`

मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

Nepal One HD २३ साउन २०८२ २१:२२
प्रमुख खबर

काठमाडौँ, २३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट मियाँले राजीनामा दिनुभएको थियो ।

रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरूको जिम्मेवारीमा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुख श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम शाहलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागका प्रमुखमा ललित श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता मनिष झाले पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले रणनीतिक समूह गठन, सङ्गठन विस्तार र सशक्त बनाउन केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यलाई जिल्लाजिल्लामा परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सो बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *