अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै


संयुक्त राज्य अमेरिकाले हालसम्म सञ्चालनमा रहेका ‘एमआरएनए’ प्रविधिमा आधारित केही खोप परियोजनाहरूको लगानी स्थगन गर्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (स्वास्थ्य मन्त्रालय) ले यसबारे मङ्गलबार जानकारी दिएको हो ।स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरका अनुसार, मन्त्रालयले विभिन्न २२ वटा परियोजनाहरूमा गरिएको करिब ५० करोड अमेरिकी डलर बराबरको लगानी रोक्ने निर्णय गरेको हो । यी परियोजनाहरू मुख्यतया कोभिड तथा रुघाखोकीजस्ता श्वासप्रश्वास सम्बन्धी रोगविरुद्ध प्रभावकारी खोप विकासमा केन्द्रित थिए ।
मन्त्री केनेडीले भन्नुभयो, “विगतको अध्ययन र तथ्याङ्कका आधारमा यी खोपहरू माथिल्लो श्वासप्रश्वास प्रणालीमा लाग्ने संक्रमणहरूविरुद्ध अपेक्षित रूपमा प्रभावकारी नभएको देखिएको छ । त्यसैले हामी भविष्यमा अझ सुरक्षित, व्यापक रूपमा प्रभावकारी र वैज्ञानिक रूपले प्रमाणित प्रविधिहरूतर्फ अघि बढ्दैछौं ।”उहाँका अनुसार, नयाँ रणनीतिअनुसार अब सरकारद्वारा हुने लगानीहरू ती प्रविधिमा केन्द्रित हुनेछन्, जसमा दीर्घकालीन प्रभावकारिता, पारदर्शी परीक्षण प्रक्रिया र सार्वजनिक पहुँच हुने वैज्ञानिक जानकारी प्रमुख आधार हुनेछ ।
यद्यपि, केही सार्वजनिक स्वास्थ्य विज्ञहरू तथा अनुसन्धानकर्ताहरूले यस निर्णयप्रति चिन्ता व्यक्त गर्दै, एमआरएनए प्रविधिले महामारीको समयमा तत्काल खोप उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराएका छन् । उनीहरूको भनाइमा, यस्तो प्रविधिबाट पछि हट्नु भविष्यमा आकस्मिक स्वास्थ्य संकटहरूको तत्काल प्रतिक्रिया क्षमतामा प्रभाव पार्न सक्छ ।स्वास्थ्य मन्त्रालयले भने यो निर्णय वैज्ञानिक प्रमाण, दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको आवश्यकता, तथा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यका साथ लिइएको स्पष्ट पारेको छ ।