`

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

काठमाडौँ, ७ माघ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ । अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो । सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ 

कांग्रेस सुनसरीका पूर्वसभापति बस्नेतको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ७ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सुनसरीका पूर्वसभापति रामबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

सभपति देउवाले आज शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनको खबरले आफूलाई दुःखित र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । “बस्नेतले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, शोक वक्तव्यमा उल्लेख छ । सभापति शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

अठहत्तर वर्षीय बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन व्यतीत गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा बस्नेत कांग्रेसको तर्फबाट जिविस सुनसरीको सभापतिमा निर्वाचित हुनुभएको थियो । 

स्वास्थ्य बिमामा सुधार कार्ययोजना प्रक्रिया सुरु: मन्त्री पौडेल

काठमाडौँ, ७ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजनाअघि बढाउनुभएको छ ।

प्रतिवेदनले दिएको सुझावअनुसार तत्काल गर्न सकिने व्यावहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गर्नुभएको छ ।

कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव रहनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाउनुभएको हो ।

आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रुपमा सुधार प्रक्रिया अघि बढाउनुभएको हो । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयको तयारी छ । 

यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालमा लागू गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिने जनाइएको छ । 

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, ७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताउनुभएको छ ।

आज मध्यनेपाल नगरपालिका–१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताउनुभयो । जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उहाँको भनाइ थियो । 

सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको बताउँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ ।” वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने उहाँले बताउनुभयो । 

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ ।

यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गर्नुभयो ।

उहाँले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताउनुभयो ।

“यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।”

“अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो । सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।”

मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिनुभएको थियो । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ ।

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

बनियानी (झापा), ७ माघ : यहाँको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम फाइनलमा प्रवेश गरेका छन् ।

सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाइनलमा विजयी हुँदै बेलबारी र पाहुना टिम सिक्किम फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ ले पराजित गर्दै मोरङको बेलबारी नगरपालिका फाइनलमा प्रवेश ग-यो भने दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टीभीए सिक्किमले फाइनलको यात्रा तय गरेको हो । बेलबारी र सिक्किमबीच फाइनल खेल मङ्गलबार हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक जेनिस चौलागाईले जानकारी दिनुभयो ।

सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रङ्गीन टेलिभिजन र विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु)ले बताउनुभयो ।

हुलाकी राजमार्गको कामलाई छिटोछरितो सम्पन्न गर्न सरकार तत्पर : मन्त्री दाहाल

नेपालगञ्ज, ७ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताउनुभयो । पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उहाँले जानकारी दिनुभयो । 

मन्त्री दाहालले भन्नुभयो, ‘‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ ।’’

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य किस्मतकुमार कक्षपतिलगायतले ५२ वर्ष पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम भएकाले नयाँ पुल छिटो बनाउन आग्रह गर्नुभयो । 

सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार आठ मिटर लम्बाइको चारलेन सडकको काम सात वर्षसम्म पूर्ण हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाइ दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष विकले बताउनुभयो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब रु १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ । 

स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

काठमाडौँ, ७ माघ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।

त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । 

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो । 

“वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ”, उहाँले भन्नुभयो, “कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ ।”

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । 

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । 

कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ सदनमा पेस

विराटनगर, ७ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताउनुभयो । उहाँले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर छ भन्नुुभयो । मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि भएको दुव्र्यवहारको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने बताउनुभयो । 

सभामा सभामुख अम्बरबहादुर विष्टद्वारा सदनमा अनुमोदनका लागि पेस गरिएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा सन्तुलन कायम नभएकाले कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै सरकारले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूमाथि भएको आक्रमण सुनियोजित नभएकाले कारबाही नगर्न प्रदेश सरकारलाई आग्रह गर्नुुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले सरकारले हिउँदे अधिवेशन उचित समयमा सुरु गरेको बताउनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सङ्कल्प पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकार उदासीन छ भन्दै सालबेसाली र बहुवर्षीय योजनाका ठेक्का अहिलेसम्म नलाग्नु दुःखद हो भन्नुभयो । उहाँले अधिवेशनको सफलताको कामना गर्दै बाढीका कारण भत्किएका संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल समाजवादी पार्टी नेपालका संसदीय दलका नेता निर्मला लिम्बूले मुलुकको समसामयिक विषयमा धारणा राख्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो । अर्को बैठक मङ्गलबार बिहान ११ः३० मा बस्नेछ ।

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम, ७ माघ : देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आज सात वर्ष पूरा भएको छ ।

पहिलो प्रदेशसभाको पाँच वर्षे कार्यकालमा ६७ वटा कानुन बनेका थिए । बनेका कानुनमध्ये झण्डै १०/१२ कानुन संशोधन भइसकेका छन् । विसं २०७९ पछि गठन भएको दोस्रो प्रदेशसभाले भने हालसम्म कानुन बनाउन सकेको छैन । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताउनुभयो । “यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।” 

पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘विजनेश’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।

संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था हो । यसले तोकिएका विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानुन निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पारित गर्ने काम गर्छ । 

संविधान बमोजिम व्यवस्था भएको सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय स्वरुपमध्ये प्रदेशसभा एक महत्वपूर्ण निकाय हो । बनेका कानुनमध्ये कतिपय स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र अन्य कतिपय जनताको सेवासँग सम्बन्धित छन् । बनेका कतिपय कानुनको कार्यान्वयन फितलो देखिएको गुनासो  सर्वसाधारणको छ ।

सुदूरपश्चिम प्रदेशसभाले काम थालेको आज सात वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा परिसर धनगढीमा ‘प्रदेशसभा दिवस २०८१’ मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख नजिर मियाँले सङ्घीय लोकतान्त्रिक व्यवस्थाका कारण सिंहदरवारको अधिकार गाउँमा पुगेर नागरिक लाभान्वित भइरहेको बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी निर्माणका विषयमा ध्यान जानुपर्ने बताउनुभयो ।

 मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै थप सुदृढ बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सङ्घीयताको कार्यान्वयनसँग जोडिएका कतिपय प्रावधानका कारण काम गर्न केही कठिनाइ महसुस भएकाले प्रदेश सरकार जनताका समस्या समाधान गर्न प्रयासरत रहेको मुख्यमन्त्री शाहले बताउनुभयो । 

पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का नेता राजेन्द्रसिंह रावल, पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीलगायत वक्ताले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकोमा जोड दिनुभयो । 

विसं २०७४ माघ ७ गते आज कै दिन सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित प्रदेशसभाका सदस्यको सपथ ग्रहण गराइएकाले यसै दिनलाई प्रदेशसभा दिवसका रुपमा मनाउने गरिएको छ ।

धौवादी फलाम उद्योग छिटो सञ्चालन गर्नुपर्छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोट स्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सोमबार काठमाडौँमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उद्योग छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

धौवादी फलाम खानीको उत्खनन्, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको चासो र प्राथमिकताको विषय भएको उनको भनाइ छ । उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बेला प्राथमिकताका साथ उठेकामा हाल यसबारे भइरहेका छलफलले उपयुक्त निर्णय गरी फलाम उद्योग सञ्चालन गर्नुपर्ने मन्त्री भण्डारीले बताए ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले  खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताए । करिब  ५२ अर्ब लागतमा निर्माण हुने उक्त फलाम उद्योग सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानी रहने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले फलाम उद्योग सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्ने सुझाव दिए । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कम्पनीका कार्यकारी निर्देशक डा जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्यहरू समयमै हासिल गर्न कम्पनीका भावी कार्य योजनालाई छिटोछरितो सञ्चालन गर्नु जरुरी रहेको बताए ।

विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका–५ को पोखरी, दुरुलङ्गा तथा धौवादी क्षेत्रमा फलाम खानी पत्ता लागेको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त खानीबाट २०८५ सालदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य छ ।

खानी सञ्चालन भएमा करिब दुई हजार पाँच सयले प्रत्यक्ष र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ । उक्त खानीबाट दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन हुने बताइएको छ ।

सरकारले विसं २०७६ मा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो । खानी पूर्ण क्षमतामा सञ्चालन हुँदा नेपालले हाल आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली), ७ माघ : कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको कोशी ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो । उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्त टिका शाहले २१ रन बनाइन् । 

बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्काे खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

काठमाडौँ, ७ माघ : कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँच बुँदे परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खनन्मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न÷गराउन परमादेश जारी गरेको हो ।

उक्त परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाइ लागु गर्न आदेश दिइएको छ । 

परमादेशमा भनिएको छ, “छ वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७५, नेपाल सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ समेत कार्यविधि र मापदण्ड प्राकृतिक स्रोत संरक्षण गर्नका लागि नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाई लागु गर्नु ।”

देशभरका खोला तथा नदीमा भएको अवैध उत्खनन् रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए । सोही रिट निवेदनमाथीको सुनुवाइपछि सर्वोच्च अदातले उक्त परमादेश जारी गरेको हो ।

अदालतले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा १७ मा नदीजन्य पदार्थको उत्खनन् गरिने स्थानको लम्बाई चौडाइ तथा गहिराईसहितको चार किल्ला उत्खनन् गर्ने अवधि र समय, प्रयोग गरिने साधनसमेत जानकारीसहित उत्खनन्स्थलमा सूचना पाटी अनिवार्यरुपमा मिलाउनु पर्नेछ भन्ने व्यवस्था भएता पनि हालसम्म स्थलगत अध्ययनवाट सूचनापाटी राखेको नदेखिएकाले कार्यस्थलमा सूचनापाटी अनिवार्य राख्नु र सोको अनुगमनसमेत गर्नु भनी विपक्षीको नाममा परमादेश जारी गरेको छ ।

प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित

सोमबार बिहानसम्म भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।

एघार जिल्लाका १६ हजार ९३० जना प्रभावित भएको डीएमसीले जनाएको छ । एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।

यसैबीच सोमबार उत्तरी, पूर्वी, उत्तर–मध्य, उवा र मध्य प्रान्त र हम्बनटोटा जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेको थियो । उक्त चेतावनी आगामी २४ घण्टासम्म जारी रहने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

चीनद्वारा एकै दिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा

चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ । सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो । अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो ।

मुलुकले एकै दिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलो पटक हो ।

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो ।

परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो ।

संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताहरूमा ठूलो प्रगति भएको बताएको छ, जसले भविष्यमा थप प्रक्षेपण मिशनहरूको लागि बलियो समर्थन प्रदान गर्नेछ ।

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान (सुनसरी), ७ माघ : धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक धरान उपमहानगरपालिका–८ बस्ने ४८ बर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवनमा युवकलाई कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ, ७ माघः चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र संलग्नलाई आवश्यक कारबाहीका लागि निर्देशन भइसकेको जानकारी दिनुभयो ।

आजै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।

अस्थायी प्रहरी विट गणेशधामका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न देखिएकाले उनलाई निलम्बन गरी कारबाही थालिएको जिल्ला प्रहरी चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपालीको पक्षमा काम गर्ने राजदूत नेपालको प्रतिबद्धता

काठमाडौँ, ७ माघः स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राससकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत नेपालले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी मुलुकको अर्थतन्त्र सुधारका पक्षमा योजनाबद्ध ढङ्गबाट काम गर्ने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “कूटनीतिक क्षेत्र तथा दातृ नियकासम्बद्ध स्वदेशी तथा विदेशी सङ्घसंस्थासँगको सहकार्यसहित वित्तीय व्यवस्थापन, नीति तथा योजना तर्जुमालगायतका क्षेत्रमा काम गरेको लामो अनुभवसहित प्राप्त ज्ञान र जनसम्पर्कको अधिकतम सदुपयोग गरी परिणाम देखिने गरी देश र जनताका पक्षमा काम गर्नेछु । प्राप्त जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।”

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते स्पेनका लागि उहाँलाई राजदूत पदमा नियुक्त गर्नुभएको थियो । राजदूत नियक्ति प्रक्रियाअन्तर्गत नेपाल सरकारबाट गत साउनमा स्पेनका लागि सिफारिस हुनुभएका नेपालले भदौमा संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुभएको थियो । सरकारले हाल नेपाली दूतावास नभएकाले युरोपेली मुलुक माल्टाका लागि समेत राजदूतको जिम्मेवारी तोकेको उहाँले जानकारी दिनुभयो ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पोचुगलमा नेपाली दूतावास स्थापना गरी उहाँलाई राजदूत पदमा सिफारिस गरेको थियो ।

राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश

काठमाडौँ, ७ माघः सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।

यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताउनुभयो ।

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

मोरङ, ७ माघः गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ ।

 आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

उहाँले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानविन गरी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्बल पक्ष पहिचान गरी राजनीतिकदलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।

फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

राजस्व कार्यालय हेटौँडाद्वारा बक्यौता असुलीमा कडाइ, छ महिनामा तीन अर्ब १९ करोड सङ्कलन

बागमती, ७ माघः आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु तीन अर्ब १९ करोड छ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को छ महिनाको अवधिमा रु तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ रु एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ रु ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ रु चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ रु ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिको तुलनामा रु २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०/८१ को सो अवधिमा रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात रु दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर, ७ माघः कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन्।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ७ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४३, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २०, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १२०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी २०० राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन महासङ्घको आग्रह

काठमाडौँ, ७ माघः सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासङ्घले आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका –२०८१’ जारी गरेको हो ।

सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गर्दै महासङ्घले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको हो ।

विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न,पूर्वमुख्यमन्त्री शाहीले गरे उद्घाटन

मान्म (कालीकोट), ७ माघ : यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।

विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिनुभयो । 

“सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।”

विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताउनुभयो । 

विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । “वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,” उहाँले भन्नुभयो, “बहुप्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको छ ।”

चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन, ३८ लाख ३७ हजार राजस्व सङ्कलन

चितवन, ७ माघः यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ ।

गत असार २५ गतेदेखि सर्वसाधारणका  लागि खुल्ला गरिएको दियालो बङ्गला गत पुस मसान्तसम्ममा एक सय ३८ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा खुल्ला गरिएको बङ्गला अवलोकन गर्न आएकाहरुबाट रु ३८ लाख ३७ हजार नौ सय ५० राजस्व सङ्कलन भएको महानगरपालिकाको पर्यटन शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिनुभयो । सर्वसाधारणलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । 

यसैगरी, छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु दुई सय र अन्य मुलुकका पर्यटकका लागि रु तीन सय शुल्क तय गरिएको छ । दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गला चितवनको एउटा पर्यटकीय गन्तव्यका रुपमा थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकामबाट नजिक रहेको यस क्षेत्र लामो समय पछि सर्वसाधारणका लागि खुल्ला हुँदा एउटा गन्तव्यका रुपमा थपिएको छ ।” उक्त बङ्गला भरतपुर महानगरपालिका–१ मा छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो ।

सङ्कलित राजस्व रकमको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । 

राजतन्त्रका बेला जाडो महिनामा राजपरिवारले यही दरबारमा समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताउनुभयो । 

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम, ७ माघः सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । ।

“पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उहाँले भन्नुभयो,“अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।” उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताउनुभयो । “नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ ।” उहाँले भन्नुभयो, “कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति बचत छ ।”

ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताउनुभयो । उहाँले भन्नुभयो “यी सामग्री काठमार्डौको दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।”

उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा(भट्टराई)ले बताउनुभयो । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएकोे छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।”

सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशीन मन छैन । “जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालिकै लागि गर्छु भन्ने लाग्छ ।” प्रमोदले भन्नुभयो, “आजभन्दा ६ वर्षअघि रु १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाई त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा मङ्गो लाग्यो । हामी यहीँ खुसी छौँ ।”

कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उहाँले भन्नुभयो ,“महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।”

स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उहाँको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ ।

सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…

वीरगञ्ज (पर्सा-यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म शिक्षक तथा कर्मचारीले तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै नगरपालिका मातहतका २० वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रजिअ गणेश अर्याललाई विद्यालयको साँचो आज हस्तान्तरण गरेका हुन् । बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म साङ्केतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले छ महिनादेखि तलव सुविधा नपाएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउने अवस्थामा आइपुगेको बताउनुभयो । “साउनदेखि तलबभत्ताको नाममा एक पैसा पाउन सकेका छैनौँ । हाम्रो पनि परिवार र बालबच्चा छन्,” उहाँले भन्नुभयो, “धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो हस्तान्तरण गरेका हौँ ।” 

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आपसी विवादका कारणले नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ । 

नगरप्रमुख तेलीले गत कात्तिक ८ गते नगरपालिकको नगरसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा नगरपालिकको आर्थिक गतिविधि ठप्प बनेको हो । प्रजिअ अर्यालले नगरपालिकासँग शिक्षक तथा अन्य कर्मचारीको तलबको विषयमा पटक–पटक छलफल गर्दा पनि प्रयास सफल नभएको बताउनुभयो । “हामीले यो समस्या समाधानका लागि धेरै पहल गरिसक्यौँ । तर अहिलेसम्म समस्याको गाँठो फुकाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ ।”

पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम

काठमाडौँ, ७ माघः मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकिङ कम्पनीको  आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति यहाँ आयोजित कार्यक्रममा नेपाल र इन्डोनेसियाका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिए ।

कार्यक्रमका लागि इन्डोनेसियाको जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनको १३ जनाको टोली केही दिनअघि यहाँ आइपुगेको थियो । आयोजक कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिङ्मादोर्जे शेर्पाले कार्यक्रमले दुई देशबीच संस्कृति आदानप्रदान हुनाका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । “यस सांस्कृतिक आदानप्रदान कार्यक्रमले एकअर्काको मुलुकको संस्कृति जान्ने मौका प्रदान गरेको छ, आगामी दिनमा हामी दुवै देशको पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “इन्डोनेसियामा रहेका २० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई हामी नेपाल ल्याउन सक्छौँ ।”

त्यस अवसरमा जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनका प्रमुख सदस्य तथा गायिका रत्ना देवी कार्तिकाले इन्डोनेसियाको लोकगीतका साथै केही पप गीत गाउनुभयो । “जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनमा इन्डोनेसियाका ३८ प्रान्तमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, यसको मुख्य उद्देश्य इन्डोनेसियाको कला र संस्कृति प्रवर्द्धन हो”, गायिका कार्तिकाले भन्नुभयो, “कला, संस्कृति र दुई देशको पर्यटन प्रवर्द्धनका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ ।”

कार्यक्रममा इन्डोनेसियाका तर्फबाट लातिस्या चान्जी बार्डेल स्टेयाज, सयिफा नुरुल अज्जुरा र डिजिक्रा औरेलिया देत्रियानीलगायतले नेतृत्व प्रस्तुत गरेका थिए ।

नेपालका तर्फबाट कलाकारहरु देविका बन्दना, राजेश महर्जन, खुसी कुलुङ राईलगायतले गीत प्रस्तुत गर्नुभयो भने नृत्यकार कमल राईको समूहले विभिन्न लोकभाकामा नृत्य प्रस्तुत गरेको थियो । त्यस अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, भारतीय ज्योतिष एट्लान्टा कश्यपका साथै पर्यटनकर्मी तथा कलाकारहरुको उपस्थिति थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त

महेन्द्रनगर (धनुषा-वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । 

चिकित्साशास्त्रमा २३ वर्ष बिताउनुभएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँले   पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि  प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँको कार्यकाल पाँच वर्षको रहनेछ । प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ । पहिलेदेखि नै चिकित्सा विज्ञानका चार विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन हुँदै आएको छ । 

उत्पादन, उत्पादकत्व र लगानी अभिवृद्धि गर्न अध्यादेशमार्फत् नयाँ कानुन : अर्थमन्त्री पौडेल

काठमाडौँ-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधकका रुपमा रहेका केही कानुन अध्यादेशमार्फत् ल्याउनुपरेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढ्ने र अर्थतन्त्र चलायमान हुने गरी विभिन्न कानुन संशोधन गरी नयाँ व्यवस्था ल्याइएको बताउनुभयो । 

“अध्यादेशमार्फत् पञ्चायतकाल देखिका असान्दर्भिक कानुन संशोधन भएका छन् । उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, लगानी अभिवृद्धिजस्ता विषयलाई केन्द्रित गरेर अध्यादेशमार्फत् नयाँ व्यवस्था ल्याइएका छन् । हामीलाई समस्या भएका ठाउँमा गाँठो फुकाउने गरी अध्यादेश ल्याइएको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो । अध्यादेशबाट ल्याइएका व्यवस्थाले निजी क्षेत्रको मनोबल बढेको र उत्साहित भएको उहाँले बताउनुभयो । 

अध्यादेशको व्यवस्था कार्यान्वयन गर्न विभिन्न नियमावली, विनियमावली, कार्यविधि चाहिने भएकाले त्यसको काम तत्काल अघि बढाउने विषयमा पनि सरकार चनाखो रहेको अर्थमन्त्री पौडेलको भनाइ  थियो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले सरकारले अध्यादेशमार्फत ल्याएका अर्थतन्त्रसँग सम्बन्धित कानुनका व्यवस्थाबारे प्रकाश पार्नुभयो । सरकारले अध्यादेशमार्फत् विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा संशोधन गरेर सूचना प्रविधिमा आधारित नेपाली कम्पनीले विदेशमा लगानी गर्न, साथै कुनै पनि नेपाली नागरिकले आफू विदेशमा रहँदा बस्दाको अवधिमा गरेको आर्जनबाट प्राप्त रकमलाई विदेशमा कुनै पनि क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था ल्याएको उहाँले बताउनुभयो । यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली सूचना प्रविधिमा आधारित कम्पनीले विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोवार गर्न, विदेशमा भएको आम्दानी नेपालमा भित्र्याउन सक्ने सहसचिव भट्टराईले बताउनुभयो ।

त्यस्तै, राजस्व न्यायाधिकरण ऐन, २०३१ मा संशोधन गरेर राजस्व न्यायाधिकरण वा उच्च अदालतमा मुद्दा पुनरावेदन गर्दा नगद धरौटी राख्नुपर्ने हालको व्यवस्थालाई सम्बोधन गरी सोको सट्टा बैङ्क जमानत राखेर पनि मुद्दा पुनरावेदन गर्न सकिने व्यवस्था अध्यादेशमार्फत् ल्याइएको छ । यसबाट मुद्दा पुनरावेदनमा व्यावसायिक लागत न्यून हुन जाने सहसचिव भट्टराईको भनाइ छ ।

त्यस्तै सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा पनि अध्यादेशमार्फत् संशोधन गरेको छ । बजारमा प्रतिस्पर्धाको माध्यमबाट नै वस्तुको मूल्य निर्धारण हुने हुँदा कानुनद्वारा नै मुनाफाको प्रतिशत निर्धारण गरिरहन मनासिव नहुने भन्दै कालोबजारी ऐनको २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने साबिकको व्यवस्था हटाइएको सहसचिव भट्टराईले बताउनुभयो । साथै उपभोक्ताको हित संरक्षण गर्नका निमित्त छुट्टै उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा रहेको अवस्थामा व्यवसायिक मुनाफालाई ‘कालोबजारी’को रुपमा व्याख्या गर्नु मनासिव हुने नदेखिएकोले त्यससम्बन्धी व्यवस्था हटाइएको पनि उहाँको तर्क छ ।

अध्यादेशमार्फत् मध्यस्थता ऐन, २०५५ मा पनि संशोधन भएको छ । विकास निर्माणसम्बन्धी विवाद मध्यस्थताको विधिबाट शीघ्र समाधान हुन सहज होस् भनेर पक्षले सम्झौता वा सहमतिमा द्रुत मध्यस्थता सेवा अवलम्बनको व्यवस्था अध्यादेशमार्फत् गरिएको छ । जसमा मध्यस्थताको विधिबाट भएको निर्णयको कार्यान्वयन शीघ्र बनाउन समयसीमा निर्धारण गरिएको छ ।

त्यस्तै, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा संशोधन गरी बैङ्क वा वित्तीय संस्थाले कर्जा दिँदा आफूलाई मान्य हुने चल अचल सम्पत्तिको अलावा सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत परियोजना कार्यान्वयन गर्न सरकार र लगानीकर्ताबीच भएको परियोजना विकास सम्झौतासमेतलाई सुरक्षणको रूपमा स्वीकार गरी कर्जा प्रवाह गर्न सक्ने व्यवस्था ल्याइएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा संशोधन गरी रु तीन करोडसम्मको बिगो भएको राजस्व चुहावटसम्बन्धी कसुरलाई अदालतमा मुद्दाको रुपमा दायर गर्नुभन्दा कर निर्धारण गरी राजस्व असुली गर्न उपयुक्त हुने भन्दै सरकारले मुद्दामा नै जानुपर्ने बाध्यात्मक व्यवस्थालाई अध्यादेशमार्फत् हटाएको छ ।

“राजस्व चुहावटसँग सम्बन्धित कसुरमा मुद्दा दायर गर्दा वादी (सरकार) तथा प्रतिवादी दुवै पक्षलाई अदालती प्रक्रियामा लामो समय र लागत लाग्ने, साथै व्यवसायसमेत बन्द हुने सम्भावना रहने र यसबाट अर्थतन्त्रमा नकारात्मक असर पुग्ने देखिएको हुँदा सम्बन्धित प्रतिवादीले राजस्व चुहावट सम्बन्धमा कानुन बमोजिम निर्धारण गरिएको कर तथा शुल्क जरिवाना बुझाउन राजी भई त्यस्तो रकम दाखिला गरेमा जतिसुकै रकम विगो भएको मुद्दा पनि अदालतमा प्रक्रिया चलाइरहनु मनासिव हुने नदेखिएको हुँदा यो व्यवस्था ल्याइएको हो”, सहसचिव भट्टराईले भन्नुभयो । अदालतमा बिचाराधीन मुद्दामा प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तानी गरी मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा त्यस्तो मुद्दालाई निरन्तरता दिनुभन्दा मिलापत्रमा जानु उपयुक्त हुने हुँदा यससम्बन्धी प्रावधान थपिएको उहाँको भनाइ छ ।

त्यस्तै, कम्पनी ऐन, २०६३ मा संशोधन गरी श्वेट शेयरलाई व्यवस्थित गर्दै स्टार्ट–अप उद्यमको हकमा चुक्ता पूँजीको ४० प्रतिशत शेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था अध्यादेशमार्फत् ल्याइएको छ । त्यस्तै, एउटा प्राइभेट कम्पनीको सञ्चालक समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा पनि सञ्चालक हुन सक्ने व्यवस्था ल्याइएको छ । त्यसैगरी पब्लिक कम्पनीमध्ये बैङ्क, वित्तीय तथा बीमा क्षेत्रसँग सम्बन्धित पब्लिक कम्पनी बाहेक एउटा पब्लिक कम्पनीको सञ्चालक समान उद्देश्य भएको अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन सक्ने व्यवस्था अध्यादेशमार्फत् ल्याइएको छ । प्राईभेट कम्पनीले प्रिमियम मूल्यको शेयर जारी गर्दा हाल कम्पनी रजिस्ट्रार कार्यालयको थप स्वीकृति लिनुपर्ने र तीन वर्षको लेखापरीक्षणको व्यवस्था हटाई प्रक्रिया सरल गरिएको सहसचिव भट्टराईले बताउनुभयो ।

अध्यादेशमार्फत् कम्पनी दर्ता सहज तरिकाले हुने, तर बन्द गर्दा हुने झन्झटलाई अन्त्य गरिएको उहाँको भनाइ छ । “हाल सञ्चालनमा नरहेको वा नियमित विवरण पेश नगरेको वा बक्यौता जरिबाना नबुझाएको कम्पनीले दर्ता खारेज गर्न चाहेमा लाग्ने जरिवाना रकम वा कम्पनीको चुक्ता पुँजीको शून्य दशमलव पाँच प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ सो रकम संलग्न गरी कार्यालयमा निवेदन दिएमा कम्पनीको दर्ता खारेज गर्न सकिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

सरकारले अध्यादेशमार्फत् विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा पनि संशोधन गरेको छ । विशेष आर्थिक क्षेत्रभित्र स्थापना हुन अनुमतिपत्रवालाले उद्योग स्थापना र सञ्चालनका सम्बन्धमा हाल कति समयसम्म सम्झौता गरिसक्नुपर्ने भन्ने प्रष्ट व्यवस्था नभएको सन्दर्भमा यसलाई १२० दिनभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले बताउनुभयो ।

त्यस्तै, विशेष आर्थिक क्षेत्रभित्र स्थापना भएका उद्योगले आफ्नो उत्पादनको न्यूनतम ३० प्रतिशत अनिवार्यरुपमा निर्यात गर्नुपर्ने रहेकोमा कुनै उद्योगले काबु बाहिरको परिस्थिति परी निर्यात गर्न असमर्थ भएको अवस्थामा प्राधिकरणको पूर्वस्वीकृति लिई त्यस्तो अवधिभर अनुमति पाएको परिमाण नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने गरी व्यवस्था ल्याइएको छ । विशेष आर्थिक क्षेत्रको उद्योगले जग्गा बाहेकको स्थिर सम्पत्ति वा सम्झौतालाई पनि बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन सक्ने व्यवस्था पनि अध्यादेशमार्फत् ल्याइएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गरी विदेशी लगानीकर्ताले कुनै उद्योगमा स्वपूँजी लगानी (इक्विटी) गर्ने प्रयोजनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर पुँजी लगानी कोष (भेन्चर क्यापिटल फण्ड) वा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको विशिष्टिकृत लगानी कोषको इकाई खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था अध्यादेशमार्फत ल्याइएको छ । त्यस्तै नेपाली उद्योगले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना ऋण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाइनान्सिङ्ग) सम्झौता गरी ऋण लिन सक्ने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, अध्यादेशमार्फत् औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी हाल दर्ता नभई सञ्चालनमा रहेका उद्योगलाई बन्द गर्ने प्रावधान हटाई जरिवाना लिई उद्योग दर्ता गराएर सञ्चालनमा ल्याउन सकिने व्यवस्था गरिएको छ । उद्योग दर्ता प्रक्रियालाई छिटो छरितो र सुनिश्चित गर्नका लागि तत् सम्बन्धी निवेदन पेश भएको मितिले १५ दिनभित्र सम्बन्धित अधिकारीले निर्णय गरिसक्नुपर्ने पनि अध्यादेशमा उल्लेख छ । अन्यथा उद्योग स्थापना वा सञ्चालन गर्न बाधा नपर्ने र त्यसरी स्थापना भएका उद्योगलाई पनि सम्बन्धित अधिकारीले दर्ता प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरिएको छ ।

उद्योग दर्ता गर्न औद्योगिक तथा लागनी प्रवरद्धन बोर्डबाट अनुमति लिएका उद्योगले निर्धारित समयावधिभित्र उद्योग दर्ता गर्न नसकेमा साविकमा त्यस्तो अनुमति स्वतः खारेज हुने व्यवस्था रहेकोमा सोलाई संशोधन गरी अब तोकिएको समयावधिभित्र दर्ता गर्न नसक्नुको कारण खोली अनुमतिपत्रको म्याद थपको लागि निवेदन गर्न सकिने र कारण मनासिब लागेमा बोर्डले अनुमतिपत्रको अवधि थप गर्न सक्ने व्यवस्था ल्याइएको छ ।

एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा दर्शनार्थीको घुइँचो

मुग्लिन (चितवन), ७ माघः चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ ।

उहाँले भन्नुभयो,“यहाँ मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्,पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो ।”

यहाँको सुन्दर दृष्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पूजारी गुरुङको भनाइ छ । उहाँका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको ईच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनःनिर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पूजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंबदन्ती छ । ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ ।

अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ । मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएका छन् । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको छ । भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको पूजारी गुरुङले जानकारी दिनुभयो । फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरु मन्दिर पुग्ने गरेका छन् ।

इजरायलबाट विपिन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी (कञ्चनपुर), ७ माघः हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।

हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ । 

मलिन अनुहारमा विपिनका आमा पदमाले भन्नुभयो, “युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” उहाँले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताउनुभयो ।  

“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भन्नुभयो, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।” सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।

इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन । 

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । “सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।” उहाँले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ ।

निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ । 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८  पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

धरान (सुनसरी), ७ माघः गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।

उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । 

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्षहरुमा १५ देखि २० मेट्रिक टनसम्म सुन्तला फल्ने गथ्र्यो यस वर्ष भने १२ मेट्रिक टन मात्र सुन्तला फल्यो ।” उहाँले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताउनुभयो । धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री भइसकेको छ ।

दैनिक रुपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताउनुभयो । गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो रु ७० सम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो रु एक सयदेखि रु. दुई सयसम्ममा बिक्री भइरहेको छ । सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ । 

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरुको भनाइ छ । कृषिउपज बजारस्थलको तथ्याङ्कअनुसार गत वर्ष धरानमा आठ हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री हुँदा करिब रु एक अर्ब बराबरको कारोबार भएको थियो । यस वर्ष भने पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट रु ६० करोड हाराहारीको कारोबार अनुमान गरिएको छ ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने  गरिएको छ । व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमक र मधेश प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पु-याउने गरेका छन् । 

अलैँची बिक्रीबाट लमजुङका किसानले गरे २२ करोड आम्दानी

लमजुङ, ७ माघ : यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।

त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । 

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा  तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । 

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख आम्दानी भएको थियो । आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । 

जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष छ हजार सात सय केजी अलैँची बिक्री गरी रु एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताउनुभयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । 

भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । 

जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५  हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो । 

सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह

काठमाडौँ, ७ माघः कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रम गरी सो आग्रह गरेको हो ।

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने कुवेतस्थित अधिकांश वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो । वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर उक्त कार्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता वृद्धि गर्ने सम्बन्धमा आ–आफ्ना धारणाहरु राखेका थिए । सहभागीले वित्तीय सचेतनाको विषयमा राजदूतावासबाट सम्बोधन भएकामा राजदूतावासलाई धन्यवाद दिएका थिए । 

उक्त कार्यक्रममा कुवेतको वित्तीय क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधि तथा राजदूतावासका अन्य कूटनीतिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भुसाललाई

काठमाडौँ, ६ माघ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको छ ।

उहाँलाई यही माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो । गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

फाप्ला, ६ माघ : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ ।

पहिलोपटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेस प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूआत ग¥यो । मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले दुई दशमलव पाँच ओभरमा विकेट नगुमाई पूरा गर्‍यो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले ४ रन बनाइन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस १५ दशमलव दुई ओभरमा २५ रन बनाएर अलआउट भएको थियो । मधेसका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । सात खेलाडी डकआउट भए ।

आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।  आश्मा प्लेयर अफ द म्याचसमेत भइन् ।