पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने


काठमाडौँ, १९ साउनः पशुपति क्षेत्रमा भइरहेका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ ।
पशुपति क्षेत्रस्थित वनकालीको हंसमण्डपमा यही साउन १४ देखि सुरु भएको दशमहाविद्या रुद्रहवन महायज्ञका सङ्कल्पकर्ता कालीबाबाले आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । सो पत्रकार सम्मेलनमा पशुपति क्षेत्रमा भइरहेका सबै यज्ञको मुख्य उद्देश्य नेपालमा आन्तरिक एवम् बाह्य धार्मिक पर्यटक भित्र्याएर नेपालीलाई सुख, शान्ति र समृद्धि दिन सकिने उहाँले बताउनुभयो ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्न सके विदेश जाने युवालाई स्वदेशमै रोजगारी दिन सकिने उहाँको भनाइ छ । नेपाल मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्ण मूर्तिले भारतका एक प्रतिशतमात्र मानिसले धार्मिक पर्यटन प्रवर्द्धनका क्रममा नेपाल ल्याउन सके समृद्धि प्राप्तिका लागि सहयोग पुग्ने बताउनुभयो ।
कालिका साधना आश्रम, शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा साउनमा पशुपतिनाथको दर्शन गर्न आएका भक्तजन पनि आउने गरेका छन् ।