएको साँखुको धार्मिक, सांस्कृतिक विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका स्थानीयवासी प्रकाशमान श्रेष्ठ सक्व बताउनुहुन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट बज्रयोगिनी, पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने गर्छ । तेस्रो यात्रा पनि दुई दिन र एक रातको हुने प्राचीनकालदेखिको परम्परा छ । 

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्ने व्रत विधि छ । नजिकका आफन्तले निराहार बसी दुध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ । स्वयंसेवकले व्रतालुलाई सहयोग गर्छन् ।

गायक रायमाझीको नयाँ गीत “लाहुरे टाँसेको” सार्वजनिक

अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले “लाहुरे टाँसेको” म्युजिक भिडियो गीत सार्वजनिक गरेका छन् ।काठमाडौं बसेर गीत संगीतमा रमाइरहेका रायमाझीले लाहुरे टाँसेको भिडियो आफ्नै युट्युब च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपामाइ लाइ सिरमा राखेर सुपामाइकै काखमा आएर गीत को सुटिङ सम्पन्न गरेका रायमाझीले सुटिङकै दौरान जिल्ला बासीलाइ सम्म निम्तो गरेका थिए ।

सार्वजनिक गीतमा रायमाझीको शब्द संगीत रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी हुन् ।गीतमा प्रदेश देखि आएको लाउरे सुपादेउरालीको कथा माया प्रेमलाई पन्जे बाजाको रुपमा चित्रर्ण गर्न खोजिएको छ । रायमाझी परिवारको सांगीतिक कार्यक्रमका लागि देश प्रदेशमा पनि उनको उत्तिकै चर्चा रहेको पाइन्छ ।

रायमाझीले थुप्रै गित सार्वजनिक गरेका छन् । साइनो हरायो , गाउँका लाउरे, पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।
पन्जे बाजा “लाहुरे टाँसेको” गीत बिश्वास नेपालले एरेन्ज गरेका हुनभने रेकडिङ राजु सुनामले गरेका हुन् । स्टुडियो ओजन मार्फत रेकर्डिङ गीतको अडियो मिक्सिङ बिनोद परियारले गरेका हुन् ।

कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकप कबिन भाइको रहेको थियो ।

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

काठमाडौँ, १९ माघ : चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो ।

नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्राबास, ब्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनि गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट ब्यवस्था गरेको छ ।

उपरोक्त कानूनी व्यवस्था हुँदा हुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र मदिरा, सूर्तिजन्य पदार्थहरु बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभाबकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ । ”

विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,“कसैले यो सूचनालाई अबज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्रि बितरण गर्ने ब्यबसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

काठमाडौँ, १९ माघ : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तनहुँका रवीन बने कायाक ‘च्याम्पियन’

नवलपुर (नवलपरासी), १८ माघः त्रिशूली र नारायणी नदीमा आयोजना गरिएको ३५ किलोमिटर राष्ट्रिय कायाक प्रतियोगितामा तनहुँका रवीन गुरूङ विजेता बनेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्मको दूरी दुई घण्टा २८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै रवीन विजेता बनेका हुन् ।

गण्डकी प्रदेश खेलकुद विकास समितिले आज आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिताको विजेता बनेका उनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता तनहुँका प्रमोद गुरूङ भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

देशभरका ११ जिल्लाका २५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा उदयपुरका कृष्ण खड्काले दुई घण्टा ३० मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।

धनकुटाका विजय माझीले दुई घण्टा ३० मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्दै रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निर्धारित दूरी दुई घण्टा ३३ मिनेट पाँच सकेण्डमा पार गर्दै गोरखाका सुरेन्द्र चेपाङ सान्त्वना भएका छन् । उनलाई नगद रू तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरूलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा समितिका सदस्य सचिव शर्माले नेपालमा खेलाडीहरू खेलेरै जीवनयापन गर्ने अवस्थामा आइसकेको बताउनुभयो । राज्यबाट खेलकुदमा लगानी कम भइरहेको सन्दर्भमा निजी क्षेत्रले खेलकुद क्षेत्रलाई अगाडि बढाउन लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक पाउने खेलाडीलाई सम्मानित गर्ने किसिमले कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

“प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई समेटेर विभिन्न आठवटा विधामा मेडल दिनेगरी कार्यविधि ल्याएको छ”, शर्माले भन्नुभयो, “अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी, खेलकुदको क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम, खेलकुदको विकासमा काम गर्ने व्यक्ति तथा संस्था, रेफ्री, कोचसहित पर्नेगरी आठ वटा विधाबाट वार्षिक रूपमा मेडल प्रदान गर्दैछ ।” खेल क्षेत्रलाई योगदान पुग्नेगरी प्रदेशले मुलुकमा पहिलोपटक कार्यविधि ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा पारिश्रमिक दिन सुरु गरिएको भन्दै सदस्य सचिवले यहाँ रहेका नौ जना ओलम्पिक खेलाडीलाई गतवर्षदेखि मासिक रूपमा रु पाँच हजार भत्ता दिइएको उल्लेख गर्नुभयो । गण्डकी जल सम्पदामा धनी रहेको भन्दै उहाँले पानीमा खेलिने साहसिक खेलकुद गर्दै जल पर्यटनको प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।

“जल पर्यटनमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खेलकुद क्षेत्रलाई जोड्न सकिन्छ”, उहाँले भन्नुभयो, “धार्मिक पर्यटक र साहसिक पर्यटकलाई जोडेर लैजान सकेमा प्रदेशवासीको आयआर्जनमा वृद्धि हुनेछ ।” नारायणी नदीमा ड्रागन मोटर रेस गर्न सकिने सम्भावना भएको बताउँदै उहाँले यसको तयारी गरेमा जल पर्यटन प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश खेलकुद विकास समितिका सदस्य एवं राष्ट्रिय कायाक प्रतियोगिताका संयोजक वसन्तराज दवाडीले विगत चार वर्षदेखि जलयात्रा र साहसिक खेलकुदका गतिविधि गर्दै आएको बताउनुभयो । साहसिक खेलको प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको भन्दै उहाँले आगामी वर्षमा यस प्रतियोगितालाई अझै बृहत् तरिकाले आयोजना गरिने जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले नवलपुर खेलकुदका लागि उर्वर भूमि भए पनि यहाँ अभ्यासका लागि पर्याप्त पूर्वाधार नभएको बताउनुभयो । उहाँले यस क्षेत्रमा आवश्यकता अनुसार खेलकुदका पूर्वाधार निर्माण गरी राष्ट्रिय, अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो ।

अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ

काठमाडौँ, १८ माघ : केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को सङ्गठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैङ्कका चेक १९ थान र नगद रू पाँच लाख ५० हजार बरामद गरेको छ । विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता सुधिरराज शाहीले आज राससलाई जानकारी दिनुभयो ।

उनीहरूले विभिन्न बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैङ्क तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैङ्क तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैङ्क तथा वालेजमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ ।

मौलिक गीत ‘मयाली’ को चर्चा

गण्डकी, १८ माघ : ठेट लय र शब्दमा बनेको मौलिक गीत ‘मयाली’ ले यतिबेला लोकसङ्गीत वृत्तमा चर्चा पाइरहेको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीतलाई युट्युबमा पनि रूचाइएको छ । थापाको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार सार्वजनिक गीतले हालसम्म तीन लाख बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द/सङ्गीत पनि थापाकै रहेको छ ।

गीतको म्युजिक भिडियोको छायाङ्कन बागलुङको ढोरपाटन उपत्यकामा गरिएको थियो । थापाको उक्त गीतले मौलिक सिर्जनाको मूल्यलाई थप स्थापित गरिदिएको लोकसङ्गीत क्षेत्रका अगुवाहरूले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका निवर्तमान अध्यक्ष एवं सर्जक रमेश बिजीले बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्र नभएर बचाउनेहरू पनि रहेको भन्दै थापाको प्रशंसा गर्नुभएको छ ।

फेसबुकमा उक्त गीतलाई साझा गर्दै बिजीले लेख्नुभएको छ, “पुर्खाको नासो मयाली भाकाको मौलिकतालाई शब्द, सङगीत र शिल्पले सिँगारेर यति सुन्दर र सरस तरिकाले प्रस्तुत गर्नुभएको यो गीत धेरैचोटि रसपान गरिसके पछि लाग्यो, बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्रै छैनन्, बचाउनेहरू पनि छन् ।लोकसङ्गीतमा रहेर यत्तिको धर्म निर्वाह गर्ने प्रयास मात्रै गर्न पाए भोलिको पिँढीले लोक दोहोरीगीतलाई सम्मानले पूजा गर्थे कि !” बिजीले झैँ अन्य सर्जक र लोकसङ्गीतप्रेमीहरूले उक्त गीतको मौलिकपनलाई लिएर सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले उक्त गीतलाई लोकसङ्गीतको सर्वोत्तम उपहारका रूपमा टिपप्णी गर्नुभएको छ । “यस प्रकारका कृतिले हाम्रो लोकसङ्गीत सगर्व सर्वोच्च शिखरमा देख्न पाउँदा हर्षानुभूति हुन्छ । हाम्रो सम्पत्ति नै संस्कृति र प्रकृति त हो नि !” गायक तथा अभिनेता प्रकाश सपुतले सरल, सुन्दर र सुमधुर भन्दै उक्त गीतलाई आफनो फेसबुकमा साझा गर्नुभएको छ । लोकगायक विष्णु खत्रीले मौलिक गीतका लागि गायक थापा र गायिका घर्तीमगरप्रति साधुवाद व्यक्त गर्नुभएको छ ।

युट्युबमा ‘भ्यूज’ बढाउने नाममा लोकगीत–सङ्गीतको मर्ममाथि प्रहार भइरहेका बेला यस्ता मौलिक सिर्जनालाई दर्शक÷श्रोताले साथ दिनुपर्ने सर्जकहरूको भनाइ छ । बागलुङमा जन्मनुभएका थापा समाजका रीतिथिती, संस्कृति र भोगाइहरूलाई गीतमा उधिन्दै आउनुभएको छ । सङ्गीतकर्ममा दुई दशक बिताउनुभएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ । उहाँ नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रूपमा दरिनुभएको छ ।

भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय हुनुहुन्छ । उहाँका ‘सालको पातको टपरी’, ‘बोकेझार’, ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’लगायत गीत चर्चित छन् । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिनुभएको छ । कतिमा शब्द रच्नुभएको छ भने कुनै आफैँले गाउनुभएको छ । चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ गीतमा पनि उहाँको स्वर र सङ्गीत रहेको छ ।

एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ ।

राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने बैठकमा सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । यही माघ २९ गते पोलिटब्यूरो बैठक बस्ने कार्यसूची छ ।

दातृ राष्ट्रको सहयोग अपरिहार्य – पूर्वअर्थमन्त्री पाण्डे

जनकपुर, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको विकासमा योगदान दिने अन्तर्राष्ट्रिय निकाय तथा दातृ राष्ट्रको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।

मधेस प्रदेशसभाको सातौँ वार्षिकोत्सवका अवसरमा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले विश्वको भू–राजनीतिकको प्रभाव नेपालजस्तो राष्ट्रमा पर्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले नेपालको कूल आम्दानीले साधारण खर्च गर्नमात्र पुग्ने भएकाले विकासको काम गर्न विदेशी अनुदान, विदेशी सहयोग तथा ऋण लिनुपर्ने नेपालको बाध्यता भएको बताउनुभयो ।

नेपालको व्यापार घाटा कम गर्न विद्युत् ऊर्जाको विकास तथा भारतमा निर्यातसम्बन्धी सम्झौता महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेशको आर्थिक विकासका लागि मार्गप्रशस्त गर्नुका साथै सङ्घको ध्यानाकर्षण गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

अर्थविद् प्राध्यापक डा भोगेन्द्र झाले नेपालमा अर्थ राजनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रदेश तथा देशको समृद्धि र विकासका लागि अर्थ राजनीतिक सन्तुलित रूपमा हुन आवश्यक भएको बताउनुभयो ।

सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

काठमाडौँ, १८ माघ : नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने उद्देश्यले बृहत् फोटो तथा हतियारलगायतका सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

यही माघ १५ गतेदेखि जङ्गी अड्डामा सञ्चालित सो प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कूल २९ वटा स्टल राखिएका थिए ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको विकासक्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बालप्रतिभाको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे

काठमाडौँ, १८ माघः संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बालप्रतिभाको प्रतिभा उजागर गर्न उनीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित आठ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह ‘दी स्प्रोटिङ स्टोरिज’ विमोचन गर्दै उहाँले बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाजको अहम् भूमिका हुने बताउनुभयो ।

“सानै उमेरमा बालिका आकृतिले यो स्तरको कथा लेख्नु आफँैमा विशिष्ट क्षमता हो, लेखिकालाई प्रोत्साहन गर्नुपर्छ, जुनसुकै पेसा व्यवसायमा क्रियाशील भए पनि साहित्यमा जोडिएका व्यक्तिहरू अरूको तुलनामा शक्तिशाली हुन्छन्”, मन्त्री पाण्डेले भन्नुभयो । विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै उहाँले साहित्यकारहरू भावुक भएकाले भावुकताले मानिसलाई असल कामप्रति प्रेरित गर्ने उल्लेख गर्नुभयो ।

बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाज सबैले सहयोग गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । उहाँले साहित्यकारको कल्पनाशक्ति अद्भुत हुने बताउँदै आजको च्याट जिपिटी र इन्टरनेटको जमानामा चिन्तन गर्ने कल्पना शक्तिभन्दा सशक्त अन्य कुनै शक्ति नहुने धारणा राख्नुभयो ।

संस्कार पब्लिकेसनद्वारा प्रकाशित उक्त कृतिमा अङ्ग्रेजी माध्यमबाट लेखिएका ११ वटा कथा समावेश छन् । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्याल, लेखक शङ्करकुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउनुका साथै पात्रहरूलाई उचित न्याय दिएको बताउनुभयो ।

ट्रम्पको क्यानाडा, मेक्सिको र चीनमाथिको भन्सार महसुल समयसीमाको प्रतीक्षामा संसार

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार क्यानाडा, मेक्सिको र चीनमाथि व्यापक भन्सार महसुल लगाउने समयसीमा २४ घन्टाभन्दा कम समय बाँकी रहँदा विश्व अर्थतन्त्र यसको प्रभावको लागि तयार हुँदैछ ।

यस महिना पदभार ग्रहण गरेको केही समयपछि ट्रम्पले छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे फेब्रुअरी १ मा ती मुलुकमा २५ प्रतिशत कर लगाउने योजना बनाएको बताउनुभयो ।

उहाँले फेन्टानलकै कारण शनिबारदेखि नै चिनियाँ वस्तुहरूमा थप १० प्रतिशत शुल्क लगाउने विचार गरिरहेको पनि बताउनुभयो ।

बिहीबार उहाँले तीनवटै देशमा कर लगाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुभयो । त्यसै दिन पछि उहाँले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरे सतप्रतिशत शुल्क लगाउने धम्की दिनुभयो । ब्रिक्स राष्ट्रमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

हेरोइनभन्दा धेरै गुणा शक्तिशाली फेन्टानल एक वर्षमा अति मात्रा सेवनका कारण हुने दशौँ हजार मृत्युका लागि जिम्मेवार रहेको छ ।

बेइजिङले यस घातक व्यापारमा आफ्नो संलग्नताको दाबीलाई पहिले नै खारेज गरेको छ । त्यस्तै क्यानाडाले संयुक्त राज्य अमेरिका प्रवेश गर्ने कागजातविहीन आप्रवासीहरू र फेन्टानलको एक प्रतिशतभन्दा कम मात्र उत्तरी सीमा हुँदै आउने भन्दै प्रतिवाद गरेको छ ।

जेपी मोर्गनका विश्लेषकहरू भन्सार महसुलको प्रतिज्ञा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाबीच व्यापार सम्झौताको पुनर्वार्ता गतिशील बनाउन ‘सौदाबाजीको साधन’ हो भन्ने विश्वास गर्छन् ।

“यद्यपि दशकौँ लामो स्वतन्त्र व्यापार क्षेत्रलाई सम्भावित रूपमा ध्वस्त पार्नु एउटा ठूलो धक्का हुनसक्छ”, जेपी मोर्गनको हालैको टिप्पणीमा उल्लेख छ ।

जेपी मोर्गनका अनुसार ट्रम्पको पहिलो कार्यकालबाट एउटा पाठ के थियो भने नीति परिवर्तनहरू छोटो सूचनामा घोषणा वा धम्की दिन सकिन्थ्यो ।

अमेरिकी व्यवसायहरूले विदेशबाट खरिद गर्दा सरकारलाई शुल्क तिर्छन् र आर्थिक भार आयातकर्ता, विदेशी आपूर्तिकर्ता वा उपभोक्ताहरूमा पर्न सक्छ ।

– मन्दीको जोखिम –

कर्नेल विश्वविद्यालयका सहायक प्राध्यापक वेन्डोङ झाङले क्यानाडा र मेक्सिकोले सबैभन्दा बढी २५ प्रतिशतभन्दा कम अमेरिकी कर र दुवै देशबाट समानुपातिक प्रतिशोधको सामना गर्नुपर्ने बताउनुभयो ।

“क्यानाडा र मेक्सिकोले क्रमशः वास्तविक जिडिपी (कूल गार्हस्थ्य उत्पादन) को तीन दशमलव छ प्रतिशत र दुई प्रतिशत गुमाउने छन् भने अमेरिकाले वास्तविक जिडिपीको शून्य दशमलव तीन प्रतिशत गुमाउने छ”, उहाँले भन्नुभयो ।

अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार व्यापक अमेरिकी भन्सार महसुल र ओटावाको समान प्रतिक्रियाले क्यानाडालाई यस वर्ष मन्दीमा पुर्‍याउन सक्छ र संयुक्त राज्य अमेरिकाले पनि हल्का मन्दीको जोखिम मोल्न सक्छ ।

मेक्सिकोले पनि यस्तै अवस्थाको सामना गर्नसक्ने अक्सफोर्ड इकोनोमिक्सका टिम हन्टरले बताउनुभयो ।

क्यानाडा र मेक्सिकोमा लगाइएको करमा कच्चा तेल आयातलाई समावेश गर्ने कि नगर्ने भनेर बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको भन्दै ट्रम्पले त्यहाँ अपवाद हुन सक्छ कि भनेर स्पष्ट नभएको बताउनुभयो ।

क्यानाडा र मेक्सिकोले अमेरिकी कच्चा तेल आयातको ७० प्रतिशतभन्दा बढी आपूर्ति गर्दछन् । यसमा करिब ६० प्रतिशत अमेरिकी आयात क्यानाडाबाट मात्रै हुने गरेको कङ्ग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले जनाएको छ ।

स्टिलोले भन्नुभयो, “क्यानाडाले निर्यात गर्ने र अमेरिकामा परिष्कृत गरिने भारी तेलका लागि अमेरिकामा सजिलो विकल्पहरू छैनन् ।”

पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स (पिआइआइइ) का अनुसार दुवै देशबाट हुने अमेरिकी व्यापारिक सामानको आयात धेरै हदसम्म शुल्कमुक्त वा औसतमा धेरै कम दरमा हुन्छ ।

पिआइआइईको बिहीबारको प्रतिवेदनअनुसार भन्सार महसुल वृद्धिले औद्योगिक खरिदकर्ता र उपभोक्ता दुवैलाई धक्का दिनेछ र यसले मेसिनरीदेखि फलफूलसम्म सबै कुरालाई प्रभावित गर्नेछ ।

यस हप्ता क्यानाडाका अधिकारीहरूले ओटावाले अमेरिकी शुल्क लागू भएमा कामदार र व्यवसायहरूलाई महामारी–स्तरको वित्तीय सहयोग प्रदान गर्ने बताएका थिए ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले बुधबार ओटावाले भन्सार महसुल रोक्न काम गरिरहेको र कडा प्रतिक्रिया दिन तयार रहेको बताउनुभएको थियो ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देश भन्सार महसुलबाट बच्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

ट्रम्पका वाणिज्यमन्त्री मनोनीत हावर्ड लुटनिकले बुधबार यदि क्यानाडा र मेक्सिकोले आप्रवासन र फेन्टानलमा कार्य गरे भने ‘कुनै शुल्क लाग्ने छैन’ भन्नुभयो ।

– ठूलो सम्झौता –

ट्रम्पले चिनियाँ वस्तुहरूमाथि नयाँ भन्सार महसुल लगाउने विचार पनि गरिरहनुभएको छ । बिहीबार उहाँले यसबारे विचार गरिरहेको बताउनुभयो ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस हप्ता पत्रकारहरूलाई भन्नुभयो, “राष्ट्रपतिले भन्नुभएको छ कि उहाँले फेब्रुअरी १ का लागि त्यसबारे अझै पनि गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ ।”

बेइजिङले आफ्नो ‘राष्ट्रिय हित’ को रक्षा गर्ने प्रतिज्ञा गरेको छ र विदेश मन्त्रालयकी एक प्रवक्ताले पहिले नै ‘व्यापार युद्धमा कोही पनि विजेता हुँदैन’ भन्दै चेतावनी दिएकी थिइन् ।

निर्वाचन प्रचार अभियानमा ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशत वा सोभन्दा बढी भन्सार महसुल लगाउने विचार उठाउनुभएको थियो ।

वित्तीय सेवा कम्पनी बिटिआइजीका आइज्याक बोल्टान्स्कीले चिनियाँ सामानहरूमा ‘क्रमिक भन्सार महसुल वृद्धि’ देख्ने अपेक्षा गर्नुभएको छ । यसमा उपभोक्ता वस्तुहरूमा कम वृद्धि हुने सम्भावना छ ।

“हाम्रो बुझाइमा ट्रम्प चीनसँग फाइदा र धम्कीको बीचमा घुम्नुहुनेछ, जसको अन्तिम लक्ष्य उहाँको कार्यकाल समाप्त हुनुअघि कुनै प्रकारको ठूलो सम्झौता गर्नु हो”, उहाँले हालैको एक टिप्पणीमा भन्नुभयो ।

किक बक्सिङ टोली भारत प्रस्थान

काठमाडौँ, १८ माघः चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

भोलिदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दिवान्स रहेका श्रेष्ठ छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गर्नुभयो ।

‘पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ’ – उपमहासचिव गजुरेल

बनियानी (झापा), १८ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आयोजित पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेता तथा कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

“पार्टीलाई थप सशक्त र जनता केन्द्रित बनाउन सबै नेता–कार्यकताहरू तल्लो तहमा उत्रिएर वैचारिक रूपमा नागरिकलाई सङ्गठित गर्नुपर्छ”, नेता गजुरेलले भन्नुभयो, “अब युवाहरू जाग्नु पर्ने समय आएको छ । मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि युवाको सक्रियता आवश्यक छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटि भएको उहाँले उल्लेख गर्नुभयो ।

“बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन”, नेता गजुरेलले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नुपर्छ ।”

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईं, केन्द्रीय सदस्य इन्द्र आङ्बोलगायतले उत्पादन र रोजगारीका क्षेत्रमा पार्टीले काम गर्नुपर्ने बताउनुभएको थियो ।

फागुन ३ गतेदेखि हुलाकी राजमार्ग अभियान

नेकपा (माओवादी केन्द्र) को राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियान झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि सुरू हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरू हुन लागेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो ।

हुलाकी राजमार्गबाट सुरू हुने अभियान महाकाली पुगेर पुनःमदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बूको सगरमाथा फेदीमा समापन हुने उहाँले बताउनुभयो । हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि आज पार्टीको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी कार्यकर्ता परिचालनदेखि गाउँ, नगर अधिवेशन सम्पन्न गर्नेलगायत कार्य भइरहेको पार्टीले जनाएको छ ।

बैठकमा अभियानको महत्व र औचित्यमाथि प्रकाश पार्दै पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई सशक्त बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको उल्लेख गर्नुभयो । उक्त अभियानलाई सफल बनाउन एकीकृत र केन्द्रीकृत कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका कचनकवल गाउँपालिकाका अध्यक्ष सुकराज लिम्बूले स्वागत गर्नुभएको थियो भने जिल्ला सचिव टुडूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्युः रूसी अधिकारी

युक्रेनी सेनाले रूसबाट कब्जामा लिएकोे एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दावी गरेको छ ।

युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।

अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ।

रूसले अहिले धेरै शहरहरू आफ्नो कब्जामा लिएको छ ।

रूसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ‘२२ जना बासिन्दाको हत्या’ भएको घटनाको अनुसन्धान गरिरहेको बताएको होे ।

विभिन्न घरको भूईँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् । तीमध्ये एक येभगेनी फाब्रिसेन्कोलाई कुस्र्क क्षेत्रमा भएको लडाइँको क्रममा पक्राउ गरिएको बताएका छन् ।

समितिले फेब्रिसेन्को नाम गरेका एक व्यक्तिसँग सोधपुछ गरेको भिडियो सार्वजनिक गरेको छ।

तत्काल उक्त दाबीको पुष्टि गर्ने भरपर्दो माधइम नभेटिएको र युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

रूस र युक्रेनले करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एकअर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

रूसी सेनामाथि किएभ नजिकैको बुचा शहरमा सयौँ सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ । एएफपीका फोटो पत्रकारले मारिएका युक्रेनी नागरिकहरूको शवको फोटो खिचेका छन् जसमा केही हात बाँधिएको अवस्थामा छन्।

मस्कोले उक्त आरोपको खण्डन गर्दै किएभमाथि उक्त फुटेज बनाएर षड्यन्त्रको मञ्चन गरेको आरोप लगाएको छ ।

एएफपीलगायत केही स्वतन्त्र तथ्य जाँच गर्ने संस्था र सञ्चारमाध्यमले रूसको उक्त दाबीको खण्डन गरेका छन् ।

म्यान्मामा थप छ महिना सङ्कटकाल

म्यान्माको जुन्ता प्रशासनले सत्ता सम्हालेको चार वर्षपछि शुक्रबार सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि लम्ब्याएको छ ।

सन् २०२१ को फेब्रुअरी १ मा भएको रक्तपातपूर्ण र बहुपक्षीय द्वन्द्वमा देश फसेको छ, जसले १० वर्ष लामो लोकतान्त्रिक शासनको अन्त्य गरेको थियो ।

देशको उत्तर र पश्चिममा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धनका कारण विगत एक वर्षमा युद्धभूमिमा भएको क्षतिको शृङ्खलाले गर्दा सेनाले आफ्नो शासनविरुद्ध सशस्त्र प्रतिरोधलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ।

सेनाप्रमुख मिन आङ ह्लाइङको अध्यक्षतामा रहेको सत्तारुढ सैन्य परिषद्ले सर्वसम्मत रुपमा म्याद थप गर्ने निर्णय गरेको जुन्ताको सञ्चार समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सन् २००८ को संविधानको धारा ४२५ अनुसार राष्ट्रिय सुरक्षा र सुरक्षा परिषद्का प्रमुख र कार्यवाहक राष्ट्रपतिसहित सबै सदस्यले एकसाथ सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि लम्ब्याउने निर्णय गरेका छन् ।

सङ्कटकालीन अवस्थामा निर्वाचन हुन सक्दैन, त्यसैले सन् २०२५ मा हुने भनिएको लामो समयदेखिको वाचा अनुसारको निर्वाचन वर्षको उत्तरार्धसम्म हुने छैन ।

मिन आङ ह्लाइङले सत्तारुढ परिषद्लाई आपतकालीन अवस्था हटाउन र निर्वाचन सम्पन्न गर्नुअघि ‘शान्ति र स्थिरता अझै आवश्यक रहेको’ बताउनुभएको छ ।

सन् २०२० मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले भारी मतान्तरले जितेको चुनावमा धाँधलीको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो ।

स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्सेज’ सँग लडेपछि यसले धेरै पटक सङ्कटकालीन अवस्थाको विस्तार गरेको छ।

दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने

चिनियाँ स्टार्टअप डिपसिकले यस हप्ता आफ्नो शक्तिशाली नयाँ एआई च्याटबट लन्च गरेपछि दक्षिण कोरियाले कम्पनीलाई प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गर्छ भनेर सोध्ने सियोलको डाटा नियामक निकायले शुक्रबार बताएको छ ।

डिपसिकले यसको आर१ च्याटबटले अमेरिकी कम्पनीहरूले गरेको लगानीको एक अंशमा संयुक्त राज्य अमेरिकाका कृत्रिम बौद्धिकता (एआई) अग्रणीहरूको क्षमतासँग मेल खाने दाबी गरेको छ ।

यो समाचारले प्रविधि दिग्गजहरूमा गिरावट ल्याएको छ – एनभिडिया सोमबार १७ प्रतिशतले खस्यो – र हालका वर्षहरूमा एआईमा लगानी गरिएको सयौँ अरब डलरबारे प्रश्नहरू उठाएको छ ।

“डिपसिकले व्यक्तिगत डाटा कसरी ह्यान्डल गर्छ भन्नेबारे जानकारी प्राप्त गर्न हामीले शुक्रबारदेखि नै लिखित रूपमा अनुरोध पेश गर्ने योजना बनाएका छौँ”, दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण आयोगका एक अधिकारीले एएफपीलाई बताए । यद्यपि उनले थप विवरण दिएनन् ।

अन्य देशले पनि डिपसिकको एआई च्याटबटबारे प्रश्न उठाएका छन् ।इटालीले यस हप्ता आर१ मोडेलमा अनुसन्धान सुरु गरेको छ र यसलाई इटालियन प्रयोगकर्ताहरूको डाटा प्रशोधन गर्नबाट रोक लगाएको छ ।

इटालियन डाटा संरक्षण एजेन्सीले डिपसिकको एआई प्रणालीलाई तालिम दिन कुन जानकारी प्रयोग गरिन्छ र यदि डाटा इन्टरनेटबाट स्क्र्याप गरिएको हो भने प्रयोगकर्ताहरूलाई उनीहरूको डाटा प्रशोधनबारे कसरी सूचित गरिन्छ भनेर सोधिरहेको छ ।

फ्रान्सेली नियामक सिएनआइएलले पनि डिपसिकसँग यसको च्याटबटबारे ‘यसको कार्यप्रणाली र डाटा संरक्षणसम्बन्धी जोखिमहरू राम्रोसँग बुझ्न’ सोधपुछ गर्ने बताएको छ ।

चिनियाँ स्टार्टअपले आफ्नो ठूलो लर्निङ मोडल सञ्चालन गर्न कम उन्नत एच८०० चिपहरू – अमेरिकी निर्यात नियन्त्रणअन्तर्गत २०२३ सम्म चीनलाई बिक्रीका लागि अनुमति दिइएको – प्रयोग गरेको बताएको छ ।

दक्षिण कोरियाली चिप दिग्गजहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स एआई सर्भरहरूमा प्रयोग हुने उन्नत चिपहरूका प्रमुख आपूर्तिकर्ता हुन् ।डिपसिकको प्रभावबारे चिन्ताले शुक्रबार लामो बिदापछि बजार पुनः खुल्दा सियोलमा स्टकहरूलाई क्षति पुर्‍याएको छ ।सामसुङ दुई प्रतिशतभन्दा बढीले घटेको छ भने एसके हाइनिक्स एक विन्दुमा करिब १२ प्रतिशतसम्म खसेको छ ।

इजरायलद्वारा लेबनानको बेका घाटीमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण

इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको छ ।

सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिरियाली र लेबनानको सीमामा हिजबुल्लाहले लेबनानमा हतियार तस्करी गर्न प्रयोग गर्ने हतियार विकास र निर्माण गर्न प्रयोग गरिने भूमिगत पूर्वाधार भएको हिजबुल्लाह आतङ्ककारी स्थल लाई निशाना बनाइएको छ ।”

इजरायल र इजरायली सेनाका लागि ‘खतरा’ रहेका स्थानलाई लक्षित गरी रातभर आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

हिजबुल्लाहको ‘सर्भिलेन्स’ ड्रोनलाई इजरायली भूमिमा प्रवेश गरेको र यसले इजरायल र लेबनानबीचको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बिहीबार इजरायली सेनाले जनाएको थियो ।

“इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताप्रति सेना प्रतिबद्ध छ तर यस प्रकारको कुनै पनि आतङ्कवादी गतिविधिलाई अनुमति दिने छैन,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले लेबनानबाट आफ्नो सेना फिर्ता गर्न तोकिएको जनवरी २६ को समयसीमामा सेना फिर्ता नगरेपछि सेना फिर्ता गर्न आगामी फेब्रुअरी १८ सम्मका लागि थप समय दिइएको छ ।

लेबनानी सेनाले सम्झौताको आफ्नो पक्ष पूरा नगरेको आरोप लगाउँदै इजरायलले जनवरी २६ समयसीमामा सेना फिर्ता गर्ने सम्भावना नरहेको बताएको छ ।

युद्धविरामको शर्तअनुसार हिजबुल्लाहले आफ्नो सेनालाई सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लिटानी नदीको उत्तरमा फिर्ता गरेपछि लेबनानी सेना दक्षिणमा तैनाथ हुने भएको छ ।

इरान समर्थित लडाकू समूह हेजबुल्लाहले युत्रविराम सम्झौता अनुसार दक्षिणमा बाँकी रहेका कुनै पनि सैन्य संरचना हटाउनु आवश्यक रहेको बताएको छ ।

नाइजर ‘ओन्कोसेर्सियासिस रोग’ अन्त्य गर्ने पहिलो अफ्रिकी देश

नाइजरका जनस्वास्थ्य तथा सामाजिक मामिला मन्त्री गरबा हाकिमीले बिहीबार एक समारोहमा औपचारिक रूपमा देश ‘ ओन्कोसेर्सियासिस’बाट मुक्त भएको घोषणा गर्नुभयो । ओन्कोसेर्सियासिस आँखा र छाला सम्बन्धी रोग हो ।

“यस ऐतिहासिक उपलब्धिको साथ नाइजर यो रोग उन्मूलन गर्ने अफ्रिकाको पहिलो देश बनेको छ, जसले विशेष गरी निश्चित जलमार्गहरू नजिक बसोबास गर्ने जनसङ्ख्यालाई असर गरेको थियो ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ओन्कोसेर्सियासिस हटाउन आवश्यक बेन्चमार्क हासिल गरेकोमा नाइजरलाई बधाई दियो ।

डब्लुएचओका स्थानीय प्रतिनिधि कासिमिर मानेन्गुले नाइजरको प्रतिबद्धता र नेतृत्वको प्रशंसा गर्नुभयो ।

“म नाइजरलाई यस रोगबाट आफ्नो जनसङ्ख्यालाई मुक्त गर्नको लागि बधाई दिन्छु,” डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताउनुभयो ।“यसले अझै पनि ओन्कोसेर्सियासिससँग सङ्घर्ष गरिरहेका अन्य देशहरूको लागि आशा प्रदान गर्दछ ।”

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर

पाटन (ललितपुर), १८ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको उपस्थितिमा ‘ऊर्जा दक्षता परियोजना’सम्बन्धी संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ ।

आज ललितपुरमा आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था (जिआइजेड) को नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमबीच नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तिकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा ऊर्जा मन्त्रालयका सहसचिव जीवच्छ मण्डल, जिआइजेडका नेपाल देशीय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस र कार्यक्रम व्यवस्थापक डा फ्र्याङक फेचरले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि जोसे लुइस विनुएसा–सान्तामारिया, जर्मन दूतावासका उपप्रमुख बेन्जामिन साइडललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियोे ।

जर्मन सरकारको छ मिलियन सहयोगमा सञ्चालन हुने उक्त परियोजनाले नेपालको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा सङ्घीय, प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि एवं प्राविधिक सम्भाव्यता अध्ययनमा सहयोग गर्ने सम्झौता भएको मन्त्रालयका सचिव आचार्यले जानकारी दिनुभयो ।

परियोजनामार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा निजी क्षेत्रलाई सक्षम बनाउन वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै बुटवल, पोखरा, भैरहवा क्षेत्रमा जलवायुमैत्री प्रविधिको प्रयोग गरी विद्युत् खपत बढाउन आवश्यक नीतिगत एवं प्रविधिको प्रवर्द्धनमा सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार परियोजनाको अवधि तीन वर्ष रहने छ ।

मन्त्रालयका सचिव आचार्यले परियोजनाले नेपालको ऊर्जा क्षेत्रमा विकासको नयाँ मार्गचित्र तय भएको बताउनुभयो । “ऊर्जा विकास तथा नवीकरणीय ऊर्जा रणनीति कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास छ, यसले नेपालमा ऊर्जा दक्षताका लागि महत्वपूर्ण आधारशिला तयार हुनेछ, युरोपियन युनियन, जर्मन सरकार, जिआइजेडलगायत साझेदार निकायलाई धन्यवाद दिन चाहन्छौँ । जर्मन सरकार र जिआइजेडले ऊर्जा क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण छ”, उहाँले भन्नुभयो । 

उहाँले सरकारले अबको १० वर्षपछि अर्थात् सन् २०३५ सम्म कूल २८ हजार सात सय १३ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको जानकारी गराउँदै यो तीन वर्षे परियोजनाको सहयोगले उक्त लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सचिव आचार्यले चाल् संसद्बाट ऊर्जा विकाससम्बन्धी ऐन पारित हुने भन्दै सेप्टेम्बर २०२७ सम्म कार्यान्वयन हुने यो परियोजनाबाट उल्लेख्य रूपमा विद्युत् निर्यात गर्न सफल हुने जानकारी दिनुभयो ।

मन्त्रालयका सहसचिव मण्डलले आगामी तीन वर्षमा उल्लेख्य प्रगति हासिल भई नेपालले ऊर्जा बचत हुनुका साथै कार्बन उत्सर्जनमा कमी ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता अभिवृद्धिमा परियोजना सफल हुने बताउनुभयो ।

नेपालका लागि युरोपियन युनियनका नेपाल प्रतिनिधि सान्तामारियाले कार्यक्रमको मुख्य उद्देश्य नेपालको ऊर्जा अभाव कम गर्ने, हरितगृह ग्यास उत्सर्जन घटाउने र स्थायी ऊर्जा समाधानमार्फत सामाजिक, आर्थिक विकासलाई प्रवर्द्धन गर्ने रहेको बताउनुभयो ।

कार्यक्रमका व्यवस्थापक डा फेचरले उर्जा क्षेत्रमा युरोपियन युनियनको सहयोगका बारेमा उल्लेख गर्दै परियोजनाले उद्योग, धन्दामा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने पहलअन्तर्गत ऊर्जा दक्षता उपायहरू कार्यान्वयन गर्न उद्योग र उद्यमलाई सशर्त अनुदान सहयोग कार्यक्रम सुुरू गरिसकेको जानकारी दिनुभयो । जर्मन दूतावासका उपप्रमुख साइडलले परियोजनामार्फत क्षेत्रीय बजारमा ऊर्जा खपत र ऊर्जा दक्षता बढाउन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ पिढी विदेशिएकामा सांसद केसीको चिन्ता

काठमाडौँ, १८ माघ : सांसद चित्रबहादुर केसीले नयाँ पिढी विदेशिदा मुलुक रित्तो हुँदै गएकाले नीति निर्माताले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उहाँले नयाँ पिढीलाई देशमै राख्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले घोषित नीतिअनुसार राजनीति गर्न सकेनौँ । अहिले मुलुकको यथार्थ तस्बिर हेर्ने हो भने नयाँ पिढी बाहिर गइरहेका छन् । यही हो हाम्रो प्रगति ? यही हो प्रगति ?”

सांसद प्रेम सुवालले पूर्वाधार क्षेत्रमा विकास भएको दाबी गर्ने तर ऋण बोकाएको बारेमा कसैले नबोल्ने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपा बाहेक सबै दल मिलेर सरकार गठन हुँदा देश र जनताको समस्या सामाधान गर्ने काम हुन सकेको छैन ।” उहाँले पूर्वाधार नै नभएका विश्वविद्यालयसँग सम्बन्धित विधेयकलाई अघि बढाउने काम भएकामा आपत्ति प्रकट गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले वर्सेनि बढ्दै गएको सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आर्थिक भ्रष्टाचार मात्रै नभई नीतिगत भ्रष्टाचार समेत मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले सरकारले लिएको ऋण के मा खर्च भएको छ भनेर श्वेतपत्र जारी गर्न माग गर्नुभयो ।

सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही बुँदाले सहकारीका आधारभूत मान्यता र सदस्यको नैसर्गिक अधिकारसमेत कुण्ठित हुनेगरी देखिएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अध्यादेशमा समावेश भएका केही विषयले सहकारी क्षेत्रको वृद्धि र विकास, सदस्यको सुरक्षा, सुशासन प्रवर्द्धन, प्रभावकारी सञ्चालन र व्यवस्थापकीय कुशलतामा बाधा पुग्ने प्रावधानले सहकारी क्षेत्रलाई संविधानको मर्मअनुसार सञ्चालन गर्न नसकिने स्थिति सिर्जना भएको बताउनुभयो ।

“बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था कार्य क्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा सहकारी सदस्यको आफ्नो सम्पत्ति व्यवस्थापनका लागि छनोटको अधिकार कुण्ठित हुने र वित्तीय समावेशीकरणको आधारभूत मान्यता प्रतिकूल असर पर्ने देखिन्छ”, विभागका प्रमुख अधिकारीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

विभागले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सस्थाका सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा बहाल रहन नसक्ने व्यवस्थाले संस्थाका गतिशीलतामा अवरोध सृजना गर्ने र तल्लो तहको नेतृत्व माथिल्लो तहमा प्रतिनिधित्व गर्न रोक लगाउने प्रावधानले नेतृत्व विकास र नेतृत्वको कुशल व्यवस्थापनमा मात्र समस्या सृजना हुने नभई प्रतिनिधिको चुन्ने र चुनिने अधिकारसमेत निषेध हुने देखिने गरेको उहाँले बताउनुभयो ।

विभाग प्रमुख अधिकारीले विश्व सहकारी अभियानको आधारभूत मान्यता र नेपालको संविधानको मुख्य व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कानुनी व्यवस्था नल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

सञ्चार मन्त्रालयले दोस्रो सय दिनमा गरेका काम सार्वजनिक

काठमाडौँ, १८ माघः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शत्प्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शत्प्रतिशत कार्यसम्पन्न गरिएको बताउनुभयो ।

उहाँले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’  प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताउनुभयो । जसमा ६७६ हुलाक कार्यालय, छवटा हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय रहेको र ८० हुलाक काउन्टरसमेत स्थापना भई सञ्चालनमा रहेको त्यस अवसरमा जानकारी दिइयो । 

यस्तै, कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएस) सञ्चालनका लागि थप सात वटा निकायमा तालिम सञ्चालन गर्ने भनिएकामा १० वटा निकायमा तालिम सञ्चालन गरिएको, २० प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भएको र चालु आर्थिक वर्षमा ३० वटा प्रणाली थप गरी ९३ वटा प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भइसकेको छ । 

सचिव अर्यालले ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवाको पहुँच शून्य दशमलव ३६ प्रतिशतले विस्तार भएको र यसबाट थप एक लाख ५१ हजार २५ जना लाभान्वित भएको बताउनुभयो । चालु आवमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा एक दशमलव ७२ प्रतिशत पुगेको छ । यसरी एक दशमलव ७२ प्रतिशत वृद्धि हुँदा थप पाँच लाख १७ हजार ६३ जना लाभान्वित भई हालसम्म १३ लाख ४२ हजार ५३२ जनाले सेवा प्राप्त गरेको सचिव अर्यालले जानकारी दिनुभयो ।

यस्तै, मोबाइल सेवाको पहुँच विस्तार भई हालसम्म दुई लाख ३७ हजार ४३६ जना लाभान्वित भएको मन्त्रालयले जनाएको छ । चालु आवमा मोबाइल सेवामा थप १६ लाख ६५ हजार ७० को पहुँचमा भई हालसम्म दुई करोड ९९ लाख ५४ हजार ७११ जनाले सेवा प्राप्त गरेका छन् ।

प्राप्त जानकारीअनुसार फोरजी (एलटिई) सेवाको पहुँच विस्तारमा दोस्रो सय दिनभित्र १७ लाख ४९ हजार ३७४ जना लाभान्वित भएका छन्भने पहिलो सय दिनमा समेत गरी हालसम्म दुई करोड ५० लाख ७५ हजार ४१९ जनाले सेवा प्राप्त गरेका छन् । गोरखापत्रका पुराना प्रकाशनको थप ८ वर्षको ‘डिजिटलाइजेसन’को कार्यसम्पन्न भएको छ । यस अवधिमा थप १६ वर्षको डिजिटलाइजेसन कार्यसम्पन्न भई हालसम्म कुल ८४ वर्षको डिजिटल रूपान्तरण गरिएको छ । 

रेडियो नेपालका थप एक हजार वटा पुराना ‘अडियो टेप’को डिजिटल रूपान्तगरण गर्ने भनिएकामा मन्त्रालयले थप एक हजार ४५३ वटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । यस अवधिभर दुई हजार ८८६ वटा थप गरी हालसम्म ५४ हजार ३८६ पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । रेडियोको राष्ट्रिय पहँुच थप एक प्रतिशतले वृद्धि भई हालसम्म ९४ प्रतिशतमा पहुँच विस्तार भएको छ भने टेलिभिजन पहुँच ७२ प्रतिशत पुगेको छ । रेडियो नेपालबाट प्रसारण हुने समावेशी कार्यक्रम दनुवार भाषा थप गरी हालसम्म २५ वटा भाषा पुगेको छ । 

गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी समावेशी कार्यक्रम (नयाँ नेपाल) प्रकाशन गरिएको छ । यस आवमा गोरखापत्र दैनिकमा रानाथारू र बाम्बुले राई भाषा थप गरी ४५ भाषामा समाचार प्रकाशन गरिएको छ । यस्तै, मन्त्रालयले मोबाइल नेटर्वक विस्तारमा समेत जोड दिँदै आएको सचिव अर्यालले बताउनुभयो । जसअन्तर्गत दोस्रो सय दिनभित्र थप शून्य दशमलव ८१ प्रतिशतले मोबाइल सेवा विस्तार भएको छ । 

एफटिटिएच सेवा ७७ वटै जिल्लामा पुगेको छ । फोरजी÷एलटिई सेवा पाँच दशमलव ९९ प्रतिशतले विस्तार भई हालसम्म ८५ दशमलव ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको, नागरिक एपमा आबद्ध सरकारी सेवा ६४ पुगेको, जिआइओएसएम लागू भएका थप १० वटा सरकारी कार्यालयमा तालिम सञ्चालन गरिएको र हालसम्म ९५ वटा निकायमा तालिम सञ्चालन गरिएको छ ।

यस्तै,  २४ कोरमाथिको थप २७८ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म १७ हजार १५० किमी पुगेको छ । दोस्रो सय दिनमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा विस्तार शून्य दशमलव ३६ प्रतिशतले भई हालसम्म ४४ दशमलव ७२ प्रतिशतले विस्तार भएको छ ।  मन्त्रालयले साइबर सुरक्षा सूचकाङ्क ६९ दशमलव ७६ प्रतिशत रहेको जनाएको छ । 

यस्ता छन् यस अवधिमा भएका काम   

सञ्चार सचिव राधिका अर्यालले पत्रकार सम्मेलनमा यस अवधिमा मन्त्रालयले गरेका नीतिगत र संस्थागत कार्यको विवरण प्रस्तुत गर्नुभएको छ ।  एनसेलको अनुमति (२०८१÷०५÷१५ देखि २०८६÷०५÷१४) पत्र ५ वर्षका लागि नवीकरण गरिएको, विद्यमान कानुनमा अनुमतिपत्रको बहाल अवधि २५ वर्ष पूरा गरेका सेवा प्रदायकहरूको अनुमतिपत्र नवीकरणका लागि दूरसञ्चार नियमावलीमा संशोधन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूको अनुमतिपत्र नवीकरण गर्न सुरु गरिएको, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीको बक्यौता असुल गरिएको, वल्र्ड लिङ्कबाट रु एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ र पैसा ५४, सुविसु केबलनेटबाट रु १७ करोड ४८ लाख ५१ हजार ६१५ पैसा र भायनेट कम्युनिकेसन लिबाट रु २६ करोड ६८ लाख ७६ हजार ५०९ पैसा ३६ गरी रोयल्टी प्राप्त भएको छ ।

दुई हजार १०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोगबापत नेपाल टेलिकमबाट रु ३५ करोड २६ हजार २२९ र एनसेलबाट रु ३६ करोड १५ लाख १६ हजार ६४६ प्राप्त भएको, टिकटकमा लगाइएको प्रतिबन्ध सर्तसहित फुकुवा गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम टिकटक प्लेटफर्मलाई सूचीकरण, मेटालगायत अन्य सामाजिक सञ्जाललाई समेत दर्ता गर्ने काम भइरहेको, नेपाल टेलिकमको प्रबन्ध निर्देशक, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरी कार्य विवरणसहित जिम्मेवारी दिइएको, हुलाक सेवा विभागको पुर्नसंरचना कार्यसम्पन्न गरिएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको जनाइएको छ । 

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भई सो ऐनको प्रावधानबमोजिम रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रूपान्तरण गरिएको, यस संस्थाको अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरू नियुक्त भई सोही अनुरुप काम सुरु भइरहेको छ । 

मुद्रण विभागबाट नेपाल टेलिकमका लागि रिचार्ज कार्डको छपाइ सुरु गरिएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको, चलचित्रसम्बन्धी ऐन सङ्घीय संसद्मा दर्ता गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेस भएको, सार्वजनिक सेवा प्रसारण नियमावली तथा सुरक्षण मुद्रण नियमावली तर्जुमा भई स्वीकृतिको चरणमा रहेको, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्ययादेश, २०८१ ले सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेका उद्योगले विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको, विशेष आर्थिक क्षेत्रमा सूचना प्रविधिलगायत सेवामूलक उद्योगहरु सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको, काजगरहित सरकारको अवधारणाबमोजिम यस मन्त्रालय र अन्तर्गत निकायहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएससी) लागू भई हाल सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायमा समेत लागू हुने क्रममा रहेको, यसका लागि आवश्यक तालिमलगायत कामहरु भइरहेको, विभिन्न सरकारी निकायहरुबाट प्रवाह हुने सेवाहरुलाई एकीकृत रुपमा नागरिक एपमार्फत उपलब्ध गराउन त्यस्ता निकायहरुको प्रणालीहरूलाई नागरिक एपमा आबद्ध गरिएको छ । 

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरी सरकारी निकायहरुको सूचना प्रविधि प्रणालीमा हुनसक्ने सम्भावित साइबर हमला न्यूनीकरण गर्न संयन्त्र निर्माण गरिएको, सरकारी निकायले प्रयोगमा ल्याएका सूचना प्रविधि प्रणालीको सेक्युरिटी अडिटमार्फत थप सुरक्षित गर्न सुरक्षा प्रावधानका सम्बन्धमा सिफारिस गरिएको छ । 

नेपालमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआइ) को प्रयोग एवं अभ्याससम्बन्धी नीति तर्जुमा भई स्वीकृतिको अन्तिम चरणमा रहेको, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति तथा हुलाक सेवासम्बन्धी पुराना ऐनहरूलाई विस्थापित गरी नयाँ ऐन तुर्जमा गर्ने कार्यहरू भइरहेको त्यस अवसरमा जानकारी दिइयो ।

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का

मोरङ, १८ माघः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले दुई÷दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न, मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस र एमालेबीच विसं २०५१ पछि देश जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराउनुभयो । 

उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका ऐनहरू संसद्का सम्बन्धित समितिमा गएका जानकारी दिनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐनमा कालो बजारी नियन्त्रणसम्बन्धी व्यवस्था रहेको भन्दै केही थप्नुपरेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । 

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतालाई गुणस्तरीय वस्तु तोकिएको मूल्यमा सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रदेशको मेरुदण्डका रूपमा रहेको जोगवनी–किमाथान्का सडक निर्माण सम्पन्न पश्चात् प्रदेशको जनसङ्ख्या बराबरका पर्यटक चीन र भारतबाट आउने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकलाई सहज आपूर्तिका लागि व्यापारिक ‘सिण्डिकेट’को अन्त्य हुनुपर्ने सुझाव दिनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकको चुल्हो महँगिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय भीम पराजुली र राजीव ढुङ्गानाले सरकारले इमान्दारीपूर्व अनुगमन गर्नुपर्ने सुझाव दिँदै किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । 

विभागका संयोजक गुरु बराल, केन्दीय सदस्य फुलकुमार लालवानी, भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला, प्रदेशसभाका सांसद गयानन्द मण्डल, प्रदेश योजना आयोगका सदस्य डा प्रमिला गच्छदारलगायतले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै व्यावहारिक रूपमा जनताका समस्या समाधान गरी समृद्धितर्फ लाग्नुपर्ने सुझाव दिनुभएको थियो ।   अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संरक्षणमा आबद्ध विभिन्न सङ्घसंस्था, विभिन्न व्यापारिक सङ्घसङ्गठनका प्रतिनिधिहरूको सहभागिता थियो ।

लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता

लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

रिजाले लेबनानलाई आर्थिक सहयोग गर्न संयुक्त राष्ट्र सङ्घको तत्परता व्यक्त गर्नुभयो । राष्ट्रपति जोसेफले यी प्रयासहरूलाई अगाडि बढाउन संयुक्त राष्ट्र सङ्घका संस्थाहरूसँग सहकार्य गर्न लेबनान इच्छुक रहेको बताउनुभयो ।

बैठकमा लेबनानमा हालै इजरायली आक्रमणबाट भएको क्षतिका बारेमा पनि छलफल भएको थियो । रिजाले संयुक्त राष्ट्रसङ्घले गरेको विनाशको मूल्याङ्कनका आधारमा अमेरिकी डलर २५ करोडको आपतकालीन ऋण सुरक्षित गर्न सकिने बताउनुभयो ।

भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते

उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

पञ्जाबको सिखको पवित्र सहर अमृतसरबाट १४२ किलोमिटर दक्षिणपश्चिममा रहेको फिरोजपुर जिल्लाको मोर गाउँ नजिक उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार क्याटरिङ कम्पनीमा काम गर्ने २५ देखि ३० जनाको समूह पिकअप भ्यानभित्र रहेको थियो ।

प्रहरीले दुर्घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

स्वास्थ्य परीक्षण दोहोर्‍याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने : स्वाथ्यमन्त्री पौडेल

काठमाडौँ, १८ माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्‍याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने भएको छ । स्वाथ्यमन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गर्नुभएको हो ।

मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ ले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो । 

अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै किसिमको परीक्षण दोहोरिने गरेको र एकीकृत तथ्याङ्क नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य मन्त्रालयको नियन्त्रणमा रहनेगरी एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउनेगरी निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले अब विद्युतीय चिकित्सा अभिलेख प्रणालीअन्तर्गत एकअर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्नेगरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।

मन्त्रायका प्रवक्ता डा प्रकाश बुढाथोकीले एकीकृत अभिलेखन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवै कागजी झन्झटबाट जोगिनुका साथै अर्कोपटक पुनः सेवा लिन आउँदा पहिलेको विवरणका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “विद्युतीय प्रणाली अस्पतालहरूमा लागू भए पनि एकअर्काबीच तथ्याङ्क आदानप्रदान गर्ने किसिमका छैनन् । हालसम्म बिरामीले पटकपटक एकै खालका परीक्षणसम्बन्धी जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा छ ।”

विद्युतीय प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजीसम्बन्धी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंकलगायत जानकारी हुनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संलग्न स्वस्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानुनबमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्नेगरी प्रणाली सञ्चालन गर्नेछ ।

उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभापति डा वाग्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

“जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधिश वा न्यायाधिशको अध्यक्षतामा न्यायिक आयोग गठन गनुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ”, उनले भने । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनले आरोप लगाए ।

सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति डा वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा आशावादी रहेको बताए ।

नागरिकका कुरा राख्ने, कानुन बनाउने र सरकारलाई उत्तरदायी बनाउने थलो संसद् रहेको उल्लेख गर्दै उहाँले संसदको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए । अर्थ समितिमा छलफलका क्रममा रहेको आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व विधेयकलाई सरकारले अध्यादेशमार्फत् ल्याउँदा कानुनको उल्लङ्घन भएको उनको भनाइ थियो ।

सरकारले पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनअनुसार सुधारका प्याकेज ल्याउन नसकेको उपसभापति डा वाग्लेले बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिएर संशोधन गरी पुनः पेश गर्न उनले सुझाव दिए ।

शनिबार तीन इजरायली बन्धक रिहा हुँदै

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुनेभएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

“इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन्।”

शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ ।

गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

वासिङ्टनमा विमान र हेलिकप्टर ठक्करबाट कोही बाँचेका छैनन्

अमेरिकी अधिकारीहरूले बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको सम्भावना रहेको बताएका छन् ।

“हामी अहिले उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, वासिङ्टन दमकल प्रमुख जोन डोनेलीले रेगन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “यस विन्दुमा हामी त्यहाँ कोही बाँचेको छ भन्ने विश्वास गर्दैनौँ ।”

उहाँले हेलिकप्टरबाट एक सहित २८ शव निकालिएको जानकारी दिनुभयो ।दुर्घटना स्थलमा बिहान हुँदा शक्तिशाली आर्क बत्तीहरू भएका आपत्कालीन जहाजहरू र गोताखोर टोलीसहितका इन्फ्लेटेबलहरू नदीको विस्तृत क्षेत्रमा आवतजावत गरिरहेको देखिन्थ्यो ।

डोनेलीका अनुसार अपरेसनमा तीन सय प्रथम प्रतिक्रियाकर्ताहरू संलग्न थिए र धेरैजसो पूर्ण अँध्यारोमा सञ्चालन गरिएको थियो ।“यी प्रतिक्रियाकर्ताहरूले अत्यन्त चिसो अवस्था, भारी हावा, पानीमा बरफ भेटे र तीनै अवस्थामा रातभरि काम गरे”, उहाँले भन्नुभयो ।

यातायात अधिकारीहरूले दुवै विमान स्पष्ट रात र राम्रो दृश्यतामा मानक उडान ढाँचामा रहेको बताए तापनि दुर्घटनाको कारणबारे कुनै विवरण दिइएको छैन ।“के मलाई लाग्छ यो रोक्न सकिने थियो ? निश्चित रूपमा”, यातायातमन्त्री सीन डफीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

एयर ट्राफिक कन्ट्रोलरहरूको नाटकीय अडियोले उनीहरूलाई हेलिकप्टरलाई यात्रु जेट ‘दृष्टिमा’ छ कि छैन भनेर बारम्बार सोध्दै र त्यसपछि दुर्घटना हुनुभन्दा ठीक अघि विमानलाई ‘पछाडिबाट जान’ भनेको सुनिन्थ्यो ।

“मैले एउटा आगोको गोला मात्र देखेँ र त्यो हरायो”, हेलिकप्टरसँगको सञ्चार टुटेपछि एक ट्राफिक कन्ट्रोलरले अर्कोलाई भनेको सुनिएको थियो ।

दुवै विमान पोटोम्याक नदीमा खसे र यात्रुवाहक विमानको फ्युजलेज उल्टो भएर तीन भागमा टुक्रिएको थियो ।

युएस फिगर स्केटिङले उडानमा केही खेलाडी, प्रशिक्षक र अधिकारीहरू रहेको बताएको छ भने मस्कोका अधिकारीहरूले सन् १९९४ को विश्व जोडी शीर्षक जित्ने विवाहित रूसी जोडी इभजेनिया सिस्कोभा र भादिम नाउमोभ विमानमा रहेको पुष्टि गरेका छन् ।

साठी यात्रु र चार चालक दलका साथ अमेरिकन एयरलाइन्सको सहायक कम्पनीले सञ्चालन गरेको बोम्बार्डियर विमान विचिता, कान्सासबाट उडान गरेपछि राति ९ः०० बजे (०२०० जिएमटी) रेगन राष्ट्रिय विमानस्थल नजिक पुगेको थियो ।

अमेरिकी सेनाका अधिकारीहरूले संलग्न हेलिकप्टर तीन सैनिक बोकेको ‘प्रशिक्षण उडान’ मा रहेको ब्ल्याक हक भएको बताए ।

– ट्रम्पद्वारा ट्राफिक नियन्त्रणको आलोचना –

अन्य अधिकारीहरूले अनुसन्धानको प्रतीक्षा गरिरहेको बताइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यस घटनाबारे आलोचनात्मक टिप्पणी पोस्ट गर्नुभएको छ ।

“विमान विमानस्थलतर्फको सिधा र नियमित मार्गमा थियो । हेलिकप्टर लामो समयसम्म सिधै विमानतर्फ गइरहेको थियो । यो स्पष्ट रात हो, विमानका बत्तीहरू चम्किरहेका थिए”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो, “किन हेलिकप्टर माथि वा तल गएन, वा मोडिएन ? किन कन्ट्रोल टावरले हेलिकप्टरलाई विमान देखे–नदेखेको सोध्नुको साटो के गर्ने भनेर भनेन ? यो एउटा खराब स्थिति हो जसलाई रोक्न सकिने देखिन्छ । राम्रो भएन !!!”

सङ्घीय उड्डयन प्रशासनले रेगन नेसनलमा सबै विमानको ग्राउन्डिङको आदेश दियो, अपरेसनहरू ११ः०० बजे (१६०० जिएमटी) मा पुनः सुरु गर्न सेट गरियो ।

अमेरिकन एयरलाइन्सका मुख्य कार्यकारी रोबर्ट इसमले ‘गहिरो दुःख’ व्यक्त गर्नुभयो भने कान्सासका अमेरिकी सिनेटर रोजर मार्सलले यस ठक्करलाई ‘एक दुःस्वप्न बाहेक केही होइन’ भन्नुभयो ।

– भीडभाड भएको हवाई क्षेत्र –

आधुनिक ठक्कर–बचाव प्रविधि र नजिकैका ट्राफिक कन्ट्रोलरहरू भएको यात्रुवाहक विमान राजधानीको आकाशमा सैन्य विमानसँग कसरी ठोक्किन पुग्यो भन्ने अस्पष्ट छ ।

वासिङ्टन वरपरको हवाई क्षेत्रमा प्रायः भीड हुन्छ, रेगन नेसनलमा अवतरण गर्न सहरको तल्लो भागमा विमानहरू आउँछन् र हेलिकप्टरहरू–सैन्य, नागरिक र वरिष्ठ राजनीतिज्ञ वा अधिकारीहरू बोकेका–दिन र रात दुवै वरिपरि घुमिरहन्छन् ।

यही विमानस्थलमा सन् १९८२ जनवरीमा एयर फ्लोरिडा फ्लाइट ९०, एक बोइङ ७३७, उडेको तर तुरुन्तै खसेर १४औँ स्ट्रिट पुलमा ठोक्किएर पोटोम्याक नदीको बरफ दुर्घटना भएको थियो । त्यस दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।

इजरायलको प्रतिबन्धपछि नर्वेले युएनआरडब्लुएलाई दुई करोड ४० लाख डलर पठायो

नर्वे सरकारले बिहीबार प्यालेस्टिनी शरणार्थीहरूको हेरचाह गर्न मद्दत गर्ने संयुक्त राष्ट्र एजेन्सीलाई दुई करोड ४० लाख डलर सहयोग गर्ने बताएको छ । बिहीबार नै इजरायलले उक्त समूहलाई इजरायली क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

“गाजा भग्नावशेषमा छ र युएनआरडब्लुएको सहयोग पहिलेभन्दा बढी आवश्यक छ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले एक वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनका लागि यो अत्यन्त नाटकीय छ कि इजरायली कानूनहरू लागु भएका छन् जसले व्यवहारमा युएनआरडब्लुएलाई काम गर्नबाट रोक्न सक्छ ।”

बिहीबारदेखि युएनआरडब्लुएलाई इजरायली भूमिमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ तथा यो र इजरायली अधिकारीहरू बीचको सम्पर्क निषेध गरिएको छ । इजरायलको सर्वोच्च अदालतले बुधबार राति प्रतिबन्धको चुनौतीलाई अस्वीकार गरेको छ ।

युएनआरडब्लुएले ७० वर्षभन्दा बढी समयदेखि मध्यपूर्वका प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दै आएको छ र सन् २०२३ मा हमाससँगको इजरायलको युद्ध सुरु भएदेखि गाजामा पुगेको खाद्यान्न सहयोगको ६० प्रतिशत ल्याएको छ ।

तर इजरायली अधिकारीहरूले यसलाई पटक–पटक लडाकू समूहहरूको आडको रूपमा रहेको र देशको सुरक्षालाई कमजोर बनाएको आरोप लगाउँदै आएका छन् । यो शत्रुता हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि बढ्यो र यसमा युएनआरडब्लुएका केही कर्मचारी आक्रमणमा सहभागी भएको आरोप लगाइएको थियो ।

फ्रान्सका पूर्व विदेशमन्त्री क्याथरिन कोलोनाको नेतृत्वमा भएको अनुसन्धानको शृङ्खलाले युएनआरडब्लुएमा केही ‘तटस्थता–सम्बन्धित मुद्दाहरू’ फेला पारेको थियो, तर इजरायलले आफ्नो मुख्य आरोपको प्रमाण उपलब्ध गराएको थिएन ।

आरोप लागेपछि धेरै दाताले युएनआरडब्लुएका लागि आफ्नो समर्थन कटौती गरे । यद्यपि लगभग सबैले आफ्नो कोष पुनः सुरु गरेका छन् ।गत मे महिनामा स्पेन र आयरल्यान्डसँगै प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि विशेषगरी नर्वे र इजरायलबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा बिग्रिएको छ ।

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् । कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेशनको बाहिरी भाग सफा गर्न बाहिर निस्किनुभएको हो ।

“अब हामी जान्छौँ”, विलमोरले स्पेनबाट २६० माइल (४२० किलोमिटर) माथि निस्किँदा भन्नुभयो ।  गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ सवारी, बोइङको स्टारलाइनर क्याप्सुल, यति धेरै समस्यामा प¥यो कि नासाले त्यसलाई खाली फर्काउने निर्णय ग¥यो ।

यसले दुवै परीक्षण पाइलट तथा दुवै सेवानिवृत्त नौसेनाका कप्तानलाई स्पेसएक्सले उहाँहरूलाई घर फर्काउन नसकेसम्म कक्षमा छाड्यो । उहाँहरूको प्रतिस्थापनहरूको प्रक्षेपणमा स्पेसएक्सको ढिलाइका कारण उहाँहरूको मिसन १० महिनासम्म लम्बिने भएकाले त्यो मार्चको अन्त्य वा अप्रिलको सुरुसम्म हुनेछैन ।

विलियम्सले दुई हप्ताअघि नासाका अर्का अन्तरिक्ष यात्रीसँग स्पेस वाक गर्नुभएको थियो । यो यात्रामा विलमोरको पहिलो पटक बाहिर निस्कने अवसर थियो । दुवैले अघिल्ला अन्तरिक्ष स्टेशन बसाइहरूमा धेरै अन्तरिक्ष भ्रमणहरू गर्नुभएको छ ।

हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई

काठमाडौँ । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र कर्तव्य भनेकै कानुन निर्माण हो, तर मुलुकमा अहिले तत्काल कति कानुन तर्जुमाको आवश्यकता हो, त्यो यकिन हुनुपर्छ । सरकार पनि कानुन निर्माणको जिम्मेवारी पूरा गर्न तीव्र ढङ्गले अघि बढिरहेको छ, संसदीय समितिमार्फत त्यस कार्यमा हामी पनि गम्भीर रुपमा लागिपरेका छौँ । संसद्को यस हिउँदे अधिवेशनबाट धेरै कानुन पारित हुन्छन् । संसद्को यस अधिवेशनमा कतै नअल्मलिई, कति नअल्झी धेरैभन्दा धेरै कानुन बनाउने प्रयत्नमा लाग्ने छौँ ।

कानुन बनाउने कुरामा संसद् र सांसद कमजोर भए भन्ने कुरामा म सहमत छैन । यसबीचमा पनि धेरै काम सम्पादन भइसकेका छन् । असल मनसाय र इच्छाशक्ति भए देश र जनताको हितका खातिर जति पनि काम गर्न सकिन्छ । सरकारमा रहँदा स्वयम् म आफैँले पनि छोटो समयमा धेरै काम गरेँ जस्तो लाग्छ । सरकारले काम गरेन, केही भएन भनी निराशा फैलाउन भएन । कुन क्षेत्रमा कति काम भयो वा भएन भन्ने कुरा तथ्य/तथ्याङ्क र सूचकाङ्क अध्ययन विश्लेषणका आधारमा हुनुपर्छ । कसैको मनमा लाग्दैमा काम भएन भन्नुभएन । सरकारमा दुई पटक रहँदा जिम्मेवारी क्षेत्रभित्रका काम राम्रो सम्पादन गरँे । नेपालमा राजनीति अस्थिर भयो जसबाट ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउने, सुशासन कायम गर्ने र तीव्रगतिमा समृद्धि हासिल गर्ने मूल लक्ष्यका साथ देशका पहिलो र दोस्रो ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार गठन भएको हो ।

भ्रष्टाचार विगतका तुलनामा बढेको नभई घटेको छ । सुशासनको अवस्था पनि हिजोको तुलनामा राम्रो बन्दै गएको छ । यथार्थ र वास्तविकता बुझेर मात्र कुरा गर्नुपर्छ । ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउने, निर्माण व्यवसायीको रोकिएको रकमको भुक्तानी दिने, किसानको चिया, उखु र दूधको पैसा तत्काल उपलब्ध गराइएको छ ।

वर्तमान सरकार गठन हुँदाका बखत भएको सहमतिको एउटा बुँदामा संविधान संशोधन पनि छ । संविधानमा केही जटिलता र समस्या भए संशोधन गरी अघि बढ्ने सहमति भएको हो । यसमा मूल विषयमा नेतृत्वबीचमा छलफल भइरहेको छ । समस्या पहिचान गरी अघि बढ्ने कोसिस भइरहेको छ । लोकतान्त्रिक मूल्यमान्यता अँगालेका मुलुकको संसद् होस् वा संसदीय समितिमा दल र सांसदबीच वादविवाद, बहस र छलफल हुनु स्वभाविक हो । अन्य देशमा पनि त्यस्ता गतिविधि देखिन्छ । त्यसलाई अन्यथा रुपमा लिन मिल्दैन । व्यक्ति विशेषमा प्रस्तुति र अभिव्यक्तिका आ–आफ्नै शैली हुन्छन् । त्यो व्यक्ति विशेषको स्वभावमा निर्भर रहन्छ ।

धनकुटाका जनताले देश र जनताको पक्षमा कानुन निर्माण गर्न तथा जिल्लाको विकासमा भूमिका खेल्न मलाई सङ्घीय सांसदका रुपमा निर्वाचित गराउनुभएको छ । गरिबी घटाउने, जनताको आर्थिक आय बढाउने, सुशासन कायम गर्ने कार्यलाई प्राथमिकतामा राखेर जिल्लामा सडकलगायत भौतिक पूर्वाधार निर्माण कार्यका लागि स्रोत जुटाउन क्रियाशील छु । अहिले जिल्लामा विद्यालय भवन र स्वास्थ्यचौकी निर्माण तथा खानेपानी योजना तीव्र गतिमा अघि बढिरहेका छन् । पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि प्रभावकारी काम भएको छ । आफूले गरेको अमूल्य मतदान खेर गएको छैन भन्ने ढङ्गबाट धनकुटावासी अहिले खुसी छन् । गरिबी घटाउने र सबैलाई साक्षर तुल्याउने तथा सम्पदा संरक्षणलाई प्राथमिकता दिएर काम गरिँदैछ ।

धनकुटाबाट वार्षिक रुपमा रु तीन अर्ब बराबरको बेमौसमी तरकारी बङ्गलादेश निर्यात हुने गरेको छ । त्यसलाई केही वर्षभित्रै दोब्बर बनाउने प्रयास भइरहेको छ । एभोकाडो जिल्लाबाट रु ५० करोडको बिक्री हुने गरेकामा आगामी दिनमा त्यसको विस्तार गर्दै लैजान विभिन्न योजना अघि सारिएको छ । उपयुक्त हावापानी भएकाले निबुवा, भोगटे, सुन्तलालगायत दानादार फलफूलखेती विस्तारका लागि किसानलाई अनुदान र गुणस्तरीय बिरुवा वितरणमा सहयोग गर्ने योजना तय गरिएको छ । त्यसबाट आयआर्जन मात्र नभई रोजगारी सिर्जना हुनेछ । युवाको विदेश पलायन रोक्न तथा विदेशमा भएका युवालाई स्वदेश फर्काउन यस्तो कार्यक्रम उपयुक्त हुन सक्छ । यस्ता योजना कार्यान्वयनका लागि जनप्रतिनिधिका हैसियतले लगातार लागिपरेको छु । बैमौसमी तरकारी व्यवस्थापन, एभोकाडोसहितका फलफूल उत्पादन र बजारीकरण तथा सडक कालोपत्र तथा तमोर र अरुण गड्तिर क्षेत्रमा सिँचाइलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

संविधानले राष्ट्रिय गौरवका आयोजना सङ्घीय सरकारले सञ्चालन गर्ने भने पनि निर्वाचनका क्रममा जनतासँग विकास निर्माण र कानुन बनाउने वाचा गरियो । प्रदेश तहलाई मझौला आयोजना निर्माण र अनुगमनको भूमिका दिएको छ । स्थानीय तहले विकास निर्माण तथा वडा कार्यालयले सेवाप्रवाह गर्ने भनेको छ । त्यो अभ्यास व्यवहारमा पूर्णरुपमा लैजान नसकिए पनि कोसिस भने भइरहेकै छ । तथापि, कानुनसँगै विकास निर्माणमा सहजीकरण गर्ने दायित्वबाट जनप्रतिनिधि अलग हुन सक्दैन । कानुन निर्माणमै सीमित हुने विषय चुनावी घोषणापत्रमा उल्लेख हुनुपर्दथ्र्यो, त्यो छैन । जनताको भावनालाई सम्बोधन गर्ने विषयलाई अन्यथा लिन मिल्दैन । विकास निर्माणको फाइल बोकेर हिँड्नु गलत होइन ।

युवापुस्तालाई स्वदेशमै उद्यमशीलताका लागि प्रेरित गर्न तथा उनीहरुलाई खुसी पार्ने, मन छुने कार्यक्रम र योजना बनाउनुपर्छ । जनताको आङ्काक्षा ठूलो छ । विगतका सरकार अस्थिर भए । त्यसबाट विकासका योजना केही हदसम्म प्रभावित भए । अर्थतन्त्र चलायमान भएन । विदेश जाने प्रवृत्ति बढ्यो । विदेश गएकाबाट पनि अन्यलाई आउन प्रेरित गर्ने काम भयो । अब त्यसलाई रोक्ने ठूलो क्षेत्र भनेको कृषि हो । कृषिलाई व्यवसायीकरण गर्न सकियो भने धेरैलाई रोजगारी दिलाउन सकिन्छ । यसको सुरुआत भएको छ । यस क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गरेर लैजानुपर्छ । विकास निर्माण निरन्तर चलिरहने प्रक्रिया हो । सरकारले बनाएका नीति कार्यान्वयनमा हामीले सहयोग गर्नुपर्छ । सुशासनलाई व्यवस्थित गर्ने तथा जनताको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने कार्यमा लाग्न सम्पूर्ण जनतामा अपील गर्न चाहन्छु ।

(सांसद राईसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौँ, १८ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, हरियो प्याज प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकेजी रु ३००, लसुन सुकेको (नेपाली) प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० तोकेको छ ।

माघ २३ गतेदेखि नेपाल–भारत रङ्ग महोत्सव हुने

काठमाडौँ-नेपालमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त महोत्सव यही माघ २३ गतेदेखि सुरु हुने जानकारी दिएको छ ।

प्रतिष्ठाले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सवमा नेपाल र भारतका छवटा नाटक राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सव नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुनेछन् । उक्त महोत्सव अहिले भारतमा जारी छ । भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको पनि कुलपति शर्माले बताउनुभयो । उहाँका अनुसार यही माघ २३ गते सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ ।

यस्तै, माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुने पत्रकार सम्मलेनमा जानकारी गराइएको थियो ।

यसैगरी, महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।

कुलपति शर्माले भन्नुभयो, “यस महोत्सवमा सहभागी हुने नेपाल–भारतका चर्चित नाटकका माध्यमबाट केवल प्रस्तुतिमात्र होइन, एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरूको साझा संवाद गराउनुका साथै छिमेकी मुलुसँगको सम्बन्धलाई अझ बलियो बनाउने छ भन्ने विश्वास गरेकी छु ।”

प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाललाई ऐतिहासिक अवसर प्राप्त भएकाले महोत्सवमा सहभागी हुन अनुरोध गर्नुभएको छ । यसरी संयुक्त रूपमा महोत्सव नै आयोजना गरेर नाटक मञ्चन हुनु नेपाल र भारतका लागि गौरवको विषय भएको प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले बताउनुभयो । नेपालमा प्रदर्शन हुने नेपाली नाटकहरू गच्छामी, कथा कस्तुरी र जुन परिकथा भारतमा पनि प्रदर्शन हुने जनाइएको छ ।

लागुऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

लोनियाले बिक्रीवितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको बोहराले बताउनुभयो ।

प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताउनुभयो । उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताउनुभयो । लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार भएका छन् । प्रहरीले ती व्यक्तिको पनि खोजिरहेको जनाएको छ ।

उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलद्वारा स्मार्टसिटी एवं अस्पताल भवन निर्माण क्षेत्रको अवलोकन

भक्तपुर- उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको स्मार्टसिटी क्षेत्र तथा सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रको अस्पताल भवन निर्माण क्षेत्रको अनुगमन गर्नुभएको छ ।

उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलसहित पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका पौडेल, प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलसहितको टोलीले चाँगुनारायणमा निर्माण हुने स्मार्टसिटीदेखि अस्पताल भवन र मनहरा खोलाको करिडोर निर्माण क्षेत्रको अवलोकन गर्नुभएको हो । उहाँहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले स्मार्टसिटी र अस्पताल निर्माण क्षेत्रबारे जानकारी गराउनुभएको थियो । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई सरकारले चानपा–३ झौखेलमा पाँच वर्ष अगाडि दिएको ३५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गर्न सहजीकरण गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई नगरपालिकाको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले अस्पताल भवन निर्माणका लागि जग्गा दिएको छ । तर अस्पतालले भवन निर्माण गरिरहेको छैन । गत वर्ष पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि आएको बजेट फ्रिज भयो, भवन निर्माणका लागि सरकारकोतर्फबाट पहल गरिदिनुप¥यो ।”

नगर प्रमुख खत्रीले मानव अङ्ग अस्पतालका लागि एक सयदेखि एक सय ५० रोपनी जग्गा माग गरिरहेको भन्दै पहिलो चरणमा सरकारले दिएको जग्गामा भवन निर्माण गरेपछि नपुग भएर नगरपालिकाभित्रै अन्य जग्गा दिन नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले गत वर्ष अस्पताल भवनको विस्तृत परियोजना प्रतिवेदन निर्माण लागि रु एक करोड र सिमाङ्कनलगायत लागि आएको रु २८ लाख गरी कूल एक करोड २८ लाख बजेट फ्रिज भएको बताउनुभयो ।

वडाध्यक्ष श्यामसुन्दर धिमालले भक्तपुर ब्यासीबाट अस्पताल भवन निर्माण क्षेत्रसम्म आउन तीन किलोमिटरको दूरी रहेको र यहाँ आइपुग्ने बाटो१२ मिटर चौडाको फराकिलो भएको बताउनुभयो । “विसं २०७७ मा स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालय, भौतिक पूर्वधार मन्त्रालय, अस्पतालका कार्यकारी निर्देशक र प्राविधिकसहितको टोलीले उक्त जग्गाको अनुगमन एवं निरीक्षण गरेर अस्पताल भवन बनाउन उपयुक्त ठहर गरेपछि सरकारले अस्पतालका नाममा जग्गा दिएको हो । बजेट पनि विनियोजन भएको हो तर अस्पताल बनाउने सुरसार छैन । अस्पताल बनाउन आवश्यक पहल गरिदिनुप¥यो ।”

उप्रधानमन्त्रीद्वय सिंह र पौडेलले अस्पताल भवन निर्माणका लागि अस्पताल प्रशासनसँग आवश्यक पहल गर्ने बताउनभयो । उहाँहरुले चाँगुनारायणमा बन्ने स्मार्टसिटीको क्षेत्रको अवलोकन गर्नुभयो । नगर प्रमुख खत्रीले स्मार्टसिटीको काम अगाडि बढाउन वा खारेज गर्न आग्रह गर्दै जनताको जग्गा धरै वर्षदेखि रोक्का रहेको बताउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी अस्पताल अवलोकन

पथरी (मोरङ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालले दिने सेवा सुविधा, भौतिक संरचना, अस्पतालमा भएका सामग्री र स्वास्थ्य कर्मचारीको दरबन्दी साथै अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविकुमार शाहले अस्पतालको भावी योजनाका बारेमा पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । पन्ध्र शय्याको दरबन्दी रहेको अस्पतालले ५५ शय्याको सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । पचास शय्याको मात्र अनुमति भए पनि बिरामी चापले ५५ शय्याको सेवा दिँदै आएको र उपकरण सामग्री पर्याप्त हुनासाथ अस्पतालले चाँडै ६० शय्याको सेवा दिने उहाँको भनाइ छ ।

अवलोकनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका तीन अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरवृद्धि गर्ने बताउनुभयो । उहाँले पहाडको बसाइँसराइ रोक्न धनकुटा र ताप्लेजुङको अस्पताल स्तरोन्नति गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

पूर्वराष्ट्रिपति भण्डारीले जननेता मदन भण्डारीको नाम जोडिएको ट्रमा सेन्टरलाई चाँडै सबै पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताउनुभयो । पहाडको बसाइँसराइ रोक्न पनि धनकुटा र ताप्लेजुङमा सबै उपचार हुनेगरी सुविधासम्पन्न अस्पताल आवश्यक हुने उहाँको भनाइ छ ।

कोशी प्रदेशकै सरकारको गौरवको आयोजना रहेको यस नमूना अस्पतालबाट ट्रमाका सम्पूर्ण सेवाका साथ आकस्मिक सेवा, भिडियो एक्से, सिटी स्क्यान, ओपिडी, प्रयोगशाला, अन्तरङ्ग, रेडियोलोजी÷रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसूति तथा सुरक्षित गर्भपतन सेवा, नेत्ररोग सेवा दिँदै आएको छ ।

विसं २०४९ चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सुरू अस्पताल २०७२/७३ सालमा १५ शय्यासहितको मङ्गलबारे अस्पताल हुँदै २०७७ साल साउनदेखि ५० शय्याको अस्पतालसहित ट्रमा सेन्टरका रूपमा स्तरोन्नति भएको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरूप्रसाद बराल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य युवराज बाँस्कोटा, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेललगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी, १८ माघः जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो ।

“फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो”, उहाँले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो । पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताउनुभयो ।

गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।

सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उहाँले बताउनुभयो । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडकमार्ग २०६३ सालमा खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले रणनीतिक महत्त्वको मानिएको छ ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर तीन वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किलोमिटर सडकको गत जेठमा काम सकिएको छ । दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न एक योजना चालु रहेको र थप रू एक अर्ब बजेटको योजना कार्यान्वयनको प्रक्रियामा रहेको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

“धारापानी–ताकम–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र र ग्राभेलका लागि धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष ग्राभेल भएको दरवाङ–धारापानी खण्डको सात किलोमिटर र शिवाङबाट मुना खण्डको सडक कालोपत्र गर्न सङ्घीय र प्रदेश सरकारको साझेदारीमा रू एक अर्ब बजेटको योजनाको ठेक्का आह्वानको तयारी भएको छ ।” गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले काम भइरहेका र सम्पन्न हुने चरणमा रहेका योजनामा बजेट अभाव भएकाले मुख्यमन्त्री र विभागीय मन्त्रीलाई थप बजेट व्यवस्था र रकमान्तरका लागि पहल गरेको उहाँले बताउनुभयो ।