`

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं : सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याउनुभएको हो ।

विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताउनुभयो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराउनुभयो । उहाँले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताउनुभयो ।

त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै उहाँले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताउनुभयो । यस्तै विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गर्नुभयो ।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहनुभएकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ । तस्बिर : सुरेन्द्र थापा

पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश

सिरहा – नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत्् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताउनुभएको छ । सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरूङ्गा फ्यृज सेवा तथा महसुल सङ्कलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताउनुभयो ।

“अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ”, प्रादेशिक प्रमुख कुसियतले भन्नुभयो, “अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।” उहाँका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ भने सिरहा जिल्लाको धनगढीमाई, मिर्चैया नगरपालिकालगायत केही क्षेत्रमा विस्तारको काम भइरहेकाले पूर्ण विद्युतीकरण घोषणा गर्न केही ढिला हुन गएको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रका प्रमुख सन्योक विश्वकर्माले लक्ष्मीपुर–सुरूङ्गा फ्युज सेवा तथा महसुल सङ्कलन काउण्टर आजदेखि सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई घर नजिकबाट सेवा प्राप्त गर्न सहज भएको बताउनुभयो ।

सुरूङ्गा नगरपालिका–३ को वडा कार्यालयसँगै जोडिएको नवउद्घाटित फ्युज सेवा तथा विद्युत् महसुल सङ्कलन काउण्टर भवन नगरपालिकाले उपलब्ध गराएको हो । यस विद्युत् केन्द्रबाट १० हजार सेवाग्राही लाभान्वित हुने वडाध्यक्ष किरणकुमार पोखरेलले बताउनुभयो ।

पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई

म्याग्दी, ८ माघ : रू एक लाख ५१ हजार पुरस्कार राशीको पालिकास्तरीय पुरूष भलिबलको उपाधि म्याग्दीको बेनी नगरपालिकाले जितेको छ । महिलातर्फ अन्नपूर्ण गाउँपालिका विजयी भएको छ ।

बेनीमा आज भएको फाइनलमा मालिका गाउँपालिकालाई एकका विरूद्ध तीन सेटले पछि पार्दै बेनी विजयी भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घ, खेलकुद विकास समिति म्याग्दी र जिल्ला भलिबल सङ्घ म्याग्दीको आयोजनामा माघ ३ गतेदेखि प्रतियोगिता सुरू भएको थियो ।

बेनीले पहिलो, दोस्रो र चौथो सेट २५–१७, ३०–२८,२५–१६ र मालिकाले तेस्रो सेट २५–१६ को अन्तरमा जितेको थियो । खुला महिला भलिबलमा मङ्गला गाउँपालिका–२ को मालिका युवा क्लब सहश्रधारालाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै अन्नपूर्ण विजयी भएको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।  

पहिलो, तेस्रो र चौथो सेट २५–२२, २५–२० र २५–१६ को अन्तरमा जितेको अन्नपूर्ण दोस्रो सेटमा २५–२२ को अन्तरमा पराजित भएको थियो । पुरूषतर्फ विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू एक लाख ५१ हजार एक सय र रू ७५ हजार एक सय प्राप्त गरेका छन् ।

सेमिफाइनलबाट बाहिरिएका टिमले रू २१ हजार एक सय पाएका छन् । महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित रू ७५ हजार एक सय र रू ४० हजार एक सय पुुरस्कार पाएका प्रतियोगिता संयोजक तारानाथ रेग्मीले बताउनुभयो । पुरूषतर्फ सात र महिलातर्फ छवटा टिमले सहभागिता जनाएका थिए ।

पुरूषतर्फ बेनीका सञ्जोक थापा र महिलातर्फ अन्नपूर्णकी सजिना बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधि पाउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

आठौँ म्याग्दी महोत्सवअन्तर्गत पुरूष, महिला भलिबल प्रतियोगिता र यु–२० वडास्तरीय पुरूष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । बास्केटबलमा बेनी नगरपालिका–१० पात्लेखेत विजेता र अन्नपूर्ण गाउँपालिका–१ दोवा उपविजेता भएका छन् । विजेता र उपविजेतालाई मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमशः रू ५५ हजार एक सय र रू ३१ हजार एक सय पुरस्कार प्राप्त गरेका छन् ।

नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ, ८ माघ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी तुल्याइने बताउनुभएको छ । ‘२४औँ सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा एपिएफ हेडक्वार्टर हल्चोकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

महानिरीक्षक अर्यालले उच्च नैतिक चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकल दर्जालाई निर्देशन दिँदै आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । “सङ्गठनमा नीति, विधि र पद्दति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्दतिलाई आत्मसाथ गरेर कर्तव्यपथमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनका तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक अर्यालले नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरी ‘वर्ष जवान–२०८१’ घोषित नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारीलाई ‘वर्ष जवान’ को ट्याग प्रदान गर्नुभयो ।

महानिरीक्षक अर्यालले यसवर्ष सर्वोत्कृष्ट इकाई हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गर्नुभयो । सो अवसरमा उत्कृष्ट कार्य गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापा पुरस्कृत हुनुभयो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण र कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारी र परिवारजनको हकहितमा विभिन्न कल्याणकारी योजना घोषणा गर्नुभएको थियो ।

चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।

रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताउनुभयो ।

“सन् २०२४ को अन्त्य सम्म, गरिबीबाट बाहिर तीन करोड ३० लाख भन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो,”लुले थप्नुभयो ।

गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताउनुभयो ।

जापानमा माइकोप्लाज्मा निमोनियाका सङ्क्रमणमा वृद्धि

जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको छ ।

माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ ।

यसैबीच, रुघाखोकीजस्ता लक्षण देखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ ।गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत ०.९४ केस रिपोर्ट गरेका छन् ।

इन्फ्लुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्त्वमा जोड दिनुभयो ।

“डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ ।

यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा गर्दछ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सी बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लुएचओको यो बयान आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो,“ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गर्यो ।

“सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन् ,” विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ ।

“हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।”

प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो

फाप्ला, ८ माघ : बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् ।

आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् ।

बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् । यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ ।

समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५÷२५ हजार पुरस्कार दिइनेछ ।

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी

चितवन, ८ माघ : नारायणी लिफ्ट सिँचाइ सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो । उहाँले भन्नुभयो, “नहरमा गत वर्ष मात्रै पानी छोडेका थियौँ । अहिले दुवै नहरबाट पानी छोडेका छौँ ।” किसानको मागअनुसार पानी छोडिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेका छौँ ।”

विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकामा दुई वर्षयता माग बढेको हो । आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ । अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहुँ, आलु र दाल राजमाखेती गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पानी छोडेको एक साता बढी भयो । किसानको मागअनुसार पानी छोड्छौँ ।” बर्सातमा विशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उहाँले बताउनुभयो ।

चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताउनुभयो । अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उहाँको भनाइ छ ।

नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । रू ३० करोडभन्दा बढी खर्च गरेर पम्प नयाँ जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो । चैत र वैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ । त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले रू ५० लाख विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाइने बताउनुभयो । चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ । यसको तयारीमा आफूहरू जुटेको रानाभाटले बताउनुभयो । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीबाट पम्पमार्फत पानी तानेर महानगरका विभिन्न वडामा सिञ्चित गरिँदै आएको छ ।

स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखा, ८ माघ : स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटनामा हुँदा स्कुटर चालक २४ वर्षका सुरेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उहाँको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आउनुभएको थियो । दुर्घटनाग्रस्त स्कुटर र शव आज फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।

स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीव्रगतिका कारण स्कुटर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक

काठमाडौँ, ८ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताउनुभयो ।

“हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उहाँको भनाइ छ ।

“मन्त्रालयमा गुम्बा, मन्दिर वा मस्जित चाहियो भनेर आउनुहुन्छ, त्यसलाई हामीले प्राथमिकताको आधारमा अगाडि बढाउने गरेका छौँ, कुनै ठाउँमा मन्दिर बनाउनका लागि सङ्घीय सरकारले कति, प्रदेश सरकारले कति, स्थानीय सरकारले कति वा सरोकारवाला/उपभोक्ताले कति योगदान गर्ने भन्ने विषयमा प्राथमिकता आधारमा काम गर्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्ने सन्दर्भ उल्लेख सरकारसँग सम्बन्धित सबै प्रेसका काम नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको प्रेसमा गर्नेगरी नीतिगत निर्णय भएको जानकारी दिनुभयो । सञ्चालनमा रहेका सबै विमानस्थललाई हरेक हिसाबले उत्कृष्ट बनाउनका लागि अध्ययन कार्य भइरहेको उहाँको भनाइ छ ।

विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छ : डा भट्टराई

गोरखा, ८ माघ : नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गर्नुभयो ।

“राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भन्नुभयो, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भन्नुभयो, “२००७ साल, ०४७ साल, ०६२/०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उहाँको भनाइ छ । “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौँ, ८ माघ : गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गर्नुभएको हो ।

विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ ।

गतवर्ष कोरिया र नेपालबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घ महासभामा दुई देशका परराष्ट्र मन्त्रीको बैठक आयोजना भएको थियो ।

सन् १९७४ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखिनै कोरिया र नेपालबीच विगत ५० वर्षदेखि जनस्तरको घनिष्ठसम्बन्ध रहँदै आएको छ । दुई देशले विगतमा अर्थतन्त्र, रोजगारी र पर्यटनलगायत विभिन्न क्षेत्रमा अत्यन्त महत्त्वपूर्णसम्बन्ध स्थापित गरेको बारेमा छलफलका क्रममा उल्लेख भएको छ ।

विशेष दूतले नेपालका उच्च पदस्थ व्यक्तिको भेटघाटका क्रममा कोरिया सरकारले नेपाललाई १५ वर्षसम्म निरन्तर एक महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा निर्धारण गरेर नेपालको कृषि, स्वास्थ्य, रोजगारी तालिम, तथा जलवायु परिवर्तनलगायतका आवश्यकताको आधारमा नेपाललाई सहयोग गरिरहेको बताउनुभएको थियो ।

सन् २००७ मा सम्झौता भएको कोरिया–नेपाल रोजगार अनुमति प्रणालीमार्फत हालसम्म एक लाख १० हजारभन्दा बढी नेपाली कामदारले कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन् । रोजगारीको माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान पुगेको छ ।

यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

ढोरपाटन (बागलुङ), ८ माघ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पार्नुभयो ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन गर्‍यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।”

देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका हरेक कार्यकर्ताले सङ्गठनलाई मजबुत बनाउनुपर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नुपर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।

सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने

काठमाडौँ, ८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले संवाद कार्यक्रमको सुरुआत गर्नुभएको हो ।

सरकारले पहिलोपटक ‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ विषयमा गर्न लागेको यो संवाद हरेक दुई वर्षमा आयोजना गरिनेछ । पर्वतीय मुलुक नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगत्मा सशक्त आवाज उठाउँदै आएको छ । यही परिप्रेक्षमा जलवायु न्यायको पैरवी गर्न संवादको घोषणा गरेको हो ।

यसअघि २०७६ सालमा प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । घोषणा कार्यक्रमपछि रासससँग कुरा गर्दै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले खासगरी पर्वतीय क्षेत्रमा बढी असर पारेकाले यसबारेमा विश्वको ध्यानाकर्षण गराउन पनि यो संवाद गर्नुपरेको बताउनुभयो । संवादमार्फत पर्वतीय विषयलाई अझ मुखरित गरिने उहाँको भनाइ छ ।

“नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानी र कार्बन उत्सर्जन नगण्य गरेर पनि उच्च जोखिममा पर्नुपरेको समस्याका बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउन, त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्तिका सन्दर्भमासमेत संवादका क्रममा पैरवी गर्नेछौँ”, उहाँले भन्नुभयो ।

जलवायु परिपर्तन विश्वव्यापी रूपमा देखा परेको गम्भीर चुनौती भएको उल्लेख गर्दै मन्त्री शाहीले यसको असर विशेष गरी नेपालजस्तो अल्पपिकसित र संवेदनशील भूबनोट भएको देशहरूमा बढी देखिन थालेको बताउनुभयो । जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर त्यसबाट जलवायु वित्तमा पहुँच तथा क्षमता अभिवृद्धि गर्ने, प्रविधिको विकास र विस्तारमा युवाको सहभागिता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई अनुकूलनका लागि बढीभन्दा बढी स्रोत साधन जुटाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले यो कार्यक्रम उच्च प्राथमिकता दिएर अघि बढाएको छ । यसैगरी जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा गरेको असरका विषयमा पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरूपता ल्याउने संवादको उद्देश्य रहेको वनमन्त्री शाहीका प्रमुख जलवायुविज्ञ सल्लाहकार डा माधवबहादुर कार्कीले बताउनुभयो । जलवायुले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्व समुदायलाई जानकारी गराउने र समाधानका लागि सामूहिक प्रयत्न गर्न पनि संवाद जरूरी रहेको उहाँको भनाइ थियो ।

जलवायुको न्यायको लागि पैरवी गर्ने उद्देश्यका साथ संवाद गर्न लागिएको अवगत गराउँदै प्रमुख जलवायुविज्ञ सल्लाहकार डा कार्कीले भन्नुभयो, “जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय एजेण्डालाई अझ मुखरित गर्ने तथा थप प्रभावकारी बनाउन पर्वतीय मुलुकहरूसँग बसेर काम गर्नका लागि पनि यो संवाद जरूरी छ ।”

कार्बन उत्सर्जन न्यूनीकरणको पहल गर्न, प्रकृतिमा आधारित जलवायु अनुकूलन गर्न तथा जलवायुजन्य हानिनोक्सानीको विषयमा समेत विभिन्न आयाममा छलफल गरी त्यसबाट निस्केका निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने संवादको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाइ तयारी थालेका छन् । संवादमा विशेष गरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, मिडियाका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।

संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्ने गरी आज माघ ८ गते घोषणा गरिएको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ ।

सगरमाथा संवाद आयोजनाका लागि संयोजन समेत गरिरहनुभएका सहसचिव डा ढकालले भन्नुभयोे, “जलवायुले पर्वतीय क्षेत्रमा पारेको असर र प्रभाव यसबाट स्थानीय भोगेको समस्या हेर्दा यो क्षेत्रमा अझै पर्याप्त छलफल र बहस गर्नुपर्ने आवश्यकता छ । यसको आधारमा जलवायुका असरसँग जुध्न सक्ने क्षमता विकास गर्न सामूहिक प्रयासका लागि उपाय खोज्न पनि संवाद गर्न लागेका हौँ ।”

जलवायुसम्बन्धी नेपालका नीतिहरू राम्रा भए पनि कार्यान्वयनमा प्राप्त स्रोत साधन कम भएको तथा आर्थिक र सामाजिक रूपमा क्षमता कमजोर अवस्था जलवायु न्यायका लागि विश्वमा पैरवी गर्न संवाद गर्न लागिएको हो । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान अध्ययनले गरेकाले यो नेपालका लागि मात्र नभई विश्वको लागि चिन्ता र चासोको विषय बन्नुपर्ने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव

काठमाडौँ, ८ माघ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिनुभएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आज यहाँ आयोजित ‘कानुनी÷नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’ मा उहाँले वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उहाँले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गर्नुभयो । 

मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो । मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उहाँको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको उहाँले जानकारीसमेत दिनुभयो । 

“वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडीमुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन्”, उहाँले भन्नुभयो, “श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ । व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण गर्नुहोस् ।”

उहाँले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताउनुभयो । व्यवसायी र श्रमिकबीचको विचौलियालाई हटाउन जोड दिँदै उहाँले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिनुभयो । सरकारी निकायले कुनै विषयमा निर्णय गर्न सात दिन बढी लगाएमा कारबाही गर्ने व्यवस्था उक्त ऐनमा छ । 

मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताउनुभयो । “साठी हजार नेपाली विद्यार्थी भिसामा जापानमा गएको देखियो । तर यर्थाथमा पाँच हजार पनि विद्यार्थी हुनुहुन्न”, उहाँले विद्यार्थीको भिसामा विदेश जाने श्रमिकको बढ्दो सङ्ख्याप्रति चिन्ता प्रकट गर्दै भन्नुभयो । 

उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराउनुभयो । “झुठा वाचा नगर्नुहोस्”, महानिर्देशक खत्रीले भन्नुभयो, “श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस् ।” वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले यस गोष्ठीमा  सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो । 

राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

काठमाडौँ, ८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यकपर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाउनुभयो । “एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ”, सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले, “आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।”

एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझावसहितको कार्यपत्र प्रस्तुत गर्दै एआइको भविष्य, चुनौती र अवसरबारे स्पष्ट भएर नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । एआईसम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानार्कषण गराउनुभएको थियो ।

छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन अब सरोकारवाला माझ पुग्ने बताउनुभयो । अहिलेसम्म विज्ञहरूको सुझाव दिइएको र अब छिट्टै सरोकारवाला माझ मस्यौदाका विषयमा छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

इन्डोनेसियाको बाढी र पहिरोमा परी १६ जनाको मृत्यु,१० घाइते

इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोङ्गन रिजेन्सीमा आएको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु र १० जना अझै बेपत्ता रहेको बताएको छ ।

पेकालोङ्गनका फादिया अराफिकले भन्नुभयो,“धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो ।”

“सोमबार रातीदेखि मङ्गलबार बिहानसम्म भारी वर्षाले पेटुङ्क्रिनो उप–जिल्लामा अचानक बाढी र पहिरो निम्त्यायो ।”उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन् ।

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित)

काठमाडौँ, ८ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले सो अवसरमा व्यक्त गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यस भेटघाट कार्यक्रममा सबै साथीहरुलाई हार्दिक स्वागत गर्दछुु ।

यो कार्यक्रम मेरा लागि अत्यन्तै लाभदायी भएको छ । मेरा लागि लाभदायक भएको कार्यक्रमलाई देशकै लागि, सबैका लागि लाभदायी बनाउनुुपर्दछ । यहाँहरुका लागि लाभदायी भयो भने मेरा लागि लाभदायी हुन्छ । मेरा लागि दुुईवटा हिसाबले लाभदायी छ । एउटा, यहाँहरुका कुराले आगामी दिनमा के के गर्नु पर्ने रहेछ भन्ने कुराहरुतर्फ ध्यानकर्षण गरेको छ । त्यसबाट लाभ भएको छ । अर्कातिर अब यहाँहरुको व्यवसाय अगाडि बढ्छ, त्यसबाट पनि लाभ भएको छ । 

यस सम्बन्धमा हामीले प्रयास र सोचहरु अलिक अगाडिदेखि नै थालेका हौँ । यो आइटी शताब्दिऔँ पुरानो चिज होइन । यो बीसौं शताब्दीको उपज हो र बीसौँ शताब्दीको पनि सेकेण्ड हाफमा कम्प्युटर इन्जिनियरिङसँगै यसको विकास बढी तीव्रताका साथ भयो । 

मैले सन्दर्भमाहरुमा भन्ने गर्छु, सन् १९२१ मा टेलिभिजनजस्ता कुरा देखाउन सक्छ कि भनेर वैज्ञानिकहरु सोच्दै रहेछन् । त्यस्तो धेरैको दिमागमा आउँदो रहेछ । १९६० को दशकमा हामी पनि रेडियो सुन्थ्यौँ । हामी कल्पना गर्दथ्यौ, यो बोल्ने मान्छेको आवाज आउँछ भने चित्र पनि आउन सक्छ होला भनेर । त्यतिबेला हामीले थाहा नभएको रहेछ, त्यति बेला ब्ल्याक एण्ड ह्वाइटबाट कलर टेलिभिजनको जन्म भइसकेको रहेछ ।  तर, हामी टेलिभिजनको कल्पना गर्दै थियौं कि मान्छेको चित्र नै आउन सक्छ कि भनेर । हामी केटाकेटी र साना युवाहरु कुरा गर्दा त्यसरी गर्दथ्यौँ । पछि हामीहरु पनि हुर्किदै गयौं र आइटी क्षेत्र पनि विश्वमा हुर्किदै गएछ । म त जेल परेँ, धेरै थाहा पनि भएन । जब म जेलबाट छुुटें, धेरै कुरा थाहा भयो ।

मेरो उद्देश्य सानैदेखि समाज परिवर्तनको थियो । समाज परिवर्तन भनेको राजनीतिक परिवर्तन मात्रै होइन । राजनीतिक परिवर्तन त माध्यम मात्रै हो, साधन मात्रै हो । राजनीतिक परिवर्तन भएपछि राम्रो सरकार बन्यो भने देशप्रति, जनताप्रति उत्तरदायी र विकासको आकांक्षा भएको, त्यो संकल्प र डेडिकेशन भएको सरकार बन्यो भने त्यसले विकास गर्छ । त्यसका लागि राजनीतिक प्रणालीमा विकास चाहिएको हो । त्यसकारण थियो । हामीले राजनीतिक प्रणालीका लागि लामो समय सङ्घर्ष गर्नु प¥यो, बलिदान दिनुु प¥यो र दुःख भोग्नुुप¥यो । अहिले राजनीतिक प्रणाली परिवर्तन भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी छौँ । 

हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र किन ल्यायौँभन्दा विकासका लागि ल्यायौँ, जनताका समस्या हटाउनका लागि, गरिबी हटाउनका लागि ल्यायौँ, समृद्धि प्राप्त गर्नका लागि ल्यायाँै, सुखको जिन्दगी नेपाली जनताले प्राप्त गरुन भन्नका लागि ल्यायौँ । पहिले सङ्र्घष गर्ने समय थियो । हामीले विकासका लागि व्यवस्था परिवर्तन गरेर अनुकूल वातावरण गर्नु थियो । अब हामीले काम सुरु गर्ने समय भयो । नेपालमा धेरै उतारचढावहरु भए । यद्यपि धेरै लामो समय होइन । हामीले अहिले परिवर्तन ल्याएको समय भनेको लगभग ३२÷३४ वर्ष भयो । तर, यी  ३२÷३४ वर्षमा उतारचढाव भए । देशका लागि ३४ वर्ष लामो होइन । तर विकासको गति जसरी तीव्रताका साथ अगाडि बढेको छ र दुनियाँजस्तो तीव्र गतिमा अगाडि बढिरहेको छ, परिवर्तन भइरहेको छ, त्यस ठाउँमा साढे तीन दशकको अवधि खेर जानुु भनेको सानो क्षति होइन, त्यो धेरै ठूलो क्षति हो । अब यो क्षति टोलरेन्स गरिरहन वा व्यहोरिरहन सकिँदैन । अब यस क्षतिलाई मेकअप गरेर अगाडि बढ्नुुपर्दछ । अब अगाडि बढ्ने मात्रै होइन कि यी साढे तीन दशकका क्षतिलाई समेत मेकअप गरेर अगाडि बढ्नुुपर्दछ । 

पहिलोपटक म सन् १९९२ मा अमेरिका गएँ । त्यहाँ बिल क्लिन्टन राष्ट्रपतिको उम्मेदवार हुँदा चुनावको अनुुगमनका लागि भिजिटर कार्यक्रमअन्तर्गत मलाई बोलाइएको थियो । त्यसमा जाँदा एउटा कम्पनीको मान्छेले हामी मोबाइल फोन बनाउन खोज्दै छौँ भनेर कलरेस टाइपको मोबाइल देखाउनुुभयो र के भन्नुभयो भने, अहिले यसले आफ्नो कम्पनीलाई सम्पर्क गर्छ, कम्पनीलाई भन्छ, कम्पनीले तपाईंको घरसम्म सम्पर्क गर्दिन्छ र घरबाट तपाईं सोझै यस फोनमा सम्पर्क गर्न सक्नुुहुन्छ भनेर । तर, त्यो त्यहाँको सेटसँग मात्रै हो । यो सन् १९९२ को कुरा हो । सबैभन्दा विकसित त्यही थियो र सबैभन्दा विकसित हुन प्रयास गरिराखेको मोबाइल कम्पनी त्यही थियो । मैले त्यो कम्पनीको नाम बिर्सिएँ । त्यसपछि नभन्दै उधुम विकास भयो । यो तीव्र विकासको समय छ, यसमा विकास हुन्छ नै । 

हाम्रो पार्टीको नेतृत्वमा पहिलोपटक जब सरकार बन्यो सन् १९९४ मा र १९९५ सम्म चल्यो । त्यो सरकारको समयमा हामीले सामाजिक जीवनका विविध क्षेत्रहरुमा, सरकारका विभिन्न पक्षहरुमा कहाँ कहाँबाट क्याच गर्न सकिन्छ भनेर हे¥यौँ । त्यसरी हेर्दा, कम्प्युटर इन्जिनियरिङ, तत्सम्बन्धी पढाइ र सफ्टवेयर भारतले एडप्ट गरेको रहेछ र त्यसको काम पनि सन् १९९१ देखि थालिसकेको रहेछ । सन् १९९१ देखि उनीहरुले काम थाले, हामीहरुले लय समाउनै सकेनौँ । हाम्रोमा राजनीतिक परिवर्तनपछि काम गर्ने जमाना सुरु भयो भन्नेभन्दा पनि अलिक सत्ताको रापझापजस्तो कुरा र सत्ता भनेको एउटा इन्जोय गर्ने ठाउँ प्राप्त गरियो भन्ने खालको परिस्थिति बढी भयो । काम गर्ने, विकास गर्ने ठाउँभन्दा पनि इन्जोय गर्ने ठाउँ प्राप्त गर्न हारालुछ गर्ने खालको स्थिति भयो । त्यसले गर्दा हामीले वाञ्छित सफलता प्राप्त गर्न सकेनौँ । तैपनि त्यस बेलादेखि यस क्षेत्रमा काम गर्नु पछै है भन्ने सोच बनायौं । 

त्यसपछि यसमा रिभुुलुसन ल्याउने गरी म पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न खालका नयाँ सोचहरु मैले अगाडि सारेँ । मेरो नेतृत्वको सरकारले विभिन्न कुराहरुलाई अगाडि सा¥यो । त्यतिबेला पनि हामी उतारचढावको अनेक सिलसिलामा थियौँ । संविधान भर्खर जारी गरेको स्थिति थियो । संविधान जारी ग¥यौ तर त्यससँग सम्बन्धित कानुन छैन । त्यस कानुनमा संशोधन र परिमार्जन नै गर्नुपर्ने कानुनको चाङ छ । के आवश्यकता हो भनेर सबैले बुुझ्नुुभन्दा पनि राजनीतिक नेतृत्वले बुुझ्नुुपर्छ र त्यो गाइड गर्नुपर्छ । त्यसपछि मात्रै खासमा काम हुनसक्छ । त्यसो भएर हामीले त्यो प्रयास पनि ग¥यौँ र धेरै कानुनहरु परिवर्तनका लागि हामीले अगाडि सा¥यौँ र परिवर्तन ग¥यौं । संविधान मुस्किलले जारी ग¥यौं, जारी गर्ने बित्तिकै पाँच महिनासम्म नाकाबन्दी भयो । नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भयो । हस्पिटलमा अक्सिजन छैन, ट्याब्लेट छैन, डाक्टर अस्पताल जान गाडीमा फ्युल छैन, औषधि किन्न पाइँदैन, फ्युल किन्न पाइँदैन । मान्छे भोकभोकै छ । हामीले आगो बाल्न दाउरालाई केजीका हिसाबले तराजुुले तौलिएर काठमाडौँमा बेच्नुु प¥यो । धेरै दाउरा दिनसक्ने स्थिति पनि छैन, त्यति धेरै काठमाडौँलाई पुुग्ने कहाँबाट ल्याउने ? विद्युुतीय चुलो त्यति छैन । विद्युत्को सप्लाई गर्न उत्पादन नै थिएन, दुई सय मेघावाटको हारहारीमा थियो । त्यस स्थितिबाट अगाडि बढाउन हामीले मेजर गेम चेन्जिङ खालका कुराहरु अगाडि सार्नु प¥यो र त्यसरी हामीले अगाडि बढायौँ । तर समय थोरै भयो । अलि कति हामीले नेपालको हितमा गेम चेन्जर खालको कुराहरु, कामहरु अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थितिजस्तो धेरैलाई लाग्यो र सरकार ढल्यो । ्

फेरि हामी चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौँ तर सजिलोसँग काम गर्न पाइएन । यता खुुट्टा तान्दै छ, यता अगाडि बढ्दै छ, खुुट्टा तान्दै छ, अगाडि बढ्दै छ गरेर पनि हामीले केही कुराहरु ग¥यौँ र डिजिटल नेपालको कन्सेप्ट ल्यायौँ । त्यसैबेला डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौँ । यी सबै कुराका दुुई तीनवटा पाटाहरु थिए । तपाईंहरुले बिपी यो भन्नुुहुन्छ, केपी यो भन्नुुहुन्छ, नलेजसम्बन्धी, विजनेशसम्बन्धी अथवा अर्को सेक्टरसम्बन्धी । यसमा हरेकसँग पुुग्ने एक्सेस र क्यापासिटी बढाउने, यो विजनेशका लागि हो । यो विकासका लागि हो । यो सबैका लागि हो । आइटी फर अल, आइटी फर विजनेश, आइटी फर एजुकेशन, आइटी फर इन्फमेशन । एआइको जमानामा भन्ने हो भने एआइ अथवा आइटी इज फर एर्भिथिङ ! यस्तो भइसक्यो । यो बिना त हुँदै हुँदैन । कसैले मोबाइल घरमा छोडेर आएको छैन होला, मोबाइल साथमै हुन्छ । यस्तो भइसक्यो अरु चिज छुटेर केही हुँदैन, मोबाइल छुुट्नुु भएन । मोबाइल छुट्यो भने इन्फमेशन छुुटिहाल्छ । त्यसकारण यस्तो अप टु डेट रहनुुपर्ने अवस्था दुनियाँको बनेको छ कि एकछिन् छुुट्यो भने के के भइसकेको हुन्छ, थाहा पाइएन, बर्बाद भइसकेको जस्तो हुन्छ, मैले त त्यो थाहा पाइन भनेर । त्यो सेकेण्ड ह्याण्ड थाहा पाइयोजस्तो हुन्छ । प्रत्यक्षदर्शी कोही हुँदैन, सेकेण्ड ह्याण्ड नै हो थाहा पाउने । 

यस सन्दर्भमा हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुराहरुलाई एकदम तीव्रताका साथ अगाडि बढाउनुु छ । हाम्रा युवाहरुलाई दक्ष बनाउनुु छ, सक्षम बनाउनुु छ । युवाहरुमा रहेको, यहाँ केही गर्न सकिँदैन भन्ने चिन्ता जाहेर गर्नु भयो र त्यसमा अलिकति आशावादीता जागेको कुरा गर्नु भयो, त्यो ठीक हो । मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुनसक्छ, हाम्रै पालमा विकास हुनसक्छ, हामी गर्न सक्छौँ भनेर ।

मैले हाम्रा पूर्वजहरुका कहानी सुनाउने गरैँ, हाम्रा पूर्वजहरु यस्ता महान् थिए, यस्ता इनोभेटर थिए, यस्ता रिसर्चर थिए भनेर । ज्ञान यहाँ सुरु भयो र विस्तार भयो । गणित यहाँ सुरु भयो र विस्तार भयो । चिकित्सा शास्त्र यहाँ सुरु भयो र विस्तार भयो, खगोलशास्त्र यहाँ सुरु भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ सुरु भयो र विस्तार भयो । दुुई चार शताब्दी हामी अलिकति पछाडि प¥यौँ । नाउ टाइम इज चेन्ज । अब पालो एसियाको, अब पालो हाम्रो, अब पालो नेपालको । नेपालले गर्न नसक्ने कुरा केही छैन । त्यसकारण अब नेपालले गर्न सक्छ र उपयुक्त समय आएको छ । यो समयलाई, यो समयले हामीलाई उपलब्ध गराएको अवसरलाई हामीले क्यास गर्न सक्नुुपर्दछ, त्यसलाई प्रयोग गर्न सक्नुु पर्दछ र अगाडि बढ्न सक्नुु पर्दछ । साथीहरुले ठीक भन्नुु भयो कि हामीले नेपाललाई दक्षिण एसियको आइटी हव बनाउन सक्नुुपर्दछ । 

हाम्रो उत्पादन हामीले बेच्न सक्नुुपर्दछ । हाम्रो उत्पादन हामीले जनताका घरघरमा पुु¥याउन सक्नुुपर्दछ, उनीहरुको जीवनस्तर बढाउनका लागि त्यसलाई प्रयोग गर्नुपर्छ, उनीहरुको आयस्तर बढाउनका प्रयोग गर्नुपर्दछ । उनीहरुलाई रोजगारीका अवसर बढाउन पर्दछ । सबै आइटी इन्जिनियर हुनसक्छन् भन्ने कुरा होइन । यहाँहरुको उत्पादनका लागि सरकार पनि एउटा आफैँ मार्केट हो भनेर यहाँहरुले अघि भन्नुुभयो । सरकार आफैँले पनि प्रोडक्शन गर्छ । अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झण्डैझण्डै गुमायौँ नै । भारतले जुन कुराको ठूलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि प¥यौँ । कृषिमा पनि भारतले सन् १९६५ देखि ६८ मा ग्रिन रिभुलुसन भनेर इन्टरड्युस ग¥यो । उसले १९९८ मा ल्याइसकेको चिज हामी अहिले बल्ल २०२५ मा इन्टरड्युुस गर्दैछौैँ अथवा ल्याउँदै छौँ वा योभन्दा अगाडि हामीले प्रयास सुरु गरेका छौँ र अगाडि बढाउन खोज्दै छौँ । अर्थात् ३० वर्ष हामी यसै पछाडि परेका छौँ । यो त ३० भन्दा पनि ६० वर्ष भइसक्यो । ग्रिन रिभुलुुसन हामीले ६० वर्ष अगाडि गर्नु पर्दथ्यो तर ६० वर्ष अगाडि राणा शासनबाट भर्खर उम्किएका थियौं । पिञ्जडाबाट बाहिर मात्रै निस्किएका थियौँ । त्यसकारण अब हामी पिञ्जडामुक्त छौँ वा खुला आकासमा हामी जे पनि गर्न सक्छौँ । हामीले हाम्रा युवाहरुलाई सक्षम र दक्ष बनाउनुु पर्दछ । हाम्रा युवाहरु प्रतिभामा कम छैनन् । हाम्रा पूर्खाहरुको जेनेटिक मेमोरी यस्तो छ कि अहिलेभन्दा हजार वर्ष अगाडि भाष्काराचार्यले पृथ्वीको गोलाई नापेका थिए, घरमै बसेर । कसरी नापे होलान् ! तौल नापेका थिए, कस्तो तराजुु थियो होला ! पृथ्वीको तौल अहिलेभन्दा हजार वर्ष अगाडि नाप्ने ! ग्राभिटेशनको थ्योरी हजार वर्ष अगाडि पत्ता लगाएका थिए । त्यो कुरा युरोपसम्म पुुगेको थिएन । त्यो कुरा हाम्रोमा प्रचार भएको थिएन । पुस्तक लेखिएको थियो, १२१० मा प्रकाशित भएको थियो । त्यो कुरालाई हामीले बाहिर प्रचार गर्न सकेनौँ । अहिले हामी पढ्दै छौँ, ग्राभिटेशनका जनक न्युटन भनेर । न्युटनभन्दा पाँच सय वर्ष अगाडि त पुुस्तक छापिएको थियो ग्राभिटेशनको थ्योरीका बारेमा ग्यालिलियो र न्युटनले गर्नुभन्दा अगाडि, हाम्रो भूमिमा । पहिलो सर्जन यहाँका थिए । संस्कृतमा वेद भनेको साइन्स । हाम्रा पूर्वजहरुले साइन्स भन्ने त्यति बेला आविष्कार गरेर दर्शनका बारेमा, अरु बारेमा निकालेका थिए । साइन्स टेक्नोलोजीले सिर्जना गर्ने हो । साइन्स र टेक्नोलोजी हाम्रा पूर्खाहरुले उहिले सुरु गरिसकेको चिजमा हामी फेरि फर्किएर पुुग्दै छौँ । आज अरुले लिड गरिराखेका छन् । हामी अरुले बनाएको मोबाइल चलाउँछौँ, अरुको सफ्टवेयर चलाउँछौँ, अरुका एप्स चलाउँछौँ । अहिले भर्खर हामीले नागरिक एपजस्ता कुराहरु निकालेर केहीकेही मामलामा ग्लोबल्ली फस्ट, चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने हामीले विकास गरेका छौँ । जो साथीहरु यसमा काम गरिरहनुुभएको छ, म धन्यवाद भन्न चाहन्छुु । 

अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौँ । म यो गर्न चाहन्छुु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौँ र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौँ । जसले आजको समयलाई बुुझ्दैन उसले प्रगति गर्दैन । समयलाई बुुझ्ने भनेको के ? आज २०८१ साल माघ ८ गते मङ्गलबार भयो भनेर समय बुझिएको हुन्छ र ? यसम बुुझ्नका लागि एआइ बुुझ्नुुपर्दछ, आइटी बुुझ्नुपर्दछ । अनि मात्रै समय बुुझिन्छ । आइटी बुुझिएन भने समय कसरी बुुझियो त ? अबको समय आइटीले, साइन्स एण्ड टेक्नोलोजीले लिड गर्छ । अब हामीले हरेक क्षेत्रमा साइन्स एण्ड टेक्नोलोजीको प्रयोगद्वारा परिवर्तन गर्नुपर्दछ । आधुनिकीकरण गर्नुपर्दछ । देशलाई आधुनिकीकरण कसरी गर्ने, गरिब देशलाई सम्पन्न कसरी बनाउने, गरिबी नहटाइ कसरी आधुनिकीकरण हुन्छ ? ह्वाट इज मोर्डनाइजेशन ? गरिबी त हट्नुु प¥यो नि, खान पाएको छैन, के को आधुनिकीकरण ? यदि मान्छे भोकै छ भने केको मोर्डनाइजेशन हुन्छ ? अनि छोराछोरी कसरी पढाउँछ ? कसरी निकाल्छ आइटी इन्जिनियर ? कमसेकम आइटीको प्रयोग गर्न सक्ने त हुनुु प¥यो । त्यो कसरी बनाउँछ त ? त्यसकारण यसका लागि हामी केही गर्ने उद्देश्यका साथ अगाडि बढेका छौँ । अरु धेरै कुराहरुलाई दिगो बनाउनुु छ । आइटी क्षेत्रको विकासको जुन अभ्यास र प्रयास सुरु गरेका छौँ । यसलाई दिगो बनाउनुुपर्ने छ । हाम्रो यस्तो छलफललाई पनि पिरियडिक ढङ्गले दिगो बनाउनुु परेको छ । त्यो हामी गर्छौं । 

अहिले साथीहरुलाई धेरैधेरै धन्यवाद ।

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चअधिरीहरुको समेत सहभागिता थियो ।

वर्तमान सरकार २०८४ को चुनावसम्मै गइदिए हुन्थ्यो : प्रचण्ड

चितवन, ८ माघ :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।”

आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताउनुभयो । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो ।

सगरमाथा संवादको घोषणा गर्दै सरकार

काठमाडौँ, ८ माघः सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहने बताइएको छ ।

जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद गर्न लागिएको हो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ । संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्नेगरी घोषणा गरी तयारीको सुरुआत गर्न लागेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । संयुक्त राष्ट्रसङ्घको प्रतिनिधित्व गर्दै विश्व मौसम सङ्गठन र युनेस्कोले आजै संयुक्त रूपमा अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सुरुआत गर्दैछन् । पहिलोपटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ । संवाद आयोजनाका लागि संयोजन गरिरहनुभएका उहाँले हिमाली देशहरुमा जलवायु परिवर्तनले गरेका असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताउनुभयो । न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ । सरकारले संवादको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा निर्देशन समिति, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा व्यवस्थापन समिति र वन मन्त्रालयका सचिवको संयोजकत्वमा सचिवालय स्थापना गरेर तयारी थालेको छ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा गरेको असरका विषयमा पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरुपता ल्याउने तथा जलवायुको न्यायको लागि पैरवी गर्ने उद्देश्यका साथ संवाद गर्न लागिएको हो ।

साथै जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय एजेण्डालाई अझ मुखरित गर्ने तथा थप प्रभावकारी बनाउन पर्वतीय मुलुकहरूसँगै काम गर्नेसमेत संवादको लक्ष्य छ । संवादमा विशेषगरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, सञ्चारक्षेत्रका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।

हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित

खजुरा (बाँके), ८ माघः बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताउनुभयो ।

उहाँले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिनुभयो । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।

उहाँका अनुसार जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतिक्षामा विमानस्थलमा बसिरहेको छन् । शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दमौली (तनहुँ), ८ माघः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उहॉले भन्नुभयो ।

अर्थोपेडिक सर्जन डा मेहताले ल्याए माया गर्ने मै होको भिडियो

काठमाडौँ । डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ ।

भिडियोमा मोडलद्धय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् । निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् । रिदम कँडेलको ऐरेन्ज , नरेश बिबिसीको मिक्सिगं मास्टरिगं तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो । सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो । जसको छायाङ्कन उत्सब दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका हुन् ।

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

बरहथवा (सर्लाही), ८ माघः लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी जानुभयो । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो । उहाँ विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा हुनुहुन्छ ।

घरका एकमात्र सहारा उहाँको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ साल ७ माघमा उहाँ वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया जानुभएको थियो । विसं २०७८ पुस २९ को राति कामबाट फर्किएपछि उहाँ साथीसँगै बजार जानुभएको थियो ।

बजारबाट फर्कने क्रममा उहाँले चलाएको गाडी दुर्घटनामा परेपछि उहाँको जीवनले नसोचेको मोड लियो । नेपालमा हुँदा पनि सवारीचालकको काम गर्नुभएका उहाँले विभिन्न निर्माण कम्पनीका टिपर, स्कुल बस चलाउनुभएको थियो । त्यसबाट घरपरिवारको गुजारा चलाउन समस्या भएपछि परिवारको सल्लाहमा उहाँ साउदी पुग्नुभएको थियो ।

“विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ”, उहाँले भन्नुभयो, “तर दुर्घटनापछि कम्पनीले पनि लापरवाही गरेका कारण मेरो यो अवस्था भयो ।” राति १ बजे दुर्घटनामा पर्नुभएका उहाँलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । छ घण्टापछि मात्र होस आयो । बिहान अस्पतालको बेडमा थिएँ, उहाँले भन्नुभयो, “शरीर अररो परेको थियो । हातले पानीको गिलाससमेत नसमाएपछि एक जना नेपाली नर्सले पानी खुवाइदिनुभयो ।”

उहाँको गर्दनमा शल्यक्रिया गरेर स्टिल राखिएको छ । उहाँलाई सुरुमा दुर्घटनामा परेर शरीरमा समस्या भयो, पछि ठिक हुन्छ भन्ने लागेको थियो । तर पछि चिकित्सकले गर्दनको हड्डी भाँचिएको र एउटा नसामा चोट लागेकाले शरीर पहिलाजस्तो नहुन सक्छ भनेपछि छाँगाबाट खसेजस्तै भएको उहाँले बताउनुभयो । “दुई वर्षकी छोरी छाडेर परिवारको खुसी कमाउन गएको थिएँ” अब बाँकी जीवन अरुको सहारामा गुजार्नुपर्ने भएर आएँ”, उहाँले भन्नुभयो ।

सुरुमा त अब बाँकी जीवन के हुने ? भन्ने चिन्ताले धेरै सतायो । धेरै रात भोक न निद्रा भएर बिताए । विदेशमा हुँदा सारा एक्लोझै भयो । घर आएपछि श्रीमती र छोरीको अनुहारले निकै समय लखेटिरह्यो । अहिले आफूलाई सम्हाल्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । विगतका दिन सम्झँदा उहाँका गला घरिघरि अवरुद्ध हुन खोज्दै थिए । अझै पनि शरीरको अवस्थाअनुसारको कर्म गरेर बाँकी जीवन पनि परिवारको सहारा बन्ने उहाँको ठूलो धोको छ ।

सुरुमा कम्पनीले उपचारमा केही चासो देखाएजसो गरे पनि पछि वास्ता गर्न छाडेको उहाँको भनाइ छ । “नौ महिनासम्म कम्पनीले बेवारिस अवस्थामा अस्पतालमा छाड्यो, शरीर चल्दैन थियो । अरुले ओल्टाइपल्टाइ गर्नुपर्ने अवस्था थियो । नर्सहरू दिनमा एक वा दुईपटकमात्र आउने गर्थे । औषधि दिएर जान्थे । खाना ल्याएर राखिदिन्थे । हातसमेत नचलेर खान सक्दिनँ थिए । कोही आउने आशमा बस्नुपर्यो”, उहाँले भन्नुभयो ।

कम्पनीले वास्ता गर्न छाडेपछि, औषधि नगर्ने भए मलाई घर पठाइदेउ भनेर कम्पनीमा भने, तर कम्पनीले वास्ता गरेन । हारगुहार गरेपछि युकेमा रहनुभएका भान्जाको प्रयासमा दूतावासका कर्मचारीले कम्पनीलाई ताकेता गरे । त्यसपछि कम्पनीले अस्पतालबाट निकालेर १५ दिनपछि नेपाल पठाइदियो । सुरुमा आफूले साउदीस्थित नेपाली दूतावासमा धेरैपटक अनुनयविनय गर्दा पनि वास्ता नगरेको उहाँको दुखेसो छ ।

उहाँलाई समयमै अस्पतालबाट उद्धार गरेको भए शरीर केही भाग चल्थ्यो कि भन्ने चिन्ताले अहिले पनि सताइरहन्छ । बिरानो देशमा अस्पतालमा काटेको नौ महिना एक युगजस्तो लागेको उहाँको अनुभव छ । नेपाल आएपछि परिवारले उहाँलाई सिधँै अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ पु्र्याउनुभयो । त्यहाँ तीन महिना बसेर उपचार गर्दा पनि कुनै सुधार नभएपछि घर आएको उहाँको भनाइ छ । अस्पतालमा गर्ने गरेका केही कसरत उहाँ घरमा पनि नियमित गरिरहनुभएको छ ।

आफू आधा शरीर नचल्ने भएर अरुको सहारामा उठ्नबस्न पर्ने अवस्थामा पुगेपछि एउटा छोरीको पढाई र परिवारको गुजारामा पनि समस्या भएको उहाँले दुखेसो पोख्नुभयो । “सम्पत्तिका नाममा पुख्र्यौली छ कट्ठा खेत र साढे आठ धुर घडेरी पाएको थिएँ”, उहाँले भन्नुभयो, “बिमाबाट आएको पैसाबाट बाँस बस्ने समस्या भएपछि एकतले काठको घर बनाएँ । खेतको उत्पादनले मुस्किलले आधा वर्ष खान पुग्छ । छोरीको पठनपाठन, केही उपचार खर्च कसरी जोहो गर्नु ?”

श्रीमती एक्लैले गरेको कामबाट परिवारलाई हातमुख जोर्न सधैँ समस्या भएको भन्दै उहाँले आफूले सकेको काम गरेर परिवारलाई सघाउने चाहना रहेको बताउनुभयो । “शारीरिक रूपमा अशक्त व्यक्तिहरूले क्षमताअनुसार काम गरेर परिवारलाई सहयोग गरेको देखेसुनेको छु”, उहाँले भन्नुभयो, “मलाई पनि केही गर्ने चाहना छ । आफूसँग लगानी छैन । कसैले कतैबाट सहयोग गरिदिए समाजको उदाहरणीय पात्र बन्ने थिएँ ।”

पौडेलले वैदेशिक रोजगार विभागबाट पाउने छात्रवृत्ति पनि नपाएको गुनासो गर्नुभयो । वैदेशिक रोजगारमा अङ्गभङ्ग भएका वा ज्यान गुमाएकाका बालबालिकाले उच्च शिक्षासम्म पठनपाठनका लागि छात्रवृत्ति पाउने व्यवस्था भए पनि आफूले नपाएको उहाँले बताउनुभयो । “छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि कागजात लिएर गएको थिएँ”, उहाँले भन्नुभयो, “तपाईँको बिमावापतको रकम पूरा भएको छैन, पाउनुहुन्न भनेपछि फर्किएँ । त्यत्ति पाएको भए पनि छोरीको पठनपाठनका लागि थपथाप हुने थियो ।”

पौडेलको आठ वर्षकी छोरी गाउँ नजिकैको एक विद्यालयमा बाल कक्षामा अध्ययन गर्नुहुन्छ भने श्रीमतीले आफू र छोरीको स्याहारपछि बाँकी समय पशुवस्तु र खेतीपाती गरेर दुई छाकको जोहो गरिरहनुभएको उहाँले बताउनुभयो । कक्षा ९ सम्म अध्ययन गर्नुभएकी सविना पौडेलले श्रीमान् शारीरिक रूपमा अशक्त भए पनि आफूले अवसर पाए छोरी र श्रीमान्का लागि सहारा बनेर गुजार गर्ने वातावरण बन्ने बताउनुभयो ।

स्थानीय तहसँग आवश्यक सहयोगका लागि पटकपटक ताकेता गरेको उहाँले बताउनुभयो । मैले कार्यालय सहयोगीको कामका लागि फारम पनि भरे । खै के भयो काम भएन । कुनै व्यावसायिक तालिम र लगानी पाए काम गर्ने थिएँ । यसरी विभिन्न दुर्घटनामा परेर समस्यामा परेकालाई सहज जीवन गुजाराका लागि स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

उक्त वडाका अध्यक्ष दुर्गाबहादुर आलेले वडामा त्यस्तो कुनै बजेट नहुने बताउनुभयो । यस्ता विपन्न नागरिकका लागि नगरपालिकाले नै आयआर्जनका कार्यक्रममा समेट्ने गरेको छ । “वडामा त्यस्तो योजना तथा बजेट हुँदैन”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा नगरले नै व्यवस्थापन गर्ने गरेको छ । मैले पनि उहाँहरूको समस्याका लागि पहल गरिरहेको छु । हेरौँ केही गर्न सकिन्छ कि ?” प्रधानमन्त्री रोजगारी तथा अन्य सहयोगको लागि पनि सोचिरहेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगञ्ज (पर्सा), ८ माघः सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका रु २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिनुभयो ।

“सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।”

सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा रु १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले आव २०८०/८१ को छ महिनामा भन्सार छली गरेर भित्र्याइएको रु चार करोड ७७ लाख मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०/८१ को छ महिनाकै अवधिमा बिलबिजक नभएका रु नौ करोड ८२ लाख ६९ हजारको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा), ८ माघः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ८ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४८, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ६०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

बागमती, ८ माघः मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा रु तीन करोड १२ लाख बढी हो ।

सो चालु आवको छ महिनामा सम्पत्ति करबाट रु चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट रु एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु एक करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ, ८ माघः राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुँदै

लुम्बिनी (मर्चवार), ८ माघः लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो । देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उहाँले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिँदै आइएको जानकारी दिनुभयो । 

उहाँले धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहार ल्याउने प्रतिबद्धता जनाउनुभयो । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुई बस धम्मयात्रा लेखेर परीक्षणस्वरुप सञ्चालन गरिएको छ ।

वषौँदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन

सिरहा, ८ माघः लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षांैदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट रु ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए”, नगरप्रमुख चौधरीले भन्नुभयो, “खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।”

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ । 

यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियोे । नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ । 

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाउनुभएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो । नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पाँचखालमा ऐतिहासिक पुरातात्विक सम्पदा उत्खनन गरिने

काभ्रेपलाञ्चोक, ८ माघः पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा यस वर्ष उत्खनन गर्ने भएको छ । विभागले प्रारम्भिक चरणमा विसं २०७७ चैतमा गरेको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)का आधारमा करिब चार वर्षपछि उत्खनन गर्ने जनाएको हो ।

विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्त स्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनःजियोफिजिकल सर्भे गरिनुपर्ने जनाइएको थियो । विज्ञ समूहको उक्त सर्भेको प्रतिवेदन २०७८ सालमा विभागमा आएको थियो । प्रतिवेदनमा लिच्छवीकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनःसर्भे गरी उत्खनन गर्न सुझाव दिइएको थियो । 

प्रतिवेदनमा पुनःसर्भे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरको समन्वयमा सर्भे र उत्खनन गर्न छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकासँग थप प्रक्रियाका लागि समन्वय भइरहेको छ, उक्त स्थानका जमिनप्रति हो वा व्यक्तिगत छानबिन गर्नुपर्छ, यसका लागि थप पहल नभए पनि अब गर्नेछौँ ।” 

बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि बजेट तथा योजना बनाई चालु आर्थिक वर्षभित्र पुनःसर्भे गरिने जनाइएको थियो ।

विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने कुँवरले जनाउनुभयो । विभागले पुनःसर्भे र उत्खननबारे कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई योजना प्रतिवेदन बुझाएको थियो । 

विभागका प्रवक्ता कुँवरका अनुसार स्थानीय तहले आफ्ना क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण एवं जीर्णोद्धारा गर्नुपर्दछ । त्यतिबेला पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उहाँले जानकारी दिनुभयो । बेलायती सर्भे उपकरण र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो । सर्भे उपकरणले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । 

नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा योजनाबद्ध प्रयास भइरहेको बताउनुभयो । “थप सर्भेक्षण भएर प्रतिवेदन आएपछि मात्रै नगरद्वारा सम्पदा संरक्षणको ‘मास्टर प्लान’ बनाइन्छ, सम्पदा क्षेत्रमा जमिनका विषयमा छानबिन पनि गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पुनःसर्भेका लागि विभागले थप प्रक्रिया चाल्नुपर्छ । सर्भेयता उक्त स्थानमा खेतीपाती हुँदै आइरहेको छ । 

बेलायतस्थित दूरहाम विश्वविद्यालयबाट आठ सदस्यीय विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा एक साता लगाएर सर्भे गरेको थियो । विभागले प्राप्त तथ्याङ्क विश्लेषण गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको तथा बेलायतबाट आएको प्रतिवेदनले पनि एकैखालको सम्भावना देखाएको जनाएको छ ।

विभागले यसअघि संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाई सन् २०२०, जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको जनाएको छ । नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले विभागले बेलायतबाट विज्ञ टोली मगाएको विभागले जनाएको हो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो । 

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब करिब तीन वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाइएको छ । 

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उत्खननमा सहभागी विभागका तत्कालीन अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पुष्टि गरिएको छ ।

पाँचखाल–२ माल्टारमा स्थानीयको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख प्रतिवेदनमा गरिएको छ । 

उक्त स्थानमा प्रारम्भिक उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ पक्की इँटाको गारोभित्र माटाको डुँडको पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ । 

भ्रष्टाचार मुद्दामा मालपोतका कार्यालय प्रमुखसहित आठजना दोषी ठहर

काठमाडौँ- विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले  आठमध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।

अदालतले मालपोत प्रमुख रसाइलीलाई एकवर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीबहादुर शाही र दशरथ मण्डललाई जनही छ महिना कैदको फैसला सुनाएको हो । मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई छ महिना कैद हुने फैसला सुनाएको छ ।

अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध रु २४ करोड छ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै बुझाए ज्ञापनपत्र

सुन्दरहरैँचा (मोरङ)- जिल्लाको सुन्दरहरैँचा नगरपालिका–८ स्थित जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

हात्तीबाट त्रसित हुनुपरेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न यहाँका पीडित नागरिकद्वारा ज्ञापनपत्र बुझाइएको स्थानीय शिक्षासेवी टीकाराम ढकालले बताउनुभयो । सुन्दरहरैँचाको उत्तरीक्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसी भौतिक तथा मानवीय क्षति गरेको, दर्जनौँ घरहरू भत्काएको र बालीनालीमा हानि पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “यस क्षेत्रका आमनागरिक हात्तीको त्रासबाट निदाउन सकिरहेका छैनन् त्यसैले नागरिकको जिउधनको सुरक्षाका लागि आवश्यक उपाय÷विकल्प अपनाउन आग्रह गर्दछौँ ।” समयमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न स्थानीयले ज्ञापनपत्रमार्फत प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेका छन् ।

झापा, मोरङ र सुनसरीमा बस्ती आसपास पुगेर जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको सबडिजिजन वन कार्यालय मोरङले जनाएको छ । केही समयता नियमितजस्तै देखापर्ने जङ्गली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित र भयभित भइरहेको सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताउनुभयो ।

जङ्गलबाट आहाराको खोजीमा मानव बस्ती निस्कने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिने, बालीनाली नष्ट गर्ने, मानिस मार्नेलगायत गतिविधि गरी वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ । जङ्गल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ । 

करिब एक महिनाको अवधिमा सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बू, सुन्दरहरैँचा–७ स्थित सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैँचा–८ भृकुटी टोल बस्ने ७१ वर्षीय हरिप्रसाद घिमिरेले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित

झापा, ८ माघः वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ ।जमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आट किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो ।

उहाँका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्दछ । वनको ५१ हेक्टर जग्गामा १३ हजार आठ सय ३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र रुख कटानका लागि आयोजना कार्यालयले मन्त्रिपरिषद् र वन विभागसँग अनुमति मागेको थियो ।

मन्त्रिपरिषद्ले गत मङ्सिर ६ गते मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर गरी कूल ३५ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ । वन विभागसँग उक्त जग्गाको सात हजार छ सय ६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढेको दत्तले जानकारी दिनुभयो ।

झापाको १० हेक्टर र इलामको छ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका छ हजार दुई सय ७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन । भोगाधिकार तथा रुख कटानको फाइल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको आयोजना कार्यालयका सूचना अधिकारी दत्तले बताउनुभयो ।

“हालसम्म पनि भोगाधिकार र रुख कटानको अनुमति प्राप्त नहुनु आयोजनाको प्रमुख चुनौती बनेको छ”, उहाँले भन्नुभयो, “कतिपय पुलको पहुँच सडकको रेखाङ्कनमा वनक्षेत्र पर्ने कारणले निर्धारित समयमा कार्य सम्पन्न हुन सकेको छैन ।”

हालसम्म राजमार्गको ९५ दशमलव आठ किमी लामो पूर्वी खण्ड (झापा, इलाम, मोरङ र सुनसरी)मा ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ भने २२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

पूर्वको झापाबाट पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने उक्त राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाइ एक हजार दुई सय किलोमिटर रहेको छ । धरानबाट हेटौँडासम्मको तीन सय किमी सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोडको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम), ८ माघः रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।

यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् । 

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उहाँले उल्लेख गर्नुभयो । 

गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताउनुभयो । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रू एक लाख आम्दानी गरेको बताउनुभयो । बीस वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दा मौसममा रू दुई लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो । 

त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताउनुभयो । अदुवा गाउँबाटै प्रतिक्विन्टल रू पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रू १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिनुभयो । 

“पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उहाँले भन्नुभयो । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आउनुभएको छ । 

प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु

दमौली (तनहुँ), ८ माघः जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उहाँले बताउनुभयो ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले उल्लेख गर्नुभयो ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताउनुभयो । पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो । पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी छ जना खटिएका छन् । 

विसं २०३७ मा निर्मित उक्त झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिनुभयो । 

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिनुभयो । 

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताउनुभयो । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ८ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।