`

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छः सभापति देउवा

Nepal One HD २३ साउन २०८२ २०:४१
राजनीति

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताउनुभएको छ ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पार्नुभयो । उहाँले आदिवासी जनजाति सङ्गठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताउनुभयो । सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *