`

वर्तमान सरकार नीतिगत सुधार र गुणस्तरीय विकासमा केन्द्रित : मन्त्री भण्डारी

बैतडी, १६ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार नीतिगत सुधार र गुणस्तरीय विकासमा केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमार्फत भइरहेका विकासको गुणस्तरीयता मापन गर्नुपर्ने बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम एवं बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले विकास निर्माणका क्रियाकलाप अघि बढ्न नसकेको उहाँको भनाइ छ । “स्थायित्व भए मात्रै दिगो विकासको अनुभूति गर्न सकिन्छ । भारत र चीनजस्ता देश दीर्घकालीन सरकारकै कारण द्रुत विकास गरिरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयो, “राजनीतिक स्थायित्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटी छन्, यसलाई सच्याउनुपर्नेछ, त्यसमा सरकार लागेको छ ।”

वर्तमान सरकार नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ क्रियाशील रहेको बताउँदै मन्त्री भण्डारी केही नीतिगत र कानुनी समस्याका कारण लगानीको वातावरण बन्न नसकेको दाबी गर्नुभयो । उहाँका अनुसार लगानीको वातावरण सिर्जना गर्नकै लागि अध्यादेशमार्फत केही कानुनमा संशोधन गरिएको छ ।

देशमा सुशासन, विकास र स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाएको दाबी गर्दै मन्त्री भण्डारीले नागरिकमा रहेका तमाम निराशा चिर्न सरकारले काम गरिरहेको बताउनुभयो । आयात प्रतिस्थापन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी र विदेशी लगानी भित्र्याउने लगायतका काममा आफ्नो मन्त्रालयले काम गरिरहेको मन्त्री भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले समग्र प्रदेशको भौतिक विकासका लागि आवश्यक पर्ने सहयोग जुटाउन आफूले निरन्तर पहल गरिरहने बताउनुभयो । उहाँले विगतमा बजेट निर्माणमा भएका कमजोरीलाई सुधार गरेर अघि बढिरहेको बताउनुभयो ।

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो ।

मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताउनुभयो ।

समाजवादी मोर्चाले काठमाडौँ र मधेसमा खबरदारीसभा गर्ने

काठमाडौँ, १६ माघ : समाजवादी मोर्चाले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा आगामी चैत २४ गते राजधानीमा खबरदारीसभा गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले आगामी चैतको पहिलो साता तराई÷मधेसमा जनसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले मोर्चाको विचार, नीति र उद्देश्यलाई आमनागरिक र राजनीतिक वृत्तमा पुर्‍याउनका लागि ‘समाजवादी मोर्चा’ प्रकाशन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । मोर्चाले आगामी फागुनको अन्तिम सातासम्म उक्त प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।

सातवटै प्रदेशमा समाजवादी आन्दोलनको आवश्यकता सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

‘मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ’ – कमल थापा

काठमाडौँ, १६ माघः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित भएमात्र सहिदको आत्माले शान्ति पाउने बताउनुभएको छ ।

सहिद दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलीसभामा उहाँले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउनुभयो । उहाँले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

श्रद्धान्जलीसभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ, १६ माघ : डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गर्नुभयो । फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

देशभरीका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र छात्रवृत्तिका लागि सरकारी विद्यालयमा अध्ययरत, कक्षा ६ देखि कक्षा ९ सम्मका, न्यून आय भएका र जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, विद्यार्थीको शैक्षिकस्तर र अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिसलगायतका कागजपत्र समावेश गर्नुपर्ने छ ।

पहिलो चरणमा छात्रवृत्ति कार्यक्रमका लागि फाउन्डेसन आफैंले रकम व्यवस्थापन गरिसकेको छ । अर्को चरणमा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति सहजीकरण गरिदिने फाउन्डेसनले जनाइएको छ ।

मुलुकमा राजनीतिक स्थिरताका लागि गठबन्धन सरकार : उपमहासचिव ज्ञवाली

लुम्बिनी, १६ माघ : नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरतासहित विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन एमाले र नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनेको बताउनुभयो ।

नेता ज्ञवालीले प्रेस चौतारी, रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बर्तमान गठबन्धन सरकार बनेपछि अस्थिरताका सदाबहार खेलाडीलाई छटपटी भएको र जनताले त्यस्ता शक्तिका कुनै पनि प्रयासलाई साथ नदिने बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सरकार गठन भएपछि केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताउनुभयो । “यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, रोकिएका विकासका काम अघि बढेका छन्”, उहाँले भन्नुभयो, “राजस्व बढेको छ, आयात, निर्यात बढेको छ, अर्थतन्त्र चलायमान भएको छ, निजी क्षेत्रमा उत्साह र भरोसा बढेको छ ।”

नेता ज्ञवालीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयकले सबैलाई मर्यादामा राख्ने बताउनुभयो । उहाँले यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र गलत सूचनाबाट सबैलाई जोगाउन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । “सत्य सूचनालाई रक्षा गरिएन भने गलत सूचनाले दिग्भ्रमित पार्छ”, उहाँले भन्नुभयो, “अराजकतालाई निरूत्साहित पार्नु जरूरी छ ।” 

देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको नेता ज्ञवालीको भनाइ छ । उहाँले राष्ट्रपति र उपराष्ट्रपति मुलुकको अभिभावक र संविधानको संरक्षक रहेको बताउनुभयो । उहाँहरू पूर्वराष्ट्रप्रमुख र उपप्रमुख मुलुकको अभिभावकको भूमिकाको जिम्मेवारीमा रहनुभएको व्यक्ति पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित नभएको र एमालेले यस विषयमा कुनै छलफल खुला नगरेकोसमेत स्पष्ट पार्नुभयो । 

स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्छ: मन्त्री पौडेल

काठमाडौँ, १६ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा आज आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्ने बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यकपर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत आग्रह गर्नुभयो । आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उहाँको भनाइ थियो ।

कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले टोखाका बासिन्दालाई स्वस्थ राख्न आगामी दिनमा टोखाभरि यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ र आँखा अस्पताल तथा अध्ययन केन्द्रसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० व्यक्तिले आँखाको जाँच गरेको र तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो ।

काठमाडौँको टोखामा सञ्चालित जनकल्याण सामाजिक केन्द्रले हालसम्म काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । सोही अवसरमा आँखा शिविर सञ्चालन गर्न सहयोग व्यक्तिलाई सम्मान गरिएको थियो । 

घरेलु फुटबल खेलबाट अनु लामाको सन्यास

काठमाडौँ, १६ माघः नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट आज सन्यासको घोषणा गर्नुभएको छ । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइसक्नुभएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आउनुभएको थियो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उहाँले एक गोल गर्नुभएको थियो । उहाँको टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ ।

एपिएफका खेलाडीले उहाँलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गर्नुभएको थियो ।

अनुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदशन गर्नुभएको थियो । उहाँले साफ च्याम्पियनसीपलगायतका विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

महिला हाफ म्याराथनको उपाधि सेनामा कार्यरत विकलाई

तनहुँ, १६ माघ : सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा आज आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले चुम्नुभएको छ ।

व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार हात पार्नुभएको हो । म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उहाँले रु ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बन्नुभएको छ । उहाँले रु ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौँकी विमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

पिटिआईद्वारा सरकारविरुद्ध देशव्यापी आन्दोलनको चेतावनी

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) खैबर–पख्तुनख्वा शाखाका अध्यक्ष जुनैद अकबरले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनविरुद्ध राष्ट्रव्यापी अभियान सुरु गर्ने चेतावनी दिनुभएको छ ।

एक स्थानीय टिभी च्यानलसँग कुरा गर्दै अकबरले सरकारसँग वार्ता गर्न विपक्षीको तत्परतालाई कमजोरीको सङ्केतका रूपमा हेरिएको बताउनुभयो । पीएमएल–एन नेतृत्वको गठबन्धन सरकारसँग मङ्गलबार भएको चौथो चरणको वार्तामा पिटिआई सहभागी नभएपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

सरकारको वार्ता समितिको मङ्गलबारको बैठक पीटीआईका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख अयाज सादिकले सहभागिताको कमीका बाबजुद समिति यथावत रहने बताउनुभयो ।
पीटीआई र सरकारबीच पहिलो चरणको वार्ता २३ डिसेम्बर २०२४ मा भएको थियो । गत डिसेम्बरमा वार्ता सुरु भएयता दुवै पक्षबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

पिटिआई र पिएमएल–एन नेतृत्वको सरकारबीच गत वर्षको डिसेम्बरमा पाकिस्तानमा राजनीतिक तनाव कम गर्न वार्ता सुरु भएको थियो तर सन् २०२३ मे ९ मा इस्लामावादमा भएको प्रदर्शन र सन् २०२४ नोभेम्बर २६ मा इस्लामावादमा भएको प्रदर्शनको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन नगरेको आरोप लगाएपछि वार्ता रोकिएको थियो ।

अकबरले भन्नुभयो, “पिटिआई वार्तालाई अघि बढाउन तर वर्तमान गतिविधिले गतिरोधको सङ्केत गर्दछ ।”

पिटिआईले अब सडकबाट समाधान खोज्छ कि भनेर सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “हो, पक्कै पनि यसो हुनसक्छ ।”

‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार उहाँले चुनावमा धाँधली भएको भन्दै फेब्रुअरी ८ मा जिल्लास्तरीय विरोध प्रदर्शन र इस्लामावादको डि–चोकमा विरोध प्रदर्शन गर्ने लगायतका विभिन्न विरोधका योजना घोषणा गर्नुभएको थियो ।

पाकिस्तानमा गत वर्ष फेब्रुअरी ८ मा १२ औं राष्ट्रिय आम निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमासेलुलर र इन्टरनेट सेवाहरू बन्द गरिएको र व्यापक धाँधली भएको आरोप लागेको थियो ।

अकबरले आफ्नो टिप्पणीमा पिटिआईले सडक प्रदर्शन शुरू भएपछि वार्तामा संलग्न नहुने घोषणा गर्नुभएको थियो ।

पूर्व क्रिकेटर खानले स्थापना गरेको पार्टीमा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्दै उहाँले पिटिआईको ‘होमियोप्याथिक नेतृत्व’लाई मे महिनामा हुने पुनर्गठनपछि कट्टरपन्थीहरूले प्रतिस्थापन गर्ने बताउनुभएको छ ।”

अकबरले भन्नुभयो, “पीटीआईको प्रान्तीय मन्त्रिमण्डलमा पुनर्गठन गर्ने योजना छ, जसमा दुई नयाँ सदस्यहरू खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्दापुरको टोलीको हिस्सा बन्ने अपेक्षा गरिएको छ।”

उहाँले सङ्घीय सरकारले पिटिआईभित्र विभाजन सिर्जना गर्न खोजेको र पार्टीका सदस्यहरूलाई वफादारी परिवर्तन गर्न बाध्य पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पिटआई छोड्नेहरू मूलतः बाह्य निर्देशनमा सामेल भएका थिए। पीटीआईका एक नेताले पूर्वमन्त्री खानको रिहाइमा आशावादी रहेको बताएका छन् ।”

“श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने विश्वास”

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १.३५ ट्रिलियन रुपैयाँ (लगभग ४.६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताउनुभएको छ, जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

मङ्गलबार राति आयोजित आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताउनुभयो । उहाँले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।”

श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उहाँले जानकारी दिनुभयो । यो समयलाई ६ महिनामा झार्ने उहाँले वाचा गर्नुभयो ।

सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति

काठमाडौँ, १६ माघः सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।”

महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत गरेको छ ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

सहिदको बलिदानकै कारण उज्यालो युग आयो : सभामुख घिमिरे

झापा, १६ माघ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताउनुभएको छ । उहाँले स्वास्थ्य उपचारका क्षेत्रमा नागरिकले पाइरहेको सुविधा सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाको प्रतिफल भएको धारणा व्यक्त गर्नुभयो ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले विर्तामोड नगर अस्पताललाई सहिद दिवसको अवसर पारेर आज प्रदान गरेको चिकित्सा सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो ।

“विसं २०४० तिर विर्तामोडमा उपचार गर्ने ठाउँ नभएर मानिस भारतको सिलिगुढी जान बाध्य थिए”, अहिले झापा स्वास्थ्य क्षेत्रको केन्द्र बनिरहेको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अहिले आँखा र क्यान्सरको उपचार गर्न भारतबाट मानिसहरू विर्तामोड आउने गरेका छन् ।”

राणा शासन र पञ्चायती व्यवस्थामा जनताले स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अँध्यारो युग व्यहोर्नु परेको उल्लेख गर्दै सभामुख घिमिरेले नागरिकले स्वतन्त्रतापूर्वक जिउन पाउने अधिकारका लागि बलिदान दिने सहिदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फत हुने उपचारलाई अझ व्यवस्थित र भरपर्दो तुल्याउनुपर्ने आवश्यकता औँल्याउँदै निःशुल्क उपचार दिँदै आएका सरकारी अस्पतालहरूलाई निजी क्षेत्रका अस्पतालसँग प्रतिस्पर्धा गर्नसक्ने सुविधासम्पन्न बनाउन राज्यले भरपुर सहयोग दिनुपर्ने सुझाव राख्नुभयो ।

दुई करोडको अस्पताल सामग्री सहयोग

संस्थाले झापाका चार वटा सरकारी स्वास्थ्य संस्थालाई रू दुई करोड मूल्यका चिकित्सा सामग्री सहयोग गरेको छ ।

विर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सामग्री सभामुख घिमिरेको उपस्थितिमा आज दातृ संस्थाले हस्तान्तरण गरेको हो । ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ का नेपाल संयोजक जीवप्रसाद पोखरेलले सभामुख घिमिरेको पहलमा विर्तामोड नगर अस्पताललाई रू ७० लाख मूल्य बराबरको चिकित्सा सामग्री आज हस्तान्तरण गरिएको बताउनुभयो । 

आजै अर्जुनधाराको खुदुनाबारी स्वास्थ्य केन्द्रलाई रू २७ लाख मूल्य बराबरको चिकित्सा सामग्री सभामुख घिमिरेकै उपस्थितिमा हस्तान्तरण गरिएको छ । झापा गाउँपालिकाको आधारभूत अस्पताल र कमल गाउँपालिकास्थित आयूर्वेद अस्पताललाई मङ्गलबार ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले चिकित्सा सामग्री प्रदान गरिसकेको छ ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ स्वास्थ्य र शिक्षाका क्षेत्रमा विसं २०७२ को महाभूकम्पपछि राहत तथा विकास सहयोग प्रदान गर्दै आएको अमेरिकी दातृ संस्था हो । यसले ‘वर्क फर नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सो दातृ संस्थाको सहयोग वितरणको व्यवस्थापनको कार्य गर्दै आएको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो । 

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले इसीजी, शल्यक्रिया, ओपिडी, बर्थिङलगायतका कार्यमा प्रयोग हुने एक सय ३६ प्रकारका महत्त्वपूर्ण चिकित्सा सामग्री आज प्राप्त भएको बताउनुभयो ।

प्रगतिको आँखैमा गाजलमा ह्याण्डसम हिरो आकाश श्रेष्ठ

काठमाडौँ । लोकप्रिय नायक आकाश श्रेष्ठर मोडल प्रगति खड्काको अभिनय रहेको आँखैमा गाजल बोलको गीतको भिडियो बिहिबार रिलिज गरिने भएको छ । गायक धृष्टधुम्न शाही गायिका मेलिना राईको स्वर रहेको गीतमा उमेशराज खड्को शब्द र संगीत रहेको छ ।

सुदिप लम्सालको निर्देशन रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आउनेछ । जसले माया प्रेमको रमाइलो किस्सलाई देखाउन खोजीएको निर्माण यूनिटको भनाई रहेको छ । गीत हेरेर साथ दिन निर्माण यूनिटले सबैमा अपिल गरेको छ ।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआईले सहकार्य गर्ने, सम्झौतामा गरे हस्ताक्षर

काठमाडौं- नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायबारेमा पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ । भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को १३ औं वार्षिक सम्मेलनमा सम्झौता भएको हो ।नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्ड कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गरिनेछ ।लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एसोशियसनहरूबीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औँ सम्झौतामा हस्ताक्षर गर्दा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोजकुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आर उपस्थित थिए ।

कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरू लेखनाथ पोख्रेल र सन्दीप कार्की उपस्थित थिए ।

पुलिस क्लबलाई पराजित गर्दै एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि

काठमाडौँ, १६ माघः नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

 एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ ।

अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर काम गरिने : मुख्यमन्त्री पाण्डे

लमजुङ, १६ माघः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समापन कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले सबै जिल्लामा अधूरा योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको र कुनै जिल्लामा अधूरा योजना छुटेमा आफूलाई खबर गर्न जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले जनताको दुःख मर्म बुझ्दै जनताको चाहनालाई प्रदेश सरकारले पूरा गर्ने गरी काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । प्रदेश सरकारले घरघरमा खानेपानी, बिजुली पु¥याउने, शिक्षा, स्वाथ्य, पर्यटन, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल

दमौली (तनहुँ), १६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गर्नुभयो ।

नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।” उहाँले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छाँै । राज्यले त्यहीअनुसार काम गरिरहेको छ ।”

राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताउनुभयो ।

नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका सहिदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।”

राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताउनुभयो ।

सहिद पार्कमा भरत गुरूङ, शमशेरबहादुर गुरूङ, लालध्वज गुरूङ, धर्मध्वज गुरूङ, सर्वसिंह गुरूङ, हस्तवीर गुरूङको लहरै अर्धकदको प्रतिमा रहेका छन् । यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए । जसले राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा ज्यान गुमाए । सहिदपार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गर्नुभएको थियो ।

विसं २०५१ चैत २९ गते पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएका बेला कोइरालाको तदारूकतामा समिति बनेको थियो । विसं २०६६ मा सहिद स्मारक बनाएर छ जना सहिदको अर्धकदको शालिक राखियो । ती शालिकको एक दशकपछि अनावरण गरिएको थियो ।

यसैबीच तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको छ । समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।

वृहत गुरूयोजनाअनुसार सहिद पार्कको सर्वाङ्गीण विकासका लागि रू १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि भूमिका खेलिदिन पौडेल समक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरूङले जानकारी दिनुभयो ।

सहिद स्मारक पार्क, पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति जानकार रहेको भन्दै उहाँले यहाँको विकास निर्माणअन्तर्गत पक्की बाटो, बिजुली बत्तीको गुणस्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिनेगरी विकास निर्माणमा सरकारसँग सहयोग उपलब्ध गराउन पौडेलको ध्यानाकर्षण गराइएको छ ।

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौँ, १६ माघः नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गर्नुभएका एमाले महासचिव शङ्कर पोखरेलले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोक्नुभएको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गर्नुभएको हो । डा अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनुहुनेछ ।

अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ, १६ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सहिद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उहाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गर्नुभएका सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास गर्नुभयो ।

प्रदेश प्रमुख, मुख्यमन्त्रीहरूद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ, १६ माघः देशको विकास र जनताका अधिकारका खातिर आफ्नो जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकका उच्चपदस्थ महानुभावहरूले सहिद दिवसका अवसरमा सन्देश जारी गर्नुभएको छ ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्नुभएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदका सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा देशका निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ–आफ्नो कर्तव्यपालनमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर सहिदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहिदहरूको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुुपर्ने बताउँदै देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुुभएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, जवाफदेहिता र दिगो विकासबिना राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै विकासको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज जारी गर्नुभएको सन्देशमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

राजनीति नाफामुखी व्यवसाय हुनु हुँदैनः राष्ट्रियसभा सदस्य सार्की अछामी (अन्तवार्ता)

काठमाडौँ, १६ माघ : विसं २०६२/६३ को जनआन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सशस्त्र युद्ध (जनयुद्ध)को बलमा नयाँ संविधान जारी भइसकेपछि राष्ट्रको प्राथमिकता आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा हुनु पर्दथ्यो । त्यसका लागि संविधान कार्यान्वयनसँग सम्बन्धित ऐन, कानुन निर्माण र समृद्ध राष्ट्र निर्माणका लागि साझा दृष्टिकोण बनाएर सबैको ध्यान केन्द्रित गर्नुपर्ने थियो । तर राजनीतिक परिस्थिति भने सत्ता सङ्घर्षतिर नै केन्द्रित भइरहेको छ । प्राथमिकता एकातिर, ध्यान अर्कातर्फ भइदिँदा जनअपेक्षा पूरा हुनसकेका छैनन् । राष्ट्रिय पार्टीहरूको सुझबुझ राम्रो भएन भने देशले अप्ठ्यारो परिस्थिति भोग्नुपर्ने हो कि भन्ने देखिन्छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिअनुसार संविधान संशोधन गरी तत्काल अघि जान सक्ने स्थिति पनि बनेको देखिँदैन । संसद्को अधिवेशन आह्वान गर्ने समय नजिकिँदै गर्दा अध्यादेशहरू जारी गरियो । राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित बहसले परिवर्तनका लागि एउटै मोर्चामा रहेका दलहरूबीचको हार्दिकतालाई कमजोर तुल्याएको छ । यस्तो परिस्थितिले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन उपयुक्त वातावरण सृजना गर्न सकिएको छैन । पछिल्लो समय राजस्व सङ्कलन घटेको छ । वैदेशिक सहायता पनि क्रमशः घट्ने देखिन्छ । राजस्वबाट नियमित खर्चको व्यवस्थापन पनि नहुने अवस्थाबाट देश गम्भीर सङ्कटतर्फ जाँदैछ भन्ने अनुमान गर्न सकिन्छ ।

संविधानले अङ्गीकार गरेको निर्वाचन प्रणाली र शासकीय स्वरुपले कुनै पनि दलले संसद्मा एकल बहुमत ल्याउने देखिँदैन । दलहरू पनि सत्तामा रहँदा एउटा र बाहिर हुँदा अर्को ढङ्गले प्रस्तुत हुने प्रवृत्ति छ । प्रतिपक्षमा रहँदा जनताका आवाज बुलन्द गर्नेले सत्तामा पुगेपछि राष्ट्र र जनताको पक्षमा आफ्नो जिम्मेवारी पूरा गर्ने र जनपक्षीय काम निरन्तर गरे हुन्थ्यो, त्यो देखिन्न । यही कारण दलहरूप्रति आमजनतामा अविश्वास बढेको, निराशा थपिएको र विवादको वातावरण सृजना गरेको छ ।

संविधान जारी भएपछि तीन वर्षभित्र धेरैवटा कानुन तर्जुमा गरिनुपर्नेमा दशक पुग्न लाग्दा पनि सुरक्षा, शिक्षा, निजामती सेवा समेतका कैयौँ कानुनहरू बन्न सकेका छैनन् । हामी विधायिकी भूमिकामा जसरी लाग्नुपर्ने हो, त्यसरी लागेनौँ, लाग्न सकेनाँै र लाग्ने परिस्थिति बनेन भन्ने मेरो निष्कर्ष छ । हामीले समय त्यत्तिकै अनावश्यक कार्यमा व्यतित गरिरहेका छौँ । यसबाट राष्ट्र र जनताप्रति घात भइरहेको छ । यद्यपि, राष्ट्रियसभामा दर्ता भएका विधेयकमाथि छलफल, संशोधन र पारित गरी पठाउने कार्य प्रभावकारी रूपमा अघि बढाएका छौँ । यो चार–पाँच वर्षमा जति गर्न सक्थ्यौँ, त्यति गर्न सकेनौँ । राष्ट्रियसभा र प्रतिनिधिसभाले पर्याप्त समय दिएर विधायिकी भूमिका र विधि निर्माणको कामलाई व्यवस्थित गर्नेभन्दा पनि कुर्सीको लडाइँमा राजनीतिलाई केन्द्रित र दबाब दिने काम गरियो भन्ने लाग्छ । यो परिस्थिति आउनुमा कुनै दल र नेता विशेष होइन, प्रणालीको दोष हो भन्ने मेरो बुझाइ छ । संविधानमा राखिएको शासकीय प्रणालीमा जे व्यवस्था गरियो, त्यो अव्यावहारिक भएकाले अब प्रणालीलाई सुधार्नुपर्ने खाँचो छ । विधायकलाई विधि निर्माणमा केन्द्रित गर्ने वातावरण पनि बनाउनुपर्छ । अन्यथा खर्चिलो चुनाव, सांसद् र मन्त्री बन्ने दौड तथा आर्थिक स्रोतको व्यवस्थापनमा ध्यान दिनुपर्दा कानुन निर्माण ओझेलमा पर्न गयो ।

सशस्त्र क्रान्ति, शान्तिपूर्ण जनआन्दोलन, मधेस आन्दोलनको भावना प्रतिनिधित्व होस् भनेर दलहरूबीचको सहमतिका दस्तावेजका रूपमा संविधान आएको हो । माओवादी केन्द्रले उठाएका कतिपय मुद्दा संविधानमा समेटिएका छैनन्, मधेस आन्दोलनका भावना र अन्य पार्टीका एजेण्डा पनि सोही रूपमा रहेका छन् । शान्ति प्रक्रियालाई संस्थागत गर्नेगरी राजनीतिक पार्टीबीचमा सहमति भएर बनेको संविधान हो । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले एक प्रकारको स्थायित्व दिन सकिन्छ भन्ने लाग्छ । अर्को, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञ केन्द्रित चुस्त र सानो मन्त्रिमण्डल बनाउनुपर्छ ।

स्थानीय तहमा प्रत्यक्ष निर्वाचित कार्यकारीको अभ्यासले राम्रो नतिजा दिएको छ । त्यसबाट जनताले थोरै भए पनि राहत महसुस गरेका छन् । प्रदेश र सङ्घलाई पनि त्यो ढाँचामा लगेर राजनीतिक स्थायित्व दिनुपर्छ । भ्रष्टाचार बढ्नुमा प्रणालीको पनि दोष छ । खर्चिलो निर्वाचन प्रणाली सुधार्नुपर्छ । नैतिकवान र सिद्धान्तनिष्ठ कार्यकर्ताले निर्वाचन जित्न सक्ने अवस्था छैन । निर्वाचनका लागि व्यापारी र ठेकेदारबाट चन्दा लिएर लड्नुपर्ने अवस्था छ । चुनाव जितेपछि खर्च उठाउनतर्फ जाँदा भ्रष्टाचारलाई मलजल भएको छ ।

उम्मेदवारका सन्दर्भमा सबै पार्टीभित्रको इमान्दार, आन्दोलन र पार्टीप्रति प्रतिबद्ध नेता कार्यकर्ताको छनोट गर्न सकिन्छ । राजनीति मुलतः सेवा हो, तर त्यो अहिले देखिन्न । अहिले राजनीति नाफामुखी व्यवसाय भएको छ । परम्परागत कर्मचारीतन्त्रको मनोवृत्ति र कानुनी जटिलता, सामाजिक मनोविज्ञानले राजनीतिलाई ‘कर्पोरेट हाउस’को बिजनेसजस्तो बनाएको छ । विश्वमै यसखालका प्रवृत्ति देखापरेका छन् । यसलाई नसुधार्ने होभने जनता केन्द्रित राजनीति समाप्त हुन्छ ।

सूचना र प्रविधिका क्षेत्रमा आएको विकाससँगै विश्वव्यापीकरणले संसारका जुनसुकै घटना क्षणभरमै थाहा पाइन्छ । नयाँ पुस्तामा त्यस्ता सूचनाको प्रभाव, मेहनत कम, परम्परागत असल अभ्यास कमी र ज्ञानको पुस्तान्तरण हुन नसक्दा युवापुस्ता विदेशतर्फ आकर्षित भइरहेका छन् । देशमै केही हुन्छ कि भन्ने आशा, नेतृत्वप्रतिको विश्वास र भरोसा क्रमशः घट्दै गइरहेको छ । विदेशिएका युवाको अनुभवबाट अन्य युवालाई पनि विदेशिन प्रेरित गरिरहेको छ । मुलुकमा भएका स्रोतसाधनको उचित व्यवस्थापन गरी युवालाई स्वदेशमै परिश्रम गर्ने वातावरण राज्य, सरकार र राजनीतिक दलले बनाउनुपर्छ । त्यसका लागि तीनै तहका सरकार र जनप्रतिनिधिहरूले इमान्दारीपूर्वक जनता र राष्ट्रको पक्षमा काम गर्ने होभने जनतामा आशा जगाउन सकिन्छ । देश र जनताका हितका लागि नराम्रो नगर्ने, सकेजति राम्रो गर्ने प्रण गरेको छु ।

सांसद गोपीबहादुर अछामीको परिचय

विसं २०४६ को जनआन्दोलनमा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामी २०४८ सालबाट अखिल नेपाल विद्यार्थी युनियनमा आबद्ध हुनुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सञ्चालित जनयुद्धमा सुरुआतदेखि नै सहभागी हुनुभएकाउहाँ सिन्धुलीको जिल्ला कमिटी सदस्य, २०६४ सालमा संविधानसभा सदस्य, २०६९ मा खेलकुद राज्यमन्त्री, पार्टी केन्द्रीय समिति सदस्य हुँदै राष्ट्रियसभामा माओवादीको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्छ । श्री अछामी हाल मोरङलाई कर्मक्षेत्र बनाएर सक्रिय हुनुहुन्छ । हाल उहाँ राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सदस्य हुनुहुन्छ ।
(सांसदसँग समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित।)

प्रधानमन्त्रीद्वारा नयाँवर्षको उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिलाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । साथै, उनले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गरेका छन् ।

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण

गण्डकी, १६ माघः पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।

यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियोभने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आइटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने, बुुझ्ने र अनुुभव गर्न सकिने स्थान बन्यो ।

महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेसः बुुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताउनुभयो ।

सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटालगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गर्नुभएको छ ।

मेला उद्घाटनका अवसरमा संयोजक ठाकुरले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेललाई मधेस प्रदेशका धार्मिक एवं पर्यटकीय गन्तव्यबारे सचित्र परिचय दिइएको पुस्तिका (बुकलेट) हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा मधेस प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारू नृत्यसमेत देखाइएको थियो ।

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्यटन राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’ को प्रवर्द्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताउनुभयो ।

प्रवर्द्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ । पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ ।

मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर यस मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९९१ मा निर्माण पूरा भएको पुस्तिकामा उल्लेख छ । पुस्तिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कङ्कालिनी मन्दिर, धनुषाधाम, भरत तालबारे सचित्र जानकारी दिइएको छ ।

मधेस प्रदेशमा रहेका नुनथर, गहवामाई, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, रौजा मजार, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर, चुरियामाई, पारसनाथ मठ, पर्सागढी, दुुग्धेश्वरनाथ महादेव, चन्द्र नहरबारे पुस्तिकामा चर्चा गरिएको छ ।

यस्तै, मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, हनुुमान मन्दिर, बाबाताल, हात्तीदह सिमसार, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सहिद स्मृति पार्क, शिव मन्दिर, निजानन्द धाम, सिद्धबाबा हाइकिङ, जनकपुर रेलमार्ग र बरहवातालबारे पुस्तिकामा जानकारी गराइएको छ । पुस्तिकामा उल्लेखित स्थानबारे दिइएका जानकारीले मधेस प्रदेशमा जाने पर्यटकलाई त्यहाँबारे पूर्ववत् रूपमा सामान्य जानकारी हासिल गर्न सहयोग पुुग्ने विश्वास लिइएको छ ।

मधेसबारे महोत्सवका सहभागीलाई परिचय गराउनुुका साथै त्यहाँका विशिष्टताबारे जानकारी गराउँदै मधेस बुुझ्न र घुम्न अनुरोध गर्ने गरिएको चन्द्रपुुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटाले बताउनुभयो । “मधेस सबै किसिमले घुम्नैपर्ने गन्तव्य हो भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौँ”, उहाँले भन्नुुभयो, “मधेसका धेरै प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू हेर्न लायक छन् ।”

पछिल्ला समयमा मधेसमा पूर्वाधार विकास पनि द्रुत रूपमा भइरहेको बताउँदै उहाँले पहिला जनकपुर विमानस्थल मात्र रहेको यस प्रदेशमा अहिले सिमरा र राजविराजमा पनि विमानस्थल सञ्चालनमा आएको जानकारी दिनुुभयो ।

मधेस बुुझ्ने कक्षका साथै मधेसको मौलिक परिकार चाख्न पाउने गरी राखिएको अर्को कक्ष पनि यतिखेर महोत्सवको आकर्षण बनेको छ । महोत्सवस्थलमा रौतहटको कटहरिया बजारबाट आएर बनाइएको कटियाको स्वादसँगै सप्तरीको बरमझियाको पेडाको स्वादसमेत चाख्न पाइने सो कक्षका सञ्चालक अजय साह सोनारले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा आएका व्यक्तिहरूले निकै रुचिका साथ कटिया र पेडा खाने गरेको उहाँले बताउनुभयो । माटोको घैँटोमा पकाइने खसीका मासुलाई कटिया भनिने र यसले मधेसको रौतहटको मौलिक परिकारका रूपमा चर्चा कमाएको उहाँले जानकारी दिनुभयो ।

माटोको घैँटोमा खसीको मासुसँगै प्याज, अदुवा, लसुन, जिरा, खुर्सानी, मरिच, बेसार राखेर कोइलाको रापमा पकाइने यो परिकार महोत्सवको आकर्षण बनेको उहाँले जानकारी दिनुुभयो । सप्तरी बरमझियाको पेडा चाख्नेको पनि उत्तिकै आकर्षण रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवलाई पोखराको मात्र नभई देशकै विविधता जान्ने, बुुझ्ने र अनुुभव गर्ने थलोका रूपमा विकास गर्न खोजिएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो ।

महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्ष पनि रहेका जानकारी दिँदै उहाँले दुई सय ५० कक्षमध्ये मधेस प्रदेशको दुुई कक्षसँगै सूूदुरपश्चिमका एक, कोशीका तीन, बागमतीका पाँचवटा कक्ष रहेको उहाँले जानकारी दिनुुभयो । तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ । महोत्सव माघ १९ गते समापन हुने छ ।

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौँ, १६ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजीरु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, हरियो प्याज प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकेजी रु ३००, लसुन सुकेको (नेपाली) प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना

रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पु¥याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताउनुभएको छ ।
बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताउनुभयो ।

“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उहाँले थप्नुभयो ।रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

कञ्चनपुर, १६ माघः कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउनुहुन्छ । “ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “चराको बासस्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको छ ।”

उहाँका अनुसार बेलौरी नगरपालिाका–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ । चराको सङ्ख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ ।  बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउनुहुन्छ । 

 बिषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बिसिएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ । 

स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउनुहुन्छ । “सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ”, उहाँले भन्नुभयो, “ताजा पानी आपूर्ति गर्ने कार्य सँगै सीमसार क्षेत्रले पानी भण्डारण गर्दछन, जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण छ ।”

एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराको लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ । विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन् ।

सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्छ । सीमसार क्षेत्रको महत्व नबुझदा अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रवासी चराचुरुङ्गी र अन्य जनावरहरु यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन । 

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ । बिसिएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपंछी संरक्षणका लागि योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उहाँको भनाइ छ । 

 “पर्याप्त खाना, सुरक्षित प्रजननस्थल र राम्रो मौसमको खोजीमा चराहरु टाढा टाढाबाट बर्सेनि ताल तलैया र सीमसार क्षेत्रमा आइपुग्छन्”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “तालको शोभा बढाउने चरा जोगाउनका लागि तालमा माछा मार्ने कार्य रोकिनुपर्छ, बिषादी हालेर चरा मार्ने कार्यलाई निरुत्साहित गरिनुपर्छ ।”

कञ्चनपुरमा चार सय ८० प्रजातिका चराहरु पाइन्छन् । जसमा संरक्षितको सूचिमा रहेका नौ प्रजातिमध्ये सेतो गरुड, कालो गरुड, खरमजुर, सानो खरमजुर सारस, राजधनेशलगायतका चराहरु पनि यहाँ पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संरक्षित पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको रहेको कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।    सोही ऐनअन्तर्गत संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १०वर्षसम्म कैदको व्यवस्था  रहेको छ । 

राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर

लुम्बिनी, १६ माघः राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो रु तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको छ । साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८/८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८÷७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ ।

प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटकपटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ ।

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

महोत्तरी, १६ माघः ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।

पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उहाँले बताउनुभयो । केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उहाँले बताउनुभयो ।

दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि अब उज्यालो संसार देखिने आशले दङ्ग हुनुहुन्छ । “हेनर््स हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान् भेटेजत्तिकै हो”, नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भन्नुभयो, “सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइदिनुभयो, उहाँलाई भगवान्ले हेरुन् ।” मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अतिविपन्न परिवारका आँखाको समस्या समाधान गरिदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाले आर्थिक स्रोत जुटाइदिएको हो ।

सोमबार र मङ्गलबार गरी एक सय जनाको आँखाको मोतियाविन्दुको जालो हटाउने शल्यक्रिया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यक्रिया गरिन आँखाका बिरामी यसपटक अत्यन्त गरिब वस्तीबाट परेका दुईदिने यो शिविरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्नुहुने मकुन्दप्रसाद पौडेलले बताउनुभयो ।

“आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यक्रिया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्”, पौडेल भन्नुहुन्छ, “आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतियाविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरिदिँदा एक सय जनाले आँखाको ज्योति पाएका छन् ।” दुईदिने शिविरमा शल्यक्रिया गरिनेहरू अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अतिविकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलले बताउनुभयो । खयरमारा बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा पर्छ ।

“हामी भनिन त बर्दिबास नगरकै छौँ, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबास चोक नै हो”, बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्नुहुन्छ, “धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो ।” सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतियाविन्दुको शल्यक्रियापछि फेरि संसार देखिने आसमा दङ्ग हुनुहुन्छ ।

शिविरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगर क्षेत्रका मोतियाविन्दुका बिरामी पनि लाभान्वित भएका छन् । ‘सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत’ (सोचेकै थिइनँ, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्नुहुन्छ, ‘दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल’ (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।

दुईदिने मोतियाविन्दु शिविरका लागि पहिलो चरणमा वस्ती चयन, दोस्रो चरणमा आँखा जाँच र तेस्रो चरणमा शल्यक्रियाको प्रबन्ध मिलाइएको बर्दिबास आँखा अस्पतालले जनाएको छ । तीनवटै चरणका लागि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालले पाँच लाख ५० हजार रकम उपलब्ध गराएको अस्पतालका स्रोतव्यक्ति शिविरका समन्वयकर्ता पौडेलले जानकारी दिनुभयो ।

शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्जुन श्रेष्ठ नेतृत्वको सात सदस्यीय टोलीले शल्यक्रियाको काम सम्पन्न गरेको हो । शल्यक्रिया गरिनेहरूमा एक जना ५० वर्षमुनिका र बाँकी सबै यो भन्दा माथिका छन् । अहिले एउटा आँखाको शल्यक्रिया गरिएका धेरैजसोको अर्को आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव छ । शल्यक्रिया गरिएका बिरामीमा ५५ पुरुष र ४५ महिला रहेका बर्दिबास आँखा अस्पतालले जनाएको छ ।

दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुने जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरेर कडा कारबाही गरिने जनाएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५ (२) मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐनबमोजिम गर्नुहुन तथा गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गर्न सबै सरोकारवालामा अनुरोध गरेको छ ।

“स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यसबारे जनगुनासो र नियमित अनुगमनका कार्यहरू तीव्र गर्दै वार्षिक तीन हजारभन्दा बढी फार्मेसी अनुगमन र जिल्ला अदालतहरूमा करिब सयभन्दा बढी मुद्दा दर्ता गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “न्युट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता गर्ने वा बिक्री वितरणको अनुमति नदिएको र यस्ता उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा गर्दै आएका छौँ ।” 

प्रवक्ता बुढाथोकीका अनुसार कहीँकतै यस्तो कार्य भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा गुनासो गर्न सकिन्छ ।

सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।

वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

“सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आइएको छ ।

“आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भनेका छन् ।

सहिदको सम्झनामा विविध कार्यक्रम गरी देशभर सहिद दिवस मनाइँदै

काठमाडौँ, १६ माघः प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद  स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।  

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

  विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । 

 पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ ।   स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । 

समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति

काठमाडौँ, १६ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गर्नुभएको छ ।

सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु÷वीरवीरङ्गनाहरुले जन्म लिएका र उहाँहरुले  लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति दिएको बताउनुभएको छ । उहाँले सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

वीर सहिदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । “सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उहाँले भन्नुभएको छ ।

यस अवसरमा हामीले सहिदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सङ्कल्प लिन सक्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव भएको समेत बताउनुभयो ।

सहिदहरुको सपना र आकाङ्क्षा साकार पार्न सके मात्र उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने उल्लेख गर्दै उहाँले मुलुकको दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकाङ्क्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक समाजलगायत सबै दृढ सङ्कल्पका साथ लाग्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गर्नुभएको छ ।

थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल

काठमाडौँ, १६ माघ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभएको छ ।

सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उहाँले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै उहाँले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।

माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूले देख्नुभएको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गर्नुभएको छ ।

राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरुप्रतिको सच्चा सम्मान हुने उहाँको भनाइ छ । नेपालका प्रथम सहिद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।

अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ, १६ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

काठमाडौँ, १६ माघः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

घाँस काट्न जङ्गल गएका १४ वर्षीय किशोरको करेन्ट लागेर मृत्यु

नेपालगञ्ज, १५ माघ : बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गलमा गएका एक किशोरको आज करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्याललाई कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । घाँस काट्नका लागि कुसुमको रूखमा चढेका अर्यालले विद्युत्को हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीको भनाइ छ । रूखमा करेन्ट लागेपछि भुइँमा लडेर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बझाइयो

मोरङ, १५ माघः कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । आज आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रदेशगत छैठाँै वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सङ्घीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेशभित्रका स्थानीय सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलव्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताउनुभयो ।कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो ।

मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार

मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएको छ । चालक दलका अन्य छ जना सदस्यको उद्धार गरिएको मलेसियाली तटरक्षकले मङ्गलबार जनाएको छ ।

सोमबार राति सम्पर्कविहीन भएको जहाज मङ्गलबार स्थानीय समय अनुसार बिहान ६ः३० बजे फेला परेको थियो । चालक दलका छ जना सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताउनुभयो ।

“हामीले छ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार ग¥यौं, जसमध्ये दुईलाई सामान्य चोट लागेको थियो । अन्य चारको अवस्था स्थिर छ,” उहाँले बताउनुभयो । स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ । । इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताउनुभयो । अधिकारीहरूले घटनाको खोजी र अनुसन्धान जारी राखेको छ ।

बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौँ, १५ माघः आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो । यससँगै बागमतीले यही माघ १७ गते सङ्कटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेताले रु १३ लाख प्राप्त गर्नेछन् ।