सरकारले नै शिक्षा विधेयक अड्काएको प्रचण्डको आरोप


काठमाडौँ, २२ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउनै ढिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको सार्वजनिक शिक्षा सुधारतर्फ ध्यान छैन ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विद्यार्थीका लिखित प्रश्नको जवाफ दिने क्रममा संसद्बाट विद्यालय शिक्षा विधेयक पारित भएका खण्डमा र उच्चस्तरीय शिक्षा सुधार आयोगका सुझाव कार्यान्वयन गरेका खण्डमा वर्तमान शिक्षाका समस्या धेरै हल हुने पनि बताउनुभयो ।
अध्यक्ष दाहालले आफू नेतृत्वको सरकार हुँदा विश्वविद्यालयमा हुने राजनीतिक भर्ती केन्द्रलाई तोडेर मेरिटोक्रेसिमा नियुक्तिको थालनी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्काे क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन ।”
उहाँले शिक्षामा आमुल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । अहिले विद्यालय शिक्षा विधेयक पारित भएर ऐन बनेका खण्डमा धेरै समस्याहरु हल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले त्यसलाई छिटो कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनुभयो ।
शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । अहिलेसम्म पनि शिक्षामा सुधार हुन नसक्नु विडम्बना भएको बताउँदै अध्यक्ष दाहालले सोचेअनुसारको सुधारात्मक शिक्षा नीति कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्नुभयो ।
सङ्घीय निजामती ऐनमा ‘कुलिङ पिरियड’ जस्तै शिक्षा विधेयकमा पनि जालझेल भएको जानकारी गराउँदै ती कर्मचारीलाई नसिहद दिएर फेरि विधेयक दर्ता गरिएको बताउनुभयो । उहाँले जीवनोपयोगी, सीपयुक्त र रोजगारमूलक शिक्षा नै आजको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो ।