‘सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ’ : डा शेखर कोइराला


मोरङ, १८ साउनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आज यहाँ आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान कार्यक्रममा उहाँले राजनीतिक दलका नेता इमान्दार भए सङ्घीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।
प्रतिनिधिसभा सदस्य डा कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो । अर्को प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।”
नेता डा कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागार्इंले खेल्नु भएको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो ।
पुस्ताकालयका अध्यक्ष रन्जितप्रकाश बुढाथोकी, पूर्वअध्यक्ष दिपक चापागार्इं तथा साहित्यकार दिनेशराज सुवेदीले गुराँस पुस्कालयको महत्त्व र प्रजातन्त्र स्थापनाका लागि चापागाईं परिवारको भूमिका विषयमा धारणा राख्नुभयो ।
विसं २०२७ सालमा विराटनगर–४ वरगाछीमा पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरि सापकोटा, मोहम्मद अन्सारी र डा प्रमिला गच्छदारलाई सम्मान गरिएको थियो ।