`

पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्छ: सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पोखरा रंगशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे ।

“गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ”, सञ्चारमन्त्री गुरुङले भने ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताए ।

टाइगर कप भलिबलसहित, आहा रारा गोल्ड कप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उनको भनाइ थियो । मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको सुनाए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए। पोखरा रंगशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेल विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताए ।

प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाएका छन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु. पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । दोस्रो हुनेलाई रु. दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेलाई रु. एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र पदक प्रदान गरिनेछ ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनही रु. २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट खेलाडीलाई जनही रु. १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा. अर्शिया लोखन्डवालाले बताए।

तारा गाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारका सृजना राखिएको छ ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा. लोखन्डावाका भनाइ छ । प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक/एक कलाकारका सृजना राखिएका छन् ।

भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीले आफ्ना सृजना प्रदर्शनीमा राखेका छन् ।

कलाकारहरूले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागरको प्रयास गर्ने जनाइएको छ ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारा गाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।

प्रदर्शनीको पहिलो दिन अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो । प्रस्तुतिले ब्राह्मण पितृसत्ताले महिलालाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाइ छ । उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी छन् । लैंगिकताको कुरा बुझ्नका लागि जात व्यवस्थाबारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियारले बताइन् ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा- द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्ने जनाइएको छ ।

त्यस्तै, तैयबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गरेका छन् । उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गरेका छन् । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीका लागि रु. दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले रु. तीन सय तिर्नुपर्ने छ ।

काँग्रेस आउँदो संघीय संसद् अधिवेशनमा एउटै आवाज र एक ढिका भएर प्रस्तुत हुने

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एक ढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसद्भित्र होस् वा बाहिर एक ढिका भएर प्रस्तुत हुन निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताएका थिए । उनले वर्तमान सरकारका कामकारबाही र प्राथमिकताबारे पनि बैठकमा जानकारी गराएका थिए ।

गृहमन्त्री लेखकले संविधान संशोधनका दलका तर्फबाट गठित सदस्यबारे तत्कालै निर्णय गरेर अघि बढाइने जानकारी गराउँदै अध्यादेशमा कुनै संशोधन गर्नुपर्नेमा भएमा प्रतिस्थापन विधेयकका रूपमा सदनमा टेबुल हुने समयमा संशोधन गर्न सकिने स्पष्ट पाएका थिए ।

संविधान कार्यान्वयनका लागि अध्यादेशबाटै भए पनि कानुन संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्न सुझाव दिए पनि पदाधिकारीले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनप्रति कुनै टिप्पणी नभएको प्रमुख सचेतक घिमिरेले बताए ।

त्यस अवसरमा प्रमुख सचेतक घिमिरेले संसद् आगामी अधिवेशनको तयारी, विधेयक सङ्ख्या, अवस्था र पारित गर्न सकिने विधेयकबारे जानकारी गराएका थिए । संसदीय दलको आइतबार र सोमबार बस्ने बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्‍याउने विषयमा पनि सहमति जनाइएको थियो ।

प्रमुख सचेतक घिमिरेले भने, “विधेयकलाई संसद्मै पनि टेबल गर्न सकिन्थ्यो, त्यसो गर्दा लामो समय लाग्ने भएकाले तत्काल केही काम गरी लगानीको वातावरणका सृजनाका लागि अध्यादेश ल्याइएको र उक्त विषयमा पदाधिकारीका बीचमा समान बुझाइ र साझा धारणा रह्यो ।”

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्री र संविधान संशोधनका गठित संयन्त्रले बैठकमा अध्यादेश र समग्र सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी गराएको बताए । उनले भने “संसद्मा विचाराधीन विधेयकलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गरी सम्बन्धित समितिमा समयमै काम सम्पन्न गर्ने विषयमा पनि जानकारी दिइयो ।”

मन्त्रीहरूको ‘ब्रिफिङ’मा पदाधिकारीहरूबाट राय, सुझाव र सल्लाह दिने उद्देश्यले बैठक आयोजना गरिएको प्रवक्ता डा. महतको भनाइ थियो । एक प्रश्नको जवाफमा संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य थालनी गर्ने र त्यसमा विषयवस्तु के हुन सक्छ भनी दलभित्र पनि बेग्लै संयन्त्र पनि बन्ने सक्नेबारे गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएको प्रवक्ता महतले बताए ।

बैठकमा मन्त्रीहरूले आफ्नो सम्पूर्ण क्षमता, योग्यता र क्रियाशीलता लगाएर भइरहेको पहलबारे जानकारी तथा पदाधिकारीले सरकारमा सशक्त उपस्थितिबारे सुझाव र सल्लाह दिएको बताउँदै प्रवक्ता डा. महतले भने, “समग्रमा मन्त्रीहरूले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।”

बैठकमा पार्टी नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पार्टी प्रवक्ता डा. महत, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, कृषि तथा पशुपन्छीलगायतले कार्य जिम्मेवारी र समसामयिक विषयमा धारणा राखेका थिए ।

नेपमेलोले सुरु गर्यो रियालिटी जस्तै देखिने ‘रियल शो’, गायक-गायिकाले गाउनु पर्नेछ आफ्नै गीत

काठमाडौं । नेपमेलो स्टुडियाेले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेकाे शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।

सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘अकाउस्टिक नेपाल’ को स्टुडियाेमा खिचिएको हो।

झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माईक’ दर्शकमाँझ ल्याएको हो । यो कुनै रियालिटी शो हैन। रियालिटी शो जस्तै देखिने यो एक रियल शो हो जहाँ प्रस्तुति दिने गायक-गायिकाले आफ्नै गीत गाउने पर्नेछ। गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको ब्यवस्था छैन ।

अहिले कति गायक-गायिकाको गीत सुपरहिट भएपनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मुल उदेश्य हो। आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपुर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।

दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक-गायिकाको प्रस्तुती देख्न सक्नेछन।

कार्यक्रमबारे जानकारी दिए लगत्तै निर्माण टिमलाई करिब २५० वटा गीतहरु प्राप्त भएका थिए। जसबाट टिमले पहिलो चरणको लागी २४ वटा गीत छनोट गरेको थियो। बाट पनि ५ वटा नाम प्रस्तुतिको लागि फाईनल भएको छ। सोही अनुरुप पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी हुन।

टेक विसी र मिना पोख्रेलको स्वरमा ‘डार्लिङ’

काठमाडौं ।गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिनुभएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत हुनुहुन्छ । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक रहनुभएका उहाँ रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकारसमेत हुनुहुन्छ ।

अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी : डा स्वर्णिम वाग्ले

काठमाडौँ, १२ माघः प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभएको छ । तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरु सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताउनुभयो ।

नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उहाँले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गर्नुभयो । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउनका लागि दलहरु मिल्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी छ भन्नुभयो ।

त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मानित गरिएको थियो । ८० वर्षीय शर्मा नेपाली कांग्रेसका पुराना नेतासमेत हुनुहुन्छ । प्राध्यापक अम्विका भट्टराईले शर्माको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

एजेन्सी –किस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार सुरक्षा बलले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएका छन्।सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले यस क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरिएको एक विज्ञप्तिमा जनाएको छ ।

मारिएका आतङ्ककारीहरूबाट हतियार र गोला बारुद पनि बरामद गरिएको छ, जो यस क्षेत्रमा सुरक्षा बल र नागरिकहरूलाई लक्षित गर्ने धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।उक्त क्षेत्रमा बाँकी रहेका आतङ्ककारीहरूलाई हटाउनको लागि हाल क्लीनअप अपरेसन जारी रहेको आईएसपीआरले जनाएको छ ।

भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको छ: मुख्यमन्त्री लामा

ललितपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताएका छन् ।नेपाल भाषा मंकाः खलः यलद्वारा आज आयोजित वार्षिक साधारण सभा एवं सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री लामाले भाषा र संस्कृति समाजको पुँजी भएकाले यसको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

“नेपालको मातृभाषा, संस्कृति संरक्षणका लागि संविधानले धेरै विषय सुनिश्चितता गरेको छ, जातजाति र जनजातिका लागि अवसर सृजना गरेको छ”, उनले भने, “बागमती प्रदेशले पनि भाषा ऐन निर्माण गरी जनजातिको पक्षमा काम गरिरहेको छ ।” उनले कानुन निर्माण भए पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा क्रममा जटिलता सृजना भए पनि शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले सहजीकरण गर्न व्यवस्था गरेको उल्लेख गरे ।

मुख्यमन्त्री लामाले सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार भाषा र संस्कृति जोगाउने काम गर्नेका लागि सम्मान भएको बताए । “नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनका लागि जोड दिइनेछ, मातृभाषाको अस्पष्टता कारणले गर्दा विगतमा धेरैका नामहरू बिग्रिएको अवस्था थियो, अब त्यो समस्या समाधान हुन्छ, सरकारी कामकाजमा निर्धक्कका साथ नेपाल भाषा र तामाङ भाषालाई प्रयोग गर्न सकिन्छ, भाषा सिकाउन आवश्यक बजेट विनियोजन गरिएको छ,” उनले भने । त्यस अवसरमा भाषा साहित्यको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका भाषा सेवी तिलकप्रसाद कायस्थलाई रु. ५१ हजारसहित सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नेपालको भाषा आन्दोलनमा मंकाः खलःको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भाषिक आन्दोलनले भाषा, संस्कृतिको संरक्षणका लागि मात्रै नभई राजनीतिक परिवर्तनका लागिसमेत सहयोग पुर्‍याएको बताए ।

चित्रकारले सत्यमोहन जोशी, पद्मरत्न तुलाधरलगायतको योगदानले नेपालको भाषिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै भाषिक आन्दोलन पहिचानको आन्दोलन हो भने । उनले भाषा नरहे जाति रहँदैन भन्दै नेपाल भाषा मंकाः खलःलाई बागमती प्रदेश सरकारका लागि नेपाल भाषाको स्रोत केन्द्रका रूपमा सहयोग पुर्‍याउन सक्ने गरी नेपाल भाषा मंकाः खलःलाई विकास गरिनुपर्छ भने ।

देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ : उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन्। देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको दाबी छ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए।

फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे। साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताए।

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

ग्वाटेमाला सिटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्।मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन्।

वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन्।

मेक्सिको सरकारले उडानहरूको आगमनबार ेपुष्टि गरेको छैन। तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएको छ। मेक्सिकोले ‘मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ।

ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ।

बिहीबार ५३८ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन्।ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो। सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो। उक्त अवधिमा एक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

संख्या बढाउँदै पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने छ : मन्त्री पाण्डे

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ । ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो र आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको उहाले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्ने उहाले बताउनुभयो ।

उहाले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको जानकारी दिनुभयो । हाल २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन् ।

नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने दलले देशको लागि काम गर्न सक्दैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पार्नुभयो ।

जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उहाँले बताउनुभयो । देश बनाउनको लागि धेरै राजनीतिक दल नभए ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले बताउनुभयो । पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने बताउनुभयो ।

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गर्नुभयो । उहाले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले तीन जनालाई सम्मान गरेको थियो । सम्मानीत हुनेमा खेलकुद क्रिकेटतर्फ क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का, सुचना प्रविधितर्फ अस्गर अली र महिला खेलकुदमा पलेसा गोर्वद्धन रहेका छन् ।

स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै

काठमाडौँ, १२ माघ : झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउनुुहुन्छ ।

यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उहाँ पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुनुहुन्छ । उहाँले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदल्नुभएको छ । पाँच वर्षअघि उहाँलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उहाँको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परिचित हुनुहुन्छु । उहाँलाई जीवनमा सोच्दै नसोचेको पहिचान प्राप्त भएको छ । 


नेपालका गाउँघर, सहर, बजारमा मात्र नभइ विदेशी भूमिमा कफी निर्यात हुन थालेपछि व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउनुपर्छ र यसमै निरन्तरता दिएर काम गर्नुपर्छ भन्ने अठोट उहाँमा बढेको छ । उहाँले ‘अर्गानिक चिया तथा कफी’ को नामबाट व्यवसाय दर्ता गरी आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी सञ्चालन गरिरहनुभएको छ ।


हाल प्रेमबहादुरले जापान, कोरिया, जर्मन, युएई, माल्टालगायत देशमा कफी निर्यात गर्दै आउनुभएको छ । उहाँका अनुसार विदेशमा ट्राभल गर्ने साथीको सहायताबाट यहाँको कफी बाहिर पठाउने कार्य भइरहेको छ । काठमाडौँ, पोखरा, बुटवल, तानसेनलगायत बजारमा खपत हुने गरेको छ । यसवर्ष कोरिया, जापान, जर्मन, माल्टा, युएईमा पटक–पटक गरेर करिब एक सय किलो कफी खपत गरेको उहाँले जानकारी दिनुभयो । गतवर्ष सोही परिमाणको हाराहारीमा खपत भएको थियो । 


“घरमा लगाएको कफी उत्पादन भयो, त्यसलाई प्रशोधन गर्न थाले, प्रशोधित कफी अब कहाँ बिक्री गर्ने, यसबारेमा अन्यौलमा थिए, स्थानीयको घरदैलोमा पुग्दा त्यस समयमा धेरैले खिसिट्युरी गर्थे, कहाँ लगेर बिक्री गर्ने, कसैले चिन्दैनथे, दोधारमा परे,” प्रेमबहादुरले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “निरन्तरको अथक मेहिनत र शरीर थाके पनि हिम्मतलाई थाक्न दिइन, जसको घरघरमा हिजो गाउँमा कफी बेच्न पुगे, आज उहाँहरू नै मेरै घरमा खरिद गर्न आउनुहुन्छ ।”

उत्पादित वस्तु राम्रो भयो भने समय ढिला होला तर एक दिन अवश्य बजार पाउँदो रहेछ भन्ने प्रेमबहादुरको अनुभव । ग्राहक तथा व्यापारीलाई बुझाउन सकियो भने विस्तारै व्यापार राम्रो हुने गरेको उहाँले बताउनुभयो । उहाँ आफैँले कफी उत्पादन, खरिद र प्रशोधन गरेर बजारमा पठाउनुहुन्छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा ल्याव टेष्ट गरेर प्रमाणित भएपछि बजारीकरण थाल्नुभएको हो । चिया कफी विकास बोर्डले तोकेको मूल्यअनुसार बजारमा बिक्री हुन्छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दामा करिब आठ वर्षअघि पाँच रोपनीमा जग्गाबाट कफी खेती सुरू गर्नुभएका प्रेमबहादुरले दुई वर्षअघि चापाकोट–७ पटसारमा करिब ३५ रोपनीमा कफी विस्तार गर्नुभएको छ । विसं २०७८ देखि कफी प्रशोधनको व्यवसाय सुरू गर्नुभएका उहाँको व्यवसायमा करिब रू २५ लाख बराबरको लगानी परेको छ । उहाँले विरूवा उत्पादन गर्ने, गाउँघरमा किसानलाई कफी लगाउन प्रेरणा दिने, स्थानीयलाई कफीका बिरूवा उपलब्ध गराउँदै आउनुभएको छ । 

आउँदो असार–साउनमा करिब १६ हजार बिरूवा लगाउने प्रेमबहादुरको तयारी छ । प्रशोधित कफीको तुलनामा बिरूवा बिक्रीबाट राम्रो फाइदा हुने उहाँको अनुभव छ । एक वर्षमा हाल पाँच क्वीन्टल आफ्नै उत्पादन र १३ क्वीन्टल स्थानीयबाट खरिद गरिरहेको उहाँ बताउनुहुन्छ । वार्षिक रूपमा सरदरमा प्रशोधन गरिएको एक टन कफी बजारमा खपत गर्नुहुन्छ । 

प्रेमबहादुरका अनुसार अहिले स्थानीय होटल तथा रेष्टुरेण्टबाट कफीको माग धेरै आइरहेको छ । गाउँघरमा कफी सेवन गर्नुपर्छ भन्ने आदत बसेको छ । एक पटक खरिद तथा सेवन गरेका ग्राहक पुनःपटकपटक आउने गर्छन् । 

प्रेमबहादुर वैदेशिक रोजगारीको क्रममा आठ वर्ष कोरियाको कफी कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहाँ कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिक्नुभयो । गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनीको सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देख्नुभएका उहाँ आफ्नै देशमा गर्न सक्ने सम्भावना देखेर गाउँ फर्केपछि व्यवसायमा लाग्नुभएको हो ।
   नेपालमा देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेकाले हामीले पनि उत्पादन गर्न सक्छौँ भन्ने विश्वास लागेपछि उहाँले गुल्मीबाट बीउ ल्याएर खेती सुरू गर्नुभएको हो । उहाँ बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्नुहुन्छ । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पाएका छन् । 

बजारीकरणका लागि रामपुर नगरपालिकाले सहजीकरण गरिदिएको प्रेमबहादुरले बताउनुभयो । युवा जनशक्ति विदेशमा जानुभन्दा आफ्नै गाउँमा बसेर केही व्यवसाय गर्न उहाँको सुझाव छ । देउला (कफीको कच्चापदार्थ) अर्थात् बोक्रा फालेको कफीको माग धेरै आउने गरेको छ । प्रशोधन गर्न थालेपछि गाउँका किसानले उत्पादन गरेका कफी बिक्री गर्न सजिलो भएको छ । नगरपालिकाले तयार पारेको कोसेली घरमा कफी बिक्रीको व्यवस्था मिलाएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । 

“व्यवसायीलाई हौसला प्रदान गर्दै नगरपालिकाको विभिन्न अनुदान कार्यक्रम, तालिम तथा बजारीकरणमा सहजीकरण गरिरहेका छौँ, नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई स्थानीय उत्पादन उपहारको रूपमा दिन स्थानीय व्यवसायीबाट खरिद गरिदिने गरेका छौँ, आयआर्जन बढाउन उत्पादनमूलक क्षेत्रमा नगरपालिकाले लगानी गरिरहेको छ”, नगर प्रमुख थापाले भन्नुभयो ।

कफी व्यवसायलाई प्रवर्द्धन गर्दै यसवर्ष रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रमका समावेस गरी रू १० लाख बराबर रकमको ब्याज उपलब्ध गराइने कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । व्यवसायका लागि रामपुरस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण रकमवापत व्यवसायीले मासिक रूपमा बुझाउनुपर्ने ब्याज तीन÷तीन महिनामा दुई वर्षसम्म खातामा उपलब्ध गराइने उहाँको भनाइ छ । 

प्रचण्डद्वारा दाङको पाण्डवेश्वर मन्दिरको अवलोकन

तुलसीपुर, १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गर्नुभएको छ ।

उहाँले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गर्नुभएको हो । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उहाँले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराउनुभएको थियो । साथै सोही क्रममा उहाँले स्थानीयसँग भेटघाट गर्नुभएको थियो ।

खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना

काठमाडौँ, १२ माघ : म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका छ, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना सञ्चालन गरेको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर झलकमोहन ओझाले २६ वटा योजनाको सम्झौता भइसकेको र ३८ वटा योजनाको लागत अनुमान तयार पारेर कार्यान्वयनको प्रक्रीयामा रहेका जानकारी दिनुभयो ।

“प्रदेश सरकारको नीतिअनुसार उपभोक्ताको प्रत्यक्ष सहभागिता हुन नसक्ने योजनालाई ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्षको छ महिनाको अवधिमा कूल बजेटको १८.१९ प्रतिशत वित्तीय र ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।”

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म पँुजीगततर्फ रू दुई करोड ५८ लाख १९ हजार बजेट खर्च भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । सङ्घीय शसर्तका पाँच वटा खानेपानी योजनामा रू ५१ लाख र सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी योजनाका लागि रू ६५ लाख बजेट प्राप्त भएको छ ।

प्रदेश सरकारका ३० वटा खानेपानी, २० वटा सिँचाइ, छ वटा नदी नियन्त्रण र ऊर्जाका दुई वटा योजनाका लागि रू १३ करोड ८७ लाख ८५ हजार बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । गत वर्ष रू १७ करोड ६५ लाख १० हजार पँुजीगत बजेट भएको कार्यालयले सञ्चाल गर्ने योजनामा यसपालि रू तीन करोड बजेट घटेको हो ।

बादुक, घोरेनी कोत्रवाङ, खोप्ती, सामतुङ सोता सिँचाइ र तातोपानी नदी नियन्त्रण योजना कार्यान्वयनका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा रहेका केही योजनाका लागि बजेट अभाव भएकाले थप बजेटका लागि मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

कार्यालयमार्फत गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको इञ्जिनियर शिवशङ्कर शाहले बताउनुभयो । एक्काइस सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो ।

म्याग्दीका २८ हजार आठ सय ३० घरपरिवारमध्ये ९५ प्रतिशतमा खानेपानी, ९५ दशमलव एक प्रतिशतमा केन्द्रीय लाइन र लघुजलविद्युत् परियोजनाको बिजुली, १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क छ ।

दलित मुसहर परिवारमा शीतलहरको कहर

बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहनु भएको छ । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन् । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् । त्यसैमा उनले १० दिनको शिशु पनि सुताएकी छन् ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताईन् । ‘भुइको चिसो पनि आउँछ’, सुत्केरी माझीले भनिन्, ‘माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।’

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिईन् । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताईन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोििखन् । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो ।

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मीठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताईन् । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भन्नुभएको उनले सुदाईन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरकेही छन् । ‘भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, ‘छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।’ मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन् ।

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाईन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताईन् । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उनको गुनासो छ ।

बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उनीहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताईन् ।

त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उनले सुनाईन् । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सीता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यो बस्तीको नियमित नियति रहेको उनले सुनाईन् । बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् ।

नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ ।
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

यस वर्ष जिल्लामा एक हजार एक सय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो । गत वर्षभन्दा यस वर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको प्रमुख तिवारी जानकारी दिनुभयो ।

“गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा एक हजार दुई सय ८३ मेट्रिकटन उत्पादन भएको थियो,” उहाँले भन्नुभयो, “आव २०७९÷८० मा एक हजार दुई सय ८५ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।”

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । प्रतिहेक्टर १.०८ मेट्रिकटनले उत्पादन हुने गरेको तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

“तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ,” उहाँले भन्नुभयो, “तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।”

असीदेखि ९० दिनमा तोरी खेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका छन् ।

बर्सौँदेखि तोरी खेती लगाउँदै आउनुभएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताउनुभयो । “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ,” उहाँले भन्नुभयो, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ ।”

गोरखा पुगेर शिक्षामन्त्री भट्टराईले भनिन्, ‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन’

गोरखा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गरिन् ।

‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भनिन्, ‘‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिसत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफूलाई तयार गर्नुपर्छ ।’’

शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिइन् ।

‘‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौ,” मन्त्री भट्टराईले भनिन्, ‘‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’’

मन्त्री भट्टराईले सवैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याइन् । ‘‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्।” उनले भनिन्, ‘‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सवैको खवरदारी गर्नु जरुरी हुन्छ ।’’ऐन, कानुन र नीति नियममा भएका सवै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उनले बताइन्।

आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

इनरूवा (सुनसरी)। केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ ।बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताउनुभयो ।

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताउनुभयो ।

चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताउनुभयो ।

चिसोलाई मध्य नजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले यसबाट जोगिन नागरिकलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले चिसोका बेलामा आगो तप्नका लागि लौकही, घुस्की, देवानगञ्ज लगायतका क्षेत्रमा दाउरा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

शुक्लाफाँटामा भू-उपयोग अध्ययन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा भूमिको वर्गीकरण अनुसारको उपयोगका सम्भावना पहिचान गर्नका लागि अध्ययन अगाडि बढाइएको छ । नगरपालिका र राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको सहकार्यमा स्थानीय भूपरिवेश अध्ययनका लागि समुदायको सुझाव सङ्कलनकार्य भइरहेको छ ।

हालसम्म नगरपालिकाका–१२ वडाका ७१ टोलमा छलफल गरी सुझाव सङ्कलनकार्य गरिएको मञ्चका श्रोत व्यक्ति नरिराम लोहारले बताए । स्थानीय बासिन्दाले भोगचलनका आधारमा जग्गा न्यूनतम शुल्कमा दर्ता गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनुपर्ने, माटो परीक्षण गरी सुहाउँदो बालीको पकेट क्षेत्र निर्धारण गरिनुपर्ने, किसानलाई उन्नतजातको बीउ, मल, कृषि औजार अनुदानमा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन् ।

यसैगरी, व्यवसायीक रूपमा तरकारी खेती, माछापालन, कुखुरापालन, बाख्रा, बङ्गुर, गाई, भैँसीपालन गरिरहेका किसानलाई अनुदानका कार्यक्रममा समेटनुपर्ने, जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाले नदी नियन्त्रण गर्नुपर्ने, जङ्गली जनावर नियन्त्रण गर्नुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्नु पर्ने सुझाव सङ्कलन गरिएको छ ।

अध्ययनले भूमि, कृषि, वन, वातावरण, रोजगार, उद्योग, व्यवसाय, पर्यटन, सार्वजनिक क्षेत्र सम्बन्धित, कार्यबिधिनिर्माणमा योगदान पुर्‍याउने लुहारले बताए। भूमि व्यवस्था समाज विकासको आधार भएकाले यसबाट सकारात्मक परिणाम निकाल्न काम भइरहेको नगरप्रमुख रणबहादुर महराले बताए।

“भूमि समस्या समाधान आयोगसँग छलफल गरी एकदेखि डेढ वर्षभित्रमा जग्गानापजाँचको काम सम्पन्न गर्छौ” उनले भने, “राजस्वसम्बन्धी आएको गुनासो सम्बोधनका लागि पहल गरी जग्गाधनीपूर्जा वितरण कार्य गर्छौँ ।”

“उत्पादन घट्दै गएको छ, जग्गा बाँझो रह्यो, खाद्यान्न आयातमा वृद्धि भयो” मञ्चका प्रदेश सचिव रामबहादुर चुनाराले भने, “विपद्का घटना बढ्दै गएको जस्ता विषयमा चासो एवं चिन्तनका सन्दर्भमा प्राकृतिक स्रोतको संरक्षण गरिनुपर्छ भन्ने बारे अध्ययन भइरहेको छ ।”

उनका अनुसार व्यवस्थापन तथा उपयोगमार्फत सामाजिक न्याय तथा समृद्धिका सम्भावना खोज्न स्थानीय परिवेश अध्ययन भइरहेको र यसले भूउपयोग योजना तर्जुमाकालागि आधारभूत सूचना ल्याउने छ ।

मञ्चका जिल्ला अध्यक्ष कर्णबहादुर बानियाँले अध्ययनका क्रममा आएका समस्या र सम्भावना अभिलेखन भएकाले नगरपालिकाको नीति योजना बनाउन सहयोगी हुने बताए ।

नगरपालिकाको प्रत्येक वडाको गुगलबाट लिइएको नक्साको प्रयोग गरी जनप्रतिनिधि, स्थानीय बासिन्दालाई सहभागी गराई सामाजिक विधिबाट स्थानीय भूपरिवेश अध्ययन कार्य भइरहेको उनको भनाइ रहेको छ । यो कार्यसँगै भूमि ऐन २०२१को आठौँ संशोधनमा भएका व्यवस्था, भूउपयोग ऐन, नियमावली, कार्यविधि र जग्गा वर्गीकरणका मापदण्ड बारे स्थानीय बासिन्दालाई जानकारी गराउने कार्य पनि गरिएको छ ।

कोशी र मधेस प्रदेशमा मन्द शीतलहर, बाँकी भू-भागमा मौसम सफा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मधेस प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जिसस प्रमुखहरूले भने, ‘हामीले के काम गर्ने?’

काठमाडौँ, १२ माघ : जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गर्नुभयो ।

उहाँहरुले भन्नुभयो, “जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुप¥यो । ” कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ । ”

जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ जिल्ला समन्वय समितिको भूमिका समन्वय र अनुगमन गर्न अहं हुन्छ तर व्यवहारमा यसो हुन सकिरहेको छैन । ”

गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह : सभापति देउवा

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा सम्पादन गरिएका कामहरुको प्रस्तुति गर्नहुँदै पूर्ण साक्षर नगरपालिका, एक विद्यालय एक नर्स कार्यक्रम, प्रत्येक वडामा सामुदायिक नर्स घरदैलो कार्यक्रम, प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा प्रारम्भ , ज्येष्ठ नागरिकहरुका लागि मधुमेह र रक्तचापको औषधि सेवनका लागि अनुदान, जर्मन विकास बैँकको रु १ अर्व लगानीमा परोपकार प्रसुती अस्पताल निर्माण हुन लागेको र उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत सडक वत्ती जडान गरिएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय विक्री केन्द्र, जिपिएस ÷जिआइएस आधारित डिजिटल घर नम्बर ,सडकचोक नामकरण सहित नगरप्रोफाइल तयार भइ प्रत्येक घरहरुलाई डिजिटल नम्बर, सडक चोक नामकरण प्लेट जडान कार्यान्वयन, बहुप्राविधिक शिक्षालय सञ्चालन थालनी , सुरुङ मार्ग समन्वय, दीगो विकास लक्ष्य कार्यान्वयनका क्रममा स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन तयारी, नगरपालिकाद्वारा दमकल सञ्चालन लगायत विभिन्न काम भएको बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार पछिल्लो समय नगरपालिकाले आफ्ना सेवाहरुलाई अनलाइन मार्फत प्रदान गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले तत्कालीन कोभिड –१९ को महामारीका समयमा नगरपालिकाले निर्वाह गरेको भूमिका , यसका विरुद्धमा विशेष गरी महिला, अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउन नगरपालिकाले घरदैलो सेवालाई स्वास्थ्य सेवा विभागले देशभर कार्यान्वयनमा ल्याएको जानकारी दिनुहँुँदै पालिका तहका राम्रा सिकाइलाई आदान प्रदान गर्नुपर्छ भन्नुभयो । उहाँले स्थानीय तहमा जाने अनुदानमा संशोधन गरिएको जानकारी दिँदै यसकाबाट न्योयोचित वितरण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ‘एक जिल्ला एक पर्यटन’को पूर्वाधार बनाउन जिल्ला समन्वय समितिका पदाधिकारीलाई आग्रह गर्दै यसबाट आर्थिक समृद्धि हाँसिल गर्न सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ निजी क्षेत्रलाई प्रवद्र्धन गर्न पछिल्लो समय सरकारले लिएका नीति राम्रा छन् । अव सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्रलाई सुदृढ बनाउन जरुरी छ ।

धेरै भन्दा धेरै रोजगारी सिर्जन गर्न जरुरी छ ।” सो अवसरमा अध्यक्ष ढकालले कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धन गर्न अवलम्बन गरेका नीतिका बारेमा जानकारी दिनुभएको थियो ।

बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार

म्याग्दी, १२ माघ । म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।

बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो ।

महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको थियो । आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गित प्रस्तुत गरेका थिए ।

पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कमा भएको सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

महोत्सवमा सहभागि हुन आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिँचाइ, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीले ध्यानाकर्षण गराउनुभयो ।

“सिँचाइको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्मसहित बस्ति जोखिममा परेको र कच्चि सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधीकारीलाई प्रत्यक्ष ल्याएर देखाएका छौँ,” गाउँपालिकाका अध्यक्ष आचार्यले भन्नुभयो “विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिको ध्यानाकर्षण गराएका छौँ ।”

बेनीदेखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजना नै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराउनुभयो ।

मल्लाज सिँचाइ आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपलाइनको ब्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाउनुभयो । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताउनुभयो ।

“सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “यस वर्षपनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट बिनियोजन गरेको छ ।”

कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्द्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताउनुभयो । पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तब्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समुन्द्रि सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक मेखबहादुर खत्रीले जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार एक जना कृषकले वार्षिक रु चार लाखदेखि ३५ लाख बराबरको सुन्तला बिक्री गर्छन् । बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ ।

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको उद्घाटन

पाटन (ललितपुर), ११ माघ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको सुरुआत गर्नुभएको छ । प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चान गरिएको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको समन्वय र सहकार्यमा आज बागमती–४ प्युटारमा आज आयोजित प्रदेश स्वास्थ्यमन्त्री थापाले शिक्षा र स्वास्थ्य उपचारका लागि बसाइँसराइ गर्नुपर्ने अवस्था नहोस् भनेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

“६१ लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने यस क्षेत्रका जनतालाई सेवा पुर्‍याउन बृहत स्वास्थ्य शिविर सञ्चालन र एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धनलाई जोड दिएका छौँ, स्वास्थ्य परीक्षणमा देखिएका रोगको उपचार गरी  निवारण गर्न सहज हुने अभिप्रायले यस्ता कार्यक्रम गरिरहेका छौँ, प्रत्येक जिल्लाको दुर्गममा स्वास्थ्य शिविर गरेर स्वास्थ्यको पहुँच पुर्‍याउने प्रदेश सरकारको योजना छ,” उहाँले भन्नुभयो ।

प्रदेश मन्त्रालय नीति तथा योजना महाशाखा सागरप्रसाद घिमिरेले सबै नागरिकलाई सेवा प्रवाहका लागि सङ्घीयताको कार्यान्वयनमा लागेको बताउँदै प्रदेश सरकारले विभिन्न सेवा प्रवाहका साथै रोग लाग्न नदिन र रोकथाम गर्नका लागि उपचार गर्न स्थानीय तहसँगको साझेदारीमा स्वास्थ्यका कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो ।

“सरकारले धुम्रपान, मध्यपान विरोधी कार्यक्रम, स्वास्थ्य बिमा, पाठेघरको मुखको क्यान्सर, प्रजनन् स्वास्थ्य समस्यासम्बन्धी रोगको पहिचान गरेर निदानका लागि कार्यक्रम गर्दै आएको छ, नेपालमा नसर्ने रोग बढिरहेको अवस्थामा अस्पताल बनाएर उपचार गर्ने तिर मात्रैभन्दा रोग नै लाग्न नदिने अभियान चलाउनुपर्ने आवश्यक छ, त्यसका लागि सचेतना जागाउन सङ्घ र प्रदेश सरकार लागि परेको छ, यसका लागि हामीले स्थानीय तहसँग साझेदारी गरेर काम गरिरहेको छौँ”, उहाँले भन्नुभयो ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले सङ्घीयता आइसकेपछि स्थानीय तहमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका पूर्वाधारको विकास भएको बताउनुभयो । उहाँले स्थानीय तहको आयस्रोत नभएको दुर्गम क्षेत्रमा प्रदेश र सङ्घीय सरकारले बजेट व्यवस्थापन गरेर अस्पताल सञ्चालनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले स्वास्थ्य सेवाको पहुँचमा जिल्लाका दुर्गम क्षेत्रलाई समेट्न प्रयास गरेको बताउनुभयो । उहाँले जिल्लाको पालिकास्तरमा बागमतीले स्वास्थ्य सूचकमा राम्रो नतिजा हासिल गरेको जानकारी गराउँदै रोगको खोज पड्ताल गरी निदानका लागि विभिन्न अस्पतालसँग समन्वय गरेर गरिएको यो शिविरले स्थानीय नागरिकलाई निरोगी बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

प्रमुख डा पौडेलले १३ वटा सरकारी तथा गैरसरकारी संस्थाहरूबाट १७/१८ जना विशेषज्ञ डाक्टरसहित ४० जना जनशक्ति परिचालन गरेर भएको यो शिविरपश्चात् थप तयारीका साथ अन्य स्थानमा शिविर राखेर सेवा प्रवाह गर्ने जानकारी गराउनुभयो ।

राष्ट्रिय निकुञ्ज विस्थापितलाई पुनःस्थापना गराएरै छाड्ने मन्त्री साउदको प्रतिबद्धता

कञ्चनपुर, ११ माघ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितलाई पुनःस्थापना गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस नगर कार्य समितिले आज आयोजना गरेको सय दिने विशेष अभियान कार्यक्रममा उहाँले निकुञ्ज विस्थापीतको समस्या समाधानका लागि गठन भएको आयोगले तीन महिनाको कार्य अवधिभित्रै सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको बताउनुभयो ।

प्रतिवेदनमा विस्थापितलाई रू १० लाखका दरले मुआब्जा दिने उल्लेख भएको जानकारी दिनुहुँदै उहाँले प्रतिवेदनमा भएका कमी कमजोरीलाई मन्त्रिपरिषद्ले परिमार्जन गरी पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो । केन्द्रमा सांसद, प्रदेशमा मन्त्री, स्थानीय तहमा नगरप्रमुखसहितको बहुमत जनप्रतिनिधि भएका बेला विकास गर्न सकेन भने त्यसको अपजस कांग्रेसको टाउकोमा आउने भएकाले विकासका लागि कटिबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

“कांग्रेसलाई मिसन २०८४ भन्ने छुट छैन, देशको ठूलो पार्टी भएकाले २०८४ कुर्नुपर्ने काम छैन, कुर्ने काम हारेकाले हो”, उहाँले भन्नुभयो, “कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेकाले आजको दिन देखिनै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध भएर लाग्नु पर्छ ।”

सुरूङमार्गबाट सडकलाई सुरक्षित बनाउने योजना : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले सिद्धबाबा सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको बताउनुभएको हो ।

“केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरूङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ । यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज सिद्धबाबा सुरूङ मार्गको ब्रेक–थ्रु भएको छ । यो सुरूङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ । यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ ।”     सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको आज ‘ब्रेक-थ्रु’ भएको छ। 

‘नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध छ’ : पूर्वउपप्रधानमन्त्री कोइराला

काठमाडौँ, ११ माघ : पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । उहाँले सन् १९५५ मा दुई देशबीच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबीचको सम्बन्ध अघि बढिरहेको धारणा राख्नुभयो ।

साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा आजदेखि काठमाडौँस्थित नक्सालमा सुरू ‘शुभमय जिन्दगीः नववर्षे चित्रकला’ प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । दुई देशबीच हुने यस्ता कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने उहाँको विश्वास छ ।

आज प्रदर्शनीको पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिन, साङ्घाई सांस्कृतिक तथा पर्यटन ब्यूरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाई क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले साङ्घाई इतिहास म्युजियमको आयोजनामा भएको प्रदर्शनी साङ्घाईको सांस्कृतिक जनजीवनको विम्ब–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए पनि यी दुई सहरबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमामा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राख्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, चिनियाँ कलाकार, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधिको सहभागिता थियो ।

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’: प्रवक्ता महत

काठमाडौँ, ११ माघ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्नेमा जोड दिनुभएको छ ।बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा उहाँले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताउनुभयो ।

सहकारी विकास बोर्डका पूर्व उपाध्यक्ष एवं सहकारी महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले मुलुकको उत्थानका लागि सहकारी वरदान सावित हुने भए पनि दलले यसलाई व्यवस्थित गर्न चुकेकै कारण समस्या आएकाले समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष मीनराज कँडेलले ३० हजार सहकारीमध्ये एक सय ५० मा मात्र समस्या आएको बताउँदै अरू सहकारीले राम्रो काम गरेको बताउनुभयो । नराम्रो गर्ने थोरै सहकारीका कारण राम्रो काम गर्ने धेरै सहकारीलाई बदनाम हुनबाट बचाउनुपर्नेमा उहाँको जोड छ । बचतकर्ताको पैसा दुरूपयोग गर्ने सञ्चालकको सम्पत्ति बेचेर भए पनि छिटोभन्दा छिटो पीडितलाई पैसा फिर्ता गरिनुपर्नेमा पूर्वअध्यक्ष कँडेलले पनि ऐक्यबद्धता जनाउनुभयो ।

सहकारी विभागका पूर्वरजिष्ट्रार महेश्वर शर्माले अहिले केन्द्रीय तहमा बदमासी गर्ने केही सहकारीका बारेमा मात्र प्रचारप्रसार भइरहेको जानकारी गराउनुहुँदै जिल्ला जिल्लामा बचतकर्ताको पैसा ठगी गरेका सहकारीका बारेमा आयोग गठन गरेर नै छानबिन गर्न माग गर्नुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसदस्यसचिव खगराज शर्माले एउटैले धेरै सहकारी खोल्नेजस्ता कारणले पनि सहकारी क्षेत्रमा समस्या आएकाले नियमन गर्न अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, महासचिव पुष्प पराजुलीलगायतले थोरै, थोरै बचत गरेर समस्या परेका बेला काम चलाऔँला भनी बचत गर्नेहरू अप्ठ्यारोमा परेकाले सञ्चालकलाई कारबाही गरी उनीहरूको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्नेमा जोड दिनुभएको थियो । प्रतिष्ठानले सहकारी ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म यो विषयमा पछ्याइरहने जनाएको छ ।

महाभारत जङ्गलमा आगलागीः हेलिकप्टरबाट डढेलो नियन्त्रण

काभ्रेपलाञ्चोक, ११ माघः जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि आज हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ । गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो ।

खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।

हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो ।

बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रण भन्दा बाहिर गएको जनाउँदै आएको थियो ।

अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार २ नं वडास्थित गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाएको हो ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट सुरू भएको आगोलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिनुभयो ।

उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले वनमा आगो कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएका उहाँले बताउनुभयो । “हुरीबतास चलिरहेकाले आगो फैलनसक्ने जोखिम पनि उत्तिकै देखिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगलागीबाट के–कति क्षति भयो भन्नेबारे एकीन गर्न सकिएको छैन ।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थामलेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमासमेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान बेथानचोक गाउँपालिकाले बिहीबार सूचनामार्फत आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई रोक लगाएको छ ।

डढेलो नियन्त्रण गर्ने उद्देश्यले बिहीबार वन कार्यालयमा बसेको सुरक्षा प्रमुखको बैठकले वैकल्पिक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो । प्रजिअ ढकालका अनुसार बुधबार साँझदेखि स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत स्थानीय आगो नियन्त्रण गर्न लागिरहेका छन् ।

जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । प्रहरीले भने आगलागीबाट हालसम्म कुनै मानवीय र वन्यजन्तुको क्षति नभएको जनाएको छ ।

सुप्रिम सहकारी अपचलनः आज पनि सकिएन थुनछेक बहस

भैरहवा (रुपन्देही), ११ माघः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन ।

बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्र्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।

बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानुन व्यवसायीले बहस गर्नुभएको ज्ञवालीले बताउनुभयो । ज्ञवालीले आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने बताउनुभयो ।

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

मोरङ, ११ माघ : कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०/८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता बस्तीले कार्यालयले प्रदेश कानुन कार्यान्वयन, समुदाय र विद्यार्थीसँग न्यायाधिवक्ता कार्यक्रम सञ्चालन गरी प्रदेश कानुनसम्बन्धी जानकारी गराउँदै आएको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ, ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताउनुभयो ।

“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामाजिक सूचकका दृष्टिकोणले मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनाँै । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेका सङ्कल्पलाई पूरा गर्न सक्दछ”, उहाँले भन्नुभयो ।

चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरूरी रहेको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले धेरै नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेका र उच्च, मध्यम र सीमा क्षेत्रका गरिबी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाइ राख्नुभयो ।

उहाँले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसँग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामाथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उहाँले भन्नुभयो, “स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि पर्याप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”

महासचिव पोखरेलले पूर्वाधार तयार नभएकाले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाइ राख्नुभयो । स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यान्वयन गर्ने भनाइ राख्नुभयो ।

महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ माघ : नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

उक्त रेल दुर्घटनामा परी कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

लमजुङ, ११ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताउनुभएको छ । लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताउनुभयो ।

मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ । उहाँले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताउनुभयो ।

वर्तमान सरकारले अर्थतन्त्र सुधारसहित सुशासन र विकास प्राथमिकतामा राख्दै जनताको चाहनाअनुसार विकास गरिरहेको सञ्चारमन्त्री गुरूङले बताउनुभयो । चाहे जति विकास भइनसके पनि विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उहाँको भनाइ छ । त्यस्तै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले प्रदेश सरकारले जनताको प्राथमिकताका आधारमा काम गर्दै आएको बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ, ११ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ”, सभापति देउवाले भन्नुभयो ।

नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो ।

“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँदै उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो । “कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईँहरूको छ”, सभापति देउवाले भन्नुभयो, “आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईँहरूको थप ध्यान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।”

सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताउँदै यसमा सरकार अविभावकीय भूमिकामा रहने उल्लेख गर्नुभयो ।

चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण

चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।

उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने छ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरणको लागि मञ्चको रूपमा पनि काम गर्नेछ ।

यो प्रक्षेपण लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५५८ औं मिशन थियो ।

श्रीलङ्कामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलङ्कासँग काम गरिरहेको जनाएको छ ।

युनिसेफले श्रीलङ्काको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ ।युनिसेफका अनुसार श्रीलङ्कामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्याएको थियो ।

“शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,” संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

चार वर्षमा पनि सम्पन्न भएन सेती नदीमा पुल निर्माण

दमौली (तनहुँ), ११ माघ : यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदीमा निर्माणाधीन एक सय ५० मिटर लम्बाइको पुल चार वर्षमा आधा मात्रै निर्माण भएको छ ।

हालसम्म जम्मा ५२ दशमलव १८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल निर्माण गर्न विसं २०७७ पुस ५ गते सम्झौता भएको सो कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । विसं २०८० जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकिएपछि अन्तिम पटकका लागि विसं २०८२ मङ्सिर २० गतेसम्मको म्याद थप गरिएको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि रु १५ करोड ५९ लाख १७ हजार छ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा जिल्लामा नौ वटा सडक पुल निर्माणाधीन छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ छन् । विस्तृत अध्ययन तयार भएको र अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छन् । चार वटा सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा छ भने बाँकी १९ वटा पुल कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको तिवारीले बताउनुभयो ।

पाँच झोलुङ्गे पुल निर्माण हुने

जिल्लामा चालु आवमा पाँच वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । त्यसमध्ये तीन वटा पुलको विस्तृत अध्ययन पुरा भएको छ भने दुई वटा पुलको अध्ययन हुन बाँकी छ ।

भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पस अल्छीचौतारा झोलुङ्गे पुलका लागि रु ३२ लाख ३८ हजार, शुक्लागण्डकीस्थित बाङ्गेरह झोलुङ्गे पुलका लागि रु १८ लाख ४२ हजार, भिमाद नगरपालिका–५ फेदीखोला रबरबोटे लदन आमडाँडा झोलुङ्गे पुलका लागि रु २७ लाख ५७ हजार, शुक्लागण्डकी नगरपालिका–१० बुन्चासस्थित क्याङ्दी खोलामा झोलुङ्गे पुलका लागि रु २० लाख र भानु नगरपालिकास्थित रु भैरदवल गण हात्तीचौर झोलुङ्गे पुलका लागि रु २० लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशसभा : सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर, ११ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रतिवेदन पेस गर्दै सो वर्ष शासकीय स्थिरताका हिसाबले सरकार निकै कमजोर रहेको बताउनुभयो । उहाँले सो वर्षमा भएका प्रगतिलाई समेटर बनाइएको यो प्रतिवेदन सदनमा छलफल, समीक्षा र बहस हुँदा आउँदा दिनमा सरकारलाई थप ज्ञान प्राप्त हुने बताउनुभयो ।

सैद्धान्तिक छलफल

बैठकमा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।

सो विधेयक उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पेस गर्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, राधाकृष्ण खनाल र शोभा चेम्जोङले यो विधेयकले विषादीको प्रयोग, भण्डार, बिक्रीवितरण, आयात, प्रयोगलाई व्यवस्थित गराउन मद्दत गर्ने बताउनुभयो । उहाँले विषादी मानव जीवनलाई मात्र नभई पर्यावरणलाई पनि हानि पुर्‍याउने भएकाले यसको नियमन र व्यवस्थापनका लागि विधेयक आवश्यक रहेको चर्चा गर्नुभयो ।

शून्य समय

मुलुकको समसायिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपाल विश्वकर्मा, गोम्बु शेर्पा, हिमाल कार्की, खगेश्वरी पौडेल, डोलमा तामाङ, गीतादेवी रेग्मी, निरन राई, किशोरचन्द्र दुलाल र शिलादीक्षित कार्कीले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ १३ गते दिउँसो १ बजे बस्नेछ ।