`

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइन: महान्यायाधिवक्ता

काठमाडौँ, ६ माघ : महान्यायाधीवक्ता रमेश बडालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ का सम्बन्धमा निष्कर्षमा पुग्नुअघि हाल सञ्चालनमा रहेको अस्पतालको हैसियत, सम्पति र कर्मचारी व्यवस्थापनलगायतका विषयमा स्पष्ट हुन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथिको छलफलमा उठेको प्रश्नमा उहाँले अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण कार्य कानुनबमोजिम अघि बढाउन सकिने तर्क गर्नुभयो ।

छलफलमा खासगरी कानुन बनाएर गैरसरकारी संस्थालाई खारेज गर्न मिल्छ वा मिल्दैन ? संसद्ले कानुन बनाएर गैरसरकारी संस्था विघटन हुँदाका बखत त्यो सम्पतिलाई नयाँ स्थापित हुने निकाएको हुने भनी घोषणा गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उठेका थिए ।

समितिले संविधान र प्रचलित कानुनले सार्वजनिक निकायमा कर्मचारी नियुक्तिका सन्दर्भमा लोक सेवा आयोगको संलग्नता, विधि र प्रक्रिया पूरा गर्नुपर्ने अवस्थामा एउटा गैरसरकारी संस्थाका कर्मचारी सार्वजनिक निकायमा आउन सक्छन् कि सक्दैनन् भन्नेसहित छ वटा प्रश्न महान्यायाधीवक्तालाई सोधेको थियो ।

गैरसरकारी संस्था हस्तान्तरण नभई विश्वविद्यालयमा रूपान्तरण गर्न लागेकाले कानुन बनाएर अघि बढाउन सकिने भए पनि श्रम ऐनअनुसार श्रमिकको अधिकार र सुविधा भने सुनिश्चित हुन आवश्यक रहेको बडालको भनाइ थियो । 

 अस्पताललाई सरकारी र निजी अवधारणका आधारमा अघि बढाउन र कर्मचारीहितका विषयलाई गम्भीरताका साथ लिन उपयुक्त हुने समितिलाई सुझाव प्राप्त भएको छ ।

 आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालयमा रूपान्तरण गरिनु उपयुक्त हुने समिति सदस्यहरूको भनाइ थियो । उहाँहरूले आँखा शरीरको महत्वपूर्ण तथा संवेदनशील अङ्ग भएकाले यसको अध्ययन, अध्यापन, अनुसन्धानका लागि विश्वविद्यालय निर्माणको विषय सकारात्मक रहेकाले विधेयकलाई परिस्कृत गरी यथाशीघ्र निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समिति सदस्य नारायणकाजी श्रेष्ठले विश्वविद्यालयका रूपमा अघि बढाउँदा कानुन निर्माणभन्दा अघि मर्ज हुने भनिएका संस्थाको नाममा रहेका जग्गा प्राप्तिको सुनिश्चिता र आवश्यक पर्ने जमिन यकिन हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले चिकित्सा शिक्षातर्फ उच्च शिक्षामा नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान र गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा स्वास्थ्य सेवाको सहज पुहँच वृद्धि गर्नेलगायत उद्देश्य राखेर विश्वविद्यालय स्थापनासम्बन्धी अवधारणासहित विधेयक ल्याएको हो ।

‘अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो’ : मन्त्री गुरुङ

लमजुङ, ६ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

आज क्व्हेलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयको ५०औँ स्वर्णजयन्ती कार्यक्रम उद्घाटन गर्दै उहाँले विकास र सुशासनको गति बढाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताउनुभयो । 

 “मुलुक पञ्चायत, बहुदल, युद्ध हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि काम गर्ने अवस्था पुरानै छ । कानुनको कुरा पनि त्यही हो । यसकारण ऐन, कानुनमा आवश्यक संशोधन गरेर कामको गति बढाउन सरकारले अध्यादेश ल्याएको हो”, मन्त्री गुरुङले भन्नुभयो । 

उहाँले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्र मात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राख्नुभयो । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “मुलुकमा जनताले अझै पनि सहज रूपमा छिटोछरितो र भनसुनविना सेवा पाउन नसकेको गुनासो सबैले सुनिरहेकै छौँ । अध्यादेश जारी भएसँगै ती समस्या हल गर्न सहज हुने हाम्रो अपेक्षा छ ।”

उहाँले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र हुनुपर्ने नियम बनाएको बताउनुभयो । कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारका प्रवक्ता गुरुङको भनाइ थियो ।

गण्डकी प्रदेशका अर्थ मामिलामन्त्री डा टकराज गुरुङले सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, बिजुली पर्यटनलगायत क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । त्यस अवसरमा उक्त विद्यालयमा सूचना प्रविधि कक्षासमेत स्थापना गरिएको छ ।

भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता

भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए ।

एक प्रहरी अधिकारीले भन्नुभयो,“आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।”

प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले परम्परागत रूपमा बनाइएका डुङ्गाहरूलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्छन् ।

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौँ, ६ माघ : पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।

 भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो । 

अहिले नेपालको पुरुष टोलीले उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ । 

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक विषयमा ध्यानाकर्षण

सुदूरपश्चिम, ६ माघ : सुदूरपश्चिम प्रदेशसभा, आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरूले प्रदेशमा देखिएका विकृति विसङ्गति रोक्न, युवामा देखिा थालेको असन्तुष्टि समयमै सम्बोधन गर्नेगरी काम गर्नुपर्ने, प्रदेश र प्रदशेवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराउनुभयो ।

 यस्तै, संसद्का विषयगत समितिको काम कारबाही प्रभावहीन देखिँदा जनतामा निराशा छाएको, हालसम्म पनि प्रदेशको स्थायी राजधानी निर्माणमा सरकार बेवास्ता गरेको, भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने गरी काम नभएका भन्दै सरकारलाई सचेत गराउनुभयो । 

विषेश समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले आफ्नो धारणा राख्नुभयो । यसैगरी प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र डा ताराप्रशाद जोशीले समयसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले विशेष समयमा उठान भएका जिज्ञासाबारे सात दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रीलाई  ‘रुलिङ’ गर्नुभयो । 

बैठकमा प्रदेशसभा सदस्य पदमबहादुर शाहीलाई विधायन तथा प्रदेश मामिला समितिबाट सामाजिक विकास समितिमा र कैलाश चौधरीलाई सामाजिक विकास समितिमा रहेर कामकाज गर्नेगरी हेरफेर गरिएको सभामुखबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

  यसैगरी सभामुख भण्डारीले प्रदेशसभाको विषेशाधिकार समिति सदस्यमा मधुदेवी भारती, तुल्सी देवकोटा, राजेन्द्रसिंह रावल, मानबहादुर धामी र जानकी ऐर बमलाई मनोनयन गरिएको जानकारी दिनुभयो । 

   सभामुख भण्डारीले प्रदेशसभाअन्तर्गत विषयगत समितिमध्ये सभापति रिक्त रहेका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सभापतिको निर्वाचन सुरु गर्नेगरी कार्यतालिका प्रकाशन गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिनुभयो ।        प्रदेशसभाको पाँचाँै अधिवेशनअन्तर्गत आजदेखि बैठक सुरु भएको हो ।

सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि

काठमाडौँ, ६ माघ : नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सभापति कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र सङ्कटा क्लबले सहभागिता जनाउनेछन् ।

उद्घाटन खेल ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच हुने हुनेछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक एवं सांसद मोहनबहादुर बस्नेतले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । फाइनल बाहेक सबै खेल दिउँसो ३ बजेदेखि सुरू हुने उहाँले जानकारी दिनुभयो ।

यही माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, माघ १२ गते नेपाल पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीप्रदेशबीच तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । यसैगरी माघ १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् भने माघ १७ गते फाइनल खेल हुने छ ।

फाइनल खेलअघि माघ १६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने नेता बस्नेतले जानकारी दिनुभयो । आयोजक संस्थाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड ४० लाख खर्च हुने छ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख पुरस्कार पाउनेछ ।

यस्तै हरेक टोलीलाई प्रत्येक खेल बराबर रु ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ७५ हजार, उत्कृष्ट गोल किपरलाई रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु ५० हजार, उदीयमान खेलाडीलाई रु २५ हजार तथा प्लेयर अफ दी म्याचलाई रु १५ हजार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलन सांसद बस्नेतले नेपालमा खेलकुद क्षेत्रले सरकारबाट पर्याप्त बजेट पाउन नसकेको बताउनुभयो । जुनकुनै सरकार आउँदा पनि खेलकुद क्षेत्रमा बजेट वृद्धि हुन नसकेकामा उहाँले गुनासो गर्नुभयो । खेलाडी पलायनप्रति पनि सांसद बस्नेतले चिन्ता व्यक्त गर्नुभयो । सभापति कप हरेक दुई दुई वर्षमा आयोजना हुने र कांग्रेसका दिवङ्गत नेताहरुको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौँ, ६ माघ : नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।

भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।

यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे ।

‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल

धनकुटा, ६ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताउनुभएको छ ।

पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज यहाँ उद्घाटन गर्दै उहाँले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताउनुभयो । महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राख्नुभयो ।   

नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रशंग सुनाउँदै उहाँले ३२ सिट भइको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्नुभयो । 

संसद्मा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ  अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वखानेपानीमन्त्री राजेन्द्रकुमार राई, प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्नुभएको थियो । आजबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिनुभयो । 

‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’ : मन्त्री अधिकारी

काठमाडौँ, ६ माघः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आमकिसानको समस्या सम्बोधन गर्ने बताउनुभएको छ ।

किसान आयोगको आठाँै स्थापना दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराउनुभयो । “अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ । यसमा सुधारका मन्त्रालयले काम गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले हरेक नागरिकले आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प गर्नुपर्ने र यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । “कृषि उपजको उत्पादन बढाउने सबैतिरबाट प्रयास भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन”,मन्त्री अधिकारीले भन्नुभयो “अब विषादी न्यूनीकरण गर्नेतर्फ सबैले प्रयास गरौँ । आफ्नै उत्पादन उपभोग गर्ने सङ्कल्प गरौँ ।”

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : उपमहासचिव ज्ञवाली

पर्वत, ६ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा प¥यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताउनुभएको छ ।

नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गर्नुभयो । “सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । 

वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयो । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उहाँले बताउनुभयो । 

सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उहाँको भनाइ थियो । सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उहाँले बताउनुभयो ।  भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।  

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । 

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्।

भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका छन् ।

प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन्।कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।

ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार (ओसारपसार)’ गर्ने समूह हो।

सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भन्नुभयो, “देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।”

उहाँले एक्समा सेनाद्वारा प्रकाशित एक भिडियोमा भन्नुभएको छ , “ईएलएन र फार्क विद्रोहीबीचको युद्धविरामको ‘उल्लङ्घन’ ले “सर्वसाधारणमा व्यापक असर छ।”

उहाँले भन्नुभयो, “उनीहरुले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लङ्घन गरेका छन् । यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,” कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौं सैनिकहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गर्नुभएको थियो ।

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उहाँले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गर्नुभएको थियो ।

कोलम्बियाको ओम्बड्सम्यान कार्यालयले शनिबार राति क्याटाटुम्बोमा करिब ६० जनाको मृत्यु भएको जनाएको छ । कार्यालयका अनुसार केही बासिन्दा हिंसाबाट बच्न ‘पहाडी क्षेत्रमा शरण लिइरहेका’ छन् ।

“शान्तिमा हस्ताक्षर गर्ने, सामाजिक अगुवा र उनीहरूका परिवार र बालबालिकासमेत धेरैलाई अपहरण वा हत्याको विशेष जोखिम छ,” कार्यालयले भनेको छ ।

प्रभावित समुदायले पनि खाद्यान्न अभावको सामना गर्न थालेको भन्दै कार्यालयले सशस्त्र समूहलाई मानवीय सहायतामा पहुँच प्रदान गर्न र सर्वसाधारणमाथि हुने सबै प्रकारका आक्रमण रोक्न आह्वान गरेको छ ।

श्रीलङ्कामा बाढीको उच्च चेतावनी जारी

श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेका छन् ।
राष्ट्रिय निर्माण तथा अनुसन्धान सङ्गठन (एनबीआरओ) ले बाडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाका लागि सोमबार बिहानसम्म पहिरोको चेतावनी जारी गरेको छ ।

सिँचाइ विभागले पूर्वी र उत्तर मध्य प्रदेशका तल्लो क्षेत्र विशेषगरी महावेली नदी बेसिनका लागि बाढीको चेतावनी जारी गरेको छ । नदीका खोला क्षेत्रमा भारी वर्षा जारी रहेकाले यो चेतावनी मङ्गलबार बिहानसम्म कायम रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि वर्षा हुने सम्भावना रहेको छ ।

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजना गम्भीर

सिरहा, ६ पुस : पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१८प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प ७९ नम्बरको सङ्कल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उहाँकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका छन् । 

घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशाला स्कुलमा लेखापालको रुपमा कार्यरत थिए । उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन् । बस चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा, ६ माघः मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६÷७७ देखि सुरु भएको हो ।

हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।

झापादेखि धरानसम्मको पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको छ । जसमध्ये ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ । झापामा १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा दुई दशमलव तीन किमी र सुनसरीमा पाँच दशमलव ८१ किमी सडक कालोपत्र भएको हो ।

सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकामा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडक काम अन्तिम चरणमा पुगेको जनाइएको छ । विगतका वर्षमा ३१ दशमलव ६८ किमी सडक कालोपत्र भएको थियो भने चालु आवमा १० किमी सडक कालोपत्र भइसकेको छ । 

मदन भण्डारी राजमार्गको निर्माणका लागि सङ्घीय सरकारले चालु आवमा रु ९१ करोड बजेट विनियोजन भएकामा रु ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

चालु आवमा १५ किमी थप सडक निर्माण गर्ने लक्ष्य रहेकामा १० दशमलव ६७ किमी सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार दुई सय किलोमिटर छ । धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा पनि हाल काम भइरहेको छ । 

“वन क्षेत्रसँग सम्बिन्धत समस्याबाहेक यो खण्डमा निर्माण तीव्र गतिमा भइरहेको छ”, सूचना अधिकारी दत्तले भन्नुभयो, “वन क्षेत्रमा परेको सडकमा भोगाधिकारका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको हुँदा अब रुख कटानलगायतका काम छिटै सम्पन्न हुनेछन् ।”

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन् ।

अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताएका हुन् ।

‘हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ’, उनले भने ।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताए । ‘आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डो¥याएका छौँ’, उनले भने ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो ।

‘पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ’, अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उनले उल्लेख गरे ।

‘कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ’, उनले भने  ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए ।

‘सम्पत्ति शुद्धीकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ’, अर्थमन्त्री पौडेलले भने ।

किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै लक्ष्मण

डडेल्धुरा, ६ माघः किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । उहाँले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ ।
थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्नहुन्छ । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।

उहाँले आलिताल –२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गर्नुभएको छ । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताउनुभयो ।

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिनुभयो । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट रु एक सय ५० का दरले बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो । डेढ रोपनी क्षेत्रफलमा उहाँले किवीको बेर्ना उत्पादन गरिरहेको छ । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताउनुभयो । बेर्ना बिक्री गरेरै वार्षिक रु पाँच लाख आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट रु पाँच सयका दरले किनेर लगाएको बताउनुभयो ।

अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो

काठमाडौं, ६ माघ -अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भिषण युद्ध हो ।

सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकूले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए भने घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए । यतिमात्र होइन, उनीहरुले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबर्जस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।
यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भिषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समुल नष्ट गर्ने र बन्धकहरुलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई संयुक्तराज्य अमेरिका सहित पश्चिमा देशहरुले आर्थिक, सैनिक, राजनैतिक समेत सबै किसिमका सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सरकारले हमास बिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।

अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।

एक लाख बढी प्यालेस्टिनी अङ्गभङ्ग भएका छन् । मानवीय सङ्कटको चरम स्थितिमा पुगेपनि इजरायली आक्रमण निरन्तर जारी रहेको थियो । गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन्, सडकहरु ट्याँक र बमबारीबाट क्षतिबिक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् । एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ, र अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।

इजरायलले हमासका नेताहरुलाई पनि गाजा र अन्यत्र छानीछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का बरिष्ट नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।

लेबनान र इरानमाथि आक्रमण

गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो । यसक्रममा आठसय भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्यहरु मारिए । हेज्बोल्लाहका नेता हसन नसरल्ला, इब्राहिम अकिल समेत यस समूहका कैयौँ बरिष्ठ सदस्यहरुको पनि ज्यान गएको थियो ।

झण्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच नोभेम्बर २७ मा युद्धबिराम भएको थियो । यसक्रममा हेज्बोल्लाहले पनि इजरायली सहरहरुमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए । तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन ।

उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि २०२४ अक्टोबर १ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, तर संयुक्तराज्य अमेरिकाको दबाबपछि इजरायलले तत्कालै प्रत्याक्रमण गरेको थिएन । तर इजरायल चुप लागेर बस्ने अवस्थामा थिएन, र उसले पनि इरानमा अक्टोबर २६ मा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको दाबी गरेको थियो ।
युद्धबिराम, शान्तितर्फको एउटा अवसर

सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धबिराम भएको थियो । यो युद्धबिरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै नोभेम्बर ३० मा अर्थात् ६ दिनमा भङ्ग भएको थियो । यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झण्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए । तर यो युद्धबिरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धबिराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो ।

इजरायलले गाजाबासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धबिराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धबिराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकारहरु कतारमा भेला भएका थिए ।

तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धबिराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । युद्धबिराम सम्झौता आज आइतबार बिहान ८.३० (इजरायली समय अनुसार) बजेदेखि सुरु हुँदैछ । युद्धबिराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै गाजापट्टिमा २०२५ जनवरी १९ को बिहान ८.३० बजे (नेपाली समय अनुसार दिउँसो १२.१५ बजे) देखि युद्धबिराम सम्झौता लागू हुने भएकाले युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धबिरामको गाजाबासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।

हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले छ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ जसमा महिला, बालबालिका र वृद्धवृद्धा रहनेछन् भने यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बिबिसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन सुरु गर्नेछ । बिस्थापित गाजाबासीलाई आफ्ना घर फर्कन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ । इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौं ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्वाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षहरुसमक्ष आह्वान गरेको छ । “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ ।”

युद्धबिरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ भने गाजाको पुनर्निर्माण अभियान सुरु हुनेछ । एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी बिपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपी, युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक बिपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।

पछिल्लो युद्धबिरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रष्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ ? हमास वा अरु कुनै निकायले ? यो प्रश्न अनुत्तरित छ, र यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् । अतिशय दुःख व्यहोर्न बाध्य गाजाका पीडित बासिन्दा पटकपटकका यस्ता युद्ध सधैँका लागि अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको दिगो समाधान दुई–राज्य नै हो भन्नेमा बिमति छैन ।

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

बागमती, ६ माघः बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचाँै अधिवेशन बस्ने तयारी गरेको छ ।
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

“प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ”, सभामुख पाठकले भन्नुभयो, “प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ । सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला”, उहाँले भन्नुभयो ।

गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ६ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ७०, गाजर (तराई) प्रतिकेजी रु ६०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २०, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४५, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १५०, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३५, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ८०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १४०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

पर्वतका दुईवटा सामुदायिक क्याम्पस गाभिए

पर्वत, ६ माघः सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो ।

नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्च’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए ।

अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीले बताउनुभयो ।

दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उहाँले बताउनुभयो ।

क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ । बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उहाँले बताउनुभयो । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए ।

जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।

पोखरामा आजदेखि दाइँ महोत्सव

कास्की, ६ माघ : पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।

“पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो ।

पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेसाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ ।

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दी, ६ माघः भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । “एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ”, उहाँले भन्नुभयो, “एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।” स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताउनुुभयो ।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

गलकोट (बागलुङ), ६ माघः निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।

विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ ।

काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ ।

सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ ।

काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ ।

भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमा सडक कालोपत्र गर्ने दाबी गर्नुभयो ।
सडकको सुरुमा एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस

दमौली (तनहुँ), ६ माघ : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन ।

देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ । देवघाट–३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पु¥याउन सकस भएको देवघाट–३ बाटकका हर्कबहादुर थापाले बताउनुभयो ।

“यस वर्ष वडा नं ३ मा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्”, उहाँले भन्नुभयो ।

लुङग्रिङमा एउटै परिवारले रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिनुभयो । लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौँ बिक्री गर्न लैजाने गरेका छन् ।

नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ । पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ । दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताउनुभयो । पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने गरेको छ ।

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

सिन्धुपाल्चोक, ६ माघ : नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।

यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडाँै तेस्रो भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन

सुन्दरहरैँचा (मोरङ), ६ माघः सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ । “हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।”

नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम न्यौपानेले बताउनुभयो । उहाँले हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गर्नुभयो ।

विगत तीन साताअघि सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जङ्गली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ ।

यसबीच मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेलापरेका छन् । एउटा जङ्गली हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो । जङ्गली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।

युवालाई पलायन हुन नदिन देशभित्रै रोजगारी सृजना गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकबाट युवाशक्ति पलायन हुन नदिन देशभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट पेसागत महासङ्घद्वारा आयोजित सङ्गठनात्मक कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष नेपालले युवा जनशक्ति दैनिक हजारौँको सङ्ख्यामा रोजगारीका लागि विदेश गइरहेकाले त्यसलाई रोक्न एक रोजगार प्राधिकरण स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । रोजगारीको अवसर सृजना गर्न औद्योगिकरणको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि कृषि, ऊर्जा, पर्यटन तथा पूर्वाधार निर्माणका क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

नेपालले प्रत्येक वर्ष उत्पादन हुने शैक्षिक जनशक्तिको वास्तविक तथ्याङ्क अद्यावधिक गरी श्रम बजार व्यवस्थित गर्नुपर्ने उल्लेख अध्यक्ष नेपालले श्रमिक कामदारलाई कानुनबमोजिम सामाजिक सुरक्षा अनिवार्य रूपमा उपलब्ध गराउन ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मुलुकमा विकास तथा समृद्धि कायम गर्न समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले आयात प्रतिस्थापन गर्ने तथा निर्यातजन्य उद्योग र व्यवसायीलाई सरकारले करमा छुटलगायत आवश्यक सहुलियत उपलब्ध गराउन सकेमा देशमा रोजगारी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष प्रेमल खनालले ट्रेड युनियनका क्षेत्रमा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिनुभएको थियो ।

राप्रपाद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरेको छ ।

साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउनु हुनेछ । 

पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताउनुभयो । 

वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेतालाई जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वाग्मती सफाइमा जुट्न थाले

काठमाडौँ, ६ माघ : काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।

वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको थियो । स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित वाग्मती सफाइ अभियानकर्मी पनि सफाइमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । त्यस क्षेत्रको वाग्मती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उहाँले सुनाउनुभयो । कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो ।

कामनपा वडा न ९ र ८ संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा वाग्मती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ एव बिरुवा गोडमेल गर्ने गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाहीले बताउनुभयो । गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा वाग्मती किनारमा हुने गरेको छ ।

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

बरहथवा (सर्लाही), ६ माघ : सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।

सधँै चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाउनुभएको छ । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।

“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भन्नुभयो– “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।” विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उहाँले चिया पकाउनु सुरु गर्नुभएको थियो । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

“घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”

आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताउनुभयो । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उहाँले भन्नुभयो, “होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उहाँले बताउनुभयो । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाउनुभयो । त्यसबाट उहाँले दैनिक रु छ हजारसम्मको कारोबार गर्नुहुन्छ ।

चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताउनुभयो । “प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “एक कप चिया रु २० मा बेच्छु ।” उहाँका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाउनुभयो ।

“त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।” महिनामा रु एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उहाँले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिना अघि उहाँले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाउनुएको छ ।

साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उहाँ बताउनुहुन्छ । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उहाँलाई भान्जा भनेर सम्बोधन गर्छन । उहाँ पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्नुहुन्छ । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।

जङ्गली हात्ती बस्तीमा पसेपछि सर्लाहीमा स्थानीय त्रसित

बरहथवा (सर्लाही), ५ माघः जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।

तीनवटाको सङ्ख्यामा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिनुभयो । “गएराति एक्कासि गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेका हुन्”, उहाँले भन्नुभयो, “खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन् । हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ ।” 

वडाध्यक्ष थापाका अनुसार गएराति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उहाँको भनाइ छ । 

विपन्न एकल महिला मगरको हात्तीले घर भत्काएपछि उहाँ थप त्रसित बन्नुएको स्थानीयले निर्मला कार्कीले बताउनुभयो । हात्तीले घरभित्र रहेको अन्नपात खाएको भन्दै रातको समयमा हात्ती आएको देखेपछि मगरले छिमेको घरतर्फ भागेर ज्यान जोगाएको बताउनुभयो ।  

सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेतसहितको करिब बिघा जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली पनि क्षति गरेकोसब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिनुभयो । 

सबडिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन् । 

गत वर्ष पनि जङ्गली हात्तीले घुर्कौली जङ्गलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा यसवकको निधन भएको थियो । अहिले वन क्षेत्रमा देखिएका जङ्गली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ । 

हात्तीलाई आफ्नो गन्तव्य बासस्थानतर्फ फर्काउन पहल भइरहेको वन कार्यालयका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

मधेशका मुख्यमन्त्री भन्छन्- सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ

महेन्द्रनगर (धनुषा), ५ माघः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीयतापछि प्रदेश सरकार पाए पनि प्रहरी प्रशासन व्यवस्थापन र ठूल विकास आयोजनालगायत काम गर्न सङ्घकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गर्नुभएको छ । “प्रदेशमा मुख्यमन्त्री, मन्त्री र अन्य अङ्गहरू क्रियाशील छन् तर हातखुट्टा बाँधेर काम गर भनेजस्तो अव्सथा छ । यसैकारण धेरै काम गर्न सकिएको छैन । यो अवस्था अन्त्य गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिने सहिदको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदा सहिदहरूलाई सम्मान गरिएको थियो ।

महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन

प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।

महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ ।जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताउनुभयो ।
प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले एएनआईसँग भन्नुभयो,“मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।”

“यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ । ”

शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिनुभयो ।

“उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उहाँलाई यसका लागि हृदयदेखि बधाई दिन्छु,” उहाँले बताउनुभयो ।
सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गर्नुभयो । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टी (भाजपा)का सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरु पनि थिए ।१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ ।

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द

गुल्मी, ५ माघः यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।

नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । 

यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो । 

निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडाैँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । 

निगमले काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । 

यहाँबाट काठमाडौँका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । 

पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताउनुभयो ।  

विश्वकप खोखो प्रतियोगिताको फाइनलमा नेपाली महिला टोली

काठमाडौँ, ५ माघः नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो । 

महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुनसक्दैन’ : मन्त्री गुरुङ

लमजुङ, ५ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताउनुभएको छ ।

बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । “धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भन्नुभयो,“समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”

उहाँले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिनुभयो । “प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा एनसेलका प्रतिनिधि डिल्लिराम श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थाले आश्रमको भवन निर्माणको लागि रु १० लाख सहयोग गरेको बताउनुभयो । उहाँले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा हालसम्म रु दुई अर्बभन्दा बढी सहयोग गरेको बताउनुभयो ।

आश्रमकी संयोजक अनिता अधिकारीले चन्दादाता, विभिन्न सङ्घसंस्था, स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भइरहेको बताउनुभयो । आश्रममा हाल २४ जना रहेका उहाँले जानकारी दिनुभयो ।

यसैबीच मन्त्री गुरुङले आजैै यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको अवलोकन गर्नुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको अवलोकन गर्दै उहाँले भवन निर्माण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले भवन निर्माणको अवस्था, चुनौती, समस्या तथा बजेटबारे जानकारी गराउनुभयो । उहाँले जग्गा सम्याउन, पहिरो रोकथाम, पर्खाल निर्माण र तीन वटा घर निर्माणलगायत काममा रु छ करोडभन्दा बढी खर्च भइसकेको बताउनुभयो । हालसम्म ४० प्रतिशत निर्माण कार्यसम्पन्न भएकाले बाँकी काम गर्न आर्थिक सहयोगका लागि संयोजक अधिकारीले मन्त्री गुरुङलाई आग्रह गर्नुभयो ।

विसं २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न संघसंस्थाको सहयोगमा भवन निर्माण भइरहेको छ । आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने देव गुरुङको चेतावनी

दमौली (तनहुँ), ५ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभएको छ ।

आज यहाँ आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उहाँले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो ।

महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले र गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले सम्बोधन गर्नुभएको थियो ।

बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिनुभयो ।

हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

सिमकोट (हुम्ला), ५ माघः जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सीमित स्रोतसाधनका बीच पनि उहाँको सफल शल्याक्रिया भएको हो ।

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आउनुभएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताउनुभयो । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना हुनुभएकी उहाँको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो । 

शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको जानकारी दिनुभयो । 

अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्तालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । परियारका श्रीमान लभ परियारले भन्नुभयो, “चिकित्सकले सुत्केरीको अवस्था जटिल भएकाले नेपालगञ्ज वा सुर्खेेत लैजान भन्नुभएको थियो । आर्थिक अभावका कारण जिल्लाबाहिर लैजाने अवस्था थिएन । पछि यहाँका डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीले सफल शल्यक्रिया गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु ।” परियारले दुई जुम्ल्याहा छोरी जन्माउनुभएको छ । जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।  

‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’ : सभामुख घिमिरे

मन्थली (रामेछप), ५ माघः सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताउनुभयो । सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एवं सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनका सम्पन्न भएको हो । सो अवसरमा पञ्चेबाजासहितको ¥यालीले मन्थलीबजार परिक्रमा गरी स्थानीय तीनलालपार्कमा पुगी सभामा परिणत भएको थियो । 

अधिवेशनले नवीन घिमिरेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको नयाँ कार्यसमितिमा उपाध्यक्षद्वय अञ्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुल्ला), सचिवमा सुन्दर घिमिरे र सहसचिव वेदकुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरेका साथै सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष घिमिरेले राससलाई जानकारी दिनुभयो ।

पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार सुरक्षा बलहरूले आतङ्ककारीहरूको उपस्थितिको सूचनामा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरेको हो । “अपरेशनको सञ्चालनको क्रममा पाँच आतङ्ककारीहरू मारिएका र एकलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।”

आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रबाट अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेसन सञ्चालन भइरहेको बताइएको छ ।
सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन प्रतिबद्ध रहेको जनाएको छ ।