`

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर (झापा), १० माघः झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको उहाँले बताउनुभयो ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व सङ्कलन गरेको छ ।

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी, १० माघः प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।

त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् ।

आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।

‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’ – प्रदीप ज्ञवाली

गोरखा, १० माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उहाँले विगतदेखि नै एमालेमाथि विभिन्न ढङ्गबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सबै खालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो ।

“विगतमा जहाँ हामीले निर्वाचनमा सहभागी नै हुन पाउँदैनौँ थियौ, त्यहाँ अहिले हाम्रो राम्रो उपस्थिति छ”, उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा पनि हामीले निर्वाचन जितेका छाँै, हामी नभए पनि हुन्छ भन्ने स्थानमा अहिले हामीविना नभई नहुने अवस्था बनेको छ ।”

उहाँले विसं २०४८ देखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गर्नुभयो । गत निर्वाचनलाई हेर्दा देशभरका ४४ जिल्लामा समानुपातिक मतका आधारमा एमाले पार्टी पहिलो र २४ जिल्लामा दोस्रो रहेकोे उल्लेख गर्नुहुँदै उहाँले गोरखा जिल्लामा पार्टीको स्थितिलाई बदल्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो । “सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “यसका निम्ति सकारात्मक ढङ्गले सोचेर अघि बढ्नुहोस् ।”

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा बिहीबार आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।


बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।

उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए।

राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय विपद् प्राधिकरण तथा कूटनीतिकलगायत राष्ट्र निर्माणका विविध क्षेत्रमा अवकाश प्राप्त रथीवृन्दले हासिल गरेको लामो अनुभव एवं विज्ञतालाई उपयोग गर्नेतर्फ पहल हुनसकेमा राष्ट्रलाई लाभ पुग्ने उनीहरूको भनाइ रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले जोड दिए ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित, कल्याणकारी कोषको दिगोपना तथा सैनिक कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवा सुविधालाई थप परिष्कृत, मितव्ययी र परिणाममुखी बनाउन उनीहरुसँग सुझाव प्राप्त गर्न कार्यक्रम गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्।

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।

पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ ।

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन ।

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताउनुभएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मङ्गलबार वासिङ्टनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशङ्करले यस्तो टिप्पणी गर्नुभएको हो ।

ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन गर्नुभएको छ ।

जयशङ्करले नयाँदिल्ली कागजातविहीन भारतीयहरूलाई फिर्ता लिन तयार रहेको र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारतमा निर्वासित गर्न सकिनेहरूको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

जयशंकरले बुधबार वासिङ्टनमा भारतीय पत्रकारहरूको एक समूहसँग भन्नुभयो, “भारतीय प्रतिभा र कौशलले विश्वव्यापी स्तरमा अधिकतम अवसर पाऊन् भन्ने हामी चाहन्छौँ । हामी अवैध आवागमन र अवैध आप्रवासनको पनि कडा विरोध गर्दछौं।”

उहाँले भन्नुभयो, “हामीले जहिले पनि यो दृष्टिकोण लिएका छौँ कि अमेरिसहित विश्वका हरेक देशमा हाम्रा कोही पनि नागरिक अवैध रूपमा छन् हाम्रा नागरिक हुन् भने, हामी सधैं उनीहरूको वैध भारत फिर्तीको लागि खुला छौँ।”

जयशङ्करले ट्रम्प प्रशासनसँग मिलेर १८ हजार भारतीयलाई देश निकाला गर्न भारतले काम गरिरहेको भन्ने समाचारको जवाफमा यस्तो बताउनुभएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले मङ्गलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विदेशमन्त्री रुबियोले भारतसँग मिलेर आर्थिक सम्बन्ध अघि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्न ट्रम्प प्रशासनको इच्छामा जोड दिनुभएको छ ।”

भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो र यसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको आनन्द उठाइरहेको छ, तर लाखौं भारतीयहरू अझै पनि राम्रो अवसरको खोजीमा हरेक वर्ष विदेशमा विदेशिने गरेका छन् । यसको डायस्पोरा विश्वभरि फैलिएको छ भने संयुक्त राज्य अमेरिका छनौटको प्रमुख गन्तव्य हो।

पछिल्लो अमेरिकी जनगणनाअनुसार सन् २०२० को दशकमा भारतीय मूलका अमेरिकीको जनसङ्ख्या ५० प्रतिशतले बढेर ४८ लाख पुगेको छ भने सन् २०२२ मा विदेशमा अध्ययनरत करिब १३ लाख भारतीय विद्यार्थीमध्ये एक तिहाइभन्दा बढी संयुक्त राज्य अमेरिकामा थिए ।

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ ।

आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ । उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५५७औँ उडान मिसन हो ।

साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ ।

रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दाबढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ ।

स्पेससेल एक चिनियाँ उपग्रह ‘मेगा कन्स्टेलेसन’ हो । यसले सन् २०२४ अगस्ट ६ मा व्यावसायिक नेटवर्कको निर्माण सुरु गर्यो ।

इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा टर्कीको बथानमा एच५एन१ बर्ड फ्लू सङ्क्रमण पत्ता लागेको छ ।

चारवटा कुखुरा तथा करिब १९ हजार ३०० टर्कीको असाधारण मृत्यु भएपछि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयको प्रयोगशालामा नमूना पठाइएको थियो, जसले शङ्काको पुष्टि गरेको थियो ।

यो हालको फ्लू सिजनमा व्यावसायिक कुखुरामा बर्ड फ्लूको १६ औं केस हो । विगत दुई हप्तामा बर्ड फ्लूका दुई थप केसहरू फेला परेका थिए ।

यस रोगको फैलावट रोक्नको लागि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले एभियन इन्फ्लुएन्जाको उपचारका लागि विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) ले सिफारिस गरेको प्रक्रिया अनुसार काम गरिरहेको छ ।

कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका भेटेरिनरी सेवाहरूले यस क्षेत्रका सबै कुखुरा घरहरूको सक्रिय अनुगमन गर्न जारी राखेका छन् ।

कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले कुखुरा फार्मका प्रजननकर्ताहरूलाई आफ्नो कुखुरालाई भवनभित्र राख्न र खुला ठाउँमा घुम्नबाट रोक्न आह्वान गरेको छ ।

लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

मलेखु (धादिङ), १० माघ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्ने बताउनुभएको छ । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको बताउभयो । लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनसँगै देशको समग्र विकासमा योगदान दिने उहाँको भनाइ थियो ।

“नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन । यसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

देशको मौलिक परम्परा, वेषभूषा, सङ्गीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले यस्ता मेला महोत्सवबाट युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक सञ्चार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । आजदेखि सुरु भएको लोक सांस्कृतिक महोत्सव यही माघ २० गतेसम्म चल्नेछ । महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठ्यारो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरी कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले बताउनुभयो ।

महोत्सवको प्रमुख आकर्षण अन्तरपालिका लोक दोहोरी प्रतियोगिता हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ ।

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ – मुख्यमन्त्री लामा

मनहरी (हेटौँडा), १० माघ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिकस्थललाई प्रवर्द्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासको संरक्षण गर्न सके मात्रै यसको महत्व बढ्दै जाने बताउनुभयो । मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा भएको उल्लेख गर्दै उहाँले पृथ्वीनारायण शाहले रचेको इतिहासबाट हामी नेपालीहरु एउटै मालामा गाँसिएकाले मकवानपुरगढी दरबार र यसको महत्वलाई स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री लामाले मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै ऐतिहासिक मकवानपुरगढीको समृद्धिका लागि नीति निर्माण तहबाट ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

विरताको इतिहास रहेको ऐतिहासिक मकवानपुरगढीमा सेनवंशीय राजाहरुको वंशावलीको चित्रणसँगै गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला भएकाले मकवानपुरगढीको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुरगढी नेपालको एकीकरण अभियानको जड रहेको बताउनुभयो ।

मुख्यमन्त्री लामाले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएकाले यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय : उपराष्ट्रपति

काठमाडौँ, १० माघः उपराष्ट्रपति रामसहाय यादवले पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) ले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले आज उपराष्ट्रपतिको कार्यालयमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासमेतको टोलीसँगको भेटघाटका अवसरमा राससले समाचार विविधीकरणमा गरेका प्रयासहरुका बारेमा आफू जानकार रहेको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजान सकिने धारणा व्यक्त गर्नुभयो ।

भेटमा कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्नुको साथै विभिन्न मातृभाषामा समाचार सम्प्रेषण, श्रव्यदृश्य र विचार सेवा सञ्चालन गरी समाचारमा विविधीकरण एवं संस्थागत सुदृढीकरणमा जोड दिएको बताउनुभयो । सो अवसरमा महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक

काठमाडौं ।आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

मिस नेवाः नेपाल यस वर्ष पनि हुने

राजधानीमा हरेक वर्ष आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरुबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ।नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा १८औं संस्करणको मिस नेवाः ११४५ टोखास्थित सपन तिर्थ मन्दिरमा लाखबत्ती बालेर आरम्भ गरिएको हो। प्रतियोगितामा सामेल नेवार सुन्दरीहरुले विश्व शान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको हो।

यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट २१ नेवार युवतीहरुले सहभागिता जनाएका छन्। प्रतियोगितामा लुनिभा मानन्धर, प्रलिशा शाक्य, अल्पा महर्जन, अनुषा बज्राचार्य, अनुश्री शाक्य, दिबिना डंगोल, लुमना महर्जन, प्राश्ना श्रेष्ठ, रमुना बज्राचार्य, रिम्सा श्रेष्ठ, रितिषा बज्राचार्य, रोनीसा महर्जन, रुजी शाक्य, श्रद्धा महर्जन, श्रीया मानन्धर, सुभेक्षा श्रेष्ठ, कुन्ता श्रेष्ठ, प्रसिद्धी शाक्य, संस्कृति श्रेष्ठ र शुवास्ना श्रेष्ठ गरी २१ नेवार सुन्दरी बीच अन्तिम प्रतिस्पर्धा हुने ।

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता गरिदै आएको र यसको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिदैँ आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो। सहआयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जनले समाजकै उत्थान गर्ने कार्यक्रममा सहआयोजकको रुपमा सहभागी हुन पाउँदा गर्व लागेको बताउनु भयो।

नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भक भएसँगै प्रतियोगिताका सहभागी नेवार सुन्दरीहरुले खोकनाका साना भाइबहिनीहरुलाइ शैक्षिक सामाग्री वितरण पनि गरेका छन्। मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएका छन्।

आगामी फागुनमा राजधानीमा सम्पन्न हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न हुनेछ। कार्यक्रम मिस नेवा ः नेपाल ११४१ कृषा महर्जनको प्रमूख संयोजन, मिस नेवाः नेपाल ११४३ सकिना महर्जनको सह संयोजन र मिस नेवाः नेपाल ११४३ सोसियल वेलफेयर एम्बेस्ड चिफ तिमिला महर्जनको व्यबस्थापनमा सम्पन्न हुनेछ।

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित

सुदूरपश्चिम, १० माघः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’सर्वसम्मतिले पारित गरेको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि विधेयक माथि भएको छलफलमा प्रदेशसभा सदस्य पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाहीले भाग लिनुभएको थियो । त्यसपछि समाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठान भएका प्रश्नको जवाफ दिनुभएको थियो । 

संशोधित विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविककोभन्दा थप गरिएको छ । साथै प्रतिष्ठानका कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गनुपर्नेलगायतको व्यवस्था गरिएको छ ।  

मुख्यमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था गरिएको छ । आजको बैठकले प्रदेशसभा, सार्वजनिक लेखासमितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ लाई स्वीकृत गरियोस् भनी पेस गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

असनमा आगलागीबाट रु ३५ लाखको क्षति

काठमाडौँ, १० माघः काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आज दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उहाँले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको परिसरले जनाएको छ ।

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

चैनपुर (बझाङ), १० माघः जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताउनुभयो । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उहाँले बताउनुभयो ।

साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उहाँले बताउनुभयो ।

जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने बताउनुभयो । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गर्नुभएमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गर्नुभएको छ ।

रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भन्नुभयो, “यस्तो हुनसक्ने सम्भावना छ ।”

सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गर्नुभएको थियो । यसबाट उहाँले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो ।

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले सोमबार रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भन्नुभयो । “मलाई लाग्छ उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताउनुभयो ।

अक्टोबर ७ को आक्रमणले अमेरिकी आणविक वार्ताको ‘अवसर नष्ट’ गर्यो : इरान

इरानका उपराष्ट्रपति मोहम्मद जावेद जरिफले बुधबार हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणले ऐतिहासिक आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको अवसरलाई ‘नष्ट’ गरेको बताउनुभएको छ ।

प्यालेस्टिनी लडाकू समूहको अभूतपूर्व आक्रमणले गाजामा विनाशकारी युद्ध निम्त्याएपछि मध्य–पूर्वभरका तेहरान–समर्थित लडाकूहरूलाई आकर्षित गर्यो र इरान तथा इजरायलबीच दुर्लभ प्रत्यक्ष आक्रमणहरू भए ।

हमासलाई आर्थिक र सैन्य रूपमा समर्थन गर्ने इरानले आक्रमणको प्रशंसा ग¥यो तर यसमा संलग्नता अस्वीकार ग¥यो ।

“हामीलाई अक्टोबर ७ को बारेमा थाहा थिएन… हामीले अक्टोबर ९ मा जेसिपिओए नवीकरणका लागि अमेरिकीहरूसँग बैठक गर्नुपर्ने थियो, जुन यस अपरेसनले कमजोर र नष्ट भएको थियो”, जरिफले २०१५ मा भएको इरान आणविक सम्झौताको आधिकारिक नामको संक्षिप्त नाम प्रयोग गर्दै डाभोसमा विश्व आर्थिक मञ्चमा भन्नुभयो, “क्षेत्रमा हमाससहित इरानका सहयोगीहरू सधैँ हाम्रो खर्चमा समेत आफ्नै उद्देश्यका लागि काम गरेका छन्, हामीले यस क्षेत्रमा हाम्रो लगानी नगद (मा) गर्न कहिल्यै प्रयास गरेनौँ ।”

हाल इरानका रणनीतिक मामिलाका उपराष्ट्रपति जरिफ तेहरान र विश्व शक्तिहरू बीच सन् २०१५ को आणविक सम्झौतामा वार्ता गर्ने विदेशमन्त्री हुनुहुन्थ्यो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन सम्झौताबाट बाहिरिएको थियो । जसले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।

तेहरानले सन् २०१८ मा वासिङ्टनले सम्झौताबाट फिर्ता नभएसम्म सम्झौताको पालना ग¥यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो । इरानले सम्झौता पुनर्जीवित गर्न बारम्बार इच्छा व्यक्त गरेको छ ।

यसै महिनाको सुरुमा ट्रम्प औपचारिक रूपमा ह्वाइट हाउस फर्कनुअघि इरानी अधिकारीहरूले बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूसँग आणविक परमाणु वार्ता गरेका थिए । दुवै पक्षले वार्तालाई ‘स्पष्ट र रचनात्मक’ भएको बताएका थिए ।

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

खोटाङ, १० माघः हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो ।

नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउनुभयो । “उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ”, उहाँले भन्नुभयो, “उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।”

उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताउनुभयो ।

यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ ।

दुई करोडमा २९ लाख बन्यो प्रहरीचौकी भवन

मुग्लिन (चितवन), १० माघः रत्ननगर नगरपालिका– ६ मा रु दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ को लागतमा प्रहरीचौकी भवन निर्माण भएको छ । नवनिर्मित तीनतले भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय गन्तव्य चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाको शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको प्रहरीचौकीबाट स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसरी सम्झिइन् तारादेवी

काठमाडौँ, १० माघ : नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाउनुभएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउन्डेसनद्वारा उहाँको १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उहाँका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।

फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “फाउन्डेसनमार्फत आमा (तारादेवी) को स्मृति दिवसमा गरिने कार्यक्रमले सङ्गीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ । उहाँको सपनालाई पूरा गर्न फाउन्डेसनले निरन्तर कामहरू गरिरहेको छ ।” 

सो अवसरमा गीतकार तथा सङ्गीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो । आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएकी गायिका तारादेवीले स्वर दिनुभएको ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् । 

तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएको थियो ।  उहाँले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र सङ्गीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको सङ्गीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाउनुभएको छ । 

गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उहाँको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको आयोजित कार्यक्रममा जानकारी गराइयो ।

आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

कञ्चनपुर, १० माघः कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।नगरपालिकाका नौवटै वडामा पाँच÷पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।

सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न रु १० लाख खर्च हुने देखियो”, नगर प्रमुख ओझाले भन्नुभयो । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् ।

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ ।

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण, यस्तो छ नयाँ दर

काठमाडौँ, १० माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, गोलभेँडा सानो भारतीय रु ३० आलु रातो प्रतिकेजी रु ४४, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १४०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ३५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, सजिवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ६०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा , दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी

भक्तपुर, १० माघ : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो ।

भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुले आयोजनासँग माग गरेका छन् । आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगरप्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् ।

राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताउनुभयो । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उहाँले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताउनुभयो । 

आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उहाँको भनाइ थियो । 

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्नेगरी गर्नुपर्ने बताउनुभयो । उहाँले सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिनुभयो । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुुभयो । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल रु तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो । 

कबाड व्यवसायीमाथिको धरपकड रोक्न जसपा नेपालको माग

काठमाडौँ, १० माघ : जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ ।

“महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

देशभर सञ्चालिन उद्योगलाई आवश्यक कच्चापदार्थ उपलब्ध गराउनाका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल कवाड व्यवसायमा निम्न आयस्तर भएका व्यक्तिहरु आबद्ध रहेको र खासगरी अधिकांश मधेशी समुदायको उपस्थिति रहेको यस क्षेत्रका व्यवसायी वर्षौंदेखि कानुनसम्मत तवरले काठमाडौँ उपत्यकामा व्यवसाय तथा सेवा गर्दै आएको र लाखौँलाखलाई रोजगार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी

प्रयागराज (भारत), १० माघ : गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ ।

यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दू धर्माबलम्बीहरुको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।

उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भुत आनन्द लिन सबैमा आह्वान गर्नुभयो । उहाँले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मेलाको रौनक

मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । मेलाको आकर्षणका रुपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ ।

मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ ।

यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ ।

दश करोड बढीले स्नान गरे
महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ ।

पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् ।

के हो महाकुम्भमेला
यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ ।

कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर २०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ  । 

‘डिजिटल’ महाकुम्भ 
भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भमेलामा विज्ञान प्रविधिको पनि भरपुर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रुपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरुदेखि डिजिटल भूमि ‘आवंटन’हरु र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरु, महाकुभ्भ २०२५ ले भक्तहरुलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरुमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबीचको मेलमिलापको नमूना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ ।

साइबर सुरक्षा
उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लेटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ ।

उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गर्नुभयो । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताउनुभयो ।

महाकुम्भमेलामा पहिलो दिन मकर सङ्क्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधरण भक्तजनका लागि केही असुविधा हुने समेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरुले सहज रुपमा महाकुम्भ स्नान गर्नेगरी विभिन्न घाटहरु निर्माण गरिएको छभने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुङ्गाहरु पर्याप्त मात्रामा उपलब्ध छ ।

महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुआत शङ्कराचार्यले गरेका थिए । जानकारहरुका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो  हो ।

नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरु महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरु प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबीच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ ।  त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ बर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ ।

अत्यधिक चिसोका कारण इटहरीका विद्यालय दुई दिन बन्द गर्ने निर्णय

धरान (सुनसरी)- अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।” 

गोल्डकपको उपाधि झापाको राजगढलाई

टक्सार (भोजपुर), १० माघ : भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले पाएको छ ।

बुधबार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै उपाधिको दाबेदार बनेको हो । निर्धारित समयमा दुवै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

निर्धारित समयपछिको पेनाल्टी सुट आउटमा भने राजगढले तिवारीभञ्ज्याङमाथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ राजगढका श्याम मुर्मू भए । पेनाल्टी सुट आउटमा राजगढका लागि श्याम मुर्मू, बादल तामाङ, हेमन्त लिम्बू र रोजिन कार्कीले गोल गरेका थिए भने तिवारीभञ्ज्याङका लागि सुजन मगर, सौर्य राउत र उमेश कार्कीले मात्र गोल गरे ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा गत माघ १ गतेदेखि बृहत् माघी मेला तथा गोल्डकप सुरु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद तीन र दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

विजेता तथा उपविजेताहरूलाई पूर्वमुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, पौवादुङमा खेलकुद विकास समितिका पदाधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दोस्रो संस्करणका रूपमा सञ्चालन भइरहेको प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए । नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, प्रदेश प्रहरी कार्यालय विराटनगर, आम्तेक ११ फुटबल क्लब, पौवादुङमा खेलकुद विकास समिति (क), छथर गाउँपालिका तेह्रथुम, कोटकालिका फुटबल क्लब, अरूण गाउँपालिका, राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटबल एसोसिएसन विराटनगर, तिवारीभञ्ज्याङ फुटबल क्लब, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटबल क्लब, अलस्टार फुटबल क्लब धरान र पौवादुङमा खेलकुद विकास समिति (बी) थिए ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १० माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै कणाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै लमजुङका गुरुङ

लमजुङ, १० माघः लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्नुहुन्छ । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्नुहुन्छ । बितेका २४ वर्ष उहाँलाई २४ दिन जस्तै लाग्छ । भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उहाँलाई भेडाका बथानको पछि लाग्दालाग्दैसमय बितेको पत्तै पाएन । भेडाबाख्रा पछि लागेको उहाँ आजसम्म तीनै भेडाबाख्राको पछिपछि लागिरहनुभएको छ ।

गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलोबाबाहरुले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुख्र्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आउनुभएको छ । उहाँले सुरुमा आफ्नोसहित २८ जनाको ८०÷९० वटा भेडाबाख्रा रहे पनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमु्रङको गरी ४५ घरका सानाठूला गरेर आठ सयभन्दा बढी भेडाबाख्रा रहेका सुनाउनुभयो । उहाँलाई तीन जनाले सघाउँदै आएका छन् ।

मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि सात सयवटा रहेको र एकै चोटि तीन सयवटा भेडाबाख्रा बिक्री गरेको र चार सय सङ्ख्याबाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भंडी गोठाला गुरुङले बताउनुभयो । उहाँले  भन्नुभयो, “यस भेडीगोठबाट बर्सेनि १५÷१६ लाख बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ । भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ । 

विशेषगरी दसैँतिहार, मङ्सिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गर्नुभयो । गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उहाँले सुनाउनुभयो । उहाँले तीनजना गोठालाहरुलाई वार्षिक रु एक÷एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताउनुभयो । भेडी बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ ।

चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उहाँले बताउनुभयो । आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान ग¥यो भने त्यही पनि नहुने उहाँको भनाइ छ । उहाँले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पैसाबाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जेजस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प नभएको गोठाला गुरुङले बताउनुभयो । 

आफ्नो पालासम्म आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।”  खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उहाँको भनाइ छ । लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दुःख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ उहाँले भन्नुभयो ।

यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकाले सबै भेडीगोठका भेडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताउनुभयो । भेडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

बाँकेमा बीस प्रजातिका चरा भेटिए

नेपालगञ्ज, १० माघ : केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।

चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उहाँले भन्नुभयो । त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उहाँको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिनुभयो । उहाँले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरुको बासस्थान सुरक्षित रहेको पाइएको बताउनुभयो । बर्सेनि हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ ।

युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री

काठमाडौँ, १० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको आज यहाँ उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको औँल्याउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले भ्रमण दशक कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ । “भ्रमण दशकको कार्ययोजना निर्माणमा मन्त्रालय जुटेको छ । दशक मनाउँदै गर्दा धेरै मेहेनत गर्नुपर्छ । भ्रमण दशकलाई परिणाममुखी बनाउन बजेटसहित आवशयक व्यवस्थापकीय काम जरुरी हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेष्टन प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवाको नेपालमा सुरुआतले नेपालको पर्यटन प्रवद्र्धनका साथै सम्पर्क सञ्जाल विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो । बेस्ट वेस्टर्न प्लस काठमाडौँका अध्यक्ष रामेश्वर अर्यालले होटल उद्योगलाई केवल एक व्यावसायिक प्रयासको रुपमा मात्र नभई नेपालको पर्यटन र आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने प्रतिविम्बका रुपमा बेष्ट वेस्टनलाई लिइएको उल्लेख गर्नुभयो ।

अमेरिकी चेन होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपालमा

विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपाल भित्रिएको छ । केएमसी ग्रुपका संस्थापकहरुकै प्रारम्भिक लगानीमा बेस्ट वेस्टन प्लस काठमाडौँ सञ्चालनमा आएको हो । योसँगै शिक्षा क्षेत्रमा अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

काठमाडौँको पिङ्गलास्थान स्थापित चारतारे स्तरको चेन होटले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको हो । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्यमार्फत स्तरीय सेवा प्रदान गर्ने जनाएको छ । दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौँ सहरको मनोरम दृश्यासहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन् । होटलमा एक हजार दुई सय ५० जनासम्म अट्ने दुई मुख्य हल छन् । फिटनेस र वेलनेस, स्विमिङ पुल रहेको छ ।

सात रोपनी क्षेत्रफलमा अवस्थित उक्त होटलमा ८४ शय्या छन् । जसमा चार सुइट रुम, सात प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम छन् । दुई रेसटुरेन्टहरु एक सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र एक सय ४० क्षमताका ला–रुफटप रेष्टुरेन्ट छभने दुई बहुउद्देश्यीय हल छन् । पब्लिक लिमिटेड कम्पनीअन्तर्गतको यो परियोजनामा रु एक अर्ब ५० करोड लगानीको रहेको छ । चाँडै आइपीओमा जाने योजनासहित होटलले जनाएको छ ।

बेस्ट वेस्र्टनका १९ किसिमका ब्रानडहरुले एक सयभन्दा बढी देशमा चार हजार आठ सयभन्दा बढी होटल तथा रिसोर्टहरुले आतिथ्य सेवा प्रदान गरिरहेका छन् । नेपालमा बेस्ट वेस्टर्न होलका लागि प्रमुख रणनीतिक साझेदार ट्राभियालिटीले नेपालको आतिथ्य क्षेत्रमा होटल व्यवस्थापन गरेको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

काठमाडौँ, १० माघ : काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताउनुभयो । कारणबारे उहाँले भन्नुभयो, “लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।” उहाँले अब बढ्ने समय पनि हुन लागेको बताउनुभयो ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उहाँले बताउनुभयो । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उहाँले बताउनुभयो ।

विभागले आज साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।

सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ, ९ माघ : काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुव्र्यवहार गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।

महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका वडा नं ४ बाट पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिइ सम्पर्कविहीन हुने गरेकोसमेत खुल्न आएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रनाउ चन्द काठमाडौँ प्रहरी प्रवक्ता

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । काठमाडौँ परिसरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले कार्यालयद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रनाउ चन्दलाई प्रवक्ता तोकिएको जानकारी दिनुभयो ।

रास्वपाद्वारा नेपाली खो–खो टोलीलाई सम्मान

काठमाडौँ, ९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ ।

भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डिपी)अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

उहाँहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिनुभयो ।

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौँ, ९ माघ : नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज एमालेको संसदीय दलले विज्ञहरु समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरुलाई जानकारी गराएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनहरुलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरुलाई जानकारी गराउनुभयो ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत, ९ माघ : गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिनुभएको हो ।

कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् ।

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुनुहुन्छ । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ हजार माइलको पैदल यात्रा गर्नुभएको थियो । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

त्यस्तै कटुवालले कोरोना सङ्क्रमणकालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराउनुभएको थियो । पानस हेल्पिङ ह्यान्डस् च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएको थियो । उहाँले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो ।

नेपालको विराटनगरमा जन्मिनुभएका कटुवाल सन् १९९८ मा बेलायत आउनुभएको थियो ।

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

पाटन (ललितपुर), ९ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताउनुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिनुभएको हो ।

“हाम्रो देश–भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, सभापति देउवाले भन्नुभयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताउनुभयो ।

उपसभापति धनराज गुरुङले दातृ निकायबाट ऋण लिने र कार्यान्वयन नहुने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसद्मा बहस चलाइने बताउनुभयो । “अर्थनीतिका बारेमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ, राजनीतिक उत्तेजनाका आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा निर्णय हुने व्यवस्था हामीले तय गर्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका सन्दर्भमा देशको रणनीति महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण रु एक हजार दुई सय ५३ अर्ब हाराहारीमा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अर्थविद् डाक्टर डिल्लीराज खनाल, पूर्वअर्थसचिव रामेश्वर खनाल, त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक सञ्जय दाहाल, अर्थविद् डाक्टर सेमन्त दाहाल र डाक्टर इन्द्रकुमारी अधिकारीले देशको वैदेशिक अर्थराजनीतिमा आधारित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर, ९ माघः पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । आज भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।

जितसँगै राजगढ फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । समापन कार्यक्रमको प्रमुखअथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई रहनुभएको थियो ।