`

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी, १८ माघः जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो ।

“फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो”, उहाँले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो । पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताउनुभयो ।

गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।

सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उहाँले बताउनुभयो । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडकमार्ग २०६३ सालमा खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले रणनीतिक महत्त्वको मानिएको छ ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर तीन वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किलोमिटर सडकको गत जेठमा काम सकिएको छ । दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न एक योजना चालु रहेको र थप रू एक अर्ब बजेटको योजना कार्यान्वयनको प्रक्रियामा रहेको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

“धारापानी–ताकम–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र र ग्राभेलका लागि धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष ग्राभेल भएको दरवाङ–धारापानी खण्डको सात किलोमिटर र शिवाङबाट मुना खण्डको सडक कालोपत्र गर्न सङ्घीय र प्रदेश सरकारको साझेदारीमा रू एक अर्ब बजेटको योजनाको ठेक्का आह्वानको तयारी भएको छ ।” गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले काम भइरहेका र सम्पन्न हुने चरणमा रहेका योजनामा बजेट अभाव भएकाले मुख्यमन्त्री र विभागीय मन्त्रीलाई थप बजेट व्यवस्था र रकमान्तरका लागि पहल गरेको उहाँले बताउनुभयो ।

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका बर्तालु

काठमाडौँ, १८ माघः साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् ।बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पि¬ङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ ।

परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उहाँले सुनाउनुभयो । पनौतीतिरको परदेश यात्रा शनिबार गरिने समितिले जनाएको छ । माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । कठोर व्रत भए पनि बर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।

श्रीस्वस्थानी व्रतकथा गौरीमाताको स्वरूपमा

माघमा गरिने श्रीस्वस्थानी व्रत र पूजा आराधनाको विशेष महत्व छ । श्रीस्वस्थानी भनेको को हो भन्ने प्रश्न पनि उठ्ने गरेकामा गौरीमाताकै अर्को स्वरूप भएको धर्मशास्त्रविद्ले बताएका छन् । स्वस्थानीमा वर्णन गरिएका तीर्थस्थल नेपालकै छन् ।

धर्मशास्त्रविद् तोयराज नेपाल स्वस्थानी परमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप भएको बताउनुहुन्छ । त्यसैकारण सदाशिवका साथमा स्वस्थानीको पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको जानकारी उहाँले दिनुभयो ।

वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि विभिन्न ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ । कालिकापुराण, बृहद्धर्मपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एकमात्र हुनुहुन्थ्यो । परमेश्वरलाई क्रीडा गर्ने इच्छाशक्ति प्रकट भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग हुनुभयो ।

परमपुरूष शिव र प्रकृतिस्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्यरूपमा उत्पन्न हुनुभएको थियो । अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै रहनुभएको थियो । कालान्तरमा दक्षप्रजापतिले भगवती गौरीको तपस्या आराधना गर्न लागे । त्यसैबेला परमपुरूष शिव अन्तर्धान हुनुभयो । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाशस्वरूपिणी भएर रहनुभयो । यस विषयलाई शास्त्रीय ग्रन्थमा यसरी उल्लेख गरिएको छ–

अथ गौरी महादेवं मृगयित्वा तु सर्वतः।
वियुक्ता देवदेवेन दुःखेनात्यन्तभूयसा ।
देहं विलोपितवती गगनैकस्वरूपिणी ।
दक्षप्रजापतिर्देवीं तपसातोषयच्छिवाम् ।
तदा गौरी देहहीना गगनैकस्वरूपिणी ।
तुष्टा तं छन्दयामास वरेण वरवर्णिनी ।
स वव्रे तनया भूत्वा गृहे मे वस शङ्करि ।
समुत्पन्ना ततो गौरी सती दक्षात् प्रजापतेः ।।

दक्षप्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठूलो तपस्या गरे । तपस्याबाट खुसी भएकी गगनस्वरूपा गौरीले वर माग भन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस् भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदान दिनुभयो । गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो ।

दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्रामण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित बनेको धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।

सती जानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो । यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी छोरी पार्वती भएर जन्म लिनुभयो र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गर्नुभयो । परमपुरूष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, काहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीला गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीस्वस्थानीको नाममन्त्रले श्रद्धा एवं भक्तिपूर्वक पूजा गर्दा मनुष्यका विभिन्न पापनाश भई सम्पूर्ण मनोकामना पूर्ण हुने व्याख्या पनि शास्त्रीय ग्रन्थमा गरिएको छ । सबैले आफ्ना शक्तिअनुसार स्वस्थानीको व्रत गरी पूजा आराधना गर्दा सबैको कल्याण हुने विषय पनि धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली (तनहुँ), १८ माघः ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उहाँले बताउनुभयो ।

आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।”

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ, १८ माघः विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।”

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् ।

त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।

उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो । दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । शिवपार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाबाट तराईसँगको सिधा यातायात सुरू भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको हो ।

सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्काे विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहज रूपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् ।

तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ । तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुङ्गाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ । यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जीप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ । हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार छन् । जहाँ छिरे पाप नष्ट हुने, धर्म कमाइने आदि जनविश्वास छ ।

उत्पत्तिको सवालमा हलेसी

हलेसी गुफाका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यसलाई किरातीले आफ्नो आदिम भूमि, बौद्ध धर्मालम्बीले दोस्रो लुम्बिनी र हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति भन्ने गर्छन् । एउटा किंवदन्तीअनुसार किराती राजा बाँघवंशी सिकार खेल्ने क्रममा विसं १८२० तिर मृग खेद्दै गर्दा आफ्नो कुकुर हराउँछ ।

कुकुरको खोजी गर्दा उनले कुकुरको आवाज गुफाभित्र सुन्छ । गुफाभित्र लहराको साहारामा पस्दा चमकदार शिवलिङ्ग भेटिन्छ । त्यसपछि, महादेवका रूपमा मानिदै आएको मानिन्छ । हिन्दू धर्मको किंवदन्तीअनुसार भष्मासुर नामक राक्षस पार्वती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, वरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि शिवपार्वती गुफाभित्र पसेका थिए । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मासुरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किंवदन्ती छ ।

बौद्धमार्गीहरूको धर्मग्रन्थमा बौद्ध धर्मगुरू पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्त्वपूर्ण स्थानका रूपमा उल्लेख गरेको पाइन्छ । यस धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको मनोरम गुफालाई बौद्ध धर्मावलम्बीले उच्च सम्मान व्यक्त गर्दै हजारौँ देशीविदेशी पर्यटक आउने गरेका छन् ।

गुफाभित्र किराती बस्ने गरेको पनि किंवदन्ती छ । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा विभिन्न देवीदेवताका मूर्ति छन् । शिवपार्वतीको मन्दिर रहेको गुफा चार सय ४३ मिटर लामो तथा एक सय मिटर गहिराइभित्र पर्छ । शिवपार्वतीको मन्दिर ठिक पछाडि एक सय २० मिटर अग्लो बसाहा गुफा छ । उत्रै ठूलो भैरव गुफा पनि छ । तीनै गुफा गोलाकार छन् ।

हलेसीमा कहिले कुन मेला

यहाँ चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिकालगायतबाट भक्तजन आउने गरेका छन् । मेलाका अवसरमा अर्बौँको कारोबार हुने उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । मेलामा देशी तथा विदेशी व्यापारीसमेत आ–आफ्नो व्यापार–व्यवसाय लिएर हलेसी आउने गरेका छन् ।

सरकारको नजरमा हलेसीमा

हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो । हलेसी आउने तीर्थयात्री तथा पर्यटकलाई बस्ने, खाने र दर्शन एवं अवलोकनका लागि सहज वातावरण बनाउनेतर्फ केन्द्रित भएर कार्यक्रम सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशको एउटा मुख्य आर्थिक स्रोत मानिएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर, कार्यान्वयन प्रक्रिया फितलो भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सरकारले हलेसीको चौतर्फी विकासमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

भौतिक पूर्वाधार विकासमा हलेसी

बाह्रै महिना उत्तिकै मात्रामा दर्शनार्थी र पर्यटकको चहलपहल रहने हलेसी गुठी संस्थान, विकास समिति र मन्दिर व्यवस्थापन समितिको लगानीमा प्रवेशद्धार, सिँढी, हवन कुण्डलगायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको लगानीमा मन्दिरको प्राङ्गणमा ब्लक बिछ्याइएको छ । मन्दिर व्यवस्थापन समितिको लगानीमा डोरामाला बिक्रीवितरण गर्ने टहरा निर्माण गरिएको छ । यसअघि जथाभावी राखेर बिक्री गरिँदै आएको डोरामालालाई व्यवस्थित गर्न टहरा निर्माण गरिएको हो ।

लामो समयअघिदेखि मन्दिरभित्र बालिने सिन्केधुपलाई व्यवस्थित गर्न नगरपालिकाले मुख्य प्रवेशद्वारको बाहिरपट्टि बाल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाकै लगानीमा मन्दिर परिक्रमा गरिने पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नति गरिएको छ । नेपाल आयल निगम र नगरपालिकाको साझेदारीमा सुरू गरिएको धर्मशाला निर्माणाधीन अवस्थामा छ ।

व्यवस्थापनको क्षेत्रमा हलेसी

विश्वमै नभएको हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा पछिल्लो समय होटल तथा व्यापार–व्यवसाय फस्टाउँदै गएको छ । हलेसीबजार आसपासमा सुविधासम्पन्न होटल तथा रेष्टुराँ धमाधम खुल्न थालेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा पछिल्लो समय करिब पाँच सय जना पर्यटक अटाउने होटल खोलिएका छन् । हलेसीमा खोलिएका होटल तथा रेष्टुराँलाई व्यवस्थित गर्न नगरपालिकाले समेत चासो दिएको छ ।

हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई सहज रूपमा खानेपानी तथा नुहाउने व्यवस्था मिलाउन पानीको व्यवस्था मिलाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा लोचाखोला खानेपानी आयोजना तथा सोही स्थानमा सञ्चालन गरिएको डिपवोरिङमार्फत पानीको व्यवस्था मिलाइएको छ ।

हलेसीको भावी योजना

हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरूयोजना निर्माणको काम थालिएको छ । पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरूयोजना निर्माण थालिएको हो । संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरूयोजना निर्माण सुरू गरिएको जनाइएको छ । गुरूयोजना निर्माणका लागि विभागबाट भूगर्भविद्को टोली झिकाएर सर्वेक्षणको काम सम्पन्न गरिएको छ ।

वसन्तपञ्चमी पर्वः केशोर र बयरको बजार जम्दै

महोत्तरी, १८ माघ : वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरिने वसन्तपञ्चमी पर्वमा केशोर र बयर मुख्य प्रसाद सामग्री बन्ने परम्पराले अहिले यी फसलका बजार जम्दै गएका हुन् । यसपालि आउने सोमबार यो पर्व परेको छ ।

मिथिलामा श्रीपञ्चमी पनि भनिने यो पर्वमा बस्तीबस्तीका शिक्षण संस्थामा विशेष उत्सवका रूपमा सरस्वती पूजनोत्सवको अनुष्ठान आयोजना गरिने परम्परा छ । कतिपय घरघरमा पनि वसन्तोत्सव मनाइने परम्पराले यो पर्वविशेषमा केशोर र बयरको माग हुनेहुँदा अहिले यी फसलका उत्पादक किसानलाई भ्याइ नभ्याइ परेको हो ।

महोत्तरीमा उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा केशोरको व्यावसायिक खेती गरिँदै आइएको छ । बालुमिश्रित खुकुलो माटोमा केशोरखेती फस्टाउने हुँदा जिल्लाका उत्तरी क्षेत्र यो खेतीको उर्वर ठाउँ हो । केशोर खनिएको सात–आठ दिनसम्म ताजै रहने हुँदा यो खेतीका किसानलाई पर्वको एक साता पहिलेदेखि नै खन्ने, धुने र बजार पुर्याउने तल्लिनताले छोप्छ । महोत्तरीको केशोर जिल्ला बाहिरका बजारमा लगिने हुँदा अहिले व्यापारी किसानका खेतखेतमै पुगेर पनि लिने गरेका छन् ।

गुलियो स्वादमा अत्यन्त रसिलो हुने यो फल स्वास्थ्यवद्र्धक मानिन्छ । माघ नै यसको फसल लिने समय भएका हुँदा सरस्वती पूजनोत्सवमा मौसमी फलका रूपमा यसको प्रयोग परम्परा बसेको हुनसक्ने पाका मैथिल बताउँछन् । “केशोर माघमै उत्पादन लिइने फसल र वसन्तपञ्चमी पनि यसै महिनामा पर्नेहुँदा यो पर्वमा मौसमी फलका रूपमा प्रयोग गरिने परम्परा चलेको हुनपर्छ”, मैथिल परम्पराका ज्ञाता गौशाला–११ का ७५ वर्षीय लक्ष्मीप्रसाद महतो भन्नुहुन्छ ।

यहाँका किसानले केशोर नजिकका ढल्केबर, लालबन्दी र बर्दिबाससहितका कृषि थोकबजारमा पुर्याउँछन् । अहिले खुद्रामा प्रतिकिलोग्राम रू ५० सम्म बिक्ने केशोर सप्रिदा प्रतिकठ्ठा २० मन (४० किलोको एक मन हुन्छ)सम्म फल्ने हुँदा यो नगदेखेतीका रूपमा लगाइने गरिएको बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव बताउनुहुन्छ । रोपिएको एक सय दिनभित्रै उत्पादन लिन सकिने यो खेती नगद जोहोको मुख्य फसल भएको यादवको भनाइ छ । जिल्लामा केशोरको व्यावसायिक खेती लगभग एक हजार हेक्टरमाथि हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा केशोरको व्यावसायिक खेती हुँदै आए पनि माघमै पाक्ने बयरको भने खेती हुनसकेको छैन । जिल्लामा बयर बाक्लै फस्टाउन सक्ने माटो भए पनि यो खेतीमा किसान लागेका देखिँदैनन् । तर खेतबारी र पाखामा बाक्लै भेटिने स्थानीय जातका बयर श्रीपञ्चमी नजिकिएपछि किसानले टिपेर बजार पुर्याउने गरेका छन् । पर्वमा बयरको प्रयोग परम्परा रहेको र यहाँ उत्पादित बयरले माग धान्न नसकेपछि अहिले यहाँका बजारमा उन्नत जातका ठुल्ठूला बयर फल भारतबाट आउने गरेका पाइएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत राजकिशोर यादव बताउनुहुन्छ । यहाँको माटोमा बयर फस्टाउने हुँदा किसानले उत्साह देखाए उन्नत जातका बयरका बिरूवा ल्याउन सकिने यादवको भनाइ छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रूपैयाँ २१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रूपैयाँ १३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९५ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदरट ३१ रूपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १२ रूपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ २७ पैसा र बिक्री दर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ७५ पैसा र बिक्रीदर १७ रूपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ २५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ८१ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

देशभर मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १८ माघः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौँ, १७ माघः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिन सरकारसँग माग गरेको छ ।

रास्वपाले आज विज्ञप्ति जारी सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको उक्त विधेयक सार्वजनिक छलफलबाट प्राप्त धारणासमेत समेटेर ल्याउन सुझाव दिँदै तत्काल फिर्ता लिन आग्रह गरेको हो । “सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिइ यसका प्रत्यक्ष र परोक्ष सरोकारवालासँगको परामर्श तथा संवैधानिक मूल्य मान्यताअनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यस विधेयकले संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने भन्दै रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

“विधेयकका प्रावधानहरूले स्पष्ट रूपमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउने अलोकतान्त्रिक अभिष्ट प्रकट गरेका छन्”, विज्ञप्तिमा भनिएको छ, “त्यसैले बद्नियत नराखी, सार्वजनिक छलफलबाट प्राप्त धारणा समेतलाई समेटेर संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित हुन नहुनेगरी विधेयक ल्याइनुपर्दछ ।”

तनहुँ र पाल्पा जोड्ने मोटरमार्ग आठ वर्षदेखि अलपत्र

तनहुँ, १७ माघः पाल्पाको रामपुर र तनहुँको घिरिङ हँुदै पृथ्वीराजमार्ग जोड्ने कृष्ण मोटरमार्गको धेनुङ देउराली–केलादीघाट खण्ड अलपत्र बनेको छ ।सडक निर्माणको जिम्मा पाएको चितवनको सन्तोषी निर्माण सेवाले नै मुद्दा हालेपछि घिरिङ गाउँपालिकामा पर्ने २५ किलोमिटर सडकखण्ड आठ वर्षदेखि अलपत्र बनेको हो । पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी विसं २०७३ वैशाख २३ गते सम्झौता गरेको पूर्वाधार कार्यालय तनहुँका इञ्जिनियर होमनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १० करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले काम पूरा नगरी सकिएको दाबी गर्दै भुक्तानी माग गरेको थियो । पूर्वाधार विकास कार्यालय तनहुँले काम पूरा नगरेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनील्ले उच्च अदालत पोखरा हुँदै नेपाल मध्यस्थता परिषद्मा मुद्दा दायर गरेको थियो ।

निर्माण व्यवसायीले मेसिन र कामदारमार्फत लागतभन्दा धेरैको काम गरेको मौखिक दाबी गरेको तर हाजिरीलगायत काम गरेको पुष्टि हुने कागजात पेस नगरेको पूर्वाधार कार्यालय तनहुँले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकमा निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत तत्कालीन सांसद केदार सिग्देलको पहलमा रु ४० करोड बजेट परेको थियो । तर अदालतमा मुद्दा विचाराधीन भएकै कारण उक्त रकम खर्च गर्न नसकेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।

सडक निर्माण विसं २०७३ मा जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण सुरु भएको थियो । जिल्ला प्राविधिक कार्यालयसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले यो सडकको निर्माण २०७४ साउन २८ गतेभित्र सक्नुपर्ने थियो । तर, त्यो बेला बल्ल काम थालेको कम्पनीले पछि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो । ठेकेदारले ७५ प्रतिशत काम गरेको र सात करोड ६० लाख ३७ हजार (करिब ७१ प्रतिशत) भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

नाला बनाउने, ट्राफिक सङ्केत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्दा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । निर्माण सेवाले ब्याजसहित ४ करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेको थियो । नेपाल मध्यस्थता परिषदले २०७९ चैत ९ गते ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँले यही २०८० वैशाख ११ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

अहिले उच्च अदालत पाटनले मध्यस्थता परिषद्को आदेश बदर गर्दै सम्झौताअनुसार काम गरेपछि मात्र भुक्तानी दिन आदेश दिएको थियो । सन्तोषी निर्माण सेवाले भने ब्याजसहित रु चार करोड २५ लाख २७ हजार माग दाबी गर्दै मुद्दा हालेकामा मध्यस्थता परिषद्ले ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँ उक्त फैसला बदरको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ यता उक्त सडकको लागि करोडौं रकम विनियोजन भएपनि मुद्दाकै कारण उक्त रकम खर्च गर्न नसकिएको घिरिङ गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

“ठेकेदारले दुःख दिने, समयमा काम नगर्ने र उल्टो मुद्दा हाल्ने गरेपछि सडक विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म सहजीकरणको पुग्यौँ”, अध्यक्ष थापाले भने ‘तर, परेको बजेट खर्च गर्न पाएनौँ ।”

उक्त सडकको काम सञ्चालन गर्न घिरिङ गाउँपालिकाले जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री, पूर्वाधारमन्त्री, पूर्वाधार कार्यालय, सडक विभाग, प्रधानमन्त्री र अर्थमन्त्री समक्ष पटकपटक भेटी सहजीकरण गर्न अनुरोध गरेको छ ।

एयर ट्राफिक कन्ट्रोलरहरूले दुर्घटनाअघि अमेरिकी सेनाको हेलिकप्टरलाई दिएका थिए चेतावनी

एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएको यसको घातक दुर्घटनाको अडियोमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ ।

बुधबार राति भएको घातक मध्य–हवाई ठक्करमा हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेशनल एयरपोर्टमा अवतरणको लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो ।‘आगोको गोला’ विस्फोटपछि दुवै विमान हिउँले ढाकिएको पोटोम्याक नदीमा खसे ।

“प्याट २–५ के तपाईंले सिआरजेलाई देख्नुभयो ?” एक कन्ट्रोलरले ब्ल्याक हक हेलिकप्टरको कल साइन प्रयोग गर्दै विमान देख्न सक्छ कि भनेर सोधे ।“प्याट २–५, सिआरजेको पछाडिबाट जानुहोस्”, कन्ट्रोलरले अनुरोध गरे ।

केही क्षणपछि सास रोकिएको आवाज सुनिन्छ, एक आवाजले सोध्छ “टावर, के तपाईंले त्यो देख्नुभयो ?”दुर्घटनापछि अर्को एयर ट्राफिक कन्ट्रोलरले भने, “मैले एउटा आगोको गोला मात्र देखेँ र त्यसपछि त्यो हराएको थियो । तिनीहरू नदीमा खसेपछि मैले केही देखेको छैन । तर त्यो एउटा सिआरजे र एउटा हेलिकप्टर थियो जो ठोक्किए ।”

बिहीबार बिहानसम्म रातारात बृहत् पहिलो रेस्पोन्डर अपरेसनहरू चलिरहेको थियो । यद्यपि जीवित भेट्टाउने सम्भावना निकै कम देखिन्थ्यो ।विशेषज्ञहरूका अनुसार ३० मिनेटभित्र हाइपोथर्मिया निम्त्याउन सक्ने तापक्रम कम भएको अँध्यारो, कालो पानीबाट ३० भन्दा बढी शव निकालिएको स्थानीय मिडियाले जनाएको छ ।

पाइलट र उड्डयन विशेषज्ञ काइल बेलीले फक्स न्युजलाई बताए अनुसार यदि विमानलाई अवतरणको अनुमति दिइएको थियो भने उसलाई बाटो छोड्नुपर्ने थियो ।

इजरायली कैदी आदानप्रदानमा शीर्ष प्यालेस्टिनी लडाकू रिहा

धेरै इजरायलीको हत्या गर्ने आक्रमणहरूका लागि जेल परेका प्यालेस्टिनी लडाकू समूहका पूर्व नेता जकरिया जुबेदी बिहीबार इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताको हिस्साका रूपमा रिहा भएका छन् ।

दोस्रो इन्तिफादा (प्यालेस्टिनी विद्रोह) को समयमा सन् २००० को दशकको सुरुमा ४९ वर्षीय जुबेदी प्रख्यात भए । कब्जा गरिएको वेस्ट बैंकको जेनिन र यसको शरणार्थी शिविरका सबैभन्दा चर्चित लडाकू नेताहरू मध्ये एक बने ।

यही विद्रोहका क्रममा इजरायली सेनाले शिविरमा छापा मार्दा जुबेदीकी आमाको गोली लागेर मृत्यु भएको थियो ।

उनलाई इजरायली सुरक्षा सेवाहरूले इजरायलीहरू विरुद्ध धेरै घातक, उच्च–प्रोफाइल आक्रमणहरू पछाडि व्यक्तिका रूपमा चिन्छन् ।

– लामो वर्षको लडाकू गतिविधि –

जुबेदी सन् १९८९ मा १४ वर्षको उमेरमा जेल परेपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीमा सक्रिय भए ।

सन् १९९० मा इजरायली सेनामाथि ढुङ्गा र पेट्रोल बम फ्याँकेको आरोपमा पुनः पक्राउ परेका उनी पदसोपान हुँदै अन्ततः जेनिनमा फतहको सशस्त्र विङ अल–अक्सा मार्टर्स ब्रिगेडको नेता बने ।

सन् १९९४ मा ओस्लो सम्झौताअन्तर्गत फेरि रिहा भएपछि उनी अन्य पूर्व कैदीहरूसँगै वेस्ट बैंक सहर जेरिकोमा नवनिर्मित प्यालेस्टिनी प्राधिकरणको सुरक्षा फौजमा सामेल भए ।

सन् २००१ मा जुबेदी एक ‘सैन्य मिसन’ का क्रममा भएको आकस्मिक विस्फोटमा घाइते भएका थिए जसले उनको अनुहार र आँखामा अझै पनि देखिने गम्भीर जलन निम्त्यायो ।

– द ब्ल्याक र्याट –

आफ्ना हतियारहरू प्यालेस्टिनी प्राधिकरणलाई बुझाउन सहमत नभएसम्म निरन्तर लडाकू गतिविधिका कारण लुक्न बाध्य जुबेदी सन् २००७ सम्म फरार रहे ।

पालना गर्न छानेका सबै फरारहरूलाई दिइएको यो सम्झौताले जुबेदीको नाम इजरायलको वान्टेड सूचीबाट हटायो ।

तर सन् २०११ मा इजरायलले अज्ञात कारणका लागि जुबेदीको माफी फिर्ता लियो । रमल्लाह नजिकैको बेइट इलको इजरायली बस्ती नजिकै धेरै गोली हानाहानमा संलग्न भएको आरोपमा उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो ।

यिनले इजरायलद्वारा गरिएका धेरै हत्या प्रयासबाट बच्न सफल भएको दाबी गरेका छन् । यसले उनलाई लक्ष्यीकरणबाट बच्ने क्षमताका लागि ‘द ब्ल्याक र्याट’ को उपनाम दिएको बताइन्छ ।

प्यालेस्टिनीहरूमध्ये जुबेदीलाई जेनिनमा एक शक्तिशाली व्यक्तिका रूपमा चिनिन्छ । साथै सन् २०२१ मा इजरायलको उच्च–सुरक्षा गिल्बोआ जेलबाट भाग्न सफल भएका केही कैदीहरू मध्ये एकको रूपमा चिनिन्छन् ।

अन्य पाँचजना कैदीसँगै उनी जेलको पर्खालमुनि खोपिएको सुरङबाट भागे तर पाँच दिनपछि पुनः समातिए ।

– रङ्गमञ्च –

जुबेदी जेनिनको रङ्गमञ्चमा पनि संलग्न भए । यो सन् १९५० को दशकको सुरुमा इजरायलको निर्माणमा आफ्नो घरबाट भागेका प्यालेस्टिनीहरूलाई आतिथ्य गर्न सिर्जना गरिएको घना शरणार्थी शिविर हो ।

बालक छँदा उनी आफ्नो परिवार बस्ने भवनमा रहेको शिविरका युवाहरूका लागि इजरायली कार्यकर्ता अर्ना मेर–खामिसले स्थापना गरेको सामुदायिक स्थान र रङ्गमञ्च अर्ना हाउसमा गतिविधिहरूमा सामेल भए ।

सन् २००२ को छापामा इजरायली सेनाले सामुदायिक प्लेहाउसलाई नष्ट गर्यो । यसलाई पछि पुनर्निर्माण गरी फ्रिडम थिएटरको नाम दिइयो ।

सन् २००७ को माफीपछि जुबेदी जेनिन फर्किए र फेरि शिविरको रङ्गमञ्चमा संलग्न भए । यही अवधिमा उनी प्यालेस्टिनी प्राधिकरणको खुला आलोचक पनि बने ।

जेलमा रहेका वर्षहरूमा जुबेदीका तीन भाइ र उनका छोरा मुहम्मद इजरायली सेनाद्वारा मारिए ।जुबैदीका नजिकका स्रोतहरूका अनुसार रिहा भएपछि उनको पहिलो योजना आफ्नो छोराको चिहान भेट्ने थियो । छोराको अन्त्येष्टिमा उनी जेलमा भएका कारण उपस्थित हुन सकेका थिएनन् ।

इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार दुई इजरायलीसहित सात बन्धकको हस्तान्तरणका क्रममा देखिएका ‘चकित पार्ने दृश्यहरू’ भनेर वर्णन गरेको घटनाको आलोचना गर्नुभएको छ ।

“म बन्धकहरूको रिहाइका क्रममा देखिएका चकित पार्ने दृश्यहरूलाई अत्यन्त गम्भीरतापूर्वक हेर्छु । यो हमास आतङ्कवादी सङ्गठनको अकल्पनीय क्रूरताको अर्को प्रमाण हो”, टेलिभिजनका दृश्यहरूमा बन्धक हस्तान्तरण हेर्न जम्मा भएका सयौँ गजावासीलाई नियन्त्रण गर्न बन्दुकधारीहरू सङ्घर्षरत देखिएपछि नेतन्याहुले एक वक्तव्यमा भन्नुभयो, “म मध्यस्थकर्ताहरूलाई यस्तो भयानक दृश्यहरू पुनरावृत्ति नहुने सुनिश्चित गर्न र हाम्रा बन्धकहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछु, जसले हाम्रा बन्धकहरूलाई हानी गर्ने हिम्मत गर्छ उसले मूल्य चुकाउनु पर्नेछ ।”

सात बन्धकको हस्तान्तरणका लागि ल्याइँदा सयौँ मानिस यो घटना हेर्न भेला भएकाले गाजाको दक्षिणी शहर खान युनुसमा अराजकता फैलिएको थियो ।यो हस्तान्तरण मारिएका हमासका नेता याह्या सिनवारको अहिले ध्वस्त भएको बाल्यकालको घर नजिकै भएको थियो ।

एएफपी संवाददाताका अनुसार बन्धकहरूलाई लिन आएका रेडक्रसका गाडीहरूलाई तस्विर खिच्न खोज्ने दर्शकहरूले घेरेका थिए ।सात बन्धकमा दुई इजरायली गादी मोजेस र अर्बेल येहुद तथा पाँच थाई नागरिक थिए ।

टेलिभिजनका दृश्यहरूमा मास्क लगाएका बन्दुकधारीहरूले हस्तान्तरणका लागि अगाडि ल्याउँदा गजावासीहरूको भीडले नागरिक महिला येहुदको तस्विर खिच्दै गरेको देखाइएको थियो ।स्पष्ट रूपमा विचलित येहुदलाई पछि मोजेससँगै रेड क्रसको गाडीमा देखिएको थियो ।

वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला

मोरङ, १७ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ ।

पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पार्नुभयो ।

नेता डा कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिनुभयो । उहाँले प्रतिनिधिसभाको निर्वाचनमा समावेशीतालाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतामाझ छलफल गरी संविधान संशोधन गर्न सुझाव दिनुभयो । पूर्वमुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानीबाट ल्याएको सङ्घीयतालाई कार्यान्यवन गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो । संविधानविद् वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिनुभयो । उहाँले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वुद्धिजीवी विभागकी प्रमुख डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक समृद्धि ल्याउन संविधान संशोधन आवश्यक भएको विचार राख्नुभयो । लयर्स एशोसिएशनका अध्यक्ष सीताराम केसीले भ्रष्टाचार अन्त्य र मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन आजको आवश्यकता भएको बताउनुभयो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र विभागका प्रदेश अध्यक्ष राम थापाले मानव विकासका लागि संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले संविधान संशोधनका विषयबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

माओवादी केन्द्रले अध्यादेश अस्वीकार गर्ने

काठमाडौँ, १७ माघ : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनजीविकाका सवाललाई सदनमा सशक्त ढङ्गले उठाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

    “छ अध्यादेश जसरी आएका छन्, प्रक्रियागत हिसाबले बेठीक छन्, यसलाई अस्वीकार गर्ने सूचना दर्ता गर्ने र वर्तमान सरकार गठन हुँदा व्यक्त गरिएका प्रतिबद्धता लागू तथा जनजीविकाका सबाल सम्बोधन गर्न दबाब दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

    बैठकमा पार्टी अध्यक्ष दाहालले सदनमा सशक्त ढङ्गले प्रस्तुत हुन र जनताका मुद्दालाई प्राथमिकता दिएर उठाउन निर्देशन दिनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । दलका नेताका रुपमा अध्यक्ष दाहालले अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने उहाँको भनाइ छ ।

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ, १७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पिएसबी कार्यान्यवन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिनुभयो ।

“तपाईहरु काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु”, सञ्चार मन्त्री गुरुङले भन्नुभयो, “जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस् ।”

पिएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उहाँले उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भएपनि समय सापेक्ष परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसै अनुरुप पिएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता सावित हुने बताउनुभयो । 

“तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिइ जनतालाई जागरुक गराउनु पिएसबीको मुख्य दायित्व हो”, सञ्चार मन्त्री गुरुङले भन्नुभयो ।  

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी आएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको संरचनागत पुनःमिलन गराउन बाँकी रहेको बताउनुभयो । संस्थाले कर्मचारीको व्यवस्थापन कसरी गर्छ ? भन्ने चिन्तालाई हटाएर सबैले निर्धक्कपूर्ण आ–आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले आग्रह गर्नुभयो ।

“कर्मचारीलाई दुखि बनाएर कुनै काम हुँदैन”, उहाँले भन्नुभयो, “तपाईहरु मनमा कुनै चिन्ता नराखि ढुक्क भएर काम गर्नुहोस् । कसैप्रति अन्याय हुन दिदैँनौ ।”पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रर्याप्त बजेट, नीति, स्रोत र साधन भए पिएसबीको मान्यतालाई पूर्णरुपमा लागू गराइ प्रभावकारी बनाउन सकिने विश्वास दिलाउनुभयो ।

स्यान फ्रान्सिस्कोमा आयोजित पासपोर्ट कन्सुलर सेवा क्याम्प : १,५०६ नेपालीले लिए सेवा सुबिधा

स्यान फ्रान्सिस्को । स्यान फ्रान्सिस्कोमा आयोजित पासपोर्ट कन्सुलर सेवा क्याम्प सफलतापूर्वक सम्पन्न भउको छ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासद्वारा आयोजित पासपोर्ट कन्सुलर सेवा क्याम्पमा १,५०६ नेपाली नागरिकहरूले सेवा लिएका छन् । नेपाली नागरिकहरूलाई पासपोर्ट नविकरण तथा नयाँ पासपोर्ट प्राप्त गर्न सहज बनाउने उद्देश्यले आयोजित यस क्याम्पलाई समुदायबाट उत्साहजनक समर्थन प्राप्त भएको । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया नान्स र गैरआवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

क्याम्पको सफलतामा स्वयंसेवकहरू र दूतावासका अधिकारीहरूको महत्त्वपूर्ण योगदान रहेको आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले बताए । समापन समारोहमा दूतावासका प्रतिनिधिहरूले क्याम्पलाई सफल बनाउन अहोरात्र खटिएका स्वयंसेवकहरू, आयोजक टोली तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । क्याम्पको मुख्य उद्देश्य नेपाली नागरिकहरूलाई समयमै पासपोर्ट सेवा उपलब्ध गराउनु थियो।

नेपाली समुदायको साथ र समर्थनले यो कार्यक्रम अत्यन्त सफल रह्यो दूतावासका एक अधिकारीले बताए। अमेरिकामा रहेका नेपाली समुदायबाट यस्तो क्याम्प अन्य शहरहरूमा पनि आयोजनाको माग बढ्न थालेको छ। दूतावासमा पुग्न लाग्ने समय र खर्च र समयका हिसाबले शिविरबाट धेरै नै लाभ लिइरहेका छन् । शिविर विशेषगरी जेष्ठ नागरिक र असक्तहरुलाई लक्षीत गरी आयोजना गरिएको र काममा व्यस्त भएका युवाहरुले पनि यही मौकामा सेवा लिइरहेका कारण यो सेवा निकै नै प्रभावकारी बन्न पुगेको स्यान फ्रान्सिस्कोमा रहेका नेपालीहरुले बताएका छन् ।

प्रगती खड्काको सुन्दरताको तारिफ गरेर थाकेनन् आकाश श्रेष्ठ

काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल प्रगती खड्काको अभिनय रहेको आँखैमा गाजल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक धृष्टधुम्न शाही गायिका मेलिना राईको स्वर रहेको गीतमा उमेशराज खड्को शब्द र संगीत रहेको छ । सुदिप लम्सालको निर्देशन रहेको आँखैमा गाजलमा सुन्दरी मोडल प्रगतीको सुन्दरताको नायक श्रेष्ठले तारिफ गरेका छन् ।

प्रेम रोमान्सका रमाइला किस्सालाई नजिकबाट केलाइएको भिडियोमा आकाश र प्रगती गज्जबसँग खुलेका छन् । भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको छ ।

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् ।

सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।

एशिया, युरोप र अफ्रिकाको बीचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले एक विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले ४०० अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताउनुभएको छ ।

दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकृत पल ग्रिफिथ्सले सन् २०२७ सम्ममा दुबईले १० करोड यात्रु ओहोरदोहोर सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

दुबईले अब छिमेकी साउदी अरबको रियादमा निर्माण भइरहेको एक प्रमुख नयाँ विमानस्थलबाट प्रतिस्पर्धाको अपेक्षा गरेको । विमानस्थलले शहरको बाहिरी इलाकामा अल मकतूम इन्टरनेसनल विमानस्थलमा ३५ अर्ब डलरको विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ।

व्यापार, पर्यटन र व्यापार केन्द्रले अचल सम्पत्ति कारोबार मूल्य र बढ्दो जनसङ्ख्या वृद्धिको साक्षी रहेको युइईले पेट्रोलियम पदार्थ (इन्धन) बाहेक आफ्नो अर्थव्यवस्था को विविधीकरणको प्रयासलाई जारी राखेको छ ।

इन्डोनेसियामा ७६ रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरणका लागि स्वीकृति

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार बताएका छन् ।

म्यान्माको अल्पसङ्ख्यक मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेका कारण त्यहाँबाट शान्ति र रोजगारीको खोजीमा हरेक वर्ष हजारौँंले बङ्गलादेश, मलेसिया, इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

चार बालबालिकासहित ७६ शरणार्थीको पछिल्लो समूहलाई बुधबार राति आचेह प्रान्तको पूर्वी आचेह शहरको एक फुटबल मैदानमा पाल टाँगी अस्थायीरूपमा बस्नदिने प्रशासनले स्वीकृति दिएको हो ।

स्थानीय प्रशासनका अधिकारी इस्कन्दरका अनुसार अधिकारीहरूले सुरुमा शरणार्थीहरूलाई भाग्नबाट रोक्न र केही स्थानीय बासिन्दाहरूले शहरमा उनीहरूको उपस्थितिको विरोध गरेका कारण उनीहरूलाई डुङ्गाबाट ओर्लिन वा सामुद्रिक किनारबाट बाहिर जानबाट रोकेका थिए।

इस्कन्दरले एएफपीसँग भन्नुभयो, “धेरै घण्टा पछि एक सहमति मा पुगिएको छ । शरणार्थीहरूलाई अब ओर्लिन शिविरभित्र बस्न अनुमति दिइनेछ ।”

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दा र अधिकारीहरूसँग वार्ता गर्न त्यस क्षेत्रको भ्रमण गरेका थिए।

इस्कन्दरका अनुसार अस्थायी आश्रयस्थलको क्षमता सीमित भए पनि यो अझै पनि अस्थायी आश्रयस्थलका रूपमा पर्याप्त छ ।

थकित देखिएका तर गम्भीर अवस्थामा नरहेका ती शरणार्थीले म्यान्माबाट समुन्द्री मार्गबाट केही दिन यात्रा गरेको बताएका छन् ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी आउने र जाडो महिनाहरूमा सुस्त हुन्छ र समुद्रको अवस्था शान्त हुँदा बढ्छ ।

यसै महिनाको सुरुमा २६० भन्दा बढी रोहिङ्ग्या शरणार्थी आचेहको समुद्री तटमा पुगेका थिए ।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आइपुगेका रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।

धेरै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् तर कतिपयले उनीहरूको उपस्थितिलाई अस्वीकार गर्दै रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरू उपभोग गर्ने र कहिलेकाहीं स्थानीयहरूसँग द्वन्द्वमा आउने सम्भावनालाई देखाउँदै उनीहरूलाई स्वीकार्न नहुने बताउँछन् ।

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ ।

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो । यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ र जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ ।

तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ र यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो ।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताउनुभयो । “हामीलाई कारण निर्धारण गर्न थप समय चाहिन्छ”, उहाँले भन्नुभयो ।

मलेसियास्थित समुद्री अनुसन्धान संस्था वल्र्डफिसका वैज्ञानिक सरिफ उद्दिनले यसको सम्भावित कारण अत्यधिक माछा मार्ने र समुद्र सफा गर्ने ट्रलर जालको प्रयोग भएको बताउनुभयो ।

“कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् र दम फुट्छ”, उहाँले भन्नुभयो, “यो दुःखद छ कि तिनीहरू यहाँ प्रजनन गर्न आउँछन् र मर्छन् ।”

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको जनसङ्ख्यामा आएको अवरोधले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताउनुभयो ।

“गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो”, उहाँले भन्नुभयो, “कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ । यदि हामी हाम्रो माछाको भण्डार टिकाउन चाहन्छौँ भने हामीले कछुवाहरूलाई बचाउनुपर्छ ।”

पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) सँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएको छ । साथै उहाँले जारी मुद्दाहरूलाई सम्बोधन गर्न संसदीय समिति गठन गर्ने प्रस्ताव गर्नुभएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

सङ्घीय मन्त्रिपरिषद् बैठकमा सरिफले पिटिआईको प्रस्तावपछि समिति गठन गरी सुरु भएको पिटिआईसँगको अघिल्लो वार्तालाई सम्झाउनुभयो ।

इमरान खानले स्थापना गरेको पार्टीले राष्ट्रिय सभाको अध्यक्षमार्फत लिखित माग पेस गरेको र सरकारले लिखित जवाफ दिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । तर पिटिआईले २८ जनवरीको निर्धारित बैठक रद्द गर्यो ।

प्रधानमन्त्री सरिफले लिखित मागको लिखित जवाफ दिनु तार्किक भएको बताउनुभयो ।

सन् २०१८ को चुनावपछि विपक्षीहरू कालो पट्टी बाँधेर संसद्मा प्रवेश गरेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले चुनावसँग सम्बन्धित चिन्ताको छानबिन गर्न संसदीय समिति गठन गर्न पहल गरेको उहाँले बताउनुभयो ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार पिटिआईले कहिल्यै न्यायिक आयोग गठन नगरेको तर एउटा समिति गठन गरेको उहाँले बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्रीले सन् २०१८ र २०२४ मा भएको चुनावको अनुसन्धान गर्न र तथ्यहरू बाहिर ल्याउन नयाँ समिति गठन गर्न वार्ता पुनः सुरु गर्न र मिलेर काम गर्न पिटिआईलाई आह्वान गर्नुभयो ।

यसअघि बुधबार पिटिआई अध्यक्ष ब्यारिस्टर गोहर खानले सरकारलाई जानाजानी संवादबाट बच्ने र पार्टीको न्यायिक आयोग गठनको माग बेवास्ता गरेको आरोप लगाउनुभएको थियो ।

बुधबार रावलपिन्डी कछेरी बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले पिटिआईले औपचारिक रूपमा सरकारलाई उहाँहरूको प्रमुख चिन्ताहरू सम्बोधन गर्न न्यायिक आयोग गठन गर्न अनुरोध गरेको बताउनुभयो । तर सरकारले उहाँहरूको मागको जवाफ दिएन ।

“उनीहरू वार्ता होस् वा समाधान होस् भन्ने चाहँदैनथे”, उहाँले अधिकारीहरूलाई जानाजानी वार्तामा ढिलाइ गरेको आरोप लगाउँदै भन्नुभयो, “हामीले हाम्रा मागहरू प्रस्तुत गर्यौँ तर सरकारले कुनै गम्भीर कदम चालेको छैन । यदि तिनीहरू इमानदार थिए भने, तिनीहरूले समयमै जवाफ दिने थिए ।”

गोहर अली खानले अधिकारीहरूले जनवरी २८ सम्म समिति कक्षमा जवाफ दिने वाचा गरेको बताउनुभयो ।

यद्यपि उहाँले पिटिआईलाई निर्णयको बारेमा अग्रिम विवरण नदिइएको बताउनुभयो । इमरान खानले स्थापना गरेको पार्टीले राजनीतिक दबाबको सामना गरे पनि वार्ता प्रक्रिया सुरु गरेकोमा उहाँले जोड दिनुभयो ।

पाकिस्तान राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकले मङ्गलबार चौथो चरणको वार्ताका लागि पिटिआई र सरकारका प्रतिनिधिहरूलाई आमन्त्रित गर्नुभएको थियो तर पिटिआईका प्रतिनिधिहरू बैठकमा सहभागी भएनन् ।

पछि पाकिस्तान सरकारले आफ्नो वार्ता समितिले जनवरी ३१ सम्म पर्खने भन्दै यदि पिटिआईले वार्ता समाप्त गर्ने आफ्नो निर्णय परिवर्तन गर्यो भने प्रक्रिया पुनः सुरु हुनसक्ने घोषणा गर्यो ।राजनीतिक तनावलाई सम्बोधन गर्न सरकार र विपक्षीबीच डिसेम्बरमा वार्ता सुरु भएको थियो । एक्सप्रेस ट्रिब्युनका अनुसार त्यसबेलादेखि दुवै पक्ष तीन पटक भेटेका छन् ।

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

काठमाडौँ, १७ माघः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ आयोजना गरेको सातौँ दीक्षान्त समारोहमा उहाँले पेसागत धर्म पालना तथा लेखा व्यवसायका सम्बन्धमा सामाजिक मान्यता र विश्वास अभिवृद्धि गर्न चार्टर्ड एकाउन्टेन्ट लाग्नुपर्ने बताउनुभयो ।

“विकासका लागि सुशासन महत्वपूर्ण छ, दीक्षित विद्यार्थीले पेसाप्रति निष्ठावान् रही मुलुकको विकासमा सघाउन प्रतिबद्धता गर्नुपर्छ”, उपकुलपति बरालले भन्नुभयो, “सीमित स्रोतसाधनको सही उपयोग र परिचालन गर्न लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।”

संस्थाका अध्यक्ष प्रवीनकुमार झाले इमान्दार र आचारसंहिताको पूर्णपालना गरेर काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो । सो अवसरमा उपकुलपति बरालले दीक्षित चार्टर्ड एकाउन्टेन्टलाई शपथ ग्रहण गराउनुभएको थियो ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ, १७ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।

“आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !” प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ ।

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख

काठमाडौँ, १७ माघः सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उहाँले उल्लेख गर्नुभएको छ । 

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।

त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।

राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको दूतावासले जनाएको छ ।

कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरे ।

दूतावासका अनुसार बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकता बारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बङ्गलादेश उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपालसँगको व्यापारबारे आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

शीतलहर प्रभावितलाई लहान नगरपालिकाद्वारा एक हजार थान कम्बल वितरण

सिरहा- सिरहाको लहान नगरपालिकाले शीतलहरबाट प्रभावित यहाँका विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई एक हजार थान कम्बल वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीले आज लहान नगरपालिका–२२ बर्छावा टोलका ८० जना नागरिकलाई नगरपालिकाका तर्फबाट कम्बल वितरण गर्दै हालसम्म हजार थान वितरण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्मको शीतलहरले जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा ज्येष्ठ नागरिकलाई पर्न सक्ने असरलाई दृष्टिगत गर्दै चिसोबाट प्रभावित दलित, गरिब, विपन्न समुदायलाई लक्षित गरी कम्बल प्रदान गरिएको हो ।”

लहान नगरपालिकाका २४ वटै वडामा करिब २० हजारको सङ्ख्यामा दलित समुदायको बसोबास रहेको छ । नगरप्रमुख चौधरीले आवश्यकताका आधारमा विपन्न समुदायलाई खाद्यान्न पनि दिइने बताउनुभयो । यसभन्दा अघि नगरपालिकाले यहाँको रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा आउने विपन्न दलित समुदायका बिरामीलाई चिसोबाट जोगाउन ६५ थान कम्बल वितरण गरेको थियो ।     यसैगरी, सहरी क्षेत्र नजिक रहेका दलित, विपन्न बस्तीहरूमा दाउराको घुर ताप्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा

ललितपुर, १७ माघ : नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताउनुभएको छ ।

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो ।

राजदूत मायदाले भन्नुभयो, “हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।”

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गर्नुभयो । ‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पु¥याउन उल्लेख्य भूमिका खेलेको बताउनुभयो । अलमनाई एशोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका बिरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ ।

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

रोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

काभ्रेपलाञ्चोक-रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो ।

सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नुहुनेछ । समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि रहनुहुने छ ।

समितिले समस्या समाधानसहितको प्रतिवेदन तयार गर्ने र समितिको समयसीमा भने समिति आफैँले तोक्ने सांसद दाहालले बताउनुभयो । उहाँले असोज १०, ११ र १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीका तीन स्थानीय तहको सिमाना अदलबदल भएको थियो । काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीच सिमानामा बाढीले समस्या भएको हो ।  

दुई जिल्लाका तीन स्थानीय तहबीच विशेषगरी नेपालथोक क्षेत्रमा समस्या देखिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने बताउनुभयो । 

यसैबीच गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोला क्षेत्रको सीमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जनाइएको छ । बाढीपहिरोले खोलाको सीमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनमा क्षति पुगेपछि समस्या समाधानका लागि पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य गरेका हुन् ।  

नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जानकारी दिनुभयो । त्यस क्रममा व्यक्तिले भोगचलन गरिरहेका करिब ७० कित्ता जग्गाको  पहिचान गरिएको उहाँले बताउनुभयो ।

त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौँ- आज (बिहीबार)देखि सुरु हुने नेदरल्यान्डस र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताउनुभयो । 

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गर्नुभयो । शृङ्खलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । 

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।    बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । 

विपन्न मुसहर बस्तीका सुत्केरी आमा र बच्चालाई न्यानो कपडा र खाद्यान्न वितरण

बरहथवा (सर्लाही- सर्लाहीको बसवरियामा चिसोले समस्यामा परेका विपन्न मुसहर सुत्केरीहरूले न्यानो कपडा र पोषण खाना पाएका छन् । बसवरिया गाउँपालिका–३, बङ्गलवाका विपन्न मुसहर सुत्केरीलाई न्यानो कपडा र खाद्यान्न प्रदान गरिएको हो ।

केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सुसहित शीतलहर सुरु भएपछि समस्यामा परेका खरब सार्वजनिक भएपछि लायन्स क्लब अफ काठमाडौँ होली स्माइल कुलेश्वरले न्यानो कपडा र खाद्यन्न प्रदान गरेका हुन् । गाउँका पाँचजना सुत्केरी आमा र बच्चाका लागि न्यानो कपडा, सिरक, डस्ना, चामल, गेडागुडी र घीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष रामसिहासन रायले जानकारी दिनुभयो । “विपन्न परिवारको अवस्थाबारे समाचार प्रकाशन भएपछि सहयोगी संस्थाले खाद्यान्न र केही कपडा प्राप्त भएका थिए । ती समान सम्बन्धित परिवारलाई वितरण गरेका छौँ”, उहाँले भन्नुभयो ।  

राहत पाएपछि १० दिनकी सुत्केरी २३ वर्षीया जोनिता माझीले खुसी व्यक्त गर्नुभयो । चिसोका कारण सङ्कटमा परेका बेला आफू र बच्चालाई अत्यावश्यक सामग्री दिएकामा उहाँले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । सुत्केरी अवस्थामा रहेका सोही गाउँका २४ वर्षीया बिना माझी, २० वर्षीया दीपा माझी, ३० वर्षीया मनिषा माझी र २० वर्षीया पुनीता माझीलाई समेत संस्थाले पोषिलो खाद्यान्न र न्यानो कपडा प्रदान गरेको छ । 

प्राप्त सामग्री विपन्न सुत्केरीलाई उहाँहरूको गाउँमै पुगेर वितरण गरेको स्थानीय व्यवस्थापक संस्था साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले बताउनुभयो । 

सुत्केरीका लागि भारतको बैङ्गलोरमा व्यवसाय गर्ने दीपक देउवा परिवारले समेत आर्थिक सहयोग गर्नुभएको थियो । लायन्स क्लब अफ काठमाडौँ होली स्माइलको सहयोगमा मुसहर टोलका अन्य ४५ परिवारलाई ज्याकेट, सर्ट, पेन्ट, जुत्ता लगायतको न्यानो सामग्री वितरण गरिएको कार्यवाहक वडाध्यक्ष रामप्रकाश राय यादवले जानकारी दिनुभयो । 

पिएसबीको अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट

काठमाडौँ, १७ माघः संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गर्ने व्यवस्था समेटियो । २०८१ भदौ ३१ गते सङ्घीय संसद्बाट पारित विधेयक असोज २२ गते राष्ट्रपतिबाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण भयो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिनअर्थात् २०८१ कात्तिक २३ गतेदेखि ऐन कार्यान्वयनमा आयो । नयाँ ऐनको कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रसारण संस्था स्थापना भई रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाल र सञ्चार सस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको हो । प्रस्तुत छ, नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टसँग राष्ट्रिय समाचार समिति (रासस) ले लिएको अन्तर्वार्ता ः

नेपालमा टेलिभिजन प्रसारणको जननी मानिने नेपाल टेलिभिजन स्थापनाको ४० औँ वर्षगाँठ मनाइरहँदा एनटिभी स्थापनाको उद्देश्य र यसले खेल्दै आएको भूमिकालाई कसरी लिनुहुन्छ ?

नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारण संस्थाको रूपमा स्थापना भयो । विसं २०४१ मा स्थापना हुँदाखेरी यसले नयाँ अभ्यासको रुपमा सबैको एउटा जिज्ञासाको विषयको रूपमा यो आयो । त्यसबेलाको प्रविधिलाई उच्चतम प्रयोग गरेर यो आयो । पहिले नै रङ्गीन टेलिभिजन रुपमा स्थापना भयो । विषयवस्तुको हिसाबमा पनि विकासको लागि सञ्चारको नारा अगाडि सार्यो त्यो अत्यन्तै त्यो बेलाको लागि सान्दर्भिक नारा थियो । त्यसको विकासक्रम अनुसार प्रविधि मात्रै होइन यसले दिन विषयवस्तु प्रमुख कुराहरु हो । विषयवस्तुको रुपमा जाँदाखेरी जुन बेलाको जस्तो शासन प्रणाली छ, त्यो शासन प्रणालीभन्दा भिन्न किसिमले लैजानसक्ने अवस्था यसको संरचनाको हिसाबमा पनि थिएन । विषयवस्तुका हिसामा प्रारम्भिक दिनहरू नियन्त्रित रूपमा अगाडि बढ्यो । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको आधारभूत मान्यताहरुलाई सम्पूर्णरुपमा पालन गर्न सक्ने छुट यससँग थिएन । जब २०४६ सालमा जनआन्दोलनले नेपालमा प्रजातन्त्रको बिहानी प्रारम्भ भयो ।

प्रजातन्त्र प्रारम्भ भएसँगै नेपाल टेलिभिजनले आफ्नो दायरालाई फराकिलो बनाउँदै लिएर गयो । त्यो बनाउने सिलसिलामा यसले प्रजातन्त्रलाई सस्थागत गर्नको निम्ति महत्वपूर्ण योगदान गर्यो । राष्ट्रिय एकताको भाव सिर्जना गर्ने, राष्ट्रियतालाई प्रवद्र्धन गर्ने र विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने आमजनतालाई र उनका सरोकारहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै गयो । यसबीचमा रानीतिक परिवर्तनमा जुनबेला अंकुश लाग्यो त्यो बेलामा यो फेरि संकुचित हुने खालको अवस्था पनि सिर्जना भयो। अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । यस अभ्यासमा जाँदाखेरि यसको दायरा फराकिलो भयो । तर पनि एउटा सालको चाहिँ जुन संरचना थियो नेपाल टेलिभिजन र रेडियो नेपालको त्यो संरचनाले यसलाई एउटा स्वतन्त्र र व्यापकताको रुपमा प्रेस स्वतन्त्रतालाई अघि बढाउन सक्ने गरी दायारा थिएन । त्यसलाई पनि अझ फराकिलो गरेर सार्वजनिक सेवा सेवा प्रसारकको रूपमा योजना व्यापकतामा अगाडि बढेको छ । विगतको एउटा खालको विरासतलाई हामीले महत्वपूर्ण गौरवपूर्ण र एउटा ऐतिहासिक मान्दै अब नयाँ चरणमा प्रवेश गरेको छौँ ।

नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारको रुपमा रुपान्तरण भइसकेको छ । नयाँ परिस्थितिमा आम मानिसहरुले पिएसबीलाई कसरी बुझ्ने ? तपाइँ पिएसबीकै पहिलो अध्यक्ष भएको नाताले अब यसलाई कसरी अघि लैजानुहुन्छ ?

सार्वजनिक सेवा प्रसारण भन्नेबित्तिकै यसका आधारभूत सिद्धान्तहरू छन्,. मान्यताहरु छन् विश्वव्यापी रूपमा झण्डै एक शताब्दीदेखि अभ्यास हुँदै र विकास हुँदै आएका चरणहरु छन् । सार्वजनिक सेवा प्रसारण प्रसारण मात्रै नभएर सार्वजनिक सेवा माध्यमको रूपमा र पिएसबीलाई पिएमको रूपमा अभ्यास गर्दै आएका चलनहरु पनि छन् । हामी नाममा पिएसबी भनिएता पनि पिबिएम अभ्यासमा गइरहेका छौँ । त्यो अभ्यासमा जाँदा तीन चार किसिमको क्षेत्रहरु चाहिँ नयाँ ढङ्गले अगाडि बढ्छन् । यसमा हामी नेपाल टेलिभिजनको र रेडियो नेपालको स्वरूपमा अहिले होइन, यसको रूपान्तरण भइसकेको स्वरूपमा सार्वजनिक सेवा प्रसारणमा रहेको अवस्था हो । सार्वजनिक सेवा प्रसारण भनेर नयाँ संस्था स्थापना भएको र संस्थामा यी संस्थाहरू पनि रूपान्तरित भएको स्थिति भएकाले हामीले त्यो ऐतिहासिक विरासतलाई त लिन्छौँ । तर विषयवस्तुहरु भने आधारभूत रुपमै परिवर्तन हुन्छन् । यसको दायारा अझ फराकिलो भएर जान्छ । जस्तो राजनीतिक रूपमा हेर्ने हो भने यसले राजनीतिक तटस्थता लिन्छ । कुनै पनि दल विशेष र कुनै पनि संरचना विशेषको एकपक्षिय रुपमा प्रस्तुत हुने.कुनै कालखण्डमा थियो भनेपनि अब पिएसबीमा अब त्यो रहँदैन । यसले राजनीतिक रुपमा तटस्थतालाई कायम राख्छ । त्यसैगरी व्यापारिक स्वार्थबाट प्रेरित भएर चल्नुपर्ने खालको बाध्यता यसमा हुँदैन । व्यापारिक स्वार्थभन्दा पनि तटस्थ रहन्छौँ । राज्यको दायित्वलाई पालना गर्ने गरी पिएसपीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ ।

सार्वजानिक सेवा प्रसारणको पहिलो अध्यक्षको हिसाबले तपाईंको योजना के छ ? पिएसपी कार्यान्वयनका लागि कामहरु कसरी अघि बढाउँदै हुनुहुन्छ ?

हामीले तीन चार चरणमा काम गर्ने गरी योजना बनाएका छौँ । पहिलो चरणमा पिएसपीको बारेमा हामी स्पष्ट हुने र स्पष्ट गराउने यो चरणमा छौँ यस सिलसिला अभिमुखीकरणको क्रमहरु चलिरहेको छ । समाचार, कार्यक्रम, इञ्जिनियरिङ प्रशासन आर्थिक व्यापारिक हरेक क्षेत्रका पुनः अभिमुखीकरण गरेर अगाडि बढ्ने चरणमा छौँ । प्रक्रिया अगाडि बढिसकेको छ ।

त्यसैगरी हामी विभिन्न नौ÷दश वटा क्षेत्रमा विषयगत क्षेत्रमा समूहगत छलफलसहितको पिएसबीको प्रि लञ्चिङ कार्यक्रम सम्पन्न गरिसकेका छौँ । त्यसले हाम्रो दायरालाई हामीबीचको छलफलमा मात्र सीमित नगरी सीमित नगरी अन्य पक्षहरुसँग पनि यसका मुख्य सरोकारवालहरूसँग पनि पुग्ने प्रयास गरेका छौँ । त्यो क्रम जारी रहेको छ ।

हामी हाम्रा विषयवस्तुका प्राथमिकता क्षेत्र निर्धारण गर्ने र हामीले नयाँ प्रक्रियामा जाँदा सङ्गठन संरचना, पदको निर्धारण समायोजनदेखि नयाँ खालको वृत्ती विकासका अवसरदेखि आन्तरिक अभ्यासका चरण र बाह्यमा यसले दिने विषयवस्तु कार्यक्रमहरू समाचार ढाँचाहरु, नीतिहरु, कार्यक्रमहरु, मापदण्डहरू, कार्यविधिहरु सबै पुनरावलोकन गरेर अघि बढ्ने चरणमा छौँ । विषयवस्तुतर्फ हामीले मुख्य रुपमा तीन वटा क्षेत्रहरुलाई प्राथमिकताको क्षेत्रमा रुपमा लिएका छौंँ । राष्ट्रिय एकता, विपद् र समृद्धि तीन पिलरको रुपमा विषयवस्तुहरु रहनेछ । तीन खम्बाभित्र हामीले सम्पूर्ण क्षेत्रलाई झैँ फेरि उपखण्डको रूपमा व्यवस्थापन गर्नेछौँ । राष्ट्रिय एकताभित्र राष्ट्र सम्पूर्ण भाषा, संस्कृति, धर्म, वर्ण लिङ्ग सबैलाई समेटेर लिएर जाने कुरा हुन्छ । त्यसभित्र राष्ट्रियता, भौगोलिक अखण्डता, त्यसमा विभिन्न खालको हामी बहुलता र विविधताका पक्षहरूलाई राष्ट्रिय एकताको भावभित्र समेट्छौंँ ।

कसैले पनि यसबाट बाहिर पर्यौ भन्ने अवस्था आउने छैन । समावेशीताको ऐनाको रुपमा हामी रहनेछौँ । यस्तै विपदभित्र हामीले नागरिकको जीवनरक्षा हाम्रो प्राथमिक विषय हुन्छ । प्राकृतिक विपत्ति होस् वा महामारी एवं वातावरणको क्षेत्र होस्, जलवायु परिवर्तनको क्षेत्रमा यी सबै क्षेत्रहरुलाई हामीले विपदभित्र लिएर जान्छौँ । त्यसैगरी समृद्धिभित्र आर्थिक समृद्धि, भौतिक विकासदेखि मानव विकासका सबै पक्षहरू, मानव जीवनका परिवर्तनका सबै कक्षाहरू जुन समेटिएका हुन्छन् नागरिकको सुखका हितका पक्षहरु समेटछौँ । नयाँ विषयवस्तु र नयाँ ढङ्गले प्रस्तुत गर्छौं । अहिले भइरहेका समाचारको शैलीलाई परिवर्तन गर्दैछौँ र गर्न शुरु गरिसकेका पनि छौँ । हामीले रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्महरुलाई समानन्तर हिसाबमा तीन वटा अङ्ग बनाएर लिएर जान्छाँै । पिएसबीको आधारभूत मान्यताभित्र सर्वव्यापकता हुन्छ, सर्वव्यापकताको पूर्ण अभ्यास गर्छौं । त्यो प्रविधिको विषयवस्तु दुवै हिसाबले अगाडि बढ्छ ।

टेलिभिजनको सञ्चालन खर्चको व्यवस्था स्पष्टसँग पिएसबीको ऐनमा उल्लेख गरिएको पाइँदैन । तर संस्थालाई आर्थिक भार भने बढ्दै गएको छ । यस्तो अवस्थामा एनटिभीका हालका च्यानलहरु पिएसबीमा कसरी सचालन गरिन्छ ? खासगरी संचालनका लागि आर्थिक उपार्जनको बाटो के होला ?

विश्वमा पिएसबी सञ्चालनका विभिन्न खाले ढाँचाहरू अभ्यासमा रहेका छन् । कतिपयले यसको चाहिँ दर्शक स्रोताहरुबाट कर सङ्कलन गर्ने यसको मुख्य स्रोत चाहिँ यो हेरेबापत सुनेबापत नै प्राप्त हुने गरी नै सञ्चालन गरेको पाइन्छ । कतिपय राज्यको कोषले कुनै लगानी गरिरहेको, कतिपय बाह्य अथवा आन्तरिक सहयोगमा निर्भर भएको र कतिपयले यो कमर्सियल मार्केटबाट व्यापारिक क्षेत्रबाट गरिरहेको छ । हाम्रो सार्वजनिक सेवा प्रसारण ऐनले यसको आयको स्रोतहरुमा सङ्घीय सरकारबाट हुने अनुदान प्रदेश र स्थानीय तहबाट हुने अनुदान बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोग र यसले आर्जन गर्ने आयलाई लिएको छ । यी तोकिएका क्षेत्रहरूको आधारमा हेर्दा हामी कर प्रणालीमा पूरै निर्भर हुने, नागरिकमा हुने वा व्यापारिक हुने नभएर मिश्रित खालको हाइब्रिड मोडलमा रहने परिकल्पना गरेको देखिन्छ ।

यो मोडल पनि अभ्यासमा आएको छ । हाइब्रिडमा जाँदा कतिपय सहजता भएको कतिपय एकदमै खतरनाक अवस्था सिर्जना भएको र जोखिममा परेको अभ्यासहरू पनि देखिएका छन् । यसले मिश्रित खालको नतिजा दिएको छ । तपाईंले भनेजस्तो पिएसपी सञ्चालन कोषको कोष व्यवस्थापनको हिसाबमा यो सुरक्षित अवस्थामा अझै पुगिसकेको छैन । हामी यसलाई नयाँ स्वरुपमा जाँदाका अभ्यास पनि गर्दै त्यसभित्र परिमार्जन पनि गर्दै र स्रोतको सुनिश्चित हुने क्षेत्रहरुलाई एउटा प्रवद्र्धन गर्ने र स्थिर कोषको रुपमा एउटा हुने र संस्थालाई आफैंभित्रको क्षमता विकासको प्रतिस्पर्धामा बनाउनको निम्ति स्पष्टताको हाइब्रिडमा जानेगरी अगाडि बढनु पर्ने छ । यसको व्यवस्थापकीय नेतृत्व गरिरहेको हिसाबमा हेर्दाखेरि जोखिमको मात्रालाई कम गर्दै यसको अवसरहरूलाई बढाउँदै यसको भविष्यलाई सुनिश्चित गराउने गरी कोषको व्यवस्थापनको पहल गर्नुपर्ने आवश्यकता महिले देखिरहेको छु ।

 त्यो गर्नको निम्ति चाहिँ राज्य हुनु अथवा सरकारसँग पनि हामी पहल सुरु भइसकेको छ । नागरिक तहबाट पनि यसमा अझै छलफल हुँदै जान्छ । राष्ट्रिय सरोकारवालाको दायरामा पनि रहँदैन । युनेस्कोले पनि अब सूचीकरण गर्न थाल्छ । भोलि यसको स्तरहरू त्यहाँको देखिन थाल्छ. । यी सबै अभ्यास गर्दै जाँदा यसको कोषको पनि सुनिश्चिता हुने र स्थिरता कायम हुने गरी अगाडि बढ्छ भन्नेमा विश्वस्त छु । 

नेपाल टेलिभिजनले भविष्यमा आफ्ना च्यानल एवम् व्युरोहरु विस्तारको योजना के कस्तो बनाएको छ । एनटिभी वल्र्ड च्यानल सञ्चालनको अवस्था के छ ?

हामीले तीन वटा कुराहरुलाई समानन्तर रुपमा लिएर जान्छौ । रेडियो प्रसारण, टेलिभिजन प्रसारण र डिजिटल प्लेटफर्मको सञ्चालनलाईसँगै लिएर जान्छाँै । यी तीन पिलरको रुपमा लिएर जाँदाखेरी रेडियोको अहिले आइरहेको मिडियम वेभ र फ्रिक्वेन्सी मोडुलेसन मार्फतको जुन प्रसारणहरु भइरहेको छ । यसले एउटा एउटा पहुँचलाई वृद्धि गरेको छ । तर पनि सहजतामा कतिपय कुरा अहिले पनि कठिन भइरहेको छ । यसले रेडियोको जुन सिङ्गल च्यानलबाट जुन भइरहेको छ, त्यसलाई चाहिँ दुई च्यानलबाट जानसक्ने रेडियोतर्फ हामी जान्छौँ ।

त्यसैगरी टेलिभिजनतर्फ हामीले पाँचवटा च्यानलहरूले सञ्चालन गरिरहेकामा ती च्यानलहरुलाई अझ स्पष्टताका साथ विभाजन गर्नेछौँ । कति दोहोरोपनहरु पनि भइरहेको त्यसलाई विशिष्टीकृत गर्ने दुईवटा प्रदेशमा सञ्चालन भइरहेका च्यानललाई त्यस भेगका लागि बढी केन्द्रित गर्ने, राष्ट्रिय च्यानलको रुपमा आइरहेको च्यानललाई कमर्सियल मार्केटमा समेत लैजाने गरी अगाडि बढाउने अझ प्रवद्र्धन गर्नेछौँ । त्यसपछि एउटा च्यानललाई पूर्ण पिएसवी अर्थात क्लिनफिडकै रुपमा जानसक्ने गरी बनाउने यसको सँगसँगै छ । अब विश्व जनसमुदायमा नेपाललाई एउटा स्थापित गर्ने हिसाबले बाहिरको अभ्यासहरुलाई समेत ध्यानमा राखेर एनटिभी वल्र्डको परिकल्पना भइरहेको छ । चाँडै नै हामी सञ्चालनमा लैजाने गरी काम अघि बढाएका छौँ । मल्टिमिडियाको हिसाबमा चाहिँ त्यसको छुट्टै विषयवस्तुको उत्पादन हुने गरी डिजिटल प्लेटफर्मलाई एकदमै बलियो बनाएर जनताले हाम्रो कन्टेन्टहरुलाई उहाँहरूलाई अनुकूल हुने जुनसुकै माध्यम र जुनसुकै समयमा.हेर्न, सुन्न, पढ्नसक्ने गरी हामी अगाडि बढाउँछौं ।

अन्त्यमा, नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा कार्यरत कर्मचारीहरु, दर्शक तथा श्रोता र विज्ञापनदाताहरुलाई के भन्नुहुन्छ ?

 सबैभन्दा पहिले नेपाल टेलिभिजनको ४० औँ वार्षिकोत्सव सार्वजनिक सेवा प्रसारण गइसकेको अवस्थाको वार्षिकोत्सवको रुपमा बुझ्नको लागि म आग्रह गर्न चाहन्छु । हामी यो आर्थिक वर्षभरि दुईटा छुट्टाछुट्टै नियमावली विनियामवली अनुसार छुट्टै वार्षिकोत्सवको रुपमा मनाए पनि पिएसबी रुपान्तरण कै चरणको रुपमा बुझिदिन आग्रह गर्दछु । यो कुनै पनि किसिमको स्वार्थबाट अलग भएर नागरिकको स्वार्थबाहेक यसभित्र अर्को कुनै स्वार्थ छैन भन्ने बुझेर यसलाई साथ सहयोग गर्न आफ्नो डोमेन भित्रलाई चाहिँ तपाईंको सबै स्वामित्वको हिसाबमा पनि ग्रहण गरिदिनु हुन र एलआइसी साथ सहयोग दिनु हुन म अनुरोध गर्न चाहन्छु ।  

हाम्रो सम्पूर्ण दर्शकहरुलाई यहाँसम्म विकास गर्नलाई जो जसले योगदान गर्नु र सबैप्रति म आभार कृतज्ञता व्यक्त गर्न चाहन्छु र यहाँ हामीसँग विज्ञापनदाताको रुपमा र विभिन्न किसिमका विषयवस्तुमा सहयोग गर्ने हिसाबमा जति सरोकारवाला हुनुहुन्छ, उहाँ सबैलाई हामीलाई यहाँसम्म ल्याउनको लागि सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु र भविष्यमा अझ फराकिलो स्वरुपमा उहाँको सहयोगको अपेक्षा गर्न चाहन्छु. । यहाँ आबद्ध कर्मचारी पत्रकार र सम्पूर्ण जो जनशक्ति हुनुहुन्छ उहाँहरुलाई यो पिएसवीले नयाँ अवसरहरु सिर्जना गर्दैछ । दायरालाई अझ फराकिलो बनाएर लगिरहेको छ । वृत्तीविकासका अवसरहरू पनि हामी नयाँ ढङ्गले सिर्जना गर्दैछाँै । एकदमै बढी उत्प्रेरणाको साथ अगाडि बढ्नको निम्ति र हामीसँग अब यो अधिकार पनि थपिएको छ । दायित्व पनि थपिएको छ भन्ने कुरालाई मनन गर्दै नयाँ दायित्वलाई बहन गर्नको निम्ति तयार भएर अगाडि बढ्नको निम्ति स्वःस्फूर्त रुपमा उत्प्रेरित भएर अग्रसरता लिन आग्रह गर्दछु । राष्ट्रिय एकताको भाव विकास गर्न मिडियाको तर्फबाट पिएसबीको तर्फ त्यो दायित्व हामीले पूरा गर्न सबै मिलेर त्यसलाई पूरा गर्न लागि भनेर आग्रह गर्न चाहन्छु ।

संविधान संशोधनका विषयमा दलहरु आफैँ अलमलमा छन्ः सांसद बोहरा

काठमाडौँ । अहिले संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । संविधान संशोधन गर्ने हो भने शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाजस्ता केही महत्वपूर्ण विषयलाई छलफल र बहसमा लैजानुपर्छ । उदाहरणका लागि, प्रदेश, पालिका, वडाको सङ्ख्या घटाउन सकिन्छ । कार्यकारीसहित सङ्घ र प्रदेशमा सानो मन्त्रिमण्डल बनाउन सकिन्छ । सङ्घीयता आफैँमा बेठीक होइन, यसलाई चुस्त, प्रभावकारी र आर्थिक रुपमा धान्न सकिने बनाउन जरुरी भइसकेको छ ।

अहिले उठेको संविधान संशोधनको मुद्दा सत्ताको खेलसँग जोडिएको भ¥याङजस्तो लागिरहेको छ । यो विषय राजनीतिक दलले पर्गेल्न सक्नेजस्तो देख्दिन । वर्तमान सरकार गठन हुँदा नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधनको कार्यसूची अगाडि सारे पनि यस विषयमा दुवै दलका नेताहरु नै अलमलमा रहेको देखिन्छ । कुन विषयमा संविधान संशोधन गर्ने भन्ने यकिन भएको छैन । संविधान संशोधनजस्तो विषयमा देशभित्र राष्ट्रिय सहमति पनि आवश्यक पर्छ ।

लोकतन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका राजनीतिक दल र त्यसका नेतृत्वले विकास, समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण समेतका अनेकन जल्दाबल्दा विषयमा जनतालाई आश्वस्त बनाउन सकिरहेका छैनन् । मुलुकमा सुशासन कायम गर्न नसक्दा नागरिकमा असन्तुष्टि चुलिएको छ । भ्रष्टाचार मौलाउने, बेथिति बढेका कारण नागरिकमा वितृष्णा उत्पन्न भएको छ । विगतमा राजनीतिक अस्थिरताकै कारण संसद्मा पेस भएका विधेयकलाई सक्रियताका साथ अघि बढाउन सकिएको छैन ।

कानुन निर्माणमा संसद्ले कछुवाको गतिमा काम गरेको प्रष्टै छ । निर्माण भएका कानुनको कार्यान्वयनको पाटो पनि कमजोर छ । सरकारले कानुन कार्यान्वयन प्रभावकारी रुपमा गर्न सकिरहेको छैन । यसबीच, भूमिसम्बन्धी कानुन संसद्बाट सहजै पारित नहुने देखिएपछि सरकारले अध्यादेशको सहारा लिएको भन्ने लाग्छ । राज्यलाई दूरगामी प्रभाव पार्ने यस्ता विषयमा सरकारले पनि विशेष ध्यान पुर्याउनुपर्छ । जनताको सर्वोच्च संस्था संसद्बाट पर्याप्त छलफल गराएर कानुन निर्माण गर्नुपर्नेमा सरकार अध्यादेशमार्फत राज्य सञ्चालनमा लाग्नु दुःखद् हो । यस्तो क्रियाकलापले स्वयं संसद्लाई कमजोर तुल्याउँछ । संसद् कमजोर हुनु भनेको समग्र लोकतन्त्रमाथि नै प्रश्न उठ्नु हो । सरकार र राजनीतिक दलहरुले सिङ्गो राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हो । तर त्यो देखिएको छैन । अझ, सरकार र दलका निर्णय प्रक्रियामा बिचौलिया हाबी हुन थालेको चर्चा छ । सरकार गठनमा होस् वा कानुन निर्माणमा त्यस्ता गतिविधि खुलेआम देखिन्छ ।

मुलुकमा रोजगारीको सिर्जना नहुँदा युवाको विदेश पलायन तीव्र गतिमा भइरहेको छ । अहिले देशभित्र रोजगारीका अवसर खुम्चिएका छन् । युवालाई देशभित्रै स्वरोजगारमा अग्रसर तुल्याउन र स्वावलम्बी बनाउन राज्यले विशेष ध्यान दिनुको विकल्प छैन । यदि अहिलेकै प्रवृत्ति कायम रहे देशभित्र श्रमशील र ऊर्जाशील युवा भेट्टाउन मुस्किल पर्नेछ । तर यो सङ्गीन विषयमा बेखबरझैँ देखिएका सरकारहरु एकले अर्को दल र सरकारलाई दोषारोपण गर्नमै व्यस्त छन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरण गर्ने लगायतमा राज्यको लगानी बढाउनेतर्फ खासै प्रगति देखिन्न । यी सबै विषयवस्तु भाषणमा मात्रै सीमित रहेको देखिनु विडम्बना हो । भन्नैपर्छ, देश र जनताप्रति इमानदार र प्रतिबद्ध कोही देखिएनन् । कृषि उत्पादनमा ह्रास आएपछि अत्यावश्यक खाद्य सामग्री समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । आयात निर्यातको सन्तुलन खल्बलिएको छ । व्यापार घाटा बढेको छ ।

मुलुकको अहिलेको अवस्था तत्कालै रुपान्तरण होला र समृद्धि हासिल भइहाल्ला भन्ने होइन र यो सम्भव पनि छैन । तर केही हुँदैछ भन्ने आशाको सञ्चार गराउन कम्तीमा राज्यले सक्नुपर्ने हो । हामीसँग युवालाई देशमै रोक्ने कार्यक्रम खोइ ? युवालाई स्वदेशमै रोक्न रोजगारी प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने नीति बनाउन हामीले सकेनौँ । राजनीतिक क्षेत्रमा मात्र हैन, कर्मचारीतन्त्र र समग्र समाजमै पनि भ्रष्टाचार मौलाएको छ । उत्पादन गर्ने किसान र उपभोग गर्ने नागरिक दुवै ठगिएका छन् । यस्ता गतिविधिले खुलेआम प्रश्रय पाएको र दण्डहीनता बढेका कारण समाजका हरेक मान्छेमा इमानदारीको खडेरीजस्तो देखिएको छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सरकारले निर्मम समीक्षा गरी ठूलो प्रतिबद्धताका साथ देश बनाउनेतर्फ लाग्नुपर्छ ।

हुनत, सङ्घीय सांसदको मुख्य कार्य देशलाई आवश्यक पर्ने कानुनहरु बनाउने हो । त्यसमा आफ्नो बुद्धिले भ्याएसम्म लागिपरिरहेकै छु । तर, कतिपय अवस्थामा कानुन निर्माणमा समेत दलीय ह्विप मान्नुपर्ने बाध्यता हुन्छ । हामीले धेरै कानुन बनाउन समितिमा बारम्बार छलफल र पैरवी गरिरहेका छौँ । समितिलाई सबल र सक्षम बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुनुपर्छ भनेर लागेका छौँ । सरकारलाई पनि त्यही किसिमको सुझाव दिएका हौँ । खासगरी मुलुकको राजनीतिक स्थायित्व, दिगो शान्ति, विकास र आर्थिक समृद्धिको यात्रामा सबै जिम्मेवार हुनुपर्छ । जनताको सर्वाेच्च थलोमा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिका एकै किसिमको भूमिका हुन्छन् र त्यसमा मैले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेकै छु ।

सल्यानको प्राथमिकता सडक

सल्यान जिल्लाको प्राथमिकता सडक सञ्जाल नै हो । राप्ती राजमार्गलगायतका सडकको निर्माण लामो समयदेखि अलपत्र छ । आवश्यक बजेट विनियोजन हुन सकेको छैन । जिल्लाको यस मुख्य सडकको निर्माण पूरा गरेर आमनागरिकको जीवनलाई सहज तुल्याउनुपर्ने अपरिहार्य छ । कृषि उत्पादन बढाउने, उद्योग खोल्ने र रोजगारी प्रवद्र्धन गर्ने कार्यमा सरकारलाई निरन्तर घच्घच्याइरहन्छु ।

सांसद उदयबहादुर बोहराको परिचय

विसं २०२४ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरी विसं २०४५ देखि दलीय राजनीतिमा सक्रिय रहेका राष्ट्रियसभा सदस्य उदयबहादुर बोहरा हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य छन् । उनी २०५६ मा सल्यान जिल्ला विकास समिति सभापति र २०६४ मा संविधानसभा सदस्यका उम्मेदवार थिए । श्री बोहरा हाल राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सदस्य छन् ।

देशभर मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १७ माघः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बागलुङमा अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

गलकोट (बागलुङ), १७ माघः बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।

उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८÷७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी रु नौ सय ५० का दरले बेच्दा कृषकले रु तीन करोड ९९ लाखको कारोबार गरेका थिए । आर्थिक वर्ष ०७९÷८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको एक सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

मङ्गलबारे (इलाम), १७ माघ : इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउनुभयो । उहाँले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिनुभयो ।

“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भन्नुभयो,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।”

उहाँले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाउनुभयो । “सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भन्नुभयो ।

धूपीको तेल प्रतिकिलोग्राम रु दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो रु छ हजार, मेन्थाको तेल प्रतिकिलो रु सात हजार र धसिंगरेको तेल प्रतिकिलो रु सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहनुभएको छ ।  “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै  गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।  

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताउनुभयो ।  यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ । 

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौँ, १७ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ४०, हरियो प्याज प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकेजी रु ३००, लसुन सुकेको (नेपाली) प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ -अध्यक्ष दाहाल

काठमाडौँ, १७ माघː राष्ट्रि«यसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभयो । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनामल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

“नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ”, अध्यक्ष दाहालले भन्नुभएको छ,“प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस प्रकारका पर्वहरुले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छःउपराष्ट्रपति

काठमाडौँ, १७ माघː उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोनामल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रव।्द्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँद । यस अवसरमा आयोजना गरिने मौलिक एवं सांस्कृतिक नाचगान र सङ्गीतले नेपाली संस्कृतिको जगेर्ना गर्नमा सघाउँदछ । ल्होसारमा पकाइने विशेष तथा परम्परागत मीठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको मेरो विश्वास छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार नयाँ वर्षका रूपमा यो पर्व मनाउने चलन रहिआएको छ । यस पर्वको मुख्य विशेषताहरूमा सामूहिकता, भूमिपूजा, कुलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नुलगायतको रहेको पाइन्छ ।

उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुसी र उल्लास साटासाट गर्न सोनामल्होसारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । “नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । यस पर्वले पनि त्यसमा उत्प्रेरित गर्ने विश्वास लिएको छु”, उहाँको भनाइ छ ।

सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ, १६ माघː राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।