वेस्ट ब्याङ्कमा इजरायली बस्तीवासीको आतंक, फ्रान्सेली मेयरदेखि कूटनीतिज्ञसम्म निशानामा
काठमाडौं । इजरायली बस्तीवासीले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गरेका छन् । उनीहरूले प्यालेस्टिनी किसानसँग जैतुन टिप्न पुगेका फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई समेत कुटपिट गरेका छन् । पछिल्ला घटनाले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढाएको छ ।
अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन् ।
उत्तरी फ्रान्सको औल्नोए-आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीले उनलाई लात्ती र फलामको बारले प्रहार गरेका थिए ।
त्यस्तै, फ्रान्सेली विदेशमन्त्री जिन-नोएल बारोटले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
यसअघि अमेरिकी फोटो पत्रकार हेइडी लेभिन पनि इजरायली बस्तीवासीको आक्रमणमा घाइते भएकी थिइन् । ‘द वासिङ्टन पोस्ट’सँग आबद्ध उनको मेरुदण्डको हड्डी भाँचिएको छ । घटनापछि अमेरिकी राजदूत माइक हुकाबीले दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
इजरायली विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । तर, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली बस्तीवासीलाई बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् ।
साथै, उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले भने यस्ता हिंसात्मक घटनाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताएका छन् ।
