`

पहिरोले सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

Nepal One HD २४ साउन २०८२ २१:०१
समाचार

लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो ।

दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उहाँले जानकारी दिनुभयो । घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताउनुभयो । उहाँका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् ।

अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *