गुल्मीको खहरे खोलामा आएको बाढीले कार बगायो


तम्घास (गुल्मी), २० साउनः गुल्मीको खहरे खोलामा आएको बाढीले कार बगाएको छ । आज शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार सत्यवती गाउँपालिकाको वडा नं ६ मा बग्ने डहरे खोलाले बगाएको हो ।
पत्रकार घनश्याम गौतमले चलाएको कार डहरे खोलाको बीच भागमा पुगेपछि रोकिएको थियो । त्यसपछि कारमा भएका चारैजना झरेर बाँच्न सफल भएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाढीले कार अन्दाजी ५० मिटर तल पुर्याएको थियो । त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा कार निकालिएको थियो ।
ठूलो पानी आउनेबित्तिकै डहरे खोलामा लेदोसहितको पानीले यातायातलाई प्रभावित गर्दै आएको छ । निरन्तर दुई दिनको वर्षामा उक्त स्थानमा पाँच पटकसम्म बाटो अवरुद्ध भएको सारुले बताउनुभयो ।
अविरल वर्षाकै कारण आएको पहिरोले रिडी–तम्घास सडक पनि अवरुद्ध भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा माथिबाट खसेको पहिरोको कारण सो सडक अवरुद्ध भएको हो । सडक खुलाउनको लागि जेसिबी तयारी अवस्थामा राखे पनि माथिबाट पहिरो निरन्तर खसेका कारण बाटो खुलाउन समस्या भएको छ । उक्त ठाउँको सट्टामा पानीटंकी माथिको सडक प्रयोग गरेर यात्रा गर्न सकिने जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।