`

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण, एक दर्जन गाउँबस्ती खतरामुक्त

Nepal One HD २३ साउन २०८२ ७:०३
समाज

जानकी (बाँके), २३ साउनः “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देख्नुभएको छ ।

विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।”

सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरुलाई बाढीले क्षति नपु¥याउनेमा ढुक्क भएको बताउनुभयो । “प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन”, उहाँले भन्नुभयो ।

रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो ।

राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् ।

आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । जसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।

‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख डा नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताउनुभयो । दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उहाँको भनाइ छ ।

उक्त गाउँपालिकाको खल्ला झगडिया गाउँमा खल्लाझगडियामा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ । राप्तीसोनारी–७ का स्थानीय दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गर्नुभयो । राप्तीसोनारी वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले निकै राम्रो काम भएकाले राहत मिलेको बताउनुभयो ।

खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु छ करोड पाँच लाखमा ठेक्का लिएर काम सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *