`

विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान पुगेको छ : पूर्वराष्ट्रपति भण्डारी

धरान (सुनसरी), १५ माघ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ ।

इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।”

जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा नेपाल सरकारको उल्लेखनीय लगानी भए पनि शैक्षिक प्रणालीमा अपेक्षित उपलब्धि गर्न सकिएको छैन । सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारले थप पहल गर्नुपर्नेछ ।”

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।

पार्टीको देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ’: उपाध्यक्ष सापकोटा

काठमाडौँ, १५ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको देशव्यापी सम्मेलन र खबरदारी सभाले नयाँ राजनीतिक जागरण पैदा गरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियानका क्रममा पार्टीले जनताको मन जित्न सफल भएको जिकिर गर्नुभयो । “विगतमा केही कमजोरी भयो, अहिले हामी जनतातर्फ फर्किएका छौँ, जनताले पनि देश अप्ठ्यारो परेको बेला माओवादीले निकास दिन सक्छ भनेर बुझेका छन्”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष सापकोटाले जनयुद्धको बलमा नै मुलुकमा परिवर्तन सम्भव भएको भन्दै माओवादी आन्दोलनलाई अपव्याख्या गर्ने कार्य छुट कसैलाई नभएको धारणा राख्नुभयो ।

Site Icon
प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनजीविकाका सवाल र आधारभूत वर्गको पक्षमा कलम चलाउन पत्रकारलाई सुझाव दिनुभयो । सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जनताका मुद्दालाई केन्द्रमा राखेर जनपत्रकारिता गर्नुपर्ने बताउनभुयो ।

लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

लमजुङ, १५ माघः लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जङ्गलको कच्ची सडकमा ट्र्याक्टर दुघर्टना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुघर्टना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले दुर्घटनास्थल जङ्गल रहेको र  त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भइनसकेको बताउनुभयो । 

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला

काठमाडौँ, १५ माघ : देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ तेस्रो सातादेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनख्यामन्त्री प्रदीप पौडेलले अभियान सञ्चालनको योजना स्वीकृत गरेसँगै यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ ।

त्यसैगरी मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारी विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिरहेको छ । नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङ्कमा छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।

अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउँदा देशमा नयाँ चुनौति उत्पन्न हुन सक्ने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा प्रतिष्ठानमा आज आयोजित सभामा अध्यक्ष दाहालले अध्यादेशकै भरका काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्नेतर्फ सचेत गराउनुभयो ।

प्रतिपक्ष गठबन्धनले विशेष अधिवेशनको माग गरेपछि सरकारले अधिवेशन बोलाएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद् बस्न अगाडि सबै विपक्षी दलहरूको बैठक बस्ने जानकारी दिनुभयो । प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले रणनीतिक विचारका आधारमा मोर्चा स्थापना गरिएकाले अहिले कम्युनिष्ट धुर्वीकरणले जनतामा नयाँ आशा र भरोसा बढेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताका लागि परराष्ट्र नीतिको परिमार्जन गर्नुपर्ने बताउँदै मोर्चाले वुद्धिजीवी, नागरिक समाजसँग छिट्टै अन्तरक्रिया गर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रदेशमा सन्देशसभा गरेर कम्युनिष्ट शक्ति एकताबद्ध हुने सन्देश प्रवाह मोर्चाले विचारमा एकरूपता भएका १९ बाम घटक एकताबद्ध गर्न पर्याप्त तयारी गरेको बताउनुभयो ।

समाजवादको जित सम्भव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा गरिबी, उत्पिडिन, विभेद्को अन्त्य गर्न समाजवादी अर्थव्यवस्था कार्यन्यवन गर्न छरिएका कम्युनिष्ट पार्टी एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानमा भएको उपलब्धिको रक्षा गर्दै वर्गीय, क्षेत्रीय सामाजिक असमानता न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको महत्त्व रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट पार्टीका दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताको चाहनाअनुसार देश विकास तथा आर्थिक रूपान्तरणका कार्य पूरा गर्न नसकिएको बताउँदै देशमा देखापरेका समस्या समाधान गर्न, सुशासन र सामाजिक न्यायको पक्षमा कार्य गर्न विकल्पका रूपमा मोर्चा गठन गरिएको बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा नयाँ विकल्पका रूपमा मोर्चाले राजनीतिका साथै उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा महासचिव चन्दको जोड थियो ।

दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु,१२ जनाको जीवितै उद्धार

उत्तरी दिल्लीमा सोमबार साँझ भत्किएको चार तले भवनको भग्नावशेषबाट कम्तीमा दुई जनाको शव निकालिएको छ भने १२ जनालाई जीवितै उद्धार गरिएको छ ।

मृतक दुवै सात र १७ वर्षका बालिका रहेका छन् । उद्धार कार्य जारी रहे पनि अझै केही व्यक्ति भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ ।

उक्त घटना उत्तरी दिल्लीको बुरारी क्षेत्रमा भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।सोमबार राति नै उद्धारको काम गरिएको थियो ।राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र दिल्ली विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू उद्धार कार्यमा निरन्तर लागेका थिए ।

बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता

एसियाली विकास बैङ्क (एडिबी) र बङ्गलादेश सरकारले सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत देशको पहिलो ‘हरित डाटा केन्द्र’ विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
एडीबी र बङ्गलादेश सरकारका सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूले आइतबार एमओयूमा हस्ताक्षर गर्नुभयो ।

डाटा सेन्टरले भविष्यका मागहरू पूरा गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नेछ ।
डीबीको बङ्गलादेश मिशनका निर्देशक युन जियोङले भन्नुभयो,“यो पहल बङ्गलादेशको डिजिटल भिजन, अत्याधुनिक प्रविधिलाई एकीकृत गर्ने र देशको डिजिटल रूपान्तरणलाई समर्थन गर्न महत्त्वपूर्ण कदम हो ।”

“यो परियोजनाले सूचना प्रविधि क्षेत्रमा निजी लगानीलाई बढावा दिने र डिजिटल प्रविधिमा पूँजी परिचालनको ढोका खोल्नेछ ।”परियोजनाले दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने र बङ्गलादेशमा अत्याधुनिक डिजिटल पूर्वाधारको विस्तारलाई समर्थन गर्नेछ ।

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई एमालेको निर्देशन

काठमाडौँ, १५ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांंसदलाई निर्देशन दिएको हो ।

प्रतिनिधिसभामा सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार संसद्बाट पारित गरिने बताउनुभयो ।

संसदलाई छलेर नभई संसद् सञ्चालनमा नरहेका बेला अध्यादेश ल्याइएको उल्लेख गर्दै बर्तौलाले यसमा सबैको समर्थन रहेको धारणा राख्नुभयो । “संसद्को बैठक आह्वान गरेको बेला अध्यादेश ल्याएको होइन, संसद् अधिवेशन सञ्चालन नभएका बेला ल्याइएको हो”, उहाँले भन्नुभयो, “संविधानमा संसद् सञ्चालनमा नरहेको बेला अध्यादेश ल्याउने कुरा स्वभाविक रूपमा उल्लेख गरिएको छ । सोहीअनुसार अध्यादेश ल्याइएको हो ।” बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको सहभागिता रहेको थियो ।

ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

काठमाडौँ, १५ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालले सुक्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पु¥याएको धारणा राख्नुभयो ।

ऊर्जामन्त्री खड्काले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिसकेको बताउनुभयो । सरकारले लिएको ऊर्जा विकासको लक्ष्य हासिल गर्न दुई देशबीच आपसी सहयोग, समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले गत अक्टोबर ३ मा नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय विद्युत् बिक्री सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि मात्र नभई दक्षिण एसियाकै लागि एक ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले भर्खरै नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय बैठकले दुईवटा उच्च भोल्टेजका अन्तरदेशीय प्रसारण लाइनको निर्माण प्रारूपमा सहमति गरेकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री खड्काले महाकाली सिँचाइका लागि टनकपुर मुख्य नहरबाट १० क्युमेक पानी छाड्न भारतले छिटो पहल गरिदिने विश्वास व्यक्त गर्नुभयो ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले नेपालको जलविद्युत् क्षेत्रमा भारतले लगानी गर्न चाहेको भन्दै लगानीको उचित वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले अपर कर्णाली, पञ्चेश्वरलगायतका जलविद्युत् आयोजनाको चाँडो विस्तृत परियोजना प्रतिवेदन  टुङ्ग्याउन आग्रह गर्नुभएको भेटमा सहभागी मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिनुभयो । यस्तै, भारतले निर्माण गरिरहेको अपर अरुण आयोजनाको कामलाई समेत सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको थियो ।    भेटमा मन्त्रालयकी सचिव सरिता दवाडी, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलगायत नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो । 

बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, १५ माघः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गर्नुभएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । 

प्रदेश प्रमुखले बैठक आह्वान गर्नुभएको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपराह्नमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।मन्त्रिपरिषदको सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा

काठमाडौँ, १५ माघः ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेको भन्दै सरकारले विधेयक संसद्मा लगेको मन्त्रालयले जनाएको छ ।

सूचना प्रविधि क्षेत्रमा भएको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेकाले यसको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेका कारण विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । “सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानुन निर्माण गर्न आवश्यक छ”, राष्ट्रियसभामा दर्ता गरिएको विधेयकमा भनिएको छ ।

नयाँ कानुन बनाई कार्यान्वयन भएपश्चात् नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणहरूको गोपनीयताको स्तरमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै, साइबर सुरक्षाको अवस्थामा सुधार, विद्युतीय शासनको अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन हुन कानुनी आधार तय हुने र सूचना प्रविधिसम्बन्धी व्यवसाय व्यवस्थित एवं मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने जनाइएको छ ।

प्रस्तावित कानुनमा केही महत्वपूर्ण नयाँ विषयहरू समावेश गर्न खोजिएको छ । जसमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनुमतिपत्र लिनुपर्ने र अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तहरूलगायत व्यवस्था गरिएका छन् । यस्तै, सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमन गर्ने, प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त, द्रुत प्रतिकार्य समूह गठन र सचेतना कार्यक्रम सञ्चालन र सामाजिक सञ्जाल व्यवस्थापनका लागि संस्थागत व्यवस्थालगायत विषयहरू विधेयकले समेटेको छ । सामाजिक सञ्जालको प्रयोगमार्फत हुने कसुर तथा सजाय, अनुसन्धान, अभियोजन, मुद्दा हेर्ने र पुनरावेदन सुन्नेसम्बन्धी प्रावधानहरू पनि विधेयकमा राखिएका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ । यस्तो अनुमतिपत्रको अवधि दुई वर्षको हुने विधेयकमा उल्लेख छ । सञ्चालन अनुमति नलिएका प्लेटफर्म सञ्चालनमा रोक लगाउने, सर्तहरू पालना नगर्नेको अनुमति रद्द गर्न सक्नेलगायत विषयहरू पनि विधेयकमा छन् । अनुमति नलिई यस्तो प्लेटफर्म चलाएमा रु २५ लाखसम्म जरिवाना हुनसक्ने विधेयकमा उल्लेख छ । सामाजिक सञ्जाल प्लेटफर्महरूको अनुमतिपत्र जारी गर्ने, नवीकरण, अनुगमन तथा निरीक्षण, अनुमति रद्दलगायतका कार्यहरू सूचना प्रविधि विभागमार्फत हुनेछन् ।
सामाजिक सञ्जाल प्रयोग गर्दा कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पीच’ मानिने कार्य गर्न पाउने छैनन् ।

कुनै व्यक्ति, समूह वा समुदायविरूद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोष्ट, ट्याग, ह्यासट्याग, मेन्सनजस्ता कार्यलाई विधेयकले ‘हेट स्पीच’ का रूपमा परिभाषित गरेको छ ।

सामाजिक सञ्जालमा मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार नगर्ने विषय पनि विधेयकमा परेको छ । यस्तै, प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने एवं अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याउने विषयवस्तु प्रसार गर्न नहुने उल्लेख छ । गर्न नहुने भनी तोकिएका यी कार्य कुनै प्रयोगकर्ताले गरेमा रु पाँच लाखसम्म जरिवाना गर्नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

सामाजिक सञ्जालमा कसैले राष्ट्रहित प्रतिकूल हुने कार्य गरेमा त्यस्तो व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु पाँच लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ । साइबर बुलिङ गरेमा दुई वर्षसम्म कैद वा रु तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्थासमेत विधेयकमा राखिएको छ । ‘साइबर बुलिङ’ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिन्ह, चित्र, तस्बिर, स्केच, अडियो, भिडियो, सङ्केत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्नेजस्ता कार्य सम्झनुपर्छ’ भनी विधेयकमा परिभाषित गरिएको छ ।

समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठले ल्याइन् एल्बम कोपिलाको पुकार

काठमाडौँ । गायिका दीपानारायण झाको स्वरमा रहेको गिती एल्बम कोपिलाको पुकारको लोकार्पण गरिएको छ । समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको शब्द सृजनामा समावेश गीती एल्बम हो कोपिलाको पुकार । मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको कोपिलाको पुकार एल्बमको शीर्ष गीतको भिडियो पनि निर्माण गरिएको छ ।

कोपिलाको पुकारको भिडियोमा वरिष्ठ गायिका दिपानारायण झा नै फिचर्ड छिन् । एल्बम कोपिलाको पुकारमा ६ वटा गीतहरु समावेश छन् । एल्बममा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भटटराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन् । समाज सेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा संग्रहित गीति कविता कोपिलाको पुकारलाई संगीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन । गीतकार संघको आयोजनमा एल्बम लोकार्पण गरिएको हो । कोपिलाको पुकारमा लक्ष्मण पोखरेलको संगीत, मनोज चौलागाईको एरेन्ज, प्रकाश मिश्रको ध्वनि सम्पादन,अमिर शेखको रेकर्डिङ तथा आनन्द दल सिंह गहतराजको निर्देशन रहेको छ ।

वरिष्ठ गीतकार डा कृष्णहरि बरालले गीतकार सरला श्रेष्ठको गीति लेखन र कोपिलाको पुकारकाबारेमा आफ्ना धारणहरु राखेका थिए । कार्यक्रमा वरिष्ठ गीतकार चुडामणी देवकोटा ,वरिष्ठ गीतकार बिवि थापा, गीतकार संघका अध्यक्ष बसन्त बित्याशी थापा, गीतकार संघका उपाध्क्ष रमेश कोईराला, विशिष्ट संगीतकार राजु सिंह विशिष्ट गायिका संगीता प्रधान राना, लगायतका वक्ताहरुले गीति एल्मबकाबारेमा चर्चा परिचर्चा गरेका थिए ।

लामो समयको अन्तराल पछि लोकप्रिय गायिका दिपा नारायण झाको आवाजलाई नेपाली श्रोताहरु माझ ल्याउन पहल गरेकोमा संगीतकार राजु सिंहले उक्त गीतका गीतकार तथा संगीतकारलाई धन्यवाद व्यक्त गरेका थिए । गीतकार सरला श्रेष्ठले पनि कोपिलाको पुकारलाई दर्शक तथा श्रोता माझ ल्याउन पाएकोमा खुसी ब्यक्त गरेकी थिईन् । कार्यक्रमा वरिष्ठ गीतकार नारायण कुमार आचार्य, वरिष्ठ संगीतज्ञ अमुल कार्कीढली, वरिष्ठ संगीतकार किर्ति न्यौपाने, वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेती लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठ भावविह्वल मुद्रामा देखिएकी थिइन् । उनले नेपाली गीत संगीतको चर्चा गर्दै जन्मदाता बाबु आमाप्रतिको प्रेम उजागर गरेकी थिइन् । कार्यक्रममा गायिका तथा संगीतकार बबिना भट्राईले गुनासो , दिल त दामी, भेट्नु र छुट्टीनु बोलका ३ गीत गाएकी थिइन् । त्यस्तै केलालीबाट आएकी बालगायिका प्रतिज्ञा कुँवरले कोपिलाको पुकारको दुई लाइन गाएकी थिइन् ।

यसअघि समाजसेबी साहित्यकार तथा गीतकार सरला श्रेष्ठले गत वर्ष गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको किर्ती न्यौपानेको संगीतमा रहेको ए मेरो मनको राजा बोलको गीतले पनि चर्चा कमाएको थियो । जसमा मोडलद्धय गरिमा शर्मा र पुष्प खड्काको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोको निर्देशन अनुभवी निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । भिडियोको छायांकनका क्रममा गीतकार श्रेष्ठ स्वयम छायांकनस्थलमा पुगेकी थिइन् । सुन्दर पर्यटकीय स्थल चित्लाङ र कुलेखानीको रोमाञ्चक दृश्य देखेर अमेरिकामा बस्दै आएकी गीतकार श्रेष्ठ निकै प्रफुल्ति भएकी थिइन् ।

लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।

‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्वपुर्ण काम र गतिबिधि अन्य कुनै पार्टीको छैन । ति सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने ‘सांगीतिक माध्यमबाट ति सबै गतिबिधि जनतामाझ अब पुग्छ ।’ नेपालको महत्वपुर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधै आत्मसात गर्दै आएकोले पनि कांग्रेसका बिषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाको भनाई थियो ।
महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसले कलाकर्मीलाई सधै माया गरेर साथमा लिएर हिड्दै आएको स्मरण गर्दै नेपाली जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान महत्वपुर्ण हुने चर्चा गरे ।

नेपाली कांग्रेस महाधिवेसन सदस्य प्रभातमणी ओझाले बिमलराज क्षेत्री लोकतान्त्रिक अभियानको नेपाली कांग्रेसका लागि किन महत्वपुर्ण भन्ने बिषयमा प्रकास पारे ।
नेपाल सांस्कृतिक महासंघकी कोषध्याक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतको थुप्रै ब्यक्तिको उपस्थिती कार्यक्रममा थियो ।
कार्यक्रममा गायक बिमलराज क्षेत्रीले ‘बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफुले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए । ‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो । संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ । महासंघका सम्ुपर्ण कार्यसमिति प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ नेपाली कांग्रेसको इतिहार र भविश्यले आफुलाई सधै चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्वपुर्ण हुने दाबी गरे ।

‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ’, क्षेत्रीले थपे ‘नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’ अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरु समेत गाउने उनले जानकारी दिए । ‘यो लोकतान्त्रिक सांस्कृतिक अभियानले नेपाली जनतालाई कांग्रेससँग अझ नजिकसँग जोड्छ भन्ने विश्वास लिएको छु’ उनले थपे ।
यहि माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ ।

बिभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक बिमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, संन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत बिभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।

दीपक र पूर्णमाले ल्याए ल्हासो ल्हासोको भिडियो

बहुचर्चित गायिका पुर्णिमा लामा छोटो छोटो समयको अन्तरालमा आफ्ना सृजनाहरु बजारमा ल्याईरहने गायिकामा पर्छिन् । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाले हालै ल्हासो ल्हासो बोलको गीतको भिडियो रिलिज गरेकी छिन् । सार्वजनिक गीतमा गायिका लामालाई दिपक तामाङले स्वरमा साथ दिएका छन् । शब्दर संगीतर एरेन्ज दिपक तामाङको रहेको उक्त ल्होछार गीत गायिका पुर्णिमा लामा र दिपक तामाङ को सयुंक्त आवाजमा सार्वजनिक गरिएको हो । इन्जिनियस टेलिभिजनद्वारा सार्वजनिक डम्फु सेलो कार्यक्रममा दोहोरी गायर जमेका पुर्णिमा लामा र दिपक तामाङ्को दोस्रो सहकार्य ल्होछार विशेष गीत ल्हासो ल्हासो सार्वजनिक भएको हो ।

उक्त ल्होछार गीत हालै मात्र दिपक तामाङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन्। नेपाली गीत संगित क्षेत्रको एक चम्किलो तारा पूर्णिमा सानै उमेर देखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित छिन्। गायिका लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौ गीति संग्रह सार्वजनिक भए। जुन गीतहरुले राम्रो चर्चा बटुलीरहेका छन्। उनका मुटु जली खरानी भो, फूल भनौं जिन्दगीलाई’ धेरै माया नगर्नु यहा कसैलाई, जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मनमा बस्न सफल छन्। छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन् पूर्णिमा। कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन्। त्यस अर्थमा उनी सफल र भाग्यमानि ठान्छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा मिलियन भ्यूज पाएका गीतहरु हुन्। यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन्।

पूर्णिमाका लागि संगीत नशा हो। सबैभन्दा नजिकको साथी हो। उनका लागि संगीत सुन्दर चीज हो । कुनैपनि काम संगीतबिना अपुरो नै हुन्छ। ‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडी बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ । उनी आफूलाई भाग्यमानि ठान्छिन् । पूर्णिमाले महत्वकांक्षा बोकेकी छैनन् । उनी गीत, संगीतमै रमाउँन, जीवन बिताउँन चाहन्छिन्। देश तथा बिदेशमा समेत चर्चित गायिका पुर्णिमा सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त छिन भने उनी हालै मा सांगीतिक कार्यक्रमको शिलसिलामा दुबाई र बहराइन पुगे फर्कएकी हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका लामा एपिक संगीत रत्न सम्मानबाट सम्मानित भइसकेकी छिन्। त्यस्तै चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा एपिक संगीत रत्न सम्मानपत्र सहित ३३ हजार ३३३ रुपैया नगद पुरस्कार प्राप्त गरेकी छिन्।

उनले पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ट नवगायिका, पहिलो नेपाल म्युजिक अवार्ड २०७५ सर्वोत्कृष्ट नव गायिका, ११ औं बिन्दबासिनी म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट गायिका सुगम संगीत, नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ सर्वोत्कृष्ट गायिका सुगम संगीत लगायत दर्जनौं अवार्डहरु हात पारिसकेकी छिन्। उनले हङकङ , कोरिया , कतार लगायत दर्जनौ देशहरुमा समेत आफ्नो साँगितिक प्रस्तुती दिइसकेकी छिन् ।

गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि

गोरखा, १५ माघः जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।

‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उहाँको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभरमा सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १५ हजार, उत्कृष्ट गोलकर्ता खेलाडीलाई रु १५ हजार पुस्कार प्राप्त गर्ने छभने प्रतियोगिताको सबैभन्दा अनुशासित टिमलाई रु ३५ हजार, उदयमान खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । जिल्लाभित्र फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्लबले हरेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ, १५ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६५, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ४०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

“लिबियाको तटबाट एक हजार ३१३ आप्रवासीको उद्धार”

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ ।“जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्काइयो,” आईओएमले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आप्रवासीहरूमा एक सय ६० भन्दा बढी महिला र ६० भन्दा बढी बालबालिका रहेको आईओएमले जनाएको छ । आईओएमले यस वर्ष अहिलेसम्म एक हजार ८०६ आप्रवासी लिबिया फर्काइएको जनाएको छ भने अन्य ३२ जनाको मध्य भूमध्यसागर जाने बाटोमा मृत्यु भएको छ ।

सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ । यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीका लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ ।

विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक

कर्णाली, १५ माघः कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०८१’ सम्बन्धी अभिमुखीकरणमा मन्त्री बुढाले सरकारले राहतसम्बन्धी नयाँ मापदण्ड ल्याएको बताउनुभयो । सङ्घ तथा प्रदेश सरकारले राहत दिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय सरकारबाट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहुँचका भरमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले जाजरकोट भूकम्पबाट क्षति पुगेका स्वास्थ्य र शिक्षा क्षेत्रका भौतिक संरचना निर्माणका लागि रु ५० करोड बजेट विनियोजना गरेको जानकारी दिनुभयो । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावितको काम अगाडि बढ्ने र राहत वितरण जनमुखी हुने मन्त्री बुढाको भनाइ छ ।

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद् अन्त्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि’ राष्ट्रिय परिषद्बाट स्वीकृत भइसकेकाले यथाशीघ्र लागू हुने चरण गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद् पीडितहरूलाई राज्यले धान्नसक्ने स्थिति नभएकाले विश्व बैंकबाट रु २१ अर्ब सहुलियत ऋण लिइएको छ । यसले पीडितको पीडामा मलम लगाउनेछ ।” उहाँका अनुसार प्राधिकरणलाई यतिबेला चार सय ७७ इञ्जिनियर आवश्यक छ । विभिन्न १६ संस्थाले ४५ दिनसम्मको खर्च व्यहोर्ने प्राधिकारणले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले विपद् पूर्वानुमान, तयारी र प्रदेश सरकारले निर्माण गरेको कार्यविधि र योजनाका बारेमा जानकारी दिनुभयो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनजन्य विपद् तथा आगलागीजन्य घटना र भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका बारेमा प्राधिकरणले गरेको योजनाबारे प्रस्तुति राख्नुभएको थियो ।

पदमबहादुरले गरे सुन्तला बेचेर २० लाख आम्दानी

म्याग्दी, १५ माघः बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।

“गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु एक करोड ५० लाख आम्दानी गरेका छन् ।

मरेकका रहेको २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्युनतम रु एक लाखसम्मको सुन्तला बेचेका छन् । “गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो”, उहाँले भन्नुभयो, “फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।”

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तल खेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताउनुभयो । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी गर्नुभयो ।

“सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उहाँले भन्नुभयो, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताउनुभयो । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताउनुभयो ।

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौँ, १५ माघः चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।

नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गर्नुभयो । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ ।

कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिनुहुँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउनुहुँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताउनुभयो । नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्छ भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिनुहुँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिनुभयो ।

गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताउनुभयो ।

नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध : प्रदेश प्रमुख भण्डारी

महेन्द्रनगर (धनुषा), १५ माघः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताउनुभएको छ । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले भारतको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गर्नुभयो ।

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास निर्माण, व्यापारलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा तथा खानेपानीमन्त्री शेषनारायण यादव, पूर्वप्रदेश प्रमुख हरिशङ्कर मिश्र, पूर्वमुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साहलगायतको उपस्थिति थियो । 

काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

काभ्रेपलाञ्चोक, १५ माघः राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यकीय खोप जिल्ललास्थित कार्यालयमा आइपुगेको छ । सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्याङ्कानुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ का तीन हजार ३३, कक्षा ८ का तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ । यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे व्यवस्थापन गरिसकिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकमा भने व्यवस्थापनका हिसाबले दुई चरणअन्तर्गत नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा दोस्रो चरणको अन्तिममा लगाइने भएको श्रष्ठले बताउनुभयो । स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिने छभने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

सातवर्षमा पनि नबनेको आँधीखोला पुल

वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन ।

भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए ।

उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन ।

निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए ।

चालिस-चालिस मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्मब पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ ।

पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे । उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए ।

‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ’, उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौँ, दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौँ ।’

पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ । बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ । हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुङ्गे पुलबाट वारपार गर्नुपर्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

काठमाडौँ, १५ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ तीन पैसा र बिक्रीदर ९६  रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९६ पैसा र बिक्री दर नौ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ नौ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

स्मारिकासँग मनका कुरा गर्दै आए गायक, गीतकार तथा संगीतकार शिव कैलाश

काठमाडौं । सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ।

सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। स्मारिकासँग गायक स्वयमको अभिनय रहेको मनका कुराको एरेन्ज आकाश नेपालीले गरेका हुन्।

रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो।

चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची राख्ने व्यक्त्तिव हुन्। कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन्। साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन्। आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ।

नेपालकै नम्बर १ शैक्षिक परामर्शदाता कन्सलट्यान्सी गोरेटोबाट अब यूके एप्लाई गर्न सकिने

काठमाडौँ । क्यानडालागि शैक्षिक उत्कृष्ट परामर्शदाताका रूपमा परिचित संस्था गोरेटो एजुकेसनल कन्सल्टेन्सीले अध्ययनका लागि यूके जाने विद्यार्थीहरूलाई समेत सेवा थालनी गरेको छ । शिक्षा मन्त्रालयको तथ्याङ्कले पछिल्लो समय युकेको लागि नो अब्जेक्सन सर्टिफिकेट लिने विद्यार्थीहरूको चाप बढेको देखाएको छ । विश्वव्यापी मान्यता, आधुनिक समय अनुसारको कोर्सहरूको उपलब्धता, पढाई पश्चात् पाइने पोस्ट स्टडी वर्क पर्मिट, छिटो छरितो सरल कागजी प्रक्रिया र अन्य मुलुकको तुलनामा यूके अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार भएकाले युके पछिल्लो समय आकर्षणको केन्द्रबिन्दु रहेको कुरा गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कँडेलले बताए ।

युकेमा विशेषतः ३ बर्षे स्नातक तह, १ बर्षे मास्टर र मास्टर बाई रिसर्च कोर्समा आईएलटिएस वा पिटिई परीक्षा दिएर वा जिपिए स्कोर र १२ को अङ्ग्रेजी बि वा बि प्लस हासिल गरेका विद्यार्थीहरू आईएलटिएस वा पिटिई परीक्षा बिना नै युनिभर्सिटी तथा कलेजले अफर दिने कुरो गोरेटोका संयोजक प्रकाश रेग्मीले बताए । रेग्मीका अनुसार मास्टर्स बाई रिसर्च पढ्न जाने विद्यार्थीले आफ्नो श्रीमान् श्रीमती र बच्चा बच्ची पनि साथै लान मिल्ने अधिकार हुने बताउनुभयो । एक बर्समै मास्टर वा मास्टर बाई रिसर्च कोर्स सकिने र सो पश्चात् २ वर्षको पोस्ट स्टडी वर्क पर्मिट पाइने भएकाले स्नातक तह पछि मास्टर पढ्न जानको लागि लागत कम पर्ने र कम लागतमा विश्वव्यापी मान्यताप्राप्त विश्वविद्यालयमा ज्ञान तथा सिप अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय अनुभवले बहुआयमीक र दूरगामी प्रभाव राख्दछ भन्ने विश्वास रहेको रेग्मीले बताए ।

संयोजक रेग्मीले १२ पछि स्नातक तह पढ्न जाने बिद्यार्थीहरुको हकमा भने धरै महँगो युनिभर्सिटीमा लगातार ३ वर्ष फि तिर्न प्राविधिक हिसाबले कठिन हुने हुँदा बर्सेनि करिब १२ देखि १३ हजार पाउन्ड भन्दा महँगो कलेज वा युनिभर्सिटीमा आफ्नो आर्थिक हैसियत हेरेर बिचार गरेर जानुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय विद्यार्थीले पढाई दौरान हप्ताको २० घण्टा मात्र काम गर्न मिल्ने र भ्याकेसन बिदाको समयमा फुल टायम काम गर्न मिल्ने बताए । यद्यपि विद्यार्थीका डिपेन्डेन्टले भने फुल टायम काम गर्न मिल्ने बताए ।

निर्देशक कँडेलका अनुसार युकेको ईङ्लायान्ड, स्कटल्यान्ड वेल्स र नर्दन आयरल्याण्डका विभिन्न सहरहरूमा रहेका प्राय ख्यातिप्राप्त विश्वविद्यलयहरुमा गोरेटो एजुकेसनल कन्सल्टेसीको मुख्य कार्यालय नयाँ बानेश्वर, शाखा कार्यालयहरू कुमारी पाटी, इटहरी, चितवन, पोखरा मार्फत भिसा एप्लिकेसन गर्न सकिने र सदाझैँ आम विद्यार्थी र अभिभावकको विश्वास र भरोसाको केन्द्रविन्दुमा रही अझै अब्बल सेवा प्रदान गर्ने दृढ विश्वास व्यक्त गरे ।

श्रीलङ्काको निर्यातमा उल्लेखनीय वृद्धि

श्रीलङ्काले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ । देशको निर्यात विकास बोर्ड (इडीभी) ले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले यो वार्षिक रूपमा ७.०६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ ।कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १.०४ अर्ब डलर पुगेको छ ।

डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२.९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९.९६ प्रतिशतले बढेको छ ।

एन्फा महिला लिग फुटबलः पुलिसले आर्मीलाई हराउँदै फाइनमा

काठमाडौँ, १४ माघः एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा खेल सकियपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल टाइब्रेकरमा पुगेको हो ।

पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले आर्मीको तीन पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् । टाइब्रेकरमा पुलिसका लागि गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए । सम्झना लावती, समीक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना रानामगरले बचाइन् ।

आर्मीका लागि अञ्जनाले मात्र गोल गरिन् । चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले रोकिन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । यससँगै पुलिसले एपिएफ क्लबसँग यही माघ १६ गते उपाधिका लागि खेल्नेछ ।

‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’ : मन्त्री भण्डारी

काठमाडौँ, १४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ । आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढे अनुरूप निर्यात बढ्न नसकेको बताउनुभएको हो । त्यसका लागि नीतिगत रुपमा यसलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको उहाँले बताउनुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले विद्यमान व्यापार सन्धि संशोधनका लागि दुवै देशको सह–सचिवस्तरमा रहेको प्राविधिक समितिको बैठक चाँडै बसेर सो विषय टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

हालै सम्पन्न वाणिज्य सचिवस्तरको अन्तर सरकारी समिति (आइजिसी) बैठकमा ब्यूरो अफ इण्डियन स्टान्डर्ड (बीआईएस) प्रमाणपत्र जारी तथा नवीकरणलगायतका विषयमा प्रगति नभएको नेपाली निर्यातकर्ताको गुनासो प्राप्त भइरहेकाले उक्त समस्या समाधानका लागि मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

उक्त भेटमा उहाँले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी मार्चको २ र३ मा काठमाडौँमा हुन गइरहेको नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतका तर्फबाट उच्च तहका पदाधिकारी एवं भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

साथै मन्त्री भण्डारीले नेपाल र भारतबीच खुला सीमाना, भौगोलिक निकटता र जनस्तरको घनिभूत सम्बन्धका कारण दुई देशबीच बलियो आर्थिक, सामाजिक तथा  सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा अतिरिक्त सचिव महावरले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा भारत सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भेटका क्रममा उठेका विषयलाई सम्बोधन गर्न आफ्नातर्फबाट सम्बद्ध निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो भेटघाटमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।

समाजवादी मोर्चाले गर्ने सभाको तयारी पूरा

काठमाडौँ, १४ माघः समाजवादी मोर्चाले मङ्गलबार यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने सभाको तयारी पूरा गरेको जनाएको छ ।

मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञा प्रतिष्ठानमा हुने सभा, शीर्ष नेताहरूबाट हुने सम्बोधन, भीड व्यवस्थापनका निमित्त स्वयंसेवक परिचालन, विभिन्न सञ्चारगृहबाट आउने सञ्चारकर्मीको व्यवस्थापनलगायत कार्यसूची तयार गरेको छ ।

मोर्चाको देशभर साङ्गठनिक अवस्था, सबै प्रदेश संरचनाका गतिविधि, हालसम्मका उपलब्धि तथा कमजोरी र आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सभा आयोजना गरिएको मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका ढिलासुस्तीलगायत विषयमा समेत मोर्चामा आबद्ध नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।

मोर्चाले करिब ६० जिल्ला तथा ३० स्थानीय तहमा साङ्गठनिक संरचना तयार गरेको जनाएको छ ।

रास्वपाले गुण र दोषका आधारमा अध्यादेशमाथि बहस गर्ने

काठमाडौँ, १४ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएका अध्यादेशमाथि गुण–दोषका आधारमा बहस गर्ने बताएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले छ बुँदे निर्णय गर्दै गुण दोषका आधारमा भूमिका खेल्नेबारे निर्णय भएको पार्टीका कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

बैठकले सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियतमाथि प्रश्न उठाउँदै आगामी संसद् अधिवेशनमा यसमाथि बहस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “संसद्को आसन्न अधिवेशनको तीन हप्ताअघि हतारहतार सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्छौँ”, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यी अध्यादेशका अन्तरवस्तुुगत र सारमाथि रास्वपाका सांसदहरूले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।”

बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रस्ताव, सङ्गठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ ।

यस्तै, केन्द्रीय सचिवालय सदस्य÷पदाधिकारीहरूको नेतृत्वमा आगामी फागुनमा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिनकुमार आचार्य, गण्डकीमा शिशिर खनाल, बागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेसमा विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईँको नेतृत्वमा उक्त संवाद कार्यक्रम सञ्चालन गरिने रास्वपाले जनाएको छ ।

बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिलाई रास्वपामा आबद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय सङ्गठन विभाग सदस्यमा मनोनयन गर्ने, प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सोसम्बन्धी कार्यविधिबमोजिम गर्न÷गराउन केन्द्रीय सङ्गठन विभागलाई सहजीकरणका लागि निर्देशन दिने निर्णय भएको कार्यवाहक प्रवक्ता रावलले जानकारी दिनुभयो ।

श्रीलङ्काको निर्यातमा उल्लेखनीय वृद्धि

श्रीलङ्काले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ ।

देशको निर्यात विकास बोर्ड (इडीभी) ले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले यो वार्षिक रूपमा ७.०६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ ।

कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १.०४ अर्ब डलर पुगेको छ ।

डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२.९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९.९६ प्रतिशतले बढेको छ ।

‘सरकारले जनपक्षीय काम गरिरहेको छ’ – मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १४ माघः कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले जनपक्षीय काम गरिरहेको बताउनुभएको छ ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गर्दै आएको जिकिर गर्नुभयो । “दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका सरकारले जनपक्षीय काम गरेका कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएका छन्”, मुख्यमन्त्री कँडेलले भन्नुभयो,“एमालेको सही नीति, विचार र नेतृत्वकै कारण जनताको आकर्षण बढेको छ । यसलाई कायम राख्न थप क्रियाशीलता आवश्यक छ ।”

उहाँले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सङ्केत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राख्नुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर विष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।

आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत

काठमाडौँ । सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् ।

सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसद्बाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् ।

संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

‘थप केही छलफल गर्नुपर्ने विषय भए प्रधानमन्त्री ओली, सभापति देउवालगायत शीर्ष नेतृत्वसँग छलफल गर्ने बैठकको निष्कर्ष छ’, उनले भने, ‘साथै अरु आवश्यक कानुन पनि छिट्टै ल्याउने, संसद्लाई पर्याप्त बिजनेस दिएर तदारुकताका साथ कानुन र विधि निर्माणमा उपयोग गर्ने बैठकको निष्कर्ष छ ।’

बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताएका थिए । सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’,अध्यक्ष नेपालद्धारा शुभारम्भ

काठमाडौँ, १४ माघ : नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले शुभारम्भ गर्नुभयो ।

विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएको छ ।

व्यापार केन्द्रको शुभारम्भ गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुआत प्रंशसनीय रहेको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादनको गुणस्तर सुनिश्चितामा ध्यान दिन आग्रह गर्नुभयो ।

नेकपाका महासचिव चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महसुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आत्मनिर्भरता र अन्तरनिर्भरताको नयाँ परिभाषा आवश्यक भएको उल्ल्ेख गर्दै नेकपाले सुरु गरेका उत्पादन परियोजनाको प्रंशसा गर्नुभयो ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले श्रम संस्कृति दिनानुदिन कमजोर भइरहेको अवस्थामा नेकपाले सञ्चालन गरेको उत्पादन अभियान राष्ट्रिय अर्थतन्त्रमा नयाँ मोडल भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

जनकपुरधाम, १४ माघः मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको पाँच दशमलव ८३ प्रतिशत अर्थात् रु दुई अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ । जसमा पुँजीगततर्फ एक दशमलव ३३ प्रतिशत तथा चालुतर्फ १३ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

मधेस सरकारले चालुतर्फ रु १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार र पुँजीगततर्फ रु २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार गरी कुल रु ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो ।

मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत छ महिनामा मुख्यमन्त्री कार्यालयको रु चार करोड ७५ लाख, अर्थ मन्त्रालयको रु चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको रु सात करोड ९९ लाख खर्च भएको छ । त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको रु २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मनत्रालयको रु तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको रु ३८ करोड तीन लाख खर्च भएको उल्लेख छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको रु १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको रु सात करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु ५७ करोड ६१ लाख बजेट खर्च भएको जनाइएको छ ।

प्रतिशतका आधारमा मुख्यमन्त्री कार्यालयको आठ दशमलव ९६ प्रतिशत, अर्थ मन्त्रालयको १७ दशमलव ०६ प्रतिशत, उद्योग मन्त्रालयको दुई दशमलव ६८ प्रतिशत, भूमि व्यवस्था, कृषि सहकरी मन्त्रालयको पाँच दशमलव ५६ प्रतिशत, ऊर्जा तथा सिँचाइ एवं खानेपानी मन्त्रालयको पाँच दशमलव ४९ प्रतिशत खर्च भएको छ ।

त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्रालयको चार दशमलव ४९ प्रतिशत खर्च भएको देखिएको छ । वन तथा वातावरण मन्त्रालयको १५ दशमलव ६८ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक दशमलव ८८ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयको छ दशमलव १८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयको सात दशमलव ८३ तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ११ दशमलव ०४ प्रतिशत बजेट खर्च भएको उल्लेख छ ।

राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन् । जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताउनुभयो । बजेट खर्चका लागि प्रदेश सरकारले सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

राजनीति पैसाका लागि नभई देश र जनताका लागि : नेता कोइराला

विराटनगर, १४ माघ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीति पैसाका लागि नभई देश र जनताका लागि हुनुपर्ने बताउनुभएको छ ।नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा नोना कोइरालाको १८औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले तीनै तहको सरकारमा रहेका अधिकांश व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजनीतिलाई व्यवसायीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो ।” 

उहाँले सरकारले संसद्लाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनताले आशंका गरेको उल्लेख गर्नुभयो । 

विराटनगर महानगर प्रमुख नागेश कोइरालाले स्वर्गीय नोना कोइरालाको स्मरण गर्दै राजनीतिक, धार्मिक, सामाजिक व्यक्तित्व रहेको बताउनुभयो । कोइराला परिवारलाई एकढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको ठूलो योगदान रहेको चर्चा उहाँले  गर्नुभयो ।

प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छः सभामुख घिमिरे

काठमाडौँ, १४ माघः सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसँगको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले संसद्को कामकारबाही र ‘बिजनेस’ दिने मामिलामा सरकार र राजनीतिक दलको सहयोग एवं समन्वय आवश्यक रहेको बताउनुभयो ।

सरकारले अधिवेशनका लागि धेरै तयारी गरेको भने पनि पछिल्लो समय महत्त्वपूर्ण भनिएका विधेयक संसद् सचिवालयमा नआएको र दर्ता नभएको भन्दै उहाँले सबैले यसमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

“लोकतान्त्रिक प्रणाली अवलम्बन गरेका देशमा संसद् कति चलाउने, के–कस्ता विषयलाई प्राथमिकता दिने, कसरी अघि बढ्ने भन्नेबारे कार्ययोजना र कार्यतालिका आवश्यक हुन्छ । त्यस्तो कार्यतालिका बनाएर जानुपर्छ, त्यो नै व्यावहारिक र वैज्ञानिक कुरा हो भन्ने लाग्छ । हामीले एउटा पक्षले अड्को थाप्ने, अर्काेले त्यसैलाई बहाना बनाएर अर्कैतर्फ हिँड्ने अवस्था आउन दिनुहुँदैन । सबै जिम्मेवार बन्नुपर्छ”, सभामुख घिमिरेले भन्नुभयो । यसका लागि हाम्रो अवस्था, क्षमता, अनुमान, दृष्टिकोण वस्तुवादी हुनुपर्ने भन्दै उहाँले आगामी हिउँदे अधिवेशनमा सरकार, राजनीतिक दल र संसद्को प्राथमिकता विधेयकलाई निष्कर्षमा पु्र्याउनेतर्फ केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

सभामुख घिमिरेले काम नगरी नहुने अवस्था, अन्तिम क्षण र बाध्यकारी परिस्थितिमा मात्रै काम गर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याउँदै सबै, सधैँ सक्रिय भए मात्र संसद् प्रभावकारी बन्न सक्ने बताउनुभयो । “संसद् र संसदीय समितिलाई परिणामुखी तुल्याउन विभिन्न पक्षको उत्तिकै भूमिका रहन्छ । संसद्मा प्रखर रूपमा आफ्नो कुरा राख्ने र सरकारका गतिविधिको निगरानी गर्दै संसद्लाई चुस्त तुल्याउने प्रतिपक्षको पनि दायित्व र धर्म हो”, उहाँले भन्नुभयो,“परिस्थिति र परिवेशले केही विषय निर्धारण गर्ने भए पनि मुख्य विषयवस्तुमा सत्तापक्ष र प्रतिपक्षबीच सहयोग र समन्वय आवश्यक छ ।” सञ्चार क्षेत्रले पनि संसद्मा उठेका विषयलाई सही ढङ्गले समाचार सम्प्रेषण गरी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने सभामुख घिमिरेको सुझाव थियो ।

उहाँले समयसीमा तोकेर प्राथमिकता निर्धारण गरी योजनाबद्ध तथा तालिका बनाएर जाने कार्य नै वैज्ञानिक र वस्तुवादी भएकाले प्रतिनिधिसभाले एक वर्षअघिदेखि क्यालेन्डर बनाएर काम गरिरहेको बताउनुभयो ।

बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

वीरगञ्ज (पर्सा), १४ माघ : वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो ।

कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताउनुभयो । ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’’, उहाँले भन्नुभयो, ‘‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ ।’’ 

कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ । विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मू्ल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ । त्यसैगरी जिरामसिनोको समर्थन मूल्य प्रतिक्वीन्टल रु चार हजार तोकेको छ । 

यसैबीच, गत आवमा धान, चामल आयात घटेको छ । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा  गत आवमा वीरगञ्ज भन्सार हुँदै आयात हुने चामल आयातमा उच्च गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै सो को प्रभाव नेपालमा देखिएको हो । 

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । आव २०७९/८० को तुलनामा गत आवमा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । 

आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको थियो । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलो धान आयात गरिएको थियो । 

गत आव २०८०/८१ मा वीरगन्ज भन्सार हुँदै रु एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलो चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आयात भएको चामलको परिमाण ६३ दशमलव ८० प्रतिशतले कमी हो ।   आव २०७९/८० मा भने रु दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार छ सय ८३ किलो चामल आयात भएको थियो । 

अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताउनुभयो ।

बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिनुभयो ।ट्रम्पको प्रशासन नेशनल एसोसिएशनमा छाप मारेको थियो ।