`

चार वर्षमा पनि सम्पन्न भएन सेती नदीमा पुल निर्माण

दमौली (तनहुँ), ११ माघ : यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदीमा निर्माणाधीन एक सय ५० मिटर लम्बाइको पुल चार वर्षमा आधा मात्रै निर्माण भएको छ ।

हालसम्म जम्मा ५२ दशमलव १८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल निर्माण गर्न विसं २०७७ पुस ५ गते सम्झौता भएको सो कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । विसं २०८० जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकिएपछि अन्तिम पटकका लागि विसं २०८२ मङ्सिर २० गतेसम्मको म्याद थप गरिएको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि रु १५ करोड ५९ लाख १७ हजार छ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा जिल्लामा नौ वटा सडक पुल निर्माणाधीन छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ छन् । विस्तृत अध्ययन तयार भएको र अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छन् । चार वटा सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा छ भने बाँकी १९ वटा पुल कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको तिवारीले बताउनुभयो ।

पाँच झोलुङ्गे पुल निर्माण हुने

जिल्लामा चालु आवमा पाँच वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । त्यसमध्ये तीन वटा पुलको विस्तृत अध्ययन पुरा भएको छ भने दुई वटा पुलको अध्ययन हुन बाँकी छ ।

भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पस अल्छीचौतारा झोलुङ्गे पुलका लागि रु ३२ लाख ३८ हजार, शुक्लागण्डकीस्थित बाङ्गेरह झोलुङ्गे पुलका लागि रु १८ लाख ४२ हजार, भिमाद नगरपालिका–५ फेदीखोला रबरबोटे लदन आमडाँडा झोलुङ्गे पुलका लागि रु २७ लाख ५७ हजार, शुक्लागण्डकी नगरपालिका–१० बुन्चासस्थित क्याङ्दी खोलामा झोलुङ्गे पुलका लागि रु २० लाख र भानु नगरपालिकास्थित रु भैरदवल गण हात्तीचौर झोलुङ्गे पुलका लागि रु २० लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशसभा : सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर, ११ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रतिवेदन पेस गर्दै सो वर्ष शासकीय स्थिरताका हिसाबले सरकार निकै कमजोर रहेको बताउनुभयो । उहाँले सो वर्षमा भएका प्रगतिलाई समेटर बनाइएको यो प्रतिवेदन सदनमा छलफल, समीक्षा र बहस हुँदा आउँदा दिनमा सरकारलाई थप ज्ञान प्राप्त हुने बताउनुभयो ।

सैद्धान्तिक छलफल

बैठकमा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।

सो विधेयक उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पेस गर्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, राधाकृष्ण खनाल र शोभा चेम्जोङले यो विधेयकले विषादीको प्रयोग, भण्डार, बिक्रीवितरण, आयात, प्रयोगलाई व्यवस्थित गराउन मद्दत गर्ने बताउनुभयो । उहाँले विषादी मानव जीवनलाई मात्र नभई पर्यावरणलाई पनि हानि पुर्‍याउने भएकाले यसको नियमन र व्यवस्थापनका लागि विधेयक आवश्यक रहेको चर्चा गर्नुभयो ।

शून्य समय

मुलुकको समसायिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपाल विश्वकर्मा, गोम्बु शेर्पा, हिमाल कार्की, खगेश्वरी पौडेल, डोलमा तामाङ, गीतादेवी रेग्मी, निरन राई, किशोरचन्द्र दुलाल र शिलादीक्षित कार्कीले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ १३ गते दिउँसो १ बजे बस्नेछ ।

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ, ११ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।”

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले दुर्घटनामा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले दुर्घटनामा निधन भएका सबैमा श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले उक्त दुर्घटनामा सात नेपालीसहित १२ जनाको मृत्यु भएको जनाएको छ ।

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि

काठमाडौँ, ११ माघ : पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो ।

विभागका अनुसार गत आवभन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ । 

यसैगरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताउनुभयो । “बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्”, उहाँले भन्नुभयो, “अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छाँै ।”

उहाँका अनुसार मन्त्रालयअन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ । उहाँले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति रु ७३ हजारले जोगिएको बताउनुभयो ।

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ, ११ माघः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गर्नुभएको हो । उहाँले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राख्नुभयो ।

“सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना बनाएअनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।”

मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान गर्नुभयो । 

मन्त्री पौडेलद्वारा जारी विज्ञप्तीमा विद्यालय केन्द्रित खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

आगलागी र डढेलोका घटना बढ्न सक्ने, सचेत हुन आग्रह

काठमाडौँ, ११ माघः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भन्नुभयो, “क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ ।”

उहाँले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले अहिले वन डढेलो क्रमशः निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै आगलागी भइहालेमा निभाउनका लागि पूर्वतयारीमा रहन पनि सरोकारवालालाई अनुरोध गरेको छ ।

गायक शिव कैलाशले ल्याए मनका कुरा

मनका कुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक शिव कैलाशको स्वररहेको मनका कुरा बोलको गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र गायक कैलाश स्वयमको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ ।

एक प्रेमीले जोडीले एक भएर एकान्तमा बिताएको रमाइलो पल र रोमान्टिक माहोललाई देखाइएको भिडियो हरेक प्रेम जोडीका लागि उपहार हो गायक कैलाश भन्छन् । रमाइलो गर्दै भिडियो सुटिगं गरियो सोचेभन्दा राम्रो भिडियो बन्यो उनले भने । भिडियोमा मोडलद्धय शिल कैलाश र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् । निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् ।

गायक कैलशकै शब्द, संगीत रहेको मनका कुराको एरेन्ज आकाश नेपाललीले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो ।

चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची रुाख्ने व्यक्त्तिव हुन् । यसअघि नै १२ वटा गीत आफ्नै शब्द संगीत र स्वरमा बजारमा ल्याईसकेका कैलाश अभिनयमा रुचि राख्छन् । उनका सबै गीतमा उनी आँफैले मोडलिगं गर्दै आइरहेका छन् भने उनका शब्द शृजनामा दिग्गज गायकहरु दीप श्रेष्ठ, आनन्द कार्की , मुरलीधर, विष्णु अधिकारी लगायतले पनि स्वर भरेका छन् ।

कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन् । साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन् । आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ ।

देवघाट महा–महोत्सव पुगेर चन्द्र भण्डारीले दिए सनातन हिन्दु राज्य बनाउनु पर्नेमा जोड

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले नेपाल राज्यलाई सनातन हिन्दु राज्य बनाउनु पर्नेमा जोड दिएका छन् । देवघाटधाममा जारी देवघाट महा–महोत्सवमा सम्बोधन गर्दै सांसद भण्डारीले सनातन धर्मको रक्षाले मात्र नेपाल र नेपालीको अस्तित्व रक्षा हुने बताए । विश्व नै अहिले सनातन तर्फ लम्कदै गरेको भन्दै उनले नेपालको राष्ट्रिय स्वाभिमान सनातन धर्मको रक्षाबाट मात्र सम्भव हुने बताए ।

मानव सभ्यता र जीवनको सफलताका लागि भौतिक विज्ञान र अध्यात्म दुवै अपरिहार्य रहेको औंल्याउँदै भण्डारीले वर्तमान समाजमा सनातनी हिन्दुहरूको पहिचान कमजोर हुँदै गएकोप्रति चिन्ता प्रकट गरे । उनले भने ‘हामी सबै सनातनी हौँ, तर आजको समाज सन्तान हिन्दु धर्मको मूल के हो, हाम्रो कर्तव्य के हो, र हामी को हौँ भन्ने प्रश्नमा विमुख हुँदै आफ्नो पहिचान गुमाउँदै गएको छ ।’ सांसद भण्डारीले शक्ति, पैसा र हतियारमा आधारित आजको विश्व व्यवस्थाले मानवता संकटमा पारेको उल्लेख गर्दै यस्तो अवस्थामा विश्व र मानवता बचाउन धर्मगुरुहरूले नेतृत्व लिनुपर्ने बताए । सनातनी हिन्दुहरूको ‘वासुदेवकुटुम्बकम’ सिद्धान्तले नै विश्व शान्ति र एकता सम्भव बनाउने विश्वास व्यक्त गर्दै उनले हिन्दु दर्शनले मात्र मानवीय संकट समाधान गर्न सक्ने बताए ।

सांसद भण्डारीले महोत्सवमा मातृशक्तिको उल्लेख्य सहभागिता रहेकोमा विशेष प्रशंसा गर्दै भने, ‘आज यहाँ मातृशक्तिको अपार उपस्थिति देख्दा यही शक्ति देशलाई मात्र होइन, सम्पूर्ण विश्वलाई सनातनी राज्य बनाउने दिशामा अघि बढ्न सक्छ भन्ने विश्वास जागेको छ ।’ उनले समाजमा केही ठाउँमा सनातनी हिन्दुहरूलाई नकारात्मक दृष्टिले हेरिएको, सैतान आदि भन्ने गरेको सुन्नुपरेकोमा दुःख प्रकट गर्दै भने, ‘हामी सनातनी हिन्दुहरू कुनै पनि जीवको अस्तित्वमा भेदभाव नगर्ने, मानवता र ममता बोकेका वास्तविक मानव हौँ। यो तथ्यलाई समाजले बुझ्न आवश्यक छ ।’

सांसद भण्डारीले वेद, उपनिषद् र अन्य हिन्दु धर्मग्रन्थहरूको अध्ययन–अध्यापनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उनले यो कार्यले सनातन धर्मको जगेर्ना मात्र नगरी समग्र समाजलाई नै जागरूक बनाउन मद्दत गर्ने उल्लेख गर्दै भने ‘कुनै भेदभाव बिना सबैलाई हाम्रा वेदादी शास्त्र अध्ययन गर्न दिनुहोस्, यसो गर्दा सनातन हिन्दु राष्ट्र बनाउने सपना पूरा गर्न कसैले रोक्न सक्दैन ।

सांसद भण्डारीले देवघाट महा–महोत्सवको अवलोकन गर्नुका साथै कथा श्रवण गरेका थिए । निर्माणाधीन मातापिता सेवाश्रम र देवघाट दिव्यधामको प्रशंसा गर्दै उनले यस धार्मिक अभियानले सनातन धर्मको संरक्षण, प्रवद्र्धन र मानव कल्याणमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे । उनले देवघाट महा–महोत्सवले यस्तो सत्कार्यको सुरुवात गरून् भन्ने शुभकामना व्यक्त गर्दै महोत्सव आयोजकहरूको प्रयासको खुलेर प्रशंसा गरे । उनले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना संकल्पकर्ता ईश्वरकृष्ण महाराजको कार्यलाई ‘मानव कल्याणको अनुपम उदाहरण’ भन्दै यस अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए ।

‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

काठमाडौं – माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।

गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।

यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् । जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् । नेपाल रिलिज पछि उनी त्यसतर्फ लाग्नेछन् । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताए ।

यसैबीच, ‘एक्टर: टेक वन’को ट्रेलरले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हात पारेको छ । ट्रेलर सार्वजनिक भएको पाँच दिनभित्र नै यसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । सम्भवतः नेपाली चलचित्रको ट्रेलरमध्ये सबैभन्दा छिटो ३ मिलियन भ्युज पाउने यो नै पहिलो हो ।

ट्रेलर हेरेका दर्शकहरूबाट चलचित्रको कथा, प्रस्तुति, र अभिनेता/अभिनेत्रीहरूको अभिनयप्रति अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । यो चलचित्रले ओभरसिज बजारमा पनि नेपाली चलचित्रको बजारलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

काठमाडौैँ, ११ माघः प्रधान सेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको छ ।

उक्त अवसरमा प्रधान सेनापतिले संयुक्त राष्ट्रसङ्घको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिइ जाने सवुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि छ सय जना र लेबनानस्थित मिसनका लागि आठ सय ५० जना सकलदर्जाले सो तालिम लिएका छन् ।

शान्ति सैनिकको अदलीबदली

यसैबीच राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्न चण्डीप्रसाद गण ११औँ डफ्फाका दुई सय १३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात सय ५४ जना शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ ।

त्यसैगरी इराकमा तैनाथ गार्ड युनिटलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यही माघ १० गते उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।

प्रचण्डद्वारा दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता

तुलसीपुर (दाङ), ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता गर्नुभएको छ । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवासँग भेटघाट गर्नुभएको हो ।

त्यसअवसरमा दाहालले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताउनुभयो । टिआरसी विधयेक पास गर्न सफल भएकोसमेत उहाँको भनाइ थियो । उहाँले सहिद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताउनुभयो ।

जहाँ एकैघरका छ जना सहिद भएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा थारू सङ्ग्रहालयको अवलोकन

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । शुक्रबार उहाँले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताउनुभयो । उहाँले सङ्ग्रहालयले पर्यटन, प्रवर्द्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताउनुभयो ।

सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराउनुभएको थियो । चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताउनुभयो । सङ्ग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताउनुभयो । उक्त सङ्ग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।

भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ माघ : सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते  एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

मधेस भवन अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

जनकपुर, ११ माघः जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४प८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढ्दैछ : प्रधानमन्त्री

काठमाडौँ, ११ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ ।बुटवल–गोरूसिङ्गे सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरूडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभएको हो । उहाँले आगामी तीन वर्षभित्र बुटवल–गोरूसिङ्गे सडकखण्ड विस्तार गरिसक्ने घोषणा गर्नुभयो ।

आजै सिद्धबाबा सुरूङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको बताउँदै उहाँले उच्च सङ्कल्प र आँटका साथ देशको विकास हामीहरू आफैँले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गर्नुभएको थियो ।

गोरखामा कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा, ११ माघः कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उहाँले बताउनुभयो । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिनुभयो ।

खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित

कास्की, ११ माघः नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित हुनुभएको हो ।

यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित हुनुभयो । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित हुनुभयो । नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मञ्चको अधिवेशन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाका रूपमा विकास गरिएको हो ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगका लागि काम गरिरहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ ।

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…

गण्डकी, ११ माघः उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए ।

पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताउनुभयो । अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उहाँको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताउनुभयो ।

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उहाँले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताउनुभयो । पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताउनुभयो । देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उहाँले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताउनुभयो ।

विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिनुहुन्छ । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहनुभएका उहाँ संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री हुनुभएको थियो । उहाँ कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा परिचित हुनुहुन्थ्यो । शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गर्नुभएको थियो । शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गर्नुभएको थियो । मिर्गाैला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माको उपचारकै क्रममा निधन भएको थियो । शर्माका श्रीमती, दुई छोरा र छोरी छन् ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ११ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, गोलभेँडा सानो भारतीय रु ३० आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ८०, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ९०, सजिवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ६०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ००, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

निःशुल्क खाना वितरणमा इन्डोनेसियाको नयाँ कीर्तिमान

इन्डोनेसियाको निःशुल्क खाना वितरण कार्यक्रम ३१ प्रान्तका छ लाख ५० हजार स्कूली बालबालिकासम्म पु¥याएको राष्ट्रपति प्राबोवो सुब्यान्टोले बताउनुभएको छ ।“जनवरी देखि अप्रिल सन् २०२५ सम्म, कार्यक्रमले तीस लाख बालबालिकालाई लक्षित गर्ने लक्ष्य राखेको छ । अप्रिल देखि अगस्ट सन् २०२५ सम्म यो ६० लाख बालबालिकामा पुग्ने छ । सबै इन्डोनेसियाका बालबालिकालाई पौष्टिक खानामा पहुँच हुनेछ,” प्राबोवोले बुधबार बताउनुभयो ।

“यो एक रणनीतिक मुद्दा हो । हामी इन्डोनेसियाको भविष्यलाई बलियो बनाउँदैछौं । इन्डोनेसियाका बालबालिकाहरू बलियो, बौद्धिक, उत्साही र प्रभावकारी रूपमा विद्यालयमा उपस्थित हुन सक्षम हुनुपर्छ । मलाई विश्वास छ निकट भविष्यमा हामीले हाम्रा बालबालिकाको शैक्षिक प्रदर्शनमा सुधार देख्नेछौं,” उहाँले थप्नुभयो ।

जनवरी ६ मा सुरु भएको यो कार्यक्रमले विद्यार्थीलाई मात्र नभई गर्भवती महिला, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकालाई पनि समावेश गर्न आफ्नो दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै

जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ ।

यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीको अवस्थाले पनि सुधारको सङ्केत देखाएको छ । यद्यपि श्रमिक अभाव भने कायमै छ ।
सरकारले संयुक्त राज्य अमेरिकामा बढ्दो मुद्रास्फीति र मध्य पूर्वमा भू–राजनीतिक तनावलगायत आर्थिक स्थिरताका सम्भावित जोखिमहरूमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज, प्रधानमन्त्री ओली सहभागी हुने

लुम्बिनी, ११ माघः राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।

आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो ।

विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ ।

सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ । यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ । अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ । सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउनुहुन्छ । यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न हुनुहुन्थ्यो । दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताउनुभयो ।

अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो ।

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै

प्रधानमन्त्री ओलीले आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने बताउनुभयो ।

सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताउनुभयो ।

आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताउनुभएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हुम्लामा निर्माण हुन लागेको हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् कम्पनीसँग ग्रिड कनेक्सन सम्झौता कार्यक्रममा मन्त्री खड्काले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदै गर्दा सोहीमात्रामा प्रसारण लाइन समेत विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

भर्खरै सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माण गर्ने व्यवस्थासमेत गरेको उल्लेख गर्दै मन्त्री खड्काले उक्त व्यवस्थाले आगामी दिनमा उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णालीमा निर्माण गर्न लागेको प्रसारण लाइन तथा सवस्टेशन र निजी क्षेत्रबाट निर्माण हुन लागेको जलविद्युत् केन्द्रले कर्णाली क्षेत्रमा एकैपटक विकासको ढोका खुलेको मन्त्री खड्काले बताउनुभयो ।

“कर्णालीमा जलविद्युत् केन्द्र, प्रसारण लाइन र सवस्टेशन बन्दै गर्दा मोटरबाटोको थप विकास हुँदै जानेछ, यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसले सहयोग पुग्नेछ, कर्णालीवासीको विकासका लागि यो खुसीको कुरा हो”, मन्त्री खड्काले भन्नुभयो । उहाँले सम्झौतालाई कार्यान्वयनमा लैजानेगरी काम गर्न कम्पनी र निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मन्त्री खड्काले स्रोत माथिको अधिकार सबैमा हुने भएकाले सरकारले गरीब र विपन्न परिवारलाई सहुलियत दरमा न्यूनतम रु दुई लाखदेखि रु पाँच लाखसम्मको जलविद्युत्को शेयर दिनेगरी सरकारले नीतिगत व्यवस्था गरिसकेको बताउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक जग्गा प्राप्ति, वनलगायतका समस्या समाधान गर्न सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति गठन गरिएको उल्लेख गर्नुभयो ।

मुलुकको आर्थिक विकासका लागि सरकारले ऊर्जा क्षेत्रलाई महत्वका साथ अगाडि बढाएको मन्त्री खड्काले उल्लेख गर्नुभयो । ऊर्जा खपत बढाएर ग्यास, पेट्रोल आयतलाई न्यूनीकरण गर्नेगरी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललगायतले सरकारको लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हुम्लाको कर्णाली नदीदेखि कालीकोटको फुर्कोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको  दोधारासम्म प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उक्त प्रसारण लाइनको लम्बाई एक सय ८१ किलोमिटर हुनेछ ।

हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गरेको प्रसारण लाइन तथा सवस्टेशनसम्म जोड्न आज कम्पनीले उक्त जलविद्युत् केन्द्रको लगानीकर्ता कम्पनीसँग सम्झौता गरेको हो । हुम्ला कर्णाली १ र २, रुरु जलविद्युत् परियोजना लिमिटेड तथा तिला–२ ऊर्जा तिला पावर कम्पनी प्रालीले निर्माण गर्न लागेको हो । 

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्दै लैजानु पर्छ ।”

फार्मेसीबाट अस्पतालको आम्दानी बढाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले लगानी गरेको सामुदायिक स्वास्थ्य संस्थाले नसक्नेलाई निःशुल्क र सक्नेलाई सर्वसुलभ ढङ्गबाट उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि त्यो पूर्ण नभएकाले प्रभावकारी सेवा उपलब्ध गराउने गरी अगाडी बढ्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्यकर्मीसँग हुने क्षमता, योग्यता र सीप अरु व्यक्तिसँग नहुने भएकाले समाजलाई धेरै योगदान स्वास्थ्यकर्मीहरुले दिइरहेका बताउनुभयो ।

बिपी प्रतिष्ठान परिसरमा नवनिर्मित फार्मेसी भवनमा जलन र क्यान्सरका बिरामीको उपचार सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताउनुभयो ।

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ (ताप्लेजुङ), ११ माघः चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।

टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो । फुङ्लिङबाट टिपताला पुगेर फर्किने यात्रा अब तीन दिनमा सम्भव भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले तीन दिनभित्रै फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ । अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ । पानी र हिलोको समस्या केही ठाउँमा भए पनि समग्र यात्रा सहज छ ।

ओलाङचुगोलासम्म नियमित यातायात सञ्चालन भइरहेको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तथा ओलाचुङगोलाका स्थानीय फुपुल्हमु श्रेष्ठका अनुसार पहिले आवश्यक सामग्री ढुवानी गर्न ठूलो खर्च हुन्थ्यो, अहिले गाउँमा गाडी आइपुग्छ सहज भएको छ ।

वडाध्यक्ष शेर्पाका अनुसार सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि यदि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण गरियो भने बर्खामा पनि सहज आवागमन हुनसक्छ । वडाध्यक्ष शेर्पाले भन्नुभयो, “सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा पुल बनेपछि सधैँभरि टिप्ताला पुग्न सम्भव हुनेछ ।”

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ । जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र पर्यटन र व्यापारको केन्द्रविन्दु बन्न सक्छ । तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ ।

तिब्बत सरकारले टिपतालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएपछि सरकारले प्रस्ताव अघि बढाउने तयारी गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सरकार–सरकार सहकार्यमार्फत प्रस्ताव आएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ । टिपतालासम्म सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ । सडक मर्मत, पुल निर्माण र अन्तरदेशीय सहकार्यले यो क्षेत्र पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।.

चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्दै खवास दम्पती

बेलबारी (मोरङ), ११ माघ : मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ ।

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आउनुएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर रू १३ मा किनेको दूध हाल रू ८० पर्छ, महँगी धेरै बढ्यो ।

स्वामकुमारीले भन्नुभयो, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप रू दुई र स्पेसल रू तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउनुहुन्छ ।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताउनुभयो । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उहाँ बताउनुहुन्छ ।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउनुहुन्छ । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उहाँहरू बताउनुहुन्छ ।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसक्नुभयो । उहाँ आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउनुहुन्छ । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउनुहुन्छ । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउनुहुन्छ ।

स्थानीयको विरोधले बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर (महोत्तरी), ११ माघः स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।

जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर, विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीय मालती खनालले बताउनुभयो ।

विभागले लामो समयदेखि ती स्थानमा जग्गाको मुआब्जा विवाद नसुल्झाई हतारमा बोलपत्र प्रक्रिया थालेका कारण स्थानीयले रेल्वेको काममा विरोध गरेपछि कामले गति लिनसकेको छैन ।

रेल विभागले सीमाङ्कनबिना बोलपत्र आह्वान गरिदिँदा स्थानीयवासीको जग्गा जथाभावी अधिग्रहण गरिएका छन् । एउटै मापदण्डमा परेका जग्गाको मुआब्जा आफूखुसी फरक–फरक दरमा दिइएको छ । कतिलाई समयमै मुआब्जा दिइएको छभने कतिलाई वर्षौँ धाउँदा पनि उपलब्ध नगराउँदा स्थानीय आन्दोलित भएको स्थानीय अगुवा नीरज अधिकारीले बताउनुभयो ।

उहाँले हतारमा बोलपत्र प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको आरोप लगाउनुभयो । स्टेशन छेउको उक्त जग्गा २०२२ सालमा नापीले नापजाँच गरेको थियो । तर त्यतिबेला लालपुर्जा भने लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमा नै प्रतिकट्ठा रू ६१ लाखमा मुआब्जा वितरण भइसकेको छ । तर, लालपुर्जा लिन छुटेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको स्थानीय खड्गबहादुर सिंहले बताउनुभयो ।

पूर्ववडाध्यक्ष भरतबहादुर हमालका अनुसार उक्त जग्गालाई मुआब्जा दिनुपर्छ भन्नेमा रेल विभाग प्रष्ट रहेको भए पनि लालपुर्जा नभएका कारण दिन नसकिएको हो । उक्त जग्गामा मुआब्जा दिनुपर्छ भनेर मन्त्रालयमा सिफारिस गरिसकिएको भन्दै सरकारले निर्णय नगरी मुआब्जा दिने अवस्था नभएको रेल विभागलाई उद्धृत गर्दै पूर्ववडाध्यक्ष हमाल बताउनुहुन्छ ।

यस सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रवक्ता उपेन्द्र न्यौपानेले सो क्षेत्रका स्थानीयले पनि चलनचल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेको बताउनुभयो । “आफूहरूले जायजेथा छाडेर हिँड्नुपर्ने अवस्था आएको भन्दै अर्को ठाउँमा बसोबास गर्नसक्ने पैसा सरकारले दिनुपर्ने रेल्वेपीडितको भनाइ छ । यसबारे पीडितसँग विभाग र ठेकेदारले पटकपटक वार्ता गरेका थिए । तर, स्थानीयले सीमाङ्कन गरी मुआब्जा नदिएसम्म काम गर्न नदिने अडान राखेपछि ठेकेदारले पनि यी क्षेत्रमा काम अघि बढाएका छैनन्”, सहायक प्रजिअ न्यौपानेले भन्नुभयो ।

यस सन्दर्भमा जनकपुर रेल्वेका सूचना अधिकारी कमल साहले ऐन, कानुनअनुसार लालपुर्जा नभएको जग्गाको हकमा मुआब्जा दिन नमिल्ने साथै मुआब्जा के र कुन आधारमा दिने भनी नखोलिएका कारण बर्दिबासका १४ घरपरिवारलाई मुआब्जा वितरणमा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले ती घरपरिवार विगत २० वर्षभन्दा पनि बढी समयदेखि त्यस स्थानमा बस्दै आएका भए पनि उनीहरूसँग जग्गाको लालपुर्जा नभएका कारण विभागले मुआब्जा दिन नसकेको बताउनुभयो । तर, उनीहरूकै कारण रेल्वेको कामकाज रोकिएपछि सरोकारवाला निकायसँग मिलेर उनीहरूको समस्याबारे मन्त्रालय हुँदै भूमि आयोगसम्म कुरा पुगिसकेको साथै, मन्त्रिपरिषद्ले समेत उनीहरूको समस्यालाई सम्बोधन गर्न निर्णय गरेर उनीहरूलाई मुआब्जा पाउन जग्गाको लिखित प्रमाण (लालपुर्जा वा अन्य जग्गाको स्वामित्व खुल्ने आधार) बनाइदिन आदेश दिइसकेकाले अब चाँडै समस्या समाधान हुने सूचना अधिकारी साहले बताउनुभयो । उहाँले चाँडै बर्दिबासका आन्दोलित जग्गाधनीले मुआब्जा पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

अहिले रेल्वेपीडितहरू सङ्घीय राजधानी काठमाडौँस्थित रेल विभाग, मन्त्रालय, भूमि आयोग र अन्य सरोकारवालालाई प्रत्यक्ष भेटघाट गरी आफ्ना समस्या समाधानका लागि थप पहल गरिरहेका छन् । अहिले रेलमार्गमा भइरहेको माटो पुर्ने, लिक बनाउने, पुल बनाउने, जग्गा अधिग्रहण, घरजग्गा खाली गराउनेलगायत सबै कामकाज ठप्प छ ।

काभ्रेको महाभारतमा डढेलो नियन्त्रण गर्न सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक, ११ माघः जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहँँका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । “हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ, अधिकारीले भन्नुभयो ।

खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ । कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले बुधबार साँझदेखि नै त्यसतर्फ पठाइएको जिल्लास्थित नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनुभयो । “उहाँहरूले सोहीअनुसार कार्य गरिरहनुभएको छ, आगलागी थप फैलिरहेको भन्ने सूचना आएको छ, सुरक्षा निकायसहित हामी त्यसप्रति संवेदशील छौँ”, उहाँले भन्नुभयो । आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि अन्य सरोकारवाला निकाय (गृह मन्त्रालय)सँग थप समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताउनुभयो ।

यसैगरी पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरको बासस्थान रहेको महाभारत जङ्गलमा तीन दिनदेखि आगलागी भइरहेको हो । बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती आगलागीको नजिक रहेको बताइएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जङ्गली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक छ देखिएको स्थानीय बताउँछन् । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर, ११ माघः जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो । अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उहाँले बताउनुभयो ।

गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुनभित्र सक्नेगरी काम सुरू हुने उहाँले बताउनुभयो । उहाँका अनुसार, कलुवापुर ३३÷११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्कलगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज शुक्रबार र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते शनिबार, १३ गते आइतबार, १५ गते मङ्गलबार दिउँसो १ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । समयअगावै कार्य सम्पन्न भए विद्युत् लाइन सञ्चालन गरिने भएकाले बिनाजानकारी लाइन नजिक नजान पनि आग्रह गरिएको छ ।

एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न बलियो प्रतिबद्धता

काठमाडौँ, ११ माघ : सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताउनुभयो ।

“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उहाँले भन्नुभयो, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”

सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताउनुभयो । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उहाँले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । “हामीबीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनिभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उहाँले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गर्नुभयो ।

सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ थियो ।

“हालसालै डिसेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ”, सभामुख घिमिरले भन्नुभयो, “उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्गप्रशस्त गरेका छन् ।”

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गर्दै गत वर्ष विविध चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै चीनले उत्कृष्ट प्रगति गरेको बताउनुभयो । साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा, विशेषगरी अध्यक्ष सी चिनफिङको मार्गदर्शनमा चीनले जटिल अन्तर्राष्ट्रिय अवस्थाको बीचमा आफ्नो आर्थिक विकासलाई सुनिश्चित गरेको जानकारी गराउनुभयो ।

राजदूत चेनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन–नेपाल रणनीतिक सहकारी साझेदारीलाई अगाडि बढाउँदै बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न, सहयोग ढाँचा सम्झौतामा हस्ताक्षर गर्नुभएको उल्लेख गर्नुभयो । यसले विकास र समृद्धिको दिशामा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको उहाँको भनाइ थियो ।

“दुई देशका बीचमा, त्रि–आयामिक कनेक्टिभिटी नेटवर्क निर्माणले गति लिइरहेको छ, १४ परम्परागत सीमा व्यापार नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् र हप्तामा ४८ वटा सिधा हवाई उडान सञ्चालनमा रहेका छन्”, उहाँले भन्नुभयो, “दुई देशका मित्रहरू एकअर्कालाई पर्यटनका लागि घुम्न आउने, नेपालमा लगानी गर्न र व्यापार गर्नका लागि धेरै चिनियाँ उद्यमीहरू आउने र बढीभन्दा बढी नेपाली सामान चीनमा निकासी हुने गरेको देख्दा हामी खुसी छौँ ।”

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

काठमाडौँ, ११ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ८२ पैसा र बिक्रीदर आठ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १२ रूपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रूपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १९ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ, ११ माघः सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन दुई दशमलव ८५ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौँको उत्पादन क्रमशः ६५ दशमलव ७१ प्रतिशत र २५ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको छ भने तेलहनको उत्पादनमा सबभन्दा बढी १८ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।

पशुजन्य उत्पादनअन्तर्गत दूध चार दशमलव ५८ प्रतिशत, मासु नौ दशमलव ३२ प्रतिशत र अण्डा छ दशमलव चार प्रतिशतले बढेको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १० दशमलव ८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । गत असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३१ प्रतिशतले ह्रास भई रू १६ अर्ब ५२ करोड ८५ लाख पुगेको छ ।

अध्ययन नमूनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ९६ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये चामल र गहुँको उत्पादन वृद्धि भएको छभने तोरीको तेल, साबुन, इँटा, चिनीे र रोजिनको उत्पादनमा ह्रास आएको छ ।

समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १६ दशमलव ७५ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छभने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा चार दशमलव ७९ प्रतिशतले ह्रास भई रू २५ अर्ब ६० करोड १८ लाख पुगेको छ ।

यस्तै, पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्यामा चार दशमलव १७ प्रतिशतले कमी आएको छभने होटल शय्याको सङ्ख्या एक दशमलव ४७ प्रतिशतले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन सङ्ख्या आठ दशमलव २३ प्रतिशतले घटेको छभने रजिष्ट्रेशन राजस्व ३१ दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १६ दशमलव शून्य नौ प्रतिशतले बढेको छभने कर्जा प्रवाह शून्य दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा यातायात साधन सङ्ख्या चार दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको ७२ दशमलव ४४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६ दशमलव ५५ प्रतिशत खर्च भएको छभने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६२ दशमलव शून्य छ प्रतिशत खर्च भएको छ ।

अध्ययनअनुुसार, २०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत् आयोजनाहरूबाट कुल एक सय ७१ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०८०÷८१ मा यस प्रदेशबाट जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आव २०८०÷८१ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औषत रोजगारी दिन ६५ दशमलव ७७ रहेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो

काठमाडौँ, ११ माघः हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँकोको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६.१ डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको छ ।

त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला

काठमाडौँ, १० माघ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीले स्थापनाकालदेखि नै विपन्न नागरिकका पक्षमा काम गर्दै आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले कांग्रेसले मुलुकका कम आय भएका नागरिक र किसानको हितमा स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार व्यवसायलाई अनुशासित ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले आगामी फागुनमा हुने लोकतान्त्रिक व्यवसायीको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई जिताउन सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

एशोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाटले मुलुकमा वैदेशिक रोजगारीको विकल्प नभएको बताउनुभयो । एशोसिएसनका अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायलाई ठगी खाने पेसा नभएर पवित्र पेसा हो भन्ने समाजलाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

एशोसिएसनको स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा एक सय १७ जनाले रक्तदान गरेका अध्यक्ष थापाले बताउनुभयो ।

कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा (सुनसरी), १० माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा आज पर्यटन वर्ष २०८२ को तयारी स्वरुप बसेको बैठकमा मुख्यमन्त्री कार्कीले पर्यटकको गन्तव्यबारे चर्चा गर्नुभयो । मूल आयोजक समितिको बैठकले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीमा जुट्ने निणर्य गरेको उहाँले जानकारी दिनुभयो । यसलाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्न बैठक बसेको उहाँले बताउनुभयो ।

बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेश मन्त्री सदानन्द मण्डल, एकराज कार्की, भूपेन्द राई, उच्च पदाधिकारी, सरोकारवाला र पर्यटन क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । बैठकले पर्यटन प्रवर्द्धनका लागि ‘कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१’ अन्तर्गत दिगो योजना निर्माण गर्ने निणर्य गरेको छ ।

अर्थतन्त्र चलायमान बनाउन र सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ

लुम्बिनी, १० माघः सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थतन्त्रलाई चलायमान बनाउन, सुशासन कायम गर्न र जनतालाई राहत दिनका लागि अध्यादेश ल्याएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रमा देखापरेको सङ्कटको समाधान गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । “अध्यादेशसम्बन्धी व्यवस्था संविधानले नै गरेको विषय हो”, उहाँले भन्नुभयो, “सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन पाउँछ ।”

सरकारी अड्डामा लामो समय फाइल थन्किदा नागरिकका काम समयमा हुन नसक्ने अवस्थाको अन्त्यका लागि र नागरिकलाई सुशासनको प्रत्याभूत दिलाउन एक साताभन्दा बढी समय फाइल थन्काएर राख्न नपाइने गरी सरकारले अध्यादेश ल्याएको पनि उहाँले बताउनुभयो ।

सरकार मुलुकमा सुशासन कायम गर्ने दिशामा अगाडि बढेको उल्लेख गर्र्दै उहाँले सरकारको स्थायित्वका विषयमा सत्तारुढ दलबीचमा कुनै समस्या नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ता साझेदार कांग्रेस र एमालेबीचको समझदारीमा कुनै समस्या छैन, बाहिर कसैले राजनीति नगर्दा हुन्छ ।”

उहाँले लामो समय अलपत्र परेको बुटवल–नारायण सडकखण्डले अहिलेको सरकार गठनपछि गति लिएको भन्दै विकासका काममा सरकार द्रुत गतिमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले आगामी संसद् अधिवेशनमा सहकारीसम्बन्धी विधेयक ल्याएर सहकारीपीडितका समस्या समाधान गर्ने र बचतकर्ताहरुको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको स्पष्ट पार्नुभयो ।

सहकारी ठगीमा संलग्नको कारबाहीका लागि सरकारले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको मन्त्री गुरुङको भनाइ थियो ।

राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन

मन्त्री गुरुङले देवदह व्यापार सङ्घको आयोजनामा आज रुपन्देहीको देवदहमा सुरु भएको नवौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै सरकार राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताउनुभएको छ ।

उहाँले संविधान संशोधनको विषयमा प्रतिपक्षले दुस्प्रचार गरेको दाबी गर्नुभयो । मन्त्री गुरुङले सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताउनुभयो । मुलुक र नागरिकको लागि सुशासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजिएको उहाँको भनाइ थियो ।

त्यसअवसरमा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका सांसद विश्वकर्माले नागरिकलाई अफ्ठ्यारो परेका कुराको सुधार गर्न सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो ।

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर (झापा), १० माघः झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको उहाँले बताउनुभयो ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व सङ्कलन गरेको छ ।

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी, १० माघः प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।

त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् ।

आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।

‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’ – प्रदीप ज्ञवाली

गोरखा, १० माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उहाँले विगतदेखि नै एमालेमाथि विभिन्न ढङ्गबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सबै खालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो ।

“विगतमा जहाँ हामीले निर्वाचनमा सहभागी नै हुन पाउँदैनौँ थियौ, त्यहाँ अहिले हाम्रो राम्रो उपस्थिति छ”, उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा पनि हामीले निर्वाचन जितेका छाँै, हामी नभए पनि हुन्छ भन्ने स्थानमा अहिले हामीविना नभई नहुने अवस्था बनेको छ ।”

उहाँले विसं २०४८ देखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गर्नुभयो । गत निर्वाचनलाई हेर्दा देशभरका ४४ जिल्लामा समानुपातिक मतका आधारमा एमाले पार्टी पहिलो र २४ जिल्लामा दोस्रो रहेकोे उल्लेख गर्नुहुँदै उहाँले गोरखा जिल्लामा पार्टीको स्थितिलाई बदल्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो । “सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “यसका निम्ति सकारात्मक ढङ्गले सोचेर अघि बढ्नुहोस् ।”

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा बिहीबार आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।


बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।

उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए।

राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय विपद् प्राधिकरण तथा कूटनीतिकलगायत राष्ट्र निर्माणका विविध क्षेत्रमा अवकाश प्राप्त रथीवृन्दले हासिल गरेको लामो अनुभव एवं विज्ञतालाई उपयोग गर्नेतर्फ पहल हुनसकेमा राष्ट्रलाई लाभ पुग्ने उनीहरूको भनाइ रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले जोड दिए ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित, कल्याणकारी कोषको दिगोपना तथा सैनिक कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवा सुविधालाई थप परिष्कृत, मितव्ययी र परिणाममुखी बनाउन उनीहरुसँग सुझाव प्राप्त गर्न कार्यक्रम गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्।

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।

पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ ।

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन ।