सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन


कैलाली, १७ साउनः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको थियो ।
गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको जनाउँदै प्रहरी उपरीक्षक शाहीले दुई हजार चार जना घाइते भएका उल्लेख गर्नुभयो । सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडक/मौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका उहाँले जानकारी दिनुभयो ।
ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गर्नुभयो । उहाँका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागू गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।
लामो दुरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भए/नभएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।