`

गृहमन्त्री लेखक र यातायातमन्त्री दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर), ५ माघः गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गर्नुभएको छ । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गर्नुभएको हो ।

पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’(बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ । 

गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुग्नुभएको हो । 

पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताउनुभयो । “पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएका हाँै ।” 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो । महाकाली नदीमा निर्मित चारलेनको पक्की पुलको दुवैतर्फ छ सय मिटर चौडाइ र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । 

सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ‘ग्राभेल’ र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको सडक विचागले जनाएको छ । 

नयाँ डिजाइन वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्कारएर महाकाली बस्तीतर्फ सोझिएको छ । सोही कारण बस्ती र पुलसँग पुग्ने पहुँच मार्ग जोखिममा परेको छ । 

भीमदत्त नगरपालिका–१२ का स्थानीय कृष्णसिंह देउवाले भुजेलाखोला र महाकाली नदीमा बनेको बाँध भत्किएपछि पुलसँगै बस्ती जोखिममा परेकाले समयमा बाँध निर्माण गर्न मन्त्रीसँग आग्रह गर्नुभयो । “वर्षा सुरु हुन तीन÷चार महिना मात्रै बाँकी छ, यहाँ पुनः बाढी आउन सक्छ । यहाँका स्थानीय अहिलेदेखि नै बाढीको त्रासमा छन्”, उहाँले भन्नुभयो, “यथाशीघ्र बाढीको समस्या समाधान नभए भीमदत्तका तीन वडा र पुलमा क्षति हुनसक्छ ।”

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताउनुभयो । “नयाँ डिजाइन गत चैतमा स्वीकृत भएको हो । अहिलेसम्म भेरिएसन भएको छैन”, उहाँले भन्नुभयो, “भेरिएसनका लागि पटकपटक ताकेता गर्दा पनि हुन सकेको छैन ।” 

इन्जिनियर पाण्डेयले समयमा भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुनसक्ने बताउनुभयो । “नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुनसक्छ ।” 

पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माण गत वर्ष सकिए पनि पुलसँगैका अन्य संरचना भने निर्माण हुन बाँकी छन् ।

महोत्तरीको मझौरा गाउँका दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर, ५ माघ : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।

स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।

खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।

चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।

नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।

स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।

यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।

बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।

वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।

मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।

पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।

यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।

यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् ।

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता )

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन् ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कार्की नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्षको भूमिकामा रहेका थिए । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पनि पुनः सोही क्षेत्रबाट निर्वाचित भए । प्रदेश १ को स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका कार्कीले तीन वर्ष ७ महिना सो पदमा रहेर काम गरे ।

उनी मुख्यमन्त्री बनेपछि कोशी प्रदेशको विकासमा दूरगामी प्रभाव पार्ने थुप्रै महत्वपूर्ण कामहरु भइरहेका छन् । उनको नेतृत्वमा प्रदेशको नामकरण, स्थायी संरचनाको निर्माण र सङ्घीयतालाई बलियो बनाउने कार्यमा उनको भूमिका महत्वपूर्ण रहेको छ । जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । मुख्यमन्त्रीको रूपमा उनले प्रदेशको आर्थिक समृद्धि, सामाजिक विकास, र अन्य योजनाहरू अघि बढाउने प्रयास गरिरहेका छन् ।प्रस्तुत छ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग राससकर्मी कृष्ण अधिकारी र कालिका खड्काले गरेको कुराकानीः

प्रदेश संरचनालाई अझ बलियो बनाउन के गर्नुपर्ने देख्नुहुन्छ ? 

नेपालको नयाँ सविधानले सङ्घीय संरचना स्थापना गर्दा प्रदेश सरकारको व्यवस्था गरेको १० वर्ष भए पनि सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष भएको छ । यो अवधि आफौमा लामो होइन, यसबीचमा गुणात्मक नतिजा पाउन सकिन्छ । यद्यपि, अझै गर्न सकिने धेरै हुन सक्थ्यो । राजनीतिक स्थायित्वमा ध्यान नदिँदा सोचेअनुरुप हुन नसकेको यथार्थ हो । खासगरी भौतिक पूर्वाधारका निर्माणका कार्यहरु ३० औँ वर्षमा नभएका कामहरु पनि यस अवधिमा भएका छन् । सडक, पुललगायतका संरचनागत विकासहरु भएका छन् । कोराना कहर, भूकम्पको समयभन्दा बाहेक केपी शर्मा ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा निकै आर्थिक उन्नति भएको थियो ।

नेपालको सन्दर्भमा प्रदेश संरचना चाहिन्छ । यसले जनतालाई छिटो र प्रभावकारी ‘डेलिभरी’ दिन सक्छ भन्ने भएको छ । अध्ययन गरेर हेर्नु भयो भने आम जनताले अनुभूति गर्ने नजिकको सरकार प्रदेश सरकारले भएको छ । त्यो जनतालाई चाहिन्छ भन्ने छ । यस्का केही अप्ठयारा पनि छन् । पर्याप्त जनशक्ति, आर्थिक स्रोतको कमी, राजस्व बढाउने क्षेत्र पनि धेरै छैन । नेपाल सरकार र संघीय संरचनाले पनि अधिकार प्रत्योजन गर्ने खालको छैन । विकासको दृष्टिकोणमा धेरै फड्को मारेको छ । सात वर्षको इतिहासमा संरचनागत विकासमा प्रदेश सरकार निकै अगाडि छ ।

प्रदेश सरकारले काम गरि रहे पनि यसको औचित्यमाथि किन प्रश्न उठाउने गरिएको छ ? 

सामाजिक सञ्जालमा केही अभिव्यक्ति पनि आएका छन् । नेपाल करिब ३०० वर्ष लामो एकात्मक राज्यव्यवस्था भएको मुलुक होे । यस्तो मुलुकमा सङ्घीयता र त्यो पनि धेरै अधिकार दिने कुरामा केन्द्रीय संरचना तयार भएन । तीन संरचना बराबर अधिकार भएको किन चाहियो भन्ने प्रश्न उठेको छ । संविधानको एकल सूचीमा राखिएका अधिकार पनि बलियो भएन भने साझा सूचीका अधिकारहरुमा पनि अन्यौलता रह्यो । किन चाहिन्छ भन्ने कुरामा माहिलो संरचना उपेक्षित पनि हुन्छ । राजा हरिषचन्द्रको कथा हामीले पढदा पनि तीन छोरामा जेठो बाबुको कान्छो सानो भएर आमाको माइलो बेचिन गयो भन्ने छ नि । त्यही कथाकै रुपमा प्रदेश संरचनालाई कमजोर बनाइएको छ । हिजो संविधानसभामा संविधान बनाउनेहरु पनि प्रदेश संरचना चाहिदैन जसरी बोलिरहेका सुनिन्छ  तर आम जनताको इच्छा भने प्रदेश संरचना चाहिन्छ भन्ने नै छ ।

संविधानको अनुसूची ६ मा उल्लेखित प्रदेश संरचनाको एकल अधिकारको प्रभावकारी कार्यान्वयन गर्न कठिनाइ भएको हो ?

प्रदेश संरचनाको एकल अधिकारको प्रभावकारी कार्यान्वयन गर्न नीति बनाउने हो । कानुन बनाएर अघि बढ्ने हो तर कानुन बनाउने अधिकार हामीलाई छैन । सङ्घले दिएको कानुनअनुसार बनाउनुपर्ने हुन्छ । कानुन बनाउन आवशयक जनशक्ति आफैँ नियुक्त गर्न सक्दैनौँ । कानुनको सहसचिव, केही उपसचिव, धेरै अधिकृतको दरबन्दी तय गरिएको छ तर सङ्घले समयमा पठाउन नसक्दा कानुन बनाउन ढिलाइ भएको छ । सङ्घीय निजामती ऐन नआउँदा काम गर्न कठिन भएको छ । यद्यपि, प्रदेश संरचनाले आफनो स्रोत, साधनकै प्रयोग गरेर छोटो अवधिमा धेरै काम गरेको छ ।

प्रदेश सरकारको कति कानुन बनाउन बाँकी छन् त ? 

पाँच दर्जन कानुन बनाइसकेका छौँ । प्रदेशसभा यही माघ ७ गतेबाट आरम्भ हुन्छ । यहाँ केही नयाँ बनाउँदै र केही संशोधन गछौं । यो आर्थिक वर्षमा ६०/६५ वटा कानुन बनाइसक्छौं । सङ्घीय कानुन नआउँदा कानुन बनाउन सकिएको छैन । निजामती कर्मचारीको क्षेत्रमा कानुन बनाएका छौँ । सङ्घीय निजामती ऐन आउनेबित्तिकै संशोधन गर्छौं । राजनीतिक दलहरु २०७७ सालदेखि नै फुट्ने खालको प्रसङ्ग भइरहयो । राजनीतिक अस्थिरताले पनि कठिनाइ भयो । यसपटक हामीले संसद्लाई पूर्ण ‘विजनेस’ दिने गरी काम गर्दछौं । दश दर्जन जति कानुन नयाँ र पुराना गरी बनाउँदैछौं । कानुन बन्ने कुरामा दण्ड जरिवाना गर्ने, मान्छे थुन्ने अधिकार प्रदेशसँग छैन । सामान्य भाषामा भन्नुपर्दा प्रदेशसँग बन्दुक र सन्दुक पनि गतिलो छैन । प्रहरीले माथिकै आदेश आएअनुसार काम गर्छ । त्यस्तो कानुनहरु पनि नेपाल सरकारले बेलामा बनाउनुपर्छ जस्तो लाग्छ ।

तपाइँ पछिल्लोपटक मुख्यमन्त्री भएपछि भ्रमण वर्ष मनाउने घोषणा गर्नुभएको छ, यसको तयारी कस्तो हुँदैछ ? 

आगामी दिनमा कोशी प्रदेशमा पर्यटन विकास गर्न, आर्थिक समृद्धि गर्नका लागि आधारशीला तयार गर्न भ्रमण वर्ष मनाउने तयारी गरेका छौं । माघको दोस्रो हप्तामा बैठक बसेर वर्षभरिको कार्यक्रम तय गर्छांै ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन भित्र्याउन सहयोग पुग्छ । त्यसले आर्थिकरुपमा सहयोग पुग्छ । कोशी प्रदेश प्राकृतिक सुन्दरताको हिसाबले निकै सुन्दर छ । नेपालमा लगानीका सम्भावना पनि छन भन्ने देखिन्छ । कृषि उत्पादन, चियालाई ‘ब्रान्डिङ’ गरेर निर्यात गर्न सकिन्छ । यो प्रदेश धार्मिक पर्यटकको पनि निकै सम्भावना रहेको क्षेत्र हो । भ्रमण वर्षले कोशीका साथै सिङ्गो लाभ लिन सक्छ । नेपालको आर्थिक विकासका लागि धार्मिक पर्यटक, हिमाल आरोहण, खेलकुद, धार्मिक पर्यटनको सम्भावना धेरै छ । नेपालमा हिन्दूहरुको आराध्यदेश पशुपतिनाथ छ । छिमेकी मुलुक भारतमा हिन्दूको सङ्ख्या ८० करोडभन्दा बढी छ । उनीहरु पशुपतिनाथको दर्शन गर्न नेपाल आउँछन् । पाथीभराबाट बराह क्षेत्र हुँदै मुक्तिनाथ भएर पश्चिम जाने हो भने पनि सयौं हिन्दूधर्मका तीर्थस्थलहरु छन् । त्यस्तै नेपालमा विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको लुम्बिनी छ । मित्रराष्ट्र चीनसहित पूर्वी एसियामा एक अरब वुद्धधर्म मान्ने मानिस छन् । सुरक्षा, बाटो र पूर्वाधार तयार भएका वार्षिक एक करोड बुद्धधर्म मान्ने पर्यटक नेपाल आउँछन् । यसका लागि पूर्वाधार तयार गर्न ध्यान दिनुपर्छ । सुरक्षा र बसोबासको राम्रो व्यवस्था भए वर्षमा एक करोड भारतीय धार्मिक पर्यटक नेपाल आउँछन् । त्यही कुरामा केन्द्रमा राखेर भ्रमण वर्ष मनाउन लागि भएको हो ।

कोशी प्रदेशमा पहिलोपटक लगानी सम्मेलन हुँदैछ, सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य के के छन् ? 

लगानी सम्मेलनमा माघमै गर्ने योजना गरेका थियो । केही तयारी थप गर्नुपर्ने भएकाले आगामी वैशाख १८ र १९ गते कोशी प्रदेशमा गर्ने तय गरेका छौँ । नेपालभित्र लगानी गर्ने सम्भावना र गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न चाहनुहुन्छ । लगानी गर्न विदेशहरु पनि नेपालमा आउने वातावरण बनाउँदैछौँ । अहिलेसम्म करिब कृषि, पर्यटन, संरचना निर्माण, शिक्षा स्वास्थ्यलगायतका एकसय परियोजना प्रस्ताव तयार गरेका छन् । ४०/५० वटा बलिया प्रस्तावहरु छन् । तीमध्ये २०/२५ वटामा मात्र सम्झौता भयो भने राम्रो हुन्छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दश वर्ष नेपालमा बस्न दिने व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ । यसले कोशीमा रोजगार, आर्थिक चहलपहल, पर्यकीय केन्द्र बनाउन स्थापित गर्ने प्रयास गर्नेछौँ । आर्थिक पक्ष सबल बनाउने प्रयत्नमा छौँ ।

कोशी प्रदेशले चिया सम्मेलनको आयोजना गर्दैछ ? चिया सम्मेलनको मुख्य उद्देश्य के हो ?

यो आर्थिक वर्षको महत्वपूर्ण कार्यक्रम हो । वैशाख अन्तिम र जेठको दोस्रो हप्तामा इलाम र कन्याममा गर्दैछौँ । नेपालमा उत्पादन हुने चिया ९० प्रतिशत चिया कोशी प्रदेशमा उत्पादन हुन्छ । यो चिया अन्तर्राष्ट्रिय बजारमा गई पनि रहेको छ । तर राम्रो ढङ्गले ‘ब्रान्डिङ’ गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य लिएर यो सम्मेलन गर्न लागिएको छ । चियाको समग्र विषयमा जानकारी दिइन्छ । प्रत्येक शनिबार कन्याममा घुम्न आउने दश हजार पर्यटक हुन्छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगी, व्यापारी, कृषक ल्याएर छलफल गर्नेछौं । उच्च मुनाफा कमाउने योजना छ । यो महत्वपूर्ण कार्यक्रम हो ।

तपाइँ मुख्यमन्त्री बन्नु भएपछि कोशी प्रदेशमा सम्झनालायक कामहरु के कस्ता भएका छन् ? 

कोशी प्रदेश र नेपालकै विकासका लागि ‘गेमचेन्जर’को रुपमा विभिन्न योजनाहरुलाई लिइएको छ । पैदलमार्गका आधारमा पर्यटन प्रवद्र्धन गर्न केही योजनाहरु तय गरिरहेका छौँ । सत्ता हुँदा र नहुँदा म निकै लागें । गत वैशाख २७ गते अर्थ मन्त्रालयमा सम्झौता भयो । स्वीस सरकारले एक अर्ब ३५ करोड पदमार्ग निर्माण गरी पर्यटन विकासका लागि पैसा दिने भयो । नेपालले रु एक अर्ब १० करोड गरी दुई अर्ब ४५ करोडमा चारवटा पदमार्ग निर्माण हुनेछ । जम्मा चार सय मिमि छ । चारवटा पदमार्ग छन् । त्यसमा चियाबारी पदमार्ग सूर्यदय नगरपालिका इमालमा १८/१९ किमि रहेको छ । दोस्रो महागुरु फाल्गुनन्द पदमार्ग पाँचथरबाट इलामसँग जोडिने ३८ मिमि छ । लालीगुँरास पदमार्ग तेह्रथुुम, धनकुटा, सङ्खुवासभा, भोजपुर र उदयपुर जोडिने १६० किमि रहेको छ । त्यस्तै, चौथो पदमार्ग मुन्दुम पदमार्ग रहेको छ । यो उदयपुर, भोजपुर, सङ्खुवासभा र खोटाङका जिल्लामा जोडिन्छ । ती बनाउने सम्झौता भएको छ । साउनबाट सुरु गरी आगामी साउनसम्म यो काम पूरा गर्ने सहमति भएको छ । स्वीस सरकार, नेपाल सरकार, प्रदेश सरकारको नेतृत्वमा यो काम भइरहेको छ । पदयात्राले बसाइँसराइ रोक्ने, पर्यटक वृद्धि गर्ने, रोजगारमा वृद्धि गर्छ । प्रदेश सरकारको माइलस्टोन कार्यक्रम हो । कुनै पनि प्रकारको बन्द, हडताल नभएमा तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ । ठूलो पर्यटकीय आर्कषणको केन्द्र बन्छ । सबैलाई सहयोग गर्न म आग्रह पनि गर्छु । यसुले प्रदेश संरचना आफैँमा स्थापित हुन्छ ।

अर्को महत्वपूर्ण काम नेपाल सरकारको कर्जा सुरक्षण तथा लगानी कोषबाट सम्झौताको नजिक पुगेका छौँ । यसमा सूचना प्रविधिका लागि एक हजार युवायुवतीलाई रोजगार दिने परियोजना छ । कोशी प्रदेश सरकार कोशी भएको भर्खर दुई वर्ष भएको छ । धेरै सल्लाह, सबैको सामूहिक प्रयत्नमा कोशी प्रदेश नामाकरण म मुख्यमन्त्री हुँदा भएको हो । कोशी सबैको साझा नाम हो । एकल जातको मात्र नाम होइन । प्रदेश संरचनाले राजस्व लक्ष्य पूरा गरेका छैन । राजस्व लक्ष्य गतवर्ष रु चार अर्ब ९८ करोड थियो । अहिले पनि त्यही छ । गत वर्षभन्दा हामीले २० प्रतिशत राजस्व वृद्धि गर्ने योजना बनाएका छौँ । प्रदेशमा सकेसम्म राजस्व आफैँले धान्ने तयारी गर्दैछौँ ।

अन्त्यमा, सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउने तपाइँको योजनाअनुसार कसरी काम भइरहेका छन् ?  

नेपालको संविधानले प्रदेश संरचना तय गरेको छ । यो नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो । संविधानको अनुसूची ६ मा एकल अधिकार दिएको छ । त्यो अधिकारको प्रभावकारी उपयोग गर्न सकिएको छैन । रोयल्टी २५ प्रतिशत मात्रै छ । त्यसलाई ५० प्रतिशत बनाउनुपर्छ । राजस्व बाँडफाँट १५ प्रतिशत छ, त्यसलाई २५ प्रतिशत बनाइनुपर्छ । आर्थिक अधिकार दिंदा प्रदेश सरकार बलियो हुन्छ । स्थानीय तहले गर्न नसकेका प्रदेशलाई र प्रदेश गर्न नसक्ने स्थानीय तहलाई अधिकार दिन सकिन्छ । संविधान संशोधनको माध्यमबाट प्रदेशलाई थप बलियो र दिगो बनाउन जरुरी छ ।

‘मिसिङः केटी हराएको सूचना’

काठमाडौँ, ५ माघ ( ः पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु । मैले निर्माण भइरहेका भन्दा केही फरक कथा र विषयलाई दर्शकसम्म ल्याउने कोसिश गरेको हुँ ।”

निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताउनुभयो । सोही कारण उहाँले चलचित्रका अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेट्नु भएको छ । उहाँले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

“चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भन्नुभयो ।

चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र माघ ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

काठमाडौँ, ५ माघः ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

अध्यक्ष पाठकले निफमा ७० देशका छ सयभन्दा धेरै चलचित्रले प्रदर्शनीका लागि दिएको प्रस्तावमा निर्णायक समितिले उक्त चलचित्र छनोट गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरिरहेका छौँ । चलचित्र प्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट र छलफल चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।”

अध्यक्ष पाठकले निफमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने बताउनुभयो । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ  । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।

नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिनुभयो ।

‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

खोटाङ, ५ माघः हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचाँै अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य पदकसहित प्रथम उपाधि जितेको हो ।

पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेसँगै पिपलडाँडा देविस्थान मावि मङ्गलटारले रनिङ शिल्ड राखेको छ । लगातार तेस्रो र चौथो संस्करणको उपाधि जितेको पिपलडाँडा देविस्थान मावि मङ्गलटारले पाँचौँ संस्करणसमेत जितेपछि रनिङ शिल्ड राखेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । 

विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि आयोजना गरिएको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुलापन्थे मावि धितुङ पाँच स्वर्ण, दुई रजत र चार कास्य पदकसहित द्धितीय तथा ज्योति मावि राजापानी चार स्वर्ण, पाँच रजत र चार कास्य पदकसहित तृतीय भएका छन् । यस्तै, दुर्छिम मावि दुर्छिम चौथो, कालिका मावि पाँचौँ, सरस्वती मावि छैटौँ, हलेश्वर बोर्डिङ स्कूल सातौँ, लक्ष्मी मावि आठौँ, दाम्ली मावि र महेन्द्रोद्धय मावि नवौँ, कालिकादेवी मावि दशौँ, च्यास्मिटार मावि एघारौँ र जनता मावि बाह्रौँ भएका छन् । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालयले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र तथा अन्य विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलकुद प्रतियोगिता समापनसँगै साँस्कृति कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रममा उपाधि विजेता विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले पुरस्कार वितरण गर्नुभएको छ । 

हलेसी तुवाचङ नगरपालिका–१० अर्खाैलेस्थित सालपा खेलमैदानमा आयोजना गरिएको पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन यही माघ–२ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिकरुपमा गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ सामुदायिक र एउटा संस्थागतगरी १३ माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी भएका थिए । 

पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु सात लाख बजेट उपलब्ध गराएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थी, खेल शिक्षक र व्यवस्थापकका लागि खाना, खाजा र वासको व्यवस्था आयोजकले गरेको जनाइएको छ । 

नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका साथै खेल क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाको लगानीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । “भौतिक विकासले मात्र समृद्ध नगर सम्भव छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले सम्भव हुँदैन । सबै क्षेत्रको उत्तिकै सहभागिता आवश्यक छ । आगामी दिनमा नतिजा देखिनेगरी काम गर्न सबैसँग आग्रह गरिरहेका छौँ ।”  

अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीले दिक्तेलमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिले हुने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

काठमाडौँ, ५ माघः नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको छ । दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन बिपरित छिटो धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा बैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । 

लामो समय रोकिएको आईपीओ निष्काशन सुरु, दुई कम्पनीलाई बिक्रीको अनुमति

काठमाडौँ, ५ माघः लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ ।

बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ ।  

घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

काठमाडौँ, ५ माघः घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।

गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।

विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले रु ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले रु दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले रु २९ करोड ७६ लाख १३ हजार दुई सय ७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार छ सय ८५ राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले रु २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साङ्खुले रु १० करोड ३२ लाख ५९ हजार छ सय २२, मनमैजुले रु छ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले रु छ करोड ७७ लाख ३४ हजार छ सय ९७ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले रु १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले रु १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ राजश्व सङ्कलन गरेको छ ।

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको थियो ।

विदेशी मुद्राको विनिमय दर :अमेरिकी डलरको मूल्यमा वृद्धि

काठमाडौँ, ५ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, अष्ट्रेलियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसारे थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, ५माघः मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । 

तराई तथा उपत्यकामा हुस्सु–कुहिरो , सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ५ माघ : पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ज्योतिराजको ‘नाक्छोङ’ले मोरङबाट थाल्यो छायांकन

काठमाडौँ । ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरिएयो । मुर्हूतमा स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजाससहित पुर्खाहरु सम्झदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११का वडाध्यक्ष बिक्रम वान्तवालगायत स्थानिय कलाकर्मी थुप्रैको उपस्थिती थियो ।

कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष बिक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए ।

मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरुको कथा, संस्कृति फिल्ममा कम आएको बताउदै यसक्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता बिषयबस्तुमा जोड दिनुपर्ने बताए । फिल्म ‘गाउँ आएको बाटो’मा आफुले राईको कथा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो ।

निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरुको सम्मान र सम्झनासहित सुरु भएकोले ईतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । उनले ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीको अलवा अन्तररास्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राखे बताए ।
‘नाक्छोङ’का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार ब्यक्त गर्दै ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवस्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलवा अन्तराष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए । उनले भने, ‘अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु ।’
फिल्म किरण राईले निर्देशन गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । फिल्मको लेखन समेत किरणले गरेका हुन् ।

याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय रहने फिल्ममा बाबु श्रेष्ठको छायांकन रहने छ । फिल्मका मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् ।
फिल्मको छायांकन काठमाडौंँको अलवा बिराटनगर, मोरङ लगायत पुर्वका बिभिन्न स्थानमा हुनेछ ।

चलचित्र बिकास बोर्ड अन्र्तगतको आदीवासी, जनजाती, मातृभाषी प्रवद्र्धन समितिका संयोजक समेत रहेका राईले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे लगायत फिल्म निर्माण गरेका थिए । राईले केही अगाडि ‘सातौ बेलबारीआरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चादिको रनिङ ट्रफि समेत प्रदान गरेका थिए ।

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौँ, ४ माघ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ ।

नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गर्नुभयो ।

 उहाँले नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि घनिष्ट सम्बन्ध रहेको र ईयू नेपालको प्रमुख विकास साझेदारको रुपमा रहेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

 राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ

काठमाडौँ, ४ माघ : वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।

    निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर, ४ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि पठाएको फाइल छिट्टै टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै आज उहाँले सहमतिका लागि पठाइएका फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो । उहाँले आगामी जेठ १५ गतेभित्र अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रम सक्न निर्देशन दिनुभयो । 

“जेठको अन्तिम लागेपछि कार्यक्रममा जान हैरान हुन्छ, दिनमा तीन चार वटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन”,  उहाँले भन्नुुभयो, “यस्तो काम रोक्ने गरी अघि बढ्नुपर्छ ।” 

कम्तीमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, बेरुजू फर्छ्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।” 

यही माघ ७ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐन पेस गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नुपर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

 प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयले समय सीमाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । “एकैपटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठीक भएन, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

 समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

संसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग

मोरङ, ४ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताउनुभयो । 

अध्यक्ष दाहाल यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आउनुभएको हो ।

महाकुंभ मेलामा पाँचौँ दिन लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन

उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार शुक्रबार दिउँसो ४ बजे सम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुंभ मेलाको भ्रमण गरेका छन् । जारी गरिएको तथ्याङ्कअनुसार पाँचौँ दिन अपराह्न ४ बजेसम्म २७ लाख ८० हजारभन्दा बढीले त्रिवेणी सङ्गममा पवित्र स्नान गरेका छन् ।

जनवरी १६ सम्म त्रिवेणी सङ्गममा सात करोडभन्दा बढी मानिसले पवित्र स्नान गरेका छन् । आज दिउँसो २ बजेसम्म १० लाखभन्दा बढी कल्पवासी र १० लाख तीर्थयात्रीले महाकुम्भमा दर्शन गरेका थिए । यसैबीच जिल्लाको शान्ति सुरक्षामा सम्भावित विघ्न नआउन अधिकारीले फेब्रुअरी २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । आज एक आधिकारिक सञ्चारमा प्रहरी अतिरिक्त आयुक्त प्रयागराजले धारा १६३ अन्तर्गत निषेधाज्ञा आदेशहरू घोषणा गर्नुभयो ।

आगामी घटनाक्रमबारे जानकारी दिँदै एसीपीले भन्नुभयो,“चाडपर्वलाई ध्यानमा राख्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न जरुरी छ ।” महाकुंभ जनवरी १३ बाट सुरु भएको र २८ फेब्रुअरी सम्म चल्ने छ ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा गण्डकी पराजित

बैतडी, ४ माघ : प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग-यो ।

लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसी र आङ्गी पाठकले १–१ विकेट लिइन् ।

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व सङ्कलन

कैलाली, ४ माघः यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट रु ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी रु २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार चार सय राजस्व सङ्कलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट रु ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु सात लाख ९६ हजार आठ सय राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताउनुभयो । कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको थियो भने बेरुजु रकम रु एक लाख १९ हजार एक सय रहेको थियो ।

छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

चितवन, ४ माघ : चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ । बिहीबार निकुञ्जको धु्रव पोष्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो । उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ । मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन् । जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन् । मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन् ।

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट (हुम्ला), ४ माघ : हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताउनुभयो । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।
हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताउनुभयो । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।

चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ । पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो ।

उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो । रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो । यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट श्रृङ्खला समावेश ५५६ औं उडान मिसनलाई चिन्ह लगाइयो ।

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पु-याउने लक्ष्य

काठमाडौँ, ४ माघ : खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पु-याउने लक्ष्य रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिनुभएको थियो । उक्त छलफलका क्रममा उहाँले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

उहाँले भन्नुभयो, “अहिले हामीले मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पु-याएका छौँ । एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पु¥याउने लक्ष्य छ ।”

सो छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन लगायतको सहभागिता रहेको थियो ।

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ, ४ माघः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताउनुभएको छ ।

इप्पानाको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा उहाँले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी रहेको छ । चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार तीन सय मेगावाट क्षमताका आयोजना खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १२ हजार नौ सय ६५ मेगावाट क्षमताका आयोजना अध्ययन सकेर पिपीएको पर्खाइमा रहेका इपपानले जनाएको छ । यीमध्ये पनि ८० प्रतिशतभन्दा बढी आयोजना निजी क्षेत्रले विकास गरिरहेका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट विद्युत् नेपाला खपत गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक बढी भएको विद्युत् मात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई

काठमाडौँ, ४ माघः केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

जलवायु न्यायका लागि सगरमाथा संवाद : वनमन्त्री शाही

काठमाडौँ, ४ माघ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पु-याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गरिएको बताउनुभएको छ । राष्ट्रिय मानवाधिकार आयोगले आज यहाँ आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा उहाँले सम्मेलनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्नुभयो ।

बैठकमा उठाइएका विषयहरू स्वच्छ वायु, जलवायु न्याय र मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले उपलब्ध अवसर र स्वच्छ प्रविधिको उपयोग गरेर नेपालले अन्य देशले गरेका गल्ती नदोहो-याई स्वच्छ र दिगो विकासको मार्ग अपनाउन सक्छन् भन्ने विषयमा जोड दिइएको बताउनुभयो । विभिन्न १० मन्त्रालयका सचिवस्तरीय उपस्थिति र काठमाडौँ तथा ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुखहरूको सहभागितामा लामो समयपछि ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ को बैठक सम्पन्न भएको उहाँले जानकारी गराउनुभयो । उक्त कार्ययोजनाको मुख्य उद्देश्य काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शाहीले हाल वन मन्त्रालयले सबै मन्त्रालयको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी १० वर्षे योजना राष्ट्रिय निर्धारित योगदान (एनडिसी) बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो ।

काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

काठमाडौँ, ४ माघः काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकामा सवारीसाधनको प्रदूषण जाँच सुरू गरिएको छ । महानगरपालिकाले सवारीसाधनको अवस्था पहिचान गरी मर्मत गराउन आग्रह गरेको छ । महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको जनाएको छ ।

महानगरले मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेको छ । उक्त प्रावधानअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । त्यस्तै, सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

तीनपाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । दुई पाङ्गे् सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्ने कानुनी प्रबन्ध गरिएको छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

खाँदबारी (सङ्खुवासभा), ४ माघः कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ ।

आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ ।

भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दुरीमा पर्छ ।

‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्ने’

लेखनाथ (कास्की), ४ माघः नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता समयमा रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

आज पोखरामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेकाले सोलाई सकारात्मक रूपमा बदल्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिनुभयो ।

सात पुस्तासम्म जोडिएको कांग्रेसले नयाँ पुस्ताका युवासँग सहकार्य गर्दै अगाडि बढ्नपर्ने उहाँले धारणा राख्नुभयो । उपसभापति खड्काले पार्टीका नेता, कार्यकर्ताले नकारात्मक विचार र क्रियाकलाप छाडेर सकारात्मक मार्ग अवलम्बन गर्न सकेमा पार्टी सुदृढीकरणमा सफलता मिल्ने बताउनुभयो । उहाँले आवश्कताका आधारमा सबैको सहमति र समन्वयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कांगेसका उपसभापति खड्काले संविधानको मूल मर्म नबिग्रने गरी सबैको सहमतिका आधारमा संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

आजदेखि सुरु भएको प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती, ४ माघः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।

चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

प्रयोगविहीन बन्दै हुलाक सेवा

लमजुङ, ४ माघ : कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।

पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो । विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी भएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै गएको पाइन्छ ।

राइनास नगरपालिकाका ९३ वर्षीय मनमाया गुरूङले भन्नुभयो, “विगतमा चिठ्ठीपत्र हुलाकी दाईले घरघरमा ल्याउने गर्दथे, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा अर्थात् चिठ्ठीपत्र प्रयोग गरेका थियौँ । विगतमा हुलाकीलाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गरिन्थ्यो, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो ।” अहिले आधुनिक प्रविधिसँगै मोबाइल, इन्टरनेटको माध्यमबाट विदेश तथा विभिन्न ठाउँमा रहेका आफ्ना आफन्तको हालखबर मिनेटमै पाउने गर्दा चिठ्ठीपत्र पठाउन नपर्ने भएसँगै यसको बेवास्ता भएको उहाँले बताउनुभयो ।

“विगतमा चिठ्ठीपत्र पाउन पनि महिनौँ दिन कुर्नुपथ्र्यो, त्यसको महत्त्व ठूलो थियो । घर वरिपरि नै हुलाकी दाइ भेटिन्थे तर अहिले हुलाकी दाइ देख्न पनि रहर भइसक्यो,” उहाँले भन्नुभयो । तर अहिले हुलाक समयानुकूल हुन नसक्दा नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । हुलाक भनेको सुनेको, हुलाक कार्यालय देखे पनि यसको काम के हो ? जानकारी खासै नभएको मध्यनेपाल नगरपालिकाका २२ वर्षीय कुमार विकले बताउनुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा छैन र मैले सुने बुझेअनुसार पहिलाजस्तो हुलाक सेवा प्रभावकारी नभएकाले पनि थापा नभएको उहाँको भनाइ छ । नयाँपुस्ताका विकजस्तै कयौँलाई हुलाक सेवाबारे कमैलाई जानकारी छ ।

प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाखा नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत मात्रै काम हुने गरेको हुलाक अधिकृत गङ्गा घलेले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चारसेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगिविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यस जिल्लामा मात्र नभई देशभरिका हुलाक सेवा प्रभावकारी नभएको गुनासो आइरहेको र महत्त्व कम हुँदै गएको पाएकाले यसलाई प्रभावकारी, प्रविधिमैत्री बनाउँदै समयसाक्षेप बनाउनुपर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । विगतकै पारामा अब हुलाक सेवा चल्न नसक्ने र तत्कालै यसलाई परिवर्तन गर्न सक्ने अवस्था पनि नभएकाले विस्तारै हुलाक सेवाका पुरानो नीतिनियमलाई परिमार्जन गरेर प्रविधिमैत्री बनाएर अघि बढ्न लागेको उहाँको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयका अनुसार सरकारी चिठी र केही व्यक्तिको पार्सललगायत गरी बढीमा २०/२५ वटा चिठ्ठी दैनिक आउने गरेको छ । जिल्लामा एक जिल्ला हुलाक, १० वटा इलाका, ५० वटा अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा दुई सय १० जनाभन्दा बढी कर्मचारी छन् । यतिबेला हुलाकका कर्मचारी कार्यालयका कर्मचारी कार्यालय कुर्ने र घाम तापेर घर आउने जाने गरिरहेका छन् ।

नेपाल भारत सीमास्तम्भ मर्मत सुरु

टीकापुर (कैलाली), ४ माघः कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । टीकापुर–८ स्थित खक्रौलामा रहेको ७३/२ सीमास्तम्भमा रङरोगन गरी मर्मत सुरु गरिएको छ । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमास्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् । मर्मत सुरु हुनुअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सीमास्तम्भ दुरुस्त राख्न दुवै देशको दायित्व भएकाले रङरोगन र मर्मत गर्न लागिएको बताउनुभयो । “दुई देशबीचको साझा मूल्य र मान्यतालाई कायम राख्दै सुरक्षा निकायका बीचमा समन्वयकारी भूमिका निर्वाह गरेका छौँ”, उहाँले भन्नुभयो, “खुला सिमानाका कारण भन्सार चोरी हुने, नेपालमा अपराध गरी भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्ने प्रवृत्ति रहेकाले यसरी सिमानामा देखिने आपराधिक घटनामा दुवैतर्फका सुरक्षा निकायले एकअर्कालाई सघाउनुपर्ने आवश्यकता छ ।”

प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागुऔषध दुव्र्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताउनुभयो । नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)ले सीमाको सुरक्षा गरिरहेको छ । जोर नम्बरका सीमास्तम्भलाई भारतले र विजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मतसम्भार गर्नुपर्ने सम्झौताअनुरुप विजोर नम्बर स्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्न लागिएको हो ।

कैलालीमा एक सय एक सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ । सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार कार्यमा भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) प्रमुख रेक्जिन एन चोक, नेपालका सशस्त्र प्रहरी बल कैलाली प्रमुख दलबहादुर पाण्डे, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्ट, इलाका प्रशासन कार्यालय टीकापुरका कृष्ण थापा, सशस्त्र प्रहरी बल टीकापुरका प्रमुख पूर्णबहादुर चन्द, टीकापुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख लालविर चौधरी, वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, वडा नं ९ का वडाध्यक्ष लौटन चौधरीलगायतको उपस्थिति थियो । कर्णाली र मोहना नदी कटानले बस्ती कटान गर्दै गएको अवस्था छ । नदीले धार परिवर्तन गरेका कारण यहाँ सीमामा रहेका मुख्य र सहायक स्तम्भ केही नदीमा मिसिएको अवस्था छ ।

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

मनाङ, ४ माघ : गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ ।

विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ । पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ । बिजुली अभावले सेवा प्रवाहमा समयमा हुनै सक्दैन । सौर्य ऊर्जाको भरमा पालिकाका कार्यालयबाट सेवा प्रवाह गर्दै आए पनि सबैजसो दिन घाम नलाग्दा समयमा काम नै हुन नसक्ने अवस्था रहेको कर्मचारी बताउँछन् ।

स्थानीय सरकारले कार्यालयसम्म सडक सञ्जाल पुर्‍याउने उद्देश्यले वार्षिक रूपमा बजेट छुट्याउँदै आएको गाउँपालिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई सेवा प्रवाह र यात्रा सहज बनाउने लक्ष्यका साथ सडकलाई बजेट व्यवस्थापन गर्दै आएका छौँ, पालिकाले मात्र सम्भव त छैन, तर कोसिस गरिरहेका छौँ ।”

अध्यक्ष लामाले भन्नुभयो, “एकैपटकमा सडक र विद्युत् पुर्याउन सकिने अवस्था त होइन, प्रयास जारी छ ।” सडक र विद्युत्का लागि प्रदेश सरकारसँग समन्वय भइहेको उहाँले बताउनुभयो । देशका प्रत्येक वडा भवनसम्म सडक कालोपत्र गरिसकिएको अवस्था रहे पनि नार्पाभूमि गाउँपालिकामा सडक सञ्जालको ट्रयाक मात्र पनि खोल्न नसक्दा दुःखी भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य वर्षभन्दा यस वर्ष जहाँ सडक र विद्युत् पुगेका छैनन्, प्रदेशको ती स्थान प्राथमिकतामा रहेका बताउनुभयो । उहाँले हालसम्म पालिकामा नै सडक र विद्युत् नपुगेका क्षेत्रमा पुर्याउने लक्ष्यसहित काम अगाडि बढेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेशका प्रत्येक सडक र विद्युत् नपुगेका क्षेत्र मुख्य प्राथमिकतामा छन्, ती क्षेत्रमा चालु आर्थिक वर्षमा नै केही कामको थालनी हुन्छ, बजेट पूर्ति गर्न नसक्ने अवस्थामा सङ्घ सरकारसँग पहल गरेर भए पनि सडक र विद्युत् पुर्‍याउने लक्ष्यमा छौँ ।”

चालु आर्थिक वर्षमा सडक सञ्जाल पुर्‍याउन सम्भव छैन । प्रदेश सरकारले सडक र बत्तीका लागि योजना निर्माण गरेअनुरूप नै काम हुनसके नार्पाभूमिवासीले सहज यात्रा र बिजुली बत्ती पाउने आशा जगाउनेछ । यसले नार्पाभूमिवासीलाई हर्षित त बनाउनेछ । तर, कति समय लाग्ने भन्ने पक्कापक्की भने छैन ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले नार्पाभूमिमा सडक सञ्जालले जोड्नका लागि ट्र्याक मात्र खोल्न अनुमानित रू एक अर्ब बढी लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार टनेल बनाएर अगाडि बढे पनि बजेट पुर्याउन सकिने अवस्था छैन, चालु आवमा योजना निर्माण गरी कार्यान्वयनको पक्षमा छौँ ।”

“हाम्रो तथ्याङ्कले पाँच प्रतिशत जनता उज्यालोको पहुँचमा पुग्न नसकेको होइन । सडक सञ्जाल यसै वर्ष पुर्याउन नसकिए पनि बत्ती भने पुर्याउँछौँ, कहीँ सौर्य ऊर्जा, कहीँ विद्युत् पुर्याउने लक्ष्य हो, सोहीअनुसार बत्ती चालु आवमा पुर्याउनेछौँ”, डा देवकोटाले भन्नुभयो ।

यस पालिकाका कर्मचारी सामान्य सेवा प्रवाहमा सकस भएपछि पालिकाको सेवा नै सदरमुकाम केन्द्रित भएर दिनुपर्ने अवस्था रहेको बताउँछन् । कार्यालयबाट सेवा प्रवाहमा सकस हुँदा स्थानीयवासीले सेवा लिन दूरदराजमा पुग्नुपर्ने अवस्था अझै कायम रहेको स्थानीय मिङ्मार फुन्चो लामा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “स्थानीय सरकार आए पनि हामीले अनुभव गर्न पाएका छैनौँ, पालिका अध्यक्षलगायत यहाँका नेतृत्वले नगरेका होइनन्, तर एक्लै गर्न सम्भव छैन, यसले अझै कति वर्ष पछि पर्छौँ भन्ने हो, यसतर्फ प्रदेश र सङ्घ सरकारले पनि चासो दिनुपर्छ ।”

मनाङ पर्यटकीय हब पनि हो । यहाँ भ्रमणका लागि आउने पर्यटक र स्थानीयवासीले उत्पादन गरेका खाद्यान्नले मात्र पुग्दैन । खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीका निम्ति सडक सञ्जाल सहज नहुँदा समस्या छ । ज्यान जोखिममा राखेर सामग्री ढुवानी गर्नुपर्ने अवस्था छ । जोखिम सूचीकृत क्षेत्र भएकाले यहाँ आउने पर्यटक बिरामी परेमा अझ समस्या पर्ने गरेको छ ।

यहाँ आएका पर्यटक तथा स्थानीयवासी बिरामी भएमा सडक सञ्जाल नहुँदा स्थलमार्ग उपयोग गर्न सक्ने अवस्था हुँदैन । महँगो मूल्यमा हेलिकप्टर नै चार्टर गर्नुपर्ने हुन्छ । बिरामीलाई स्वास्थ्यको पहुँचमा पुर्याउनसमेत सहज छैन ।

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ४ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७० कायम भएको छ ।

साथै बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २०, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको समितिले जनाएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ८०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ९०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ६०, तितेकरेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ११०, रुख कटहर रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १६०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ५००, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

श्रीलङ्काको केन्द्रीय बैङ्कले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको छ । बैङ्कले देशभर डिजिटल भुक्तानीहरू अपनाउनलाई तीव्रता दिने उद्देश्यले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको एक विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति अनुसार,“गभर्नरले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्न तथा आधुनिक प्रविधि र डिजिटल भुक्तानीको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो ।”

उहाँले सरकारी संस्था र वित्तीय संस्थाको संलग्नतामा डिजिटल भुक्तानीलाई सबैमाझ लोकप्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।

डिजिटलाइजेसनको माध्यमबाट दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न केन्द्रीय बैङ्कले गरेको पहलको शृङ्खलामा यो सचेतना अभियान पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा नयाँ बिरुवाको प्रजाति फेला

चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सम्भावित औषधीय मूल्य भएको नयाँ पोलिगलेसी प्रजाति पत्ता लगाएको चिनियाँ चिकित्सा तथा औषधि विज्ञानको गुआङ्सी संस्थानले जनाएको छ ।

अनुसन्धान टोलीका सदस्य नोङ युका अनुसार पोलिगलेसी स्प्याटुलाटा नामको नयाँ प्रजाति करिब ५३० मिटरको उचाइमा रहेको कास्र्ट गुफामा फेला परेको हो ।

नोङले पोलिगालेसी परिवारका बिरुवाहरू विश्वभर व्यापक रूपमा फैलिएको बताउनुभयो । केही प्रजातिहरू मलेरिया र शारीरिक कमजोरी जस्ता अवस्थाहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

अन्वेषकहरूका अनुसार, यो खोजले कास्र्ट क्षेत्रमा पोलिगालेसी परिवारको प्रकाश पार्छ । वनस्पति जैविक विविधताको संरक्षणमा चीनको दक्षिणपश्चिमी कास्र्ट क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ ।

आविष्कारको विवरण भर्खरै प्लान्ट वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल फाइटोकेजमा प्रकाशित भएको थियो ।

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

लेखनाथ (कास्की) – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएकाले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ”, उपसभापति खड्काले भन्नुभयो, “मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलको बहुमत नआउने र संसद्को अङ्कगणितका कारण साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।”

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण जारी भएको जिकिर गर्दै उपसभापति खड्काले संविधान संशोधन गर्न नेतृत्वदायी भूमिका पनि कांग्रेसले नै निर्वाह गर्ने बताउनुभयो । सङ्घीय कानुनहरु छिटो निर्माण गरेर प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँको भनाइ थियो । सुशासनको जग बसाल्न र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसले पहल गर्ने उहाँले बताउनुभयो । भ्रष्टाचारको अन्त्य, सुशासनमार्फत देशको समृद्धि नागरिकको चाहना रहेकाले सरकारले यिनै विषयलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने उपसभापति खड्काले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा नेपाली जनता मालिक हुने भएकाले उनीहरुकै सेवामा पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । विचार मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समुहसँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताउनुभयो । राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पार्टी सचिव एवं प्रदेश इन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सुझाव

काठमाडौँ – उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच यहाँ भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानसमेत अस्वाभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताउनुभयो ।

उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न नसक्दा निजी सवारीसाधन अस्वाभाविक रूपमा बढेको र यसले ट्राफिक व्यवस्थापन प्रभावित बनाएको तर्क गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधनको वृद्धिसँगै सोहीअनुसारका संरचना निर्माण नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।

यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुर अगुवाहरूले उपत्यकालगायत देशभरको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, अनावश्यक रूपमा यातायात मजदुरले दुःख पाइरहेको बताएका थिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरीको कारबाही गर्ने कुनै उद्देश्य नभएको बताउँदै चालक आफँै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनमा कार्यालयले विशेष ध्यान दिएको बताउनुभयो ।

प्रमुख घिमिरेले ट्रापिक कारबाहीभन्दा ट्राफिक चेतना तथा सडक सुरक्षालाई प्राथमिकता दिएको बताउँदै अब प्रविधिको अधिकतम प्रयोग गर्न थालिएको जानकारी दिनुभयो । ट्राफिक नियम मिच्नेलाई अफिसबाटै हेरेर कारबाही गर्न थालिएको र आगामी दिनमा हरेक कामका लागि ट्राफिकमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी काम भइरहेको बताउनुभयो ।