पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्छः महासचिव पोखरेल


काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्ने बताउनुभएको छ ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टी बाहिरबाट पार्टीका विरुद्ध प्रहार भए अझ सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले हाल समग्र प्रहारको निशाना पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनुभयो । “हाल हाम्रो पार्टी र आन्दोलनमाथि जुन कुरालाई केन्द्रविन्दु बनाएर प्रहार भएको छ । त्यसलाई विस्थापित नगरीकन हाम्रो आन्दोलन अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले नवौँ केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन दोस्रो विधान महाधिवेशनमा छलफल गरिनेसमेत बताउनुभयो । उहाँले मिसन २०८४ लाई ध्यानमा राखेर पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
महासचिव पोखरेलले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमति अनुमोदन हुने प्रणालीमा जानुपर्ने बताउनुभयो । प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको सङ्गठनात्मक प्रणाली र जीवन बन्नुपर्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले सामान्तवादलाई राजनीतिक रूपमा पराजित गरिए पनि दलाल पुँजीवाद यथावत् रहेको बताउनुभयो । “२०६२÷६३ को आन्दोलनबाट सामन्तवाद पराजित भयो, तर दलाल पुँजीवाद पराजित भएको छैन । हाम्रो समाजमा दलाल पुँजीवाद अझै चुनौतीका रूपमा छ”, उहाँले भन्नुभयो,“यी विविध कारणले अर्थतन्त्रलाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिएको छैन, जसले गर्दा नेपाली राजनीतिमा बाह्य प्रभाव रहेको छ ।”
एमाले पोलिटब्यूरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई एकढिक्का बनाएर मिसन २०८४ मा सामेल हुनुपर्ने बताउनुभयो । उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीले पार्टी नेतृत्व र सरकारमाथि हुने हमलाको सबैले प्रतिपादन गर्नुपर्ने बताउनुभयो ।