`

भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री

काठमाडौँ, १० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको आज यहाँ उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको औँल्याउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले भ्रमण दशक कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ । “भ्रमण दशकको कार्ययोजना निर्माणमा मन्त्रालय जुटेको छ । दशक मनाउँदै गर्दा धेरै मेहेनत गर्नुपर्छ । भ्रमण दशकलाई परिणाममुखी बनाउन बजेटसहित आवशयक व्यवस्थापकीय काम जरुरी हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेष्टन प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवाको नेपालमा सुरुआतले नेपालको पर्यटन प्रवद्र्धनका साथै सम्पर्क सञ्जाल विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो । बेस्ट वेस्टर्न प्लस काठमाडौँका अध्यक्ष रामेश्वर अर्यालले होटल उद्योगलाई केवल एक व्यावसायिक प्रयासको रुपमा मात्र नभई नेपालको पर्यटन र आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने प्रतिविम्बका रुपमा बेष्ट वेस्टनलाई लिइएको उल्लेख गर्नुभयो ।

अमेरिकी चेन होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपालमा

विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपाल भित्रिएको छ । केएमसी ग्रुपका संस्थापकहरुकै प्रारम्भिक लगानीमा बेस्ट वेस्टन प्लस काठमाडौँ सञ्चालनमा आएको हो । योसँगै शिक्षा क्षेत्रमा अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

काठमाडौँको पिङ्गलास्थान स्थापित चारतारे स्तरको चेन होटले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको हो । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्यमार्फत स्तरीय सेवा प्रदान गर्ने जनाएको छ । दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौँ सहरको मनोरम दृश्यासहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन् । होटलमा एक हजार दुई सय ५० जनासम्म अट्ने दुई मुख्य हल छन् । फिटनेस र वेलनेस, स्विमिङ पुल रहेको छ ।

सात रोपनी क्षेत्रफलमा अवस्थित उक्त होटलमा ८४ शय्या छन् । जसमा चार सुइट रुम, सात प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम छन् । दुई रेसटुरेन्टहरु एक सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र एक सय ४० क्षमताका ला–रुफटप रेष्टुरेन्ट छभने दुई बहुउद्देश्यीय हल छन् । पब्लिक लिमिटेड कम्पनीअन्तर्गतको यो परियोजनामा रु एक अर्ब ५० करोड लगानीको रहेको छ । चाँडै आइपीओमा जाने योजनासहित होटलले जनाएको छ ।

बेस्ट वेस्र्टनका १९ किसिमका ब्रानडहरुले एक सयभन्दा बढी देशमा चार हजार आठ सयभन्दा बढी होटल तथा रिसोर्टहरुले आतिथ्य सेवा प्रदान गरिरहेका छन् । नेपालमा बेस्ट वेस्टर्न होलका लागि प्रमुख रणनीतिक साझेदार ट्राभियालिटीले नेपालको आतिथ्य क्षेत्रमा होटल व्यवस्थापन गरेको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

काठमाडौँ, १० माघ : काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताउनुभयो । कारणबारे उहाँले भन्नुभयो, “लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।” उहाँले अब बढ्ने समय पनि हुन लागेको बताउनुभयो ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उहाँले बताउनुभयो । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उहाँले बताउनुभयो ।

विभागले आज साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।

सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ, ९ माघ : काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुव्र्यवहार गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।

महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका वडा नं ४ बाट पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिइ सम्पर्कविहीन हुने गरेकोसमेत खुल्न आएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रनाउ चन्द काठमाडौँ प्रहरी प्रवक्ता

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । काठमाडौँ परिसरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले कार्यालयद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रनाउ चन्दलाई प्रवक्ता तोकिएको जानकारी दिनुभयो ।

रास्वपाद्वारा नेपाली खो–खो टोलीलाई सम्मान

काठमाडौँ, ९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ ।

भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डिपी)अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

उहाँहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिनुभयो ।

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौँ, ९ माघ : नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज एमालेको संसदीय दलले विज्ञहरु समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरुलाई जानकारी गराएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनहरुलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरुलाई जानकारी गराउनुभयो ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत, ९ माघ : गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिनुभएको हो ।

कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् ।

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुनुहुन्छ । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ हजार माइलको पैदल यात्रा गर्नुभएको थियो । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

त्यस्तै कटुवालले कोरोना सङ्क्रमणकालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराउनुभएको थियो । पानस हेल्पिङ ह्यान्डस् च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएको थियो । उहाँले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो ।

नेपालको विराटनगरमा जन्मिनुभएका कटुवाल सन् १९९८ मा बेलायत आउनुभएको थियो ।

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

पाटन (ललितपुर), ९ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताउनुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिनुभएको हो ।

“हाम्रो देश–भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, सभापति देउवाले भन्नुभयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताउनुभयो ।

उपसभापति धनराज गुरुङले दातृ निकायबाट ऋण लिने र कार्यान्वयन नहुने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसद्मा बहस चलाइने बताउनुभयो । “अर्थनीतिका बारेमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ, राजनीतिक उत्तेजनाका आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा निर्णय हुने व्यवस्था हामीले तय गर्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका सन्दर्भमा देशको रणनीति महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण रु एक हजार दुई सय ५३ अर्ब हाराहारीमा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अर्थविद् डाक्टर डिल्लीराज खनाल, पूर्वअर्थसचिव रामेश्वर खनाल, त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक सञ्जय दाहाल, अर्थविद् डाक्टर सेमन्त दाहाल र डाक्टर इन्द्रकुमारी अधिकारीले देशको वैदेशिक अर्थराजनीतिमा आधारित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर, ९ माघः पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । आज भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।

जितसँगै राजगढ फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । समापन कार्यक्रमको प्रमुखअथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई रहनुभएको थियो ।

ट्रम्प जलवायुबाट पछि हटेको भए पनि विश्वव्यापी हरित ऊर्जाको दबाब जारी रहने सम्भावना : राष्ट्रसङ्घ

पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिने डोनाल्ड ट्रम्पको निर्णयले सम्झौताले सिर्जना गरेको नवीकरणीय ऊर्जा लगानीतर्फको विश्वव्यापी गतिलाई सुस्त पार्न नहुने संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

“धेरै देश हरित ऊर्जाको दिशामा अघि बढ्नेछन् भन्ने मलाई विश्वास छ”, संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का प्रमुख सेलेस्टे साउलोले भन्नुभयो ।

सोमबार पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न १९५ पक्षले अपनाएको सन् २०१५ पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा गर्नुभयो ।

आलोचकहरूले यो कदमले जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी सहकार्यलाई कमजोर पार्ने र अन्य देशहरूको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई कमजोर पार्नसक्ने चेतावनी दिएका छन् ।

तथापि डब्लुएमओ प्रमुख साउलोले एएफपी र रोयटर्ससँगको संयुक्त अन्तर्वार्तामा अमेरिकाको बहिर्गमनले हरित ऊर्जामा फाइदाजनक भइरहेको लगानीलाई रोक्न नसक्ने बताउनुभयो ।

“नवीकरणीय ऊर्जा स्रोतहरूतर्फको यात्रा जारी छ र… देशहरूलाई समृद्धि ल्याउँछ”, उहाँले स्विस स्की रिसोर्ट शहर डाभोसमा विश्व आर्थिक मञ्चको अवसरमा भन्नुभयो, “त्यो परिवर्तन हुनेछैन ।”

उहाँले ‘मानिसहरूले वास्तवमै धेरै फाइदाजनक र साथै हरित पहल भएका लगानीहरूबाट पछि हट्ने’ अपेक्षा नगरेको बताउनुभयो । “मलाई लाग्छ कि पेरिस सम्झौतासँगै सुरु भएको गति र प्रगति त्यहीँ छ”, उहाँले भन्नुभयो ।

– पूर्व चेतावनीहरू –

ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई पेरिस सम्झौताबाट फिर्ता लिनुभएको थियो तर सन् २०२१ मा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति जो बाइडेन पुनः प्रवेश गराउनुभएको थियो ।

ट्रम्प सत्तामा फर्किएको पहिलो दिन सोमबार गरिएको घोषणाले सम्झौताको नियमअन्तर्गत संयुक्त राज्य अमेरिका एक वर्षभित्र औपचारिक रूपमा बाहिर निस्कने सङ्केत गरेको छ ।

सन् २०२४ मा विश्वव्यापी औसत तापक्रम रेकर्ड उचाइमा पुगेको बेला उक्त घोषणा आएको छ । जबकि विगत दुई वर्षमा विश्व औसत तापक्रमले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियसको महत्त्वपूर्ण तापक्रम सीमा पार गरेको छ ।

ट्रम्पको कदमका बारेमा सोधिएको प्रश्नमा साउलोले भन्नुभयो, “यो एउटा सार्वभौम देशको निर्णय हो र हामीले यसलाई स्वीकार गर्न आवश्यक छ ।”

उहाँका अनुसार अब डब्लुएमओको ध्यान एजेन्सीसँग ‘अमेरिकाको बलियो सहयोग र संलग्नता जारी राख्ने’ मा केन्द्रित हुनेछ ।

विशेषगरी चरम मौसमी घटनाहरूको पूर्व चेतावनी प्रणाली स्थापना गर्ने कामलाई ‘असर नपर्ने’ उहाँले बताउनुभयो ।

चरम मौसमी घटनाहरू बढ्दै गएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई बाढी, खडेरी, गर्मीको लहर र आँधीको पूर्व चेतावनी प्रणालीले सुरक्षित गर्न चाहेको बताएको छ ।

साउलोले डब्लुएमओ र अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) बीचको घनिष्ठ सहयोगमाथि प्रकाश पार्नुभयो । एनओएएको काम ‘विश्वव्यापी रूपमा धेरै प्रभावकारी’ रहेकामा उहाँले जोड दिनुभयो ।

“म निश्चित छु त्यो उस्तै लाइनमा जारी रहनेछ, किनभने आसन्न विपत्तिहरूको पूर्व चेतावनी जारी गर्न जलवायु सूचनाको प्रयोग गर्ने सहित उनीहरूले जीवन बचाइरहेका छन्”, उहाँले भन्नुभयो, “म भन्न सक्छु कि संयुक्त राज्य अमेरिका निर्णय लिनका लागि जलवायु सूचनाको सबैभन्दा बढी प्रयोग गर्ने देशहरूमध्ये एक हो ।”

बङ्गलादेशद्वारा सरकार विरोधी कारबाहीविरुद्धको आदेश खारेज

बङ्गलादेशको शिक्षा मन्त्रालयले सरकार विरोधी ‘उत्तेजक गतिविधिहरू’ मा संलग्न शैक्षिक संस्था र विद्यार्थीहरूको रिपोर्ट गर्न अधिकारीहरूलाई दिएको आदेश गत वर्षको विद्यार्थी नेतृत्वको क्रान्तिको भावनालाई कमजोर पार्ने भन्ने आलोचनापछि बुधबार फिर्ता लिइएको छ ।

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको जन आन्दोलनले लामो समयदेखि सत्तामा रहनुभएकी स्वेच्छाचारी शेख हसिनालाई सत्ताच्यूत गरेको थियो र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

माध्यमिक शिक्षाका लागि मन्त्रालयको ‘अनुगमन र मूल्याङ्कन’ का निर्देशक अबेद नोमानीले हस्ताक्षर गरेको यो आदेश जनवरी २ मा जारी गरिएको थियो । यद्यपि सामाजिक सञ्जाल र पत्रपत्रिकामा प्रसारित भएपछि यो चर्चामा आएको थियो ।

शिक्षामन्त्री वाहिदुद्दीन महमुदले आदेशबारे आफूलाई जानकारी नभएको र यसलाई रद्द गरिएको बताउनुभयो । “माध्यमिक तथा उच्च शिक्षा निर्देशनालयलाई कुनै सूचना जारी गर्न निर्देशन दिइएको थिएन”, उहाँले भन्नुभयो, “यस विषयको छानबिन गरिनेछ ।”

अहिले रद्द गरिएको आदेशले अधिकारीहरूलाई ‘प्रचार, गलत सूचना वा दुष्प्रचारका कारण विद्यार्थीहरूलाई सरकार वा देश विरुद्ध उत्तेजक कार्यहरूमा संलग्न हुनबाट रोक्न सतर्क र सक्रिय रहन’ भनेको थियो ।

यसले ती कार्यहरूमा के समावेश हुनसक्छ भन्ने बारे स्पष्टीकरण दिएको थिएन ।

“आवश्यक कारबाही गर्न सकियोस् भनेर कुनै पनि शैक्षिक संस्था वा विद्यार्थी उत्तेजक गतिविधिमा संलग्न छन् कि छैनन् भनेर अधिकारीहरूले सम्बन्धित निकायलाई सूचित गर्नुपर्छ”, यसमा भनिएको थियो ।

सर्वोच्च अदालतका वकिल स्नेहाद्री चक्रवर्तीले यसलाई संवैधानिक अधिकारको स्पष्ट उल्लङ्घन भएको बताउनुभएको थियो ।

“जनताको अभिव्यक्ति स्वतन्त्रता र वाक् स्वतन्त्रता कुण्ठित भइरहेका कारण विद्यार्थी नेतृत्वको प्रदर्शनले एक पटक पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो”, चक्रवर्तीले भन्नुभयो, “पाँच महिना भित्रै सरकारका केही समूहले उहाँकै कार्यहरूको प्रतिध्वनि गरेको देखिन्छ, यस प्रकारको सूचना धेरै ज्यान लिएको जन आन्दोलनको भावनासँग मेल खाँदैन ।”

अन्तरिम सरकारका अनुसार अगस्ट ५ मा हसिनाको सरकार हटाउने आन्दोलनमा आठ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो

काठमाडौँ, ९ माघः सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको छैटौँ मासिकको पुण्यतिथि (छ महिना) मा नेपाल पत्रकार महासङ्घको सहयोगमा आज आयोजित अन्तरक्रियामा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिनेगरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको गुनासो गरेका हुन् । गत साउन ९ गते भएको दुर्घटनामा १८ जनाको ज्यान गुमाएका थिए ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचनले महासङ्घ आबद्ध परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताउँदै पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित एयरलाइन्स पक्षलाई कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैका कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरू कुनै पनि हुँदैन ।”

वरिष्ठ पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको बताउँदै एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो । पीडित परिवारलाई न्याय उपलब्ध गराउन आफूले अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । उक्त जाहाज दुर्घनामा परी पत्रकार खतिवडाको छोरी, ज्वाइँ र नाति निधन भएको थियो ।

“घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस्,” पत्रकार खतिवडाले भन्नुभयो, “नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न सामाजिक अभियानहरू चलाउन सकियोस् । घटनामा उहाँको छोरी, ज्वाइँ र नातिले ज्यान गुमाएका थिए ।”

कार्यक्रममा महासङ्घका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासङ्घसहित सञ्चारजगत्को साथ, सहयोग र खबरदारीको अपेक्षा पीडितपक्षले गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द

धनगढी (फाप्ला), ९ माघः बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल रद्द भएको छ ।

आज बिहान ११ बजेका लािग तय गरिएको उक्त खेल दिउँसो १ः१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द गरिएको रेफ्री मोहम्मद सफिकले जानकारी दिनुभयो ।

खेल रद्द भएपछि दुबै टोलीले १/१ अङ्क बाँडेका छन् । समूह बी मा रहेका कोशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टोली हुन् ।

यो समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फोरमा पुगेका छन् । समूह ‘ए’ बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा सुरक्षित छन् । सुपर फोरका खेल बिहीबारदेखि हुनेछ ।

पहिलो सुपर फोरको खेलमा बिहान ९ बजे एपिएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की

धरान (सुनसरी), ९ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताउनुभएको छ । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उहाँको भनाइ छ ।

आज सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै उहाँले सशस्त्र प्रहरी बललाई सीमालगायतका महत्त्वपूर्ण स्थानमा खटाउनु आजको आवश्यक्ता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खुल्ला सीमाका कारण नेपालको व्यापार, उद्योग, शिक्षा स्वास्थ्य क्षेत्रमा क्षति बेहोर्नुपरेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्टका क्षेत्रमा हुने चोरी डकैती जस्ता गतिविधिमा गरेको सुरक्षा जाँचले प्रदेशमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

सशस्त्र प्रहरीले राष्ट्र र नागरिकको सेवालाई सधँै प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी मुलुक र राष्ट्रको सेवा र समर्पण भावप्रति सधैँ अन्तरनिहित हुन जरूरी रहेकाले सङ्गठनको नीति, निर्देशन प्राथमिकतामा राखी आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।”

सङ्खुवासभाबाट सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा एक अर्ब २४ करोड भित्रियो

किमाथाङ्का, (सङ्खुवासभा), ९ माघः चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । विविध कारणले उत्पादन घटेपनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो । भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ । एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।

अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख १५ हजारमा बिक्री भइरहेको छ । जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।

यो परियोजना सङ्खुवासभाका १० स्थानीय तह र भोेजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो ।

कुनै पनि बहानामा वर्तमान सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

गण्डकी, ९ माघ : उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पार्नुभएको छ ।नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।

मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उहाँले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पार्नुभयो ।

यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उहाँले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो । 

एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवा पैmलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

जनताको घरदैलोमा पार्टी पुर्‍याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले वर्तमान सरकार गठन भएदेखि नै आर्थिक सूचकहरू सन्तोषजनक देखिएको बताउँदै समृद्धिका लागि युवालक्षित कार्यक्रमलाई महत्त्व दिनुपर्ने धारणा राख्नुभयो ।

एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दर्शन लामाले आन्तरिक पार्टी निर्देशनलाई पूर्ण रूपमा पालनासहित कार्यान्वयमा गर्दै आएको स्पष्ट पार्नुभएको थियो ।

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला

मोरङ, ९ माघः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताउनुभएको छ । आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पार्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, “छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।” संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । उहाँले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताउनुभयो । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गर्नुभयो ।

सुडानको युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन

अहिलेसम्म १० लाखभन्दा बढी मानिस सुडानको युद्धबाट छिमेकी देश दक्षिण सुडानमा भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यस तथ्याङ्कले मानवीय सङ्कटलाई चित्रण गरेको राष्ट्रसङ्घले बताएको छ । सन् २०२३ अप्रिलमा सुडानको सेना र प्रतिद्वन्द्वी अर्धसैनिक समूहबीच द्वन्द्व सुरु भएयता दशौँ हजारको मृत्यु भएको छ र एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रसङ्घको नयाँ तथ्याङ्कअनुसार पछिल्लो २१ महिनामा जोडा सीमा नाकाबाट ७७ हजारभन्दा बढी मानिस भागेका छन् र अन्य स्थानबाट पनि दशौँ हजार मानिस दक्षिण सुडान प्रवेश गरेका छन् । यो पलायनले कूल सङ्ख्या १० लाख पु¥याएको छ ।

राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसिआरका अनुसार सीमा पार गर्ने १० लाख मानिसमध्ये अधिकांश दक्षिण सुडानी नागरिकहरू हुन् । उनीहरू विश्वको सबैभन्दा नयाँ देशमा भएको गृहयुद्धबाट पहिले नै भागेका थिए ।

“दक्षिण सुडानमा १० लाखभन्दा बढी मानिसको आगमन एउटा स्पष्ट र गम्भीर तथ्याङ्क हो र यसले वास्तवमा यो सङ्कटको बढ्दो परिमाणलाई देखाउँछ”, युएनएचसिआरका साना अब्दुल्ला ओमरले भन्नुभयो, “दक्षिण सुडानका जनताले असाधारण उदारता देखाउँदै छन्, आवश्यकतामा परेकाहरूलाई स्वागत गर्दै र आफूसँग भएका सीमित स्रोतहरू बाँड्दै छन्, तर उनीहरूले यो विशाल जिम्मेवारी एक्लै बोक्न सक्दैनन् ।”

संयुक्त राष्ट्रसङ्घको संयुक्त वक्तव्यले दक्षिण सुडानमा स्वास्थ्य सेवा, पानी र आश्रय जस्ता स्रोतहरू ‘खतरनाक रूपमा अत्यधिक तनावग्रस्त’ भएको चेतावनी दिँदै विस्थापित मानिसहरू र उनीहरूलाई आश्रय दिने समुदायहरू दुवैका लागि थप सहयोगको आह्वान गरेको छ ।

दक्षिण सुडानको उत्तरी सिमानामा रहेको रेन्क काउन्टीमा दुई ट्रान्जिट केन्द्र पाँच हजारभन्दा कम मानिसका लागि डिजाइन गरिएको थियो तर अहिले १६ हजारभन्दा बढी मानिसलाई राखिरहेको वक्तव्यमा उल्लेख छ । 

प्रहरीका अनुसार गत हप्ता दक्षिण सुडानमा सुडानी नागरिक विरोधी प्रदर्शन लुटपाट र हिंसामा परिणत भएपछि १६ जना सुडानी नागरिक मारिएका थिए ।

सुडान विश्वको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटबाट गुज्रिरहेको छ र देशका केही भागमा अनिकाल घोषणा गरिएको छ ।

युद्धले सुडानी सेना प्रमुख अब्देल फत्तह अल–बुरहान र उहाँका पूर्व उप–प्रमुख मोहम्मद हमदान दागलोबीच द्वन्द्व निम्त्याएको छ । दागलोले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को कमान्ड गर्नुहुन्छ । दुवै पक्षलाई युद्ध अपराधको आरोप लागेको छ, जसमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गर्ने समावेश छन् ।

आरएसएफलाई विशेष गरी जातीय सफाया, व्यवस्थित यौन हिंसा र सम्पूर्ण सहरमा घेराबन्दी गरेको आरोप लगाइएको छ ।

नोभेम्बरमा गरिएको एक अनुसन्धानले रोग र भोकमरीलगायत सबै कारणबाट भएका मृत्युलाई समावेश गर्दा युद्धको पहिलो १४ महिनामा ६१ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेको थियो ।

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ ।कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्यो ।

साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् ।मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ ।केही उद्योग पर्यवेक्षकहरूले सम्भावित आपूर्ति अभावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश लोकसेवा आयोगप्रति जनविश्वास : प्रदेश प्रमुख खापुङ

मोरङ, ९ माघः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहको बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको सेवाका लागि दक्ष जनशक्ति सिफारिस गर्न आयोगको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा जनताप्रति उत्तरदायी हुन सक्षम, सुदृढ र सबल कर्मचारी छनोटमा अझ चनाखो भई काम गर्न सुझाव दिनुभयो ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोकसेवा आयोगले मर्यादा र उचाई वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवन निर्माण आगामी वर्षदेखि सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा जनतामैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निष्पक्ष कार्यले दुर्गम क्षेत्रका युवा उच्च पदमा आउन सफल भएको बताउनुभयो ।

आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईं, सदस्य सजना दाहाल, टीकादत्त राई, सचिव तीर्थप्रसाद धिताल र प्रा कृष्ण पोखरेलले आयोगले गोपनियताका कायम राखी निष्पक्ष, निर्विवाद ढङ्गले कार्य गरिरहेको बताउनुभयो ।

सोही अवसरमा प्रदेश प्रमुख खापुङलगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । आयोगमा हालसम्म तीन लाख ३८ हजार तीन सय ४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन्, भने दुई हजार एक सय दुई जनालाई विभिन्न पदमा नियुक्ति सिफारिस गरिसकेको छ ।

वन्यजन्तुको आक्रमणबाट दाउरा काट्न गएकी बुढाथोकीको मृत्यु

जानकी (बाँके), ९ माघः वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ ।

“मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौँ”, उहाँले भन्नुभयो, “मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन ।

यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ ।” वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो ।

सरकारले सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था गर्ने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताएका छन् ।

२४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा बुधबार हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताए ।

‘दंग तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको छ,’ गृहमन्त्रीले भने, ‘कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ ।’

गृहमन्त्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र संघीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गरेका थिए । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको उनको भनाइ छ ।

सरकार सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधाको विस्तारमा सधैँ प्रतिबद्ध रहेको जनाउँदै गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ थप प्रभावकारी संगठनको रूपमा विकास गर्न आवश्यक सबै पक्षलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

इमान्दारिता पूर्वक कर्तव्य निर्वाह गर्ने सन्दर्भमा आइपर्ने कुनैपनि समस्यामा सकल दर्जाको पेसागत सुरक्षाका लागि नेपाल सरकार र गृह मन्त्रालय अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाउँदै उनले सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई केही दिनभित्रै संसद्मा दर्ता गरिने बताए । सम्पुर्ण अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको जानकारी दिँदै उनले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिएको बताए ।

मुलुकको अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न दशगजाको सरसफाइ, अवैध संरचना र खेती हटाउने कार्यलाई समकक्षीसँग समन्वय गरेर अघि बढाइएको बताए । उनले सीमा इलाकामा हुने अवैध चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

सबै सुरक्षा निकायसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक वहन गर्दै सरकारको निर्देशनलाई पालना गरेर सकलदर्जा परिचालित हुँदै आएको स्पष्ट पारेका थिए ।

समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नं ३ गढीमाई बाहिनीका प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेका थिए । त्यसअवसरमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपिएफ वर्ष पुस्तक’ लोकार्पण गरेका थिए ।

सो क्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यसअवसरमा भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।

सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यसवर्ष लागुऔषध विरूद्धको वर्ष मनाउने निर्णय गरेको छ ।

चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व संकलनमा योगदान गरेको छ ।

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गर्नुभयो ।

विपद्मा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरणमा हातेमालो गर्ने उद्देश्यले सङ्गठनका अधिकृतबाट सङ्कलित रकम हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ९ माघ : नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पाउनेछ । 

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनअन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए । 

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

भद्रपुर (झापा), ९ माघः चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ ।

लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताउनुभयो । “सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

गलकोट (बागलुङ), ९ माघः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”

नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु, ९ माघः थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बल २४औँ वर्षमा

काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।

सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ ।

मुलुकका सबै जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी ‘डेडिकेटेड’ सीमा सुरक्षा बलका रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ । भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा दुई सय ५४ वटा ‘बोर्डर आउट पोष्ट’मार्फत आफ्नो कर्तव्य निर्वाहमा जुटेको छ ।

देशको दक्षिणी सीमातर्फ दुई सय एक, पूर्वमा २२, पश्चिममा २१ र उत्तरमा १० वटा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलन्द्र थापाले राससलाई जानकारी दिनुभयो । सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले भारत र चीनका सीमा सुरक्षा संयन्त्रसँगको सहकार्यमा सीमा सुरक्षा तथा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रु एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा रु एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको सहप्रवक्ता थापाले बताउनुभयो ।

विसं २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधानकार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा स्थापना दिवस स

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

खजुरा । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।

सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताउनुभयो । चिसोले दमका बिरामी बढेका उहाँले बताउनुभयो । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् ।

बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो । यहाँ उपचारार्थ आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा ठाकुरले बताउनुभयो । जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।

अमेरिकाका नवनियुक्त राष्ट्रपति ट्रम्पलाई रास्वपाको शुभकामना

काठमाडोँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ । रास्वपाले आज काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गर्नुभएको ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

पार्टीले इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनःबहालीले अमेरिकी इतिहासमा उहाँको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख गरेको छ । “सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ”, कार्यबाहक प्रवक्ता रावलले भन्नुभयो ।

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

साथै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने र पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण, यस्तो छ नयाँ दर

काठमाडौँ, ९ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ६०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ६०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु २९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ७०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

तेह्र करोड १२ लाखमा कालीगण्डकी नदीमा मोटर चल्ने पुल निर्माण

ढोरपाटन (बागलुङ), ९ माघ:कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उहाँले सुनाउनुभयो ।

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

दमौली (तनहुँ), ९ माघ : जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।

एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ । भानु नगरपालिकाका एक हजार चार सय ९५, व्यास नगरपालिकाका तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकाका छ सय ५७, बन्दीपुर गाउँपालिकाका नौ सय ३९, आँबुखैरेनी गाउँपालिकाका एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकाका सात सय ६६, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय छ, भिमाद नगरपालिकाका एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकाका पाँच सय ८० र ऋषिङ गाउँपालिकाका सात सय ८७ जनामा खोप लगाइनेछ ।

हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन गरिने अधिकारीले बताउनुभयो ।

करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपिभी खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप छ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो ।

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताउनुभयो ।

मानिसहरु इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ ।

उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा आराले बताउनुभयो ।“नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,” उहाँले बताउनुभयो ।
राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी, ९ माघः बेनीमा आयोजना भएको आठाँै म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा रु १० करोड बराबरको कारोबार भएको जनाइएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा गत पुुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा एक लाखले अवलोकन गरेको र रु १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

“हाम्रो लक्ष्य अनुसार नै कारोबार गर्न र दर्शक भित्र्याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “टिकट बिक्रीबाट मात्रै करिब रु ५० लाख आम्दानी भएको छ ।” महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल पनि राखिएको थियो । 

महोत्सवमा पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गीत, पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोक नृत्य प्रतियोगिता र विभिन्न जातजातिको भाँकी प्रदर्शन गरिएको थियो । 

म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव सहयोगी भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई महोत्सवसँग जोडिएको बताउनुभयो । 

चीन र भारतको व्यापारिक प्राचीन रेशमीमार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

दुई सय वर्ष पहिले बेनीमा चीन र भारतसम्मका मानिसहरु माघे सङ्क्रान्ति मेलामा किनमेलका लागि आउने गर्दथे । सोही सिलसिलामा काठमाडौँ उपत्यकाका नेवार समुदाय बेनीमा बसाइ सरेर आएको र यहाँ बस्ती बसेका थिए । 

‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’ : अध्यक्ष ढकाल

म्याग्दी, ९ माघः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताउनुभएको छ ।
बेनीमा मङ्गलबार आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताउनुभयो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट लगानी प्रवर्द्धनमा मद्दत पुग्ने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । “सरकारका तर्फबाट भएको कानुन परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।”

कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन, कानुनका कारण सङ्कुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझावअनुसार सरकारले अध्यादेश जारी गरेको अध्यक्ष ढकालको कथन थियो । उहाँले म्याग्दीका उद्योगी, व्यवसायीहरूले तयार पार्ने कृषि, पर्यटन, जलस्रोतसम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासङ्घमार्फत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षण गर्न महोत्सव सफल भएको बताउनुभयो ।

पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका दुई सय ३० वटा व्यापारिक स्टल थिए । महोत्सवमा रु १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । 

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८६ पैसा र बिक्री दर आठ रुपैयाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । 


राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ । 

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौँ, ९ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको छ । उहाँको उक्त घोषणापछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकालले पेरिस सम्झौताबाट अमेरिका बाहिरियो भने त्यो अन्य मुलुकका लागि राम्रो नहुने बताउनुहुन्छ । “अमेरिका जस्तो धनी र शक्तिशाली मुलुक बाहिरिनु राम्रो होइन, यसको असर अन्तर्राष्ट्रिय समुदायमा पनि पर्छ”, उहाँले भन्नुभयो, “अमेरिका पेरिस सम्झौताबाट बाहिरिए पनि हामी जलवायु परिवर्तनका मुद्दा छाड्दैन, हामीले दुईपक्षीय सम्बन्धका आधारमा सहयोग ल्याउन सक्नुपर्छ ।”

जलवायुविद् राजु पण्डित क्षेत्रीले अमेरिका जस्तो मुलुक नै जलवायुजन्य सङ्कट न्यूनीकरणका लागि भएको पेरिस सम्झौताबाट हट्दा अन्य शक्तिशाली मुलुकहरु पनि कार्यान्वयनबाट पछि हट्न सक्ने बताउनुहुन्छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) द्वारा प्रकाशित सन् २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको र वर्ष २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा उल्लेख गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जलवायुजन्य विपद् बढ्दै जाने जोखिम रहेको समयमा सम्झौता कार्यान्वयनबाट शक्तिशाली मुलुक नै पछि हट्दा त्यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपर्छ ।”

उनले अमेरिका विश्वमा दोस्रो हरितगृह ग्यास उत्सर्जन गराउने मुलुकमा पर्ने उल्लेख गर्दै उहाँले जलवायुजन्य सङ्कटसँग लड्नका लागि अमेरिकाकै जिम्मेवारी बढी हुने बताउनुभयो । पण्डितले भन्नुभयो, “अमेरिका पेरिस सम्झौता कार्यान्वयन गर्ने नैतिक दायित्वबाट पछि हट्दा जलवायु सङ्कट समाधानमा असर त पर्छ नै तर अन्य मुलुकहरु त्यसैगरी हट्दै जाने हो भने समस्या अझ थपिन्छ, अन्य मुलुक सम्झौता कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ ।” 

एनसिक्यूजी कार्यान्वयनमा समस्या

गत कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन सम्पन्न भएको थियो । 

कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्यूजी) मा भएको सहमतिलाई उपलब्धिका रुपमा हेरिएको थियो । विकसित देशहरुले विकासोन्मुख देशलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धिको रुपमा विश्लेषण गरिएको थियो । यद्यपि विकासोन्मुख राष्ट्रहरुको माग भने वार्षिक एक दशमलव तीन ट्रिलियन डलर थियो । 

मागअनुसार निकै कम जलवायु वित्त उपलब्ध गराउने धनी मुलुकको प्रतिबद्धतामा अतिकम विकसित मुलुकको समूह एलडिसीले कोपको नतिजा उपलब्धिमूलक नभएको भन्दै असन्तुष्टि जनाएको थियो । कोप–२९ मा प्रतिबद्धता जनाइएअनुसारको तीन सय बिलियन अमेरिकी डलरसमेत उपलब्ध नभई एनसिक्युजी कार्यान्वयनमा चुनौती देखिने आशंका रहेका जलवायु तथा विपद् व्यवस्थापन विद् डा धर्मराज उप्रेतिको भनाइ छ । 

“बढ्दो जलवायुको सङ्कटअनुसार तीन सय विलियन डलर अमेरिकी डलर जलवायु वित्त अपुग नै हो । त्यसमाथि धनी र शक्तिशाली मुलुक नै दायित्वबाट पछि हट्दा सो रकम समेत उपलब्ध नहुने हो कि डर छ”, उहाँले भन्नुभयो, “यसका साथै हरित जलवायु कोष, अनुकूलन कोष, हानी नोक्सानी कोष जस्ता बहुपक्षीय कोषहरु छन्, यी कोषको वित्तीय आकार नबढ्ने सम्भावना उत्तिकै छ ।” जलवायु परिवर्तनका कारण गरिब देशमा बढ्दो बाढीपहिरो, आँधी र खडेरीललगायतका प्राकृतिक विपद् सम्बोधन गर्न ‘नोक्सानी र क्षति कोष’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । 

कार्बन उत्सर्जन कटौतीको लक्ष्य कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौता कार्यान्वयन नभए विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा चुनौती थपिने जलवायु व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्माको टिप्पणी छ ।

“स्वच्छ ऊर्जा प्रयोगमा पनि अमेरिका अगाडि छ, भूराजनीतिक परिभेषमा पेरिस सम्झौता कार्यान्वयन व्यावहारिक रुपमा कसरी अगाडि जान्छ हेर्नुपर्छ, यद्यपि यसबाट अमेरिकापछि हट्छ भन्ने मलाई लागेको छैन”, उहाँले भन्नुभयो । 

सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धिदर एक दशमलव चार डिग्री सेल्सियस छ । त्यसमध्ये एक दशमलव तीन डिग्री सेल्सियस मानवकै कारण वृद्धि भएको डब्ल्युएमओको अध्ययनले देखाएको छ ।  

समुद्री तापक्रममा उल्लेखनीय वृद्धि, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको डब्ल्युएमओको भनाइ छ । एल निनो प्रभावले तापक्रम वृद्धि थप बढाएको उसको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सतह सन् २०१४ देखि २०२३ सम्म वार्षिक चार दशमलव ७७ मिमीले बढेको छ । सन् २०२३ मा ग्लेसियरबाट एक दशमलव दुई मिटर पानी बराबरको बरफ गुमाएको र यो सन् १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना भएको सङ्गठनको भनाइ छ । 

सङ्गठनले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वव्यापी रुपमा जलवायुको बढ्दो सङ्कटबारे चिन्ता व्यक्त गर्नुभएको थियो । युएन तथा गुटेरेसले पछिल्लो समय जलवायुको सङ्कट बढिरहेको र यसले भविष्यमा भयावह अवस्था सिर्जना गर्न सक्ने भन्दै पछिल्लो समय जलवायुजन्य सङ्कटबारे चिन्ता जनाएका छन् । 

हिमाल सुरक्षामा चुनौती

तापमान वृद्धि दरलाई रोक्ने पेरिस सम्झौता कार्यान्वयन नभए नेपालका पर्वतीय क्षेत्रलाई अझै बढी असर गर्ने र हिमालबाट हिउँ पग्लने क्रम अझै बढ्न सक्ने सम्भावना रहने जलवायु अभियन्ता गीता पाण्डेको बुझाइ छ । “विश्वमा बढ्दै गएको तापमान वृद्धिसँगै हिमालबाट हिउँ पग्लिएर कालापत्थरमा परिणत हुने खतरा छ, सम्झौता कार्यान्वयनबाट अमेरिकापछि हट्दा तापमान वृद्धिदरलाई सीमित राख्ने लक्ष्य पूरा नहुन सक्छ । यसको मार नेपाल जस्ता मुलुकले भोग्नुपर्ने उहाँको भनाइ छ ।

एसियाली विकास बैंक (एडीबी) को एक अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणाभन्दा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिम नदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । 

जलवायु अभियन्ता अभिशेक श्रेष्ठले विश्वको तापमान अभूतपूर्व रुपमा नयाँ स्तरमा पुगिरहेको वैज्ञानिकले दिइरहेको चेतावनीलाई बेवास्ता गर्दै अमेरिका उक्त सम्झौताबाट बाहिरियो भने उसको असर विश्वव्यापी हुने बताउनुहुन्छ । “पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु कसैका लागि राम्रो होइन, विश्वको सबैभन्दा ठूलो कार्बन उत्सर्जक र प्रमुख जीवाश्म इन्धन उत्पादक अमेरिकाले कार्यान्वयनको दायित्व लिनुपर्छ”, उहाँले भन्नुभयो । 

आन्तरिक गृहकार्यमा जोडबल आवश्यक

पेरिस सम्झौता कार्यान्वयनबाट अमेरिकापछि हटे नेपालले आन्तरिक क्षमता बढाउँदै जानुपर्ने विज्ञहरुको जोड छ । जलवायु अभियन्ता राजन थापा नेपाल जस्ता मुलुकले आर्थिक र प्राविधिक क्षमता अभिवृद्धि गरी अघि बढ्न सक्ने देखिएको बताउनुहुन्छ ।

“अमेरिका पेरिस सम्झौताबाट निस्कन सक्छ भन्ने पहिले आँकलन गरिएको थियो, यसबाट जलवायु वित्त सहयोगका लागि एउटा मात्रै मुलुकसँग भर पर्नुहुँदैन भन्ने सिकाएको छ”, उहाँले भन्नुभयो । अन्य मलुकसँग सहकार्य बढाएर जलवायु वित्त सहयोग ल्याउन सकिने उहाँको भनाइ छ । 

के हो पेरिस सम्झौता ?

सन् २०१५ मा जलवायु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २१औँ शिखर सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । विश्वका एक सय ९० भन्दा बढी देश सम्मेलनमा सहभागी थिए । उपस्थित पक्ष मुलुकले विश्वको तापमान वृद्धिले जलवायु सङ्कट निम्ताइरहेको र कालान्तरमा पृथ्वीको अस्तित्व नास हुनसक्ने खतरा रहेको निष्कर्षसहित विश्व तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने महत्वपूर्ण एजेण्डामा सम्झौता भएको थियो । सोही सम्झौतालाई ‘पेरिस जलवायु सम्झौता’ का नामले चिनिन्छ । यो लक्ष्य निर्धारणका लागि कार्बन उत्सर्जन कटौतीसम्बन्धी नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । 

पेरिस सम्झौतालाई एक ऐतिहासिक कदमको रुपमा लिने गरिएको छ । यो सम्झौता नैतिक बाध्यकारी रहे कानुनी रुपमा बाध्यकारी भने छैन । जलवायु प्रदूषण घटाउन कानुनी रूपमा बाध्य भएका कारण कुनै पक्ष मुलुक सम्झौताबाट बाहिरिन नपाउने प्रावधान छैन । 

पेरिस सम्झौतामा प्रमुख वार्ताका अगुवाहरू नै अमेरिकन थिए । उक्त सम्झौता सन् २०१५ मा बाराक ओबामा प्रशासनको समयमा भएको थियो । राष्ट्रपछि ट्रम्पले सन् २०१७ मा अमेरिका पेरिस सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको थियो । तर जो बाइडेनले चुनाव जितेपछि बाहिरिने घोषणा कार्यान्वयन भएको थिएन । जो बाइडेनले कार्यभारको जिम्मा दिएकै पहिलो दिन पेरिस सम्झौतामा पुनःसामेल हुने घोषणा गर्नुभएको थियो । अमेरिकाले गत डिसेम्बरमा सन् २०३५ सम्म सन् २००५ स्तरको तुलनामा ६६ प्रतिशतसम्म जलवायु प्रदूषण कम गर्ने लक्ष्य लिएको थियो ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, ९ माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छभने बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।