`

भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु

पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ ।जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसले पखाला सुरु गर्नुको साथै अचानक सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ ।यो महाराष्ट्रमा पहिलो मृत्यु हो, जुन जीबीएसको कारणले भएको शङ्का गरिएको छ ।

मुम्बईको १५० किलोमिटर दक्षिण–पूर्व पुणेमा जीबीएसको प्रकोप रिपोर्ट गरिएको छ, जहाँ मामिलाहरूको सङ्ख्या १०१ पुगेको छ ।स्वास्थ्य विभागको द्रुत प्रतिक्रिया टोली र पुणे नगर निगमका अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा उनीहरूको निगरानीलाई तीव्र पारेका प्रतिवेदनमा भनिएको छ ।ब्याक्टेरिया र भाइरल इन्फेक्सनले बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सामान्यतया जीबीएस हुने गरेको चिकित्सकहरू बताउँछन् । यद्यपि यो साना केटाकेटी र युवाहरूमा प्रचलित छ ।

अधिकांश बिरामीहरू उपचारबाट पूर्ण रूपमा निको भएकाले मानिसहरूलाई नडराउन आग्रह गरिएको छ । यसैबीच, भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले जीबीएस प्रकोप पछिको अवस्थाको मूल्याङ्कन गर्न सात सदस्यीय टोली पुणे पठाएको छ ।

कोशी प्रदेश लोकसेवा आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेस

विराटनगर, १४ माघ : कोशी प्रदेशसभाको आज बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१को पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ । कोशी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।

सभामा उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐनले उत्पादन र उत्पादकत्व बढाउन मद्दत गर्ने बताउनुभयो ।

कृषि क्षेत्रको समग्र विकास गरी वर्सेनि भोग्नुपर्ने मलखाद र बीउको समस्या समाधान गर्न ऐन प्रभावकारी हुने बताउँदै उहाँले गुणस्तरीय बीउ उत्पादन, भण्डारण, प्रशोधन गरी किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वदेशी बीउ प्रयोग गरे जोखिम कम हुने र भइ नै हालेमा क्षतिपूर्तिका व्यवस्था प्रदेश सरकारले गर्ने बताउँदै यो ऐनबाट किसान प्रोत्साहित हुने उहाँले बताउनुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट उपनेता तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको घटनापछि सबै पक्षले संयमता अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले घटनापछिको अवस्थालाई बिग्रन नदिन प्रहरी प्रशासनले बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउँदै अब थप पीडा हुने काम कसैले नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भाँच्चिनुभन्दा निहुरिनु राम्रो हो, दुवै पक्ष सहमति, सहकार्य र एकताबाट अघि बढ्नुपर्छ ।”

विशेष समयमा सोही सन्दर्भमा बोल्दै नेपाली कांग्रेस संसदीय दलको तर्फबाट मैया श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको तर्फबाट  खिनु लङ्वा लिम्बूले पाथीभरा मुक्कुम्लुङ धार्मिक एवं सांस्कृतिक क्षेत्र भएकाले थप तनाव सृजना हुने काम कसैले नगरी वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँहरुले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था सरकारले गर्नुपर्ने माग गर्नुभयो । 

विभिन्न समयमा सदनमा उठेका जिज्ञासाको सन्दर्भमा भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नागरिक जीवनमा प्रत्यक्ष रुपमा जोडिने स्वास्थ्य क्षेत्रमा सुधार गरेको बताउनुभयो । उहाँले कडा रोग लागेका बिरामीका लागि प्रदेश सरकार स्वास्थ्य सहायता रकम जुटाउने विषयमा गत वर्षमा तीन हजार दुुई सय ३४ निवेदन परेकामा पाँच सय जनालाई रु पाँच करोड वितरण भएको जानकारी दिनुभयो । 

उहाँले यसवर्ष पनि दुई हजार सात सय ३४ निवेदन परेकामा रु पाँच करोड नागरिक सहायता कोषमा रहेको र थप रु नौ करोड सङ्घीय सरकारसँग माग गरेको बताउँदै सम्भवत यही माघको अन्तिमतिर सम्बन्धित व्यक्तिको खातामा ५० प्रतिशत रकम पठाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।

मन्त्री राईले धनकुटामा स्त्री रोग विशेषज्ञ एक÷दुई दिनमै पठाउने, सुनसरीको इनरुवा अस्पतालसहित अन्य अस्पतालको स्तरोन्नति गरी आमनागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

शून्य समय

शून्य समयमा प्रदेशको समसायिक विषयमा कोशी प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, मीना श्रेष्ठ, रामप्रसाद मेहता, खगेश्वरी पौडेल, सुनिता गच्छदार चौधरी, इस्राइल मन्सुरी, गोपालबहादुर विश्वकर्माले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

वीरगञ्ज भन्सारबाट भन्सार छली भित्र्याइएका ५० लाखका सामान बरामद

वीरगञ्ज (पर्सा), १४ माघ : सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले आज वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।

 सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

राष्ट्रिय सोनाम ल्होछार महोत्सव मङ्गलबारदेखि

काठमाडौँ, १४ माघ : सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिनुभएको हो ।

सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुल/सापुख्री (सर्प वर्ष) पर्वका अवसरमा टुँडिखेलमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।  उक्त महोत्सव सम्पन्न गर्न एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

यसवर्ष ‘मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन्ने मूल नारासहित महोत्सव मनाइँदैछ । अध्यक्ष गोलेले भन्नुभयो, “सोनाम ल्होछार–२८६१ डुल ल्हो (सर्प वर्ष) भएकाले हाम्रो कार्यक्रमस्थलको मुख्य स्टेजलाई पूरै सर्पको मुखाकृति आकारमा बनाइने भएको छ ।” 

महोत्सवमा परम्परागत सामग्रीसहितको स्टल रहनेछ भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजातिसम्बन्धी पुस्तक राखिने आयोजकले जनाएको छ । यो पर्व तामाङ, ह्योल्मोलगायत आदिवासी जनजाति समुदायले मनाउँदै आएका छन् । ल्होको अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । 

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

काठमाडौँ, १४ माघः संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ ।

सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उहाँको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ । सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको छ ।दश दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा सिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकामा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेटवार्ता

काठमाडौँ, १४ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल-म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।

    त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभएको उहाँका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो । उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्रको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन भई आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    भेटमा राजदूत माउङले नेपाल र म्यानमारले भगवान बुद्धलाई उच्च सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो । “नेपाल र म्यानमारबीच जनस्तरको सम्बन्ध छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ”, उहाँको भनाइ उद्धृत गर्दै उपराष्ट्रपतिको सचिवालयले भनेको छ ।

रास्वपाको सचिवालय बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

काठमाडौं – आज रास्वपाको सचिवालय बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने जनाइएको छ । बैठकमा विभिन्न नियमावलीहरूमाथि छलफल हुने बताइएको छ ।

यस्तै पदाधिकारीको नेतृत्वमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु. ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु. २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु. ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु. ३०, आलु रातो प्रतिकेजी रु. ४२, आलु रातो (भारतीय) प्रतिकेजी रु. ३८, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ६८, गाजर (लोकल) प्रतिकेजी रु. ५०, गाजर (तराई) प्रतिकेजी रु. ३०, बन्दा (लोकल) प्रतिकेजी रु. १५, बन्दा (तराई) प्रतिकेजी रु. १५, बन्दा (नरिवल) प्रतिकेजी रु. १५, काउली स्थानीय प्रतिकेजी रु. १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु. २०, काउली (तराई) प्रतिकेजी रु. १२, मूला रातो प्रतिकेजी रु. ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु. १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु. ३०, भन्टा लाम्चो प्रतिकेजी रु. ३०, भन्टा डल्लो प्रतिकेजी रु. ४० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु. ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु. ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु. ७०, टाटे सिमी प्रतिकेजी रु. ४०, तिते करेला प्रतिकेजी रु. १००, लौका प्रतिकेजी रु. ६०, फर्सी पाकेको प्रतिकेजी रु. ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु. २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु. २०, सलगम प्रतिकेजी रु. १००, भिण्डी प्रतिकेजी रु. ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु. ४०, पिँडालु प्रतिकेजी रु. ९०, स्कूस प्रतिकेजी रु. ४०, रायो साग प्रतिकेजी रु. १५, पालुंगो साग प्रतिकेजी ४०, चमसुरको साग रु. ४०, तोरीको साग प्रतिकेजी रु. २५, मेथीको साग प्रतिकेजी रु. ४०, प्याज हरियो प्रतिकेजी रु. ५०, बकुला प्रतिकेजी रु. ७०, तरुल प्रतिकेजी रु. ९०, च्याउ (कन्य) प्रतिकेजी रु. ९०, च्याउ (डल्ले) प्रतिकेजी रु. ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु. ३०, चुकुन्दर प्रतिकेजी रु. ८०, सजीवन प्रतिकेजी रु. २५०, रातो बन्दा प्रतिकेजी रु. ६०, जिरीको साग प्रतिकेजी रु. ७०, ग्याँठ कोबी प्रतिकेजी रु. ९०, सेलरी प्रतिकेजी रु. ४००, पार्सले प्रतिकेजी रु. ८००, सौफको साग प्रतिकेजी रु. ८०, पुदिना प्रतिकेजी रु. ४००, गान्टे मूला प्रतिकेजी रु.८०, इमली प्रतिकेजी रु. १६०, तामा प्रतिकेजी रु. १००, तोफु प्रतिकेजी रु. १२०, गुन्द्रुक प्रतिकेजी रु. ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु. २६०, स्याउ (फूजी) प्रतिकेजी रु. ३००, केरा (दर्जन) रु. १७०, कागती प्रतिकेजी रु. १६०, अनार प्रतिकेजी रु. ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु. २४०, अङ्गुर (कालो) प्रतिकेजी रु. ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु. १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु. १००, काँक्रो (लोकल) प्रतिकेजी रु. १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु. ५०, निबुवा प्रतिकेजी रु. ५०, नासपती (चाइनिज) प्रतिकेजी रु. २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु. १००, अम्बा प्रतिकेजी रु. १२०, लप्सी प्रतिकेजी रु. ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु. ५००, किबी प्रतिकेजी रु. २५०, आभोकाडो प्रतिकेजी रु. २५०, अमला प्रतिकेजी रु. ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु. १२०, खुर्सानी सुकेको प्रतिकेजी रु. ४००, खुर्सानी हरियो प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु. १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु. ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु. ७०, लसुन हरियो प्रतिकेजी रु. ९०, हरियो धनियाँ प्रतिकेजी रु. ४०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु. २५०, ताजा माछा (रहु) प्रतिकेजी रु. ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु. २६०, ताजा माछा (छडी) प्रतिकेजी रु. २६०, ताजा माछा (मुंगरी) प्रतिकेजी रु. ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु. ३०० र सिताके च्याउ प्रतिकेजी रु. ८०० तोकेको छ ।

नेपाली सेनाले भोलिदेखि जङ्गी अड्डामा फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने

काठमाडौँ । नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ । त्यसका साथै सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न, स्थानीयवासीलाई आवतजावतमा सहज

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।

एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

भारतबाट आयातित माछालाई ताजा देखाउन फर्मालिन प्रयोग भएका माछा नष्ट

झापा । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन् ।

भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्रमुख कार्कीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, राजस्व शाखा प्रमुख विमल बाँस्कोटा, नेपाल प्रहरी र नगरप्रहरीलगायतको टोलीले सो स्थानमा पुगेर माछा जफत गरेको थियो ।

शिवगञ्ज बजारको माछा पसल अनुगमन गर्दा तीन पसलमा फर्मालिन रसायन प्रयोग भएका माछा बिक्री वितरण भइरहेको पाइएको उपप्रमुख कार्कीले बताइन् ।

स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराउँदा गराउँदै बेचबिखन गरेको पाइएको हुँदा नगरपालिका कारबाहीमा उत्रिन बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत तुम्वाहाम्फेले बताइन् ।

शिवगञ्ज बजारको भुटन चौधरीको पसलबाट २० केजी, उपेन्द्र सहनीको पसलबाट दुई केजी र दीपक साहको पसलबाट २२ केजी माछा जफत गरिएको उनले जानकारी दिइन् ।

आज होलोकास्ट स्मृति दिवस, के छ यसको महत्त्व ?

काठमाडौँ । दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो ।

यो दिवस न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए ।

यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयुक्त रूपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताए ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा

तुलसीपुर। दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो ।

यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ ।

कार्यक्रमका लागि पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था र विद्यालयलाई खोप केन्द्र निर्धारण गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ ।

घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।

आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु तीन अर्ब, नागरिक लगानी कोषले रु दुई अर्ब, माछापुच्छ्रे बैंकले रु एक अर्ब ४५ करोड, एभरेष्ट बैंकले रु एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड बराबर लगानी गर्ने गरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले जनाएको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित रु १८ अर्ब १३ करोड छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।

स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पुँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।

साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।

आयोजना निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।

एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने : मन्त्री पौडेल

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु. एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् ।आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु. पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदै

फिक्कल (इलाम)। इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिनुभयो । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रङ्गमञ्चका एक नाटक मञ्चन हुनेछन् ।

नाट्य महोत्सवको पहिलो दिन आज आयोजक चालचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन हुनेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने जनाइएको छ ।

मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान सङ्घ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताउनुभयो ।

“विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी नारासहित तेस्रो संस्करणको नाट्य महोत्सव आयोजना गर्दैछौँ”, उहाँले भन्नुभयो, “नाट्य महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रङ्गमञ्च अन्तरसंवाद गरिनेछ ।” भूमि, कला र पार्यवरणको समिश्रणमा चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गरिने उहाँले बताउनुभयो । “शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ । अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो”, अध्यक्ष आङथुपोले भन्नुभयो, “हामीले भूमि, कला र पर्यावरण कलाको समिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।”

रङ्गमञ्चका सचिव सन्तोष गिरीले समुदायसँग सहकार्य गर्दै समुदायको सीप कलामा जोड्दै आएको बताउनुभयो । “समुदायसँग रङ्गमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुङ्गा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेका छौँ ।”

नाट्य महोत्सवलाई प्रोत्साहन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । स्थानीयस्तरमा हुने कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाभित्रका विभिन्न प्रतिभाको गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।

बोयर जातको बोकाको माग उच्च

दमौली (तनहुँ)। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ ।

बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको थियो । त्यस वर्ष ३४ खरी बाख्रा उत्पादनको लक्ष्य रहेकामा ७० खरी बाख्रा उत्पादन भएको थियो । केन्द्रका डा राजु प्रमुख कँडेलका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।

त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो ।

अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । उहाँले भन्नुभयो, “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको प्रमुख डा कँडेलको भनाइ छ । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्राहरु म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडाँै, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, धादिङमा वितरण भएको कँडेलको भनाइ छ ।

यसैबीच आइतबारदेखि बाख्रापालन तालिम सुरु भएको छ । तालिम यही माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सात वटै प्रदेशबाट २० व्यावसायिक कृषकको सहभागिता छ । आवासीय तालिमअन्तर्गत किसानलाई प्रयोगात्मक विधिमार्फत बाख्रापालनसम्बन्धी विभिन्न ज्ञान प्रदान गरिने केन्द्रका प्रमुख डा कँडेलले जानकारी दिनुभयो । तालिममा रोग खोप, दाना व्यवस्थापन, प्रजनन विधि, र खोरको व्यवस्थापनलगायतका विषयमा व्यावहारिक अभ्यास गराइने उहाँले उल्लेख गर्नुभयो ।

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

पाँचथर। पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ । ‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका निम्ति रु ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताउनुभयो ।

आयोजक क्लबले आज पाँचथरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको थियो ।

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित

सिरहा । ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व संकलन प्रभावित भएको बताए ।

मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल-भारत सहज व्यापारका लागि उपयुक्त नीति कानुनको आवश्यकता रहेको बताए । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा प्लान्ट क्वारेन्टिनको सुविधा नहुँदा समस्या भएको बताए ।

ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँच पास ठप्प भई राजस्व संकलन प्रभावित भएको गुनासो गरे ।

ठाडी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु. चार करोड २३ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा पुस समन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र संकलन भएको जनाएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघातको सम्भावना

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो।

हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएका मानिसमा बढी हुन्छ। तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको शहीद गंगालाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ। उनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठ गुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँच गुणा र ६५ वर्षभन्दा माथिका तीन गुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ। यस्तै ४९ वर्ष मुनि सुर्तीजन्य सेवन गर्ने महिलालाई १३ गुणा बढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ।

अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन्। जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन्। उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए।

उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ। त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ।

किन हुन्छ हृदयाघात ?
गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएका मध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ।

यस्तै उच्च रक्तचाप ३६.६ प्रतिशत, मधुमेह २५.३ प्रतिशत र कोलस्टोरोल ७.८ प्रतिशतलाई हुने गरेको छ। उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ वर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढ्दै पाइएको बताए।

नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ। चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढ्दै गएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ। सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो।

अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए। ‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ’, उनले भने, ‘तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन्।’

उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताए। ‘हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन्। यो फ्लेवर हो भनेर तान्ने गर्दछ’, उनले भने, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्‍याउँछ। अनि हृदयाघात सम्भवना हुन्छ।’

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ।

जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात
मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन्। डा. भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन्। घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन्।

गंगालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन्। अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ।

जाडोमा यसकारण बढी हृदयाघात, कसरी सतर्क रहने
‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ। यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, डा.अधिकारीले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ।’

मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्।

हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन्। केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ। केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उनले बताए। एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ। त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ।

विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन्। स्टिमाई (मुटुमा रक्तसञ्चार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात)। ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्‍याउन सके बचाउन सकिन्छ।

फरक छ, कार्डियाक अरेस्ट र हृदयाघात
यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ। “हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ। मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ। मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्‍याउन सके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’

एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ। त्यस्ता बिरामीलाई भर्ना गरेर केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ। केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ।

केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन्। केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ।

जाडोमा बढी
जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा. रवि मल्ल बताउँछन्। मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ।

यस्तै जाडो याममा चुरोट तथा मादक पदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ। उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए।

हृदयाघात कसरी हुन्छ ?
मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ। मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ। रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ। उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ। अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ।

हृदयाघात सम्बन्धी केही भ्रमपूर्ण धारणा
रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ। धेरैजसो मानिस छाती दुखे पनि घरमै बस्छन्। अनि ढिला आउँछन्। रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ। मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ।

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए ।

गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई पनि मन्त्री पाण्डेले सम्मान गरे ।

ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

काठमाडौँ, १४ माघः तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उहाँ सफल किसान बन्नुभएको हो ।

“ पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उहाँले भन्नुभयो ।

उहाँले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गर्नु भएको छ । उहाँ बेमौसमी सागसब्जी लगाउने योजनामा हुनुहुन्छ । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उहाँले बताउनुभयो । उहाँ कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित हुनुहुन्छ । पूर्ववडासदस्य उहाँ हिजोआज राजनीतिबाट अलग हुनुहुन्छ । यद्यपि सामाजिक काममा गाउँलले उहाँलाई नै सम्झन्छन् ।

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताउनुभएको छ । उहाँले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोप्नुभएको छ । उहाँ आफ्ना उत्पादन स्वयं बजार पुर्याउनुहुन्छ र आफै बेच्नुहुन्छ । टमाटर र काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उहाँले राससलाई बताउनुभयो । तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उहाँले आल्हादित हुँदै सुनाउनुभयो । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उहाँ मक्ख हुनुहुन्छ ।

मोटरमा कृषि उपज बजारसम्म लैजाने उहाँमात्र हुनुहुन्न उहाँका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?

काठमाडौँ, १४ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ । साथै अन्य विदेशी मुद्राको भाउ स्थिर छ ।

केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६  रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा,े स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

देवघाट महामहोत्सव : षटतिला एकादशीको विशेष अवसरमा तीन लाख भक्तजनद्वारा दर्शन र स्नान

देवघाट महामहोत्सवमा यतिबेला ठूलो संख्यामा भक्तजनहरुको पस्थिती भइरहेको छ । जसअन्र्तगत देवघाट महामहोत्सवको बाह्रो दिनमा षटतिला एकादशीको पावन अवसरमा पवित्र गण्डकी र त्रिशुलीको संगम मा स्नान र देवघाट क्षेत्रको दर्शनका लागि करिब तीन लाख भक्तजनको सहभागीता रहेको आयोजकले जनाएको छ । बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा यस संख्या झन् बढ्दै गएको थियो । दशमीको साँझदेखि नै भक्तजनहरूको भव्य उपस्थिति देखिएको महोत्सवमा आजको दिनले विशेष चहलपहलबढेको आयोजकको भनाई रहेको छ । मातापिता सेवाश्रम परिसरमा शनिबार साँझ ६ बजेबाट नै निरन्तर भण्डाराको चलिरहेको थियो ।

महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरेका छन्। यी टेन्टहरू विशेष रूपमा टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने छ ्र

देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ। श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पुर्‍याइरहेका छन्। यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको छ।महोत्सवका अन्य गतिविधिहरू पनि विशेष रूपमा सम्पन्न भइरहेका छन्। दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहेका छन् । अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ। सँधा झैँ साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न गरिएको थियो । गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना गरिएको थियो । यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ। गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन्। देवघाट महामहोत्सवको १२औं दिन भक्तिभाव, सेवा, र समर्पणका दृष्टिले उल्लेखनीय भैरहेको छ । षटतिला एकादशीको पावन अवसरमा लाखौँ भक्तजनहरूको उपस्थितिले देवघाटको महत्त्वलाई अझ प्रबल बनाएको छ। महोत्सवका अवशेष दिनहरूमा समेत यस्तो भक्तिभाव र चहलपहल निरन्तर रहने अपेक्षा गरिएको छ। यसैबिच देवघाट महा–महोत्सवमा कान्छी कथावाचिका अनुराधा पाण्डेयले कथावचन सुरु गरेकै दिनदेखि भक्तजनको मन जित्न सुरु गरेकी छिन् । देवघाटको पवित्र भूमिमा कथा सुनाउने अवसर पाउँदा आँफु गौरवान्वित भएको बताउँदै उनले भनिन् मातापिता सेवाआश्रम र देवघाट दिव्यधामका परिकल्पनाकार तथा देवघाट महोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराज आफ्नो प्रेरणाको स्रोत हुनुहुन्छ । उनले महाराजकै प्रेरणाले नेपाली भाषामा कथा गर्न सिकेको बताउँदै सबै भक्तजनलाई महोत्सवमा सहभागी भई मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामको निर्माणमा योगदान पु¥याउन आह्वान गरिन् ।’ विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयको विशेष उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा माघ महिनाभर सञ्चालन भइरहेको महा–महोत्सवका पहिलो १० दिनका गतिविधिबारे महा–महोत्सव मूल समारोह समिति सल्लाहकार डा। श्रीवास कृष्ण दास ब्रह्मचारीले जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा उठेका विभिन्न प्रश्नहरूको उत्तर दिंदै डा। श्रीवास कृष्णदास ब्रह्मचारीले महोत्सवमा हालसम्मको भक्तहरूको सहभागिता, धार्मिक गतिविधि र आर्थिक पक्षबारे जानकारी दिए ।

उनले १० दिनभित्र लाखौँ भक्तजनले महोत्सवमा सहभागिता जनाइसकेको र देवघाट महोत्सवले धार्मिक चेतना र सनातन संस्कृतिलाई नयाँ उचाइमा पुर्याउनेमा विश्वस्त रहेको बताए । विशेष रूपमा, १० वर्षीय देवी अनुराधा पाण्डेयको प्रशंसा गर्दै ब्रह्मचारीज्यूले भन्नुभयो, ‘गुडिया र भाडाकुटी खेल्ने उमेरमा यो स्तरको विद्वता र समाजलाई दिएको मार्गदर्शन वास्तवमै अद्वितीय हो।’ ब्रह्मचारीले वैदिक संस्कृतिमा नारीलाई देवीको रूपमा सम्मान गरिने परम्परालाई उल्लेख गर्दै ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ भन्ने शास्त्र वाक्यले जहाँ महिलाहरूको पूजा र सम्मान गरिन्छ, त्यहाँ देवताहरू वास गर्छन् भनेको छ । तर आजको समाजमा महिलाहरूलाई वस्तुको रूपमा हेर्ने प्रवृत्ति फैलँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘महिलाको व्यक्तित्व, ज्ञान, क्षमता र मानवता उपेक्षा गर्दै शारीरिक सौन्दर्य र उपभोगका साधनका रूपमा हेर्ने सोच अत्यन्तै गलत हो । वैदिक परम्पराले देखाएको नारीप्रति आदरभावलाई आधुनिक समयमा पुनर्जीवित गर्न जरुरी छ । उनले महिलाको वस्तुकरणलाई रोक्न र उनीहरूको क्षमतामा केन्द्रित सामग्री उत्पादन गर्न जोड दिए । साथै, मातृशक्तिलाई सशक्त बनाउँदै नारीलाई देविको रूपमा सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकार सम्मेलनमा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयले पनि आफ्नो अनुभव साझा गरिन् ।

हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी

हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ ।

विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ ।

हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालयमा यो अध्ययनलाई विशेष प्राथमिकता दिइएको छ । यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय र बालदेन माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ । सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलाई समेत समेट्दै ताप्लेजुङका छवटा विद्यालयमा हाल तीन सय ७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गर्दै आएका छन् ।

हिमाली संरक्षण मञ्चको सहजीकरणमा यहाँ हिउँ चितुवा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । नेचर टुर, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता कार्यक्रममार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक राईले बताउनुभयो । राईका अनुसार समुदायसँग चिया–कफीका कार्यक्रम आयोजना गर्दै हिउँ चितुवाको महत्त्वबारे छलफल गरिँदै आएको छ । प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । यस दिन विद्यार्थी र समुदायलाई लक्षित गरी विविध क्रियाकलाप सञ्चालन हुने गर्छ ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार विद्यालयस्तरबाटै संरक्षण शिक्षाको थालनी हुनु जैविक विविधता जोगाउनका लागि अत्यन्त सकारात्मक कार्यक्रम भएको छ । फक्ताङलुङ बालबालिकामा प्रकृति र वन्यजन्तुप्रतिको सद्भाव र संरक्षणको भावना विकास गर्न मद्दत पुर्याएको गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद ताप्मादेनले बताउनुभयो ।

हिमाली संरक्षण मञ्चका सचिव विवस केदेमका अनुसार संरक्षण अभियानमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न विभिन्न गतिविधि सञ्चालन गरिएका छन् । हिमाली क्षेत्रका स्थानीय बासिन्दासँग हिमचितुवाको विषयमा खुला छलफल गर्न चिया–कफीका कार्यक्रम प्रभावकारी हुँदै आएको केदेमले बताउनुभयो । यस्तै विद्यालयमा नेचर टूरको आयोजना गरेर विद्यार्थीलाई प्रत्यक्ष रूपमा जैविक विविधताको अवलोकन गराइन्छ ।

विद्यालयस्तरबाटै विद्यार्थी र समुदायमा हिउँ चितुवा र बासस्थानको महत्वबारे चेतना फैलाउने काम भइरहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । हिमाली पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्दै जैविक विविधताको संरक्षण गर्ने कायम भइरहेको छ ।

विद्यार्थीहरूमा सुरुदेखि नै संरक्षणको भावना विकास गरेमा भविष्यमा संरक्षणका चुनौतीसँग सामना गर्न सजिलो हुने सरोकारवालाको भनाइ छ । यसले हिमाली क्षेत्रमा जैविक विविधता संरक्षणमा टेवा पुग्ने छ ।

बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका

हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतमा थुपारेको गेगर पन्छाउन सहयोग सुरु गरेको छ । बाढीले थुपारेको बालुवा, गिट्टी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं २ डिकुवा, वडा नं ८ धितुङ र वडा नं ११ राजापानीका करिब एक सय ५० घरका स्थानीय किसानको करिब दुई सय ५० रोपनीभन्दा बढी खेत खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।

भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु सात हजारको दरले राहत प्रदान गरेको थियो । आंशिक क्षति भएका किसानको भने खेतबारीमा थुप्रिएको गेगर नगरपालिकाको तर्फबाट जेसिबी लगाएर पन्छाइदिने निर्णय भएको थियो ।

भीषण बाढीले बगाएर ल्याएको गेगरले पुरिएका किसानको खेतबारीलाई पूर्ववत अवस्थामा फर्काएर खेती लगाउने वातावरण सृजना गर्न नगरपालिकाले जेसिबी प्रयोग गरेर बालुवा, गिट्टी र ढुङ्गा हटाइरहेको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । पूर्ण क्षति व्यहोरेका र आंशिक क्षति व्यहोरेका किसानको खेतबारीमा थुप्रिएको गेगर हटाउन नगरपालिकाले जेसिबी र आवश्यक डिजेल तथा अफ्रेटर उपलब्ध गराएको जनाइएको छ ।

असोजमा गएको भीषण बाढीले एउटै किसानको १५–२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।

गत असोज १२ गते अस्वभाविकरुपमा आएको भीषण बाढीले सुनकोशी आसपासका किसानलाई उठीबास बनाएकाले उनीहरुलाई पुनः स्थापित गराउन खेतबारीमा थुप्रिएको गेगर हटाउन सुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “असोज १२ गते आएको भीषण बाढीले हाम्रो नगरपालिकामा ठूलो क्षति गरेको छ । सबैभन्दा बढी सुनकोशी आसपासका किसानकाको खेतबारीमा क्षति गरेको छ । उनीहरूमध्ये केहीलाई राहतसमेत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाढीले क्षतिग्रस्त बनेको अधिकांश ठाउँमा बाँध हाल्नुपर्ने अवस्था देखिएको छ । त्यो काम नगरपालिकाबाट सम्भव छैन । त्यसका लागि माथिल्लो तहमा सिफारिस गरेका छौँ । तत्कालका लागि खेती गर्ने वातावरण मिलाउन नगरपालिकाको तर्फबाट गेगर हटाउने काम सुरु गरिएको छ ।”

पहिलो चरणमा भाँडबेँसीबाट सुरु गरिएको गेगर हटाउने काम क्रमशः रेग्मीटार हुँदै सबै ठाउँका किसानको खेतबारीमा गएर हटाइदिने नगरपालिकाले जनाएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा बाढी तथा पहिरोले दर्जनौँ घर तथा विद्यालयमा क्षति गरेको थियो ।

चाडपर्वको पूर्वसन्ध्यामा आएको भीषण बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपयले आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिकस्थलमा बसेर दसैँ मनाएका थिए । बाढीपहिरो विस्थापितलाई नगरपालिकाले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुनतेल तथा बस्नका लागि कम्बल र तन्नाबाहेक केही छैनन् ।

तरकारी र फलफूलको आजको यस्तो छ मूल्य

काठमाडौँ, १३ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ६०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ५०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ६०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ४०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

यस वर्ष म्याग्दीबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री

म्याग्दी । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन वृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु. ३३ करोड ४६ लाखको सुन्तला बिक्री भइसकेको छ ।

उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो ।

जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका-३ र ४ नम्बर वडाबाट मात्र रु. छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

किसानको बगैँचाबाट प्रतिकिलो रु. ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ ।

नेपाल र चीनका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

काठमाडौँ, १३ माघ : नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।

दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताउनुभयो । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिनुभयो ।

त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फबाट चिनीयाँ सुरक्षाकर्मी र नेपालबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता थियो ।

विसं २०७७ मा उत्तरी सीमा हिल्सानाकामा सशस्त्र प्रहरी बल स्थापना भएदेखि सीमा सुरक्षामा खटिँदै आएको छ । हिउँदयाममा उत्तरी नाम्खामा हिमपात भएर यारी, हिल्सा आवतजावत बन्द हुने भए पनि बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

भोजपुरमा साढे आठ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी

काठमाडौँ, १३ माघ : कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेका यहाँ आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१ स्वास्थ्य संस्था र नौ समुदायस्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । यसका लागि दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने छ ।

खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिकास्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभीविरुद्धको खोपले पाठेघरको मुख क्यान्सर जोगाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।

वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्र कोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उनले सुनाए ।

सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गरेका थिए । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्ने गरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौँ महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै मूर्तिकार, बनाउन भ्याई नभ्याई

महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोक चोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याई नभ्याई छ ।

आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका-५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याई नभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका-२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याई नभ्याई भएको बताउँछन् ।

सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका-२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन् । मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरण अनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याई नभ्याई भएको उनीहरू बताउँछन् ।

“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रंग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले बताए । उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु. ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए । साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनको भनाइ छ ।

त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०/७० वटा मूर्ति बनाउने गरेको बताउँछन् । उनले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए । आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरूको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरू रु. दुई हजारदेखि रु. ७ हजारसम्ममा बेचेर वार्षिक रु. दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताए ।

मूर्तिकार कैलाशले आफूले प्रतिगोटा रु. तीन हजारदेखि रु. १० हजारसम्ममा मूर्ति बेचेरै वार्षिक रु. तीन लाख ५० हजार आम्दानी गर्ने गरेको बताए । दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ । जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन् ।

जिल्लामा पहिला पहिला पण्डित (कुमाले) जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रूप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ । यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ ।

डेढ करोड लगानीमा बागलुङको बलेवामा कागती खेती

ढोरपाटन । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागती खेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागती खेती सुरु गरेका हुन् ।

बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागती खेती फस्टाउन थालेको छ । कागती खेती गर्न रु. एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यस वर्ष झण्डै रु. पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए।

कागती खेतीका लागि कृषि ज्ञान केन्द्रले रु. छ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु. १५ लाख अनुदान दिएको थियो । किसानले झण्डै रु. एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागती खेती सुरु गरेको उनको भनाइ छ ।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन् । गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो । कागती खेती गरेपछि बाँदर आतंक केही कम भएको छ । बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष रु. पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । विसं २०७९ मा चक्लाबन्दीका लागि रु. १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि रु. पाँच लाख सहयोग गरेको उनले जानकारी दिए ।

प्रमुख पौडेलले भने, “अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले बिस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन् ।

६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन


रौतहट- गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए ।

भन्सार विभागले आव २०८१/८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।

भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा रु तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।

यसैबीच रौतहट प्रहरीले गत साउनयता रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।

सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठवटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए ।सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो

काठमाडौं, १३ माघ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज कुन विदेशी मुद्राको विनियमदर कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर हिजोकै यथावत छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा छ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृ त्यु

खार्तुम, १२ माघ (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

“उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,” सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैबीच, स्थानीय गैर–सरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गर्नुभयो । “लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,” मिनावीले माघ १२ गते शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ ।

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, ५ जना घाइते

फुङ्लिङ (ताप्लेजुङ), १३ माघ : पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल (काभ्रेपलाञ्चोक), १३ माघ : यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् । बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ ।

बर्खामा बाढी आएर बगाउलाझैँ हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन् । बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताउनुभयो । आफैँले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उहाँको भनाइ छ । बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएएको थियो ।

विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताउनुभयो । माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ । डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उहाँले पीडा सुनाउनुभयो ।

बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ । कतिपय त गाडीको सहायताले अरु ठाउँमा लगेर थुपार्ने गरिरहेका छन् । स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताउनुभयो । जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उहाँले सुनाउनुभयो ।

भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आउनुभएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताउनुभयो । “जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्यो”, उहाँले पीडा सुनाउँदै भन्नुभयो, “अहिलेसम्म राहत कतैबाट पाएकी छैन ।”

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन् । सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो । बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन् ।

भाटभटेनीको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने विरुद्ध अनुसन्धान सुरु

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगर-११ बस्ने पर्वत बिहादी गाउँपालिका-३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भीमसेनथापा गाउँपालिका-४ घर भएका २२ वर्षीय परिन पाण्डे छन् ।

प्रवक्ता आचार्यले भने, “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्‍याई भाटभटेनी सुपर मार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न अभियोगमा उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित बिहादी बिजनेस म्यानेजमेन्ट कार्यालयबाट विभिन्न विद्युतीय उपकरणहरूसहित गत शनिबार पक्राउ गरिएको हो ।”

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरूले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्‍याई भाटभटेनी सुपर मार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने रु. दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार आठ सय १६ को राजस्व कर दायित्व रु. छ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी रु. १३ करोड नौ लाख ५९ हजार छ सय नौ बनाएको प्रहरीको आरोप छ ।

करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रूपमा प्रविष्ट गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।